अमेरिकाको राष्ट्रपति पदका लागि जो बाइडेनको उम्मेदवारी सुनिश्चित, ट्रम्पलाई टक्कर
वासिङटन । अमेरिकाको राष्ट्रपतिको आगामी कार्यकालका लागि डेमोक्याटिक पार्टीको तर्फबाट जो बाइडेनले उम्मेरबारी दिने सुनिश्चित भएको छ । यही बर्ष सन् २०२० को नोभेम्बरमा हुने निर्वाचनमा उनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टक्कर दिनुपर्ने छ । कोरोनाको महामारी, आर्थिक चुनौती र नागरिक अशान्ति लगायतका विषयलाई उनले मुख्य एजेण्डाको रुपमा अगाडी सार्नुहुने जनाइएको छ । पूर्व उपराष्ट्रपति समेत रहे भएका बाइडेनले आफ्नो पार्टीबाट उम्मेदबारी दिने निर्णय शुक्रबार राती भएको हो । निर्णय भएपछि उनले भने, “हाम्रो पार्टीमा धेरै विद्धान तथा क्षमतावान उम्मेदवारहरु अरु धेरै हुदा हुदै पनि मलाई अवसर दिएकाेमा म सवैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।” उनले पार्टीको एकतासहित आफुहरु आउदो आम निर्वाचनमा जान लागेकोमा आफुलाई गौरब महसुस भएको पनि बताए । आफ्नो पार्टीबाट सहजै उम्मेदबार बन्न पाउने अवस्था आउनु उनका लागि सफल पक्ष भएको राजनीतिज्ञहरुले बताएका छन् । उनको पार्टीबाटै राष्ट्रपतिका लागि उम्मेदबार बन्न चाहेका कतिपय उम्मेदबारहरुले आफ्नो उम्मेदवारी अभियानलाई स्थगित गरेको घोषणा यसअघि नै गरिसकेका छन् । डेमोक्रयाटिक पार्टीबाटै उम्मेदबार बन्न खोजेका बेर्नी सन्डेर्सले गत अप्रिलमै चुनावी अभियानबाट आफू पछाडी हटेको घोषणा गरे । बाइडेनसँग अहिले १ हजार ९ सय ९५ जना डेलिगेडट्स रहेका छन् भने उनले चुनावी प्रचार प्रसारलाई अव झन सशक्त बनाउने बताए । तत्कालिन राष्ट्रपति बाराक ओबामाको कार्यकालमा उपराष्ट्रपति भएकाले उनलाई अमेरिकामा अहिले पनि निकै लोकप्रिय मानिनले ओबामाको ठूलो सहयोग हुने देखिएको छ । पछिल्लो समय बाइडेनलाई उम्मेदबार बनाउन पनि ओबामाले महत्वपूर्ण भूमिका खेलेको बताइएको छ । उनले आगामी चुनावी अभियानलाई थप प्रभावकारी बनाउने र नेतृत्वदायी भूमिका खेल्ने अपेक्षा गरिएको छ । वर्तमान राष्ट्रपति ट्रम्पले ओबामालाई लगातार अभिव्यक्ति मार्फत् आक्रमण गरिरहने गरेकाले पनि ट्रम्पलाई हराउन ओबामा सक्रिय हुने अनुमान गरिएको छ । ओबामाको समर्थनका कारण बाइडेनलाई अस्वेत मतदाताहरुको थप सहयोग हुने विश्लेषण गरिएको छ । ओबामाको उपराष्ट्रपति हुनुभन्दा अगाडी बाइडेन झण्डै ३६ बर्ष सिनेटको सदस्यका रुपमा रहेका थिए । उनी अहिले ७७ बर्षको भए । उनलाई अमेरिकामा अनुभवी, परिवक्व र सन्तुलित नेताका रुपमा लिने गरिन्छ । रासस/एपी
पाकिस्तानमा कोरोना भाइरसका संक्रमितहरु बढिरहेको भएपनि सोमबारबाट लकडाउन खुल्ने
इस्लामावाद । पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको भए पनि यहाँको सरकारले आगामी सोमबारदेखि लकडाउन खोल्ने भएको छ । प्रधानमन्त्री इमरान खानले सोमबारदेखि देशव्यापी रुपमा नै लकडाउनलाई खुकुलो बनाउने पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका हुन् । प्रधानमन्त्री खानले देशको अर्थतन्त्रलाई बचाउन लकडाउनलाई लामो समयसम्म जारी नराख्ने बताएका छन् । लामो समयसम्म लकडाउन गरी राख्दा मध्यमबर्गीय तथा श्रमजीवी बर्गको अवस्था नाजुक बन्नुका साथै दशेको अर्थतन्त्रमा नराम्रो प्रभाव पर्ने जनाए । त्यसैले यहाँका अधिकांश शहरहरुका साथै देशका प्रमुख केन्द्र तथा बजार पसलहरु पनि खुल्ने भएको बताइएको छ । प्रधानमन्त्री खानले शुक्रबार सो कुराको जानकारी दिए । पाकिस्तानमा पछिल्लो समयमा ४ हजार ७ सय ३४ जना संक्रमित थपिएको शनिबार बिहान जानकारी दिइएको छ । ती पछिल्लो समयमा थपिएका संक्रमितसहित यहाँका संक्रमितको संख्या ९३ हजार ९ सयभन्दा बढी पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यहाँ सो भाइरसबाट ज्यान जाने व्यक्तिको संख्या १ हजार ९ सय ३५ जना पुगेको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले यो भाइरसबाट गएको २४ घन्टामा मात्र ९७ जनाको ज्यान गएको बताएका छन् । यहाँका ३२ हजार जना भन्दा बढीलाई निको भएको बताइएको छ । यहाँको सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र हो । त्यस्तै त्यसपछिको प्रभावित क्षेत्र भनेको पञ्जाव प्रान्त हो । रासस–एएनआई
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । डोल्पाका जगदुल्ला गाँउपालिका-३ का ५८ वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो । जेठ १८ गते नेपालगञ्ज – सुर्खेत – जुम्ला हुँदै डोल्पा पुगेका उनकाे घरमा क्वारेन्टिनमै बसेको अवस्थामा जेठ २० गते ती पुरूषको मृत्यु भएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले शनिबार प्रेस विज्ञप्ति निकालेर ती पुरूषको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको उल्लेख गरेको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नेपालमा १२ पुगेको छ । उनी लामो समयदेखि दमको रोगले पीडित थिए । निधनपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको अस्पतालले पुष्टि गरेकाे छ ।
