विकासन्युज

पाँचखाल बृहत् खानेपानीको ठेक्काः नेपाली र चिनियाँ कम्पनी छनौट

काठमाडौं । पाँचखाल नगरपालिकामा सञ्चालन हुने सुनकोशी–पाँचखाल बृहत् खानेपानी आयोजनाको ठेक्काका लागि नेपाली र चिनियाँ कम्पनीलाई छनोट गरिएको छ । आयोजनाको ठेक्का सम्झौता प्रक्रियामा रहेको जनाइएको छ । आयोजनाका लागि ९ निर्माण कम्पनीले प्रस्ताव पेस गरेका थिए । ९ मध्ये नेपाली कम्पनी कन्काइ विल्डर्स र चिनियाँ कम्पनी हुवाछे (ज्वाइन्ट भेन्चर) छनोट गरिएको नेपाल सरकार शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजनाका उपनिर्देशक रामकुमार श्रेष्ठले बताए । उनले प्राविधिक र आर्थिक मूल्याङ्कनपछि ज्वाइन्ट भेन्चर कम्पनी छनोट गरी आयोजनाको ठेक्का सम्झौता प्रक्रियामा रहेकोसमेत जानकारी दिए । श्रेष्ठका अनुसार सम्भवतः छनोट कम्पनीको स्वीकृतका लागि भोलि एशियाली विकास बैंक (एडिबी)को मुख्यालय फिलिपिन्सको मनिला पठाइनेछ । “एडिबी मुख्यालयको अध्ययनपछि नै निर्माण कम्पनी छनोट भएकाले उसले कम्पनीको स्वीकृत गरेपछि आयोजनाको ठेक्का सम्झौता हुनेछ”, श्रेष्ठले भने । प्राविधिक र आर्थिक मल्याङ्कनपछि सार्वजनिक खरिद ऐनअनुसार कम लागतमा निर्माण सक्ने प्रस्तावक नेपाली कन्काइ र चिनियाँ हुवाछे ज्वाइन्ट कम्पनीलाई छनोट गरिएको आयोजनाले जनाएको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण परियोजनाको प्रक्रिया लम्बिएको हो । परियोजनाको २०७६ भदौ १२ गते तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको उपस्थितिमा खानेपानी आयोजनाअन्तर्गत शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता गरिएको थियो । सम्झौताका अढाइ वर्षमा आयोजनाको काम सक्ने जनाइए पनि अब समयावधि लम्बिने देखिएको छ । आयोजनाका अनुसार आउँदो जुन महिनाभित्र निर्माणको काम शुरु भइसक्ने श्रेष्ठले बताए । उनले कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण निर्माण प्रक्रियामा केही ढिलाइ भए पनि ठेकेदार कम्पनीसँग सम्झौतालगत्तै निर्माणका काम अघि बढ्ने बताए । आयोजना २ अर्ब २१ करोडको लागतमा अढाइ बर्षमा निर्माण सम्पन्न गरिने लक्ष्य लिइएको थियो । श्रेष्ठका अनुसार आयोजनाअन्तन्र्गत नेपालमा सञ्चालित खानेपानी योजनामध्ये पाँचखाल–सुनकोशी खानेपानी आयोजना ठूलो रहेको छ । नेपाल सरकार, नगर विकास कोष, एशियाली विकास बैंक (एडिबी) र उपभोक्ताको लागतमा परियोजना सम्पन्न हुनेछ । आयोजना सम्झौताको शर्तअनुसार कूल योजनाको ५ प्रतिशत अर्थात् ११ करोड ५ लाख उपभोक्ताले जम्मा गरेका छन् । जसअनुसार पाँचखालका प्रतिउपभोक्ता परिवारले खानेपानी परियोजनाको बैंक खातामा १८ हजार जम्मा गरिसकेका छन् । एडिबीले निर्माण कम्पनी स्वीकृत गरेपछि खानेपानी आयोजनाको काम तीव्र गतिमा अघि बढाइने काभ्रेपलाञ्चोकका प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री बाँस्कोटाले बताए । “एडिबीले ठकेदार कम्पनीका स्वीकृतपछि सम्झौतालगत्तै खानेपानी आयोजनाको काम तीव्र गतिमा अघि बढाइनेछ”, उहाँले भन्नुभयो । उहाँले निरन्तर निर्माणले लक्ष्यअनुसारको समयसीमासम्ममा आयोजना सम्पन्न गर्ने अपेक्षा लिइएको बताए । उनले भने, “निर्माणमा आवश्यक जनशक्ति परिचालन गरिनेछ, लक्ष्यअनुसारको समयमै पाँचखालका बासिन्दालाई खानेपानी उपलब्ध गराइनेछ ।” खानेपानीका लागि भुम्लु गाउँपालिका–१० स्थित इन्द्रावती नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधि निर्माणका लागि सडक पु¥याउन पाँचखाल नगर कार्यालयद्वारा सर्भेको काम भइरहेको उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले बताए । परियोजनाबाट पाँचखाल नगर क्षेत्रका करिब ७ हजार उपभोक्ता लाभान्वित हुनेछन् । रासस

