विकासन्युज

हजुरबा, म र छाेरी

“बाबा कोलोना भाइलच भनेको के हो ?” सानी छोरीले आफ्नै लवजमा जिज्ञासा राखिन् । “जतासुकै बाहिर हिँड्यो भने, पसलको चकलेट, चाउचाउ खायो भने पेटमा ऐया बनाउने डरलाग्दो– लायन (सिंह) जस्तै हो ।” मैले उत्तर दिएँ । छोरीले बुझेको झै  गरी टाउको हल्लाइन् । मानौँ समर्थनमा । “बाबा यो कचली (कसरी) आम्छ (आउँछ) ?” “यो गाडी चढेर, हवाइजहाज चढेर आउँछ ।” यो कुरा चाहिँ मैले सही नै भनेको भान भयो । केवल सानो विषाणु “कोरोना भाइरस” ले संसारमै यत्तिका धेरै मान्छेलाई कसरी भयभित तुल्याउन सकेको होला ? आखिर मानिस नै उसको सहयात्री बन्यो । हवाइजहाजमा सररर यात्रा गराउने पनि मानिस र उसँग डराउने पनि मानिस । चीनको वुहानमा गरिएको कठोर निर्णयलाई स्पेन, अमेरिका, भारतदेखि विश्वले नै किन हलुका रूपमा लियो ? आखिर भाइरसले सीमाको नियम देख्थ्यो र ! महामारीको विपद् व्यवस्थापनमा र सचेतनाको अभावले मान्छे भयभित भयो । “यो कोरोना त लिसोझैँ, ऐँझेरुझै या त भनौँ आफैँमा जरा नभएर पनि सीमालीकै आडमा फैलिने पहेँलो लहरोझैँ रहेछ, हजुरबा ।” मलाई मेरो हजुरबाको चित्त बुझाउन समर्थ भएकोमा खुशी लाग्यो । मानौँ म कोरोनाको विशेषज्ञ नै हुँ । मैले मेरा हजुरबादेखि मेरी साढे तीन वर्षे छोरीसम्मलाई कोरोनाको ज्ञात-अज्ञात विषयलाई बुझाउन पाउँदा त खुशी मान्नैपर्छ । नोेबेल कोरोना अर्थात् कोबिड १९ को विश्वयात्राको ताण्डवमा म कति जानकार हुँ कुन्नि । भनिन्छः साबुनपानीले मिचीमिची हात धुनुपर्छ, भिडभाडबाट जोगिनुपर्छ, सामाजिक दूरी कायम राख्नुपर्छ इत्यादि सचेतनाका सन्देश । म आफैँले आफैँलाई अपनाउन सक्छु । कमसेकम मेरै लागि । अर्गानिक विधिमा । तर, म उठ्दा, बस्दा, सुत्दा, फेरि उठ्दा, “प्रिय साथी इन्टरनेट” । सामाजिक सञ्जालका दस्तावेजभित्र उही कोरोनाका नामसँगै घोत्लिन्छु । मानौँ म पनि “घोप्टेयुग” को एकजना सक्रिय कार्यकर्ता । लेखक मेरो हजुरबा भन्नुहुन्छ-“बाँच्नु नै ठूलो कुरा हो । सम्पत्ति त हातको मैलो हो ।” कोरोनाले पैसाका निम्ति नसुत्ने मान्छेलाई पहिलोपटक जीवन रक्षाका निम्ति घरमा सुत्न दियो । पैसाको तनाव भिर्नेले पहिलोपटक जीवनरक्षाको बारेमा सोच्यो । २१ औँ शताब्दीको युगमा सङ्कटको पहाडभित्र एकपटक प्राकृतिक जीवनको सन्देश प्रवाह भइरहेको छ । अलिकति प्रकृतिले रम्यता पस्कँदै छ, आत्मनिर्भर रहने वन्यजन्तु स्वच्छन्द विचरण गर्दै छन् । पूर्वीय “नमस्कार” संस्कृतिको विश्वव्यापीकरणको विषयले पनि विज्ञानसँग नातो गाँस्यो । अनि, प्रश्न तेर्सिन्छ– विज्ञान भनेको सर्वेसर्वा हो ? “हुलमुलमा जिउ जोगाउनु, अनिकालका बिउ जोगाउनु” हजुरबाको उक्ति आजकै सन्दर्भपरक । स्वर्ण अक्षरमा लेख्न योग्य । तब मैले भनेँ-“हजुरबा ! हुलमुलमा जिउ जोगाउनु भनेको ‘लकडाउन’ हो । अनिकालमा बिउ जोगाउनु भनेको चाहिँ ‘भोकमरीबाट बच्ने उपाय खोज्नु’ हो ।” छोरीका लागि उत्तर दिएँ– “छोरी लकडाउन भनेको ‘ज्ञ–ज्ञानी’ बन्ने हो । घरमै बसेर पढ्ने हो ।” छोरी विद्यालय जान नपाएकैमा खुशी छिन् । घरमै बसेर रमाएकी छिन् । हरेक मान्छे संसारमा नयाँ रहेछ अनि हरेक समस्या पुरानै हो । हरेक मान्छेले समस्यालाई भिर्छ, अनि संसारबाट जाने क्रममा यही धर्तीमा छोड्छ । म विनाशकारी कोरोनाको उक्ति परिवर्तित वंशजतिर घोत्लिन चाहेँ । डार्विनका विचारसँग । लुप्त गुण हुँदै फुत्त–फुत्त आवागमन गर्ने पुर्ख्याैली समानता बोकेका उस्तै सरुवाहरूको इतिहास । आततायी पीडाको इतिहास । १३–१४ औँ शताब्दीतिरै “प्लेग” नामक रोग आएछ । सायद सम्बन्धका हिसाबमा त्यो कोरोनाको जिजुबा पर्ने हुन सक्छ । उसले पनि बढी आवागमन हुने क्षेत्र र शहरतिरै अड्डा जमाएछ । सन् १३४७ देखि १३५२ को “ब्ल्याक डेथ” ले युरोप (इटाली) बाट कान उखेल्न थालेको रहेछ । यो कोरोनाको मावलीतिरको जस्तो लाग्यो । कंशको जस्तो स्वभाव भएकैले लगभग ४० प्रतिशत अर्थात् २० करोड युरोपका मानिसको प्राणलाई सर्लक्कै निलिदिएको रहेछ । मानिस नवीन उपचार प्रविधि, सुविधा, शिक्षा र रोजगारको केन्द्र भन्दै शहरमा भिड गर्छ । बसिखाने अपेक्षामा मनुष्य पिरो नयन बोकेर बाक्लो समाजमा एक्लो जीवन जिउँछ । अमेरिका, युरोप, अस्ट्रेलियातिर हुरिन पाए नाक फुलाउँछ । सन् १५२० मा एसिया, युरोप हुँदै मेक्सिको, अमेरिकासम्म यात्रा गरेको कोरोनाकै काका पर्ने “बिफर” ले लगभग ५ करोड ६० लाख मानिसको ज्यान लिएको रहेछ । सन् १८५५ मा चीन (युनान) बाट जन्मिएर भारतको भूमिमा ताण्डव मच्चाएको “तेस्रो प्लेग” पनि कोरोनाको नजिककै परिचित हुन सक्छ । यसले पनि १ करोड २० लाख मानिसको जीवनलीला समाप्त गरिदियो । १९१८ मा “स्पेनिस फ्लु” ले विश्वमा करिब ५ करोड मानिसको प्राण हरण गर्यो । यस विरुद्धको खोपको विकास पनि सन् १९४० मा मात्र भयो । कोरोना विरुद्धको औषधी वा खोप निर्माणका लागि सायद अहिलेको प्रविधि र मानिसको बुद्धिमता नै विपत्तिका सहायक बन्छ । यसको पाशविकता र कोरोनाको अनुहार मिल्छ । त्यतिखेरै प्रयोग भएको “क्वारेन्टाइन” शब्दको अर्थलाई म आज बल्ल बुझ्न–बुझ्न लागेको जस्तो हुँदै छु । त्यतिखेर नै सामाजिक दूरी कायम राख्न भनेर विद्यालय, मन्दिर, मस्जिद आदि भिडभाडलाई बन्द गरिएको रहेछ । तर, मैले मेरा हजुरबा र छोरीलाई “क्वारेन्टाइन, आइसुलेसन, लकडाउन” आदिको अर्थलाई अझै राम्रोसँग बुझाउन सकेकै छैन । हजुरबाले भन्नुभयो-“२०२८ सालमा घोर अनिकाल बिहोरियो ।” मैले सोचेँ– तबदेखि आजसम्म हाम्रो कृषिप्रधान देशले कसरी आफूलाई समृद्ध तुल्यायो र ! बरु खेतीयोग्य जमिनमा प्लटिङ भए । बरु आपसी राजनीतिक विद्रोहलाई प्राथमिकता दिइरहियो । आखिर राजनीतिक विषय मात्र ठूलो भयो । सामाजिक, सांस्कृतिक, पर्यावरणीय जीवनका विषय छायाँमै रहे । मुलुकमा ठूला–ठूला राजनैतिक क्रान्ति र परिवर्तनका कुरा आए । नेपाल बन्द भन्दै गरिएका काटाकाट र मारामारको ताण्डवले सिन्दुर पुछिए, काख र कोख रित्तिए । परिणामतः शान्ति, संवाद र सहकार्यकै बाटो निर्णायक रहेछ । २०४५ र २०७२ का भूकम्पले पनि मानवताको चेतना र आत्मनिर्भरता सिकाएन । वर्षेनी भयङ्कर बाढी आए, डुबान भए तर पनि सतर्कताका बारेमा