विकासन्युज

कोरोनाकाे कारण अमेरिकामा १० नेपालीले जीवन गुमाए

काठमाडाैं । अमेरिकामा महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण जीवन गुमाउने नेपालीको सङ्ख्या १० पुगेको छ । तीन साताअघि निधन भएका ७२ वर्षीय विष्णुकुमार राईको शव न्यूयोर्कको एल्मस्रट अस्पतालमा भएको पुष्टि भएसँगै निधन हुनेको सङ्ख्या १० पुगेको हो । यसअघि बिहीबार ७० वर्षका महेश अमात्यको न्यूयोर्कको रिजउडमा र बुधबार उडसाइडमा पवन मल्लको निधन भएको थियो । शुक्रबार एक अर्का नेपालीको निधन भएको छ, तर अस्पतालले अधिकारिकरूपमा पुष्टि नगरेको भन्दै परिवारका सदस्यले नाम सार्वजनिक नगरिदिन आग्रह गरे । कोरोना भाइरसको ‘इपिसेन्टर’का रूपमा रहेको न्यूयोर्कमा भएको मृत्युपश्चात उनीहरुको सद्गतिको प्रक्रियामा रहेको छ । अहिलेसम्म केही व्यक्तिको सद्गति भइसकेको र सोनाम लामाको भने कोही आफन्त सम्पर्कमा नआउनुभएका कारण शव यकिन गर्न नसकिएको मेरिल्याण्ड जनरल एसेम्बलीका विधायक ह्यारी भण्डारीले जानकारी दिए । भण्डारीले स्थानीय निकाय र शवदहन गृहसँगको समन्वयमा आवश्यक कानूनी प्रक्रिया पूरा गर्न समन्वयकारी भूमिका निर्वाह गर्दै आएका छन् । यसैबीच भण्डारीले नेपाली लगायत सबैको निधन दुःखद् भन्दै दिवङ्गत भएका र आर्थिक अभावमा रहेका नेपालीका लागि गैरनाफामूलक संस्थासँगको सहकार्यमा अन्तिम संस्कार गर्न सहयोग गर्दै आएको जानकारी दिएका छन् । कोरोना भाइरसका कारणले विभिन्न मितिमा निधन हुनेहरुमा अनिल लिम्बू, अजय छेचुंन, निमा टेम्बा शेर्पा, राजकुमार थापा, थोक्मे विस्ट र सोनाम लामा रहेका थिए । एनआरएन ग्लोबल हेल्थ कमिटीका संयोजक डा सञ्जीव सापकोटाका अनुसार विश्वव्यापीरूपमा भए जस्तै सङ्क्रमितमध्ये २५ देखि ३० प्रतिशतभन्दा बढी नेपालीले आफूलाई सङ्क्रमणबाट मुक्त गराउन सफल भएक आँकडा रहेको बताउँछन् । यसअघि अमेरिकामा करिब ५०० नेपाली सङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक भएको थियो । रासस

जनकपुरको सडकमा पैसा फाल्दै भाग्ने नन्द भाउजुको रिपोर्ट आयाे

काठमाडाैं । जनकपुरको सडकमा पैसा फाल्दै भाग्ने नन्द भाउजुको कोरोनो रिपोर्ट ‘नेगेटिभ’ आएको छ । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा गरिएको आरडिटी परीक्षणमा पोजिटिभ आएको तर पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रादेशिक अस्पतालले जनाएको छ । जनकपुरस्थित महावीर चोकमा १० र १०० नोट छरेर भागेकी उनीहरूलाई शनिबार पक्राउ गरेर प्रादेशिक अस्पताल ल्याइएको थियो ।

