विकासन्युज

दिवा खाजा विस्तार सकारात्मक, माविसम्म निःशुल्क चुनौतीपूर्ण

काठमाडौँ । आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले ल्याएको बजेटमा दिवा खाजा र छात्रवृत्तिको विस्तार कार्यक्रम सकारात्मक भए पनि माध्यमिक तहसम्म गुणस्तरीय निःशुल्क शिक्षा चुनौतीपूर्ण देखिएको छ । बजेटमा सामुदायिक विद्यलयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न हाल ४३ जिल्लामा लागू भएको दिवा खाजा कार्यक्रमलाई देशभर विस्तार गर्ने गरी रु सात अर्ब ५२ करोड विनियोजन गरिएको छ । यस कार्यक्रमबाट २८ लाख बालबालिका लाभान्वित हुनेछन् । यो कार्यक्रमलाई कक्षा ८ सम्मका बालकालिकामा विस्तार गर्न पनि सुझाव आएको छ । यसैगरी छात्रवृत्ति कार्यक्रमलाई एकीकृत गरी मुलुकभर २६ लाख बालबालिका लाभान्वित हुने गरी रु दुुई अर्ब ७० करोड विनियोजन भएको छ । गत वर्षदेखि शुरु भएको छात्रालाई स्थानीय तहमार्फत सशर्त अनुदानका रुपमा निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउन रु एक अर्ब ८२ करोड वित्तीय हस्तान्तरण गरिनेछ । बजेट वक्तव्यमा सामाजिक न्यायसहितको समृद्ध नेपाल र मानवीय पूँजी निर्माणका लागि गुणस्तरीय जीवनोपयोगी शिक्षाको सुनिश्चितता गरिने जनाउँदै सार्वजनिक शिक्षाको भौतिक पूर्वाधार विकासका लागि गत वर्ष शुरु गरिएको राष्ट्रपति शिक्षा सुधार कार्यक्रम र सोअन्तर्गत सार्वजनिक विद्यालय सवलीकरण दशक कार्यक्रमलाई गति दिइने उल्लेख छ । यी कार्यक्रमका लागि रु ६ अर्ब विनियोजन गरिएको छ । सो मन्त्रालयका लागि गत चालू वर्षभन्दा करिब रु आठ अर्ब वृद्धि गरी रु एक खर्ब ७१ अर्ब ७१ करोड विनियोजन गरिएको छ । चालू आर्थिक वर्षका लागि रु एक खर्ब ६३ अर्ब ७६ करोड विनियोजन गरिएको थियो । प्रतिशतका हिसाबमा चालू आवमा शिक्षामा कूल बजेटको १० दशमलव ६८ विनियोजन भएकामा आगामी आवका लागि ११ दशमलव ६४ हुने देखिएको छ । विद्यालय पुनःनिर्माणको बजेटसमेत जोड्दा आगामी आवका लागि झण्डै एक प्रतिशत थप हुने अनुमान छ । सङ्घीय संसद्का सांसद् तथा शिक्षाविद्ले दिवा खाजाको विस्तार र एकीकृत छात्रवृत्ति तथा सार्वजनिक विद्यालय सवलीकरण कार्यक्रम सकारात्मक भए पनि माध्यमिक तहसम्मको निःशुल्क शिक्षाका लागि कागजी प्रतिबद्धताका साथै आवश्यक स्रोत साधन र तत्परता आवश्यक भएको औँल्याएका छन् । नेपाली काँग्रेसका नेता गगन थापाले देशभरका विद्यालयमा कक्षा ५ सम्मका विद्यार्थीका लागि दिवा खाजा र सबै तहका छात्रवृत्तिको एकीकृत गरी वितरणका सवालहरु सकारात्मक रहेको तर बजेट कम देखिएकाले माविसम्म निःशुल्क असम्भव