विकासन्युज

नेपाल भित्रिने मालवाहक सवारीसाधनका चालकसहचालकको अनिवार्य स्वास्थ्य परीक्षण

काठमाडाैं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर नेपाल भित्रिने मालवाहक सवारीसाधनका चालक तथा सहचालकको अनिवार्य स्वास्थ्य परीक्षण हुनुपर्ने माग स्थानीयवासीहरुले गरेका छन् । छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमितहरुको सङ्ख्या बढ्न थालेपछि त्यहाँबाट आउने मालवाहक सवारीसाधनका चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गराएर मात्र नेपाल प्रवेश गराउनुपर्ने माग स्थानीयवासीहरुले गरेका हुन् । कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि छिमेकी मुलुक भारतबाट नेपाल भित्रिने मालवाहक सवारीसाधनका बारेमा स्थानीय प्रशासनले तथ्याङ्क राख्नुपर्ने र त्यसका चालक तथा सहचालक अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने माग विराटनगर जनपथ निवासी निर्मल श्रेष्ठको छ । उनले भने,  ‘भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेहरुको सङ्ख्यामा वृद्धि हुँदै गइरहेको छ । यस्तो अवस्थामा नेपाली जनतालाई यसको सङ्क्रमणबाट सुरक्षित राख्न नेपाल भित्रिने मालवाहक सवारीसाधनका चालक तथा सहचालकलाई अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था हुनुपर्दछ ।’ अहिलेको परिस्थितिमा चालक तथा सहचालकबाट हुन सक्ने सम्भावित सङ्क्रमणको न्यूनीकरणका लागि पनि उनीहरुको स्वास्थ्य परीक्षण हुनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । ‘नेपालमा विदेशबाट आएका व्यक्तिहरुमा मात्र कोरोना सङ्क्रमण देखिएकाले भारतबाट भित्रिने मालवाहक सवारीसाधनका चालक तथा सहचालबाट पनि सङ्क्रमण फैलिन सक्ने उच्च सम्भवना रहेको छ’, विराटनगरस्थित रौनक फार्मेसीका सञ्चालक श्याम श्रेष्ठले भने, ‘सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि त्यस्ता चालक तथा सहचालकको अनिवार्य स्वास्थ्य परीक्षण हुनुपर्ने व्यवस्था लागू हुनुपर्दछ ।’ उनले ‘भीडभाडमा जीउ जोगाउनु र अनिकालमा बीउ बचाउनु’ भन्ने उखान अहिले सार्थक बन्न लागेको चर्चा गर्दै कोरोना महामारीबाट बच्न नेपाल प्रवेश गर्ने मानिस र वस्तुप्रति सरकार चनाखो हुनुपर्ने आवश्यकतामाथि जोड दिए । नेपाल अधिकांश कुरमा परनिर्भर छन् । यस्तो अवस्थामा नेपालमा आयात हुने तरकारी, सागसब्जी, खाद्यवस्तु, इन्धन तथा ग्यास बोकेर अन्य मुलुकबाट आउने सवारीसाधनका चालक तथा सहचालकहरु पनि यसको जोखिमबाट अलग रहन नसक्ने भएकाले सरकारले यस्ता कुरामा विशेष निगरानी राख्नुपर्ने एमआर नवराज पाण्डेले जानकारी दिए । ‘कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरेर मात्र नेपाल प्रवेश गर्न दिइने कार्यलाई अभियानकै रुपमा अगाडि बढाउनुपर्छ’, स्थानीय बुद्धिजिवी राजेश ढङ्गोलले भने, ‘कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि परीक्षण र उपचार व्यवस्थालाई व्यापक बनाउनुपर्ने आवश्यकता छ ।’ शङ्कास्पद देखिएमा त्यस्ता चालक तथा सहचालकलाई तत्काल क्वारेन्टाइनमा राख्नुपर्नेमा उनले जोड दिए ।

