विकासन्युज

काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा देखियो कोरोना

काठमाडौं । काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालकाे ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अस्पतालकाे ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएकाे बताएका हुन् । देवकोटाकाे अनुसार अस्पतालकाे २४ देखि ३२ वर्षसम्मका ३ जना महिला स्वास्थ्यकर्मी र २८ वर्षका एक पुरुष स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएकाे हो । उनीहरु सबै अस्पतालमा मा रहेको उनले जानकारी दिए ।

फोनपेले पायो पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड

काठमाडौं । फोनपे पेमेन्ट सर्विसले विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसीआइ डिएसएस भि थ्रि.टु.वान प्रमाणीकरण प्राप्त गरेको छ । योसँगै कम्पनीको पुरा प्लाटफर्म पिसिआई डिएसएस मान्यता प्राप्त सेवा प्रदायकको उपलब्धी हाँसिल गरेको छ । यस प्रमाणीकरणले फोनपेको दायरा अन्तर्गत गरिएका सबै कारोबार सुरक्षित रहेका छन् र भुक्तान गर्ने ग्राहकका हरेक डाटा सुरक्षा गर्न कम्पनी प्रतिवद्ध छ भन्ने कुराको प्रमाणित गरेको छ । भुक्तान कार्ड उद्योग डाटा सुरक्षा मापदण्ड(पीसीआई डीएसएस) भुक्तान कार्ड उद्योग सुरक्षा मापदण्ड काउन्सिल (पीसीआई एसएससी) द्धारा अवलम्बन गरिएको अनिवार्य कडा मापदण्डहरुको सेट हो । जहाँ कम्पनीले पीसीआइद्धारा उल्लेख गरिएका मापदण्डहरू पुरा गर्नुपर्दछ । यसले डाटाको भण्डारण, प्रक्रियातथा डाटाहरुको सुरक्षा गर्दछ भने भुक्तानीमा हुने धोकाधडी अर्थात् फ्रड कार्यलाई लाई रोक्दछ । टेक्नोलाजी विक्रेताहरूका लागि पीसीआइ डिएसएस स्तर प्रमाणिकरण प्राप्त गर्नका लागि पीसीआइ मापदण्ड अनुसार आफ्नो टेक्नोलोजी,नेटवर्क र आन्तरिक प्रक्रियाहरूको सुनिश्चितगर्न विस्तृत अडिट हुन्छ । फोनपेले पनि क्यूएसए सीसाको पूर्ण अडिट पछि यो पीसीआई डिएसएस अनुरुप रहेको पुष्टि गर्दै प्रमाणिकरण प्राप्त गरेको हो । फोनपेका प्रमुख टेक्निकल अफिसर दिवस सापकोटाले भने- ‘फोनपे नेपालमा यस किसिमको प्रमाणिकरण प्राप्तगर्ने गैर कार्ड आधारित पहिलो पिएसओ हो । यसले पीसीआइ डिएसएस अनुपालन गर्नका लागि आफैले आफैलाई प्रश्नावली(एसएक्यू) गर्दै आफ्नो पूर्वाधारमा थप लगानी गर्न सक्षम बनाउछ । यसबाट ग्राहकको डाटा सुरक्षा हुनुका साथै डाटा उलंघनको जोखिमलाई हटाउँछ र कुनै पनि संदिग्ध उलंघनको छानविनको दायरा बढाइ संस्था तथा ग्राहकको वीत्तिय क्षतिको जोखिम हटाउँछ ।’ सिसा विश्वव्यापीका संस्थापक तथा सीईओ धर्सन शान्तमुर्तिले भने- ‘पीसीआई डिएसएस प्राप्त गर्न र नेपालको पहिलो भुक्तान सेवा अपरेटर कम्पनीको रुपमा माइलस्टोन प्राप्त गर्न सफलभएकोमा फोनपे टिमलाई बधाई छ । फोनपेले अब डाटा सुरक्षा गर्न र जोखिम न्यूनिकरण गर्नका लागि आधार खडा गरेको छ । जब संस्थाहरु आफ्नो समय र लगानी यस किसिमका क्षेत्रका लागी खर्च गर्छन्, हामी बझ्दछौँ की उनीहरुले आफ्नो ग्राहकको डाटा सुरक्षाका लागि कति महत्व दिन्छन् । पीसीआई डिएसएस प्रमाणीकरणको साथ कम्पनीले ग्राहकका भुक्तानी वातावरण सुरक्षित राख्न सबै आवश्वक प्रविधिका उच्च सुरक्षा सुनिश्चित गरेको छ ।’ नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली अपरेटर फोनपे मार्फत दैनिक एक लाखभन्दा बढि कारोबार हुँदै आएको छ । फोनपे नेटवर्कमा ५२ वटा बैंक तथा वित्तीय संस्था, एक लाख ४० हजार मर्चेन्ट रहेका छन् भने ११ लाख मोबाईल बैंकिङ प्रयोगकर्तामा यसले सेवा प्रदान गर्दै आएको छ ।

२१ वर्षमा अधिकृतले कमाए साढे १० करोड रुपैयाँ, सम्पत्ति लुकाउन सालीदेखि जेठानसम्म प्रयोग

काठमाडाैं ।  भूमीसुधार तथा मालपोत कार्यालय ललितपुरमा कार्यरत मालपोत अधिकृत बद्रीराज ढकालले २१ वर्षमा साढे १० करोड अकुत सम्पत्ति कमाएको पाइएको छ। उनी सरकारी कर्मचारीमा नियुक्ति भएदेखि हालसम्म विभिन्न सरकारी कार्यालयमा गएर अकुत सम्पत्ति कमाएकाे खुलेकाे हाे । वि‍.स २०५५ असोज १६ गते स्थायी नियुक्ति प्राप्त गरी निजामती सेवामा प्रवेश गरेका उनले विभिन्न समयमा विभिन्न कार्यालयमा सरुवा भएर गैर कानुनी सम्पत्ति आर्जन गरेकाे बताइएकाे हाे । निजामती सेवामा प्रवेश पश्चात मालपोत कार्यालयहरू तनहुँ, कास्की, डिल्लिबजार काठमाडौं, पर्सासमेतका मालपोत कार्यालयहरूमा कार्यरत रही हाल मालपोत कार्यालय लगनखेल, ललितपुरमा कार्यरत रहेका थिए। उक्त समयमा अहिलेसम्म उनले १० करोड २७ लाख ५८ हजार ४ सय ६१ रुपैयाँ अकुत सम्पत्ति कमाएको अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले जनाएको छ। आयाेगले उनी विरुद्द विशेष अदालतमा मुद्दा दायर पनि गरेकाे छ । उनले गैरकानूनी कामबाट आर्जन गरेको उक्त सम्पत्ति लुकाउन श्रीमती, सालीदेखि जेठानसम्मलाई प्रयोग गरेको पाइएको छ। ढकालले साली नाताकी व्यक्तिका नाममा सवारी साधन खरिद गरी प्रयोग गर्ने गरेका थिए। आफू र आफ्नै परिवारका सदस्यहरूको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा संचालित बैंक खाताहरूमा कारोबार गर्दा पोल खुल्ने भएकाले परिवारभन्दा बाहिरका व्यक्तिबाट आर्थिक कारोबार गर्ने गरेका थिए। हाल अष्ट्रेलिया बसोबास गर्दै आएका जेठान नाताका नवराज अर्यालका नाममा जनता बैंकमा नयाँ खाता खोली उक्त खाता खोलेकै दिन खाता संचालकबाट खाता संचालनको अनुमति लिई ढकालले ४ करोड २६ लाख ९९ हजार २ सय ९४ रुपैयाँ जम्मा गरेको पाइएको थियो। ढकालले आफू तनहुँ जिल्लास्थित मालपोत कार्यालयमा कार्यरत रहँदा तनुहँकै डेकबहादुर गुरुङ्गको नाममा भएको जग्गा कुनै किसिमको खरिद बिक्री नै नगरी लिखतमा सरकारी न्युनतम मूल्य उल्लेख गरी खरिद बिक्री कारोबार देखाई आफ्नो नाममा समेत ल्याएका थिए। पछि जग्गा फिर्ता गर्दा लिखतमा अत्यधिक मूल्य खुलाई हुँदै नभएको खरिद बिक्री कारोबारमा १ लाख ९७ हजार लगानी गरेको केही दिनमै १ करोड ६८ लाख आर्जन गर्न सफल भएका थिए। यसरी उनले झण्डै साढे १० करोड अकुत सम्पत्ति कमाएको अख्तियारले जनाएको छ। उनी विरुद्द साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ बमोजिम र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९२० बमोजिम सजाय गर्न आयोगले मुद्दा दायर गरेको हो ।