भरतपुर अस्पतालमा एक जनाको मृत्यु, कोरोनाको आशंका
काठमाडौं । भारतबाट आएका एक जना युवकको चितवनस्थित भरतपुर अस्पतालको भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको छ । ज्वरोसँगै श्वासप्रश्वासमा समस्या देखिएका २७ वर्षीय ती युवकको शनिबार मृत्यु भएको अस्पतालले जनाएकाे छ । बिहान एक्कासी समस्या देखिएपछि भेन्टिलेटरमा सारे पनि बचाउन नसकिएकाे अस्पतालले जानकारी दिए । चितवन माडी निवासी उनी १० दिनअघि भारतबाट आएका उनी उपचारका लागि नयाँदिल्ली गएका थिए । क्वारेन्टाइनमा रहेका उनी ज्वरो देखिएपछि शुक्रबार भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना भएका हुन् । मृतकको स्वाब परीक्षण गर्न पठाइएको छ। साँझसम्म कोरोना परीक्षण रिपोर्ट आउने अस्पतालले जनाएको छ।
खाद्य डिपोमा सकियो चामल
खाँदबारी । सङ्खुवासभाको खाँदबारीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डिपोमा चामल अभाव भएको छ । जिल्लाभरको खाद्यान्न सङ्कट समाधानका लागि स्थापना भएको सो शाखाको डिपोमा गत वैशाख महिनादेखि चामल सकिएको हो । डिपोले लकडाउनको समयमा विपन्न जनतालाई चामल वितरण गर्न सकेको छैन । एक महिनाअघिदेखि चामल सकिएको शाखा कार्यालय खाँदबारीका सूचना अधिकारी रामप्रवेश मण्डलले जानकारी दिए । विपद् र जिल्ला कारागारका लागि राखिएको २०० क्विन्टल चामल मात्र डिपोमा रहेको उनको भनाइ छ । दैनिक ३ हजार ५ सय केजी चामल बिक्री गर्ने डिपोमा चामल नआएकाले डिपो बन्द गरेर बस्नुपर्ने बाध्यता भएको डिपो कार्यालयले जनाएको छ । लकडाउनको समयमा खाद्यले चामल नदिएपछि महङ्गो मूल्यको चामल किन्न बाध्य भएको खाँदबारी नगरपालिका–१ की स्थानीय विष्णु राई गुनासो गरे । जिल्लामा आएको चामल १ महिनाअघि नै सकिएको र थप चामल नआउँदा विपन्न जनताको मागअनुसार चामल बिक्री गर्न नसकिएको सूचना अधिकारी मण्डलले बताए । स्थानीयवासीको काम बढी भएकाले चामल मागअनुसार नआउँदा समस्या भएको हो । खाँदबारी नगरपालिकाले राहत वितरणका लागि ३ सय २० क्विन्टल चामल माग गरे पनि खाद्यले चामल दिन नसकेको उनले जानकारी दिए । जिल्लाका व्यापारीहरुले लकडाउनको मौका छोपेर दैनिक उपभोग्य वस्तुमा मूल्य बढाएका छन् । व्यापारीले एक बोरा चामलमा २ सयदेखि ३ सयसम्म मूल्य बढाएको स्थानीयवासीले बताएका छन् । अहिले चामलसहितको खाद्यवस्तुको मूल्यसमेत बढाएकाले मारमा परेको खाँदबारी–९ का रमेश मगरले बताए । खाद्यले बिक्री गर्ने चामल व्यापारीसँग किन्दा किलोमा १० देखि १५ सम्म महङ्गो परेको उनको भनाइ छ । लकडाउन र बर्खा लागेको भन्दै व्यापारीले दैनिक उपभोग्य वस्तुको मूल्य बढाए पनि अहिलेसम्म बजार अनुगमन भएको छैन । लकडाउले दैनिक रोजगारी जान पनि समस्या भएको र पारिश्रमिक पनि समयमा नपाएका बेला अझ महङ्गो चामल किनेर खानुपरेको राईको गुनासो छ । लकडाउनको सयमा खाद्यले आपूर्ति व्यवस्थालाई सहज बनाउन नसक्दा विपन्न परिवार महङ्गो मूल्यको चामल खान बाध्य छन् । यसअघि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सोना मन्सुली प्रतिकेजी ३८.२५ रूपैयाँ र जापनिज प्रतिकेजी चामल ४३.२० रूपैयाँकाे दरले बिक्री गर्दै आएको थियो । रासस
‘पहुँचवाला’को चार्टर फ्लाइट चक्कर
काठमाडाैं । जापानमा अध्ययनरत भाइ पुरुषोत्तम फागुन पहिलाे साता काठमाडौं आएको थियो । चैत अन्तिम सातातिर जापान फर्कने उसको योजना थियो । तर, कोरोना भाइरस संक्रमण रोक्न भन्दै चैत ११ गतेदेखि सरकारले देशव्यापी लकडाउन जारी गर्यो । गाउँ गएको भाइ उतै ओखलढुंगामै रोकियो । सरकारले हवाई उडान पनि रोकेकोले जापान जाने विषय पनि बन्द थियो । यस्तैमा मे २० (७ जेठ) मा भाइले फोन गरेर जापान जाने कुरा सुनायो । उसको कुरा सुन्दा छक्क परेँ । लकडाउनको समय, ओखलढुंगादेखि काठमाडौं आउने समस्या, फेरि सबै प्रकारका हवाइ उडान रोकिएकोले सम्भव कुरा जस्तो नै लागेन । तर, उसैले २४ मेमा सुमेघ ट्राभल्सले जापानको नारिता लैजान लागेको डिटेल भाइबरमा पठाइदियो । उसलाई यो जानकारी जापानबाट आएको रहेछ । जापानको उसको अध्ययन गर्ने शैक्षिक संस्थाले नै यो दिन, यो ट्राभलले जापान चार्टर फ्लाइट गर्दैछ भनेर भाइलाई जानकारी पठाउँदो रहेछ । जानकारीमा विभिन्न बैंकको नाम उल्लेख गरेर सो ट्राभल्सको खातामा पैसा हालिदिनु भनिएको थियो । पत्रकारको जात न पर्यो । पेशागत कारणले पनि जिज्ञासुसहित शंकालु हुनैपर्छ । लकडाउनको बेलामा कसैले अवाञ्छित कार्य गरी ठग्न खोजेको हो कि भन्ने शंका उत्पन्न भयो । अनि गृहमन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीलाई सम्पर्क गरी लकडाउनमा अन्तराष्ट्रिय चार्डर फ्लाइट हुन्छ कि हुन्न भनेर सोधेँ । उनले हुन्छ भने । काठमाडौं बाहिरका यात्रु कसरी काठमाडौं आउँछन् त भनेँ । उनले जहाजको टिकट पक्का भएपछि र भिसा अवधि कायमै रहेकाको हकमा