सोच्न सकिएन । यी त आखिर प्राकृतिक विपत्ति थिए । “नाकाबन्दी” छिमेकीद्वारा गरिएको मानवनिर्मित विपत्तिले पनि हामीलाई स्वाभिमानी र आत्मनिर्भर हुन सिकाएन । हुन त त्यतिखेर दाउरा बालियो, ग्याँस खानीको सर्वेक्षण समेत भएका समाचार आए, विकल्पका थुप्रै तरिका बजारमा सुझावको झोला भिरेर आए अनि नाकाबन्दी खुल्दानखुल्दै विलय भए । आखिर-विकास, अवसर, अध्ययन, स्वास्थ्योपचारको अभिलासाले शहरीकृत गरायो । अझ बढी त द्वन्द्वकालले थुप्रै परिवारलाई नै शहरतिर लघार्यो । भूकम्पले समेत गाउँ फर्काउन सकेन । बरु राहतलाई तह लगाउनका लागि गाउँमा सानो टहरो बनाइयो । चाहे त्यो बिस्याहार होस् । राहतकै आहत भयो । नक्कली र सक्कली पीडित अनि सक्कली र नक्कली दाता । गाउँको जग्गा बाँझो राखेर भाडाको कोठामा बास्मतीको भुजा ज्यूनार गर्ने हामी पसलेसँग भन्छौँ– “यो सब्जी ताजा हो र ! बासी जस्तो छ ।” कोरोनाले मानिसको बुद्धिको बिर्को खोल्दिए महामारीरूपी अभिशाप पनि बाँच्नेको लागि वरदान हुनेथ्यो । गाउँको जग्गा बाँझो राखेर भाडाको कोठामा बास्मतीको भुजा ज्यूनार गर्ने हामी पसलेसँग भन्छौँ– “यो सब्जी ताजा हो र ! बासी जस्तो छ ।” कोरोनाले मानिसको बुद्धिको बिर्को खोल्दिए महामारीरूपी अभिशाप पनि बाँच्नेको लागि वरदान हुनेथ्यो । एकजना मलेसियामा कार्यरत दाइले भन्नुभयो– “मलाई घरको यादले दुःखाउँछ । घरमा आउन पनि मिल्दैन । पैसा सकियो । हामीलाई काम नगरेको दिनमा तलब पनि दिँदैन । एटियमसम्म जान सकिया छैन । खै कसरी बाँच्ने !” गरिबीले हृदयलाई गाँठो पारेर परदेशमा डन्डा मार्छ । आखिर बेरोजगारिताको पीडा र गरिबीले थिचेको छ । वास्तवमा कृषियोग्य जमिनमा महल ठड्याएर आयातित सामग्रीमा परनिर्भर हामी आफ्नै कोठेबारीलाई घृणा गर्दैछौँ । सङ्कटमा शहर त विरानो हुन्छ । एक्लो भीडमा विक्षिप्त छ मान्छे । गुणात्मक शिक्षा र स्वास्थ्यको भौतिक चाहनाको लालसमा कङ्क्रिट महलको घना बस्तीमा भूत जस्तो हुन्छ । पलायनवादी सोचभित्र परनिर्भरताको पराकाष्ठालाई झेल्दै छ । तनाव ओढ्छ अनि तनाव बिसाउँछ । कृत्रिमताभित्र टेकेर प्राकृतिक जीवनको आलापमा दुःखी हुन्छ । कौसीको गमलामा धनीया पत्तामा पर्यावरणीय सुख चाहन्छ । हजुरबा भन्नुहुन्छ– “शहरमा त महामारीको महासङ्कट आइपर्यो भने सबैभन्दा पहिला अत्यन्तै निम्न वर्गबाट पीडा सुरु हुन्छ ।” हो, हुनेलाई मस्ती नहुनेलाई सास्ती हुन्छ । तर, यदि सचेत जनता भएका स्थानमा महाविपत्ति आयो भने सबैभन्दा बढी पीडा धनाढ्यहरूमा हुन सक्छ । किसानहरूले आफ्ना लागि अन्नपात सङ्कलन गरेर राखेकै हुन्छन् । लास जलाउँदा त भीआइपीको दर्जा हुने स्थानमा अनि न्यायको भिख माग्दै गरेका मृतात्माहरू सायद चिहानमा कोटा पद्धतिलाई खोतल्दा हुन् । विडम्बना महामारीका लप्का सेलाउँदै जाँदा उही शहर व्यापार, लुट, ठग, घुसखोरीमा उसै गरी जाग्दै जान्छ । उसै गरी चलायमान हुन्छ । उसै गरी आत्महत्याका घटना बढ्लान् । त्यसपछि नवउदारवादले वरदान बनाइदिएको निजीकरणको मारमा गरिबले गरिबकै स्थानमा कोच्याइदिन्छ । सार्वजनिक सेवाको गुणस्तर वृद्धिमा अधिनायकवाद र नवअधिनायकवादको कालोधन बटुल्ने पासो थापिन्छ । च्याँखे दाउमा । दुहुनु गाई बनाएर । सरकारी काम र कार्यालयमा अविश्वासको बादलले ढाकिरहन्छ । हैरानी र बेचैनीले अड्डा जमाउँछ । मानवताको ठूलो तगारो । चुनावी नारामा, घोषणापत्रमा, नीति तथा योजनामा कोरिएका स्वप्नाभित्र स्वतन्त्रताको ऐठन हुन्छ । आधा शताब्दीकै अन्तरालमा प्रकृतिको प्रतिद्वन्द्वी बन्यो मानिस । आखिर प्रकृतिले आफ्नै अनुकूलताको अपेक्षा गरेको पनि त हुँदो हो । प्रविधिकै आडमा “कोरोना नियन्त्रण क्याम्पसुल” बनाउन प्रकृतिप्रदत्त जीवनको अपेक्षा मान्छेलाई हुन्छ । हजुरबाले भन्नुभयो– “आगामी पुस्ताका लागि पनि त योजना उन्नुपर्ने हो ! हामीले उनेका ‘बसुधैव कुटुम्बकम् र परोपकार नै धर्म हो’ भन्ने उक्तिको त ख्याल भएन नै ।” महामारी बाजा बजाएर पनि त आउने होइन । हाम्रा पुर्खाले प्रविधिसँग यति धेरै अन्तरसम्बन्ध गाँसेका हुँदा हुन् त आज मानिसको अस्तित्व नै सङ्कटको घेरामा पौडँदै हुन्थ्यो होला । महामारीको सहकर्मी पनि प्राविधिक दम्भ नै भयो । गरिब मान्छेले अप्ठ्यारोसँग जसरी सामना गर्न सक्छ त्यसरी विलासीले सक्दैन । पैसामा कमजोर भए पनि सङ्कटमा आत्मबल र शारीरिक दुवै बलमा सक्षम हुन्छ गरिब मानिस । समस्या ओढेर समस्या निल्दै समस्या ओकल्छ उसले । मानौँ ऊ समस्यामा विद्यावारिधि हो । सायद शताब्दीगत महामारीका आततायी दृश्यबाट लुछिएर मान्छे त्राहीत्राही भइरहन्थ्यो । कोरोनाले गरिब मार्ने महामारीको इतिहासलाई पल्टाएर सम्पन्नमै पीडाको मुसल प्रहार गरिदिएपछि फेरि प्राकृतिक, जैविक जीवन पद्धतिको मूल्यबोध हुनुपर्ने हो । अनि, पैसा ठूलो कि जीवन ? वैश्विक भविष्य कल्पनाको गहिराइ अचम्मको । गरिबी र खाद्यसङ्कटको डढेलोमा विश्व पिल्सिरहँदा मानवताको महल नढलोस् । मेरो हजुरबाले मलाई जीवन ठूलो भन्नुहुन्छ । मेरी सानी छोरी बिचरा अबोध छिन् त्यसैले “पैसा ठूलो” भन्छिन् तर तिनको भावनामा मानवता ठूलो छः वसुधैव कुटुम्बकम् । गरिब मान्छेले अप्ठ्यारोसँग जसरी सामना गर्न सक्छ त्यसरी विलासीले सक्दैन । पैसामा कमजोर भए पनि सङ्कटमा आत्मबल र शारीरिक दुवै बलमा सक्षम हुन्छ गरिब मानिस । समस्या ओढेर समस्या निल्दै समस्या ओकल्छ उसले । मानौँ ऊ समस्यामा विद्यावारिधि हो । मलाई समस्याका चाङभित्र घोत्लिन विवस बनायो । नेपालमा २०२० मा १५ प्रतिशत अर्थात् ४५ लाख मानिस अति गरिब मान्छे नै विश्वमा जसरी नै पीडामा पिरोलिने सम्भाव्यता रहने देखियो । केवल व्यवस्थाले किनभने गरिबी मान्छेको व्यवस्थामा बाँधिएको पासो हो । मानिस जन्मँदै गरिब जन्मँदैन । मरेर जाँदा धनीले धन लैजाँदैन । कामबाट बिदा नै नपाउनेको आलापमा सायद मेरी छोरीको जस्तो तोते लवजको जिज्ञासामूलक वचन सुन्ने रहर हुँदो हो । “एकान्तवास” को नियमलाई तोड्छ । कल्पनै नगरेको विश्वव्यापी जटिलताले तल्लो दर्जा दिइने महत्वपूर्ण कर्मवादी व्यक्तित्वमा गाँस र सासको समस्याले पिरोल्छ । जनताले कसरी बुझ्ने ? “लकडाउन” भनेको