देखिएको बताए । संसद्मा बजेट प्रस्तुत भएको भोलिपल्ट आज शिक्षा पत्रकार समूहले आयोजना गरेको भर्चुअल संवादमा उनले भने, “कोरोना महामारीका कारण शिक्षा क्षेत्रलाई शिक्षक व्यवस्थापन, विद्यालय नक्साङ्कन आदिका लागि पुनःसंरचना गर्न यो उपयुक्त अवसर हो तर सरकारले त्यसरुपमा बजेट र कार्यक्रम ल्याउन सकेन ।” शिक्षा मन्त्रालय सहसचिव कृष्णप्रसाद काप्रीले चालू आवमा कूल बजेटको १० दशमलव ६८ रहेकामा सामान्य वृद्धि भएर आगामी आवका लागि ११ दशमलव ६४ प्रतिशत हुनु खुशीको विषय भएको र अर्थमन्त्रालयको सीमाका कारण अपेक्षाहरु सबै पूरा हुने स्थिति नहुने बताए । उनले कक्षा ५ सम्मका सबै बालबालिकालाई निःशुल्क दिवा खाजा कार्यक्रमले विद्यालयमा विद्यार्थी ल्याउन, टिकाउन र गुणस्तीय शिक्षा दिन तथा पहुँच र गुणस्तर वृद्धि गर्ने जनाए । आगामी बजेटमा शिक्षा क्षेत्रमा रु एक खर्ब ७१ अर्ब ७१ करोडको बजेट विनियोजन गरिएको छ । शिक्षाविद् डा सुशन आचार्यले सरकारले अनौपचारिक शिक्षामा जोड दिनुपर्ने र सुशासनका सवाललाई गहनरुपमा लिनुपर्ने बताए । अर्का शिक्षाविद् डा विनय कुसियतले बजेट परम्परागत भए पनि दिवा खाजाको विस्तार हुनु सकारात्मक हो भन्दै स्वयंसेवक शिक्षकको प्रबन्धजस्ता कार्यक्रमलाई राजनीतिकरण नगरी संस्थागत प्रणालीका रुपमा ल्याउन सकिने उचित हुने टिप्पणी गरे । वरिष्ठ पत्रकार राजेन्द्र दाहालले दिवा खाजा कार्यक्रमका लागि स्थानीय उत्पादन र रोजगारी सिर्जना हुने गरी प्रोत्साहन गर्न सक्नुपर्ने सुझाव दिए । निजी क्षेत्र असन्तुष्ट बजेटमा सामाजिक उत्तरदायित्वअन्तर्गत एक निजी विद्यालयले एक सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र सामग्रीसहित सुधारको जिम्मेवारी बहन लिनुपर्ने विषय समावेश भएकामा निजी विद्यालय सञ्चालक असन्तुष्ट देखिएका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन प्याब्सन)ले आज विज्ञप्ति जारी गरी सरकारले एकपक्षीयरुपमा उक्त कार्यक्रम ल्याएको जनाएको छ । सो संस्थाका अध्यक्ष ऋतुराज सापकोटा र महासचिव सुवास न्यौपानेले आज जारी गरेको विज्ञप्तिमा कोरोना महामारीपछि निजी विद्यालय सङ्कटमा परेका बेला कुनै राहत नदिए थप जिम्मेवारी ‘जोगीको घरमा सन्यासी’ सावित भएको टिप्पणी गरिएको छ । माध्यमिक तहको निजी विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत कम्तीमा एक सामुदायिक विद्यालयको शैक्षिक पूूर्वाधारसहित शैक्षिक गुुणस्तर सुधारको जिम्मेवारी बहन गर्नुपर्ने बजेटमा उल्लेख छ । हाल कूल ३५ हजार विद्यालयमध्ये करिब साढे ६ हजार निजी विद्यालय सञ्चालित छन् ।

