विकासन्युज

बजेट हल्लामुखी छ, कार्यान्वयन नै हुँदैन, देशलाई ऋणको भारी मात्रै बोकाउँछः डा. महत

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा. रामशरण महतले सरकारले ल्याएको बजेट हल्लामुखी मात्रै भएको बताएका छन् । सरकारले विगत २ वर्षको प्रगति भन्दै घोषणा गरेका उपलब्धी विगत २ दशकको उपलब्धी भएको भन्दै उनले बजेटको आकार बढाएको, उठ्न नसक्ने राजस्वको लक्ष्य राखेको र लिन नसक्ने ऋणको लक्ष्य राखिएको बताए । यस्तै, उनले यो बजेट अत्यन्तै महत्वाकांक्षी र भविष्यको पिडीलाई अत्यन्तै अप्ठेरो पार्ने गरी बजेट ल्याइएको उनले बताए । ‘आन्तरिक र वाह्य ऋण गरी करिब ३६ प्रतिशत छ, जीडीपीको ५ प्रतिशतभन्दा बढी (२ खर्ब २५ अर्ब रुपैयाँ) आन्तरिक ऋण लिने भनिएको छ, यसले बजारमा तरलताको अभाव हुने र आगामी पुस्ताको लागि ऋणको भारी बोकाउने नै हो,’ नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको भर्चुअल छलफलमा उनले भने । उनले ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पनि महत्वाकांक्षी नै रहेको बताए । साना तथा मझौला उद्यम व्यवसायलाई दिइएको कर छुट राम्रो भए पनि कर्पाेरेट कर कम गर्नेमा त्यसो नगरिएको उनको भनाइ छ । विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्नुपर्नेमा १५० प्रतिशत कर लगाएर निरुत्साहित गर्न खोजिएको उनको भनाइ छ । उनले विद्युत महसुल घटाउनु पर्नेमा त्यसो पनि नगरिएको आरोप लगाए । निजी क्षेत्रबाट सञ्चालित जलविद्युत आयोजनालाई राहत दिनु पर्नेमा सरकारले त्यस्तो कार्यक्रम पनि नल्याएको डा. महतको भनाइ छ । यस्तै, विदेशबाट आउने फर्निचरमा अन्तशुल्क लगाउने भनेर के गर्न खोजिएको हो भन्ने उनले प्रश्न गरे । ‘विदेशबाट आउने सामानमा अन्तशुल्क लिइदैन, यस्तो अवस्थामा भन्सार बढाउनु पर्ने हो, यसमा अन्तशुल्क बढाएर के गर्न खोजिएको हो भन्ने मैले बुझेको छैन,’ डा. महतले भने ।

काम नगरी घरमै बसेकालाई आधा तलब दिऔं भनेका थियौं, ३३ प्रतिशत ऋण पाइने भयोः गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले उद्योग प्रतिष्ठानमा काम गर्ने कामदार तथा श्रमिकको विषय सम्बोधन गर्न बजेटले खासै योजना नल्याएको बताएका छन् । आफूहरुले काम गरिरहेका कामदार श्रमिकलाई उनीहरुले पाउँदै आएको तलब भत्ता शतप्रतिशत दिने र काम नगरी घरमा बसिरहेकाहरुका लागि आधा रकम दिने प्रस्ताव गरिए पनि सरकारले सो विषय सम्बोधन नगरेको उनले बताएका हुन् । ‘हामीले काम गरेका कामदारलाई शतप्रतिशत र काम नगरी घरमा बसेका कामदार श्रमिकका लागि ५० प्रतिशत तलब दिने व्यवस्था गरौं भनेका थियौं, ट्रेड युनियनहरुले पनि यो कुरा मानेका थिए, सरकारले त्यो कुरा सुनेन, काम नगरी बसेका कामदारलाई पूरै तलब देऊ भनेर ३३ प्रतिशत ऋण दिने व्यवस्था गर्यो, यसमा पुनरबीचार जरुरी छ,’ नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको भर्चुअल छलफलमा गोल्छाले भने । विद्युतको महसुलका विषयमा पनि सरकारले खासै राहत कार्यक्रम नल्याएको पनि उनको भनाइ छ । सरकारले कम माग हुने समयमा विद्युत महसुलमा ५० प्रतिशत छुट दिने र डिमाण्ड शुल्कमा छुट दिने भनेको छ । डिमाण्ड शुल्क छुट दिने कार्यक्रम राम्रो भएपनि माग कम हुने समयमा अहिले पनि ४८ प्रतिशत छुट दिने व्यवस्था भएकोले यो छुट भनेको २ प्रतिशत मात्रै भएको उनको भनाइ छ ।

