७५ परिवारले दिए विदेशमै शव अन्तिम संस्कार गर्न स्वीकृति
काठमाडौं । वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका २ सय २७ जना नेपालीको शवमा ७५ शवको अन्त्यष्टीका लागि परिवारले स्वीकृति दिएका छन् । नेपालीको मुख्य श्रम गन्तव्य ९ देशमा १२ जना महिलाहरु र २ सय १५ जना मृतक पुरुषहरुको शव रहेको छ । जसमा २३ जनाको कोरोनाबाट मृत्यु भएको वैदेशिक रोजगार बोर्डले जानकारी दिएको हो । कोरोनाको महामारी फैलिएसँगै सरकारले गरेको लकडाउनको कारण लामो समयदेखि विदेशमा मृत्यु भएका नेपालीहरुको शव ढुवानी रोकिएको छ । सबैभन्दा बढी शव साउदीमा रहेको छ । ५८ वटा शवमा ११ वटा शव उतै अन्त्यष्टीका लागि परिवारले सहमति जनाएका छन् भने कोरोनाबाट साउदी र युएइमा ९/९ जनाको मृत्यु भएको बोर्डले जानकारी दिएको छ । ओमानमा सबैभन्दा कम एक शव रहेको छ । कोरोनाबाट कतारमा ४ जना, अन्यदेशमा १ जनाको मृत्यु भएको तथ्यांक वैदेशिक रोजगार बोर्डले सार्वजनिक गरेको हो ।
शिक्षाकाे गुणस्तर सुधारमा अपनाएकाे गलत विधि
नेपाल सरकारले हिजो जेष्ठ १५ गते आर्थिक बर्ष २०७७/२०७८ को बजेट सार्वजनिक गरेपछि सरकारले सार्वजनिक शिक्षाको गुणस्तर सुधारका लागि गरेको एउटा घोषणाले शिक्षा जगत नै तरङ्गित बनेको छ । “माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सबै निजी विद्यालयले सामाजिक उत्तरदायित्व बहन गर्दै कम्तीमा एक सामुदायिक विद्यालयमा शैक्षिक पूर्वाधार सामग्री सहित विद्यालयको शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी लिनुपर्ने व्यवस्था गरेको छु ।” बजेटको ११६ नं. बुँदामा राखिएको यो घोषणा रुपमा हेर्दा सामुदायिक विद्यालय सुधारमा संस्थागत विद्यालयको सहयोग लिने जसलाई प्राइभेट पव्लिक पाटनर्सिपको अवधारणा भनिन्छ । निजी विद्यालय पनि सरकारको अभिन्न शैक्षिक साझेदार हुन् र यिनीहरुलाई सामाजिक उत्तरदायित्व बहन गराउनु नराम्रो होइन । तर सरकारले बजेट भाषणमा गरेको घोषणाको आशय र उदेश्य नेपालको संविधानको मर्म विपरित र आफैले बनाएको राष्ट्रिय शिक्षा नीतिको समेत विपरित छ । देशलाई समाजवाद उन्मुख बनाउने संवैधानिक मर्म अनुसार शिक्षा र स्वास्थमा सरकारको लगानी वृद्धि गरेर पूर्णतया सरकारको नियन्त्रणमा ल्याउन ुपर्नेमा यो घोषणाले विदेशीको दबावमा शिक्षाको जिम्मेवारीबाट विस्तारै राज्य पन्छिने र शिक्षालाई निजीकरण गर्ने उदेश्यले प्रेरित घोषणा हो । सरकारको यो घोषणा निम्न अनुसारको दृिष्टकोणबाट गलत तथा भ्रत्सनायोग्य छ । गुणस्तरको नाममा असक्षमता लुकाउने प्रयत्न पहिलो नजरमै यस घोषणाले सरकारी विद्यालयको गुणस्तर खतम छ र शिक्षामा गरेको लगानी खेर गइरहेको छ भन्ने पहिलेदेखि नै एउटा तप्काले तयार पारेको न्यारेटिभलाई सरकारले प्रमाणित गर्ने काम यस घोषणामा गरिएको छ । शिक्षाको गुणस्तरलाई एसईईमा विद्यार्थीले प्राप्त गरेको जीपीएमा मात्र सीमित गरेर सरकारी विद्यालयलाई आलोचना गर्ने तथा कथित शिक्षाविद्हरुको विश्लेषणसँग शिक्षामन्त्री र सरकार सहमत भएको देखिन्छ । शिक्षाको गुणस्तर भनेको उत्पादित जनशक्तिले शिक्षाका राष्ट्रिय उदेश्यहरु पुरा गर्न के कति सहयोग गरेका छन । आज राज्यका विभिन्न क्षेत्रमा सहभागी भएर देश निर्माण कार्यमा के कस्ता जनशक्ति प्रयोग गर्न सकिएको छ ? यस तथ्यलाई अध्ययन नगरी एउटा परिक्षाको अंकको आधारमा गुणस्तरहिनको ट्याग लगाउने कुरा कदापि मान्य हुदैन । अध्ययन गरियोस आज राष्ट्रसेवक, प्रहरी, सैनिक, शिक्षक जस्ता क्षेत्रमा काम गरिरहेको जनशक्तिमा सरकारी विद्यालयकै उत्पादनको बाहुल्यता छ भने अर्कोतर्फ एसईई/प्लस टु पछि टोफेल, आईएलटीएस गरेर युरोप, अमेरिका र अष्टेलिया गएर ठूलो धनराशी विदेश पठाउने र गैरि खेत बेचेर त्यतै घर बनाएर बस्ने प्रवृत्तिले कहाँ निर शिक्षाको उदेश्य पुरा गरेको छ र गुणस्तरयीताको प्रमाण पत्र प्राप्त गर्यो ? सरकारी विद्यालयले देशका गरिव, पीछडिएको क्षेत्र, जनजाती, चेतनास्तर कम भएका अभिभावकका बालबालिकाको शिक्षाको जिम्मा एक्लै उठाइ रहेको तथ्यलाई विर्सन हुँदैन । नेपालमा नयाँ संविधान बनेको पनि ५ वर्ष भइसक्दा सयौँ कानुन बनेर संघीयता कार्यन्वयन भैसक्दा समेत शिक्षालाई पञ्चायती शिक्षा ऐन २०२८ अनुसार सञ्चालन गर्ने र नयाँ शिक्षा ऐन ल्याउन नसकेको मन्त्रालय र मन्त्रीको असक्षमता लुकाउन यो घोषणा गरिएको हो । शिक्षा क्षेत्र सुधार गर्ने कुरा सरकारको प्राथमिकतामा परेको छैन भन्ने कुरा सरकारले आफै बनाएको कानुन अनुसार बालविकास सहयोगी र विद्यालय कर्मचारीको पारिश्रमिक उपलव्ध नगराउनुले देखाउँछ । शिक्षाको जग बसाल्ने तह बाल विकासका शिक्षकलाई राम्रोसँग नास्ता खान पनि नपुग्ने तलव दिएर गुणस्तरको अपेक्षा गर्नु सरकारलाई हिनता बोध हुँदैन ? समाजवाद उन्मुख राष्ट्र कम्युनिष्ट पार्टीको शक्तिशाली सरकार रहेको मेरो देशमा ४५०० मासिक तलवमा विद्यालय कर्मचारी काम गरिरहेका छन् भन्दा मलाई आत्मग्लानी भइरहेको छ । शैक्षिक माफियाको चंगुलमा शिक्षा लेखक सरकारले किन शिक्षा क्षेत्रमा विवादास्पद निर्णय र कार्यक्रम ल्याउँदछ ? किन सामान्य आँखाले देखेका कमजोरी समेत सुधार गर्दैन ? आफ्नै नीति तथा संविधान अनुसारका प्रतिबद्धता अनुसार काम गर्न सक्दैन ? किन वर्षौ हुँदा समेत एउटा ऐन संसदबाट पारित हुँदैन ? किन ३३४ जना सांसद कहिल्यै सार्वजनिक शिक्षा सुधार तथा शिक्षकका समस्याको बारेमा संसदमा बोल्दैनन् ? आखिर किन हिजो शिक्षक पेशाबाट आज राजनीतिको उच्च पदमा पुगेका अधिकांश नेताहरुले सार्वजनिक शिक्षाको बारेमा चासो दिदैनन् ? यी प्रश्नहरुको उत्तर खोज्दा एउटै उत्तर आउछ । नेतृत्व सार्वजनिक शिक्षा प्रति चासो राख्दैन । शिक्षा प्राथमिकतामा पर्दैन । किनकी निजी क्षेत्रको शिक्षामा अधिकांश राजनीतिक नेतृत्वको लगानी छ । सरकारी नीति निर्माण तहमा रहेका धेरै व्यक्तिहरुको निजी शिक्षामा लगानी भएकोले सार्वजनिक शिक्षाको सुधार सरकार चाहदैन । तसर्थ बेला बखत शिक्षा क्षेत्रमा इमान्दारिताका साथ लागेका व्यक्तिहरुको तेजबोध गर्ने गरि घोषणा गर्दछ । विना यथोचित बजेट निःशुल्क शिक्षा घोषणा , शिक्षा ऐन वर्षौ पारित नगर्नु, र सरकारी विद्यालयको गुणस्तर वृद्धि गर्ने जिम्मा निजी विद्यालयलाई दिएर आफू शिक्षाको दायित्वबाट विस्तारै उम्किने प्रयत्न गर्नु शैक्षिक नेतृत्व शैक्षिक माफियाको प्रभावमा परेको प्रष्ट हुन्छ । सामाजिक उत्तरदाायित्व अन्तरगत आफ्नो नजिकका सरकारी विद्यालयको गुणस्तरको जिम्मा दिने कार्य कतै नेपाली उखान अनुसार बिरालोलाई दुधको सुरक्षामा लगाए जस्तै त होइन ? व्यक्तिगत व्यापार गर्नको लागि कम्पनी ऐन अनुसार स्थापना भएका विद्यालयले आफ्नै गुणस्तर सुधार गर्दछन भन्ने सल्लाह माननिय शिक्षामन्त्रीलाई कसले दिए होला ? र त्यही सल्लाह मानेर सगौरव बजेट भाषणमा घोषणा गर्ने मन्त्री र मन्त्रालयको नियतमाथि किन प्रश्न नगर्ने ? गलत उपचार विधि सरकारले सार्वजनिक विद्यालयमा देखिएका समस्या समाधान गर्न गलत उपचार विधि अवलम्वन गरेको छ । तसर्थ यदि नसच्याउने हो भने सार्वजनिक शिक्षा अझै थला पर्ने निश्चित छ । सक्नेले मात्र गर्ने हो । नसक्नेले चाहेर पनि केही गर्न सक्दैन । शिक्षक नियुक्ती एकद्धार प्रणालीबाट मात्र शिक्षक सेवा आयोगबाट गर्ने कुरालाई कडाइका साथ लागु गर्ने र योग्य शिक्षक भित्राउनु पर्नेमा फेरी ६००० म्यादी शिक्षक नियुक्त गर्ने कार्यक्रमले सार्वजनिक शिक्षामा सुधार हुँदैन । विभिन्न स्थानीय तहबाट नियुक्त १८ औँ नम्वरका शिक्षकहरु राम्रा भन्दा हाम्राको सुत्र बाट नियुक्त भएका छन । केही शहरी क्षेत्रका विद्यालय बाहेक अधिकाँश निजि विद्यालयका शिक्षक भन्दा सरकारी विद्यालयका शिक्षकहरु शैक्षिक योग्यता र क्षमता बढी भएका छन । तसर्थ सरकारी विद्यालय सुधार नहुनुमा शिक्षकले नपढाएर भन्दा पनि अरु धेरै पक्षहरुले प्रभाव पारिरहेको छ । सरकारी विद्यालयमा अधिकांश शिक्षक आफ्नो पेशाप्रति इमान्दार छन तर तिनीहरुको इमान्दारीताले प्रभाव देखाउने वातावरण छैन । सरकारी विद्यालयको अवस्था सुधार गर्न कसैलाई जिम्मा लगाएर