सिटिजन्स बैंक १४औं वर्षमा प्रवेश, १५ सय जनालाई रोजगारी दिन सफल

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेशनल आज(चैत ७ गते) बाट १३ वर्ष पुरा गरी १४ वर्षमा प्रवेश गरेकाे छ । वि.सं. २०६४ साल वैशाख ७ गतेदेखि सञ्चालनमा आएकाे यस बैंकले स्थापना कालदेखि नै आफ्ना ग्राहकहरुलाई विभिन्न सेवाहरु प्रदान गर्दै आएकाे छ । बैंकका अनुसार याे अवधिमा कम्पनीले आफूलाई  मजबुत, विश्वास योग्य, सुशासनमा अब्बल, जोखिम व्यवस्थापनमा अग्र बैंकको रुपमा विकास गरेकाे छ । देशभर शाखा स्थापना गर्न सफल भएकाे छ । प्रत्यक्ष र अप्रत्यक्ष गरेर करिब १५ सय जनालाई रोजगारी प्रदान गरेकाे छ। यससँगै, बैंकले आफ्ना असल प्रयासहरु आगामी दिनमा पनि निरन्तर रूपमा अगाडि बढाउने प्रतिवद्धता गरेकाे छ । साथै, यहाँसम्म आइपुग्न प्राप्त सहयोगका लागि नेपाल सरकार, नियमन निकाय, ग्राहक, शेयरधनीहरु लगायतलाई बैंकले आभार प्रकट गरेकाे छ ।

खुसीकाे खवरः ईटालीमा घट्न थाले मृतक र संक्रमित

काठमाडाैं । पछिल्लाे केही दिन यता ईटालीमा काेराेना भाइरसबाट संक्रमित हुनेकाे संख्या मृत्यु हुनेकाे संख्यामा कमि आएको छ । यो समाचार तयार पार्दासम्म इटालीमा कोरोना भाइरसको महामारीका कारण १ लाख ७५ हजार ९२५ जनालाई संक्रमण भएको छ भने २३ हजार २२७ जनाको ज्यान गएको छ । त्यस्तै, २ हजार ७३३ जनाको अवस्था गम्भीर रहेको छ । कोरोना भाइरसको महामारीका कारण इटालीमा शनिवार ३ हजार ४९१ जना नयाँ संक्रमित थपिएका छन् भने शनिवार नै ४८२ जनाले ज्यान गुमाएका छन् । अन्य दिनको तुलनामा इटालीमा संक्रमित र मृतकको संख्या कम हुँदै गईरहेको छ ।  कोरोना भाइरसको महामारीले ग्रस्त बनेको विश्वमा अहिलेसम्म १ लाख ६० हजार ७८३ जनाले ज्यान गुमाएका छन् भने २३ लाख ३२ हजार ४५० जनालाई स्ंक्रमण भएको छ । त्यस्तै ५ लाख ९९ हजार ९९८ जना निको भएका छन् । अहिलेसम्म विश्वमा ५५ हजार २८० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।   

एनआरएनका पूर्व अध्यक्ष लामिछानेले कोरोना कोषमा दिए ५ लाख रुपैयाँ

काठमाडौं । गैरआवसीय नेपाली संघ(एनआरएन) का पूर्व अध्यक्ष तथा संरक्षक जीवानाथ लामिछानेले कोरोना कोषमा ५ लाख रुपैयाँ सहयोग गरेका छन् । उनले एनआरएनले स्थापना गरेको ‘कोभिड १९ राहत कोष’मा सो मात्राको सहयोग गरेको हो । एनआरएनले हालको परिस्थितिमा कोरोनाको उपचारमा केही सहयोग होस् भन्ने हेतुले उक्त कोष स्थापना गरेको थियो । जसमा हाल(वैशाख ७ गते) सम्म २ करोड २४ लाख ५ हजार ६ सय रुपैयाँ जम्मा भइसकेको एनआरएनले जानकारी दिएको छ ।