कोरोना भाइरसले हजूर

व्यक्ति व्यक्ति बीचमा दूरी बढायो शक्तिशाली राष्ट्रलाई पनि रुने कराउने बनायो जीवन जीउन यहाँ त्राही त्राही बनायो मानव जातिमै ठूलो चुनौती निम्त्यायो कोरोना भाइरसले हजूर कोरोना भाइरसले स्वतन्त्र भै हिड्ने मानवलाई घर भित्रै थुनायो बाँधियेका जन्तुलाई स्वतन्त्र दिलायो   लेखक मानवता बिर्सियेको मानवलाई प्रकृतिले राम्रो सबक सिकायो जीव जन्तुलाई अन्याय गरी प्रकृतिमा राज गर्ने मानवलाई राम्रो चुनौती दिलायो कोरोना भाइरसले हजुर कोरोना भाइरसले         कन्काइ-१ ,झापा

थप १३ जना कोरोना संक्रमणमुक्त,निको हुनेको संख्या २ सय १९

काठमाडौं । शनिबार मात्र १३ जना काेराेना संक्रमित बिरामी काेराेनामुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकाेटाले टेकु अस्पतालबाट काठमाडौं बुढानिलकण्ठका ३८ वर्षिय पुरूष र  टाेखा ७का ४१ वर्षिय पुरूष, काेभिड १९ युनिफाइड अस्पताल बलम्बुबाट ११ जना डिस्चार्ज भएका छन् । ७ देखि ४२ वर्ष उमेरका व्यक्तिहरू जसमा ६ जना पुरुष र ५ जना महिला रहेका छन् । हालसम्म २ सय १९ जसमा ४७ जना महिला र १सय ७२ जना पुरुष रहेका छन् ।

कोरोना भगाऔॅ

  लेखक हिॅड्न परे बाहिर मुखमा मास्क लगाऔॅ, नखाऔॅ माछामासुस अनलाइनबाट सामान मगाऔॅ । साबुनपानीले हात धुनु छोए कुनै बस्तु, सामाजिक दुरी कायम गरी कोरोना भगाऔॅ ।।   मादी गाउॅपालिका ( ४, कास्की ।

थप १ सय ८९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ हजार ४ सय १ पुग्याे

काठमाडौं । शनिवार १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा थप १ सय ८९ जनामा कोरोना देखिएको प्रवक्ता विकास देवकोटाले बताएका छन् ।  संक्रमित हुनेमा १ सय ८५ जना पुरूष र ४ जना महिला रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा गरिएकाे परीक्षणामा १ सय २४ जनामा काेराेना पुष्टि भएकाे हाे । जसमा धनुषाका ७ जना, झापाका १ जना, कपिलवस्तुका ७७ जना, ललितपुरकाे १ जना,  महाेत्तरीकाे ४ जना , राैतहटका ६ जना, सल्लाहीका १७ जना, सिराहाका ११ जना रहेका छन् । त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयाेगशाला रूपन्देहीमा गरिएकाे परीक्षणमा २६ जना काेराेना संक्रमित भएका छन् ।  विपी काेइराला स्वास्थ्य प्रतिष्ठान धरानमा गरिएकाे परीक्षणमा ९ जना सप्तरीका रहेका छन् । भने राप्ती स्वास्थ्य प्रयाेगशालामा गरिएकाे परीक्षणमा ८ जना काेराेना संक्रमित पुष्टि भएका छन् ।  नारायणी अस्पताल विरगञ्जमा गरिएकाे परीक्षाणमा ३ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रयाेगशालामा गरिएकाे परीक्षणमा दैलेखका १४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकाेटाले जानकारी दिए । हालसम्म नेपाल १ हजार ४ सय १ जनामा काेराेना देखिएकाे छ । त्यस्तै २ सय १९ जना उपचार पछि निकाे भएका छन् भने ६ जनाकाे मृत्यु भइसकेकाे  छ ।