भौतिक पूर्वाधारमा महत्वाकांक्षी कार्यक्रमः कार्यान्वयनमा भने चुनौती

काठमाडाैं । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ मा भौतिक पूर्वाधार निमार्णको लागि १ खर्ब ३८ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सो बजेट सडक, पुल, रेल, सुरुङमार्ग निर्माणका लागि विनियोजन गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले सरकारले राष्ट्रिय राजमार्ग र रणनीतिक सडक निर्माणमा प्राथमिकता दिएको बताए । उनले सबै स्थानीय तहमा सडकको पहुँच पुर्याउनेदेखि पूर्व पश्चिम राजमार्ग विस्तार गर्नेसम्मका सरकारको योजना रहेको सुनाए । उनले उत्तर–दक्षिण जोड्ने दुई लेनको सडक निर्माण गर्ने, पूर्वपश्चिम राजमार्गलाई चार लेनको बनाउनेदेखि प्रत्येक प्रदेशमा दुई राष्ट्रिय राजमार्ग निर्माण गर्ने महत्वाकांक्षी योजना सुनाए । उनले आगामी वर्ष जिल्ला सदरमुकामलाई सडक सञ्जालमा जोड्न कर्णाली करिडोरलाई तीव्रता दिइने बताए । विकट हुम्ला सदरमुकामसम्म सडक पुर्याउन र सवै जिल्लामा सडक पुर्याउन ५ अर्ब ५७ करोड बजेट छुट्याएको उनको भनाई छ । प्रत्येक निर्वाचन क्षेत्रका एकभन्दा बढि स्थानीय तह जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम कार्यान्वयन गर्न ३ अर्ब ३० करोड बजेट छुट्याएको समेत उल्लेख गरे । अर्थमन्त्रीले भौतिक पूर्वाधारमा मत्वाकांक्षी कार्यक्रम प्रस्तुत त गरेका छन् तर त्यसको कार्यान्वयनमा भने अवश्य नै चनौती छ । पूर्वाधारविज्ञ किशोर थापाले सडक, पूल लगायतका भौतिक पूर्वाधारहरुका कार्यक्रमहरु राम्रै रहेपनि यसको कार्यान्वयन गर्न भने कठीन हुन सक्ने उनले बताए । ‘सडक पूलमा ठूलै रकम छुट्याएको छ, केही कार्यक्रमहरुको लागि पहिले देखि नै बजेट छुट्यायँदै आएको थियो, तर काम भने हुन सकेको थिएन, अब काम गर्ने निकायहरुले यसलाई गहन रुपमा लिएर कार्यान्वन तर्फ ध्यान दिनुपर्छ, उनले भने । अब कोरोनाको जोखिमकमा पनि जे जति गर्न सकिन्छ दशैं अगाडि कागजी प्रक्रिया पुरा गरी र दशैं पछाडि काममा तीव्रता दियो भने अगाडि बढ्न सकिने उनको भनाई छ । सडक सम्बन्धि कार्यक्रम –पूर्वपश्चिम राजमार्गलाई आगामी ३ वर्षभित्र एसियाली राजमार्ग मापदण्ड अनुरुपको डेडिकेटेड चार लेनको सुरक्षित द्रुत सडक बनाउन १२ अर्ब २१ करोड विनियोजन गरिएको छ । –मध्यपहाडी क्षेत्रको पुष्पलाल राजमार्गको बाँकी काम आगामी तीन वर्ष्भित्र पूरा गर्ने गरि ८ अर्ब २७ करोड बजेट विनियोजन गरिएको छ । – तराईका जिल्ला जोड्ने हुलाकी राजमार्ग पनि आगामी तीन वर्षभित्र पूरा गरि आगामी आवमा ७ अर्ब १ करोड बजेट छुट्याएको छ । – निर्माणधीन मदन भण्डारी राजमार्ग आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने ३ अर्ब ७ करोड बजेट छुट्याएको छ । – मेची, तमोर, कोशी, तामाकोशी, त्रिशुली, कालीगण्डकी, भेरी, महाकाली करिडोर