आचारसंहिता उल्लघङ्न गर्नेमा अनलाइन मिडिया सबभन्दा बढी
काठमाडौं । आचारसंहितामा अनलाइन मिडिया सबभन्दा बढी आचारसंहिता उल्लघङ्न गर्नेमा नेपाल पत्रकार महासङ्घले कोरोना महामारीको समयमा सञ्चारमाध्यमको विश्वसनीयतासम्बन्धी अध्ययन÷सर्भेक्षण प्रतिवेदन प्रेस काउन्सिल नेपाललाई हस्तान्तरण गरेको छ । महासङ्घका अध्यक्ष गोविन्द आचार्यले आज यहाँ आयोजित कार्यक्रममा काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरेकाे हाे । प्रतिवेदनमा सबैभन्दा विश्वासिलो सञ्चारमाध्यम टेलिभिजनलाई लिएका छन् । सवेक्षणमा सहभागी ५० प्रतिशतले सबैभन्दा विश्वासिलो सञ्चारमाध्यमका रूपमा टेलिभिजनलाई लिने गरेकोे, त्यसैगरी दोस्रो र तेस्रोमा क्रमशः पत्रपत्रिका पढ्ने १८.२ प्रतिशत र रेडियो सुन्ने १७.६ प्रतिशत रहेका प्रतिवेदनमा उल्लेख छ । सहभागीको सामाजिक सञ्जालप्रतिको विश्वास र प्राथमिकता रोजाई ज्यादै न्यून १.१% मात्र रहेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । सामाजिक संजालबाट विश्वसनिय सूचना प्रस्तुत हुन नसकेको र यी माध्यमको लोकप्रियता क्रमशः घट्दै गएको तथ्य नतिजाले देखाएको छ । त्यसैगरी अनलाइन सञ्चारमाध्यमप्रतिको विश्वास पनि १३ः१ प्रतिशत मात्र रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै ६२.५ प्रतिशत उत्तरदाताले सञ्चारमाध्यमले पालना गर्नुपर्ने पत्रकार आचारसंहिता सामान्य पालना भइरहेको, करिब १४.८% उत्तरदाताको विचारमा आचारसंहिताको पूर्ण पालना भएको र १३.६% उत्तरदाताले न्यूनरूपमा पालना भइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । आचारसंहिता उल्लङ्घनको तथ्याङ्कलाई हेर्दा करिब ९०.९ प्रतिशत सहभागीको बुझाइमा सबैभन्दा बढी पत्रकार आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यम अनलाइन मिडिया रहेको देखिएको छ । सर्भेक्षणमा समावेश गरिएका सञ्चारमाध्यममध्ये दोस्रो उल्लङ्घन गर्ने पत्रपत्रिका चार प्रतिशत र तेस्रो उल्लङ्घन गर्नेमा टेलिभिजन ३.४० प्रतिशत रहेको सर्भेक्षणबाट देखिएको छ ।
बजेट कार्यान्वयन चुनौतीपूर्ण: अर्थशास्त्री
काठमाडौं । सरकारले अगामी वर्षको बजेटमा राखेको वैदेशिक सहायता प्राप्त गर्नु निकै चुनौतीपूर्ण रहेको अर्थतन्त्रका जानकाहरुले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज आयोजना गरेको ‘पोस्ट बजेट भर्चुअल अन्तक्र्रियामा सहभागी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा शङ्कर शर्माले चालू वर्षको तुलनामा १३५ प्रतिशतले वैदेशिक सहायता बढ्ने लक्ष्य बजेटले राखेको भन्दै त्यो हाँसिल गर्न कठिनाइ हुने बताए । विषम परिस्थितिमा यो लक्ष्य राख्नु महात्वाकांक्षी भएको उनको भनाइ छ । उनले भने, “हामीले राखेको लक्ष्यभन्दा ४० प्रतिशत कम मात्रै वैदेशिक सहायता प्राप्त हुनसक्छ, । उद्योगधन्दा ठप्प छन्, विप्रेषण २० प्रतिशतले घटिसकेको छ र यो अवस्थामा सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पनि महात्वांकाक्षी नै भएको उनको भनाइ छ । अर्थशास्त्री प्रा डा गोविन्द नेपालले वर्तमान विषम परिस्थितिअनुसार उपयुक्त आकारको बजेट आएको बताए । आगामी आवको बजेट सबैको सहमतिमा आएको उल्लेख गर्दै उनले कोरोनालाई बढी प्राथमिकता दिनु सकारात्मक भएको र रोजगारी सिर्जनाका क्षेत्रमा गर्न धेरै कार्यक्रम आएको स्पष्ट पारे । बजेटमा राहत प्याकेज पर्याप्त नभएकाले पुनः कार्यदल बनाएर सरकार रोजगारदाता, बैंक तथा श्रमिक सबैको सहभागितामा पुनरावलोकन गर्नुपर्ने उनको कथन छ । यस्तै, निजी क्षेत्रले कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को पाँच प्रतिशतमा नघट्ने गरी बजेटमार्फत राहत प्याकेज ल्याउन माग गर्दै आएको थियो । तर, अहिलेको बजेटमा राहत दिन खोजिए पनि छरिएर आएको उनीहरुको भनाइ छ । आगामी आर्थिक वर्षको बजेटमा रु एक खर्ब पुर्नकर्जा कोषसहित पर्यटन र साना तथा घरेलु उद्योगलाई कर्मचारीको तलब एवं व्यवसाय पुनःसञ्चालनका लागि रु ५० अर्बको कोष