इकोभेसन सेन्टर स्थापना गरेर उद्योग र प्रतिष्ठानलाई सरकारले सहयोग गर्ने

काठमाडौं । लकडाउनको कारणले बन्द रहेको उद्योगलाई सरकारले सहयोग गर्ने भएको छ । सरकारले इकोभेसन सेन्टर स्थापना गरेर उद्योग तथा प्रतिष्ठानलाई राहत प्याकेज दिने निर्णय गरेकाे छ । लकडाउनको कारणले गत वर्ष चैत ११ गतेदेखि अति आवश्यक बाहेका उद्योग र प्रतिष्ठानहरु बन्द छ । लकडाउनको कारणले मारमा परेको उद्योग र प्रतिष्ठानलाई राहत दिन उद्योग मन्त्रालयले इकोभेसन सेन्टर स्थापनाको काम अगाडी बढाएको छ । सरकारले गरेको अध्ययनको आधारमा सरकारले उद्योग र प्रतिष्ठानलाई राहत दिने भएको छ । अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसगँ उद्योग मन्त्रालयले मिलेर लकडाउन पछिको उद्योग र प्रतिष्ठाको अवस्थाको बारेमा अध्ययन गरी छलफल शुरू गरेकाे छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले उद्योग र प्रतिष्ठानहरुको लागि सरकारले राहत दिन इकोभेसन सेन्टर स्थापना गर्ने कार्य अगाडी बढाएको बताए । उनले भने विदेशमा पनि इकोभेसन सेन्टर भइसकेको छ । नेपालमा पनि उद्योग मन्त्रालयले उद्योग र प्रतिष्ठालाई राहत दिनको लागि इकोभेसन सेन्टर स्थापनाको कार्य अगाडी बढाएको बताए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका योजना, अनुगमन तथा मुल्यांकन महाशाखाका सहसचिव ध्रुव घिमिरेले पनि इकोभेसन सेन्टर स्थापनाको काम भइरहेकाे बताए । ‘इकोभेसन सेन्टरका लागि आवश्यक पर्ने कार्य योजना निर्माण भइरहेको छ, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग छलफलसँगसँगै कार्य योजना निर्माण भइरहेको छ, कस्ता खालका उद्योग र प्रतिष्ठानलाई कति र कसरी राहत प्याकेज दिने भनेर कानुन बनिसके पछि थाहा हुने छ,’ घिमिरेले भने । उद्योगीहरुबाट सरकारले उद्योगका क्षेत्रमा ध्यान दिएन भन्ने गुनासाे  सरकारले इकोभेसन सेन्टर स्थापना गर्न लागेको हो । गत वर्षको चैत ३० गते नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकसँग दुई प्रतिशत ब्याज दरमा ऋण प्राप्त गर्ने गरी पुर्नकर्जाको व्यवस्था गरिदिन माग गरेका थिए । महासंघले पर्यटन, निर्यात, उत्पादनमूलक र कृषि क्षेत्रको लागि २०७६ चैत महिनादेखि कर्मचारी तथा कामदारको एक वर्षको तलब, ज्याला भुक्तानीको लागि कम्पनी तथा फर्म (प्रतिष्ठान)ले दुई प्रतिशत ब्याजदरमा ऋण प्राप्त गर्ने गरी पुर्नकर्जाको व्यवस्था गरिनु पर्ने, बचत र ऋण बीचको ब्याजदर अन्तरलाई ०.५ प्रतिशत बिन्दु घटाइनु लगायतका सुझाव दिएका थिए ।

विवाहका लागि पास नपाएर तनावमा हुनुहुन्छ ? अब पास बिनै गर्न पाइन्छ

काठमाडाैं । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि गरिएको लकडाउनको समयमै विवाह गर्ने मनसाय रहेकाहरूले सवारी साधानको पास नपाइएला कि भन्ने चिन्ता नलिए हुन्छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले विवाहका लागि प्रयोग हुने सवारी साधानका लागि पास नभए पनि सञ्चालन हुन दिने भएको छ । जिल्लाभित्र हुने विवाह कामका लागि सवारी पास आवश्यक नपर्ने भएको हो । सवारी पास नभए पनि केही शर्तको पालना भने गर्नुपर्ने छ । जिप्रकाले शनिबार जारी गरेको सार्वजनिक सूचनाअनुसार विवाह हुने स्थानीय तहको सिफारिस बोक्ने, सवारी साधनमा शुभ विवाहको ब्यानर राख्ने, प्रहरीसँग समन्वय गर्ने, बेहुला, बेहुली, पण्डित र पूजा सामग्री राख्ने, कमभन्दा कम व्यक्ति लिएर विवाह सम्पन्न गर्नुपर्ने छ । विवाहमा सहभागी हुने दुबै तर्फका जन्तीले सामाजिक दूरी कायम गर्नुपर्ने र कोरोना भाइरस सङ्क्रमणलाई मध्यनजर गरी सावधानी अपनाउनुपर्ने छ । सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार हालसम्म सवारी साधनको इ-पासका लागि ५५८ जनाले निवेदन दिएकामा बिरामी र सुत्केरी बोक्ने ४८ सवारी साधनलाई पास उपलब्ध गराइएको छ । अस्वीकृत गरी जानकारी पठाइएका निवेदन ४७१ वटा रहेका छन् । विचाराधीन अवस्थामा रहेका निवेदनको सङ्ख्या २९ रहेको छ । जिल्ला प्रशासन कार्यालयमा आएका ६१ गुनासोको सुनवाइ गरी समस्या समाधान गरिएको छ । रासस