छ दिनमै फर्किइन् भक्तपुरकी काेराेना सङ्क्रमित

काठमाडाैं । कोरोनाको सङ्क्रमण भएपछि पाटन अस्पतालमा उपचार गराइरहेकी भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिला जनप्रतिनिधि छ दिनमै कोरोनामुक्त भएर घर फर्किएकी छिन् । यही जेठ ६ गते भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंमा गरिएको स्वाब सङ्कलनपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा ९ गते राति आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि उनलाई १० गते बिहान उपचारका लागि ललितपुरको पाटन अस्पतालको कोभिड आइसीयू ब्लकमा भर्ना गरी उपचार गरिएको थियो । अस्पतालमा १४ र १५ गते पुनः भएको कोरोना परीक्षणको रिपोर्टमा नेगेटिभ आएर कोरोनामुक्त भएपछि उनलाई बिहीबार साँझ डिस्चार्ज गरेपछि भक्तपुरको च्यामासिंस्थित घर फर्किएकी हुन् । वडा महिला सदस्यलाई कोरोना पुष्टि भएपछि भक्तपुर नगरले जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीलगायत १६८ जनाको पिसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएपछि सिल गरिएको महिला जनप्रनिधिको बस्ती यसअघि नै सिल हटाइसकिएको छ । रासस

राजस्व असुली, वाह्य ऋण र आर्थिक वृद्धिको लक्ष्य भेट्टाउन गाह्रो छः पूर्वअर्थमन्त्री पाण्डे

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेकपा नेता सुरेन्द्र पाण्डेले बजेटले लिएका ३ वटा कार्यक्रमको लक्ष्य पूरा गर्न कठिन भएको बताएका छन् । बजेटले राखेको ७ प्रतिशत आर्थिक लक्ष्य, वाह्य ऋण ल्याउने र राजस्व असुलीको लक्ष्य पूरा गर्न कठिन देखिएको उनले बताएका हुन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको भर्चुअल छलफलमा उनले यस्तो बताएका हुन् । ‘चालु खर्च घटाउने भनेर केही कार्यक्रम नै आएका छन् । यो राम्रो हो । तर राजस्वले चालु खर्च नै ६० अर्ब रुपैयाँ नपुग्ने जस्तो देखियो । त्यसैले आन्तरिक ऋणबाट लिइएको पैसा पनि चालु खर्चमा लगाउनु पर्ने वाध्यता आइपर्छ । यो भयो भने ७ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्यलाई असर पार्छ,’ पाण्डेले भने । यस्तै, आपूर्ति प्रणलीमा परेको असर र अर्थतन्त्रमा आएको मन्दीका कारण राजस्व असुलीको लक्ष्य पूरा गर्न पनि गाह्रो हुने उनको भनाइ छ । लक्ष्य अनुसार राजस्व उठेन भने चालु खर्चको लागि पनि आन्तरिक ऋण प्रयोग गर्नुपर्ने वाध्यता आइपर्ने उनको आकलन छ । उनले रोजगारी सिर्जनामा पनि धेरै ध्यान दिनुपर्ने आवश्यकता आकलन गरे । ‘रोजगारी सिर्जनाको लागि धेरै मन्त्रालयका कार्यक्रम छन् । यस्तो हुँदा एउटाले अर्काेलाई देखाएर कार्यान्वयनमा समस्या आउन सक्छ,’ उनले भने । उनले बजेट खासै महत्वाकाक्षी नरहेको भन्दै अहिले जस्तो बजेट आउनु पर्ने आवश्यकता थियो, त्यस्तै आएको बताए । अस्पताल बनाउनु भनेको भवन बनाउनु मात्रै होइन, त्यहाँ डाक्टर र स्वास्थ्यकर्मी बस्ने परिस्थिति निर्माण गर्नुपर्छ भन्ने उनको भनाइ छ । रोजगारी सिर्जनाको लागि सबै कार्यक्रमलाई एउटै बास्केटबाट संचालन गरेर बैंक तथा वित्तीय संस्थामार्फत विशेष शीप र क्षमता भएका व्यक्तिहरुलाई सोही प्रकारको उद्यम व्यवसाय गर्न शुन्य व्याजदरमा निश्चित अवधीसम्मको ऋण दिने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