हुम्लामा बाहिरी जिल्लाबाट आएका सबैको रिपोर्ट नेगेटिभ

काठमाडाैं । हुम्लाका चार गाउँपालिकामा जिल्ला बाहिरबाट आएका व्यक्तिको हालसम्म ६८ को द्रुत परीक्षण (र्यापिड डायग्नोष्टिक टेस्ट) गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले जम्मा ६१ पुरुष र सात महिला रहेको जनाउँदै सिमकोट २९, नाम्खामा २५, ताजाकोटमा आठ र अदानचुलीमा छ गरी ६८ जनाको द्रुत परीक्षण बताए । यसपछि सदरमुकाम सिमकोटबाट दक्षिणतिर पर्ने ताँजाकोट, सर्केगाड, खार्पुनाथ, अदानचुली र चङ्खेली गाउँपालिकामा जिल्ला बाहिर भारतलगायत अन्य तेस्रो मुलुकबाट आएका र क्वारेन्टाइनमा बसेका व्यक्तिको र्यापिड टेस्ट गरिने जनाइएको छ । सो लागि स्वास्थ्य सेवा कार्यालयबाट ल्याब टेक्निसियन बलिराज भण्डारी, भक्ति फडेरा तथा कार्यालय सहयोगी विनोद रोकाया खटिएका छन् ।

भारतीय नोटसहित पक्राउ दुई कारागार चलान

काठमाडाैं । स्रोत नखुलेको ९ लाख ९९ हजार भारतीय रुपैयाँसहित पक्राउ परेका २ जनालाई क्षेत्रीय कारागार भीमफेदी चलान गरिएको छ । जिल्ला अदालत मकवानपुरले तोकेको धरौटी बुझाउन नसकेपछि पक्राउ परेका बोलेरो चालक भारत बैरातपुर बस्ने ३१ वर्षीय विजय चौधरी र नहेटी बस्ने ३८ वर्षीय शङ्कर सरकारलाई कारागार चलान गरिएको हो । राजश्व अनुसन्धान कार्यालय पथलैयाले दायर गरेको मुद्दाको सुनुवाई गर्दै जिल्ला अदालत मकवानुरले उनीहरुलाई जनही १७ लाख रुपैँया धरौटी मागेको थियो । गत चैत ५ गते इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुणकुमार कुशवाहाको नेतृत्वमा खटिएको टोलिले हेटौंडा-१५ रातोमाटेबाट वीरगञ्जतर्फ जाँदै गरेको डब्लु बि २३ इ २३३३ नम्बरको भारतीय बोलेरोमा उक्त रकम बरामद भएपछि बालेरोसहित उनीहरुलाई पक्राऊ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले कानून विपरित प्रतिबन्धित भारु बोकेको र रकमको स्रोत पनि नखुलेकाले आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको थियो ।