स्थापना गर्ने व्यवस्था गरिएको छ । बजेटमा साना उद्योगका लागि आयकर छुटलगायतका केही कुरा समेटिए पनि निकै छरिएर आएको उनीहरुको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आगामी वर्षको बजेट उदार हुन नसेकेको र पुरातन शैली अपनाएको आरोप लगाए । अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रले मुख्य गरी विभिन्न चार सुझाव दिएको तर्क गर्दै उनले तरलता व्यवस्थापन, बैंक ब्याजदर, श्रमिक व्यवस्थापन, विद्युत्को डिमान्ड शुल्कजस्ता विषयमा आंशिक समेटिन पनि पूर्ण नभएको उल्लेख गरे । वरिष्ठ उपाध्यक्ष गोल्छाले सबैभन्दा चुनौतीका रुपमा रहेको श्रमिक व्यवस्थापन समेट्न नसकेको र सरकारले शतप्रतिशत तलब खुवाउन भनेपछि श्रमिक काममा आउन नचाहेको बताए । उनले सम्पत्तिको अभिलेखीकरण, भ्याट छुटलगायतका विषयमा बजेट मौन रहेको तर्क गर्दै सरकारले यो पटक जोखिम मोलेको भए अर्थतन्त्र चाँडै नै पुनः उत्थान हुने भए पनि त्यो अपेक्षा पूरा नभएको उनले बताए । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले बजेट सांसदको प्रेसर र राजनीतिक दबाबमा आएको टिप्पणी गरे । बजेटमा रु दुई खर्ब २५ अर्ब आन्तरिक ऋणबाट उठाउने भनिएकाले यसले एकातर्फ तरलता अभाव हुने र अर्काेतर्फ व्याजदरमा प्रभाव पर्ने अग्रवालको भनाइ छ । नेपाल उद्योग परिसङ्घका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले कोरोनाका कारण बजारमा मागमा ठूला प्रभाव परे पनि बजेटले माग बढाउने खालका कार्यक्रम ल्याइन नसकेको टिप्पणी गरे । उनले सरकारले राखेको राजश्वको लक्ष्य भेटन चुनौतीपूर्ण रहेको धारणा राखे ।
बजेट व्यवहारिक र सन्तुलित: नेपाल उद्योग परिसङ्घ
काठमाडौं । नेपाल उद्योग परिसङ्घले कोरोना कारण उत्पन्न भएको विषम परिस्थितिमा आएको बजेट आकार र कार्यक्रमका दृष्टिकोणमा व्यवहारिक र सन्तुलित रहेको जनाएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बिहिबार आगामी आर्थिक वर्ष २०७७/७८ का लागि रु १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेका थिए । परिसंघले कोभिड १९ महामारीका कारण मुलुकको आर्थिक, उद्योग व्यवसाय एवं रोजगारीमा परेको प्रतिकूल प्रभावलाई रोकी अर्थव्यवस्थालाई चलायमान बनाउन आफूहरुले बजेट पूर्व प्रस्तुत गरेको सुझावलाई बजेटले सम्बोधन गरेको पाइएको स्पष्ट पारेको छ । यस्तै, परिसङ्घले कतिपय पक्षमा भने बजेट मौन रहेको उल्लेख गरेको छ । परिसङ्घले आज एक विज्ञप्तिमार्फत जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखिएको बजेटले स्वास्थ्य क्षेत्रको पुर्वाधार एवं जनशक्ति विकासलाई सम्बोधन गर्नु सकारात्मक रहेका भन्दै खुशी व्यक्त गरेको छ । स्वास्थ्य र शिक्षा क्षेत्रमा निजी क्षेत्रले भोगेको समस्या र सहभागितालाई यस बजेटले सम्बोधन नगरेको उसको भनाइ छ । महामारीले प्रत्यक्ष असर पुगेका विभिन्न उद्योगको पुनःरुत्थान गर्न बजेटले रु एक खर्बको पुनरकर्जा कोष तथा अति प्रभावित पर्यटन क्षेत्र लक्षित राहत व्यवस्थाका लागि रु ५० अर्बको राहत कोषको व्यवस्था गरेकाले निजी क्षेत्रले उठाएका अन्य माग मौद्रिक नीतिबाट सम्बोधन हुने अपेक्षा समेत लिएको छ । नेपालको निजी क्षेत्रले उठाउँदै आएको विद्युत महशुलको विषयलाई बजेटले केहि सम्बोधन गर्ने प्रयास गरेको जानकारी दिँदै परिसङ्घले उद्योगको डिमाण्ड चार्ज मिनाहा गर्ने तथा अफपिक समयमा विद्यमान महशुलमा ५० प्रतिशत छुट गर्ने व्यवस्था सकारात्मक रहेको ठहर गरेको छ । बजेटले बीमा तथा कृषिलाई समेत विशेष ध्यान दिएको, किसान क्रेडिट कार्ड, भूमि बैंकलगायतका व्यवस्थाले व्यावसायिक कृषिलाई समेत सम्बोधन गर्न खोजिएको र लघु साना तथा मझौला उद्योगका लागि दिइएका कर सहुलियत तथा अन्य सुविधा महत्वपूर्ण रहेकामा खुशी व्यक्त गरेको छ । चालु खर्चलाई कम गर्न विभिन्न सरकारी खर्च कटौती गर्ने प्रस्ताव महत्वपूर्ण रहेको भन्दै परिसङ्घले सरकारले कर्मचारीको व्यावसायिकता वृद्धि गर्दै समयमै कार्य सम्पन्न गर्ने