विशाल ग्रुपले दियाे ५०० थान पीपीई, २०० थान आईआर थर्मोमिटर र नौ हजार थान एन९५ मास्क

काठमाडौं । विशाल ग्रुपको सामाजिक उत्तरदायित्व विभाग भीजी फाउन्डेसनले स्वास्थ्य मन्त्रालयलाई अत्यावश्यक मेडिकल सामग्रीहरु हस्तान्तरण गरेको छ । ग्रुपले नेपालमा कोभिड १९ को संक्रमण फैलिरहेको बेला, यो रोगविरुद्ध नेपाल सरकारको अभियानलाई सहयोग पुर्याउने उद्देश्यले उक्त सामाग्री हस्तान्तरण गरेको हो । भीजी फाउन्डेसनले स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव प्रसाद कोइराला र अन्य उच्च अधिकारीहरुको उपस्थितिमा पाँच सय थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), दुई सय थान इन्फ्रारेड थर्मोमिटर र आठ हजार नौ सय ५० थान एन९५ मास्क हस्तान्तरण गरेको हो । ‘फ्रन्ट लाइनमा रहेर सर्वसाधारणको सुस्वास्थ्यका लागि तीव्र गतिमा फैलिरहेको यो संकटको सामना गरिरहेका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई विशाल ग्रुप सम्मान गर्न चाहन्छ,’ विशाल ग्रुपको व्यवस्थापनले भनेको छ, ‘हामीलाई आशा छ, हाम्रो यो सहयोगले स्वास्थ्यकर्मी र सर्वसाधारणलाई केही राहत दिनेछ ।’ यो विषम परिस्थितिमा विशाल ग्रुप देशको साथमा छ र आफ्नो स्रोत र शिपको माध्यमबाट देशलाई सहयोग गर्न प्रतिबद्ध छ र भविष्यमा आवश्यकता र क्षमताअनुसार यसलाई विस्तार गर्न तत्पर छ । समाज र देशप्रतिको जिम्मेबारी बहन गर्दै भीजी फाउन्डेसनले निमुखा वर्गलाई खाद्यान्न र काठमाडौं उपत्यकाभित्रका अस्पतालहरुमा स्यानिटाइजर र सर्जिकल मास्क वितरण गर्दै आएको छ ।