गाडी, पसल, सामाजिक सम्बन्धलाई बन्द गर्नुपर्ने अवस्था हो ! सरकार स्पष्ट सूचना नदिएकोमा गल्ति सम्झँदैन । अनि शिक्षाको उज्यालोबाट बञ्चित रहर बुझ्न नसक्ने, बुझ्न चाहेर पनि बुझ्न नजान्नेको मनोविज्ञानसम्म सोच्न सक्दैन तब निरीह मान्छे दण्डित हुन्छ । मानिस समस्या रहुन्जेल सचेतनाको ढोल पिट्छ अनि उही छेपारे । युद्ध विभीषीकाभित्र आफैँले निम्त्याएको मृत संवेदनामा जीवनको मूल्यलाई क्षणभरमा समाप्त गराउने मानिस नै हो । प्रकृति खुशी हुँदा गरिबलाई यसले दुःखी बनायो । आफ्नो जीवनरक्षाको आलापमा मानिस कोठाभित्र किन बन्दी बन्यो ! भलै पशुप्राणीबाट आयातित रोग हो तर मानिस बुद्धिमताको सदुपयोग नगरेरै पीडाको सिकार हुन्छ । संसारको मुखमा माक्सको मखुन्डो लगाइदियो अनि दम्भको मखुन्डो अलिकति उतारिदियो । लाखौँको प्राण लिएर ताण्डव मच्चाएको कोरोनाले धरावासीमा रक्तबीज बनेर भयभित तुल्याउँदा डाक्टरले भगवान् बन्नु छ । विना हतिहारको युद्धमा विजयको ध्वजा कसरी फहराउने ? विज्ञानले क्याप्सुल रच्नु छ । संसारको मुखमा माक्सको मखुन्डो लगाइदियो अनि दम्भको मखुन्डो अलिकति उतारिदियो । लाखौँको प्राण लिएर ताण्डव मच्चाएको कोरोनाले धरावासीमा रक्तबीज बनेर भयभित तुल्याउँदा डाक्टरले भगवान् बन्नु छ । विना हतिहारको युद्धमा विजयको ध्वजा कसरी फहराउने ? विज्ञानले क्याप्सुल रच्नु छ । देहान्तभन्दा एकान्त अवश्य ठूलो हो । हजुरबा भन्नुहुन्छ– “यो विज्ञानको हार हो ?” म भन्छु-“पुँजीवादको पतन हुनुपर्छ ।” तर म दोधारमा छु । दानवीरहरूलाई देख्दा– मानवतावादको प्रारम्भ हो कि अन्त्य ? मानवताभन्दा ठूलो जात हुँदैन अनि दया र प्रेमभन्दा ठूलो धर्म छैन । सबै शास्त्रका कुरा धर्मसँग तोलेर ज्ञान बिर्सन पारङ्गत मान्छे हामी । विज्ञान जान्दा शास्त्र बिर्सनुपर्छ भन्न जान्ने अनि सियो पनि अर्काकै भरमा परेर किन्ने हामी । पुर्खाको सीप र कलालाई पुनर्विकास नगर्ने, बरु छोड्ने अनि पुर्खालाई रुढीवादी भन्न जान्ने हामी । पुर्खाको नैतिक शिक्षाले आज व्यावहारिक चित्र देखाउँदा हामी शङ्काको घेरामा निर्लज्ज छौँ । अल्पज्ञान भिरेर । दिव्योपदेशभन्दा मार्क्सवाद ठूलो हुनुको अर्थ नवसामन्तको जन्म हो ? दम्भले उन्मत्त हुँदा मान्छे स्वार्थ कुइरोमा हराएको छ । प्रविधिले मान्छेलाई जन्माएको होइन, मान्छेले प्रविधिलाई जन्माएको हो । मेरो हजुरबुवा युट्युबमा महाभारत हेर्नमा व्यस्त हुनुहुन्छ । अनि भन्नुहुन्छ– “महत्वाकाङ्क्षी नेतृत्वका उत्तराधिकारी र आसेपासे दुर्योधन र दुस्सासन बनेपछि, अवसरवादी मामा शकुनीले अत्याचारको पासा फ्याँकेपछि पाण्डुपुत्रजस्ता असल, सत्यवादी, कर्मवादी, बलशालीले आँखाअघि धर्मपत्नीको वस्त्रहरण भएको देखेर पनि चुप बस्नुपर्छ ?! उल्टो वनवास, गुप्तवास, लाक्षगृहजस्ता विनागल्तीको सजाय भोग्नुपर्छ । काण्डैकाण्डमा फसाइएपछि त भिष्मपितामह, द्रोणाचार्य, कृपाचार्यजस्ता महारथी पनि द्रौपदीजस्ती रजश्वला भएकी नारीको वस्त्रहरणमा अन्धो बनेर सहन गर्छन् । प्रतिकार गर्दैनन् । अनि भिषण युद्धको पीडामा छिया–छिया भएका कुन्ती र गान्धारीको पीडालाई कसले बुझ्छ ?” प्रकृति, जीवन र समाजको संरचनामा भोकको पीडाले थिचेपछि अहिलेको मान्छे अराजक बन्छ । प्रकृतिका हरेक सजीव तथा निर्जीवको अस्तित्व आवश्यक र अनिवार्य छ । मानिस एक्लै यो धर्तीमा बाँच्न चाहने निहित स्वार्थले अन्य प्राणीको जीवन समाप्त पारिरहन्छ भने त्यसको सजाय मान्छेले नै भोग्नुपर्छ । जैविक विकासको सारमा मानिस प्रकृतिप्रदत्त हुन सक्नुपर्छ नत्र विनासको डङ्का बजिरहनेछ । शक्ति, सम्पत्ति र सम्मानको घुम ओढेर । खाद्य सङ्कटको स्वीकारोक्तिमा त्रसित मनहरूले आर्थिक मन्दी, बेरोजगारिताको चुनौती क्षितिजमा पहाड बनेर ठडिँदै छ । मान्छेले स्वअहम् र महत्वाकाङ्क्षाले निम्त्याएका विपत्तिसँगका प्रतिविपत्तिका माझमा जुध्नु पर्ने सम्भाव्यतामा जकडिन्छ । तर, चिन्ता होइन चिन्तनको खुबी मानिसभित्र छ । आयातित चुनौतीको भारीमा थिचिएर राजनीतिक र सामाजिक सङ्कटको दायराभित्र हामी विछिप्त छौँ । समृद्धिको स्वप्नाभरि ऐठनले सताइरहँदा ग्रामीणीकरणको विकासमा नेपाल अघि बढ्न सक्छ । पेटपूजाको चुनौतीलाई उघारेर प्रवेश गरेपछि राजनीति तथा घरेलु जीवनको प्रताडना हुन्छ । भूकम्पीय समस्याबाट तङ्ग्रिन नपाउँदै बाढी, डुवान अनि कोरोनाको पीडा एकपछि अर्को लामबद्ध आइरहे । दातृ निकायसँग भिख मागेरै जीवन कतिसम्म चल्ला ? हजुरबा भन्नुहुन्छ-“मागेर धनी र दिएर गरिब होइँदैन ।” कोरोनाभन्दा कडा भ्रष्टचारको भाइरसले गरिब मुलुक आक्रान्त हुन्छ भने तिल पहाड बन्छ । ऋणको बोझमा थिचिएर देश कसरी तङ्ग्रेला ? तर, भित्री चाहनाले मानिसलाई विकेन्द्रीकृत पद्धतिसँग ग्रामीण जीवनशैलीको माग गर्दैछ । अनि आत्मस्वाभिमानी माटो सुहाउँदो आत्मनिर्भरताको । हामी साना र मझौला उद्योग र रोजगारीको अपेक्षामा छौँ । अनि आर्थिक स्रोत व्यवस्थापन र परिचालनमा विश्वसनीयता र पारदर्शिता नहुँदा, अनुशासनहीनताको मुसल बोकेर धमिलो पानीमा माछा मार्नेको लर्को लाग्छ । श्रमजीवीहरू रोगका लागि भनेर घरभित्र बसेर शोक र भोकको प्रतिशोध साँध्न सडकमा उत्रिए भने विश्व जोखिम प्रतिवेदनका पानाले अर्थतन्त्रको जोखिमसँग भूराजनीतिको सामाजिक र प्राविधिक खतरा मडारिन सक्छ । सङ्क्रामक रोगसँग उपरोग र जोखिमसँग उपजोखिमका सिँढीहरूमा भोक संस्कृति, भोक पीडाले लघार्छ तर त्यसपूर्व पुर्ख्याैली पेसा कृषि र आत्मनिर्भर बन्ने संस्कारसँग नातो गाँस्नुपर्छ । युरोपियन युनियनतिरका सबल र सम्पन्न राष्ट्रमा बजेको कोरोनाको ढोलसँग हामीले गरिब हुनुको पीडामा मन किन कुँड्याउने ? देश–विदेशको आवागमनको घनचक्करबाट जोगिनुको मजा नै बेग्लै छ । आत्मबलमा कमजोर नहोइयोस् पनि । तब त सङ्कटको पूर्वाभास हुँदा, दिगो समाधानमा बाँच्ने आधार रहला । सोच र संरचनाको कसीभित्र लघारिएको मानिस जैविक अस्तित्वको विश्वव्यापी खोजीमा लुटपुटियोस् । जोखिमको कालो सुरुङमा नफसोस् । अधिनायककै कुहिरोभित्र काग नबनोस् । मलाई विज्ञका विचार र सिद्धान्तले घच्घच्यायो । सबैले अर्थतन्त्रका जोखिमका प्राक्कल्पनाका