अब घरभित्रै रहेका संगीतप्रेमीलाई मनाेरञ्जन दिन ‘म्युजिक फर पिस’ कार्यक्रम सञ्चालन हुने
काठमाडाैं । कोरोनाको विश्वव्यापी कहरसँगै भौतिक संसारमा ठूलो सन्नाटा छ । ‘लकडाउन’, ‘क्वारेन्टाइन’, ‘सेल्फ आइसोलेसन’जस्ता मानिसलाई एक्ल्याउने शब्दावली अहिले जीवन रक्षाका मानक बनेका छन् । यही बेला एक्लिएको मानव जीवनमा सामाजिकीकरणको प्राण भर्न नेपाल ग्यालरी नामक सामाजिक संस्थाले भर्चुल म्युजिक फर पिस नामक कार्यक्रम सन्चालन गर्ने भएको छ । नेपाल कोरोना बाट ग्रसित भएको बेला घरमै बसेर आफ्ना दर्शक स्रोता हरु सँग कुराकानीका साथमा आफ्ना प्रस्तुतिहरुबाट कलाकारहरुले मनोरन्जान प्रदान गर्नेछन् । साे कार्यक्रम बैशाख ७ गते आइतबार बाट सुरु हुनेछ । हरेक दिन ५ बजे नेपाल ग्यालरीको अफिसियल फेसबूक पेज र ग्रुपबाट साे कार्यक्रम हेर्न सकिने बताइएकाे छ । यो हप्ता गायिका तथा नेपाल आइडलकी प्रतियोगी श्रीङखला जोशी, ममता गुरुङ, गायक टंक तिमिल्सिना, चेतन बोहरा, सुदिप साजनलगायतका कलाकारहरु को प्रस्तुति रहने बताइएकाे छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले लकडाउन घोषणा गरेपछि घरघरमै थन्किएका सर्जक र सिर्जना प्रेमीमाझ यसको प्रभावकारिता देखिने बिस्वास राखिएको छ । लकडाउनमा समय व्यतीत गर्न अधिकांश मानिस सामाजिक सञ्जालमा झुन्डिएका छन् । भौतिकभन्दा भर्चुअल संसार नै उनीहरूका लागि साथी बनेको छ । सामाजिक सञ्जालहरूमाथि अफवाह सिर्जना गर्ने माध्यम बनेको आरोप लागिरहँदा नेपाल ग्यालरीले त्यसलाई सिर्जनशील बनाउने प्रयास गरेका हो ।
उपत्यकामा लकडाउन : प्रहरी देख्दासम्म पालना, ओझेल पर्नासाथ अवज्ञा
काठमाडौं । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि यसको अवज्ञा गर्दै सडकमा हिँड्ने र दिनभर पसल खोल्ने बढिरहेका छन् । काठमाडौं उपत्यकाका तीनै जिल्लामा प्रहरीको आँखा छलेर स्थानीयवासी खाद्यान्न किन्न र घुम्नका लागि हिँडिरहेको भेटिन्छ । शनिबार प्रहरीले पसल बन्द गराउन हिँडिरहँदा जडीबुटी, पेप्सीकोला, लोकञ्थली, इमाडोललगायतका स्थानमा प्रहरीको आँखा छलेर पसल खोलिरहेको देखिन्थ्यो । स्थानीय तहले कुन समयमा पसल खोल्ने भनेर तोके पनि यी स्थानमा पुग्दा दिनभरजसो नै भित्री भागमा पसल खुला पाइएको छ । अधिकांश पसलमा आधा सटर खोलेर व्यापार गरिरहेको देखिन्थ्यो । व्यापारीले प्रहरी र मिडियाका प्रतिनिधि आएको देख्नासाथ बन्द गर्ने र उनीहरु जानासाथ खोल्ने गरेका छन् । कतिपय व्यक्ति मोटरसाइकल र स्कुटरमा पानी, ग्यास किन्न हिँड्ने गरेको दृश्य विभिन्न स्थानमा दैनिक देखिन्छ । तरकारी र खाद्यान्नका ती पसलमध्ये कतिपयले घरभित्रबाट दिनभर बिक्री गरेको देखिन्थ्यो । ती पसमा बिहान तोकिएको अवधिमा सामाजिक दूरी कायम गरेको भए पनि दिउँसोको समयमा एकै पटक भीडभाड देखिन्छ र धेरै उपभोक्ता एकैपटक पसलभित्र सामान किनिरहेका दृश्य भित्री सडक छेउमा पसलमा देखियो । नरेफाँटकी सन्ध्या चापागाईँ दिउँसो झण्डै १२ बजेतिर चाउचाउ किन्न जाँदै गर्दा भेटियो । उनी बिहान आफूलाई याद नभएकाले अहिले किन्न हिँडको भन्दै थिए । प्रहरीको आँखा छलेर सामान किन्न जान उनी हतारमा थिए। उनले भने, “छोराछोरीले