कोरोनासँग जुध्न नेपाललाई बेलायतले दियाे थप एक करोड पाउण्ड
लण्डन । बेलायत सरकारले नेपालमा बढ्दै गइरहेको कोरोना सङ्क्रमणसँग जुध्न थप एक करोड पाउण्ड सहयोग गर्ने घोषणा गरेको छ । बेलायती सरकारले डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिफिड) मार्फत उक्त सहयोग गरेको हो । डिफिडले कोरोना सङ्क्रमणको न्यूनीकरण र उपचारका लागि यसअघि ८२ लाख पाउण्ड दिइसकेकामा यसलाई बढाएर अहिले एक करोड पाउण्ड पुर्याएको छ । हरेक वर्ष नियमित सहयोग गर्ने डिफिडले भूकम्पका बेला जस्तै यसपटक पनि अलि बढी सहयोग गरेको लण्डनस्थित नेपाली राजदूतावासको भनाइ छ । नेपाल र बेलायतको कूटनीतिक सम्बन्ध भएको २ सय ५ वर्ष पुगेको छ । कोरोना महामारीका लागि थप सहयोगको अपेक्षा दूतावासले गरेको थियो । अहिले थप आर्थिक सहयोग प्राप्त भएको र गोरखा वेलफेयर ट्रष्टलगायत संस्थाले यहाँ रहेका गोरखा सैनिकलाई आवश्यक सहयोग पनि गरिरहेको दूतावासका प्रवक्ता शरदराज आरण बताए । अहिले घोषणा गरेको थप आर्थिक सहयोगका लागि डिफिडले नेपाललगायत केही विकासोन्मुख राष्ट्रहरूलाई एकमुष्ट १० करोड पाउण्ड छुट्याएको छ । डिफिडले हालसम्म कोरोना रोकथामका लागि विश्वभर सहयोग गर्न अहिलेको सहयोगसहित ८४ करोड ४० लाख पाउण्ड निकासा गरिसकेको छ । रासस
आफूखशी चार्टर उडान नगर्न क्यानको निर्देशन
काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले आफूखुशी अन्तरराष्ट्रिय चार्टर उडान नगर्न वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ । बन्दाबन्दीका समयमा आफूखुशी चार्टर उडान गरी बढी भाडा लिने गरेको जनाउँदै उक्त निर्देशन दिइएको हो । शनिबार सूचना जारी गर्दै क्यानले राजदूतावास (कूटनीतिक) आग्रहबाहेकका सबै चार्टर उडानमा रोक लगाएको हो । क्यानका एयर ट्रान्सपोट्रेशन डिभिजन प्रमुख सचितभक्त पोखरेलको हस्ताक्षर रहेको उक्त सूचनानुसार शनिबारकै मितिदेखि ट्राभल्स एजेन्सी र एयरलाइन्स कम्पनीलाई चार्टर उडानमा रोक लगाइएको हो । बन्दाबन्दीका समयमा नेपालमा रोकिएका विभिन्न देशले आफ्ना नागरिक स्वदेश फर्काउन चार्टर उडान गर्दै आएका छन् । गत चैत ९ गतेयता हालसम्म १ सय १० अन्तरराष्ट्रिय चार्टर उडान भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । पछिल्लो समय एयरलाइन्स कम्पनी तथा ट्राभल्स एजेन्सीले नेपालबाट यात्रु चार्टर उडान गर्न धमाधम बुकिङ गरी बढी भाडा लिने गरेपछि क्यानले उक्त निर्दशन दिएको हो । कोभिड निर्देशिका क्यानले विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय उडानलाई लक्ष्य गर्दै कोभिड विशेष सुरक्षा निर्देशिका कार्यान्वयनमा ल्याएको छ । पहिलो चरणमा ल्याइएको सुरक्षा निर्देशिकालाई विकसित परिस्थितिअनुसार संशोधन गर्दै जाने प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार प्राधिकरणले हवाई यात्रामा जोडिने सबै सरोकार पक्षले पालना गर्नुपर्ने विषय समेटेर सुरक्षा निर्देशिका बनाएको हो । उक्त निर्देशिकानुसार यात्रुले टिकट र बोर्डिङ पाससँगै कोभिड १९ को स्वघोषणा पत्रसमेत भर्नुपर्नेछ । त्यसमा यात्रुले कोभिड जाँच गरे नगरेको तथा स्वास्थ्य समस्या भए नभएको जस्ता विवरण राखिएका छन् । यात्रुले जस्तै उडान कर्मचारीलाई समेत स्वघोषणाको आवश्यकता पर्नेछ । त्यस्तो घोषणापत्रमा झूटा विवरण राखेर हवाई यात्रा गरे कानूनी कारबाही भोग्नुपर्ने गरी सुरक्षा निर्देशिका बनाइएको छ । रुघाखोकी, १००.४ डिग्री फरेनहाइट ज्वरो, सास फेर्न कठिन हुनेलगायत समस्या भएमा यात्रुलाई जहाज चढ्ने अनुमति मिल्ने छैन । साथै ७० वर्षभन्दा माथि, गर्भवती र गम्भीर स्वास्थ्य समस्याबाट गुज्रिरहेका व्यक्तिलाई समेत सम्भव भएसम्म हवाई यात्रा नगर्न क्यानले सुझाव दिएको छ । रासस