अत्यावश्यक सेवामा चाहिँदैन, मनाेरञ्जनमा प्रयाेग गर्न पाइँदैन

काठमाडौं । सबै भन्दा धेरै मानिस बसोबास गर्ने काठमाडौंमा काठमाडौं जिल्ला प्रशासनले गत बुधबारबाट सवारी पास दिन छाडेको छ । सरकारले गत वर्षको चैत ११ गतेदेखि देशभर लकडाउनको घोषण गरेर थियो । लकडाउनको समयमा अति आवश्यक बस्तु आयात निर्यात गर्नका लागि काठमाडौं जिल्ला प्रशासनले सवारी पास दिने गरेको थियो । तर गत बुधबारबाट मृत्यु संस्कारमा जाने व्यक्ति बाहेक अन्य प्रयोजनका लागि सवारी पास दिन बन्द गरेको छ । सरकारकाे यस्ताे निर्णयले अत्यावश्यक सेवा प्रवाहमा समस्या भएकाे सराेकारवालाकाे भनाइ छ । तर, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग निर्देशक तथा प्रवक्ता रविन्द्र आचार्यले काठमाडौं जिल्ला प्रशासनले सवारी पास रोकेर ठिक गरेको बताए । पास नभएपनि अत्यावश्यक सेवाका सवारी साधन नराेकिने भएकाेले याे निर्णयले दुरूपयाेग राेक्न सहयाेग गर्ने उनकाे भनाइ छ । घर जानदेखि ससुराली जानसम्म सवारी पास लिएर हिड्नेहरु अब रोकिन्छन् भन्दै उनले सवारी पासको दुरुपयोग गर्नेहरुलाई पनि अब ट्राफिकले समाउने र याे निर्णयले भीड नियन्त्रणमा सहयाेग पुग्ने उनले बताए । ‘सरकारले तोकेका अति आवश्यक बस्तुहरु बोकेका सवारीहरुको पास नभए पनि पुलिसले रोक्दैन, गाडीकाे अगाडि अतिआवश्य बस्तु ढुवानी भनेर लेख्ने, तर सवारीमा अन्य बस्तुहरु बोकेर हिड्नेहरुलाई कार्वही पुलिसले गर्छ,’ आचार्यले भने । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट वितरण हुँदै आएको सवारी पासको माग अत्याधिक बढ्नुका साथै सडकमा भीड हुन गई लकडाउनको पालना नभएको भन्दै सवारी पास दिन बन्द गर्नु उपयुक्त भएकाे उनकाे भनाइ छ । ‘वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि अति आवश्यक बस्तु ढुवानीको लागि पास जिल्ला प्रशासनले दिने गरेको थियो । अब पुरानाे सवारी पास वा पास विना नै अति आवश्यक बस्तु बोकेको सवारीलाई पुलिसले रोक्दैन्, त्यसैले असर परेकाे छैन, ’ आचार्यले भने । पछिल्ला दिनमा कोरोनाको संक्रमण बढेसँगै सरकारले लकडाउन थप्दै जाँदा उपत्यकामा रहेका मानिसहरु घरभित्रै बसिरहेका छन् । लकडाउनको समयमा एम्बुलेन्स, अग्नि नियन्त्रक, अस्पताल, सुरक्षा निकाय, खानेपानी, फोहोरमैला