५० वटा ग्यास उद्योगको अनुमति खारेज

काठमाडौँ । अनुमति लिएर सञ्चालन नभएका ५० वटा ग्यास उद्योगको अनुमति नेपाल आयल निगमले खारेज गरेको छ । ग्यास उद्योग निर्माण गरी सञ्चालन गर्न अनुमति लिने तर उद्योग निर्माण नगर्ने, अनुमतिपत्र खरिद बिक्री गर्ने प्रवृत्तिको अन्त्य गर्न निगमले ग्यास उद्योगको अनुमति खारेज गरेको हो । उद्योग विभागमा ग्यास उद्योग दर्ताका लागि निवेदन दिने र उद्योग विभागबाट निगमसँग राय प्रतिक्रिया माग गरेपश्चात सम्पर्क विहीन हुने परिपाटी बढेसँगै ती उद्योगको अनुमति खारेज गरिएको निगमले बताएको छ । निगमले अनुमति लिएका उद्योगलाई तत्काल सञ्चालनमा आउन तीनपटक सूचना जारी गरेको थियो । ३ पटकसम्म सूचित गराउँदा पनि सम्पर्कमा नआएको उद्योगहरुको निगमले अनुमति खारेज हो । यी हुन खारेजीमा परेका उद्योग सुदूरपश्चिम एलपी ग्यास उद्यागे, पूर्वेली ग्यास, बर्दिवास इन्भेष्टमेन्ट मल्टिप्रर्पोज, एचएच कम्पनी, वर्षा ग्यास, जेपी ग्यास, एशियन ग्यास, एक्सप्रेस ग्यास, शिवशक्ति ग्यास, नीलकण्ठ ग्यास, सप्तकोशी ग्यास, हरि ग्यास, कमला ग्यास, दक्षिणकाली ग्यास, सिद्धबाबा ग्यास, मातारानी ग्यास, पञ्चलक्ष्मी ग्यास, विरता ग्यास, विकल्प ग्यास, बुहारी ग्यास, स्मार्ट गइँस, केदार ग्यास, पूजा ग्यास, सगुन ग्यास र कञ्चनजङ्गा ग्यास रहेका छन् । यसैगरी सरस्वती ग्यास, आरके ग्यास, श्याम ग्यास, श्रीमाया ग्यास, जयश्री तिरुपति ग्यास, पञ्चकोशी ग्यास, बुद्ध इन्डष्ट्रिज, आदित्य ग्यास, गणेश ग्यास, तिलौराकोट ग्यास, ग्रीन ग्यास, बागेश्वरी ग्यास, सान्भी ग्यास, गौरीशङ्कर ग्यास (शाखा), हिमालयन पेट्रो केमिकल्स (शाखा), कोशी ग्यास (शाखा), लुम्बिनी ग्यास (शाखा), नारायणी ग्यास (शाखा), नेपाल ग्यास (शाखा), नोबेल ग्यास (शाखा), राजधानी ग्यास (शाखा), सहारा ग्यास (शाखा), सुगम ग्यास (शाखा), भेरी ग्यास (शाखा) र नेपाल ग्यास उद्योग (नारायणी) प्रालि (शाखा) पनि खारेजीमा परेका छन् ।