लागु औषधसहित तीन पक्राउ
धनगढी । कैलालीमा सशस्त्र प्रहरीले शनिबार लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल अस्थायी जाँचचौकी जुगेडाबाट सशस्त्र प्रहरी नायब निरीक्षक अनिलकुमार ओलीको नेतृत्वमा खटिएको टोलीले धनगढी उपमहानगरपालिका–१० बाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–९ बस्ने २३ वर्षीय राजेन्द्र भाट, वडा नं १० बस्ने १८ वर्षीय बल राना र सोही वडा बस्ने २४ वर्षीय गौरव श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक हिक्मत थापाले बताए । सुपप्रप०१–००८प ५४८७ नंको मोटरसाइकलमा सवार उनीहरुलाई धनगढी उपमहानगरपालिका–१० स्थित जुगेडाबाट ११ दशमलव ७ सय ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको र तीनै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइएको प्रहरीले जनाएको छ । रासस
गाँउ पुगेकै दिन बेलुका क्वारेन्टाइनमा एक जनाको मृत्यु
काठमाडौं । बैतडीको क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका ६ सन्तोली भिमदत्त प्राविधिक शिक्षालय रहेको क्वारेन्टाइनमा ३१ वर्षीय युवकको मुत्यु भएको हो । रोजगारीको लागि भारत गएका उनी शनिबार बिहानमात्र गाँउ आइपुगेर सो क्वारेन्टाइनमा बसेका थिए । तर बेलुका एक्कासी उनको मृत्यु भएको र मृतकको स्वाब संकलनका गरी सेती प्रादेशिक अस्पतालमा कोरोना परीक्षणको लागि पठाएको पटन नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए । सो क्वारेन्टाइनमा रहेका सबैको कोरोना परीक्षणका लागि स्वाब संकलन गरी सेती अस्पताल पठाउने तयारी भइरहेको उनले बताए । यस अगाडी जेठ २० गते भारतबाट आएर क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको थियो । उनको पुर्चौंडी नगरपालिका–४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा मृत्यु भएको थियो । मृत्यु पछि स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।
वाग्मती प्रदेश विश्वविद्यालयमा आगामी आवदेखि शैक्षिक कार्यक्रम सञ्चालन हुने
हेटाैंडा । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा शिक्षालाई विशेष जोड दिने भएको छ । प्रदेश सरकारले प्रदेश विश्वविद्यालय सञ्चालनको कानूनी तथा संस्थागत संरचना व्यवस्था गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी तयारी थालेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । यसबाहेक प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत ‘वाग्मती प्रदेशको इच्छा, छोरीबुहारीलाई उच्च शिक्षा’ भन्ने नारालाई अघि सारेर उच्च शिक्षा हासिल गर्न चाहने प्रदेशका महिलालाई छात्रवृत्ति उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिने भएको छ । छोरीबुहारी उच्च शिक्षा छात्रवृत्ति कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा सामुदायिक क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई विभिन्न ५ विषयका लागि छात्रवृत्ति उपलब्ध गराएको प्रदेश शिक्षा निर्देशनालयले जनाएको छ । प्राविधिक तथा व्यावसायिकतर्फ स्नातकोत्तरका लागि ५ कोटामा १ लाख ७६ हजारका दरले छात्रवृत्ति उपलब्ध गराइएको थियो । यस्तै विज्ञानतर्फ स्नातकोत्तरका लागि १० कोटामा ५२ हजारका दरले र विज्ञानबाहेक अन्य विषयको स्नातकोत्तरको १ सय कोटाका लागि २५ हजारका दरले छात्रवृत्ति उपलब्ध गराइएको थियो । त्यस्तै विज्ञानको स्नातकका