होइन, इच्छा शक्ति भए भित्रैबाट सम्भव छ । अविलम्व शिक्षा ऐन ल्याएर कार्य सम्पादन करार मार्फत विद्यालयको प्रशासन अधिकार र जवाफदेहीता सहित प्रधानाध्यापकलाई जिम्मा दिने व्यवस्था गर्ने, विद्यालय निरिक्षणलाई नियमित र वैज्ञानिक बनाउने, शिक्षक बढुवालाई केश फुलाएर भन्दा सिकाइ उपलव्धिमा आधारित बनाउने, हाम्रालाई होइन राम्रालाई पुरस्कार र गल्ती गर्नेलाई सजायको भागीदार बनाउने र शिक्षकलाई सम्मान र सुबिधामा विभेद नगर्ने गरेमा मात्र सरकारी विद्यालयको सुधार सम्भव छ । आज उत्साह बोकेर शिक्षण पेशामा प्रवेश गरेका हजारौँ युवाहरुसँग सरकारी विद्यालय सुधार गर्ने क्षमता, दूरदृष्टि र इच्छाशक्ति छ । तर हाम्रो ऐनमा भएका कतिपय व्यवस्थाले ती शिक्षकहरुको क्षमता आफैभित्र मरिरहेको छ । तसर्थ सरकारले बजेट मार्फत घोषणा गरेको व्यवस्था कस्तुरी मृगको कथा जस्तै आफ्नै गन्ध खोज्न भौतारिए जस्तै हो । सामाजिक उत्तरदाायित्व अन्तरगत आफ्नो नजिकका सरकारी विद्यालयको गुणस्तरको जिम्मा दिने कार्य कतै नेपाली उखान अनुसार बिरालोलाई दुधको सुरक्षामा लगाए जस्तै त होइन ? व्यक्तिगत व्यापार गर्नको लागि कम्पनी ऐन अनुसार स्थापना भएका विद्यालयले आफ्नै गुणस्तर सुधार गर्दछन भन्ने सल्लाह माननिय शिक्षामन्त्रीलाई कसले दिए होला ? र त्यही सल्लाह मानेर सगौरव बजेट भाषणमा घोषणा गर्ने मन्त्री र मन्त्रालयको नियतमाथि किन प्रश्न नगर्ने ? शिक्षा मन्त्रीले निजी विद्यालयलाई सामाजिक उत्तरदायित्व पुरा गरेर कार्यरत शिक्षकलाई अनिवार्य सामाजिक सुरक्षा कार्यक्रममा आउन बाध्य पार्ने कार्यक्रम ल्याएको भए नेपालमा जुनसुकै तन्त्र आए पनि अनुभुति गर्न नपाएका हजारौ शिक्षकप्रति सामाजिक न्याय हुन्थ्यो । सरकारले घोषणा गरेको शिक्षा कर उठाउन नसकेर हटाएको यथार्थतालाई विर्सेर आफ्नो लगानीमा छिमेकी सरकारी विद्यालयको सुधार गर्ने कार्यक्रम लागू होला भनेर कसरी सोच्न सके होलान् । सरकारले सक्छ भने शिक्षा कर मार्फत सामाजिक उत्तरदायित्व बापत केही रकम लिएर शिक्षा बजेटलाई वृद्धि गर्दा राम्रो हुन्थ्यो । सरकारी र निजी दुबै विद्यालयको शैक्षिक उदेश्य राज्यका राष्ट्रिय उदेश्य पूरा गर्नु नै हो तसर्थ आ–आफ्ना राम्रा प्रयासको आदान प्रदान गर्ने कुरामा विमती हुन सक्दैन किनकी शिक्षा भनेकै निरन्तर सिक्ने र सिकाउने प्रक्रिया र अभियान हो । तर सरकारले घोषणा गरे जस्तो जिम्मा लगाउने कुराको कम्तिमा समाजवाद उन्मुख राज्यको सचेत नागरिकको नाताले स्वीकार गर्न सकिदैन । शैक्षिक माफियाको जालोबाट मुक्त भएर इमान्दार प्रयास गरेर आउनुहोस सरकारी विद्यालयको सुधार हामी आफै गर्न सक्छौ । शिक्षक, प्रभात नमूना मा.वि. बैजनाथ गाउँपालिका, बाँके
श्रीमतीजीको हिम्मत
“हाम्री आयुष्मती सुपुत्री अनामिकाको फलानोका छोरासँग फलानो दिनको शुभ लग्नमा विवाह सुसम्पन्न हुने निश्चय भएकोले……..” मलाई झल्झली सम्झना छ, मेरो विवाह निश्चय हुँदा छापिएको कार्ड अनि पहिलो पल्ट कुनै अपरिचित पुरुषसँग जोडिएको मेरो नाम । हुन त पुरुषसँग मेरोे नाम जोडिएको यो पहिलो पल्ट भने होइन । सानो छँदा भाँडाकुटी खेल्ने क्रममा कैयौं पल्ट केटा साथीको बेहुली भएकी छु । स्कुलमा पनि कक्षा आठ–नौ तिर पढ्दा साथीहरुले मेरो नामसँग अरु कसैको नाम जोडिदिएर डेस्क–बेञ्चमा लेखेकै हुन्थे । तर नितान्त फरक छन् ती नाम र अहिले कार्डमा छापिएको पुरुषको नाम । बुबाले चारैतिर बुझेर अनि धेरै पल्ट सोचेर मात्र आफ्नो मुटुको टुक्रालाई यही पुरुषसँग विवाह गरिदिने निश्चयमा पुग्नुभएको थियो । “कोही केटा मन पराकी छेस् भने भन् है” केटाको परिवार मलाई माग्न आएको साँझ बुवाले मलाई सोध्नु पनि भएको थियो । अहिले लाग्छ बुबाको त्यो प्रश्न बेतुकको थियो सायद । स्कुल अनि कलेज छँदा ‘पढ्नमा मन गर्नु, ठुलो मान्छे हुनुपर्छ, सभ्य र भलाद्मी हुनुपर्छ’ भनेर सिकाउने बुवाले ‘कोही केटा मन पराकी छेस् ?’ भनी सोध्दा बेतुक झैं लागेको थियो मलाई बुबाको त्यो प्रश्न । विवाह पछिका केही महिना त रमाइलै गरी वितेका थिए । पतिनै जीवन र भविष्य हो भन्ने सोचाई राखेको थिएँ । नारी, सरिता, गृहलक्ष्मी र गृहशोभा जस्ता मासिक पत्रिकाहरु पढेर नयाँँ–नयाँँ रेसिपिको साथ उसलाई भोजन पनि गराउँथें । तर कति चाँडै उसमा बदलाव आएको होला । ‘वाह ! कति मिठो पकाएको’ भन्ने वाक्य शुरुशुरुका दिनको जस्तै गरी आज पनि सुन्न लालाइत छु । मात्र एक वाक्य त हो नी । तर अहँ, सायद सम्झौता रहेछ जीवन । कहिलेकाहिँ त यस्तो लाग्छ कि सम्झौता भन्ने कुरा मैले मात्र किन गर्नुपर्ने होला ? सधैं पुरुष नै माथि किन हुन्छ ? नारीले मात्र धर्ती बनेर सहिरहनु पर्ने हो र ? वास्तवमा एउटी नारीले आफ्नो पतिबाट चाहने भनेको अभिभावकत्वको हिसावले आफ्नो पति बुबा जस्तै होस् जसले जुनसुकै समस्यामा पनि ढाल बनेर आफ्नो रक्षा गरोस् भन्ने हो । सानातिना गल्तीहरुलाई नजरअन्दाज गर्दै सुधार्ने मौका देओस्, आमाले झैं हरेक कुराको ख्याल राखोस्, कोमल होस् अनि भावना बुझेर साथीजस्तै गरी जिस्कियोस्, चलोस्, गालि गरिहाले पनि मिठो गालि गरोस् ताकि फकाउन मजा आओस् भन्ने हो । एउटी नारीले पत्नीको रुपमा श्रीमानबाट चाहने यिनै त हुन् नि ससाना कुरा । यही साना–साना कुरा पूरा भए त खुसी भैहालिँदो रैछ नि । सायद मैले पनि आफ्नो श्रीमानसँग यही कुरा चाहेको थिएँ । अस्ति भर्खरकै मात्र कुरा हो ऊसँग बजार जाँदा उसको आँखा र ध्यान चाहिँ सडकको पल्लोपट्टि हिँडिरहेकी केटीमा भएको चाल पाएँ । हेर्नु नराम्रो त होइन तर कुरा नियतको हो । मैले के सम्म गरेको छैन र उसका लागि । खुम्चिएको लुगामा अफिस नजाओस्, उसलाई सवैले राम्रो देखुन् भनेर उसका लुगामा आइरन लगाइदिने गरेकै थिएँ । समयमै धोइदिने गरेकै थिएँ । उफ्… लुगा मात्र कहाँ हो र, कति चोटि त कछाड पनि धोइदिएको छु । कति भाडाको घरमा मात्र बस्नु भन्ने सोचेर ऋण नलाग्ने गरी एउटा सानो घर बनाउनका लागि विवाहमा बुबा–आमाले दिनुभएको सिक्री, औंठि अनि तिलहरी बेचिदिएकै थिएँ । यहाँसम्मकी, बुवाले मलाई आर्थिक समस्या नपरोस् भन्दै सुटुक्क राखिदिएको फिक्स्ड डिपोजिट पनि तोडाइदिएँ । छोरा जन्मेपछि मलाई माया गर्लान् भनेर चित्त बुझाउन नखोजेको पनि होइन तर ऊ भने दिन प्रतिदिन मेरो सहनशिलतालाई कमजोरी ठान्दै मलाई हेप्ने गरिरहेको छ । के उसले आज कमाएको पैसा अनि उसको सफलताको पछाडि मेरो चाहिँ केहि हात छैन् ? अस्ति दिउँसो मैले ‘पाइन्ट लगाऊँ ?’ भनी सोध्दा उसले मलाई कम्ती गिज्याएन । म पाखे देखिन्छु रे, सुहाउँदैन रे, मोटि भएँ रे, केके हो केके । उसका अफिसका महिला कर्मचारीहरु स्मार्ट छन् रे, आधुनिक छन् रे । सायद त्यही भएर नै होला अचेल ऊ म सँग घुम्न त्यति मन पनि गर्दैन । उ पनि म जस्तै बि.बि.एस. त पास हो नि । मलाई जागिर नखाऊ भनेर उसैले हो कर गरेको । जागिर खान दिएको भए म पनि खान सकिहाल्थेँ नि । यदी त्यस्तो हुन्थ्यो भने त म पनि ऊ जस्तै पोस्टमा पुग्न सक्थेँ नै होला । अनि त भै हाल्थेँ नि उसका अफिसका महिला कर्मचारी जस्तै स्मार्ट । म यदी पाखे देखिएको छु भने मलाई यस्तो बनाएको उसैले हो । छोराछोरी हेर, थाङ्ना धोऊ, घर सफा राख, सासु, ससुरा अनि नन्दको विचार गर, एउटा महिलाको कम काम हुन्छ दिनभरी ? उफ् ….रातमा पनि उसको चित्त बुझाउनु रे । तर के गर्नु, यति विधि गर्दा पनि मेरो आफ्नो भन्ने के नै छ र ? माइतीमा हुन्जेल बुवाको छोरी भएर त्यै परिचयमा बाँचियो, बिहे पश्चात् सिउँदो आफ्नो तर सिन्दुर उसको नामको, थर गोत्र उसको नामको, गर्भ आफ्नो तर सन्तान उसैको, यहाँसम्मकि घरको बिजुली, टेलिफोन, केवल, नेट सबै उसैको, मेरो त भन्नु के नै पो रहेछ र । हिजो साँझकै मात्र कुरा हो, थकाइ लागेर यसो पल्टिँदै टि.भि.