प्रवृत्तिसमेत बढाउन आवश्यक रहेको महशुस गरेको जनाएको छ । अन्तःशुल्क लाग्ने वस्तुको सूची र सो को दर वृद्धि हुँदै गएकाले यस्ता वस्तुको सूची बढ्न हँुदैन र स्वास्थ्य तथा वातावरणमा प्रतिकूल असर गर्ने र नकारात्मक सूचीमा भएका वस्तुमा मात्रै अन्तःशुल्क लाग्नुपर्ने परिसङ्घको माग कायमै रहेको जनाएको छ । बजेटले हालको श्रमिकको पारिश्रमिकको मुद्दालाई सम्बोधन गर्ने अपेक्षा गरिएकोमा सम्बोधन नभएकोले त्यसबाट श्रम सम्बन्धन बिग्रन नदिन सरकारले विशेष ध्यानदिनु पर्ने परिसंघको भनाइ छ । सात लाख रोजगारी वृद्धि गर्ने लक्ष्य बजेटमा राखिएको त्यसका लागि सामाजिक तथा स्थानीयतहलाई आबद्ध गरिए पनि निजी क्षेत्रसँगको सहकार्य बिना यो लक्ष्य हासिल गर्न कठिनाइ हुने परिसङ्घले उल्लेख गरेकाे छ ।
घरेलु तथा साना उद्योग महासंघले गर्याे बजेटकाे स्वागत, भन्छ- कार्यान्वयनमा आशंका छ
काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेकाे आर्थिक वर्ष २०७७/७८काे बजेट स्वागतयोग्य रहेकाे नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएकाे छ । सुखी नेपाली समृद्ध नेपालको अभियानमा लागेको वर्तमान सरकारले विशेष गरेर लघु, घरेलु तथा साना उद्योग मार्फत रोजगारी श्रृजना गर्दै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढ्न खोजेको बजेटबाट आभाष भएकाे महासंघकाे प्रतिकृया रहेकाे छ । बजेटले गरिब, विपन्न, शैक्षिक बेरोजगार र बैदेशिक रोजगार अवरुद्ध भएका युवाहरुलाई सहकारी संस्था मार्फत कर्जा प्राप्त गरी घरेलु तथा साना उद्योग स्थापना गर्न प्रोत्साहन गर्ने नीति लिएको महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले बताएका छन् । उनका अनुसार मुलुकको आर्थिक संवाहकका रुपमा रहेका लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्धनका लागि महासंघले गर्दै आएको पहललाई यस बजेटले समेट्न खोजेको देखिएकाे छ । बजेटका सकारात्मक पक्ष कोभिड-१९ का कारण हाल संचालनमा अवरुद्ध भएका उद्योगहरुलाई स्वाथ्य सुरक्षा कायम गरि संचालनमा ल्याउने र स्वदेशी कच्चा पदार्थमा आधारित, उच्च मूल्य अभिवृद्धि गर्ने, औद्योगिक ग्राम तथा औद्योगिक क्षेत्रमा स्थापना हुने उद्योगलाई कर प्रणाली मार्फत थप प्रोत्साहन गर्ने नीति बजेटले लिएको देखिएकाे छ । दाेश्राे, लघु उद्यमलाई आयकर छुटको अवधि २ बर्ष थप गरि ७ बर्ष र महिला उद्यमीद्वारा संचालित लघु उद्यमीलाई ३ वर्ष थप गरि १० वर्ष पुर्याउनु रहेकाे छ । तेश्राे, लघु, घरेलु तथा साना उद्योगी तथा व्यवसायीलाई लाग्ने आयकरमा वार्षिक २० लाख रूपैयाँसम्म कारोवार गर्ने करदातालाई ७५ प्रतिशत, २० लाखदेखि ५० लाख रूपैयाँसम्म कारोवार गर्नेलाई ५० प्रतिशत र ५० लाखदेखि १ करोड रूपैयाँसम्म कारोवार गर्ने करदातालाई २५ प्रतिशत छुट दिने व्यवस्था गरिनुले महिला तथा लघु उद्यमीलाई प्रोत्साहन गरेको छ । चाैथाे, सबै स्थानीय तहमा महिला उद्यमशीलता सहजिकरण केन्द्र स्थापना गर्ने उल्लेख हुनुले महिला उद्यमीहरुका लागि प्रोत्साहन मिल्नेछ । पाचाैं, कृषि, पर्यटन तथा वन लगायतका क्षेत्रसँग अग्र र पृष्ठ सम्बन्ध स्थापित हुने साना तथा मझौला उद्योगको विकास र विस्तार गर्न उद्यमशिलता, सीप र प्रविधिको उपयोगमा जोड दिने, स्वदेशी वस्तुको उपभोग गर्दै आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न रेशाजन्य वस्तुबाट धागो उत्पादन र स्वदेशी कपडा उद्योगलाई प्रोत्साहन गर्ने उल्लेख बजेटको राम्रो पाटो हो । छैटाैं, कोरोनाबाट प्रभावित कृषि, घरेलु तथा साना, होटल, पर्यटन लगायत उत्पादनमूलक उद्योग व्यवसायलाई पुर्नकर्जा ५ प्रतिशत कायम गरिनु सकारात्मक पक्ष हो । साताैं, कोरोनाको कारण देशको श्रम बजारमा कार्यरत विदेशी कामदारहरु स्वदेश फर्किए पछि सिर्जना भएको रोजगारीको अवसर नेपालीले पाउने गरी सीप विकास तालिम र प्रविधिको पहुँच पुर्याउने र कोरोनाको कारण रोजगार गुमेका र तत्काल पुनरुत्थान भई रोजगार सिर्जना हुन नसक्ने क्षेत्रमा