थप दुई सय ८८ जनामा संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमितकाे संख्या २ हजार नाघ्याे

काठमाडौं । म‌ंगलबार दुई सय ८८  जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा थप २ सय ८८  जनामा कोरोना देखिएको प्रवक्ता विकास देवकोटाले बताएका छन् । मंगलबार थपिएका संक्रमितहरु रौतहटका ७४, स्याङ्जाका ५, पर्वतका ५, सप्तरीका १, बर्दियाका ३, बाँकेका १‍७, सुर्खेतका २७, दैलेखका ९, सल्यानका १८, अछामका १०, बाराका १, दाङका १७, प्युठानका १, कन्चनपुरका ८, कैलालीका १०, धनुषाका ६, महोत्तरीका २, सर्लाहीका २१, सिरहाका १७, भक्तपुरका १, धादिङका १, कपिलवस्तुका १६, काठमाडौं मेडिकल कलेजका ४ जना, नवलपरसी पूर्वका १, नवलपरासी पश्चिमका १, नुवाकोटका २, रूपन्देहीका १० जना रहेकाे देवकोटाले जानकारी दिए। याेसँगै नेपालमा कोरोना संक्रमितकाे संख्या २ हजार ९९ पुगेकाे छ जसमा २ सय ६६ जना निकाे भईसकेका छन् र ८ जनाकाे जनाकाे मृत्‍यु भईसकेकाे छ । हाल नेपालभर ७५ हजार ३ सय ४३ काे पिसिआर विधिबाट र एक लाख १६ हजार ३ सय ४५ काे आरडिटी विधिबाट परीक्षण भएकाे छ । यस्तै नेपालमा हाल एक लाख ४५ हजार ३ सय ७५ जना क्वारेन्टाईनमा छन् र १८ सय २५ जना आईसाेलेसनमा रहेकाे छन् ।

बैंक अफ काठमाण्डूले बीर अस्पताललाई दियो २०० थान पीपीई

काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व नीति अन्तर्गत बीर अस्पताललाई २०० थान व्यक्तिगत सुरक्षात्मक उपकरण(पीपीई) हस्तान्तरण गरेको छ । बैंकले श्री चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पतालका उप कुलपति प्रो. डा. देव नारायण शाहलाई एक कार्यक्रमका बिच उक्त पीपीई सहित विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । जस अन्र्तगत बैंकले २०० थान व्यक्तिगत सुरक्षात्मक उपकरण, २०० थान मास्क र २०० थान फेस सील्डहरु हस्तान्तरण गरेको छ । उक्त पीपीईहरुले विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा सीमित स्रोत साधनकाबीच संक्रमण नियन्त्रणको अग्रस्थानमा रहेका स्वास्थ्यकर्मीहरुको सुरक्षामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । लकडाउनको अवधिमा पनि अत्यावश्यक सेवा अन्र्तगत यस बैंकले एटिएम सेवा, नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी जस्ता सेवा सुविधाहरु प्रदान गर्नुका साथै आफ्ना ग्राहकहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग जस्ता डिजिटल बैंकिङ्ग माध्यमहरुको अत्याधिक प्रयोग लाई उचित बढावा र प्रोत्साहन दिदै आईरहेको जानकारी समेत गराएको छ ।