खानेपानीमा विद्युत डिमाण्ड शुल्क मिनाहा, केयुकेएलको संस्थागत पुनर्संरचना गरिने

काठमाडौं । सरकारले खानेपानी उपभोक्ता समितिले तिर्नुपर्ने विद्युत डिमाण्ड शुल्क मिनाहा गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक बर्ष २०७७–०७८ को बजेट प्रस्तुत गर्दै खानेपानीको उपयोग गर्दा तिर्नुपर्ने बिजुलीको डिमाण्ड शुल्क मिनाहा दिने बताउनुभएको हो । डिमाण्ड शुल्क मिनाहाको माग गर्दै खानेपानी उपभोक्ता समितिहरुले पटक पटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । खानेपानी मन्त्री बिना मगरको प्रयासमा उपभोक्ता समितिले तिर्दै आईरहेका डिमाण्ड शुल्क हटेको हो । सरकारले बजेटमै समेटेर खानेपानी प्रयोगको डिमान्ड चार्ज मिनाहा र विद्युत महसुलमा सहुलियत दिएकोमा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले सरकारलाई धन्यवाद दिएको छ । त्यस्तै आगामी वर्ष सरकारले आधारभूतस्तरको खानेपानी सुविधा ९४ प्रतिशत जनसंख्यामा पु¥याउने घोषणा गरेको छ । अहिले यो सुविधा ९० प्रतिशत जनसंख्यामा पुगेको छ । त्यसैगरी खानेपानीको आपूर्तिलाई दिगो बनाउने गरी महाकाली, कर्णाली, बबई र कोशी लगायतका नदीहरुमा आधारित थोक पानी वितरण प्रणाली तथा जलाशययुक्त खानेपानी आयोजना सञ्चालनको सम्भाव्यता अध्ययन गरी कार्यान्वयन गरिने बजेटमा उल्लेख छ । आगामी वर्ष सुख्खाग्रस्त क्षेत्रमा निर्माणाधीन जलवायु अनुकूलित तथा बृहत पम्पिङ, लिफ्ट तथा सह लगानीका खानेपानी आयोजना सञ्चालन गर्न ६ अर्ब रुपैयाँ सरकारले बिनियोजन गरेको छ । त्यस्तै तराई मधेशका सबै जिल्लामा वितरण हुने खानेपानी आर्सेनिक मुक्त बनाईने बताईएको छ । साना खानेपानी आयोजनाहरु प्रदेश सरकार अन्तर्गत सञ्चालन गर्ने गरी वित्तीय हस्तान्तरण गरिने अर्थमन्त्री खतिवडाले बताउनुभयो । चालु आर्थिक वर्षभित्र मेलम्चीको काम सम्पन्न गरेर आगामी आर्थिक वर्षको सुरुवात देखि नै काठमाडौं उपत्यकामा खानेपानी वितरण गरिने सरकारको लक्ष्य छ । त्यस्तै मेलम्ची आयोजनाको दोस्रो चरणको निर्माण कार्य यसैवर्ष देखि प्रारम्भ हुनेछ । जसका लागि सरकारले ५ अर्ब ४६ करोड रुपैयाँ छुट्याएको छ । काठमाडौं उपत्यकाको खानेपानी र ढल व्यवस्थापनका लागि सरकारले ५ अर्ब ८९ करोड बजेट विनियोजन गरेको छ । काठमाडौं उपत्यका भित्र खानेपानी वितरणको जिम्मेवारी बोकेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को प्राविधिक र वित्तीय अवस्था सुधार्न सरकारले १ अर्ब ९९ करोड रुपैयाँ छुट्याएको छ । केयुकेएलको अवस्था सुदृढ गरेर संस्थागत पुनर्संरचना गर्न यो रकम खर्च गरिनेछ । त्यस्तै बजेटमा संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा फोहोर पानी प्रशोधन, सार्वजनिक शौचालय तथा ढल निर्माण र फोहोर मैला प्रशोधनका कार्यक्रमहरु सञ्चालन गरिने उल्लेख छ । आगामी आर्थिक वर्षका लागि सरकारले खानेपानी तथा सरसफाई मन्त्रालयको लागि ४३ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको छ ।