कार्यरत रहेका मजदुरहरुको सीप रुपान्तरण गरी अन्यत्र काम गर्न सक्षम तुल्याउन उत्पादन र सेवा क्षेत्रका हस्तकला लगायत विभिन्न क्षेत्रसँग सम्बन्धित सीप विकास तालिम तथा प्रशिक्षण संघ प्रदेशस्तरमा संचालन गर्ने उल्लेख हुनु सकारात्मक पक्ष हो । आठाैं, बैंक तथा वित्तिय संस्थाबाट प्रदान हुने सहुलियतपूर्ण कर्जा कार्यक्रम अन्तरगत बाणिज्य बैंकले प्रति शाखा कम्तिमा १० तथा विकास बैंकले प्रति शाखा कम्तिमा ५ जनाका दरले सहुलियतपूर्ण कर्जा उपलव्ध गराई रोजगारी सिर्जना गर्न नेपाल राष्ट्र बैंक मार्फत व्यवस्था मिलाउने उल्लेख हुनु सकारात्मक पक्ष हो । नवाैं, रुग्ण तथा बन्द उद्योगलाई नीजि क्षेत्र समेतको सहभागीतामा थप लगानी, नविन प्रविधिको प्रयोग र व्यवसायिक व्यवस्थापनको माध्यमबाट पुनरुत्थान गर्ने उल्लेख हुनु बजेटको सकारात्मक पक्ष हो । दशाैं, उद्योगले पैठारी गर्ने कच्चा पदार्थको भन्सार दर तयारी मालवस्तुको भन्दा कम्तिमा १ तह कम गर्न तप केही वस्तुको कच्चा पदार्थको भन्सार महशुल घटाउने व्यवस्था हुनु राम्रो पक्ष हो । एघाराैं, कोरोनाका कारण उत्पन्न व्यवसायिक अवसरको उपयोग गर्न नवप्रवर्तनकारी कार्यमा लगानी प्रोत्साहन गर्न चाहने उद्यमी व्यवसायीलाई २ प्रतिशत व्याजदरमा नवप्रवर्तन शुरुवाती पुँजी उपलब्ध गराउने व्यवस्था गरिनु सकारात्मक पक्ष हो । बाह्राैं, समर्थन मूल्य तोकिएका कृषि उपज खरिद गर्ने र एक तहको प्रशोधन गरि विक्रि गर्ने नीतिले कृषिमा आधारित उद्योगहरुको विकास हुने देखिन्छ । तेह्राैं, मेशिनरी तथा कच्चा पदार्थ र कृषि फर्म र कम्पनीले पैठारी गर्ने कृषि यन्त्र तथा धान मकै, गहुँ र तरकारीका विऊ पैठारी गर्दा भन्सार महशुल घटाउने उल्लेख हुनु सकारात्मक पक्ष हो । चाैधाैं, औषधी उद्योगलाई कच्चा पदार्थ पैठारीमा मूल्य अभिवृद्धि कर छुट गर्ने तथा त्यस्तो वस्तु स्वदेशी उद्योगबाट खरिद गर्दा तिरेको मूल्य अभिबृद्धि कर फिर्ता उल्लेख हुनु सकारात्मक पक्ष हो । पन्ध्राैं, सुरक्षाकर्मी लगायत राष्ट्रसेवकलाई पोशाक र जुत्ता स्वदेशमै उत्पादन गर्ने नीति अवलम्वन गरिनुले स्वदेशी उद्योगलाई प्रोत्साहन गरेको छ । साेह्राैं, एक प्रदेश एक पर्यटकीय गन्तव्यको अवधारणा अघि सारिनुले पर्यटन उद्योगलाई प्रोत्साहन गरेको छ । सत्राैं, कृषि उद्यम प्रवद्र्धनका लागि ग्रामिण उद्यम तथा आर्थिक विकास कार्यक्रम संचालन गर्ने रणनीतिले कृषिमा आधारित उद्योगको प्रवद्र्धन हुने देखिन्छ । अठाराैं, प्रधानमन्त्री कृषि आधुनिकिकरण आयोजनालाई पुर्नसंरचना गर्दै स्थानीय सम्भावनाका आधारमा एक स्थानीय तहमा एक उत्पादन पकेट क्षेत्र कार्यक्रम संचालन गर्ने नीतिले स्थानीयतहमा उपलव्ध कच्चा पदार्थमा आधारित हुने उद्योगहरुको प्रवद्र्धन हुने देखिन्छ । उन्नाइसाैं, श्रम सूचना बैंकबाट सिफारिश भएका श्रमिकलाई रोजगारी सहितको तालिम प्रदान गरि सोही व्यक्तिलाई न्यूनतम २ बर्ष रोजगारी सुनिश्चित गरेमा ३ महिनासम्मको तालिम अवधिको न्यूनतम पारिश्रमिकको ५० प्रतिशत रकम अनुदानको रुपमा सम्बन्धित उद्योग प्रतिष्ठानलाई उपलब्ध गराउने उल्लेख हुनु सकारात्मक पक्ष हो । बीसाैं, औद्योगिक क्षेत्र वा औद्योगिक ग्राममा स्थापना हुने विशेष उद्योगलाई कारोवार शुरु गरेको मितिले ५ बर्षसम्म लाग्ने आयकरमा २५ प्रतिशत छुट दिने प्रवन्ध गरिनु सकारात्मक पक्ष हो । एक्काइसाैं, दैनिक जनजीवनका अत्यावश्यक वस्तु औषधी र स्वास्थ्य सामग्री एवं कच्चा पदार्थ प्रयोग गरि आन्तरिक उत्पादन बृद्धि गर्न सामूहिक ट्रेडमार्क प्रयोग गर्न पाउने व्यवस्था शुरु गर्ने उल्लेख हुनु सकारात्मक पक्ष हो । बाइसाैं, उद्योगले प्रयोग गर्ने विद्युतमा डिमाण्ड शुल्क छुट गर्ने व्यवस्था हुनु सकारात्मक पक्ष हो । तेइसाैं, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानलाई एउटै संस्था बनाउनाले सरकारी खर्च कम हुनुका साथै सेवाग्राहीले एउटै थलोबाट सेवा लिन सहज हुने देखिन्छ । चौबिसौं, नेपाली हस्तकलाको प्रचारप्रसार