लकडाउन भने पनि भनेको कुरा नभइ मान्दैनन् अनि जानैपर्छ ।” खाद्यान्न किन्नका लागि मात्रै नभएर हावा खान वा खुट्टा तन्काउन हिँडेको भन्ने व्यक्ति पनि धेरै भेटिन्छन् । तीमध्ये कतिपय मधुमेह, उच्च रक्तचाप, मुटुरोग लगायतका दीर्घरोगका बिरामी छन् । घरमै बसिरहँदा गाह्रो हुने भन्दै दैनिक पाँच/दश मिनेट हिँड्ने गरेको लोकञ्थलीका भीम मगरले बताए । झण्डै एक दशकदेखि मधुमेहको नियमित औषधि खाँदै आएका उनी पहिले बिहान–बिहान हिँड्ने गरेका थिए । लकडाउनका समयमा बिहान जतासुकै भीड भएकाले खाना खानासाथ हिँड्ने गरेको उनले बताए । उनले भने, “खोला छेउमा कोही नभेटिने हुँदा मनोहरा किनारैकिनार हिँड्ने गरेको छु ।” लकडाउनको कार्यान्वयन गराउन प्रहरी मुख्य सडक र भित्री सडकमा समेत खटिएका देखिन्छ । बिहान पसल बन्द गराउनेदेखि दिउँसो छड्के हेर्नका लागि प्रहरी खटिइरहेका छन् । प्रहरीले लकडाउन अवज्ञा गर्दै सडकमा हिँड्ने झण्डै तीन हजार ६ सयलाई सडकमै तीन घण्टा उभ्याएर मात्रै पठाइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । लकडाउन अझै कडाइ गर्ने सरकारको निर्णयसँगै यस्तो कारवाहीमा पर्नेको सङ्ख्या बढिरहेको छ । अझै पनि धेरै नागरिकले लकडाउन मेरा लागि भन्दा पनि नेपाल प्रहरीका लागि भन्ने बुझ्दा यसको अवज्ञा भइरहेको चोकचोकमा खटिने प्रहरी बताउँछन् । कतिपय व्यक्ति हातमा थोरै तरकारी बोकेर बिहानभरि घुम्ने गरेको पाइएको परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । सरकारले अत्यावश्यक कामका लागि उपलब्ध गराएको ‘सवारी पास’ पनि दुरुपयोग भइरहेको छ । कतिपय व्यापारीको त्यही सटरमा पसल र त्यहीभित्र पकाउने, खाने र त्यही सुत्ने भएकाले पनि सटर आधा खोलिएको पाइएको छ । प्रहरीले कारवाही नगर्दा पनि गरेन भन्ने र गर्दा पनि त्यसको विरोध हुने गरेको उनको भनाइ छ । विभिन्न बहानामा छोटो दूरीमा हिँडिरहेका पैदलयात्रु हुन् वा काठमाडौं हुँदै काठमाडौं बाहिर घरसम्म जान लागेका नागरिकलाई रोक्दा र नरोक्दा दुवै अप्ठ्यारो भएको उनले बताए । अत्यावश्यक सामग्री किन्न जाँदा पनि प्रहरीले माक्स लगाउन, समूहमा नहिँड्न भन्ने गरेको छ । उनले भने, “उल्टै प्रहरीलाई जे गरे के मतलब भन्दै झगडा गर्ने र एर्काथरि सामाजिक सञ्जालमा भिडियो हाल्ने गर्छन् ।” आम नागरिकलाई सरकारले सामाजिक दूरी कायम गर्न भने पनि नेपाल प्रहरीमा लागु हुनसकेको छैन । प्रहरीले लामो समयसम्म र धेरै दिनदेखि कोरोना ड्युटी गरिरहेकाले छन् । उनीहरुले स्वास्थ्य सुरक्षाका लागि माक्स र स्यानिटाइजरको प्रयोग गर्दै लामो समयसम्म ड्युटीमा खटिरहेको उनले बताए । अरु नियमित ड्युटीसँगै लकडाउन कार्यान्वयनका लागि सडकमा खटिएका प्रहरीलाई काममा उत्साह जगाउन जरुरी छ । प्रहरीलाई एकातिर कामको चाप र अर्कातिर चुनौती दुवै भएको उनले भने । नागरिकले मेरो लागि लकडाउन गरिएको हो भनी बुझेर घरमै बस्दा उनीहरु र प्रहरी दुवैलाई राम्रो हुन्छ । उनले भने, “नेपाल प्रहरी अहिले पनि बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म नियमित ड्युटीमा खटिइरहेका छन् ।” रासस
सर्वसाधारणको प्रश्नः बाहिर लकडाउन छ, बैशाखमै विद्युत महसुल तिर्न के उडेर जाउँ ?