संकलन, बिजुलीजस्ता आधारभूत आवश्यकता निरन्तर र निर्वाधरुपमा सरकारले सञ्चालन गरिरहेको छ । दैनिक जीवनयपनका लागि नभई नहुने सरकारले तोकेको अति आवश्यक वस्तु तथा सेवामा विनापास नै हिड्न सकिने छ । के के हो सवारी पास नभइ बोक्न पाउने अति आवश्यक बस्तु लकडाउन आफैंमा एउटा संकटको अवस्था हो । तर, पनि जीवनयापनका लागि नभई नहुने वस्तुको उपलब्धता हरेक नागरिकका लागि अतिआवश्यक हुन्छ । चामल, मकै, चिउरा, गहुँ पिठो, मैदा, दाल, नून, चिनी, चिया खानेतेल, घ्यू, दूध, तरकारी, मासु, फलफूल, मसला (जिरा, मरीच, अदुवा, धनिय र खुर्सानी), औषधि, औषधि जन्य बस्तु, लुगा धुने र नुहाउने साबुन, मट्टीतेल, डिजेल, पेट्रोल र हवाई इन्धनसमेत, रसायनीक मल,दाउरा तथा कोईला, लेख्ने र छाप्ने कागज, कापी, मसी सिसाकलम रु न्यूज प्रिन्टका समानलगायतका बस्तु सवारी पास विना नै ढुवानी गर्न सकिने छ । लकडाउनको कारणले अनलाइनबाट पनि घरघरमा नै हुन्छ अति आवश्यक बस्तुको आपूर्ति भइरहेको छ । लकडाउनको बेला अनलाइन व्यापारले पनि आपूर्तिमा सहजा हुदै गइरहेको छ । घरघरमा नै अति आवश्यक बस्तु आपूर्ति गर्ने प्रतिनिधि अनलाइन दराजडटकम लकडाउनअघिदेखि नै संचालनमा रहेको दराजले लकडाउनको समयमा बिगमार्टसँगको सहकार्यमा १५ सय रुपैयाँभन्दा माथिको सामग्रीहरुको अर्डर लिने व्यवस्था गरेको छ । दराज डककममा गएर अत्यावश्यक बस्तुको अर्डर गरेमा त्यस्तो सामान तपाईले भनेकै स्थानममा आइपुग्छ । भाटभटेनी सुपरमार्केट भाटभटेनी सुपरस्टोरले हाल काठमाडौं, पोखरा, चितवन, बुटवल, धरान, विराटनगर, भैरहवा र नेपालगञ्जमा होम डेलिभरी सेवा दिइरहेको छ । भाटभटेनीले टेलिफोन, भाइबर, अनलाइन जस्ता माध्यममा अएको अर्डर लिने र सामान डेलिभरी गर्ने गरिरहेको छ । भाटभटेनीमा फोन गरेर कम्तिमा ५ हजार रुपैयाँ बराबरको सामान अर्डर गर्नुपर्ने हुन्छ । सेल्सबेरी सेल्सबेरी डिपार्टमेन्ट स्टोरले पनि लकडाउनको समयमा घरघरमै सामानहरु पुराउने व्यवस्था गरेको छ । उपभोक्ताले मगाएका अतिआवश्यक बस्तु फुडमाण्डुडटकमले घरघरमा नै आपूर्ति गर्दिरहेको छ । जिभी एप जिभी एपबाट सजिलै आवश्यक सबै प्रकारको जेनरल मेडिसीन र मेडिकल उपकरणहरु अर्डर गर्न सकिन्छ । जिभी एपले पनि मेडिसीन र मेडिकल उपकरणहरु घरघरमा नै ल्याइदिन्छ ।