जुवाको खालबाट पक्राउ परेका व्यापारीलाई ५ दिन हिरासतमा राख्न म्याद थप तर प्रहरीले नथुन्ने

काठमाडौँ । काठमाडौँहोटेलबाट सोमबार साँझ जुवा खेल्दै गर्दा पक्राउ परेका व्यापारीलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन काठमाडौंले पाँच दिनको म्याद दिएपनि प्रहरीले हाजिरी जमानीमा छाडेको छ । कोरोनाको कारणले जघन्य बाहेकका कसुरका आरोपीलाई हिरासतमा नराख्ने सरकारको नीतिअनुसार उनीहरुलाई छाडिएको दरबारमार्ग प्रहरी वृतले जनकारी दिएको छ । आरोपीहरु थुनामा नबसेपनि दैनिक प्रहरी कार्यालयमा उपस्थित भएर बयान दिनु पर्ने छ । प्रहरीले कमलादीस्थित गगौंर बुटिक होटेलमा छापा मारेर व्यापारीहरु विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा र होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाईलाई पक्राउ गरेको थियो ।

बजेटबाट निरास बनेको पुँजी बजारले खाेजेको के थियो ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटले पुँजी बजारको सम्बोधन नगरेको भन्दै सरोकारवालाले खिन्नता व्यक्त गरिरहेका छन् । पुँजी बजारमा देखिएका नीतिगत समस्या समाधानको अपेक्षा गरिएपनि बजेटले सम्बोधन गर्न नसकेको उनीहरुको भनाइ छ । सरकारले ल्याएको बजेटबाट सरोकारवालाले कस्तो सम्बोधनको अपेक्षा गरेका थिए ? बजेटले के के दिन सक्थ्यो भन्ने प्रसंगमा हामीले सेयर ब्रोकर तथा लगानीकर्ता संघका जिम्मेवार पदाधिकारी र विश्लेषकसँग बुझ्ने प्रयास गरेका छौं । आगामी आर्थिक वर्षको बजेटले पुँजी बजारलाई खासै प्राथमिकता नदिएको ब्रोकर एशोसिएशनका अध्यक्ष भरत रानाभाट बताउँछन् । धितोपत्र बोर्ड, नेप्से र सीडीएससीको पुनः संरचना बाहेक अरु जे जति कुराहरु आएका छन्, ती सबै कार्यान्वयनको प्रक्रियामा रहेका थिए । त्यसैले, ती बजेटमा नबोलेको भएपनि आउने क्रममै रहेको उनको प्रतिक्रिया छ । ‘धितोपत्र बोर्ड, नेप्से र सीडीएससीको पुनः संरचनाले पनि तत्कालको बजारमा खासै केही असर पर्दैन, त्यसैले बजेटमा सरोकारवाला पक्षहरुबाट जेजति सुझावहरु गएका थिए, जुन अहिले आउनु पर्ने आवश्यकता पनि थियो, ती कुराहरु केही पनि परेनन्,’ उनले भने । ‘मार्केटले राहात मागेको थिएन । केही विषयमा स्पष्टता चाहेको थियो, पुँजीगत लाभकर ५ प्रतिशत नै अन्तिम कर हो कि होइन भनेर । सम्भवतः यो कुरा बजेटमा आइदिएको भए राम्रो हुन्थ्यो, दाश्रो, यो परिस्थितिमा अरु सामान्य बेलाको भन्दा करको कुरामा केही सुविधा दिएको भए मार्केटलाई राम्रो हुने थियो,’ अध्यक्ष रानाभाटले भने । त्यस्तै, बजारमा माग सिर्जना गर्ने गरेर संस्थागत लगानीकर्ताहरु जस्तै, सञ्चय कोष, नागरिक लगानी कोषहरु लगायत अन्य कुनैको फण्ड आइदिएको भए पुँजी बजारलाई राम्रो हुने उनको भनाइ छ । ‘बजेटमा मार्केटले अपेक्षा गरेका कुराहरु नआइदिँदा अरु निकायहरुबाट आउन सक्ने सम्भावना भने छ । अर्थमन्त्रालयबाट यी कुराहरु आइदियो भने मार्केट त्यति नराम्रो नहोला,’ उनले थपे । मर्चेन्ट बैंकर एशोसिएसनका अध्यक्ष धुर्व तिमल्सिना पुँजी बजार सरकारको प्राथमिकतामा नपरेकोमा आफूलाई दुःख लागेको बताउँछन् । अनलाइन कारोबार व्यवस्थापन गर्ने कुराहरु बजेटमा भन्दा पनि नेप्सेको विजेनस प्लानमा आउनु पर्ने कुरा हो भन्दै उनले कम्पनीले गर्नु पर्ने काम बजेटमा