सम्बन्धित जिल्ला प्रशासनले पास बनाएर पठाउने व्यवस्था मिलाइएको जानकारी दिए । अनि सुमेघ ट्राभलले २४ तारिकमा जापानको नारिता जान स्वीकृति लिएको हो भनेँ ? उनले यो बारेमा आफूलाई जानकारी नभएको भन्दै एक जना उपसचिवको नाम र फोन नम्बर दिए । गृहका उपसचिव उमाकान्त अधिकारीले दिएको व्यक्तिलाई फोन गरेँ । उनले २४ तारिकको लागि नारिता चार्टर फ्लाइट गर्ने तयारी सुमेघ ट्राभलले गरेको तर गृहमन्त्रालयबाट अन्तिम स्वीकृति पाइनसकेको बताए । र, ती उपसचिवले सुमेघ ट्राभलका मेघ केसीको फोन नम्बर दिदै थप जानकारी उनैसँग लिन भने । यतिबेलासम्म म सामान्य पत्रकारबाट ‘पहुँचवाला’ भैसकेको थिएँ । किनभने गृहमन्त्रालयका अधिकारीसँग सम्बन्ध भइसकेको थियो, ट्राभल एजेन्सीका मान्छेको नम्बर पाएको थिएँ । लकडाउन जस्तो असामान्य परिस्थितिमा प्रशासन र व्यवसायी दुबैसँग सम्पर्क र समन्वय गर्न सक्ने व्यक्ति सामान्य हुँदैहोइन । मेघ केसीलाई फोन गरेँ । उनले भोलि विहान फोन गर्न भने । तर, यही बीचमा अर्काे एउटा ट्राभल एजेन्सीले २८ मेमा जापानको ओसाकामा चार्टर फ्लाइट गर्न लागेको जानकारी विभिन्न सामाजिक संजालमा भेटियो । भाइले पनि आफू बस्ने ठाउँ नारिताभन्दा ओसाकाबाट नजिकै पर्ने र २४ तारिकको लागि तयारी गर्न समय कम हुने भएकोले २८ तारिकमा ओसाका जान पाए राम्रो हुने बतायो । ओसाका एयरपोर्टमा आउने भए भाइले अध्ययन गर्ने शैक्षिक संस्थाले नै गाडी लिएर लिन आउने भनेको रहेछ । त्यसैले भाइले पनि ओसाका जान पाए उपयुक्त हुने बतायो । यो प्रसंग २१ मेको थियो । ओसाका चाटर्र फ्लाइट गर्न लागेको ट्राभल एजेन्सीको मान्छेलाई फोन गरेँ । उनले २८ मेमा आफूले ओसाका फ्लाइट गर्न लागेको बताए । उनले पनि टिकेट वापतको पैसा तत्काल बैंकमा जम्मा गरिदिन आग्रह गरे । माथि नै उल्लेख गरिसकेको छु कि म पहुँचवाला भइसकेको थिएँ । त्यसैले गृहमन्त्रालयका ती उपसचिवलाई फोन गरेर गृहको स्वीकृति पाउन अघि नै टिकटको पैसा दिन कत्तिको जोखिमरहित छ भनेर सोधें । उनले सबै सरकारी निकायबाट स्वीकृति पाइसकेपछि मात्रै टिकटको पैसा दिनु राम्रो हुने सुझाए । अनि २८ मेमा ओसाका उडान गर्ने ट्राभल एजेन्सीको मान्छेसँग फेरि कुरा गरें । उनको फाइल गृहमन्त्रालयसम्म नपुगेको बताए । अनि उनी मलाई साथीको व्यवहार गर्दै सबै प्रक्रिया जानकारी गराउन लागे । त्यो बेलासम्म उनले पर्यटन मन्त्रालयबाट स्वीकृति भने लिएका रहेछन् । २२ मेमा एक जना साथीले मलाई फोन गरे । उनको सालोलाई अमेरिका जानुपर्ने रहेछ । २४ मेमा प्रेसिडेन्ट ट्राभलले अमेरिका उडान गर्दै रहेछ । साथीको सालोलाई टिकट उपलब्ध भएन भनेर इमेल गरिएको रहेछ । तर, उनलाई जसरी पनि अमेरिका जानै पर्ने रहेछ । साथीले मबाट केही सहयोगको अपेक्षा गरेका रहेछन् । मैले सहयोग गर्न सक्ने अवस्था थिएन । त्यसैले यसमा सहयोग गर्न सक्ने व्यक्ति पर्यटनमन्त्री योगेश भट्टराई हुन भनेँ । नभन्दै उनले पनि च्यानल मिलाएर पर्यटनमन्त्री भट्टराई समक्ष यो विषय पुर्याएछन् । साथीको सालोले अमेरिका जाने टिकट पाए । गए । यो चार्टर्ड फ्लाइटकै अनुभव भएकोले उल्लेख गरेँ । अँ साँच्ची, उडान अनुमति लिने प्रक्रियाबारे भन्नै विर्सेछु । सबैभन्दा पहिला ट्राभल एजेन्सीले विदेश जाने मान्छे खोज्दा रहेछन् । कति यात्रु हुन सक्छन् भन्ने अनुमान अद्यागमन विभागबाट लिन्छन वा अन्यत्रबाट भन्ने थाहा भएन । त्यसपछि सामाजिक संजालमार्फत सूचना प्रवाह गर्दा रहेछन् । यात्रु यकिन गर्न अग्रिम पैसा बुझाउनु भन्ने शर्त राखिएको हुँदो रहेछ । त्यसपछि ट्राभल एजेन्सी पर्यटन मन्त्रालय जादा रहेछन् । पर्यटन मन्त्रालयले स्वीकृति दिएपछि कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई पत्राचार गर्दाेरहेछ । यो पत्रमा सम्बन्धित देश जाने यात्रुको नामावली र पासपोर्ट नम्बर उल्लेख हुँदो रहेछ । र, नेपाल एयरलाइन्सलाई चार्टर फ्लाइट गर्ने बारे जानकारी पनि दिइदो रहेछ । पर्यटनको पत्र प्राप्त भएपछि उच्चस्तरीय समन्वय समितिले परराष्ट्र मन्त्रालयमा त्यो निवेदन पठाउँदो रहेछ । पर्यटन मन्त्रालयले सम्बन्धित देशको दूतावाससँग समन्वय गर्दाेरहेछ । दूतावासले उडान अनुमतिको लागि स्वीकृति दिने भनेपछि परराष्ट्रले सो फाइल फेरि उच्चस्तरीय समन्वय समितिमा पठाउँदो रहेछ । परराष्ट्र मन्त्रालयबाट पनि फाइल फिर्ता भएपछि उच्चस्तरीय समन्वय समितिले सो फाइल गृहमन्त्रालय पठाउने रहेछ । गृहमन्त्रालयले निवेदनमा संलग्न भएका व्यक्तिहरुलाई सवारी पासको व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिने गरिएको रहेछ । चार्टर फ्लाइट स्वीकृतिको प्रसंग उल्लेख गरेको सन्दर्भ बुझ्नु भयो नै होला । साथीको सालो योगेश भट्टराईको सहयोगमा अन्तिम समयमा अमेरिका जान पाएको विषय सम्झनुस भन्नका लागि यो प्रसंग जोडिएको मात्रै हो । हुन त साथीको सालो ७९ हजार रुपैयाँको टिकट क्यान्सिल गरेर बसेका थिए । चार्टर फ्लाइटमा ३ लाख ५० हजार रुपैयाँ तिरेर गए । फेरि पहिलाकै विषयमा फर्काैं । २२ मेमा ओसाका जाने जहाजको टिकट पक्का दिन्छु भन्यो त्यो ट्राभल एजेन्सीले । भाइसहित उसका साथीहरु ७ जना सँगै जाने थिए । उनले, ‘इकोनोमा प्याक भयो भने पनि त्यही पैसामा विजनेस क्लासमा हालेर लैजान्छु सर तपाईंका भाइहरुलाई, किन चिन्ता गर्नुहुन्छ’ भन्थे उनी । ७ जनामध्ये ४ जनाले त टिकटको अग्रिम भुक्तानी गरेछन् । मैले पनि अन्तिम स्वीकृति पाएपछि मात्रै भुक्तानी दिदाँ हुने सुविधा पाएको थिएँ । यो बेलासम्म ट्राभलको मान्छे र गृहमन्त्रालयका ती उपसचिवले म पत्रकार हो भन्ने जानकारी पाएकै थिएनन् । म दिनै जस्तो फोन गरेर के भयो भनेर सोधिरहन्थे । उनी स्वीकृतिको प्रक्रियामा नै रहेको बताउँदै गर्थे । घरबाट भाइले मलाई फोन गरेर के भयो दाइ भनिरहेको हुन्थ्यो । पछि थाहा भयो, जवाफ कोहीसँग पनि रहेनछ । २६ मेमा बल्ल त्यो ट्राभल एजेन्सीले भन्यो कि मैले स्वीकृति नपाउने भए भनेर । अब पर्यो फसाद । भाइलाई टिकट मिल्ने पक्का जस्तै भएको जानकारी गराएको थिएँ । टिकट मिलेन । उसलाई दिने जवाफ पनि भएन । त्यसैले २ पटक त उसको फोन पनि उठाइनँ । तर, भाइ फोन गरेको गर्यै गर्न थाल्यो । एकाएक पहुँवाला बनेको म, फेरि सुरुकै अवस्थाको भएँ । सामाजिक संजालमा फेरि अर्काे जानकारी भेटियो, ४ जुनमा सेरेना ट्राभलले नारिता उडान गर्दैछ भन्ने । गृहका तिनै उपसचिव मार्फत त्यो ट्राभलका मुख्य व्यक्ति विष्णु बस्नेतको फोन नम्बर पाइयो । सुरुदेखि नै सम्पर्कमा रहेका कारण ती उपसचिव पनि मप्रति अलि सकारात्मक भइसकेका थिए । उनी मलाई सहजीकरण गर्न चाहन्थे । त्यसैले होला, उनी सेरेना ट्राभल्सका बस्नेतसँग ‘तपाईं आफै पनि कुरा गर्नुस्, मिल्यो भने म पनि आग्रह गर्छु, तर उनीहरुको व्यवसाय भएकोले मैले धेरै जोड गर्न मिल्दैन’ भन्थे । सेरेना ट्राभल्सका बस्नेतले टिकट छैन भने । उनको कार्यालयमा सम्पर्क गर्दा केशव थापा भन्ने व्यक्ति सम्पर्कमा आए । उनले जापान जाने सबै व्यक्तिको पासपोर्ट, दाइरो कार्ड (जापान बस्ने अस्थायी अनुमतिपत्र) भाइबरमा पठाउनु भने । पठाएँ । उनीहरुले ४ जुन र ७ जुनको लागि अनुमति लिएका रहेछन् । दुबै फ्लाइटको लागि टिकट सकिएको बताए । आफूहरुले १४ र १९ तारिकको लागि पनि अनुमति लिन खोजेकोले त्यसमा पठाउन सकिने संकेत गरे । जुन ४ र ७ तारिकको लागि भाडा १ हजार अमेरिकी डलर तय भएको रहेछ । भाइको शैक्षिक संस्थाले ४ जुनमा मिलाएर आऊ भनेर म्यासेज पठाइरहदो रहेछ । भाइ ४ जुनको फ्लाइटमा जसरी भएपनि मिलाउनु न दाइ भनेर भनिरहन्थ्यो । तर, मिलाउने कसरी ? देखापढी डटकममा कार्यरत पत्रकार साथीले पर्यटन क्षेत्रमा पनि रिपोर्टिङ गरेका थिए । त्यसैले उनीबाट पनि केही पहल हुन सक्छ भनेर सोधेँ । ती साथीले मन्त्रालयमा भनेर काम हुन नसक्ने भएकोले पर्यटन बोर्डमा कुरा गर्नु भने । बोर्डका यी मान्छेले सहयोग गर्न सक्छन्, तपाईंले भन्दा भएन भने म पनि उपाय लगाउँला भन्ने उनको कुरा आयो । उनकै सल्लाह अनुसार बोर्डका ती अधिकारीसँग कुरा भयो । बोर्डका ती अधिकारीलाई परिचय खुलाएर कुरा गरेँ । उनले सहयोग गर्ने बचन दिदैं अर्काे एक जनाको नाम र फोन नम्बर दिए । ‘मेरो नाम लिएर उहाँलाई भन्नुस्, सहयोग गर्नुहुन्छ, उहाँले के भन्नुहुन्छ मलाई खबर गर्नुस्’ भने । फ्लाइटमा सरकारी कोटा पनि हुने भएकोले सातै जनालाई एकैपटक नसकिए पनि मिलाएर पठाउन सकिने अवस्था हुन सक्ने बताए । बोर्डका ती अधिकारीले भनेको व्यक्तिलाई फोन गरेँ । उनले ‘सर (बोर्डका ती अधिकारी) सँग म पनि कुरा गरौंला, चार्टर फ्लाइटमा सरकारी कोटा भन्ने नै हुँदैन, सबै सरकारी निकायबाट नामसहितको स्वीकृति लिइसकेकोले पछि व्यक्ति थपघट गर्न नमिल्ने’ आशय व्यक्त गरे । मैले भने साथीको सालो अन्तिम समयमा अमेरिका उडेको सम्झेँ । जे सम्झे पनि काम भएन । बढो बेचैनीमा थिएँ । यत्तिकैमा न्यूज २४ टेलिभिजनमा कार्यक्रम संचालन गर्ने डेभलपमेन्ट फोरमका अध्यक्ष शिव अधिकारीलाई सम्झेँ । किनकि उहाँको ट्राभल एजेन्सीहरुको संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) सँग राम्रो सम्बन्ध र सम्पर्क रहेको जस्तो मलाई लागेको थियो । अधिकारीलाई फोन गरेँ । उहाँले टानका एक पदाधिकारीसँग त्यही बेला फोन गर्नुभयो र मेरो समस्या जस्तोको तस्तै राखिदिनुभयो । ती पदाधिकारीले हुन्छ भने । पासपोर्ट र दाइरो कार्ड मागे । मैले भाइबरमा पठाइदिएँ । पछि थाहा भयो ती पदाधिकारीले सुमेघ ट्राभल्सका मेघ केसीलाई नै भनेका रहेछन् । अब भाइको जापानयात्रा छिटोमा ११ जुनमा हुनेभयो । तर, ११ जुनको फ्लाइटका लागि समेघले स्वीकृति लिइसकेको थिएन । यस्तैमा १ जुनमा विहानै भाइले फोन गर्यो । र, एउटा अर्काे ट्राभलको नाम लिँदै त्यसमा गएर १ लाख ४३ हजार रुपैयाँ बुझाइदिनु टिकट छ रे भन्यो । भाइले भनेको व्यक्तिसँग सम्पर्क गरेँ । उनले आजै पैसा बुझाउनु, ४ तारिकको टिकट पाइन्छ भन्यो । उसले आफ्नो कम्पनीको बैंक खातामा पैसा जम्मा गरिदिए हुन्छ भन्यो । मैले उनलाई भेटेर चेक दिने बताएँ । उनले आफ्नो नक्साल अफिसमा आउन भने । नक्साल पुगेर फोन गरेँ । आफू दरबारमार्ग भएकोले त्यही आउँन भने । दरबारमार्ग गएँ । सडकमै बसेर चेक काट्न लागेँ । उनले एक व्यक्तिको नाम दिदै उसको नाममा चेक काट्न भने । मैले व्यक्तिको नाममा चेक काट्न नसक्ने बताएँ । उनले त्यसो भए ‘अफिस जानुस्’ भने । हुन्छ भनेर म उनको अफिस गएँ । भाइ र उसको एक साथीको १ लाख रुपैयाँसहितको चेक काटिदिएँ । रिसिप्ट दिए । बोकेर फर्के । बेलुका नै टिकट पठाइदिए । सेरेना ट्राभल्सले टिकट मूल्य १ हजार डलर तोकेको थियो । अर्काे ट्राभल्स मार्फत प्रतिव्यक्ति १ लाख ४३ हजार रुपैयाँ तिरेँ । त्यो दिनको अमेरिकी डलरको विक्रीदर प्रतिडलर १२१ रुपैयाँ २९ पैसा तोकेको थियो नेपाल राष्ट्र बैंकले । मैले कति डलर तिरेँ भन्ने हिसाव अझै गरेको छैन । र, गर्दिन पनि । टिकट पाएपछि पास कसरी बनाउने भन्ने अर्काे समस्या आइलाग्यो । यस्तैमा ओखलढुंगाका सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईलाई डराइ डराइ फोन गरेँ । मलाई सिडिओ अफिसका मान्छेसँग असाध्यै डर लाग्छ । त्यसमा पनि ओखलढुंगाको सिडिओ अफिसमा सम्पर्क गर्न झन् धेरै । किनकि २०५६ सालमा नागरिकता बनाउन जाँदा चस्माको दुबै खुट्टामा कालो डोरी बाधेर गर्दनसम्म पुर्याएका एक मोटे र अग्ला कर्मचारीले चस्मालाई नाकको डाडीमा झार्दै मलाई झपारेको अझै विर्सेको छैन । ओखलढुंगाको सिडिओ कार्यालय भन्ने वित्तिकै तिनै कर्मचारी सम्झन्छु । तर, तुलसी भट्टराई त्यस्ता रहेनछन् । मैले आफ्नो समस्या राख्ने वित्तिकै टिकटको कपि इमेल वा भाइबर गरिदिए त्यही माध्यमबाट पास उपलब्ध गराइदिने बताए । मैले त्यसै गरेँ । उनले पास पठाइदिए । सिडिओ कार्यालय त्यस्तो तर्सिनु पर्ने स्थान होइन रहेछ भन्ने आभास मलाई तुलसी भट्टराईले गराए । जे होस्, भाइ ४ जुनमा जापान उड्यो । र, ५ जुन साँझ ५ बजेतिर फोन गर्दै भन्यो ‘दाइ म कोठामा आइपुगेको २ घण्टा भयो, जापान एनआरएनले प्रतिव्यक्ति १५ हजारका दरले नारितादेखि नागोयामा हामी बस्ने घरसम्म ल्याइदियो, आरएको जहाजमा लास्टै हल्लाउँदो रहेछ नि दाइ ।’ मेरामा बत्ती नभएकोले सम्पर्क गर्न अलि ढिला भएको रहेछ । म ‘पहुँचवाला’को भाइ राम्रोसँग जापान पुग्यो । जापानमा सुरक्षित रहनु है भाइ ।
क्वारेन्टाइन सङ्क्रमण फैलाउने थलो नबनोस्
काठमाडौं । मुलुकभर कोभिड १९ सङ्क्रमणको जोखिम बढ्दै जाँदा तीनै तहका सरकारहरुले क्वारेन्टाइन सञ्चालन गर्न थालेका छन् । कोरोना विषाणुको फैलावट रोक्ने अचूक उपायका रुपमा यसलाई लिइएको छ । हजारौंको सङ्ख्यामा मानिसहरुलाई राख्न सकिने क्षमताका भन्दै सञ्चारमाध्यमबाट क्वारेन्टाइनबारे विवरण प्रस्तुत भइआएकै पनि छन् । कोरोनाको सङ्क्रमण एक पछि अर्को ठाउँमा फैलिएसँगै यसको सङ्क्रमणबाट जोगिन सङ्घीय सरकारले देशैभर लकडाउन र सबै तहका सरकारहरुलाई क्वारेन्टाइन निर्माण गर्न र सङ्क्रमणसँगको एक्सपोजरबाट आएकाहरुलाई निश्चित समय क्वारेन्टाइनमा बसाल्न आदेश जारी गरेको छ । चीनको वुहानबाट ल्याइएका विद्यार्थीहरुलाई क्वारेन्टाइनमा राखेयता कोरोना फैलिएको देशबाट आएका मानिसहरुलाई क्वारेन्टाइनमा राख्न थालिएको हो । अन्तर्राष्ट्रिय उडानहरु बन्द भैसकेपछि भारत बाहेक अन्य देशहरुबाट मानिसहरु नेपालमा आउन सक्ने अवस्था रहेन । भारतमा कोरोना फैलिने क्रम तीव्र भएसँगै त्यहाँ रहेका नेपालीहरु ठूलो सङ्ख्यामा पैदलै आफ्नो देश नेपाल फर्किने क्रम चलिरहेको छ । ती फर्कंदै गरेका नेपालीहरुलाई प्रदेश तथा स्थानीय तहहरुले सञ्चालन गरेका क्वारेन्टाइनहरुमा राखिँदै आइएको छ । तर, अहिले सञ्चालन वा गणनामा रहेका अधिकाँश क्वारेन्टाइनहरु डब्लूएचओको न्यूनतम मापदण्ड पनि पूरा गर्ने खालका छैनन् । नेपाललाई आउँदा दिन ठूलो सङ्ख्यामा ठूलै क्षमताका क्वारेन्टाइनहरुको आवश्यकता छ । अहिले गणनामा रहेका न्यूनतम मापदण्ड पुगेका सीमित क्वारेन्टाइनमा केही हजार मानिसलाई मात्र राख्न सकिन्छ । १० हजार मानिसलाई क्वारेन्टाइनमा राख्नुपर्यो भने अहिले मापदण्ड पूरा भएका भनिएका ती क्वारेन्टाइनहरुले धान्न सक्दैनन् । सङ्क्रमण लम्बिदै जाँदा भारतमा रहेका मात्र हैन खाडी र विकसित मुलुकहरुमा रहेका नेपालीहरुलाई नेपाल ल्याउनै पर्ने हुन्छ र नेपाल सरकारले ल्याउँछ नै । त्यसकारण सरकारले हाल सञ्चालनमा रहेका वा गणना गरिएका क्वारेन्टाइन स्थलहरुको शूक्ष्म समिक्षा गरी क्वारेन्टाइन व्यवस्थापन, त्यसका भौतिक पूर्वाधार, सञ्चालन प्रकृया, क्वारेन्टाइनमा सङक्रमण स्क्रीनिङका लागि अपनाउनुपर्ने परीक्षण विधि, जटिलता व्यवस्थापन, आर्थिक स्रोेत, फिर्ती प्रवन्ध, सुरक्षा लगायतका विषयहरु समेटिएको क्वारेन्टाइन निर्देशिका वा क्वारेन्टाइन नीति नै बनाउन आवश्यक छ । क्वारेन्टाइन व्यवस्थापन र परीक्षण कार्यमा केन्द्रले बनाएको