सामाजिक सुरक्षा कोषबाट ५ प्रतिशत व्याजमा कर्जा सुविधा

काठमाडौं । सामाजिक सुरक्षा कोषले ५ प्रतिशत व्याजदरमा कर्जा सुविधा दिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले संसदमा पेस गरेको बजेटमा कोभिड १९ को मारमा परेका रोजगारदाताले श्रमिककाे तलव भुक्तानीकाे लागि सामाजिक सुरक्षा कोषबाट कर्जा लिन सक्ने व्यवस्था गरिएको छ । उक्त कर्जाको व्याज करिब ५ प्रतिशत हुने सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए । नेपाल राष्ट्र बैंकले दिने पुर्नकर्जाको व्याजदर ५ प्रतिशत तोकिएकोले सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने कर्जाको व्याजदर पनि त्यसैको हाराहारीमा हुने उनले बताए । व्याजदरबारे अन्तिम निर्णय कोषको सञ्चालक समितिले तोक्नेछ । बजेटमा संगठिन क्षेत्रका श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाताले जम्मा गर्नु पर्ने रकम लकडाउन अवधिभरको लागि नेपाल सरकारले व्यहोर्ने उल्लेख छ । सो रकम सम्बन्धित प्रतिक्ष्ठानले तत्काल श्रमिकको पारिश्रमिक भुक्तानीका लागि सापटीको रुपमा प्राप्त गर्न सक्ने र व्यवसाय सहज भए पश्चात कोषमा जम्मा गर्नुपर्ने भनिएको छ । लकडाउन भएपछि चैत महिनादेखि कोषमा जम्मा गर्नु पर्ने ३१ प्रतिशत रकम अर्थात १८ करोड भन्दा बढी रकम सरकारले सामाजिक कोषलाई निकासा दिएको छ । यस्तो रकम बैशाख र जेठको सरकारले अनुदानको रकम दिनेछ । तीन महिनाको करिव ५५ करोड रुपैयाँ सरकारले सामाजिक सुरक्षा कोषलाई दिने छ । सोही रकम बराबर कर्जा सापटीको रुपमा कोषले रोजगारदातालाई दिन सक्ने उनले बताए । सामान्य अवस्थामा पनि योगदानकर्ताले कोषमा बचत भएको निश्चित रकम कर्जाको रुपमा लिनसक्ने व्यवस्था पनि गर्न लागिएको र त्यसको लागि कोषको बीमाङ्कीय मूल्याङ्कन भईरहेको उनले बताए । तर यस्ताे कर्जा सुविधा कर्मचारी संचय काेष वा नागरिक लगानी काेषले दिनेजस्ताे बचतकाे ८०/९० प्रतिशत नहुने उनले बताए । त्यस्तै, सरकारी अंगमा वा सार्वजनिक संस्थानमा करारमा, अस्थायी, ज्यालादारीका रुपमा कार्यरत कर्मचारीको कोषमा नियमित बचत हुने व्यवस्था सरकारले गरेको छ । नयाँ व्यवस्थासँगै निजामतिबाट करिव ३६ हजार कर्मचारीहरुले कोषमा थपिने कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिए । सरकारी संस्थानबाट थपिन सक्ने कर्मचारीको तथ्याङ्क भने उपलब्ध नभएकाे उनले बताए । त्यस्तै, विभिन्न नामका अवकास कोषहरु सामाजिक सुरक्षा कोषमा समाहित गर्ने कार्यक्रम बजेटमा आएको छ । ७७ चैत्र मसान्तभित्र त्यस्ता कोषको रकम सामाजिक सुरक्षा कोषमा आवद्ध हुने अवकास काेषहरुलाई कर नलाग्ने व्यवस्था बजेटमा गरिएकाे छ । सामाजिक सुरक्षा कोष स्थापाना भईसकेपछि अन्य अबकाश कोषहरु आवश्यक नभएको एउटै सामाजिक सुरक्षा काेषकाे अवधारणामा सरकार जान लागेकाे उनले बताए । सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकको आयमा व्यक्तिको हदमा ४ लाख रुपैयाँसम्म र परिवारको हदमा ४ लाख ५० हजार रुपैयाँसम्म १ प्रतिशत सामाजिक सुरक्षा कर नलाग्ने ज्ञवालीले प्रष्ट पारे । गत यस्तो सुविधा ४ लाख रुपैयाँसम्म आय हुनेको लागि थियो । यस वर्षदेखि परिवार भएको व्यक्तिले ४ लाख ५० हजार रुपैयाँसम्ममा पुरै आयकर छुट पाएको उनले बताए । आर्थिक विधयकको दफा ७ मा उल्लेख गरिएको १ प्रतिशत सामाजिक सुरक्षा कोष कर कोषमा आवद्ध नभएका श्रमिकको हदमा मात्र लागू हुने उनले बताए । कोषमा अहिलेसम्म सूचिकृत श्रमिकको संख्या १ लाख ६० हजार भएको छन् । १२ हजार ३०० कम्पनी कोषमा आवद्ध भएका छन् । आगामी आर्थिक वर्षभित्रमा ५ लाखभन्दा बढी श्रमिक कोषमा आवद्ध गर्ने लक्ष्य कोषले लिएको उनले बताए ।