बन्दाबन्दीको सदुपयोगः बेनी बजार संरक्षण आयोजना सम्पन्न

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजार संरक्षणका लागि बेनीमा सञ्चालित नदी नियन्त्रण योजना बन्दाबन्दीकै बीचमा सम्पन्न भएको छ । रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले रु आठ करोड ७८ लाख लागतमा बेनीबजारस्थित कालीगण्डकी र म्याग्दी नदीको किनारमा ४३५ मिटर पक्की रिटेनिङ र आरसिसी पर्खाल निर्माण गरेको हो । उर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयको जोखिमयुक्त जिल्ला सदरमुकाम बचाउ कार्यक्रमअन्तर्गत सो परियोजनाले बेनीमा दुई वटा ठेक्कामार्फत नदी नियन्त्रण कार्य सम्पन्न गरेको जनाएको छ । लकडाउनको अप्ठ्यारो परिस्थितिका बाबजुद पनि निर्धारित समयअगावै योजना सकिएको परियोजनाका इञ्जीनियर राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । “कालीगण्डकीको बाँया किनार पर्वततर्फ २०० मिटर ग्याबियन पर्खाल लगाएका छौं”, उनले भने, “बायाँ किनार म्याग्दीतर्फ आरसिसी र मेसिनरी वाल लगाउने कार्य बन्दाबन्दीकै बीचमा बर्खाअघि नै सकिएको छ ।” ३ करोड ७० लाख रुपैयाँमा ठेक्का लिएको नयाँबाटो कन्स्ट्रक्शनले मङ्गलाघाटस्थित म्याग्दी नदी किनारमा ८३ मिटर लम्बाइ भएको मेसिनरी पर्खाल बनाएको छ । यस्तै कालीपुलको तल्लो भागमा ४५ र माथिल्लो भागमा ५६.७५ मिटर पर्खाल लगाएको छ । मेसिनरी पर्खालको उचाइ ८.५ मिटर छ । गत असारमा सम्झौता गरेको कम्पनीले एक महिनाअगावै काम सम्पन्न गरेको छ । विसं २०७५ भदौ २८ गते कालीगण्डकीमा आएको बाढीले निर्माणाधीन पर्खला बगाएपछि रुग्णमा परिणत भएको खड्का कृष्ण कन्स्ट्रक्शनसँगको ठेक्कामार्फत आरसिसी पर्खाल निर्माण पनि सकिएको छ । ५ करोड ८ लाख ३२ हजारको लागतमा बाढीले बगाएको ९७ मिटर तथा बाँकी आरसिसी पर्खाल निर्माण पनि सकेको परियोजनाका अर्का इञ्जीनियर कृष्णबहादुर विश्वकर्माले बताए । उनका अनुसार बेनी नगरपालिका कार्यालय अगाडि म्याग्दी नदी किनारमा १७३.५ मिटर, खुलामञ्च क्षेत्रमा ७०.५ र कालीगण्डकी किनारमा १४.४५ मिटर लामो ६ मिटर अग्लो पर्खाल निर्माण भएको छ । कालीगण्डकीको बायाँ किनारमा पर्ने पर्वतको जलजला गाउपालिकाको बगरफाँट र वारीबेनीमा पनि १ करोड ५० लाखको लागतमा ६ सय थान ग्याबियन पर्खाल निर्माण भएको छ । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा पर्ने बेनी नगरपालिका–२ भसभसेको पहिरो र बगरफाँटको कोतखोला नियन्त्रणका लागि पनि ५०÷५० लाखको लागतमा ग्याबियन पर्खाल निर्माण शुरु भएको छ । बेनीबजार बर्खायाममा कालीगण्डकी र म्याग्दी नदीमा आउने बाढीको चपेटामा पर्दै आएको छ । नदी कटानका हिसाबले बेनी देशकै जोखिमयुक्त जिल्ला सदरमुकाम हो । नदी नियन्त्रण भएपछि सुरक्षित महसुस गरेको बेनीको मङ्गलाघाटका अमरबहादुर घिमिरेले बताए । बन्दाबन्दीमा काम हुन नसकेर नदी नियन्त्रण योजना अलपत्र पर्ने र बर्खामा नदीले कटान गर्ने चिन्ताले पिरोलिएका बेनीवासीलाई अब राहत मिलेको छ । मङ्गलाघाटकै पुष्कलबहादुर जोशीले बाँकी ठाउँमा पनि पर्खाल निर्माणलाई निरन्तरता दिनुपर्ने बताए । उपलब्ध मजदुरलाई सुरक्षा सतर्कता अपनाएर परिचालन तथा निर्माण सामग्रीको व्यवस्थापन गरेर नदी नियन्त्रण योजना निर्माण गरेको खड्का कृष्ण कन्स्ट्रक्शनका प्राविधिक निश्चल पौडेलले बताए । रासस

अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तार

काठमाडाैं । मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तार गरी ३ हजार ३ सय मिटर कायम गरिएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको पुरानो ३ हजार मिटर लामो धावनमार्गलाई थप ३ सय मिटर विस्तार गएको हो । विमानस्थलको धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र) रनवे जिरो–टु विस्तारको काम सम्पन्न भएको विमानस्थलले जनाएको छ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)  अन्तर्गतका हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले धावनमार्ग विस्तारको काम गरेको हो । आयोजनाका सूचना अधिकारी दीपेन्द्र श्रेष्ठले धावनमार्ग विस्तार गरी ३ हजार ३ सय मिटर बनाइएको जानकारी दिए । विमानस्थलको धावनमा मार्ग विस्तारपछि उडान अवतरणका लागि सहजता आउनाका साथै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्ड पूरा हुने उनले उल्लेख गरे । धावनमार्ग विस्तारपछि अन्तर्राष्ट्रिय उडानका जहाजलाई उडान अवतरणमा सहजता हुने विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताउनुभयो । उनले भने, “धावनमार्ग विस्तार भएपछि अन्तर्राष्ट्रिय जहाजलाई उडान अवतरण गर्न सहज हुन्छ, यसले विमानस्थलको सुरक्षालाई पनि मद्धत पुग्छ ।” महाप्रबन्धक केसीका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलको यो चौथोपटकको धावनमार्ग विस्तार गरिएको हो । यसअघि विमानस्थलको शुरुमा ६ हजार, दोस्रोपटक ८ हजार र तेस्रोपटक ३ हजार मिटर धावनमार्ग विस्तार भएको थियो । अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले जम्बो जेट, बोइङ ७४७, एयरबस ए–३३० लगायत जहाज सहजै उडान अवतरण गर्छन् । यो विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । बन्दाबन्दीमै धावनमार्ग विस्तार कोभिड–१९ को महामारी नियन्त्रणका लागि सरकारलै चैत ११ देखि लागू गरेको बन्दाबन्दी (लकडाउन) कै अवस्थामा धावनमार्ग विस्तारको काम सकिएको हो । तीन सय मिटर धावनमार्ग विस्तारका लागि मूल्य अभिवृद्धि करबाहेक ८० करोड बजेट खर्च भएको आयोजनाका सूचना अधिकारी श्रेष्ठले बताए । परियोजनाको कालिका तुण्डी जेभीलाई निर्माण ठेक्का दिइएको थियो । चैत ११ देखि जारी बन्दाबन्दीसँगै आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फका नियमित उडान अवतरणमा प्रतिबन्ध गरिएपछि बेलुका ६ देखि बिहान ६ बजेसम्म १२ घण्टा धावनमार्ग विस्तारको काम गरिएको थियो । तीन सय मिटर लामो धावनमार्ग विस्तार गरी कालोपत्र गर्ने काम सकिएकाले अब ‘रनवे लाइट र एप्रोच लाइट’ राख्ने काममात्रै बाँकी रहेको आयोजनाले जनाएको छ । “सिभिल निर्माणको काम सकिएको छ, अब केही प्राविधिक काम बाँकी छ, रनवे लाइट विदेशबाट ल्याउनुपर्ने