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत फागुन र चैतको विद्युत महसुल वैशाखभित्र तिरेमा जरिवाना नलाग्ने व्यवस्था गरेको छ । मन्त्रिपरिषद्को चैत १६ गतेको निर्णय बमोजिम प्राधिकरणले फागुन र चैतको बिद्युत महसुल बैशाखमै तिर्ने ग्राहक अर्थात उपभोक्तालाई जरिवाना नगर्ने निर्णय गरेको हो । यो निर्णय आफैमा राम्रो छ । २/३ महिनाको विद्युत महसुल एक महिना नै तिर्न पाउनु आफैमा राम्रो काम र निर्णय हो । तर, आम सर्वसाधारणहरुले भने त्यो निर्णयमाथि प्रश्न खडा गरेका छन् । उनीहरुले देश लकडाउन भएको समयमा आफुहरुले कसरी विदुत महसुल तिर्ने भन्ने प्रश्न खडा गरेका हुन् । विभिन्न सञ्चार माध्यममा बैशाखमै विदुत महसुल तिरेमा जरिवाना नलाग्ने समाचार त आए । तर, आम सर्वसाधारणले भने यो निर्णय माथि ठूलो प्रश्न खडा गरेका हुन् । बैशाखमा विदुत महसुल तिरे जरिवाना नलाग्ने समाचार प्रकाशित भएको कमेन्टमा सर्वसाधारणले प्रश्न गरेका छन् । उनीहरुले जनताका लागि राम्रो भएपनि लकडाउनको समय पारेर यस्तो गर्नु उचित नभएको प्रतिक्रिया दिएका छन् । काठमाडौं मइतिदेवीका सुरज त्रिपाठीले सरकरको यो निर्णयले सर्वसाधारण जनतालाई नछुने बताए । ‘लकडाउनको कारण सबै घरभित्रै छन्, अनलाइनबाट तिर्न सक्ने तिर्लान्, तर, अनलाइनबाट तिर्न नजान्नेका लागि यो निर्णयले काम गर्दैन,’ उनले भने । देशका धेरै मानिसहरु अनलाइनबाट तिर्न सक्ने नभएकोले सरकारको यो निर्णय विभेदकारी भएको उनको बुझाई छ । उनले लकडाउनको मौका छोपेर बैशाखमा तिरे जरिवाना नलाग्ने निर्णय सरकराले लोकप्रिय बन्न खोज्नु बाहेकको नभएको बताए । यस्तै, सोही ठाउँका सुनिल यादव पनि सरकारको यो निर्णय सर्वसाधारणको लागि भन्दा पनि लोकप्रिय बन्न र जय–जय पाउनका लागि भएको बताउँछन् । ‘नेपालमा धेरै मानिसहरु विकटमा बस्छन्, उनीहरु यो अवस्थामा न बाहिर निस्कन सक्छन् न अनलाइनबाट विद्युत महसुल तिर्न सक्नछन्, सरकारको यो निणर्य मलाई उचित लागेन,’ उनले भने । लकडाउनको समयमा नभएको भए सरकराको यो निर्णय राम्रो र स्वागतयोग्य नै हुने उनको भनाइ छ । निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिवाना लाग्ने व्यवस्था भएकोमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार, फागुन र चैत महिनाको महसुल वैशाखभित्र तिरेमा जरिवाना छुट दिने निर्णय भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । तर, सर्वसाधारणको यो प्रश्नमा घिसिङ सहमत छैनन् । उनले यदि लकडाउन बढ्यो भने विद्युत महसुल तिर्ने समावधि पनि लम्बिने बताए । ‘प्राधिकरणको वित्तीय जोखिम न्यूनीकरणका लागि अनलाइनबाट तिर्न सक्नेले महसुल तिर्न सक्ने आग्रह गरेका हौं, यदि लकडाउन बढ्यो भने महसुल तिर्ने समय पनि बढाइन्छ, घिसिङले भने । लकडाउनको कारण सिंगल फेज मिटर रहेका घरायसी ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्न नसकिएको उनको भनाइ छ । तर, ग्राहकहरुले अघिल्लो महिनामा तिरेको रकम बराबरको महसुल प्राधिकरणका आय संकलन गर्न स्वीकृति प्राप्त विभिन्न आठवटा अनलाइन सेवाप्रदायकमार्फत भुक्तानी गर्न सकिने उनले बताए । ग्राहकले बढी तिरेको छकि वा कम यसको बारे लकडाउन सकिसकेपछि यकिन गर्ने उनको भनाइ छ । प्राधिकरणलाई वित्तीय रुपमा नोक्सान नहुन वा जोखिम कम गर्नको लागि यो निर्णय गरेको घिसिङले बताए ।
कर्णालीमा युवा स्वरोजगार व्यावसायिक परियोजना तयार