अब लकडाउनमा फसेका श्रमिकको उद्दार निर्माण व्यवसायी महासंघले गर्ने

काठमाडौं । देश लकडाउनमा रहेको बेला खान नपाएर अर्थात कामबाट घर फर्किने श्रमिकहरुको संख्या पछिल्लो समय बढ्दै गएको छ । निर्माणाधीन परियाेजनाहरूकाे काम बन्द भएपछि उनीहरु त्यहाँबाट आ-आफ्नो घरतर्फ गइरहेका छन् । सरकारले लकडाउनको समयमा बाहिर हिँडडुल अर्थात आवतजावत नगर्न भने पनि श्रमिकहरु रातदिनै हिडेर भएपनि घर फर्किरका छन् । सर्वसाधारणले याे दाेष निर्माण व्यवसायीलाई खन्याइरहेका छन् । आम नागरिकहरुले यसरी फसेका श्रमिकहरुको उद्दार सम्बन्धित निर्माण आयोजना अथवा ठेक्का लिने कम्पनीले लिनु पर्ने आवाज उठाइरहेका छन् । यी आवाज नेपाल निर्माण व्यवसायी महासंघले सुनेको छ । महासंघले लकडाउनमा फसेका श्रमिकहरुको उद्दारकाे प्रक्रिया अगाडि सारेकाे छ । उसले शुक्रबारदेखि काठमाडाैंमा फसेका श्रमिकहरूकाे तथ्याकं संकलन सुरू गरेकाे जानकारी दिएकाे छ । देशभर रहेका श्रमिकहरुको तथ्यांक संकलन गर्ने उद्धेश्यका साथ महासंघले यसलाई तीव्रता दिएको महासंघका अध्यक्ष रवी सिँहले बताए । उनले देशभर लकडाउनको कारण सडकमै फसेका श्रमिकहरुको तथ्याकं संकलन गर्न सुरु गरेको बताए । महासंघले शुक्रबार दिनभरमा श्रमिकहरुको तथ्यांक संकलन गरेर शनिबार मन्त्रालयमा पेश गर्ने तयारी गरेको सिँहकाे भनाइ छ । ‘हेराैं, हामी कतिसम्म गर्न सक्छाैं, सबैले हामीले नै गर्नुपर्ने आवाज उठाइरहेका छन्, त्यसैले पनि हामीले याे काम सुरू गरेका हाैं,’ उनले भने । महासंघले लकडाउनमा काठमाडौं उपत्यकामा फसेका र खानेबस्ने समस्यामा रहेका श्रमिकहरुलाई लकडाउन अवधिभर निःशुल्क खानेबस्ने व्यवस्था गर्न लागेको सिँहले बताए । ‘बाटोमा हिँडेका सबैलाई मजदूर मानेर हामीलाई दोष देखाउने काम भयो, त्यसैले हामीले यस्तो तथ्यांक संकलन सुरु गर्न लागेका हौं, उनीहरुको उद्दार गरेर खानबस्नको सुविधा हामी गर्छौं, उनले भने । यसका लागि महासंघले काठमाडौंभित्र रहेका सबै सदस्य निर्माण व्यवसायीहरुलाई आफूकहाँ भएको श्रमिकको तथ्याँक पठाउन परिपत्र गरिसकेको उनको भनाइ छ । सिँहले काठमाडौं भित्रका श्रमिकहरुको तथ्याकं सकिए लगत्तै काठमाडौं बाहिरका श्रमिकहरुको सुरु गरिनो बताए । महासंघको समन्वयमा घर पुग्नै लागेका अर्थात बाटोमा फसेका श्रमिकहरुको उनीहरु जुन क्षेत्रमा छन् त्यहाँको जिल्लाको व्यवसायीले गर्ने महासंघको भनाइ छ ।