राखेर केही अर्थ नभएको बताए । ‘पुँजी बजार र बैंक तथा वित्तीय संस्था एक अर्काका विकल्प नभई उनीहरु परिपूरक हुन्, पुँजी बजारको मेरुदण्ड भनेको कोषहरु नै हुन् । जस्तै, दोश्रो बजारमा सामूहिक लगानी कोषहरु हुन्छन् । प्रोजेक्ट फाइनान्सिङ्मा सर्पोट गर्ने भेञ्चर क्यापिटल, वैकल्पिक लगानी कोषहरु हुन्छन् । ती कोषहरुलाई मान्यता दिएको भएपनि एउटा पहल हुन्थ्यो । जसले पुँजी बजारमा बलियो आधार निर्माण गथ्र्यो,’ उनले भने । ‘सरकारको प्राथमिकता अहिले कोरोनाको भाइरसबाट थला परेको अर्थतन्त्रलाई कसरी उकास्ने भन्नेतिर जानु स्वभाविक नै हो । यसका साथै, एउटा नीतिगत व्यवस्था गरिदिएको भरमा कुनै क्षेत्रको विकास हुन्छ भने त्यसमा सरकार पछि पर्नु हुँदैन थियो । मर्चेन्ट बैंकिङ् तथा पुँजी बजारको क्षेत्रमा काम गर्ने हिसावले हामीले त्यो आशा गरेका थियौं,’ अध्यक्ष तिमल्सिनाले थपे । कमसेकम अहिले ती कुराहरुलाई मात्रै समेटिदिएको भएपनि बजारमा नयाँ आयाम दिने वातावरणहरु सिर्जना हुन्थ्यो भन्ने उनको भनाइ छ । तर त्यतातिर सरकारले वास्ता नदिएकोमा दुःख लागेको उनी बताउँछन् । बजेटमा ऋणपत्र दोश्रो बजारमा कारोबार गराउने भनिएको छ । तर यसको बजार विस्तार त्यति सजिलो नहुने उनले बताए । आर्थिक वर्ष २०७७÷७८ को बजेट हेर्दा पुँजी बजारमा ७ वर्ष अगाडि सरकारको दृष्टिकोण जस्तो थियो, अहिले पनि त्यस्तै रहेको लगानीकर्ता तथा पुँजी बजारका विश्लेषक प्रकाश तिवारी बताउँछन् । बाहिरतिरको जस्तो पुँजी बजारलाई फोकस गरेर विकास गर्नुपर्छ भन्ने सोच चै सरकारको अझै पनि नभएको उनको तर्क छ । ‘पुँजी बजारमा चाहिने कुराहरु धेरै छन्, बजेटले मात्रै सबै कुरा समेट्नु पर्छ भन्ने छैन । बजेटले समेटेन भन्दैमा सुधार नहुने, काम गर्नै नसकिने भन्ने होइन । तर लगानीकर्ताका दुविधाका विषयहरु पुँजीगत लाभकर अन्तिम कर हो कि होइन भन्ने छ । त्यो बजेटमा आएको भए राम्रै हुन्थ्यो,’ तिवारीले भने । ‘अल्पकालिन र दीर्घकालिन लगानीकर्ता छुट्याएर, दीर्घकालिन लगानीकर्तालाई करमा विशेष छुटको सुविधा दिने कुराहरु पनि थिए । बजेटमा समेटिनु पर्ने धेरै कुराहरु थिए, त्यसमध्ये कुनैपनि परेको भए सरकारले पुँजीबजारलाई सम्बोधन गर्न थाल्यो, हेर्ने दृष्टिकोण फरक हुन थाल्यो भन्ने लगानीकर्तामा पर्ने थियो,’ उनले थपे । प्राविधिक रुपमा भन्ने हो भने ऋणपत्र दोश्रो बजारमा कारोबार गर्नुपर्छ भन्ने कुरा सरकारको स्वार्थको लागि आएको उनको प्रतिक्रिया छ । सरकारले आन्तरिक ऋण उठाउने भनेको र त्यसको लागि ऋणपत्र अनिवार्य चाहिने हुँदा बण्डको कारोबार दोश्रो बजारमा गराउनुपर्छ भनिएको उनको तर्क छ । यसले लगानीकर्तालाई केही प्रभाव नपार्ने भन्दै उनले लगानीकर्तालाई सपोर्ट गर्ने खालका विषय बजेटमा नआएको बताए । उनका अनुसार लगानीकर्ताको साइडबाट हेर्दा मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुलाई के के आउँछ भनेर पनि हेर्नु पर्ने हुन्छ । त्यहि अनुसार बजेट कस्तो भयो भन्ने आँकलन गर्न सकिने उनी बताउँछन् । ‘बजेटले पुँजी बजारमा कार्यान्वयन हुने खालका केही कुराहरु पनि ल्याएन । तर पनि बजेटमै आउनु पर्छ भन्ने होइन । ती कुराहरु अर्थमन्त्रालय तथा नेपाल धितोपत्र बोर्डले पनि ल्याउन सक्ने छन्,’ विश्लेषक तिवारीले भने ।

फेसबुकमार्फत पनि सवारी पासका लागि आवदेन गर्न सकिने, यस्ताे छ तरिका

काठमाडाैं । अब फेसबुक तथा इमेलफेसबुकमार्फत पनि सवारी पास पाइने भएकाे छ । जिल्ला प्रशासन कार्यालय काठमाडाैंले मंगलबार एक सुचना जारी गर्दै साे कुरा बताएकाे हाे । सवारी पासका लागि कार्यालय बाहिर सेवाग्राहीको भीडभाड बढ्न गई संक्रमण हुन सक्ने भएकाले आजदेखि सवारी पासका लागि निवेदन र प्रमाण खुल्ने कागजात कार्यालयको ईमेल र फेसबुक पेजमा पठाउन कार्यालयले अनुराेध गरेकाे छ । सवारी पासका लागि कार्यलय बाहिर सेवाग्राहीको भीडभाड बढ्न गई संक्रमण हुन सक्ने भएकाले यहि जेठ २१ बाट सवारी पासका लागि निवेदन र प्रमाण खुल्ने कागजात इमेलमा पठाउन र पास तयार भएको जानकारीपछि मात्र कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । त्यस्तै, काठमाडौ प्रशासनले अत्यावाश्यक सेवामा खटिनेहरुका लागि जारी भएका पास पनि नवीकरण गर्न नपर्ने जनाएको छ । यसअघि त्यस्ता पास सात दिनको म्यादपछि नवीकरण गर्नुपर्ने व्यवस्था रहेको थियो । तर अव भने नवीकरण गरिरहनु नपर्ने भएको छ ।