ठेली हाम्रा लागि पस्किए पनि हामी नेपालीपनाबाट सयौँ कोश टाढा पुग्यौँ । हाम्रो पनाभित्रको विज्ञानभित्रको जादुमा हिरा फल्छ अनि हामी अर्काको सुनको बोटतिर लम्कियौँ । नीति बनायौँ, कार्यान्वयन गर्न जानेनौँ । इतिहासलाई गाली गरेर पनि त समाधान हुँदैन । भौतिकवादका लामा सूत्रभित्र प्रकृति, विज्ञान र अर्थशास्त्रको सामीप्यताले समाज मनोविज्ञानको गाडी चल्नुपर्छ । स्वास्थ्यविज्ञानको पोल्टामा शिक्षाको निःशुल्क व्यवस्थालाई हालिदिने हो भने सायद गरिबले खानका लागि मर्नु पर्दैन । सामाजिक सोच परिवर्तन (प्याराडाइम सिफ्ट) को एउटा विश्वव्यापी लर्को चल्ला । अझ ईश्वरीय सत्तासँग लडेको भौतिकवादी सोचभन्दा माथि मानवतावादले श्रमजीवीका आवाजलाई किन बाँधिन्छ ? त्यो कुण्ठा नेपाली धर्तीमा बेमौसमी बाजा हो, नबजोस् । अभावले चोरी, डकैती, लुटपाट हुन्छ तब मान्छेले जीवनमा पैसालाई सर्वेसर्वा मानिदिन्छ । मान्छेले नै छापेको पैसाको अभावमा मान्छे गरिब बन्छ । पेट भोकै रहेर बाँच्नुभन्दा मर्नु निको भन्ने भएकैले नियम विपरीत कार्यकलापमा मान्छे निर्लज्ज बन्छ । नेपाल आमा भोकको राजनीतिबाट भन्दा व्यवस्थापकीय अप्ठ्यारोको गुमराहमा चिन्तित छिन् । आगो लागेपछि कुवा खन्ने शैलीले घाटा पनि हुन्छ र दुःख पनि पाइन्छ । एउटाको गल्तिलाई धेरैले भोग्नुपर्छ । जैविक वास्तविकता बिर्सन्छ अनि प्रकृतिले बाँचेर उभ्रिने लाखौँ, करोडौँ टन खाद्यान्नलाई दुरुपयोग गरिदिन्छ । कँज्याएर राख्छ । दोस्रो विश्वयुद्धको मोहोडामा संसार चलायमान होला तर नेपाल पेट्रोल, डिजेल, ग्याँसको महङ्गीको विकल्पमा पूर्वतयारी गर्ने आधारलाई आन्तरिक विद्युतको विकास सुन्दर बाटो बन्छ । आर्थिक मन्दीले कैयौँ उद्योग डुब्नाले नेपालीहरू स्वदेशमै आउँछन् र आऊन् पनि । ४० प्रतिशत युवाशक्ति भएको सक्षम देशले माटो सुहाउँदो कर्मका मार्गलाई चालोस् । देश तब व्यवस्थापकीय सक्षमताको अभावको रडाकोभित्र फस्छ जब भद्रगोल राजनीतिक कार्यशैलीको गोलघरमा घुम्छ । राजनीतिभन्दा अझै ठूलो कुरा त बाँच्नु नै रहेछ । राजनीतिमा असन्तुष्टि नै असन्तुष्टिको मुस्लो हुन्छ । समाज विकासभित्र समाधान र आगामी विकासको खुशी नै खुशी हुन्छ । तब राजनीतिलाई समाजलाई कँज्याउन सक्दैन, समाजले राजनीतिक नेतृत्वलाई खबरदारी गर्छ । बफादार र भागिदारको निःस्वार्थ सोचमा । सोचको गुलामी बोकेर काण्डैकाण्डमा फस्ने लालची स्वभावको खबरदारीमा । स्वास्थ्यमन्त्रीका च्याम्बरमा लामा आदर्शमुखी आशावादका बहस रबरझैँ तन्किरहनुको के तुक ? किनकि, भीडमा मान्छे धेरै भएकाले समस्या धेरै हुन्छन् भने “गाउँ फर्कौँ” न त ! शहरिया अस्थायी जिन्दगी होइन, महङ्गो घडेरी किनेर घर बनाउने दीवास्वप्ना पनि होइन बरु गाउँकै घरलाई महल बनाउने “गाउँ फर्क अभियान बोकेर ।” स्वाभिमानी जिन्दगीमा । पैसा तिरे पनि घरबेटीको टोकसो सहनुपर्ने काठमाडौँका अँध्यारा कोठाका पीडामा के आनन्द छ ! अप्ठ्यारोको अन्तिम आधार गाउँ । “कोरोना राजनीति” को अर्को चर्को लर्कोले झर्को नलगाओस् । राहत वितरणभित्र पनि राजनीतिको दुर्गन्धमा चुनावी स्वार्थको दुर्गन्ध नआओस् । लिएर खाने र दिएर नाम कमाउने अर्को चर्को बजार । भोकै पर्दैन र भोकै मर्दैनः कहिलेसम्म ? अनि राहत मापदण्डको पोको ? कतै “हाइटी गीत” रच्नुपर्ने त होइन ? सामाजिक अराजकता र जसको शक्ति उसको भक्तिले सत्यतामै भ्वाङ पर्न थालेपछि बिब्ल्याँटो राजनीति चलिरहन्छ । गौँडा-गौँडामा छेकिएकाहरूको आलापले स्वदेशमा पनि त स्वाभिमानी बन्ने हक खोसिएपछि मान्छे दुख्छ ! गरिबीको मनोदशाभित्र, बाध्यताभित्र । परदेशमा रेमिट्यान्सको घ्याम्पा भर्नेलाई ? रोजगार कटौती र स्वदेश फिरौती भएपछिको चापका लागि ग्रामीण विकासका योजना बनून् । “कोरोना राजनीति” को अर्को चर्को लर्कोले झर्को नलगाओस् । राहत वितरणभित्र पनि राजनीतिको दुर्गन्धमा चुनावी स्वार्थको दुर्गन्ध नआओस् । लिएर खाने र दिएर नाम कमाउने अर्को चर्को बजार । भोकै पर्दैन र भोकै मर्दैनः कहिलेसम्म ? अनि राहत मापदण्डको पोको ? कतै “हाइटी गीत” रच्नुपर्ने त होइन ? सामाजिक अराजकता र जसको शक्ति उसको भक्तिले सत्यतामै भ्वाङ पर्न थालेपछि बिब्ल्याँटो राजनीति चलिरहन्छ । आखिर मुटुरोग, क्यान्सर लगायतका दीर्घरोगीलाई नै कोरोनाको पीडाबाट ग्रसित हुनुपर्ने स्वास्थ्यकर्मीको मत छ । सबै सङ्क्रमितले मृत्युवरण गर्नुपरेको मात्रै पनि त छैन आखिर मृत्युलाई जित्ने क्षमता पनि त हुने रहेछ । ग्रामीण अर्थतन्त्रको विकासतिर लम्कने बाटोबाट नेपालले आफ्नो महामारीको ढाल र तरबारलाई सजिलै व्यवस्थापन गर्न सक्छ । यो तिललाई पहाड बनाउने धृष्टता होइन । हामी त स्वदेशमा ३ महिना काम गर्ने १२ महिना खाने र २४ घण्टा गाली गर्ने आदतका पार्टी न हौँ । अनि, अर्काको देशमा गाडीभित्र एकहातले गाडी चलाउँदै अर्को हातले पाउरोटी चपाउने बेफुर्सदिला हौँ । पैसाको चाहना । हैकमवादी सोचले मान्छेलाई कँज्याउँदा अनैतिकताको ढाड सेक्ने दुर्शक्तिले नेपाल आमाका आँशु पिउन बाँकी राखेका छैनन् । राजनैतिक विद्रोहका स्थानमा जैविक अस्तित्वको विद्रोहले पाइलो सार्न थाल्दा तब ग्रामीण विकासमुखी समाजवाद सङ्कटको सारथी हुन सक्छ । विनासपछिको विकासको बुद्धि नहुने धक्कुबाजले कोरोनासँग मानवतालाई बोध गर्दैन । धर्मशास्त्रलाई गाली गर्ने तर विश्लेषणीय व्यावहारिकता नखोतल्नेहरू बठ्याइँ छाँटिरहनेछन् । दोस्रो विश्वयुद्धपछिकै घातक नरसंहारको घटनाले विश्व व्यवस्थामा हलचल आउला, विश्व अर्थ-राजनीतिले नेपाली घरेलु राजनीतिमा प्रहार होला । कथित समाजवादीले उदारतावादको आडमा शासकीय महत्वाकाङ्क्षाको मुख्याइँ लाद्न सक्छन् । तब प्रकृति र सम्पदाको निजीकरण गरिँदाको पीडाबोध मानिसमा हुन्छ । अनि “साम्यवाद” सिद्धान्त किन भिरिरहनुपर्छ ? रामराज्य खोज्न वा बुद्धत्वको अहिंसाभित्रै मानवताको “राजर्षि जनकवाद” जन्मेला । के फरक पर्छ विकास र आनन्दको नवीन शिल्पचित्र कोरिए ! विपद्मा सहयोगी बन्नेभन्दा ठूलो राजनीति के हुन सक्ला ? चाहे कोरोनारूपी महामारी नआएको होओस् तर पनि नेपालीपनाको मौलिक विकास नै हाम्रो भविष्य हो ।