आयोजना तथा राजमार्गको निर्माण तथा विस्तारका लागि ७ अर्ब १६ करोड बजेट विनियोजन गरिएको छ । – तराई मधेसको समृद्धि सँग जोडिएको सडक पूर्वाधार विशेष कार्यक्रमका लागि २ अर्ब २६ करोड बजेट छुट्याएको छ । – काठमाडौं—निजगढ द्रुतमार्गका लागि आगामी तीन बर्ष भित्र सम्पन्न गर्ने गरी आगामी वर्ष ८ अर्ब ९३ करोड छुट्याएको छ । – हुलाकी राजमार्गको बाँकी काम सक्न ७ अर्ब १ करोड विनियाेजन गरेकाे छ । – नौविसे सुरुङमार्ग र बुटवलको सिद्धबाबा सुरुङमार्ग निर्माण सुरु गरिने छ । सुरुङमार्गका लागि ६ अर्ब ४२ करोड बजेट छुट्याएको छ । निर्माण सम्पन्न भइ आरामदायी र स्तरोन्नती गर्न सडक बनाउन १६ अर्ब २० करोड बजेट छुट्याएको छ । – सडक राजमार्गमा २ सय १० पुल सम्पन्न गर्न १० अर्ब ९१ करोड बजेट छुट्याएको छ । – विपी राजमार्ग, मिर्चैया–कटारी–घुर्मी–सर्लेरी सडक, राप्ती राजमार्ग, कर्णाली राजमार्गको सुर्खेत जुम्ला खण्ड र दैलेख, घोराही, थवाङ, मुसिकोट सहिद मार्गको स्तरोन्नतीका लागि बजेट छुट्याएको छ । –दक्षिण सीमाका प्रमुख व्यापारिक नाकाहरु र पूर्व पश्चिम राजमार्ग जोड्ने सडकलाई औद्योगिक कोरिडोर तथा व्यापारिकको रुपमा स्तरोन्नति गर्न १ अर्ब ९६ करोड विनियाेजन गरिएकाे छ । –सूर्य विनायक–धुलिखेल खण्डको स्तरोन्नति गर्न र कान्ति राजपथ निर्माणको काम पूरा गर्न १ अर्ब २० करोड विनियाेजन गरिएकाे छ । –दोस्रो चरणको चक्रपथ विस्तार र कलंकी–कोटेश्वर सडक खन्डमा फ्लाइओभर बनाउन आवश्यक बजेट विनियाेजन गर्ने बताइएकाे छ । रेल मार्ग – सरकारले पूर्व—पश्चिम विद्युत्तीय रेलमार्ग र रेल सञ्चालन गर्न ८ अर्ब ६६ करोड बजेट विनियोजन गरिएको छ । –  पुर्व पश्चिमी विद्युतीय रेलमार्गको बाँकी खण्डको सम्भाव्याता अध्ययन सम्पन्न गरी काकडभिट्टा, इनरुवा खण्डको निर्माण आरम्भ गर्न, रसुवागढी-काठमाडौं र विरगञ्ज-काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्याता अध्ययन कार्य सम्पन्न गरिने छ । – दक्षिणी नाकाबाट पुर्व–पश्चिम विद्युतीय रेलमार्गको इटहरी–निजगढ–बुटवल र कोहलपु जोड्ने रेलमार्गको निर्माण गर्न जयनगर–जनकपुर–विजलपुर खण्डमा रेल सञ्चालन गर्न र बर्दिवास–निजगढ खण्डको निर्माण कार्य सम्पन्न गरिने छ । सुरुङमार्ग र फ्लाई ओभर अर्थमन्त्री डा. युवराज खतिवडाले विभिन्न क्षेत्रको सुरूङ मार्ग निर्माण गर्न ६ अर्ब ४२ करोड बजेट विनियोजन गरिएको बताएका थिए । बजेटमा उनले कलंकी–कोटेश्वरमा ३ वटा फ्लाई ओभर बनाउने पनि बताएका छन् । तिनकुने–कोटेश्वर–जडिबुटी खण्डमा सुरुङ मार्ग वा फ्लाई अभोर बनाउने, बानेश्वरमा अण्डरपास बनाउने र माइतीघर, थापाथली त्रिपुरेश्वरमा उपयुक्त विकल्प खोजीका लागि बजेट छुट्याएको बताए । उनले काठमाडौं–नौविस सुरङमार्ग निर्माण गरिने, काठमाण्डौं–नुवाकोट–रसुवा खण्डको सुरङ मार्ग निर्माण गरिने बताएका थिए ।