निर्देशिका अनुसार अपरेशनल र मोबिलाइजेशनको कार्य बाहेक अन्य कार्य गर्न सक्ने क्षमता स्थानीय र प्रदेश सरकारहरुमा विकास भैसकेको छैन । क्वारेन्टाइन व्यवस्थापनका लागि आवश्यक स्रोत सङ्घीय सरकारले उपलब्ध गराउनुपर्ने हुन्छ । सङ्क्रमितको उपचार गर्ने क्षमता देशभित्र कुन कुन स्वास्थ्य संस्था वा विज्ञसँग कस्तो खालको छ भन्ने विवरणका आधारमा सङ्घीय सरकारले विज्ञहरुको समन्वय र औषधि, उपकरण तथा अन्य सामग्रीको जोहो सङ्घीय सरकारले गरिदिनुपर्छ । अहिले कोरोना सङ्क्रमण नियन्त्रणका लागि आधार लिइएको “सङ्क्रामक ऐन २०२०” हो जुन ऐनले सङ्घीय सरकार बाहेक अरु सरकारलाई चिन्दैन । यो महाब्याधि नियन्त्रण/व्यवस्थापन गर्ने कार्य प्रदेश वा स्थानीय सरकारहरुको थाप्लोमा लगाई घिच्याउन खोज्नु अन्यायपूर्ण हुन्छ र यसले समस्या समाधान हुँदैन । क्वारेन्टाइन विश्वमै निकै पुरानो शब्द र व्यवहार हो क्वारेन्टाइन । नेपालको कृषि तथा भेटनरी क्षेत्रमा यो बढी प्रयोगमा रहेको छ । खास गरेर भूगोलको एक क्षेत्रबाट अर्को क्षेत्रमा प्राणि जातिको आवतजावत तथा ओसारपसार गर्दा सीमा क्षेत्र वा तोकिएको स्थानमा अपनाइने यो एउटा प्रकृया हो जसबाट प्राणिको स्वस्थता मापन गरिन्छ । यसअन्तर्गत कुनै सङ्क्रामक रोगसँग एक्सपोजर भएको प्राणिले नयाँ समुदायमा अरु स्वस्थ प्राणीमा सार्न वा आघात पु¥याउन नपाओस् भन्ने मनसायले आगन्तुकको स्वस्थता सुनिश्चित गरिन्छ र त्यसपछि मात्र गन्तब्य लैजान स्वीकृति दिइन्छ । भिन्न भिन्न रोगमा भिन्न भिन्न मापदण्ड अपनाइन्छ । यहाँ चर्चा गर्न लागिएको क्वारेन्टाइन सङ्क्रामक रोग कोभिड १९ बारेको हो र यसमा मानिसको मात्र क्वारेन्टाइन गरिन्छ । कोभिड १९ को क्वारेन्टाइन हुन आधारभूत मापदण्ड पुगेको हुनुपर्दछ जसको चर्चा यहाँ गरिएको छ । क) खान, बस्न, शौच गर्न, नुहाउन राम्रो प्रबन्ध भएको स्थान : कोरोना सङ्क्रमण प्रभावित मूलुक÷प्रदेश÷स्थानीय तहबाट आएका मानिसहरुलाई उनीहरु भित्रन चाहेको देश÷प्रदेश÷स्थानीय तहले आफ्नो ठाउँमा कोरोना सङ्क्रमण नफैलियोस् भनी आगमनकर्तालाई गन्तब्यमा पुग्नु अगावै स्क्रीनिङका लागि रोकेर राख्ने प्रयोजनका लागि बनाइएको ठाउँ क्वारेन्टाइन हो । सङ्क्रमण छैन भन्ने पुष्टि भैसकेपछि मात्र सो स्थानबाट उनीहरुलाई गन्तब्य स्थल जान दिइन्छ । यहाँ आगमनकर्ताको रोगसँग सम्बन्धित आवश्यक स्क्रीनिङ हुन्छ, नमूना सङ्कलन हुन्छ, परीक्षण हुन्छ, रोगको सङ्क्रमण हुने समयसम्म पर्खेर फलो अप गरिन्छ र अन्त्यमा सङ्क्रमण नभएको पुष्टि पछि मात्र आगमनकर्ता लाई बाहिरिन दिइन्छ । यो प्रकृया पूरा गर्न केही दिनदेखि केही हप्तासम्म लाग्न सक्छ । त्यसकारण क्वारेन्टाइनमा बसालिने मानिसलाई खाने, बस्ने, शौच गर्ने, स्नान गर्ने जस्ता आधारभूत आवश्यकताको सहज पूर्ति हुने व्यवस्था मिलाइएको हुनुपर्दछ । मानिसलाई लामखुट्टे, किरा, फट्याङग्रा, सर्प, बिच्छी जस्ता जस्ता विषालु किटजन्य लगायत जङ्गली जनावरहरुबाट बच्न सकिने सुरक्षित वातावरण पनि यहाँ हुनुपर्दछ । यो ठाउँमा स्वास्थ्यलाई हानि नपु¥याउने सुरक्षित पिउने पानी उपलब्ध हुनुपर्दछ । क्वारेन्टाइनमा सफा, सुग्घर, ताजा, सन्तुलित खानाको व्यवस्थाका साथसाथै दिसापिसाब गर्ने, नुहाइधुवाइ गर्ने, व्यक्तिगत सरसफाइ गर्ने उपयुक्त व्यवस्था हुनुपर्दछ । त्यसकारण अहिले प्रदेश, स्थानीय तह वा विभिन्न निकायले तय गरेका विद्यालयहरु, पार्टी प्यालेसहरु, सभा सम्मेलन गर्ने हल÷स्थानहरुको आवश्यक पुनःसंरचना नगर्दासम्म क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने खालका हुँदैनन् । त्यसैले त्यस्ता स्थानहरुलाई क्वारेन्टाइन भनी गणना गर्न थालियो वा क्वारेन्टाइनको रुपमा प्रयोग गर्न थालियो भने ठूलो दुर्घटना हुनसक्छ । महामारी रोक्न गरिएको प्रयास महामारी बढाउन सहायक भइदिन सक्छ । ख) स्वास्थ्य परीक्षण, आइसोलेशन र सुरक्षा : क्वारेन्टाइनमा रहेका मानिसहरुलाई निर्वाध रुपमा हिँड्डुल गर्न बन्देज गरिने भएकाले स्वास्थ्यमा आइपर्न सक्ने अन्य समस्याको निराकरण तथा कोरोना सङ्क्रमणकै स्क्रीनिङका लागि पनि २४ सै घण्टा खबर गर्नासाथ उपलब्ध हुन सक्ने वा सोही स्थानमै रहने गरी दक्ष स्वास्थ्यकर्मीको व्यवस्था मिलाइएको हुनुपर्दछ । यसैगरी, क्वारेन्टाइन मिनि–आइसोलेसन पनि हो, क्वारेन्टाइन स्थलबाटै पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण सर्न सक्ने भएकाले तोकिएको सामाजिक÷भौतिक दूरी कायम गर्न लगाइनुपर्दछ । क्वारेन्टाइनमा राख्दा एउटै कम्पनी वा कार्यालयबाट काम गरी आएका, एउटै किचन मेस प्रयोग गरिराखेका वा एउटै समुदायको उस्तै एक्सपोजरबाट आएका बाहेक अन्य व्यक्तिहरुलाइ एउटै कोठामा बस्ने सुत्ने व्यवस्था मिलाउनु हुँदैन । त्यसो गरिए सङ्क्रमित व्यक्तिबाट स्वस्थ व्यक्तिमा रोग सर्न सक्छ । व्यक्तिको स्वस्थ भै बाँच्न पाउने अधिकारको हनन हुन जान्छ । व्यक्तिको स्वस्थ भै बाँच्न पाउने