डीएसएम ग्लोबलले ‘बीएक्स५ एसयुभी’ भित्र्याउँदै, यस्ता छन् विशेषता

काठमाडाैं । डिएसएम ग्लोबल प्रालिले जर्मन एसयुभी ब्रान्ड बगवार्डका एसयुभीहरु नेपाल भित्र्याउने भएको छ । नेपालका लागि बगवार्डको आधिकारिक विक्रेता डिएसएम ग्लोबलले बगवार्ड ग्रुपको क्षेत्रीय उत्पादक तथा वितरक गो ब्रिमेन मोटर्समार्फत् नेपालमा बगवार्ड ब्रान्डको बीएक्स५ एसयुभी भित्र्याउन लागेको हो जुन मलेसियाबाट फ्ल्याग अफ भइसकेको छ । गो ब्रिमेन मोटर्स मलेसिया र आसपासको क्षेत्रको लागि बगवार्ड ग्रुप एजी (जर्मनी र चीन)को एसेम्ब्लिङ तथा वितरण पार्टनर हो । गो ब्रिमेन मोटर्सले मलेसियाको केदाहमा बगवार्ड अटोमोबाइलको एसेम्ब्ली प्लान्ट संचालन गर्दै आएको छ जहाँबाट उत्पादित एसयुभीहरु म्यान्मार, श्रीलंका, बंगलादेश, मरिसस र अन्य मुलुकमा निर्यात हुन्छ । ‘काठमाडौंमा रहेको डीएएम ग्लोबलसँग आबद्ध हुन पाउँदा हामी गर्व महसुस गरिरहेका छौं । हामीले डीएसएम ग्लोबललाई नेपालमा बगवार्ड अटोमोबाइलको सेल्स, सर्भिस, स्पेयर्स र एसेसोरिजको आयात तथा प्रबद्र्धन तथा विक्रीवितरणका लागि नियुक्त गरेका छौं । हामीलाई विश्वास छ, अटो क्षेत्रमा दुई दशकको अनुभव भएको डीएसएम ग्लोबलले एफ्टर सेल्सलाई पनि उत्तिकै प्राथमिकतामा राख्नेछ,’ गो ब्रिमेन मोटर्सको आधिकारिक वेबसाइटमा लेखिएको छ । डीएसएम ग्लोबलले पहिलो चरणमा बगवार्ड बीएक्स५ नेपालमा भित्र्याउन लागेको हो । ४.४ मिटर लामो, १.८ मिटर चौडा र १.६ मिटर अग्लो यो फाइभ-सिटर १.४ लिटर र २.० लिटर गरी दुई वटा पावरट्रेन अप्सनमा उपलब्ध छ । १.४ लिटरको फोर सिलिन्डर टर्बो इन्जिनले ५,५०० आरपीएममा १५० पीएस पावर र ४,५०० आरपीएममा २५० एनएम टर्क उत्पादन गर्छ भने २.० लिटर टर्बो इन्जिनले ५,५०० आरपीएममा २२४ पीएस र ४,५०० आरपीएममा ३०० एनएम टर्क उत्पन्न गर्छ । दुवै इन्जिनमा ६ स्पिड अटोमेटिक ट्रान्समिसन छ । त्यसैगरी, २.० लिटर इन्जिन अल ह्विल ड्राइभमा उपलब्ध छ । यसमा एसईडी डीआरएलसहितकाके अटोमेटिक हेलोजिन हेडल्याम्प, एलईडी टेललाइट, किलेस इन्जिन, ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्ट, डुअलजोन एअर कन्डिसनिङ, ४.२ इन्चको इन्स्ट्रयुमेन्ट क्लस्टर डिस्प्ले र क्र्युज कन्ट्रोल रहेका छन् । दुवै भेरियन्टमा ६ वटा एअरब्याग, भेहिकल स्ट्याबिलिटी कन्ट्रोल, एबीएस, इबीडी, ब्रेक असिस्ट, इलेक्ट्रोनिक पार्किङ ब्रेक, टायर प्रेसर मनिटरिङ सिस्टम, हिल स्टार्ट असिस्ट र इलेक्ट्रोनिक डिफेरेन्सियल सिस्टम र हिल डिसेन्ट कन्ट्रोल रहेका छन् । जर्मन प्रिमियम ब्रान्ड आउडी, मर्सिडिज र बीएमडब्लुसँग तुलना हुने बगवार्डको स्थापना जर्मनीमा पहिलो विश्वयुद्धलगत्तै सन् १९१९ मा जर्मनीको ब्रिमेनमा भएको थियो । जर्मनीको आर्थिक पुनर्जागरणमा समेत महत्वपूर्ण भूमिका खेलेको बगवार्डले हाल सबै सेग्मेन्टका अटोमोबाइल उत्पादन गर्नुका साथै बस, वारुणयन्त्र, पानीजहाज र हवाइ उपकरणको समेत निर्माण गर्छ । सन् १९५५ देखि १९५८ को समयलाई स्वर्णयुगको स्वर्णयुग मानिन्छ जसबेला उसले ५१ भन्दा बढी विश्व रेकर्ड कायम गरेको थियो । केही समयका लागि सुस्ताएको यो ब्रान्ड सन् २००८ पछि फेरि लयमा फर्किएको थियो । पारम्परिक जर्मन डिजाइन र इन्जियिरिङको उत्तम नमुना यसका उत्पादनमा देखिन्छ । हाल बगवार्डले ‘बी-जी-डब्लु’ नीति अबलम्बन गर्दै आएको छ जसको पूर्ण रुप ‘ब्रान्ड हेरिटेज’ (ब्रान्ड सम्पदा), जर्मन इन्जिनियरिङ र ‘वल्र्डवाइड डिस्ट्रिब्युसन’ (विश्वव्यापी वितरण) हो । उसको लाइनअपमा अहिले लाइनअपमा बीएक्स३, बीएक्स५, बीएक्स६, बीएक्स७, बीएक्स७ आईटीएस (इलेक्ट्रिक) र बीएक्सटीएस ७ लिमिटेड एडिसन रहेका छन् ।

ऋणीको लागि बैंक संचालकको छुट्टै प्याकेज आउँदै, व्याजदर घटाउने वा रकममा छुट दिने भन्नेमा छलफल