डिभीको नतिजा आज राती सार्वजनिक हुँदै, यस्ताे छ हेर्ने तरिका

काठमाडौं । सन् २०२१ को अमेरिकन डाइभर्सिटी भिसा (डिभी) को नतिजा आज राती सार्वजनिक हुने भएको छ । अमेरिकी दूतावासले ट्विटरमार्फत जेठ २४ गते शनिबार नेपाली समयअनुसार राति ९:४५ बजे डिभीको नतिजा सार्वजनिक हुने जनाइएको छ । दूतावासको ट्विटमा, ‘आज राति ९:४५ बजेबाट तपाईंले डीभी आवेदनको नतिजा हेर्न सक्नुहुन्छ । याद राख्नुहोस्, तपाईंलाई डिभी पर्‍यो वा आवेदन सफल भयो भन्‍ने व्यहोराका कुनै पनि ईमेल वा अन्य म्यासेज हामी तपाईंलाई पठाउँदैनौं । यस्तो दावी गरिएका र तपाईंलाई डीभी पर्‍यो भन्ने व्यहोराका कुनै पनि म्यासेज साँचो होइनन् ।’ डिभीको नतिजा www.dvlottery.state.gov मा गएर हेर्न सकिन्छ । डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिनेछ । यदि नम्बरमा  Forgot Confirmation Number मा क्लिक गरी मागेको विवरण दिएर नतिजा हेर्न मिल्ने दूतावासले जनाएको छ । गत मे ५ सम्म भइसक्नु पर्ने डिभीको नतिजा कोरोनाकाे संक्रमण फैलिएसँगै एक महिनापछि सरेकाे हाे ।