र बजारीकरणमा सहयोग पुर्याउने तथा निर्यातयोग्य वस्तुको आपूर्ति प्रवद्र्धन गर्नका लागि काठमाडौंमा सार्कस्तरीय प्रदर्शनी स्थल निर्माण गर्ने र स्थानीय हस्तकला प्रवद्र्धनका लागि भुकृटीमण्डप लगायतका स्थानमा प्रदर्शनी कक्ष संचालन गर्ने उल्लेख हुनुले स्थानीय स्तरमा निर्मित हस्तकलाका बस्तु प्रवद्र्धनमा सहयोग पुग्ने देखिन्छ । बजेटका सुधारात्मक पक्ष विशेष आर्थिक क्षेत्र भित्रका उद्योगले पाउने सुविधा लघु, घरेलु तथा साना उद्योगले पाउने व्यवस्था र बजेट बक्तव्यमा उल्लेख भएका कर छुट सम्बन्धी व्यवस्था आर्थिक ऐनमा उल्लेख गर्नुपर्ने रहेकाे छ । लघु, घरेलु तथा साना उद्योग र महिला उद्यमीमा कर छुट सम्बन्धी व्यवस्थाको सुविधा कसरी प्राप्त गर्ने भन्ने विषय स्पष्ट हुनुपर्ने छ । संघीय बजेटको मूल नीतिसँग प्रदेशका बजेट परिपूरकका साथै लकडाउनका कारण बन्द रहेको उद्योग तत्काल सुचारु गर्न स्पष्टता हुनुपर्ने महासंघले बताएकाे छ । त्यस्तै, दोश्रो चरणको आर्थिक प्याकेजको घोषणा अति शिघ्र गरिनु पर्ने । घरेलु र साना उद्योगहरु पुरातन प्रविधिका कारणले न्युन उत्पादकत्वमा सञ्चालित हुने भएकोले यस्ता उद्योगले प्रविधि प्रतिष्थापन गर्न प्रविधिमा अनुदानको लागी बजेट बिनियोजन गर्नु पर्ने छ । विश्वविद्यालय अन्तर्गत खोज र अनुसन्धानमुलक संस्था मार्फत लघु घरेलु तथा साना उद्योग उपयुक्त प्रविधि विकासका लागी बजेटको व्यवस्था हुनु पर्ने । बिपन्न वर्ग कर्जा कार्यक्रमलाई लघु उद्यमसंग आवद्ध गराई लघु उद्यममा पुँजी पहुँच अभिवृद्धि गर्नु पर्ने महासंघले जनाएकाे छ । समग्रमा बजेटले सबै क्षेत्रलाई समेट्न खोजेको र सन्तुलित देखिएतापनि बजेटमा उल्लेख भएका विषयहरुको कार्यान्वयन प्रक्रिया प्रभावकारी हुन्छ कि हुँदैन भन्ने आशंका गर्न सकिने महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले बताए ।
जेठ २१ गते देखि निजी विद्यालयमा भर्ना सुरु हुने
काठमाडौं । सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ २१ गतेदेखि सामाजिक दूरीसहित विद्यार्थी भर्ना प्रक्रिया शुरु गर्ने भएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेस नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एन–प्याब्सन), राष्ट्रिय अभिभावक महासङ्घ, संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) लगायतका संस्थाले आज संयुक्त विज्ञप्ति जारी गरी सो जानकारी दिएका हुन् । ती संस्थाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट यही जेठ १३ गतेको राष्ट्रका नाममा भएको सम्बोधनमा नयाँ शैक्षिक वर्षअन्तर्गतको पठनपाठन सञ्चालनको काम अगाडि बढाउने घोषणा गर्नुभएको हुनाले बन्दाबन्दीपछि परिवर्तित सम्दर्भमा सामाजिक दूरी कायम राखी विद्यार्थी भर्ना प्रक्रिया शुरु गर्न आफ्ना शिक्षक तथा कर्मचारीलाई उपस्थित गराउने भएको हो तर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसबारे कुनै निर्णय गरेको छैन । मन्त्रालयको निर्णयपछि मात्रै सबै सामुदायिक विद्यालयमा समेत भर्ना खुल्नेछ । मन्त्रालयले गत वैशाख २२ गते विज्ञप्ति जारी गरी अर्काे निर्णय नभएसम्म कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना नलिन अपिल गरेको थियो । मन्त्रालयले भर्ना वा अनलाइन कक्षाका नाममा कुनै पनि शुल्क नलिन पनि आग्रह गरेको थियो । निजी विद्यालयका सञ्चालको संस्थाले त्यहाँका शिक्षक कर्मचारी विद्यालयमा उपस्थित भई नयाँ शैक्षिक सत्रका लागि योजना बनाउनुका साथै शिक्षक कर्मचारीलाई तालीम÷अभिमुखीकरणका लागि व्यवस्था मिलाउन नेपाल सरकारसमक्ष अनुरोध पनि गरेको छ । ती संस्थाले सरकारी निकायबाट पाठ्यपुस्तकको ढुवानी निर्वाध गराउन, भर्चुअल/अनलाइन कक्षालाई औपचारिक कक्षाका रुपमा परिभाषित गर्न, नियमित शिक्षालाई जस्तै मान्यता दिन त्यसका लागि आवश्यक सामग्री आयातमा छुट, विद्युत् महसुल र इन्टरनेट शुल्कमा छुट तथा सहुलियत दिन पनि माग गरेका छन् । निजी विद्यालयले पाठ्यभार पूरा भएमा शुल्क निर्धारणका लागि त्यसलाई समेत आधार मान्न आग्रह गरेका छन् ।