काठमाडौं । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यहाँका २९ हजार युवालाई स्वरोजगार दिने अग्र्यानिक कृषि व्यावसायिक परियोजना तयार गरेको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ देखि युवा केन्द्रित हुनेगरी कृषि मन्त्रालयले ‘अग्र्यानिक कृषि व्यावसायिक स्वरोजगार परियोजना’ बनाएको हो । मन्त्रालयले कर्णाली प्रदेशका १० जिल्लाका ७९ स्थानीय तहका ७१८ वडापालिकाका २८ हजार ७२० युवा स्वरोजगार हुनेगरी अग्र्यानिक कृषि व्यावसायिक परियोजना बनाएको कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिए । “कर्णाली सरकारले यो प्रदेशलाई अग्र्यानिक बनाउने लक्ष्यका साथ अभियान शुरु गरिसकेको छ” मन्त्री केसीले भने, “युवा लक्षित ‘अग्र्यानिक कृषि व्यावसायिक स्वरोजगार परियोजना’ प्रदेश सरकारको यो अभियानमा कोसेढुङ्गा सावित हुनेछ ।” यसका लागि सङ्घीय सरकारसँग छ अर्ब ४६ करोड रुपैयाँको प्रस्ताव गरिएको उनले भने । यस विषयमा सङ्घीय सरकारका कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालसँग कुरा भएको मन्त्री केसीले जानकारी दिए । सातै प्रदेशका कृषि मन्त्रीबीच शुक्रबार भएको भर्चुअल बैठकमा पशुपक्षी विकासमन्त्री भुसालले कर्णाली प्रदेशको उक्त योजना निकै राम्रो भएको भन्दै त्यसका लागि सङ्घीय सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने वचन प्राप्त भएको मन्त्री केसीले बताए । स्थानीय तहको एउटा वडाका ४० जना युवालाई स्वरोजगार दिनेगरी बनाइएको यो परियोजनाले यहाँको बाँझो जमिनको प्रयोग र युवा पुस्ता पलायनमा कमी आउने कर्णाली प्रदेश योजना आयोगका सदस्य डा दीपेन्द्र रोकायले बताए । आयोगका सदस्य डा रोकायले भने, “अग्र्यानिक कृषि व्यावसायिक स्वरोजगार परियोजना’को प्रभावकारी कार्यान्वयन हुन सक्नुपर्छ, कर्णाली कृषिमा आत्मनिर्भर र अग्र्यानिक प्रदेश निर्माणको लक्ष्यबिन्दुमा पुग्छ ।” उक्त मन्त्रालयका सूचना अधिकारी धनबहादुर कठायतले जुम्ला तथा सुर्खेतमा प्रादेशिक शीतगृह जैविक विषादी उत्पादन प्रयोगशाला तथा दाना उद्योग निर्माण, सिँचाइ र विदेशबाट फर्किएका तथा कोरोना प्रभावित युवा लक्षित हुनेगरी बाँझो जमिन उपयोग तथा चक्लाबन्दीको कार्यक्रम बनाएर सङ्घीय कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा प्रस्ताव पठाउन थालिएको बताए । सूचना अधिकारी कठायतका अनुसार कृषि मन्त्रालयले निर्माण गरेका परियोजना र कार्यक्रमले प्रदेश सरकारले लिएको आत्मनिर्भरताको नीति र अग्र्यानिक प्रदेश निर्माणको सपना एवं अभियान पूरा हुने जनाए । विश्वव्यापी प्रकोप बन्दै गएको ‘कोभिड–१९’ बाट चालू आवमा केही नभए पनि आगामी आर्थिक वर्षबाट यहाँको कृषि तथा पशुपक्षी विकासमा अपेक्षित प्रगति देखाउने नीति, योजना तथा कार्यक्रम प्रदेश सरकारले बनाएको उनको भनाइ थियो । रासस
कर्णालीमा पहिलो पटक बन्यो, स्यानिटाइजर गेट
काठमाडौं । सुर्खेतका दुई युवाले कर्णालीमै पहिलो पटक शरीर निर्मलीकरण गर्ने अत्याधुनिक उपकरण तयार गरेका छन् । युवा वैज्ञानिकका रुपमा ख्याति कमाएका दाजुभाइ राजेन्द्र विष्ट र श्यामकुमार विष्टले शरीर निर्मलीकरण गर्ने ‘वाक थ्रो स्यानिटाइजर गेट’ नामक मेसिन बनाएका हुन् । कोरोना भाइरसलगायतका अन्य किटाणु नष्ट गर्न उपकरण उपयोगी हुने बताइएको छ । राजेन्द्र बायो केमिष्ट तथा श्याम साइन्स फिजिक्सका अनुसन्धानकर्ता हुनुहुन्छ । पश्चिम नेपालमै पहिलो पटक आफूहरुले यस प्रकारको उपकरण बनाएको उनीहरुको दाबी छ । राजेन्द्रका अनुसार विद्युतीय मोटर पम्पको सहायताबाट केमिकल स्पे्र गराएर तत्कालै व्यक्तिलाई भाइरसरहित गराउने सकिन्छ । स्यानिटाइजर गेटमा प्रवेश गर्ने र फर्किने दुईवटाद्वार रहेका छन् । प्रवेश गर्दा मेसिनमा रहेको सेन्सरले मोटर सञ्चालन गर्दछ । उक्त मेसिनमा निर्मलीकरणका रुपमा विश्वभर प्रयोग हुँदै आएको सोडियम हाइपोक्लोराइट केमिकल प्रयोग गरिएको छ । “यो मेसिन प्रयोग गरेर दैनिक सयौँ मानिसलाई पूर्णरुपमा किटाणुरहित गराउन सकिन्छ”, राजेन्द्रले भने, “सेवाग्राही तथा कर्मचारीको भीडभाड बढी हुने कार्यालयमा स्यानिटाइजर गेट निर्माण गर्दा धेरै उपयोगी हुन्छ ।” आफूहरुले पहिलो पटक निर्माण गरेको नमूना स्यानिटाइजर गेट वीरेन्द्रनगर नगरपालिकालाई निःशुल्क प्रदान गरेको उनले जानकारी दिए । यसका लागि सोलार सिस्टम जडानमा ८० हजार रुपैयाँ, विद्युतीय सिस्टम जडानमा ६० हजार रुपैयाँ लागत लाग्छ । साथै एउटा प्याकेजका लागि कम्तीमा ५० लिटरको केमिकल आवश्यक पर्छ । विष्ट दाजुभाइले वीरेन्द्रनगरमा सुर्खेत साइन्स एण्ड सर्जिकल र सुर्खेत बायोकेमिकल एण्ड हाइजिन इन्डस्ट्री सञ्चालन गरे । यी उद्योगबाट ‘सुबिन’ ब्राण्डका हार्पिक, स्यानिटाइजर उत्पादन हुँदै आएका छन् । रासस