नबिल बैंकले यही जेठ २५ गते के ल्याउँदै छ ? हेर्नुहोस्

काठमाडौं । नबिल बैंकले यही जेठ २५ गते आइतबारको दिन नयाँ निक्षेप योजना सार्वजनिक गर्ने भएको छ । युवा लक्षित बचत योजना न्यू जेनेरेसन नेपाल’ सार्वजनिक गर्ने जनाएको छ । सो बचत योजनामा सहभागी बचतकर्ताले अन्य बचत योजनाभन्दा केही बढी ब्याज पाउने बताउँदै बैंकका कार्यकारी अधिकृत अनिल केशरी शाहले उक्त योजना पूर्णरुपमा प्रविधि केन्द्रित रहने जानकारी दिए । ‘युवालाई लक्षित गर्दै बचत गराउने उदेश्यले यो योजना सार्वजनिक गर्न लागेको शाहले बताए । युवाले बैंकिङ प्रविधिको पूर्ण प्रयोगबाट बचत गर्न पाउने उनको भनाइ छ । पछिल्लाे समय  बैंकले निक्षेपको ब्याज बढाउन नसकिरहेको अवस्थामा बैंकले सार्वजनिक गर्ने सो बचत योजनाले युवा निक्षेपकर्तालाई आकर्षित गर्न खाेजेकाे अनुमान लगाउन सकिन्छ ।

समूहमा काम गर्न पनि कठिन, प्रविधिकाे प्रयाेग गर्न पनि कठिन

नेपाल राष्ट्र बैंकको पछिल्लो विवरण अनुसार हाल नेपालमा ८७ वटा लघुवित्त संस्थाहरु सञ्चालनमा रहेका छन् । विशेष गरि बैंक तथा वित्तिय संस्थाहरुको पहुँच नपुगेको, भौगोलिक, आर्थिक, तथा सामाजिक रुपले पिछडिएका वर्ग र समूदायका मानिसहरुलाई बैैंकिङ् सेवा उपलब्ध गराउंदै गरिबी निवारण गर्ने उद्देश्यका साथ यस्ता संस्थाहरुको स्थापना र सञ्चालन गर्ने गरिन्छ । मुख्य रुपमा यस्ता लघुवित्त संस्थाहरुले भौतिक सम्पति धितो दिन नसक्ने मानिसहरुको समूह गठन गराई सामूहिक जमानीमा विविध आयमूलक परियोजना सञ्चालनको लागि कर्जा उपल्ब्ध गराउँदछ । नेपालको सन्दर्भमा भने विपन्न वर्गका महिलाहरुलाई मात्र समूहमा सदस्यको रुपमा लिने गरिएको छ । जहाँ सामूहिक जमानीमा कर्जा उपल्ब्ध गराईन्छ भने सामूहिक जिम्मेवारिमा नै कर्जाको असुली र भुक्तानी गर्ने गराउने गरिन्छ । अर्को शब्दमा भन्नुपर्दा कर्जाको लागि भौतिक सम्पति धितो आवश्यक पर्दैन, समूह नै धितोको रुपमा रहेको हुन्छ । कार्य सञ्चालनको क्रममा समूहलाई “केन्द्र” भन्ने गरिन्छ । नेपाल राष्ट्र बैंकको पछिल्लो विवरण अनुसार हाल नेपालमा ८७ वटा लघुवित्त संस्थाहरुले ३ हजार ८ सय ३ वटा शाखा कार्यालयमार्फत २ खर्ब ५६ अर्व ३१ करोड ९४ लाख २७ हजार रुपैयाँ बराबरको कर्जा बिपन्न वर्गमा प्रवाह गरेका छन् । कर्जा प्रवाह मात्र होइन कि लघुवित्त संस्थाहरुले समूदायमा बचत परिचालन, वित्तिय साक्षरता, सिपमूलक तथा आयमूलक तालिम, सूचना, शिक्षा र जानकारी सम्बन्धि विविध कार्यक्रमहरु पनि सञ्चालन गर्ने गर्दछन । लेखक लगानी योग्य रकमको ब्यवस्थाको लागि माथिल्लो दर्जाका बैंकहरुसंग निर्भर रहेका लघुवित्त संस्थाहरुको स्थापना, सञ्चालन, नियन्त्रण तथा नियमन बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन अनुसार नै हुने भएतापनि कार्यप्रकृतिको आधरमा लघुवित्त संस्थाहरु अन्य बैंक तथा वित्तीय संस्थाभन्दा अलि भिन्न छन् । अन्य बैंक तथा वित्तीय संस्थाहरुको सेवा प्राप्तिको लागि ग्राहक सम्बन्धित संस्थाको कार्यालयमा नै जानुपर्ने हुन्छ भने लघुवित्त संस्थाहरु सेवा प्रवाहको लागि समुदाय तथा ग्राहकको घरदैलोमा नै जाने गर्दछन । यसरी सेवा प्रवाहको लागि कर्मचारी समूदाय तथा ग्राहकको घरदैलोमा जाने कार्यलाइ बैंक शब्दमा “फिल्ड” भनिन्छ । सेवा प्रवाहको लागि फिल्डमा जाने कर्मचारीले एउटा बैंकको ग्राहक सेवा विभागको अलवा सबै विभागहरुले दिने सम्पूर्ण सेवा र जानकारीहरु समुदायमा नै उपलब्ध गराउँछन । यसै कारणले गर्दा लघुवित्त संस्थाहरुको करिब ९० प्रतिशत काम कार्यालयमा नभइ फिल्डमा हुनुका साथै, पुँजीको लागत, कर्जाको ब्याजदर र संचालन खर्च अन्य बैंकभन्दा तुलनात्मक रुपमा केहि उच्च हुने गर्दछ । नेपालमा ८७ वटा लघुवित्त संस्थाहरुले ३ हजार ८ सय ३ वटा शाखा कार्यालयमार्फत २ खर्ब ५६ अर्व ३१ करोड ९४ लाख २७ हजार रुपैयाँ बराबरको कर्जा बिपन्न वर्गमा प्रवाह गरेका छन् । कर्जा प्रवाह मात्र होइन कि लघुवित्त संस्थाहरुले समूदायमा बचत परिचालन, वित्तिय साक्षरता, सिपमूलक तथा आयमूलक तालिम, सूचना, शिक्षा र जानकारी सम्बन्धि विविध कार्यक्रमहरु पनि सञ्चालन गर्ने गर्दछन । यी कुराहरुबाट थाहा हुन्छ कि केन्द्र अथवा समूह लघुवित्त संस्थाहरुको मुटु हो । केन्द्र अथवा समूहबिना लघुवित्त संस्थाहरु बाच्न अर्थात सञ्चालन हुन सक्दैनन् । कोरोना भाइरसले महामारीकाे रूपमा सृजित समस्या लघुवित्त संस्थाहरुले पनि गतिविधि तथा कारोबार संचालन गर्न सकिरहेका छैनन् । किनकि यस्ता संस्थाहरुको काम कारोबारहरु व्यक्तिगत रुपमा कार्यालयमा भन्दा पनि समूदायमा समूहमार्फत मात्र हुने गर्दछ र सेवा प्रवाहको लागि कर्मचारी फिल्ड जान सक्ने अवस्था पनि छैन । हालसम्म कोरोना भाइरसको कुनै पनि औषधि पत्ता लाग्न सकेको छैन । बैज्ञानिक तथा स्वास्थ्यकर्मीका अनुसार यो रोगको संक्रमण हुनबाट जोगिनु नै यसको एउटै मात्र उपचार हो । जसको लागि बारम्बार साबुन पानीले हात धुने, सम्भव भए स्यानिटाइजर तथा व्यक्तिगत सुरक्षाका सामग्रीको प्रयोग गर्ने तथा सामाजिक दूरी कायम गर्ने जस्ता विविध कार्यलाई सुरक्षा कवचको रुपमा लिईन्छ । एकातिर कारोबार तथा कार्यसंचालनको लागि अन्य बैंकभन्दा लघुवित्त संस्थाहरु प्राविधिक रुपमा कमजोर रहेका हुन्छन् भने अर्कोतिर प्राविधि उपलब्ध गराएता पनि बिपन्न वर्गका ग्राहकले त्यसको प्रयोग गर्न जानिरहेका हुँदैनन् । यस्तो अवस्थामा लघुवित्त संस्थाहरुलाई चाहेर पनि अन्य बैकहरुले जस्तो डिजिटल बैंकिग प्राविधिमार्फत प्रवाह गर्न र गराउन निकै कठिन भइरहेको छ । काम कारोबारको लागि सामूहिक घुलमिल र समूदाय मात्रै आधार भएको साथै संक्रमणबाट बाँच्न र बचाउनका लागि राख्नुपरेको सामाजिक दूरीका कारण यस्ता संस्थाहरुको कारोवार प्रायः ठप्प नै रहेको अवस्थामा एकातिर व्यावसायिक गतिशिलतालाई निरन्तरता दिदै ब्यावसायिक जोखिम न्युनिकरणको लागि सुरक्षात्मक तरिकाबाट पूर्ण रुपले कारोबार सूचारु राख्न पनि कठिन नै देखिन्छ । हुन त नेपालको १२ वर्षे सशस्त्र युद्ध जस्तो संक्रमणकालिन परिस्थितिको सामना गर्दै आएका र मूनाफाको हिसाबमा केहि बाणिज्य बैकलाई समेत टक्कर दिदै आएका लघुवित्त संस्थाहरुको हालको परिस्थिति भने फरक छ । एकातिर कारोबार तथा कार्यसंचालनको लागि अन्य बैंकभन्दा लघुवित्त संस्थाहरु प्राविधिक रुपमा कमजोर रहेका हुन्छन् भने अर्कोतिर प्राविधि उपलब्ध गराएता पनि बिपन्न वर्गका ग्राहकले त्यसको प्रयोग गर्न जानिरहेका हुँदैनन् । यस्तो अवस्थामा लघुवित्त संस्थाहरुलाई चाहेर पनि अन्य बैकहरुले जस्तो डिजिटल बैंकिग प्राविधिमार्फत प्रवाह गर्न र गराउन निकै कठिन भइरहेको छ । १२ वर्षे सशस्त्र युद्ध र संक्रमणकालिन अवस्था मानव निर्मित र केहि हदसम्म मानव नियन्त्रित थियो भने हालको कोरोना संक्रमण मानव निर्मित र नियन्त्रित नभई प्राकृतिक विपत्ति र महामारीको रुपमा रहेको छ । अवस्था यस्तै रह्यो भने लघुवित्तको मोडेलमा नै परिवर्तन गर्नुपर्ने अवस्था आउन पनि सक्दछ । यस्ता संस्थाहरुले विपन्न वर्गलाई विविध आयमूलक परियोजना संचालन गराई उनीहरुको जीवनस्तर उकास्ने उद्देश्यले कर्जा लगानी गरेका हुन्छन् । तर हाल देखापरेको कोरोना भाइरसको विश्वव्यापी महामारिको कारणले तथा यसको रोकथाम र नियन्त्रणको लागि लागू गरिएको बन्दाबन्दी (लकडाउन) को कारणले गर्दा विपन्न वर्गले पनि आफनो गतिविधि संचालन गर्न पाईरहेका छैनन् भने विपन्न वर्गसंग बैकल्पिक आयश्रोत पनि रहेको हुँदैन । साथै यस्ता समुदायको जीवनस्तर आंशिक रुपमा वैदेशिक रोजगार र रेमिट्यान्समा निर्भर भएतापनि हाल त्यो पनि बन्द रहेको छ । जसले गर्दा चाहेर पनि कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्न सक्ने अवस्था छैन । स्थिति सामान्य भएपछि पनि विपन्न वर्गले आफनो गतिविधि संचालन गरि पुरानै अवस्थामा फर्कन केहि समय लागेता पनि कर्जाको दोहोरोपना, बहुबैंकिग र लघुवित्त संस्थाहरुको अस्वस्थ प्रतिस्पर्धाको कारणले गर्दा लघुवित्त संस्थाहरुमा दीर्घकालिन समस्या आउन सक्ने देखिन्छ । हालको अवस्थामा लघुवित्त संस्थाहरुले आर्थिक कारोबार भन्दापनि ग्राहक सदस्यसँगको निरन्तर टेलिफोन सम्पर्क, संवाद तथा हालचाल बुझ्ने जस्ता कार्यहरुले ग्राहक सम्बन्ध उच्च बनाउँदै मनोबैज्ञानिक रुपमा केहि हदसम्म आउन सक्ने समस्यालाई न्यूनिकरण गर्नु प्रयत्न गर्नुपर्ने देखिन्छ । यसरी अर्थतन्त्रको एउटा हिस्सा ओगटेको र गरिबी निवारणको एउटा अचुक अस्त्रको रुपमा रहेको लघुवित्त क्षेत्रको भावी दीर्घकालिन समस्याको समाधानको लागि नियमनकारी निकायले पनि बेलैमा ब्यवहारिक तथा स्पष्ट नितिगत ब्यवस्थाका साथ उपायहरुको खोजी गर्नु पर्ने देखिन्छ । (लेखक हाल निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडमा कार्यरत छन् ) [email protected]