सिटिजन्स बैंकसँग बिलय हुँदै सहयोगी विकास बैंक, जेठ २४ गते बोलायो वार्षिक साधारणसभा

काठमाडौं । सहयोगी विकास बैंक सिटिजन्स बैंक इन्टरनेशनलसँग बिलय हुने भएको छ । उक्त प्रस्ताव पारित गर्न संस्थाले आफ्नो १६ औं वार्षिक साधारण सभा आगामी जेठ २४ गते शनिबार बोलाएको छ । उक्ता सभा सो दिन दिउँसो २ बजे बैंकको केन्द्रीय कार्यालय, जनकपुरको हातामा बस्ने जेठ १५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो । २०७६ साल चैत १० गते सम्पन्न गर्ने भनिएको वार्षिक साधारण सभा नेपाल सरकारले कोभिड १९ का कारण सार्वजनिक भेला तथा समारोह गर्नमा लगाएको प्रतिवन्धका कारण स्थगित भएको थियो । अहिले नेपाल राष्ट्र बैंकले डिजिटल प्रविधि मार्पmत साधारण सभा गर्न र सो साधारण सभामा डिजिटल प्रविधि मार्पmत पनि संचालक एवं सेयरधनीहरुले सहभागीता जनाउन सक्ने स्विकृती दिएको कारणले यो साधारण सभा गर्न लागेको व्यहोरा प्रमुख कार्यकारी अधिकृत सुन्दर खड्काले जानकारी दिएका छन् । साथै, संस्थाले आफ्ना सेयरधनीहरुलाई वर्तमान अवस्थाको मुल्यांकन गर्दै सम्भव भएसम्म डिजिटल प्रविधि मार्फत  सभामा सहभागिता जनाउन बैंकले आह्वान समेत गरेको छ । प्रत्यक्ष सहभागिता जनाउने शेयरधनीहरुलाई कोभिड-१९ बाट बच्न अपनाउनु पर्ने सावाधानीका सबै किसिमको उपायहरु अबलम्बन गरिने प्रमुख कार्यकारी अधिकृत खड्काले जानकारी दिएका छन् । डिजिटल प्रविधि मार्फत सहभागी हुन चाहने इच्छुक आफ्ना सेयरधनीहरुलाई सभा सञ्चालन हुनु भन्दा २४ घण्टा अगाडी मोबाइल नं ९८५४०२८९७२ वा ९८४४०५३४०० मा सम्पर्क गर्न सूचना समेत प्रकाशित गरेको छ ।

विद्युतिय गाडी किन्नेलाई धक्का, सरकारले ८० प्रतिशत कर बढायो

काठमाडाैं । मौखिक रुपमा सरकारले वातावरणलाई मध्येनजर गर्दै विद्युतिय गाडीको प्रयोगलाई प्राेत्साहन गर्ने भनेपनि त्यो व्यवहारमा भने उल्टो देखिएको छ । डिजेल पेट्रोलबाट चल्ने सवारी साधनलाई विस्थापित गरी आधुनिक र विद्युतिय सवारी साधनहरुलाई प्रोत्साहन दिने सरकारको रणनीति परिवर्तन भएको हाे । सरकारले विद्युतिय गाडीलाई त्यति प्राथमिकतामा राखेको व्यवहारबाट देखिँदैन । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तुत बजेटमा विद्युतीय सवारी साधनमा कर ह्वात्तै बढेकाे छ । उनका अनुसार विद्युतीय सवारी साधनमा ८० प्रतिशत भन्सार शुल्क कायम गरिएको छ । अब २ सयदेखि ३ सय किलोवाट क्षमताका मोटर जडान भएका सवारीमा ७० प्रतिशत र त्यसभन्दा माथि किलोवाट क्षमता भएका मोटर जडान भएका सवारीमा ८० प्र्र्तिशत अन्तःशुल्क लाग्ने उनले बताए । यो भन्दा अगाडि सो शुल्क् शुल्क यसअघि १० प्रतिशत थियो भने भ्याट १३ प्रतिशत थियो । यस्तै, ५० किलोवाटसम्मका मोटर जडान भएका कारमा ३० प्रतिशत अन्तःशुल्क लगाइएको छ भने ५० देखि १ सय किलोवाटसम्म मोटर जडान भएका सवारीमा ४० प्रतिशत अन्तःशुल्क कायम गरिएको बजेटमा उल्लेख छ । सयदेखि १ सय ५० किलावाटसम्मका मोटर जडान भएका सवारीमा ५० प्रतिशत अन्तशुल्क लगाइएको छ । यस्तै, १ सय ५० देखि २ सय किलोवाट मोटर जडान भएका सवारीमा ६० प्रतिशत अन्तःशुल्क लगाइएको छ ।