अधिकारको हनन कसैले ९सरकार, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज आदि० पनि गर्न पाउँदैन । क्वारेन्टाइनमा आउने÷ल्याइने सबै मानिसहरु सङ्क्रमित हुन् भनी सोच्नु गलत हो भने सबै स्वस्थ हुन् भनी सोच्नु पनि गलत हो । त्यहीे छुट्ट्याउने ठाउँ क्वारेन्टाइन हो । सङ्क्रमण पुष्टि भैसकेकाहरुलाई क्वारेन्टाइनले अस्पताल पठाउँछ भने सङ्क्रमण नभएको पुष्टि भएमा सम्बन्धित व्यक्तिको गन्तव्य स्थलमा । क्वारेन्टाइनमा आउनेहरुको सङ्क्रमण भए÷नभएको पुष्टि नभइसकेको हुनाले स्वास्थ्यकर्मीको प्रारम्भिक स्क्रीनिङ अनुसार वर्गीकरण गरी सोही अनुसारको आवश्यक व्यवस्थापन गरिनु पर्दछ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७७ जेठ ७ गते जारी गरेको “क्वारेन्टाइनमा गर्नुपर्ने स्वास्थ्यसम्बन्धी व्यवस्था” लाई अनुसरण गर्नुपर्दछ । यसैगरी क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुबाटै रोगसँग सम्बन्धित असावधानीहरुका साथै हिंसात्मक, गैरकानूनी, उट्पट्याङ÷उच्छङ्खृल गतिविधि हुनसक्छन् । क्वारेन्टाइन बाहिरबाट पनि क्वारेन्टाइनलाई प्रभावित पार्ने त्यस्ता गतिविधि हुनसक्छन् । त्यस्ता गतिविधि नियन्त्रण गरी सुरक्षा प्रदान गर्न सरकारी सुरक्षा निकाय खटाइनुपर्दछ । ग) एम्बुलेन्स र यातायातको व्यवस्था : क्वारेन्टाइन व्यवस्थापनले क्वारेन्टाइनमा बसेका मानिसहरु बिरामी पर्दा अस्पताल लान ल्याउन तथा कोरोना सङ्क्रमण पुष्टि भए अस्पताल पु¥याउन एम्बुलेन्स र अस्पतालसँग राम्रो समन्वय गरेको हुनुपर्दछ । कोरोना नभएको पुष्टि भएपश्चात् बाहिरिन दिने मानिसहरुका लागि यातायातको ९लकडाउनका कारण० सहजीकरण गरिदिनु पर्दछ । क्वारेन्टाइन के हो भन्ने प्रष्ट भैसके पछि त्यसका आधारभूत कुराहरु उपलब्ध हुनसक्ने स्थानको छनोट सहज हुन्छ । नेपालको सन्दर्भमा कम समय र कम खर्चमा आधारभूत मापदण्डसहितको क्वारेन्टाइनका लागि कुन कुन स्थान उपयुक्त हुनसक्छ भन्नेबारे छोटो छलफल गरौं । १. विद्यालय, पार्टी प्यालेस, सभा सम्मेलन गर्ने घरहरु : अहिले कतिपय स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारले गणनामा राखेका विद्यालय, पार्टी प्यालेस, सभा सम्मेलन वा बैठक गर्ने घरहरुलाई अलिकति मात्रै पुनःसंरचना गर्ने हो भने क्वारेन्टाइन स्थल बनाउन सकिन्छ । विद्यालयमा कोठा पर्याप्त रहेकै हुन्छन् । ठूला कोठा छन् भने खण्डीकरण गरी दुई वा तीनमा विभाजन गर्न पनि सकिन्छ । पिउने पानीको राम्रो स्रोत छ भने किचन क्यान्टिन हुन पनि सक्छ । नभएमा कुनै कोठालाई भान्छाकोठा बनाउन सकिन्छ । शयन कक्ष बनाउने कक्षा कोठामा खाट, लत्ताकपडा, जाली÷झुल लगायत राखी पुनःसंरचना गर्न सकिन्छ । यसैगरी पार्टी प्यालेस वा सभा सम्मेलन र बैठक गर्ने घरहरुको प्रकृति उस्तै खालको हुन्छ । भान्छाकोठा, खानेपानी, शौचालयको राम्रो प्रबन्ध यी ठाउँहरुमा गरिएकै हुन्छ । यस्ता ठाउँहरुमा ठूला हलहरु हुने भएकाले साना उपयुक्त हुने खालका कोठाहरु खण्डीकरण गरी बनाउनु पर्ने हुन्छ । सामान्य सुधार पनि नगरी चलिहाल्छ नि भन्ने ढङ्गले यसअघि सञ्चालनमा ल्याइएका केही क्वारेन्टाइनले भयावह रुप लिन थालिसकेका छन् । क्वारेन्टाइनमा आएका मानिसहरुको राम्रो स्क्रीनिङ र वर्गीकरण नै नगरी मानिसहरुलाई भद्रगोल तालले एकै ठाउँमा राख्दा सङ्क्रमण नभएकाहरु सङ्क्रमण हुनसक्ने जोखिम रहन्छ । स्वास्थ्यकर्मीले स्क्रीनिङ पछि वर्गीकरण गर्दा पनि छुट्टाछुट्टै बस्ने कोठाहरु नहुँदा, आवश्यक दूरी कायम गर्न÷गराउन नसकिँदा समस्या देखापरेका छन् । खानपानको राम्रो प्रबन्ध नहुँदा, लामखुट्टे, भुसुना, सर्प, बिच्छी जस्ता किरा फट्याङ्ग्राको टोकाइबाट बच्ने प्रबन्ध नमिलाइँदा र अन्य सुरक्षा व्यवस्था पनि नगरिँदा कोरोना रोकथामका लागि बनाइएका क्वारेन्टाइनहरु उल्टै रोग सार्ने केन्द्र बन्न सक्छन् । अनाहकमा मानिसहरुको ज्यान जान सक्छ । स्वास्थ्यकर्मी, अस्पताल, एम्बुलेन्स जस्ता आधारभूत कुराहरुको समन्वय बिना नै सञ्चालन गर्दा सामान्य उपचार पनि नपाई क्वारेन्टाइनमै मानिसले मृत्युवरण गर्न परेका घटनाहरु बाहिर आइसकेका छन् । क्वारेन्टाइनलाई न्यूनतम मापदण्डभित्र सञ्चालन गर्न नसक्ने हो भने बरु सम्बन्धित मानिसलाई रोगसम्बन्धी आवश्यक सल्लाह तथा उसले अपनाउनु पर्ने व्यवहारका बारेमा बताई घरैमा पठाउनु उपयुक्त हुनसक्छ । यो उपायले अव्यवस्थित क्वारेन्टाइनबाट हुनसक्ने भयावह क्षति भन्दा कमै मात्र क्षति हुन्छ । २. होटल र लजहरु : हाल नेपालमा क्वारेन्टाइन बनाउनका लागि सबभन्दा उपयुक्त स्थान भनेका होटलहरु नै हुन् जसको भौतिक पूर्वाधारमा तत्काल कति पनि खर्च गर्नु पर्दैन । यहाँ पूर्वाधारमा व्यवसायीहरुले खर्च गरिसकेका छन् । लकडाउनका कारण साना ठूला सबै होटलहरु बन्द नै छन् । अझ नेपालका ठूला होटलहरु विश्वव्यापी यात्रा बन्देज, आर्थिक सङ्कुचन लगायतका कारण करीव ६ महिना व्यावसायिक रुपमा सञ्चालनमा आउन