लागि २० कोटामा ४० हजारका दरले र विज्ञानबाहेकका स्नातकका लागि २ सय ६५ कोटामा २० हजार रूपैयाँका दरले छात्रवृत्ति रकम दिइएको जनाइएको छ । उक्त कार्यक्रमलाई आगामी वर्ष अझ परिष्कृत पारिने बताइएको छ । सरकारले नीति तथा कार्यक्रममार्फत ‘समृद्धिका लागि युवाको क्रियाशीलता, हातमा सीप र दिमागमा उद्यमशीलता’ भन्ने नारासहित सीपमूलक तथा रोजगारीमूलक शिक्षामा विशेष जोड दिने सङ्केत गरेको छ । उक्त नाराको कार्यान्वयनका लागि युवाको नेतृत्व विकास, व्यावसायिक सीप अभिवृद्धि, रोजगार, स्वरोजगार एवं उद्यमशीलता प्रवद्र्धनजस्ता युवा सशक्तीकरणका कार्यक्रममा जोड दिइने सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसैगरी प्रदेश सरकार र विश्वविद्यालय सङ्काय अध्ययन संस्थानबीच समझदारी गरी कम्तीमा स्नातक तह अध्ययन गरेका विद्यार्थीलाई बढीमा एक वर्षसम्म प्रदेशबाट तोकिएको निकाय वा स्थानीय तहमा स्वयंसेवकका रूपमा काम गराउने गरी सरकारले तयारी थालेको छ । स्वयंसेवकले पाउने सुविधालगायतका अन्य विषय समझदारी पत्रमा उल्लेख भएबमोजिम हुने गरी ‘प्रदेश सरकार शिक्षालय सहकार्य कार्यक्रम’ सञ्चालनमा ल्याउने पनि सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यसबाहेक सरकारले सामाजिक चेतना वृद्धि गर्ने खालका कार्यक्रमलाई पनि प्राथमिकता दिने भएको छ । प्रदेशका सबै स्थानीय तहलाई बालमैत्री स्थानीय तह बनाउने कार्यलाई विगतमा झैं प्रोत्साहित गरिने जनाइएको छ । ‘प्रदेश र स्थानीय तहको एउटै सन्देश, बालविवाहमुक्त हाम्रो प्रदेश’ भन्ने लक्ष्यलाई सार्थक तुल्याउन स्थानीय तहसँगको समन्वय र सहकार्यमा २०७८ सालसम्ममा बालविवाहमुक्त प्रदेश बनाउन सरकारले तयारी गरेको छ । ‘वाग्मती प्रदेशको सरोकार महिलालाई अवसर र अधिकार’ भन्ने लक्ष्यका साथ एकल महिला तथा सामाजिक आर्थिकरूपमा पछाडि परेका महिलाको सशक्तीकरण गर्न लैङ्गिक सामानता, समावेशीकरण तथा सामाजिक न्यायको सुनिश्चितता गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको संरक्षणका लागि सरोकारवालाको समन्वयमा विशेष कार्यक्रम गर्न, मानव बेचबिखन र हिंसामा परेका महिलाको उद्धार तथा पुनःएकीकरण गर्न, मनोसामाजिक परामर्श प्रदान गर्न तथा समाजमा पुनःस्थापना गर्न र रोजगार, स्वरोजगारमा आबद्ध गर्न स्थानीय तहको समन्वयमा सुरक्षित गृह (सेफ होम) व्यवस्था गर्ने सरकारले जनाएको छ । सुरक्षित गृहकोे व्यवस्था गरी सशक्तीकरणको कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइने उल्लेख छ । बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा मानसिक वा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिका लागि बालगृह, संरक्षणगृह, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, ज्येष्ठ नागरिक आश्रमलगायतका भौतिक तथा संस्थागत संरचनालाई व्यवस्थित गर्ने, अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण, प्रवद्र्धन तथा सशक्तीकरण गर्न समुदायमा आधारित पुनःस्थापना कार्यक्रम सञ्चालन गर्ने, अति सीमान्तकृत विपन्न समुदायका महिलाको उत्थानका लागि विशेष कार्यक्रम सञ्चालनमा ल्याउने, ‘मानवअधिकारको कार्यान्वयन र मानवता प्रवद्र्धनको सन्देश, सहयोगापेक्षी सडक मानवमुक्त वाग्मती प्रदेश’ भन्ने सोचका साथ स्थानीय तहसँगको समन्वय र सहकार्य एवं सङ्घसंस्थाको साझेदारीमा वाग्मती प्रदेशलाई नै सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश बनाउन सरकारले तयारी थालेको छ । रासस
गण्डकी प्रदेशमा ३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ सय १३