लकडाउन जारी रहेपछि अण्डा बिक्री नहुँदा व्यवसायी चिन्तित
काठमाडौं । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि यहाँका लेयर्सजातका कुखुरापालकले उत्पादित अण्डा बेच्न पाएका छैनन् । उत्पादित अण्डा बेच्न नपाएपछि व्यवसायीले फार्ममै अण्डा थन्क्याउँदै आएका छन् । धेरै समयसम्म उत्पादित अण्डालाई फार्ममै भण्डारण गर्दा बिग्रिने बताइएको छ । अण्डा राख्नका लागि वातानुकुलित भण्डार गृह नहुँदा व्यवसायीलाई लगानी खेर जाने चिन्ताले सताएको छ । अण्डाका लागि पालिने सो जातका कुखुरालाई चारो खुवाउने र हेरचाह गर्नमै धेरै रकम खर्च हुन थालेको व्यवसायी धीरेन्द्र साउदले जानकारी दिनुभयो । उनले भने, “फार्ममा पालिएका दुई हजार कुखुराले अण्डा दिन शुरु गरेका थिए । लकडाउन भएपछि उत्पादन भएका अण्डा बेच्न पाएका छैनौं ।” कुखुरा पाल्नका लागि १५ लाख रुपैयाँ लगानी गरी फार्म सञ्चालन गरेका व्यवसायी साउदले अण्डा बेच्न नपाएपछि बिग्रिन शुरु भएकाले नष्ट गर्नुबाहेक अर्को विकल्प नभएको गुनासो गए । उत्पादित ३ सय पेटी छ लाख ३० हजार रुपैयाँ मूल्यका अण्डा बिक्री हुन नपाएको उनको भनाइ छ । अण्डा बिक्री गर्दै आएको पूरै बजार बन्द हुँदा लगानी खेर गएको उनले बताए । अण्डाका लागि पाल्दै आएको सो जातका कुुखुरापालनका लागि एक दिनमै १२ हजार मूल्यबराबरको चारो, औषधि, विद्युत्लगायतमा खर्च हुने जनाइएको छ । नगरपालिकाको वडा नं ११ का कुखुरापालक जयबहादुर ऐरले भने, “ फार्ममा पालिएका दुई हजार कुखुरापालनमा दैनिक खर्च बढ्दै गएको छ । उत्पादित अण्डा बिक्री गर्न नपाउँदा लगानी नै डुब्ने चिन्ता छ । उत्पादन लागतकै मूल्यमा अण्डा बेच्न खोजे पनि खरिदकर्ता पाउन सकेका छैनौं । बैंकबाट ऋण निकालेर गरिएको व्यवसाय धरासायी हुन थालेको छ । बैंकबाट लिएको ऋण तिर्न कुन स्रोतबाट पैसा जुटाउने पिरलो बढेको छ”, उनले भने । कोरोना भाइरसको सङ्क्रमण रोक्ने कार्य र सजगता अपनाउनु पर्ने कुराहरु ठिकै हुन् अर्का लेयर्स कुखुरापालक रेवन चौधरीले भने, “ठूलो लगानी गरेर व्यवसाय थालेका व्यवसायीले उत्पादन गरेका अण्डालगायत बेच्नका लागि वातावरणसमेत कायम गरिनुपर्छ ।” “लकडाउनका कारण फार्ममा पालिएका कुखुराका लागि नत चारो ल्याउन पाएका छौँ । उत्पादन भएका अण्डा बिक्री हुन पाएको छैन । कुखुरा चारोका अभावमा फार्ममै मर्ने चिन्ता एकातर्फ छ । अर्कोतर्फ उत्पादन भएका अण्डा बिग्रेर लगानी नै खेर जाने पिरलो छ”, उनले भने । चौधरीले फार्ममा एक हजार लेयर्सजातका अण्डा दिने कुखुरा पालेका थिए । व्यावसायिक रुपमा कुखुरापालन गर्दै आएका व्यवसायीले अण्डा बेच्ने र चारोको व्यवस्था मिलाइदिन स्थानीय तह र स्थानीय प्रशासनसँग आग्रहसमेत गरेका छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कुखुरालगायतका कृषि तथा पशुजन्य उत्पादन व्यावसायिक रुपमा गरिरहेका किसानले भोग्नुपरेका समस्याबारे स्थानीय तहमार्फत अध्ययन कार्य थालेको पशु विकास शाखाका अधिकृत नारायणदत्त भट्टले बताए । स्थानीय तहले आ–आफ्नो क्षेत्रमा रहेका त्यस प्रकारका उद्यमको अभिलेख राखी सम्भावित क्षतिको यथार्थपरक विवरण उपलब्ध गराउन भनिएकाले विवरण सङ्कलन शुरु गरिएको उनले बताए । नगरपालिकाभित्रका कृषि तथा पशुपक्षी उद्यमको लकडाउन अवधिभरमा भएको क्षतिको विवरण प्रहरी मुचुल्कासहित सिफारिससाथ नगरपालिकाको पशु विकास शाखामा पेश गर्न भनेका छौँ उनले भने, “यसबारे किसानलाई जानकारी दिएका छौँ ।” निकुञ्ज विस्थापित परिवारलाई खाद्यान्न अभाव दैनिक ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका कञ्चनपुरको ढक्का शिविरमा बस्दै आएका शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्थापित परिवारले खाद्यान्न अभाव झेल्दै आएका छन् । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि लकडाउन जारी रहेपछि विस्थापित परिवार खाद्यान्नको अभाव झेल्दै आएका हुन् । दैनिक ज्यालादारीमा काम गरी जीविका चलाउँदै आएका परिवारले काम नपाउँदा भोकभोकै बस्नुपरेको छ । निकुञ्ज विस्थापित परिवारले कृषि, निर्माणलगायतका क्षेत्रमा मजदूरी गर्दै आएका छन् । सबै क्षेत्रमा लकडाउनका कारण कार्य ठप्प भएपछि निकुञ्ज विस्थापित परिवारले गर्दै आएको मजदूरीको कार्य खोसिएको छ । स्थानीय तहले राहत प्याकेज ल्याएर वडा वडामा वितरण गर्ने कार्य शुरु गरेका छन् निकुञ्ज विस्थापित शिविरमा बस्दै आएका तेजबहादुर चन्दले भने, “कुनै पनि निकायले राहत वितरण नगर्दा भोकभोकै बस्नुपर्ने भएको छ ।” “मजदूरी गरेर ल्याएको पैसाले साँझ बिहानको परिवारको छाक टार्नमै ठिक्क हुन्थ्यो । काम गर्ने सबै क्षेत्र बन्द भएपछि मजदूरी पनि पाउने कुरै भएन । मजदूरी गरेर बचेको पैसा पनि सकियो । खाद्यान्न खरिद गर्न सक्दैनौ”, उनले बताए । खाद्यान्नको अभाव भएपछि निकुञ्ज विस्थापित परिवारले राहत सामग्री उपलब्ध गराई दिन माग गर्दै आए पनि हालसम्म सुनवाइ भने भएको छैन ।शिविरमा बस्दै आएका ६०४ परिवारमध्ये २८४ परिवारको अवस्था निकै नाजुक भएको आरक्षपीडित सङ्घर्ष समितिका अध्यक्ष हिरासिंह भण्डारीले बताए । लकडाउनका लागि शिविरमा बस्दै आएका धेरै परिवारले ज्याला मजदूरी नपाउँदा चुलोमा आगो बल्न सकेको छैन उनले भने, “एक छाक खाएर बस्नुपरेको छ । स्थानीय तह, स्थानीय प्रशासन कसैले पनि राहत वितरण नगर्दा निकै समस्या भएको छ ।” शिविरका बासिन्दा भोकमरीले ज्यान गुमाउनु पर्ने अवस्था आए पनि कसैको पनि ध्यान नगएको उनले बताए । भारतमा कमाउन गएका पनि शिविरमा फिर्ता भएका छैनन् । दुई छाक खान नपाउँदा निकै समस्यामा रहेको मोतिलाल चौधरीले भने, “शिविरसँगै जोडिएका बस्तीका बासिन्दाले स्थानीय तह र दातृ निकायबाट खाद्यान्न सहयोग पाएका छन् । राहत पाउने आशामै चित्त बुझाउनु परेको छ ।” शिविरमा रहेको झोपडीसँगैको जग्गामा लगाएको अन्नबालीसमेत निकुञ्जका जनावरले खाएर सखाप पारेपछि झनै समस्यामा पारेको विस्थापित परिवारको गुनासो रहेको छ । त्यसै ठाउँबाट राहत पाइन्छ भनेर रित्तो हात फिर्ता पठाउने गरेका छन् । विस्थापनमा पारिएको ठाउँमा निकुञ्जको वन मात्रै छ । कुन ठाउँबाट राहत माग्ने गोपाल विकले भने, “सरकारले दैनिक ज्यालादारी खाने वर्गका लागि राहत प्याकेज ल्याएको भन्छ खै हामीकहाँ पुगेकै छैन । कमाउनका लागि हामीसँग न त जग्गा नै छ । बस्नका लागि न त घर नै छ । वर्षौंदेखि निकुञ्जको जग्गामा डरैडरले बस्दै आएका छौं ।” पुनःस्थापनका लागि डेढ दर्जनभन्दा बढी आयोग बने पनि निकुञ्ज विस्थापित परिवारको व्यवस्थापनको कार्य हुन सकेको छैन । शिविरमा बसोबास गर्दै आएका परिवारले रेडियोलगायतका सञ्चारमाध्यमबाट कोरानाको सङ्क्रमण रोकथामका लागि प्रसारण भइरहेका सन्देश सुनेर सतर्कता अपनाउँदै आएका छन् । स्वास्थ्यकर्मी, जनप्रतिनिधि कोही पनि शिविरका बासिन्दाको अवस्थाबारे जानकारी लिन र खाद्यान्नको जोहो मिलाउन पुगेका छैनन् । केही परिवारले खाद्यान्न सकिएपछि छिमेकी, आफन्त र नजिकका गाउँमा पुगेर खाद्यान्न मागेर जोहो मिलाउँदै आएका छन् । “बाह्य क्षेत्रमा जानुपर्दा मास्क नहुँदा रुमालले मुख छोपेर हिँड्नुपरेको छ । साबुन त छैन । सेनिटाइजर कस्तो हुन्छ भनेर देख्नसमेत पाएका छैनौँ”, मनोज चौधरीले भने । विसं २०५८ मा तत्कालीन सरकारले सङ्कटकालको मौका छोप्दै निकुञ्जको विस्तारित क्षेत्रमा बस्दै आएका परिवारलाई सुरक्षा निकाय परिचालन गरी हटाइएको थियो । निकुञ्जले विस्थापनमा पारेपछि विस्थापित परिवार निकुञ्जकै ढक्का र तारापुर क्षेत्रको जग्गा कब्जा गरी बस्दै आएका छन् । निकुञ्जबाट विस्थापनमा परेका परिवारको सङ्ख्या दुई हजार ४ सयको हाराहारीमा रहेको छ । रासस