भएकाले केही समय लाग्नसक्छ”, सूचना अधिकारी श्रेष्ठले भने । आयोजनाअन्तर्गत विमानस्थलको अन्तराष्ट्रिय टर्मिनल भवनको नयाँ ‘स्टेरायल हल’ निर्माणको काम पनि सकिएको छ । यो काम पनि बन्दाबन्दीकै समयावधिमा भएको हो । १ हजार २ सय सिट क्षमताको हल बनाइएको छ । अहिले सोही भवनको पुरानो स्टेरायल हल भत्काउने काम भइरहेको छ । लकडाउनको अवधिमा विमानस्थल विस्तारको काम एक दिन पनि नरोकिएको विमानस्थलले जनाएको छ । विमानस्थलमा बन्दाबन्दीको अवस्थामा रात्रिकालीन उडानका लागि नोटाम जारी गरिएको भए पनि दिउँसो नियमितजसो अन्तर्राष्ट्रिय उडान (दैनिक कम्तीमा पनि एक उडान) भएको विमानस्थलका महाप्रबन्धक केसीले बताए । अन्तर्राष्ट्रियतर्फ १५ जहाज क्षमताको पार्किङ अन्तर्राष्ट्रिय विमानस्थलको दुवैतर्फ पार्किङ वे विस्तार गरी १५ इन्टरनेशनल एयरक्राफ्ट अट्ने क्षमताको बनाइएको छ । विमानस्थलको पश्चिमतर्फ चार र उत्तरपूर्वतर्फ दुई ठूला जहाज अट्ने गरी पार्किङ क्षमता विस्तार गरिएको छ । यसअघि विमानस्थलको अन्तर्राष्ट्रिय उडानमा नौवटा मात्रै जहाज पार्किङ क्षमता रहेकामा अब १५ वटा ठूला जहाज सहजरुपमा राख्न सकिने महाप्रबन्धक केसीले बताउनुभयो । ‘पार्किङ वे’ विस्तारको काम विमानस्थल आफैंले गरेको हो । विमानस्थलको आन्तरिक टर्मिनलको उत्तरतर्फ पनि क्षमता विस्तार गरी नयाँ हल बनाउने काम भइरहेको छ । बेल्ट थप्ने योजना छ । बुटिकको काम पनि धमाधम अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रुपान्तरण गर्ने काम पनि धमाधम भइरहेको छ । विमानस्थलको भित्री भागको साजसजावटको काम सकिएको छ । अब अन्तिम काम अन्तर्राष्ट्रिय टर्मिनल बाहिरपट्टि ‘क्यानोपी’ राख्ने काम पनि शुरु भएको छ । क्यानोपीको संरचना बनिसकेको छ । बन्दाबन्दीले दुई महिनादेखि व्यावसायिक उडान बन्द रहेको अन्तर्राष्ट्रिय विमानस्थलको बन्दाबन्दीपछि कसरी सेवा सञ्चालन गर्ने भनेर आवश्यक तयारी गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र आइकाओको मापदण्डमा रहेर विमानस्थल सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानीबारे आवश्यक तयारी गरेको हो । सामाजिक दूरी कायम गर्न नयाँ संरचना अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड–१९को सङ्क्रमण फैलन नदिन सामाजिक दूरी कायम हुने गरी संरचना तयार गरिएको विमानस्थलले जनाएको छ । मुलुकमा जारी बन्दाबन्दीको अवस्थामा सरकारले यही जेठ मसान्तसम्म हवाई सेवा सञ्चालन स्थगन गरेको छ । विमानस्थल विस्तार, नयाँ संरचना निर्माणलगायत कामको केहीदिनअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले निरीक्षण गर्नुभएको थियो । विमानस्थलको सेवा सुदृढीकरण र क्षमता विस्तारका लागि पर्यटनमन्त्रीले चासो लिँदै पटक पटक विमानस्थल पुग्ने गरेका छन् । रासस