को रिमोट मात्र के समातेको थिएँ खाउँलाझैं गरेर रिमोट खोस्दै “घरमै बस्यो, काम केही नगर्यो, दिनभरी हल्लियो, फोकटको खायो” भन्दै करायो । म पनि त भन्न सक्थेँ नि यो मेरै माइतीले दिएको दाइजो हो भनेर । तर किन बेकार द्वन्द निम्त्याउनु, चुप लागेँ । मेरो समझदारीलाई उसले दिन प्रतिदिन कमजोरी ठानिरहेको छ । किन घर गृहस्थी सम्हालेकी नारीले इज्जत पाउँदैनन् ? माइतिले पाल्न नसकेकोले गर्दा नारीले पुरुषको सहारा लिन्छन् भनी किन बुझ्छन् पति भनाउँदाहरु ? आज विहान मेरा आँखा चाँडै उघ्रिए । ओछ्यानमै पल्टिएर मनमा कुराहरु खेलाउँदै गर्दा अचानक एउटा निर्णयमा पुगेँ र जुरुक्क उठेँ । सदा झैँ सरिता, गृहलक्ष्मी, गृहशोभा लगायतका नारीप्रधान पत्रिका पढ्न आज मन लागेन बरु एउटा दैनिक पत्रिका किनेर ल्याएँ र भित्री पृस्ठको एउटा विज्ञापनमा टक्क आँखालाई अड्याएँ, जहाँ ‘कर्मचारी आवश्यकता’ भनेर छापिएको थियो । पत्रिकाहरुमा भ्याकेन्सी त सधैँ नै छापिएकै हुन्थे तर सायद मेरा आँखा र हिम्मत मात्र त्यहाँसम्म नपुगेका रहेछन् । वर्षौं देखि दराजमा थन्क्याएर राखेको आफ्नो सबै शैक्षिक प्रमाणपत्रहरु झोलामा राखेर विहानको १० बज्नै लाग्दा घर वाहिर निस्किएँ । म पहिलो पल्ट केही नभनी आत्मविश्वासका साथ हिँड्न लागेको देखेर श्रीमान् अचम्मित भए अनि एकटकले हेरिरहे । उनको आँखामा एउटा प्रश्न प्रष्टै देखियो – “कता जान लागेको ?” म पनि टक्क अडिएँ र उनीसँग आँखा जुधाउँदै आत्मविश्वासका साथ आखैंबाट जवाफ फर्काएँ, “तिम्री पाखे श्रीमती आज अलिकति हिम्मत गरेर इन्टरभ्यु दिन जाँदैछे ।” बिराटनगर–५, हाल तेह्रथु फोन: ९८५२०३६३११
फरार वडाध्यक्ष अदालत हाजिर, धरौटीमा रिहा
परासी । लिखतसम्बन्धी कसुर(कीर्ते) गरेका अभियोगमा फरार रहेका नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), पाल्हीनन्दन गाउँपालिका–५ का वडाध्यक्ष ओमप्रकाश गुप्ता धरौटीमा रिहा भएका छन् । गुप्ता फरार रहेको समाचार सार्वजनिक भएपछि उनी आफैंअदालतमा हाजिर भएको नवलपरासी जिल्ला अदालतले जनाएको छ । अदालत हाजिर भएका वडाध्यक्ष गुप्तालाई जिल्ला न्यायाधीश हेमबहादुर सेनको इजलासले रु ६० हजार धरौटीमा छाड्ने आदेश दिएको अदालतका निमित्त स्रेस्तेदार तीर्थराज शर्माले जानकारी दिए । वडाध्यक्षसहित पाँच जनाविरुद्ध विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि दिने क्रममा कीर्ते गरेको अभियोगमा जिल्ला अदालतमा मुद्दा परेको थियो । सोही मुद्दामा तत्कालीन वडा सचिव गोविन्द कहार र कीर्ते कागज प्रयोग गर्ने रामग्राम–५ की रुक्शाना शेष पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि दिने क्रममा मूल प्रमाणपत्र र मूल अभिलेख रजिष्ट्ररमा उल्लिखित विवाह मितिलाई केरमेट गरी फरक मिति बनाएर प्रतिलिपि जारी गरेको भन्दै वडासचिव र वडाध्यक्षसहित पाँच जनाविरुद्ध जिल्ला अदालतमा लिखतसम्बन्धी कसूरको मुद्दा दायर भएको थियो । रामग्राम–५ का सुबेदार शेष र रुक्शानाको विवाह दर्तामा कायम भएको मितिलाई प्रतिलिपि दिँदा केरमेट गरी मिति फरक पारिएको थियो । रुक्शानाका पति सुबेदारले सरकारी छाप दस्तखत किर्ते गरिदिने कार्यमा संलग्न भनिएका वडाध्यक्ष गुप्ता, तत्कालीन वडा सचिव कहारसहित पाँच जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरे । उक्त कार्यमा आफ्नै श्रीमती रुक्शाना, वडाध्यक्ष गुप्ता, वडा सचिव कहार, तत्कालीन वडा सचिव नन्दलाल कहार, कार्यालय सहयोगी अमरलाल कहार गरी पाँच जना संलग्न रहेको भनी विपक्षी बनाइएको थियो । प्रतिवादीमध्ये नन्दलाल पनि ६० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए । कार्यालय सहयोगी अमरलालको केही दिन अगाडि मृत्यु भएको बताइएको छ । रासस
एटिएम फुटाउँदै गरेका व्यक्ति पक्राउ
काठमाडौं । बन्दाबन्दीको समयमा एटिएम बुथ फुटाएर पैसा झिक्न खोज्दै गरेका सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ नगदेश बस्ने २१ वर्षीय सचिन तामाङलाई प्रहरीले गएराति फक्राउ गरेको छ । मध्यपुरथिमि नगरपालिका–६ बाहखा बजारस्थित सञ्जीव चित्रकारको घरको भुइँतलामा गएराति २ः१५ बजे एटिएम फुटाउँदै गरेको खबर आएलगत्तै प्रहरी वृत्त थिमिका प्रहरी निरीक्षक राजीव गिरी नेतृत्वको टोलीले एनआइसी एशिया बैंकको एटिम फुटाउँदै गरेका तामाङलाई पक्राउ गरेको थियो । प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार पक्राउ परेका तामाङको साथबाट एक थान ह्याम्बर, एक थान स्क्रुड्राइभर, डण्डी, फुटाएको एटिएम मेसिनको बाहिरी कभरलगायतका सामग्री बरामद गरेको छ । पक्राउ परेका तामाङलाई प्रहरी बृत्त थिमिमा राखेर थप अनुसन्धान भइरहेको र आइतबार जिल्ला अदालत भक्तपुरमा म्याद थप गरिने प्रनाउ गिरीले बताए । रासस