शनिबार उपत्यकामा मात्र थप ५ जनामा कोरोना पुष्टि

काठमाडौं । शनिवार काठमाडौं उपत्यकामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भक्तपुरमा १ जना र काठमाडौंमा ४ जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिए । राष्टिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौं महानगरपालिका निवासी ३१, ३५ वर्षीया महिला र ३६ र ४६ वर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै भक्तपुर कमलविनायककी ३१ वर्षीया महिला रहेको मन्त्रालयले जानकारी दिएको छ । आजमात्र ३ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म नेपालमा ३ हजार २ सय ३५ जना कोरोना संक्रमित छन् भने ३ सय ६५ जना उपचारपछि कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै १३ जनाको मृत्यु भइसकेको छ ।

सेती अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना, मृतकको संख्या १३ पुग्यो

काठमाडौं । सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलन उनको शुक्रबार डायलाइसिसका क्रममा मृत्यु भएको हो, तर पिसिआर परीक्षणका क्रममा कोरोना पोजिटिभ देखिएको बताए । धनगढी ४ की ५५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण देखिएका १३ जनाको मृत्यु भइसकेको छ । त्यस्तै डाेल्पाका ५८ वर्षिय पुरूषका पनि काेराेनाबाट मृत्यु भएकाे पुष्टि भएकाे छ ।  जेठ १८ गते नेपालगञ्ज – सुर्खेत – जुम्ला हुँदै डोल्पा पुगेका उनकाे घरमा क्वारेन्टिनमै बसेको अवस्थामा जेठ २० गते ती पुरूषको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार २ सय ८६ जना पुरुष र ३७ जना महिलामा संक्रमण देखिएको हो । नेपालमा संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको प्रवक्ता डा देवकोटाले जानकारी दिए । त्यस्तै ३ सय ६५ जना उपचारपछि निको भएका छन् । पछिल्ललो २४ घण्टामा ३२ जना उपचारपछि कोरोनामुक्त भएर घर फर्किएका छन् ।

थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ३ हजार २ सय ३५ पुग्याे

काठमाडौं । शनिबार थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमाध्ये २ सय ८६ जना पुरुषहरु र ३७ जना महिलाहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकाेटाले बताएका छन् । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ३ हजार २ सय ३५  पुगेकाे मन्त्रालयले जानकारी दिएकाे छ । काेराेना संक्रमणबाट मुक्त भइ शनिबार मात्र ३२ जना घर फर्किएका छन् । हालसम्म ३ सय ६५ जना काेराेना संक्रमणमुक्त भइसकेकाे मन्त्रालयका प्रवक्ता डा. देवकाेटाले जानकारी दिए । त्यस्तै कैलाली र डाेल्पामा मृत्यु भएका २ जनाका काेराेना पुष्टि भएको छ । याेसँगै कोरोना संक्रमणका कारण नेपालमा ज्यान गुमाउनेहरुको सख्या पनि १३ पुगेको छ ।

एकवर्षमा ४० प्रतिशत जनसंख्या र ३ वर्ष भित्र सवै नेपालीमा स्वास्थ्य बीमा पुर्याउने लक्ष्य असम्भव हैन