शैक्षिक विकृति विरुद्ध खबरदारी गर्दै शिक्षा र ज्ञान प्राप्तिको प्रेरणा मिलोस्ः अध्यक्ष ढुङ्गाना
काठमाडौं । नेपालविद्यार्थी संघ ५० वर्ष पूरा गरी ५१ वर्षमा प्रवेश गरेको छ । नेपाली कांग्रेसका नेता उत्पादन गर्ने नर्सरीका रूपमा रहेको सबैभन्दा प्रभाव शालीभ्रातृ संस्था नेपाल विद्यार्थी संघ ५१ वर्षमा प्रवेश गरेको हो । नेपाल विद्यार्थी संघको ५१औँ वर्ष प्रवेशका उपलक्ष्यमा अध्यक्ष राजीव ढुङ्गानाले विज्ञप्ति जारी गर्दै सम्पूर्ण विद्यार्थीहरूमा शुभकामना व्यक्त गरेका हुन् । अध्यक्ष ढुङ्गानाले शैक्षिक, सामाजिक र राजनीतिक क्षेत्रमा रहेका विकृति तथा विसंगति विरुद्ध खबरदारी गर्दै शिक्षा र ज्ञान प्राप्तिका दिशामा उत्साहका साथ अघि बढ्न प्रेरणा र उर्जा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । ‘सर्वप्रथमत् नेविसंघद्वारा विगतमा सञ्चालित विभिन्न शैक्षिक तथा राजनीतिक आन्दोनमा वीर गति प्राप्त गर्ने वीर शहीदहरूलाई श्रद्धापूर्वक स्मरण गर्दछु, त्यस्तै आजभन्दा ५ दशकअघि नेविसंघको पहिलो महाधिवेशनको उद्घाटन गर्दै यसको विधिवत स्थापनागर्नु हुने सन्तनेता कृष्णप्रसाद भट्टराईलाई श्रद्धापूर्वक स्मरण गर्दछु,’ ढुङ्गानाले भने । नेविसंघका सम्पूर्ण संस्थापकहरुलाई स–सम्मान स्मरण गर्दै नेवि संघका स्थापनाकालदेखि आजसम्म संघको विभिन्नतहको नेतृत्वपंक्तिमा रहेर कार्य गर्ने र अहिलेको अवस्थासम्म ल्याइ पु¥याउन साथदिने सम्पूर्ण व्यक्तित्वहरुलाई अध्यक्ष ढुङ्गानाले स्मरण गरेका छन् । ‘आज हामीले आफ्नो स्थापना दिवस मनाउँदै गर्दा सिंगो विश्व कोरोना भाइरस (कोभिड–१९)को संक्रमणले आक्रान्त छ, यसबाट लाखौँ संक्रमित भएका छन्, मृतकहरु प्नि दिनानुदिन बढी रहेका छन्,’ अध्यक्ष ढुंगानाले भने । संकटको घडीमा सिंगो राष्ट्र एकजुट भइमहामारीको सामनागर्न आह्वान गर्दै ढुङ्गानाले यस क्षणमा पारदर्शी भएर, जनतालाई उत्साहित बनाउँदै सबैलाई साथ लिई अघि बढ्न सरकारसँग आग्रह गरेका छन् । लोकतान्त्रिक मूल्य र मान्यताका सवालमा कहिल्यै कसैसँग नझुक्ने तथा विद्यार्थी हकहितका सवालमा सधैँ अग्रपंक्तिमा रहेर संघर्ष गर्ने नेविसंघको क्रान्तिकारी छविलाई अझ उच्च बनाउन आ–आफ्नो ठाउँबाट थप योगदान दिन नेविसंघको कार्यकर्ता पङ्क्तिलाई अपील गरेका छन् । ‘नेविसंघलाई अझ बढी प्रशिक्षित र अनुशासित संगठनका रुपमा रुपान्तरण गरी वर्तमान सयमका हरेक चुनौतीहरुको सामना गर्दै देशका सम्पूर्ण विद्यार्थीहरुको आशा र भरोशाको केन्द्रका रुपमा नेवि संघलाई स्थापित गर्न सबै साथहरुको हातेमालो आवश्यक छ, त्यसकारण यस सामूहिक प्रयत्नमा जुट्न सबै साथीहरुलाई आह्वान गर्दछुु,’ ढुङ्गानाले भने ।
सबैले जान्नै पर्नेः कोरोना भाइरस निको हुन कति समय लाग्छ ?
काठमाडाैं । कोभिड-१९ रोग सन् २०१९ को अन्त्यतिर देखा परेको हो। तर कतिपय बिरामीहरूलाई यसबाट पूर्णतया निको हुन लामो समय लाग्ने देखिएको छ। निको हुने समय तपाईँ कति धेरै बिरामी हुनुभएको छ भन्नेमा निर्भर गर्छ। केही मानिसहरू चाँडै नै निको भइहाल्छन् भने अन्यलाई यसले दीर्घकालीन असर छाड्न सक्छ। उमेर, लिङ्ग तथा अन्य स्वास्थ्य समस्याजस्ता विषय जोखिम तत्व हुन् जसले कोभिड-१९ बाट को कति गम्भीर बिरामी हुन्छ भन्ने निर्क्योल गर्छ। सामान्य लक्षणमात्र देखा परेको खण्डमा के हुन्छ? अधिकांश कोभिड-१९ का बिरामीलाई केवल मुख्य लक्षण देखापर्छन् – खोकी र ज्वरो। उनीहरूलाई जीउ दुख्ने, थकाइ लाग्ने, घाँटी तथा टाउको दुख्ने हुन सक्छ। सुरुमा सुक्खा खोकी र पछि खकार सहितको खोकी लाग्न सक्छ। यी लक्षणलाई आराम, प्रशस्त पानी पिउने तथा दुखाइ कम गर्न प्यारासिटामोलको प्रयोग गर्ने गरे पुग्छ। यस्ता सामान्य लक्षण भएका बिरामीहरू छिटो र पूर्ण निको हुनसक्छन्। ज्वरो एक हप्तामा ठीक हुनसक्छ भने खोकी केही थप समय जारी रहन्छ। चिनियाँ आँकडाका आधारमा विश्व स्वास्थ्य सङ्गठन (डब्लु एच ओ)ले औसतमा दुई सातामा बिरामी निको हुने जनाएको छ। यदि