सनराइज बैंकले सबै कर्मचारीको गरायो कोरोना बीमा

काठमाडौं । सनराइज बैंकले कम्पनीमा कार्यरत सबै कर्मचारीको कोरोना भाइरस(कोभिड-१९) बीमा गराएको छ । बैंकले कोरोना भाईरसले देशव्यापी माहामारीको रुप लिईरहेको अवस्थामा आफ्नो कर्मचारीहरुको सुरक्षालाई मध्यनजर गर्दै सबैको बीमा गराएको हो । बैंकमा कार्यरत सम्पूर्ण स्थायी, करार, प्रशिक्षार्थी, सवारी चालक, कार्यलय सहयोगी, सुरक्षा गार्ड लगायत कर्मचारीहरुको कोभिड-१९ बीमा गराएको छ । बैंकले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी मार्फत प्रत्येक कर्मचारीहरुको १ लाख रुपैयाँ बराबरको सामुहिक बीमा गराएको छ । बीमा लेख सम्झौता अनुसार बैंकको कर्मचारीहरुमा कोभिड-१९ पोजिटिभ देखिई संक्रमण भएमा बीमा कम्पनीबाट बीमा दाबी गर्न सकिनेछ । यस बीमा सम्झौताले आफ्ना कर्मचारीहरुको मनोबल उच्च रहने र संकटको बेलामा कर्मचारीहरुलाई आर्थिक राहत मिल्ने बैंकको बिश्वास छ । बैंकले कोरोना भाईरस (कोभिड-१९) को संक्रमणबाट सुरक्षित रहन आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई मास्क, पञ्जा, सेनिटाइजर जस्ता अति आवश्यक सुरक्षा सामाग्रीहरु समेत उपलब्ध गराउँदै आएको छ ।

समाजवाद वा बजारबाद होइन, यो बजेट असनमा ठिङ्ग उभिएको छः डा. भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले आगामी आर्थिक वर्षको बजेट असनको बीचमा उभिए जस्तो भएको बताएका छन् । बजेटले बजार अर्थतन्त्र वा समाजबाद कुनै बाटो नलिएको भन्दै उनले यस्तो बजेटले समस्या समाधानमा कुनै भूमिका नखेल्ने बताए । ‘यो बजेट बजार अर्थतन्त्रको अवधारणामा आधारित छैन र समाजबाद उन्मुख पनि छैन, विगत ३ वर्षदेखि अर्थमन्त्रीले असनको बीचमा ठिङ्ग उभिएको जस्तो मात्रै छ, यसले समस्याको समाधान गर्दैन,’ नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेका भर्चुअल छलफलमा डा. भट्टराईले भने । उनले निरपेक्ष गरिबीको रेखामुनी रहेका गरिब नेपालीलाई प्रतिव्यक्ति ५ हजार रुपैयाँको दरले नगद नै दिनुपर्ने आवश्यकता रहेको पनि बताए । स्थानीय तहमार्फत गरिब नेपालीको लगत संकलन गरि चालु आर्थिक वर्षमा ५÷५ हजार रुपैयाँको दरले बैंकमार्फत राहत रकम दिने र अर्काे वर्षदेखि १० हजारका दरले रकम दिनुपर्ने उनको भनाइ छ । यस्तै, उनले चालु आर्थिक वर्षको बजेटले रेल र पानीजहाजको कुरा छोडेर जनताको जीवनयापनका लागि कार्यक्रम ल्याउनु पर्ने उनको भनाइ छ । उनले पञ्चायतकालदेखि नै बजेटमा उही पुरानै कुरा दोहोरिएको भन्दै यसमा सुधार आवश्यक रहेको बताए । बजेट भनेको आयव्ययको हिसाव मात्रै होइन भन्दै उनले अर्थराजनीतिक प्रक्रियाको रुपमा बुझ्नुपर्ने धारणा राखे । संयमित बजेट ल्याएर नयाँ सम्भावनाको खोजी गर्न नसकिने उनको धारणा छ । नेपाल विश्वको औसत आम्दानीमा १० गुणा पछाडि परेको भन्दै उनले कोरोना संक्रमणको कारण अर्थतन्त्रमा गम्भीर असर पारेकोले आवश्यकताको पहिचान गरेर सोही अनुसार सम्भावना खोज्नुपर्ने उनको भनाइ छ । आफूले अर्थमन्त्रीको रुपमा ल्याएको बजेट ४० प्रतिशतले बढाएको उदाहरण दिदै उनले आवश्यकताको पहिचान गरेर सम्भावनाको खोजी गर्नुपर्ने उनको भनाइ छ । ‘नेपाल भारत र चीनको बीचमा छ, हामीले ठीक खालको नीति लिन सक्यौं भने यी देशबाट पनि लगानी आउँछ । विदेशमा रहेका नेपाली फर्केर आउँदा शीप र ज्ञान पनि आउछ । बाह्य ऋणको सम्भावना छ । त्यो खोज्नुपनि पर्छ,’ उनले भने । परम्परागत ढंगले बजेट बनाउने परिपाटी रोक्नु हुँदैन भन्दै उनले यस्तो अवस्थामा संकुचनकारी बजेट आउनु हुँदैन भनेर आफूले १८ खर्ब रुपैयाँ जतिको बजेट ल्याउनु पर्छ भनेको स्मरण गरे । सत्तारुढ नेकपा पनि राज्यले सबै कुरा नियन्त्रण गर्नुपर्छ भन्ने परम्परावादी दृष्टिकोणमा अल्झेको र विपक्षी दल नेपाली काँग्रेस पनि विस्तारकारी बजेट बनाउँदा गर्नै सकिदैन भन्ने आपत्ति जनाउने प्रबृत्ति रहेको भन्दै उनले अर्थमन्त्री डा. युवराज खतिवडा यी दुईटा अवधारणामा चेपिएर अलमलमा परेको उनको भनाइ छ । शिक्षा र स्वास्थ्यको जिम्मेवारी राज्यले नै लिनुपर्ने र अन्य गतिविधिमा निजी क्षेत्रलाई भूमिका दिनुपर्ने उनको भनाइ छ । अहिले आएको बजेटले संकटको समाधान गर्ने सम्भावना नभएको र आफू उत्साहित नभएको उनले बताए ।

उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै, विदेशबाट फर्किने र लकडाउनबारे छलफल हुने

काठमाडाैं । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज २ बजे  उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने भएको छ। कोरोना रोकथामका लागि भइरहेका प्रयास र लकडाउनको अवस्थाबारे छलफल गर्न समितिको बैठक बस्ने भएको हाे । आजको बैठकमा कोरोना रोकथामका लागि भइरहेका प्रयास,लकडाउनको प्रभावकारितासँगै विदेशबाट फर्किन चाहनेहरूका विषयमा समेत छलफल हुने बताइएको छ।

सरकारले भनेजति पैसा उठाउन सक्दैनः डा. शर्मा

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थशास्त्री डा. शंकर शर्माले सरकारले बजेटमा राखेका राजस्व र ऋण उठाउने लक्ष्य पुग्नेमा शंका व्यक्त गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको लागि राजस्व संकलनको लक्ष्य २२ प्रतिशतले बढाएको तथा ऋण उठाउने लक्ष्य चालु आर्थिक वर्षको भन्दा १३५ प्रतिशतले बढाएको भन्दै उनले यो लक्ष्य प्राप्त गर्न कठिन हुने बताए । उनले सरकारले रोजगारी सिर्जना र कृषि क्षेत्रका लागि जस्तो प्रकारको राहत कार्यक्रम ल्याउनु पर्ने थियो, त्यस्तो नआएको डा. शर्माको भनाइ छ । अर्का अर्थशास्त्री प्राडा. गोविन्द नेपालले लक्ष्य अनुसार राजस्व असुली र ऋण उठाउन गाह्रो भएपनि सरकारसँग विकल्प कम भएको उनको भनाइ छ । प्रमुख प्रतिपक्षी दलले १४ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउन सुझाव दिएकोमा सरकारले करिब १५ खर्बको बजेट ल्याउनु स्वभाविक नै नभएको डा. नेपालको भनाइ छ । उनले राहत कार्यक्रममा पुनर्विचार गर्नुपर्ने बताए । कोरोना भाइरस संक्रमण नियन्त्रणमा गए मात्रै ७ प्रतिशतको आर्थिक बृद्धिदर हासिल हुने उनको भनाइ छ । सरकारले आशा जगाउने कार्यक्रम र लक्ष्य राख्नुपर्ने भएकोले आगामी साउनदेखि कोरोना संक्रमण नियन्त्रणमा आउने अनुमानका आधारमा ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखिएको बताए ।