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले ऋणीको लागि बेग्लै राहत कार्यक्रम ल्याउने भएका छन् । कोरोना संक्रमण रोक्न सरकारले देशभर लकडाउन गरेपछि उत्पन्न असहज अवस्थामा उद्योग व्यवसाय बचाउन भन्दै बैंक तथा वित्तीय संस्थाका संचालकहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघले राहत कार्यक्रमको पहल थालेको हो । बैंकले के कसरी ऋणीलाई कतिसम्म राहत दिन सकिन्छ भनेर परिसंघले बैंक तथा वित्तीय संस्थाका संचालकहरुसँग आन्तरिक छलफल थालिसकेको छ । परिसंघले विशेष गरेर साना तथा मझौला उद्यम व्यवसाय र रिटेल बैंकिङ कर्जा लिनेहरुलाई बढी समस्या भएकोले सोही अनुसारको योजना बनाउन लागेको छ । बैंक संचालकहरुले व्याज रकममा निश्चित प्रतिशत छुट दिने वा व्याजदर नै कम गर्ने वा दुबै गर्ने भन्ने विकल्पमा छलफल चलाएका छन् । नेपाल राष्ट्र बैंकले चैत मसान्तसम्मको ऋणको किस्ता तिर्ने म्याद असार मसान्तसम्म पुर्याएको छ भने चैत मसान्तभित्रै किस्ता तिर्नेहरुलाई व्याज रकमको १० प्रतिशतसम्म छुट दिन बैंक वित्तीय संस्थालाई निर्देशन दिइसकेको छ । तर, बैंक तथा वित्तीय संस्था परिसंघले भने राष्ट्र बैंक र सरकारले भने बाहेकको अतिरिक्त राहत दिने योजना बनाएको हो । कोरोना संक्रमणको विश्वव्यापी संकटका कारण नेपाली अर्थतन्त्रमा पनि गम्भीर समस्या देखिएकोले बैंकहरुले राहतका बेग्लै कार्यक्रम ल्याउन छलफल गरिएको परिसंघका अध्यक्ष पवन गोल्यानले जानकारी दिए । उनले कति राहत दिने भन्ने बारेमा अहिले नै टुंगोमा नपुगिएको बताए । तर, अर्काे एक वाणिज्य बैंकको संचालक समिति अध्यक्षले भने व्याज रकमको १० देखि १५ प्रतिशतसम्म छुट दिने भन्ने विषयमा छलफल भएको बताए । ‘सरकारको तर्फबाट वा राष्ट्र बैंकको तर्फबाट पाउने राहत ऋणीले पाउनु नै हुन्छ, यो बाहेक बैंक आफैले पनि केही राहत दिएर उद्यम व्यवसाय बचाउनु पर्छ भन्ने कुरामा बैंक संचालकहरु सहमत छौं, त्यसैले बैंकले आफ्नोतर्फबाट ऋणीको लागि केही न केही राहत दिने कार्यक्रम ल्याउने भनेर हामी सोही अनुसारको गृहकार्यमा छौं,’ अध्यक्ष गोल्यानले भने । बैंक संचालकहरु नै तयार भएपछि ऋणीलाई राहत दिन सहज हुने देखेर पहल गरिएको हो । ऋणीलाई राहत दिने रकम बैंकले विगतमा कमाएको नाफाबाट वा बैंकले अबका दिनमा केही नोक्सानी व्यहोरेर भएपनि ऋणीलाई राहत दिन लागेको छ । बैंकले आफ्नो खर्च कटौतिलाई पनि जोड दिने भएको छ । बैंकको ठूलो रकम संचालन खर्चमा गएको तथा केही खर्चहरु कम गर्दा पनि हुने भएकोले नेपाल राष्ट्र बैंकसँग समन्वय गरेर त्यस्ता खर्च कटौतिको विकल्पमा पनि जाने परिसंघको योजना छ । ‘उद्यम व्यवसाय अहिले ठूलो समस्यामा छ, यस्तो बेलामा नाफा मात्रै हेर्ने होइन, हामी नेपालको बैंकिङ इतिहासमा नै सेयरधनीको खल्तीबाट ऋणीलाई राहत दिने कार्यक्रम ल्याउँदै छौं, अर्थतन्त्र जोगियो भने मात्रै बैंक जोगिन्छ, त्यसैले बैंकका सबै ऋणीले केही न केही राहत पाउनु नै हुनेछ,’ एनएमबी बैंक संचालक समिति अध्यक्ष समेत रहेका परिसंघ अध्यक्ष गोल्यानले भने । उनले कति राहत दिने भन्ने बारेमा अहिले नै टुंगोमा नपुगिएको बताए । तर, अर्काे एक वाणिज्य बैंकको संचालक समिति अध्यक्षले भने व्याज रकमको १० देखि १५ प्रतिशतसम्म छुट दिने भन्ने विषयमा छलफल भएको बताए । बैंकहरुले दिने कर्जामा आधारदरभन्दा कम गर्न नपाइने राष्ट्र बैंकको नीतिगत व्यवस्था भएकोले निश्चित अवधिको लागि र तोकिएका क्षेत्रको लागि आधार दरभन्दा पनि कम व्याजमा ऋण दिने व्यवस्था मिलाइ दिन राष्ट्र बैंकसँग अनुरोध गर्ने विषयमा पनि छलफल भइरहेको अर्काे एक बैंकका संचालक समिति अध्यक्षको भनाइ छ ।