अब पुनर्निर्माणका काम अघि बढाइने, जोखिम न्यूनीकरणका लागि यी मापदण्ड पालना गर्नुपर्ने
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणका कामहरु गर्दा कोरोना भाइरस (कोभिड-१९) संक्रमण जोखिम न्यूनीकरणका लागि पालना गर्नुपर्ने मापदण्ड तयार पारेको छ । मापदण्डलाई शुक्रबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले स्वीकृत गरेको हो । मापदण्डमा निजी आवास, स्वास्थ्य, शिक्षा, सम्पदा लागयतका क्षेत्रमा बाँकी रहेका पुनर्निर्माणका कामहरुलाई सुचारु गर्दा कार्यस्थल व्यवस्थापन, सामग्री आपूर्ति, जनशक्तिको कार्य व्यवस्थापन, स्थानीय प्रशासन, स्थानीय तह र अन्य सरोकारवाला पक्षको भूमिका उल्लेख गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले मापदण्ड तयार भएकाले अब पुनर्निर्माणका कामहरु अघि बढाउन सहज हुने बताए । मापदण्ड अनुसार पुनर्निर्माण कार्य गर्दा सम्बन्धित निर्माण व्यवसायी वा उपभोक्ता समितिले उपलब्ध भएसम्म कार्यस्थल रहेको बस्ती/वडा/स्थानीय तह/जिल्लाको जनशक्ति प्रयोग गर्नु पर्नेछ । सम्बन्धित स्थानीय तह भन्दा बाहिरका जनशक्ति परिचालन गर्नु पर्दा स्थानीय तहको वडा कार्यालयसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउनु पर्नेछ । यस्तै, कामदारलाई काममा लिनु अघि स्थानीय स्तरमा उपलब्ध भएको स्वास्थ्य परीक्षणबाट कोरोना भाइरसको लक्षण नभएको कुरा एकीन गर्ने, परीक्षणको विवरण राख्ने, कामदारलाई कार्यस्थल वा सोको नजिक उपयुक्त स्थानमा अस्थायी बसोबास स्थलको व्यवस्था गरी राख्ने, सुपरीवेक्षकको अनुमति विना कामदारहरु कार्यस्थलबाट अन्यत्र आफूखुशी हिंडडुल गर्न नपाउने लगायतका व्यवस्था गरिएको छ । सम्बन्धित निर्माण व्यवसायी/उपभोक्ता समितिले प्रत्येक कामदारलाई संक्रमण जोखिमबाट बच्ने उपायहरुको बारेमा स्पष्ट पार्न काममा लगाउनु पूर्व कोरोना भाइरस सम्बन्धी सामान्य जानकारी, भाइरस संक्रमण हुने प्रक्रिया, संक्रमित व्यक्तिमा देखा पर्न सक्ने लक्षण र संक्रमण जोखिम रोकथाम र नियन्त्रण सम्बन्धमा अपनाइनु पर्ने उपायहरुबारे जानकारी गराउनु पर्नेछ । मापदण्ड अनुसार कार्यस्थल/क्याम्पमा हात मुख धुनका लागि साबुन पानी बन्दोबस्त, मास्कको उपलब्धता, ज्वरो नाप्नको लागि थर्मोमिटर (१० जना बढी जनशक्ति परिचालित हुने स्थलमा थर्मोगनको उपलब्धता), न्यूनतम सामाजिक/भौतिक दूरी कायम हुनुपर्ने, खानेपानीको व्यवस्थाका लागि सबै कामदारलाई आ-आफ्नो बोतल/भाँडोको उपलब्धता हुनुपर्ने लगायतका न्यूनतम सुविधा उपलब्ध हुनु पर्नेछ । यस्तै निजी आवास पुनर्निर्माणको कार्य सुचारु गर्नुभन्दा पहिले सम्बन्धित वडा कार्यालयलाई सोको जानकारी गराई प्राप्त सुझाव बमोजिम मात्र कार्य प्रारम्भ गर्नुपर्नेछ । उपलब्ध भएसम्म स्थानीय कामदारलाई काममा लगाउनु पर्नेछ । स्थानीयस्तरमा कामदार उपलब्ध नभई बाहिरबाट कामदार ल्याउनुपरेमा सम्बन्धित स्थानीय तहको सिफारिससहित सहजीकरणको लागि जिल्ला आयोजना कार्यान्वयन इकाइलाई अनुरोध गर्नु पर्नेछ । कार्यस्थलमा अनिवार्य रुपमा साबुन पानी, मास्क, शौचालय र सरसफाइको व्यवस्था मिलाउनु पर्नेछ । यसैगरी खाद्य आपूर्ति तथा ज्याला भुक्तानी, कोरोना भाइरसको लक्षण देखिएमा अपनाउने सतर्कता, निर्माण सामग्रीको आपूर्ति व्यवस्थापन, कार्यालय तथा बैठक व्यवस्थापन, समन्वय, सहजीकरण र अनुगमन सम्बन्धी पनि मापदण्ड तोकिएको छ । प्राधिकरणका अनुसार यो मापदण्ड पुनर्निर्माण सम्बन्धी सम्पूर्ण सरोकारवालाहरुले लकडाउन कायम रहेको वा नरहेको अवस्थामा पनि अनिवार्य रुपमा पालना गर्नुपर्नेछ । गत वैशाख २४ गतेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सुरक्षा सम्बन्धी विभिन्न मापदण्डहरुको पालना गरी विकास आयोजना सम्बन्धी कार्य सुचारु गर्न सकिने निर्णय गरेको थियो ।
बैंकिङ, उद्योग, पर्यटन र उर्जामा बजेटः के भन्छन् व्यवसायी ?