आयकरको सीमा नबढाउँदा अपारदर्शी अर्थतन्त्र बढ्छः चेम्बर

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले सरकारले ल्याएको बजेटले आयकरको सीमा नबढाएको कारण अनौपचारिक अर्थतन्त्रले अझ बढी प्रश्रय पाउने सम्भावना रहेको बताएका छन् । अहिले सरकारले तोकेको आयकरको सीमा कम भएको भन्दै उनले यसलाई बढाउन आवश्यक रहेको बताएका छन् । अहिले सरकारले व्यक्तिगत रुपमा ४ लाख र विवाहित व्यक्तिको लागि वार्षिक ४ लाख ५० हजार रुपैयाँसम्मको आम्दानीमा कर नलाग्ने व्यवस्था गरेको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सरकारलाई निजी क्षेत्रले स्टिमुलेसन प्याकेज ल्याउन सुझाव दिएको भएपनि सरकारले पुनरकर्जालाई अघि सारेर त्यसैलाई राहतको रुपमा व्याख्या गरिएको भन्दै उनले असुन्तुष्टि पनि जनाए ।

निजी क्षेत्रका साना माग सम्बोधन भए, ठूला कुरा आएनन्ः सिएनआई

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) का वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवाल बजेटले निजी क्षेत्रका महत्वपूर्ण सुझाव अबलम्बन नगरेको बताएका छन् । आफूहरुले कुल गार्हस्थ उत्पादन (जीडीपी) को ५ प्रतिशत रकम बराबरको स्टिमुलेसन प्याकेज ल्याउन सुझाव दिएको भएपनि यस्तो प्याकेज छरिएर आएकोले त्यसको पूर्ण अध्ययन नगरी अहिले नै धारणा बनाउन नसकिने पनि बताए । ‘विद्युतको डिमाण्ड चार्ज घटाउनु राम्रो हो, लकडाउनको समयमा श्रमिक कामदारलाई त्रिपक्षीय योगदानको व्यवस्था गरौं भन्ने निजी क्षेत्रको माग बजेटले सम्बोधन गरेन, कुल गार्हस्थ उत्पादन (जीडीपी) को ५ प्रतिशत रकम बराबरको स्टिमुलेसन प्याकेज ल्याउनु पर्छ भन्ने हाम्रो माग सम्बोधन भएन । यो प्याकेज छरिएर रहेकोले खासै प्रतिक्रिया दिन सकिएन,’  नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको बजेटपछिको भर्चुअल छलफलमा उनले भने । बजेट आउँदाको परिस्थिति पनि बुझ्नु पर्छ भन्दै उनले लकडाउनको कारण मागमा ठूलो असर पारेको बताए । त्यसैले बजेटको आकारको घटाउनु हुँदैन, खर्च घटाउँनु हुँदैन भन्ने आफूहरुको माग सम्बोधन भएको र विकास निर्माणका काम अघि बढाउने सरकारको कार्यक्रम सकारात्मक उनको भनाइ छ । तर, राजस्वको लक्ष्य भने पूरा हुन नसक्ने उनको आलकन छ । राजस्वको बृद्धिको लक्ष्य सरकारले लिएको छ । माग कम हुँदा मूल्य अभिबृद्धिकर (भ्याट) आयकर कम हुने भन्दै उनले कर नबढाउनु स्वागत योग्य कदम भएको बताए । साना तथा मझौला उद्यम व्यवसाय (एसएमई) लाई ५० अर्ब रुपैयाँ जतिको कोष बनाउने स्वागतयोग्य कदम हो भन्दै उनले कर छुट र पुनकर्जा कोष बढाएर १ अर्ब रुपैयाँ राम्रो भएको प्रतिक्रिया दिए । तर, कर्जाको रिस्टक्चरिङको आफूहरुको माग सम्बोधन नभएको उनको भनाइ छ । यसो गर्न सकिएको भए बैंक तथा वित्तीय संस्था र उद्योग क्षेत्रले राहत दिन्थ्यो भन्ने उनको भनाइ छ ।