गम्भीर लक्षण भएमा के हुन्छ ? कतिपयको निम्ति यो रोग निकै गम्भीर बन्न सक्छ। सङ्क्रमण भएको सातदेखि १० दिनमा यस्तो हुन सक्छ। यो परिवर्तन निकै तीव्र गतिमा हुनसक्छ। सास फेर्न गार्हो हुन थाल्छ अनि फोक्सो सुन्निन्छ। यस्तो किन हुन्छ भने शरीरको प्रतिरोध प्रणालीले भाइरससँग लड्न खोज्दा अत्यधिक प्रतिक्रिया जनाउँछ जसले गर्दा शरीरमा अन्य जटिलता उत्पन्न हुन्छ। केही मानिसलाई अक्सिजनका लागि अस्पतालमा राख्नुपर्ने हुनसक्छ। एकजना चिकित्सक सेरा जार्भिस भन्छिन्, “सास फेर्न गार्हो हुने अवस्था निको हुन निकै समय लाग्छ किनकी शरीरमा निकै सुजन भएका हुन्छन्।” यसबाट निको हुन दुईदेखि आठ हप्ता लाग्न सक्छ। लामो समयसम्म जीउमा थकान रहिरहन्छ। सघन उपचारको खाँचो परेमा चाहिँ के हुन्छ? डब्लुएचओको अनुमानमा प्रत्येक २० मध्ये एकजनालाई सघन उपचारको खाँचो पर्न सक्छ। त्यसमा भेन्टिलेटरमा राख्नपर्ने बिरामी पनि पर्छन्। सघन उपचार केन्द्र (आइसीयू) मा राखेपछि निको हुन थप समय लाग्छ। घर पठाउनु अघि सामान्य वार्डमा सारिन्छ। सघन उपचारमा रहनु परेको बिरामीलाई पूर्णत: तन्दुरुस्त हुन १२ देखि १८ महिना लाग्ने इन्टेन्सिभ केअर मेडिसिन विभागकी डिन डा. एलिसन पिटार्डले बताइन्। लामो समय अस्पतालमा बस्दा तौल घट्छ। मानिस कमजोर हुन्छ अनि मांसपेशीहरू तन्दुरुस्त हुन समय लाग्छ। कतिलाई हिँडडुल गर्न फिजियोथेरापी आवश्यक पर्न सक्छ। चीन र इटलीबाट प्राप्त विवरणहरूमा बिरामीहरूलाई कमजोरी अनुभव भएको, थोरै हलचल गर्दापनि स्वाँस्वाँ आउने भएको अनि खोकी लागिरहेको उल्लेख छ। धेरै निद्राको आवश्यकता परेको पनि देखिएको छ। “हामीलाई थाहा छ बिरामीहरूलाई लामो समय, कतिपयलाई महिनौँ, लाग्न सक्छ,” कार्डिफ तथा भेल विश्वविद्यालयको स्वास्थ्य बोर्डका फिजियोथेरापिस्ट पाउल टोजले बताए। तर यसलाई सामान्यीकरण गर्न कठिन हुन्छ। कुनै मानिस सघन उपचार कक्षमा थोरै समयमात्र रहन्छन् भने कसैलाई हप्तौँसम्म भेन्टिलेटरमा राख्नुपर्छ। के कोरोनाभाइरसले दीर्घकालीन असर पार्छ? लामो समयसम्मका आँकडाहरू उपलब्ध नभएकाले यसबारे भन्न सकिँदैन। तर मिल्दाजुल्दा अन्य अवस्थासँग दाँज्न भने सकिन्छ। शरीरको प्रतिरोधी प्रणाली अधिक सक्रिय भएर फोक्सोमा खराबी उत्पन्न भएका बिरामीहरूमा स्वासप्रस्वाससम्बन्धी एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रम वा आर्ड्स भन्ने अवस्थाको विकास हुन्छ। “त्यस्ता मानिसलाई पाँच वर्षपश्चात् पनि शारीरिक वा मनोवैज्ञानिक कठिनाइ उत्पन्न हुने गरेको आँकडाहरू उपलब्ध छन्,” टोजले भने। भेन्टिलेटरमा राख्नुपर्ने बिरामीहरूलाई निको भएपछि पनि गहिरो मानसिक आघात परेको हुनसक्छ। सामान्य समस्यामात्र बेहोरेका बिरामीलाई पनि लामै समयसम्म थकान भइरहन सक्छ। कति मानिस निको भइसके? यकिन आँकडा मिल्न गार्हो छ। जोन्स हप्किन्स विश्वविद्यालयको विवरण अनुसार एप्रिल १५ सम्ममा २० लाख सङ्क्रमितमध्ये करिब पाँच लाख मानिस निको भइसकेका छन्। तर विभिन्न देशहरूले विभिन्न किसिमको रेकर्ड राख्ने प्रणाली अपनाएका हुन्छन्। कतिपयले निको भएका आँकडा प्रकाशित गर्दैनन् अनि कैयन् सामान्य सङ्क्रमणका विवरण उल्लेख गरिँदैनन्। गणितको प्रयोग गरेर निर्मित मोडेलहरूअनुसार ९९ देखि ९९.५% मानिस निको हुने अनुमान छ। के दोहोर्याएर कोभिड-१९ हुन्छ? यसबारे पनि चर्चा धेरै तर प्रमाण कम छ। कोही मानिस सङ्क्रमित भए उसको शरीरमा विकास हुने प्रतिरोधी क्षमता कत्तिको दिगो हुन्छ भन्ने यकीन छैन। यदि कसैले सफलतापूर्वक भाइरसलाई हराएको छ भने उसको शरीरमा पक्कै पनि त्यसको प्रतिरोधी क्षमता विकास भएको हुनुपर्छ। एउटै बिरामी दोहोर्याएर सङ्क्रमित भएका भन्ने जस्ता विवरणको मूल कारण अघिल्ला परीक्षणमा गल्तीले सङ्क्रमणमुक्त भएको देखिएको हुनसक्छ। प्रतिरोधी क्षमताको विषयले नै कतै मानिस पुन:सङ्क्रमित हुनसक्छन् वा यसविरुद्धको खोप कत्तिको प्रभावकारी हुनसक्छ भन्ने निर्क्योल गर्न सघाउनेछ। बीबीसी