अब सहकारीबाट जुनसुकै बैंकमा रकम ट्रान्सफर गर्न सकिने

काठमाडौं । अब सहकारी संस्थाको सदस्यले आफ्नो  खाताबाट सिधै बैंक खातामा रकम ट्रान्सफर सकिने भएको छ । हाम्रो टेक्नोलोजीको मोबाइल बैंकिंग प्लेटर्फम ‘एम बैंक एप’ प्रयोग गरि सहकारीको खाताबाट सिधै बैंक खातामा रकम ट्रान्सफर गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपाल भरका जुनसुकै बैंकमा सहकारीको खाताबाट पैसा ट्रान्सफर गर्न सकिन्छ । ‘एम बैंक एप’ सर्भिस लिएका सहकारी संस्थाले आफ्ना सदस्यलाई यस्तो सुविधा दिन सकिने हाम्रो टेक्नोलोजीका सञ्चालक संजय महासेठले जानकारी दिए । हाम्रो टेक्नोलोजीमा करिब १० वटा बैंक र  ३ सय वटा सहकारी संस्थाहरु आवद्ध छन् । कम्पनीमा आवद्ध सम्पूर्ण सहकारीका सदस्यले यस्तो सुविधा लिन सकिने कम्पनीका  सञ्चालक बिष्णु महर्जनले बताए । विगत ५ वर्षदेखि हाम्रो टेक्नोलोजीले नेपालको बैंकिङ तथा सहकारी क्षेत्रमा केही नयाँ र नौलो काम गर्ने उदेश्यका साथ लागिपरेको उहाँले बताए । एम बैंक एपमा धेरै नयाँ सुबिधाहरु थप गरिएको हाम्रो टेक्नोलोजीका सिनियर मनेजर सुशिला पुरी शाहीले बताए । एम बैंक एप मा आहिले आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर गर्न, व्यालेन्स चेक गर्न, स्टेटमेन्ट हेर्न, लोनको  जानकारी हेर्न, फोन, नेट, टिभि, रिचार्ज गर्न सकिने उनले बताए । त्यस्तै ईसेवा, खल्ती, प्रभु पे, आइएमई पे जस्ता डिजिटल वालेट लोड गर्न सकिने, विजुलीको विल, खानेपानी बिल भुक्तानी गर्न, हवाई टिकट, ओयो होटल बुक गर्न, क्यु आर भुक्तानी लगायतका सेवाहरु उपलब्त्र रहेको कम्पनीले जनाएको छ । कम्पनीले हाल ४ ओटा सहकारीमा सफल परिक्षण गरिरहेको छ । झपाको शिखर साकोस, काठमाडौंको चन्द्रागिरी साकोस, धनगढीको नवजीबन सहकारी र काठमाडौंको नेजु गुरु सहकारीमा सफल परिक्षण भईरहेको कम्पनीले जनाएको छ । यी चार सहकारीले छिट्टै आफ्नो सदस्यहरुबीच यो सुविधा प्रदान गर्दैछ । हाम्रो टेक्नोलोजीले बैंक/सहकारी तथा वित्तीय संस्थाहरुमा डिजिटल बैंकिङको सेवा प्रदान गरिरहेको छ ।