कृषि र रोजगारीका लागि तातिए स्थानीय तह
तम्घास । गुल्मीका चार स्थानीय तहले कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्ने भएका छन् । जिल्लाका मुसिकोट नगरपालिका तथा मदाने, मालिका तथा धुर्कोट गाउँपालिकाले स्थानीय रोजगारी सिर्जना गर्नका लागि कृषि र कृषिजन्य वस्तुको उत्पादनमा जोड दिने भएका हुन् । उत्पादनमा आधारित अनुदान, उत्पादित कृषिजन्य सामग्रीको बजारको सुनिश्चितता, उचित मूल्य, बाँझो जग्गामा अनुदानलगायत कार्यक्रममार्फत कृषिजन्य सामग्रीको उत्पादन गरी रोजगारी सिर्जना गर्ने योजना रहेको स्थानीय तहले जनाएका छन् । विदेशबाट फर्केका र रोजगारी गुमाएकालाई ध्यान दिँदै बजेट ल्याउने तयारी गरिएको मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए। कोरोना भाइरसले पारेको प्रभाव न्यूनीकरण गर्न तथा गौरव र ठूला आयोजनाको निर्माण सम्पन्न गर्न बजेट खर्च गर्ने गरी नीति तथा कार्यक्रम बनाउन लागिएको छ । नगरपालिकामा अहिलेसम्म दुई सयभन्दा बढी बाहिरबाट मानिस आइसकेका छन् र अझै एक हजार तीन सयभन्दा बढी मानिस नगर भित्रँदैछन् । नगरपालिकामा निःशुल्क सीप, प्रविधि र रोजगार दिने कार्यक्रम ल्याइने जनाइएको छ । काम गर्न चाहाने युवालाई नगरपालिकाले कागती खेती, वाइरिङलगायत सीप दिएर स्वरोजगार बनाउने योजना रहेको नगरप्रमुख सापकोटाले बताए । नगरपालिकाले साविकका वडामा ५० प्रतिशत अनुदानमा एकएक हाते ट्याक्टर दिने योजना बनाएको छ । सन्ताउन्न हाते ट्रयाक्टरबाट ५७ जना स्वरोजगार बन्ने नगरप्रमुख सापकोटाले जानकारी दिए । नगरपालिकाले कफी, कागतीलगायत कृषि र कृषिजन्य सामग्री उत्पादनमा अनुदानको व्यवस्था गर्ने, वडामा ५० प्रतिशत अनुदानमा कुटानी–पिसानी गर्ने मिल दिनेलगायतका कार्यक्रम ल्याउन लागेको छ । किसानले उत्पादन गरेको खाद्यान्न बालीको नगरपालिकाले भण्डार गर्ने व्यवस्था मिलाउने योजना बनाएको छ । तरकारीलगायत नगदेबालीका लागि नगरपालिकाले मूल्य निर्धारण गर्ने र बिक्री नभए आफैंले किसानसँग खरीद गर्ने प्रमुख सापकोटाले बताए । आगामी आर्थिक वर्षमा नै प्रदेश सरकारको सहयोगमा हाटबजार सञ्चालन हुने पनि उनको भनाइ छ । एकएक वटा वडामा मासु पसलका लागि अनुदानसमते उपलब्ध गराइने छ । नगरपालिकाले गौरवका आयोजनाअन्तर्गत मुसिकोट दरबार, पहुँचमार्ग, धूमपार्कमा वनभोजस्थल, आँपचौरमा शहीद उद्यान, मालिका मन्दिरलगायत क्षेत्रलाई समावेश गरेको छ । आगामी आर्थिक वर्षदेखि नगरपालिकाले आफ्नै खर्चमा एमबिबिएस डक्टरसहितको स्वास्थ्य सेवा थप गर्ने योजना बनाएको छ । कृषि, पशुपालन र पूर्वाधारमा जोड मदानेमा अहिलेसम्म चार सय मानिस आएका छन् । थप चार सय मानिस गाउँ आउँदैछन् । कोरोना भाइरसका कारण रोजगार गुमाएर आठ सय मानिस विदेशबाट आउँदैछन् । उनीहरुलाई स्वरोजगार बनाउनका लागि व्यावसायिक कृषि, पशुपालन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीका अनुसार गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई रोजगारीमा लगाउने योजना बनाएको छ । ‘कोरोना सङक्रमणसँगै रोजगार गुमाएका नागरिकहरुलाई रोजगारीमा पनि लगाउनु छ, त्यसैअनुसार नीति र बजेट बनाउनुपर्छ, ‘व्यावसायिक कृषि र पशुपालनमार्फत रोजगारी सिर्जना गर्ने योजना बनाएका छौं।’ गाउँपालिकाले कृषि ऋणमा व्याज अनुदान तथा उत्पादनमा आधारित अनुदान जस्ता कार्यक्रम अगाडि सारेको उनले बताए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि भने आइसोलेशन कक्ष तयार गर्ने, स्वास्थ्य संस्थाको स्तरोन्नति गर्ने जस्ता योजना आउने छ । हालसम्म गाउँपालिकाका दुई जनामा कोरोना सङ्क्रमण देखिएकाले कार्यपालिकाको बैठक बस्न नसकेको उनल भने । धुर्कोट गाउँपालिकामा एक हजारभन्दा बढी नागरिक गाउँ आउने अनुमान छ । भारत तथा अन्य मुलुकबाट रोजगारी गुमाएर गाउँ आउने नागरिकमध्ये बाँझो जग्गा खन्नेलाई अनुदान दिने तथा उत्पादनमा आधारित अनुदानमार्फत कृषि कार्यमा लगाउने योजना गाउँपालिकाको छ । दुई वा सोभन्दा बढी वर्ष बाँझो रहेको जग्गा खनेर सुन्तलालगायत फलफूल जातको खेती गरेमा प्रतिरोपनी रु तीन हजार तथा मकै, कोदोलगायत खाद्यान्न खेती गरेमा प्रतिरोपनी चार हजारका दरले अनुदानको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले बताए । उत्पादित सामग्रीको बजारको सुनिश्चितता सहकारीमार्फत गाउँपालिकाले गर्ने योजना रहेको छ । मालिका गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव संकलन गर्दै छ । कोरोना संक्रमणले गर्दा यस वर्ष गत वर्षझैं बैठक आह्वान गरेर सुझाव संकलन गर्न नसकिए पनि चिठ्ठीमार्फत सुझाव संकलन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिनुभयो । ‘यस वर्षका लागि सुझाव संकलन गरिरहेका छौं’, उनले भने, ‘उत्पादन र रोजगारीमा आधारित बजेट ल्याउने गाउँपालिकाको योजना छ ।’ बाख्रापालन, कृषि र कृषिजन्य सामग्रीको उत्पादनमा जोड, उत्पादित सामग्रीको बजारीकरणलगायत क्षेत्रमा गाउँपालिकाले जोड दिने उनले भने । ‘धेरैको रोजगारी गुमेको छ, व्यावसायिक कृषिमार्फत गुमेको रोजगारीलाई प्रतिस्थापन गर्नुपर्छ ’, उनले भने । जिल्लाका अन्य स्थानीय तहले आगामी आर्थिक वर्षका लागि बजेटको तयारी थाले पनि रेसुङ्गा नगरपालिका भने मौन छ । यहाँ कोरोना भाइरसकै कारण रोजगारी गुमाएर तीन हजार नागरिक आउने अनुमान गरिएको छ । अहिले कोरोना रोकथाम र नियन्त्रणमा आफूहरु रहेको भन्दै आगामी वर्षका लागि कुनै सोच नबनाएको नगर प्रमुख डिल्लीराज भुसालले बताए । ‘अहिले कोरोना नियन्त्रणकै अभियानमा छाँै, नीति तथा कार्यक्रम र बजेटबारे कुनै योजना बनाएका छैनौं’, उनले भने, ‘केन्द्रको बजेटअनुसार हामीले बजेट बनाउने सोच बनाएका छौं ।’ रासस
आगामी आर्थिक वर्षको बजेटका सम्बन्धि नेपाल समुद्रपार निकासी पैठारीको धारणा
काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा समेटिएको अनावश्यक खर्च कटौती गर्ने तथा मितव्ययिता अपनाउने कार्यक्रमलाई नेपाल समुद्रपार निकासी पैठारी संघले राम्रो मानेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८को बजेट प्रस्तुत गर्ने क्रममा रोजगारी सिर्जना गर्ने कार्यक्रम तथा करको दर नभई दायरा बढाउने नीति बजेटको अर्को सकारात्मक पक्षको रुपमा संघले लिएको जनाएको छ । लकडाउन अवधिमा सञ्चालनमा नआएका उद्योगलाई बिजुलीको डिमान्ड चार्ज छुट दिनुलाई पनि संघले बजेटको सकारात्मक पक्षको रुपमा लिएको छ । यसले थौरै मात्रामा भए पनि उद्यमी, व्यवसायीलाई राहत हुने हाम्रो अपेक्षा छ । तीन हजार रुपैयाँसम्मको ज्याला÷पारिश्रमिक खर्च र दुई हजारसम्मको वस्तु वा सेवा खरिदमा प्यान अनिवार्य नचाहिने व्यवस्थाले व्यवसायलाई केही सहजीकरण गर्ने हुँदा यसलाई संघले स्वागतयोग्य मानेको छ । सरकारले ल्याएको कोभिड प्रभावित व्यवसायका लागि सहुलियत कर्जा उपलब्ध गराउने नीति सकारात्मक छ, तर त्यो पर्याप्त छैन । ठूलो संख्याका उद्योगी, व्यवसायीका समस्या सम्बोधन गर्न यो पर्याप्त नहुने संघको ठहर छ । करचुक्ता प्रमाणपत्र अनलाइनबाटै उपलब्ध गराउने तथा डिजिटाइजेसनलाई प्रवद्र्धन गर्ने नीति तथा कोभिड नियन्त्रण कोषमा गरेको सहयोग खर्च लेख्न पाउने व्यवस्थाको पनि यो संघ स्वागत गर्दछ । आयकरका मुद्दामा ब्याज लिने तर जरिवाना नलाग्ने व्यवस्थालाई पनि संघले स्वागतयोग्य मानेको छ । त्यसैगरी, एक्जिम कोड (आयात निर्यात कोड) लाई थप लिंक बढाई सुधार गर्ने योजनालाई पनि संघले बजेटको सकारात्मक पक्षको रुपमा लिएको छ । तर, जिडिपीमा ६५ प्रतिशत हाराहारी योगदान गर्ने तथा सर्वाधिक रोजगारी दिएको निजी क्षेत्रलाई कोभिड–१९ ले खडा गरेको संकटबाट बाहिर ल्याउने खालका कार्यक्रम नआउनु बजेटको प्रमुख कमजोर पक्ष हो । जसले गर्दा यो संकटको आधारभूत पक्षलाई बजेटले सम्बोधन गर्ने अपेक्षामा बसेका ठूलो संख्याका उद्योगी, व्यवसायी निराश भएका छन् । विद्युतीय गाडीमा भन्सार र अन्तःशुल्क बढाउने कदम विद्युतीय उपकरणलाई बढावा दिने तथा स्वच्छ ऊर्जाको खपत बढाउने सरकारी नीतिविपरीत रहेको यो संघको ठहर छ । कोरोना पछि सबै किसिमका उद्यमी, व्यवसायीसामु नगद प्रवाह सबैभन्दा ठूलो चुनौतीको रुपमा आउने छ, त्यसको सम्बोधन हुने किसिमले बजेट बनाउन निजी क्षेत्रले बारम्बार आग्रह गर्दै आए पनि त्यसको बेवास्ता हुनुलाई संघले बजेटको अर्को कमजोर पक्षको रुपमा लिएको छ । त्यसैगरी, मझौला उद्यमी, व्यवसायीलाई उत्साह जगाउने नीति तथा कार्यक्रम नआउनु बजेटको कमजोरीको रुपमा रहेको छ । तैपनि बजेटले केही आशा जगाउने काम भने गरेको संघका महासचिव मदन मित्तलले जानकारी दिए ।
कालीगण्डकीमा पक्की पुल बन्दै
रामपुर । गाउँ फर्केका युवालाई रोजगारी दिन प्रदेश नं ५ र गण्डकी प्रदेश जोड्ने कालीगण्डकीमा धमाधम पक्की पुल निर्माण भइरहेको छ । पाल्पा, रामपुर नगरपालिका १ र तनहुँको घिरिङ गाउँपालिका १ जोड्ने पुट्टारघाटमा निर्माणाधीन पुल निर्माण बन्दाबन्दीले केही समय स्थगन भएको थियो । पुलमा काम गर्ने नेपालगञ्ज र बर्दियाका मजदूरलाई घर पठाएर निर्माणको काम केही समय रोकिएको थियो । कोरोना भाइरसका कारण भारत तथा विभिन्न मुलुक, स्थानबाट गाउँ फर्केका युवाले नदीमा पुल निर्माणलाई निरन्तरता दिएर आर्थिक उपार्जन गर्न मौका पाएका छन् । अहिले तनहुँको भागमा पिल्लर हाल्ने काम भइरहेको छ । यसमा यहाँका ५५ युवालाई परिचालन गरिएको छ । बन्दाबन्दीपछि गाउँ आउनुभएका हरिविक्रम दरै पुल निर्माणमा सहभागी हुने अवसर पाउँदा खुशी भएको बताए । दैनिक १६ घण्टा काम भइरहेकाे छ । निर्माणमा संलग्न युवालाई दैनिक दुई कार्यावधि बनाई ८, ८ घण्टामा विभाजन गरेर एक कार्यावधिमा ८ सय ज्याला दिने गरी काममा लगाइएको पुल निर्माण समितिका सचिव दानबहादुर मल्लले जानकारी दिए । हालसम्म पुल निर्माणको काम १८ प्रतिशत सम्पन्न भएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर टेकनाथ शर्माको भनाइ छ । बन्दाबन्दी लम्बिँदै गएपछि गृह मन्त्रालयबाट पुनः निर्माण सामग्री ढुवानीका लागि सवारी अनुमतिपत्र बनाएर स्थानीय युवा परिचालन गरी पुल निर्माणको काम धमाधम गरिएको उनले बताए । नेपाल सरकारको २५ करोड रुपैयाँको लागतमा डेढ वर्ष अघिदेखि पुल निर्माण शुुरु गरिएको हो । १ सय १७ मिटर लम्बाइ र ११ मिटरको चौडाइ रहेको पुल निर्माण बिल्डर्स शर्मा युनाइटेड रमन जेभी कन्ट्रक्सन प्रालिमार्फत तीन वर्षभित्र सक्ने लक्ष्य राखिएको छ । ज्याग्दी वनमा उद्यान कालीगण्डी तटमा रहेको रामपुरको ज्याग्दी वनमा उद्यान निर्माण शुरु भएकोे छ । छब्बीस हेक्टर क्षेत्रफलमा फैलिएको सो वनको चार हेक्टर क्षेत्रफलमा चिडियाखाना, बालोद्यान सहितको उद्यान बनाउने कार्य शुरु भएको हो । रामपुर नगरपालिका प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको सहयोग र वडा नं ६ को व्यवस्थापनमा निर्माण हुने उद्यानको पैदलमार्गको ट्रयाक खोल्ने काम शुरु भएको छ । गत वर्ष निवेदन दिएका बेरोजगार युवालाई काम गर्न औजार हस्तान्तरण गर्दै नगर प्रमुख रमणबहादुर थापा आफैंले खनेर ट्रयाक बनाउने कामको शुभारम्भ गरे । कृषि र पर्यटन विकासको पाँचवर्षे कार्ययोजनासहित अगाडि बढेको वडा नं ६ ले ज्याग्दी वनलाई हेटौँडाको उद्यान जस्तै बनाउने योजना राखेको वडायक्ष हुमनाथ न्यौपानेले बताएका छन् । सरकारले पर्यावरण र पर्यटन प्रवद्र्धनका लागि ‘एक सामुदायिक वन एक उद्यान’ कार्यक्रम अगाडि सारेकाले पनि सोहीअनुरुप उद्यानको डिपिआर तयार पारी पहिलो चरणमा ट्रयाक खोल्ने र वनस्पति उद्यान बनाइने ज्याग्दी बृहत् पार्क विकास समितिका अध्यक्ष ओमप्रकाश बस्यालले जानकारी दिए । पार्क निर्माणका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा ५ लाख रुपैयाँ विनियोजन गरेको समितिका सचिव वासुदेव ढकालको भनाइ छ । रासस