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८को बजेट प्रस्तुत गरेसँगै निजी क्षेत्रका विभिन्न व्यवसायीहरुले आ–आफ्नै किसिमका धारणा राखेका छन् । कोरोना भाइरसले उत्पन्न गरेको लकडाउनकाबिच ल्याइएको बजेटले कतिपय व्यवसायीहरु सन्तुष्ट नै देखिएका छन् भने कतिपयले आफुहरुलाई बजेटमा नसमेटेको भन्दै असन्तुष्टि पनि व्यक्त गरिरहेका छन् । विगत दुई महिनादेखि देशव्यापी रुपमा भएको लकडाउनले विभिन्न व्यवसायहरु ठप्प भइरहेको अवस्थामा निजी क्षेत्रका विभिन्न व्यवसायीहरुले सरकारलालाई बजेटमा आ–आफ्नै किसिमका सुझाव दिएका थिए । तर, अहिले सरकारले आफुहरुले बजेटमा दिएका सुझावहरु नसमेटिएकोप्रति असन्तुष्ट भएका छन् भने कतिपय व्यवसायी यसैमा पनि मन बुझाएका छन् । बैङ्किङ क्षेत्रका व्यवसायीहरुले सरकारले ल्याएको बजेटलाई सकारात्मक र आशावादीको संज्ञा दिएको छ । उनीहरुले सरकारले बजेट मार्फत बैंक तथा वित्तीय क्षेत्रका लागि गरेको व्यवस्था तथा कार्यक्रमहरु सहज रुपमा कार्यान्वयन गर्न सकिनेमा सकारात्मक भएका छन् । मुख्य कुरा तबजेटले वाणिज्य बैंकले प्रतिशाखा १० जना र विकास बैंकले प्रतिशाखा ५ जनालाई सहुलियत ब्याजदरको ऋणउपलब्ध गराउनुपर्ने उल्लेख गरेको छ । बैंक तथा वित्तीय क्षेत्रका व्यवसायीहरुले त्यसलाई सहज रुपमा कार्यान्वयन गर्न सकिने धारणा राखेका छन् । बजेटप्रति निराशा हुनुपर्ने ठाउँ छैनः पवन गोल्यान अध्यक्ष, नेपाल वित्तीय संस्था परिसंघ बजेटमा रोजगारी सिर्जना गर्ने, उद्यमशीलता प्रवर्द्धन गर्ने दिशामा वित्तीय क्षेत्रलाई अघि बढाउने भनिएको छ । १ सय ५० अर्बको कोष बनाएर पुर्नकर्जा र सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भनिएको छ । अहिलेको अवस्थामा यो निकै महत्वपूर्ण छ । आर्थिक वर्ष २०७७/७८को बजेट सन्तुलित किसिमको छ । यसले एउटा आशा पनि पलाएको छ । तर, बजेटमा उल्लेख गरिएका कार्यक्रमहरु कतिको कार्यान्वयन हुन्छन् भन्ने कुरामा पनि भर पर्छ । कोरोना भाइरसको असर रहेको समयमा सरकारले पनि त्यही अनुरुपको बजेट ल्याएको छ । बजेटमा रोजगारी सिर्जना गर्ने, उद्यमशीलता प्रवर्द्धन गर्ने दिशामा वित्तीय क्षेत्रलाई अघि बढाउने भनिएको छ । त्याे राम्राे पक्ष हाे । बैंंक तथा वित्तीय संस्थाहरुलाई एकआपसमा गाभ्न प्रोत्साहित गरिने विषयलाई निरन्तरता दिइएको छ । वित्तीय क्षेत्रको स्रोतलाई उद्योग व्यवसायको पुनरुत्थान, लगानी प्रवद्र्धन, उत्पाद न अभिवृद्धि र रोजगारी सिर्जनामा परिचालन गर्ने भनिएको छ । वाणिज्य बैंकले प्रतिशाखा १० जना र विकास बैंकले प्रतिशाखा ५ जनालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने भनिएको छ । यो विषय पनि राम्रो र कार्यान्वयन गर्न सकिने खालकै छ भन्ने मलाई लाग्छ । १ सय ५० अर्बको कोष बनाएर पुर्नकर्जा र सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भनिएको छ । अहिलेको अवस्थामा यो निकै महत्वपूर्ण छ । बजेट स्वागतयोग्य नै छः शेखर गोल्छा वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य वाणिज्य महासंघका उर्जामा डिमान्ड शुल्कको विषयमा पनि बोलेको छ । हामीले उर्जाको रेटमा ३० प्रतिशत होस भनेको त्यो भएको छैन । हामीले जीडीपीको ५ प्रतिशत बराबरको राहत प्याकेज मागेका थियौं तर ४ प्रतिशतको हारहारीमा आएको छ । सरकारले आगामी आर्थिक वर्षक लागि प्रस्तुत गरेको बजेट स्वागत योग् नै छ । बजेटमा नै रिफाइनान्स १ खर्बको हुने व्यवस्था निकै राम्रो हो । यसले औद्योगिक क्षेत्रमा तरलताको अभाव हन दिँदैन । उर्जामा डिमान्ड शुल्कको विषयमा पनि बोलेको छ । हामीले उर्जाको रेटमा ३० प्रतिशत होस भनेको त्यो भएको छैन । हामीले जीडीपीको ५ प्रतिशत बराबरको राहत प्याकेज मागेका थियौं तर ४ प्रतिशतको हारहारीमा आएको छ । त्यो पनि अलि अन्यौल जस्तो नै छ । उद्योग प्रतिष्ठानमा काम गर्ने कामदार तथा श्रमिकको विषय सम्बोधन गर्न बजेटले खासै योजना छैनन् । हामीले काम गरेका कामदारलाई शतप्रतिशत र काम नगरी घरमा बसेका कामदार श्रमिकका लागि ५० प्रतिशत तलब दिने व्यवस्था गरौं भनेका थियौं, ट्रेड युनियनहरुले पनि यो कुरा मानेका थिए, सरकारले त्यो कुरा सुनेन । काम नगरी बसेका कामदारलाई पूरै तलब देऊ भनेर ३३ प्रतिशत ऋण दिने व्यवस्था गर्यो, यसमा पुनरबीचार जरुरी छ । सरकारले कम माग हुने समयमा विद्युत महसुलमा ५० प्रतिशत छुट दिने र डिमाण्ड शुल्कमा छुट दिने भनेको छ । डिमाण्ड शुल्क छुट दिने कार्यक्रम राम्रो भएपनि माग कम हुने समयमा अहिले पनि ४८ प्रतिशत छुट दिने व्यवस्था भएकोले यो छुट भनेको २ प्रतिशत मात्रै हुन्छ । निजी क्षेत्रको सहयोगले लोडसेडिङमुक्त भएकाे सरकारले बिर्स्याे: ज्ञानेन्द्रलाल प्रधान जलविद्युत उद्यमी निजी क्षेत्रको जलविद्युतमा १ खर्ब ४० अर्ब लगानी छ । आउने तीन चार वर्षमा ३/४ सय अर्ब लगानी आउँदैछ । बजेटमा ठूला योजनाहरु मात्र आयो । साना योजनालाई कुनै ध्यान दिएन । निजी क्षेत्र एक किसिमको आर्यघाटमा पुगिसक्यो । राहत आएन उल्टै धम्की आयो । बजेटमा गर्न सकिने कुरा त धेरै थिएन । बजेटको फोकस त स्वास्थ्य नै हो । स्वास्थ्यलाई पुरै फोकस गरेको छ । त्यसमा हामीले तारिफ नै गर्नुपर्छ । व्यरोजगारीलाई पनि पूर्ण फोकस गरेको छ । तर, योसँगै वेरोजगारीलाई पनि रोजगार दिन सक्ने क्षेत्र उर्जालाई फोकस गरेको छैन । यसरी देशको विकास कसरी हुन्छ ? दुई वर्ष अगाडि विद्युतीय गाडीलाई फोकस गर्नु भन्छ अहिले त्यसमै कर बढाएर निरुत्साहन गर्छ । यो राम्रो भएन । हामीलाई सहयोग गर्ने कुरा केही पनि आएन । निजी क्षेत्रको सहयोगले लोडसेडिङ हटेको सरकार बिर्स्यो । निजी क्षेत्रको जलविद्युतमा १ खर्ब ४० अर्ब लगानी छ । आउने तीन चार वर्षमा ३/४ सय अर्ब लगानी आउँदैछ । बजेटमा ठूला योजनाहरु मात्र आयो । साना योजनालाई कुनै ध्यान दिएन । साना योजना नबनाएर ठूला योजना बन्दैन । निजी क्षेत्रलाई अगाडि नबढाएर विकास नै सम्भव हुँदैन । इन्डक्सन चुलोलाई प्रा्ेत्साहन पनि गरेको छ । त्यो राम्रो कुरा हो । बजेट फोकस हुन सकेन । अहिलेको अवस्थालाई केही ह्याण्डिल गरेको छ। निजी क्षेत्र एक किसिमको आर्यघाटमा पुगिसक्यो । राहत आएन उल्टै धम्की आयो । हामी सन्तुष्ट नै छौंः साजन शाक्य महासचिव, होटल संघ नेपाल हामीले सरकारलाई मुख्ये तीन मागहरु राखेका थियौं । तीन मागहरु मध्ये सहुलियत ऋणको माग मात्र सम्बोधन भएको छ । हामीले देशको अर्थतन्त्रलाई हेरेर अपेक्षा गर्ने हो । त्यसले अहिलेको अवस्थामा यसमै सन्तुष्ट हुनु पर्छ भन्ने हाम्रो धारणा हो । सरकारले सम्पूर्ण पर्यटन व्यवसायीलाई केही राहत त ल्याएको छ । हामी यसमै भएपनि सन्तुष्ट नै छौं । सरकारले नयाँ–नयाँ गन्तव्य, धार्मिक पर्यटनका क्षेत्र, भौतिक पूर्वाधारका संरचना बनाउने भनेको छ । त्यो एकदमै राम्रो हो । हामीले सरकारलाई मुख्ये तीन मागहरु राखेका थियौं । तीन मागहरु मध्ये सहुलियत ऋणको माग मात्र सम्बोधन भएको छ । बाँकी साना होटलको घरबाहल कर पनि आएको छैन । अर्को, श्रमिकको एक वर्षको सामाजिक सुरक्षा कोषको रकम सरकारको तर्फबाट हुने पर्ने भनेको थियौं तर त्यो लकडाउन हुँदासम्म पनि तिर्नु भनेको छ । मजदुरहरुलाई पनि केही राहत आओस् भन्ने माग थियो त्यो आएन । हामीले देशको अर्थतन्त्रलाई हेरेर अपेक्षा गर्ने हो । त्यसले अहिलेको अवस्थामा यसमै सन्तुष्ट हुनु पर्छ भन्ने हाम्रो धारणा हो ।
सरकारले विदेशमा रहेका नेपालीलाई अर्को सातादेखि स्वदेश फर्काउने
काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउने भएको छ । शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विदेशमा रहेका नेपालीलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको हो । यससँगै सरकारले नेपाल आउनै पर्ने अवस्थामा रहेका नागरिकलाई अर्को सातादेखि स्वदेश फर्काउने निर्णय गरेको हो । आममाफी पाएर नेपाल आउन नपाएका, विभिन्न भिसामा गएका तर आफन्तको मृत्यु भएका कारण काजक्रिया गर्न आउनुपर्ने अवस्थामा रहेका व्यक्तिहरुलाई फर्काउने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले बताए । उनका अनुसार श्रम करार अवधि सकिएर रोजगारी गुमाएका, कोरोना बाहेक अन्य स्वास्थ्यको दृष्टिकोणले अस्वस्थ रहेका, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई स्वदेश फर्काइने छ । सम्पूर्ण देशबाट विवरण प्राप्त भएपछि नेपाल वायु सेवा निगम वा नेपालका अन्य वायु सेवा निगमबाट उनीहरुको उद्धार गरिने सरकारको निर्णय रहेको छ ।