सक्ने स्थितिमा छैन । यस्तो अवस्थामा क्वारेन्टाइन सञ्चालनका लागि सबभन्दा उपयुक्त स्थान होटलहरु नै हुन सक्छन् । यहाँ मानिसको पहिलो आवश्यक्ता खाने, बस्ने, सुत्ने र नुवाइधुवाइ गर्ने राम्रो प्रबन्ध गरिएको हुन्छ । त्यसमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी समूह जोड्ने हो भने मापदण्ड अनुसारका क्वारेन्टाइनहरु सञ्चालन गर्न कुनै गाह्राे छैन । सरकारले दश भन्दा बढी शय्या भएका होटलहरुको पहिचान गर्ने र होटल व्यवसायीहरुसँग छलफल÷सहमति गरी होटलको वर्गीकरण अनुसार सञ्चालन लागतका आधारमा न्यूनतम मूल्य भुक्तान गर्ने गरी आवश्यक्ता अनुसार क्वारेन्टाइन बनाउन सक्दछ । दश शय्याभन्दा कम भएमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तैनाथीका कारण लागत बढ्ने हुन्छ । नेपाल सरकारका लागि क्वारेन्टाइन स्थलहरुकोे विकल्पमा सबभन्दा राम्रो विकल्प यही हुनसक्ला । यो विकल्प अपनाउँदा तत्काल भौतिक पूर्वाधारमा लगाउनुपर्ने ठूलो धनराशि बचत हुने, आधारभूत जनशक्ति त्यहीँ उपलब्ध हुने र सहमतिका आधारमा सञ्चालन गर्न सकिने फाइदाहरु छन् । ३. नयाँ क्वारेन्टाइन निर्माण : नेपाल सरकारको मापदण्डअनुसार आवश्यक र उपयुक्त स्थलमा नयाँ क्वारेन्टाइन निर्माण गर्न सकिन्छ तर यस्तो नयाँ क्वारेन्टाइन बनाउन दक्ष निर्माण जनशक्ति, उपयुक्त ठाउँ र भौतिक संरचना आवश्यक हुने भएकाले ठूलो लगानी आवश्यक हुन्छ । निर्माणमा लाग्ने समय र दीर्घकालीन प्रयोगको लक्ष्यबारे पनि यो विकल्प अनाउँदा सोच्नुपर्ने हुन्छ । अरु विकल्पहरु नमिल्ने केही स्थानमा बाहेक नेपालको सन्दर्भमा यो विकल्प अव्यावहारिक छ । क्वारेन्टाइन सञ्चालनका लागि आवश्यक स्रोत के हो रु कुन शीर्षकबाट कसरी खर्च गर्ने भन्ने कुरा सङ्घीय सरकारले प्रष्ट पार्नु पर्छ । क्वारेन्टाइनका लागि सञ्चालन व्यवस्थापन निर्देशिका, क्वारेन्टाइनको न्यूनतम मापदण्ड र स्रोतको पहिचान सङ्घीय सरकारले गरिसकेपछि यसको व्यवस्थापन/परिचालन प्रदेश र स्थानीय तहहरुले गर्नु नै व्यावहारिक हुन्छ । नियमन/अनुगमनको कार्य भने प्रदेश वा स्थानीय तहहरुले नियमित रुपमा र सङ्घीय सरकारले आवश्यकता अनुसार गर्नु प्रभावकारी हुन्छ । हरेक तहका सरकारले क्वारेन्टाइनका प्राविधिक, आर्थिक, प्रशासनिक लगायतका सबै गतिविधि हेर्न सक्ने गरी अनुगमन टोलीको संयोजन गर्नु उपयुक्त हुन्छ । (लेखक पूर्व जनस्वास्थ्य अधिकृत ।)
फौजी किराले मकैबालीलाई क्षति पुर्यायो
काठमाडाैं । दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–१ घुसेलमा फौजी किराले मकैबालीमा क्षति पुर्याएको छ । सो किरा यस अगाडि यहाँको वडा नं २ माल्टा, ४ प्युटार र ६ आश्राङमा पनि देखापरेको थियो । किराले पहिलोपटक प्युटारका मकैबालीमा क्षति पुर्याएको थियो । यसपछि माल्टा र आश्राङ हुँदै घुसेल पुगको गाउँपालिका कृषि विकास शाखा प्रमुख सुवास खनालले बताए । उनले भने, “प्युटारको लगभग ९ सय रोपनी तथा माल्टा र आश्राङका ५/५ सय रोपनी जमिनका मकैबालीमा किराले क्षति पुर्याएको पाएपछि हामीले हरेक वडामा अनुगमन गर्दा यहाँ पनि पायौं । गाउँपालिकाको बजेटमार्फत लगभग २ लाखको विषादी र स्प्रे खरिद गरी किसानलाई निःशुल्क वितरण गरिसकेका छौं ।” अब थप अन्य किसानलाई आवश्यक पर्ने विषादी गाउँपालिकाले निःशुल्क वितरण गर्न नसक्ने हुँदा इमोमेक्टिन बेन्जोएट नामक विषादी मागाइदिएर सहयोग गरिरहेको उनले जानकारी दिए । विषादी किरा नियन्त्रण गर्न निकै प्रभावकारी मानिन्छ । यसले मकैको गुभो भिज्ने गरी स्प्रे गरेपछि किरा मर्छ । वाग्मतीको मकैबालीमा अमेरिकन फल वार्म नामक फौजी किरा देखिएको हो । किराले माल्टा, प्युटार र आश्राङका हरेक किसानको मकैबारीमा १० देखि १५ प्रतिशत क्षति पुर्याएको छ । गत जेठ १३ गते वाग्मतीको वडा नं ७ गिम्दीमा आएको ठूलो हावाहुरीले यहाँको ७० देखि ८० प्रतिशत मकैबाली नष्ट गरेको थियो । कूल सात वडामध्ये घुसेल, माल्टा, प्युटार र आश्राङमा व्यापक फौजी किरा लाग्नु र गिम्दीको मकैबाली हावाहुरीले सखाप पार्नाले यो वर्ष वडा नं ३ भट्टेडाँडा र वडा नं ५ इकुडोलको मकैबाली मात्र आजसम्म राम्ररी उत्पादन भइरहेको छ । सो किराले मकैको गुभो, धानचमरा खाइदिने र एकपल्टमा १ सयदेखि २ सय अण्डा पार्ने हुँदा मकैबालीको समय सकिएपछि अन्य अन्न बालीमा समेत यसले असर गर्न छाड्दैन । “यो किराको टाउकोमा वाइ आकारको सेतो धर्सा र जिउँको पछाडि भागमा खैरो रङको छ धब्बा देखिने गर्छ”, उनले भने, “विगतमा खोटाङ, उदयपुर हुँदै फैलिएको यो किरा हाल मुलुकका धेरै जिल्लामा देखिएको छ ।” ललितपुरमा रहेका छ पालिका ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकामध्ये कोञ्ज्योसोम महाँकाल र वाग्मती गाउँपालिका भौगोलिक दृष्टिकोणले निकै टाढा रहेका स्थान हुन् । सो तीन गाउँपालिकाको औषत पारिवारिक आम्दानी कृृषि र पशुपालन व्यवसायले सबैभन्दा ठूलो हिस्सा ओगट्ने छ । रासस