काठमाडौं । आइतबार विहानै गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा ४ जिल्लाका ३८ जना पुरुषमा कोरोना पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । याेसँगै गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १ सय १३ पुगेकाे छ । संक्रमित हुनेहरुमा स्याङ्जा वालिङ नगरपालिका निवासी १३ जना र भिरकोट नगरपालिका निवासी १ जना पुरुषमा कोरोना पुष्टि भएको छ । त्यस्तै बाग्लुङ बडिगाड गाँउपालिका ९ जना पुरुष र ढोरपाटन गाँउपालिका निवासी १ जना पुरुष सहित बाग्लुङ्मा एकैचोटी १० जनामा कोरोना पुष्टि भएको छ । यता गोरखा जिल्लाको पालुङटार नगरपालिकामा १ र गण्डकी नगरपालिका ९ जनामा कोरोना देखिएको छ । भने नवलपरासी वर्दघाट सुस पूर्वको हुप्सेकोट गाँउपालिका ४ जनामा कोरोना पुष्टि भएको निर्देशक डा. शर्माले जानकारी दिए । हाल सबै संक्रमितहरुलाई सम्बन्धित जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भइरहेको जनाएका छन् ।
विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत पठनपाठन गर्दै
बैतडी । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत पठनपाठन शुरु गर्ने तयारी गरेको छ । जारी लकडाउनका कारण विद्यार्थीहरुलाई समस्या भएको भन्दै विकल्पका रूपमा अनलाइन प्रणालीको शुरुवात गर्ने तयारी भएको हो । विश्वविद्यालयका विभिन्न आङ्गिक क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई पाठ्यक्रम पुनरावलोकनका साथै नयाँ ज्ञान दिलाउन अनलाइन प्रणालीको शुरुआत गर्ने तयारी भएको जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख पृथ्वीराज अवस्थीले बताए । उनका अनुसार लामो समयसम्म क्याम्पस बन्द हुँदा विद्यार्थीहरुमा नकारात्मक प्रभाव पर्ने भएकाले अनलाइन प्रणालीबाट पठनपाठनको तयारी भएको हो । उनले भने, “इन्टरनेटको पहुँचमा भएका विद्यार्थीहरुलाई एकै पटक अनलाइनमार्फत पठनपाठनको तयारी भएको छ ।” यसका लागि विश्वविद्यालयले मातहतका क्याम्पसका प्राध्यापकहरुका लागि अनलाइन तालिमसमेत सञ्चालन गरेको छ । दश दिने उक्त तालिममा विश्वविद्यालयका १४ वटै आङ्गिक क्याम्पस र केन्द्रीय क्याम्पसका प्राध्यापकहरुको सहभागिता छ । अनलाइनबाटै सञ्चालन गरिएको तालिममा कसरी पठनपाठन गर्ने, विद्यार्थीहरुको पहुँच कसरी बढाउने, शिक्षण क्रियाकलापलाई अनलाइन माध्यमबाट कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भइरहेको क्याम्पस प्रमुख अवस्थीको भनाइ छ । विश्वविद्यालयअन्तरगतका क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको इन्टरनेटमा पहुँच पुर्याउन नेपाल टेलिकम र एनसेलसँग समेत सहकार्य भइरहेको छ । रासस
कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था
काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ६९ लाख ६६ हजार ४ सय १२ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख १ हजार ६ सय ७ जनाको मृत्यु भइसकेको छ भने ३४ लाख ४ हजार ४ सय १५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख १२ हजार ९६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १९ लाख ८८ हजार ४ सय ६१ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय २२ पुगेको छ भने अहिलेसम्म ६ हजार ९ सय ४६ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ३ हजार २ सय ३५ जना संक्रमित भएका छन् भने १३ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ३६५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार: वल्डोमिटर)