स्वास्थ्य क्षेत्रमा सरकारले आफ्नो लगानी बढाउँदै लगेको छ । यस्तै स्वास्थ्य बीमामा पनि सरकारले आफ्नो लगानी बढाएको छ । तीन वर्षभित्रमा सबै नेपालीहरुको स्वास्थ्य बीमा गर्ने महत्वकांक्षी कार्यक्रम सरकारले घोषणा गरेको छ । आगामी आर्थिक वर्षको लागि सरकारले ७ अर्ब ५० करोड बजेट स्वास्थ्य बीमाको लागि विनियाेजन गरेकाे छ । एकतिर सरकारले स्वास्थ्य बीमा बोर्ड मार्फत आफ्नो कार्यक्रमहरु अगाडि बढाएको छ भने अर्कोतर्फ निजी बीमा कम्पनीहरुले सरकारले बेग्लै कार्यक्रम चलाएको प्रति केही असन्तुष्ट व्यक्त गर्दै आएका छन् । प्रस्तुत छ यही विषयमा केन्द्रित रहेर  स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेश कुमार पोखरेलसँग गरिएको विकास वहस । स्वास्थ्य बीमामा सरकारले विनियोजन गरेको ७ अर्ब ५० करोडले मानिसहरुलाई कसरी फाईदा पुग्छ ? म सबैभन्दा पहिला स्वास्थ्य बीमा कार्यक्रमको बारेमा बताउन चाहान्छु । जब नेपालको संविधान २०७२ आयो तब सरकारले स्वास्थ्य सेवालाई मौलिक अधिकारको रुपमा परिभाषित गर्यो । त्यसमा राज्यले सबै आधारभूत स्वास्थ्य सेवाहरु निःशुल्क गर्ने भनेको छ । त्योभन्दा माथिका जति पनि सेवाहरु छन् त्यसलाई बीमाको माध्यमबाट उपलब्ध गर्ने बतायो । त्यसअनुसार कानुन बनेका छन्, कानुनी संरचनाहरु बनेका छन् । सरकारले स्वास्थ्य बीमा ल्याउनुको ३ मुख्य कारण छन् । एउटा भनेको स्वास्थ्यको पहुँच सर्वसुलभ बनाउनु, दोस्रो भनेको सबै नागरिकहरुलाई वित्तीय संरक्षण प्रदान गर्नु र तेस्रो भनेको स्वास्थ्य सेवाको गुणस्तर बढाउनु रहेको छ । सँगसँगै सामाजिक न्याय पनि यसको उदेश्य हो । यस बीमाले कुनै पनि नेपाली नागरिकलाई उसको स्वास्थ्य अवस्था, लिंग, उमेरको आधारमा भेदभाव गर्दैन । सरकारले विशुद्ध सामाजिक भावना बोकेर यो कार्यक्रम ल्याएको हो । सरकारले छुटाएको बजेटले कति प्रतिशत नागरिक लाभन्वित हुन्छन् र कुन क्षेत्र कसरी लाभान्वित हुन्छन् ? सरकारले यस वर्ष स्वास्थ्य बीमाको लागि उल्लेखनयि बजेट विनियोजा गरेको छ । यस अगाडिको हरेका आर्थिक वर्षमा सबै नागरिकमा स्वास्थ्य बीमाको पहुँच पुराउने भनेर बताउँदै आईएको थियो तर योसँग जोडिएको धेरै प्याकेजहरुको कार्यक्रमले गर्दा चाहिँ सबैमा यसलाई पुराउन सकिने अवस्था थिएन तर यसपाली चाहिँ त्यसलाई नै विशेष फोकस गरेर नेपाल सरकारले पनि स्वास्थ्य बीमालाई उच्च प्राथमिकतामा राखेको छ । निश्चित रुपमा सबै सर्वसाधारणहरुमा यसको लाभ पुग्ने मैले अपेक्षा गरेको छु । स्वास्थ्य बीमाको दायरा भित्र कति जनसंख्या आवद्ध भईसके ? हामी भौगोलिक रुपमा ५६ जिल्ला र ५४५ स्थानीय तहमा पुगेका छौं । यस्तै जनसंख्याका आधारमा हामी २८ लाख ५० हजार जनसंख्यामा पुगिसकेका छौं । यसमा हाम्रो अति विपन्न ७ लाख मानिस पनि संलग्न भईसकेका छन् । यस्तै परिवारमा भन्नुपर्दा ८ लाख २५ हजार परिवार हाम्रो यस कार्यक्रम आवद्ध हुनु भएको छ ।  यो कार्यक्रमले आज ४ वर्ष पार गरेको छ । चार वर्ष भनेको खासै लामो समय होईन । हामी अझै प्रारम्भिक चरणमा नै छौं । अहिलेसम्म हामीले जे हाँसिल गरेका छौं भौगोलिक र जनसंख्याको हिसाबले हाम्रो पहुँच राम्रै रहेको छ । यसलाई न्युन पनि भन्न मिल्दैन । अझ विविध कारणले हामी अपेक्षा अनुरुप बढ्न सकेका थिएनौं तर अब भने अवश्य बढ्नेछौं । बजेटमा ३ वर्षभित्र सबै नागरिकको पहुँचमा स्वास्थ्य बीमा पुराउने भनिएको छ तर सँगसँगै आगमी वर्ष सबै स्थानिय तहको ४० प्रतिशत जनसंख्यामा मात्र यसको पहुँच पुर्याउने भनिएको छ । आगामी आर्थिक वर्षमा ४० प्रतिशतमा पहुँच पुराएर बाँकी ६० प्रतिशतमा २ वर्षमा स्वास्थ्य बीमा कसरी पुर्याउन सकिन्छ ? यो हाम्रो लक्ष्य हेर्दा महत्वकांक्षी जस्तो लाग्छ तर यो असम्भव भने छैन । यसलाई हामीले निरपेक्ष ढंगले विश्लेषण गर्नुहुँदैन । किनभने हाम्रो कानुनले चाहिँ सबै नेपाली नागरिकमा यो अनिवार्य हो भनेको छ तर पनि हामी कसैले पनि कुनै पनि परिवारलाई बलपूर्वक स्वास्थ्य बीमामा सहभागी गराउन सक्दैनौं । हाम्रो स्वास्थ्य संस्थाको सेवामा सुधार हुने वित्तिकै यो हाम्रो लक्ष्य असम्भव भने छैन । स्वास्थ्य सेवाको गुणस्तर भन्नाले अस्पतालको पूर्वाधार, चिकित्सकहरु उपस्थिति, फार्मेसीमा औषधीको मौज्दात देखि ल्यावसम्म राम्रो प्रबन्ध गरिनुपर्छ । अहिले पनि हाम्रो आकडा हेर्ने हो भने कुल जनसंख्यामा हामी साढे १० प्रतिशतमा पुगेका छौं । यस्तै हामीले जुन जुन जिल्लामा कार्यक्रम संचालन गरेका छौं त्यस जिल्लाको डाटा हेर्ने हो भने हामी लगभग २१ प्रतिशतमा पुगिसकेका छौं । त्यसैले हामीलाई ४० प्रतिशतमा पुग्न त्यस्तो असम्भव छैन । सबै जनसंख्यामा स्वास्थ्य बीमा पुराउँदा सरकारको दायित्व कति थपिन्छ, रकमको हिसाबमा कति पैसा लाग्न सक्छ ? अब यसलाई ठ्याक्कै आंकलन गर्न त्यति सहज छैन । यसको विश्लेषण गर्नको लागि हामीलाई उच्च तहको एक्चुरी टिमको आवश्यक पर्दछ । बीमाङ्कीय विश्लेषणपछि यो कार्यक्रम टिकाउ राखिरहनको लागि हामीले कति जनसंख्यामा पुग्नुपर्छ, कति बीमा शुल्क तोकिनुपर्छ ? भनेर भन्न सक्छौं । बीमाङ्कीय मूल्याङकनको लागि हामी प्रारम्भिक एउटा चरणमा प्रवेश गरिसकेका छौं र ६ महिनाभित्रमा विश्लेषण तयार हुन्छ । अहिलेसम्म त हामीले यो कार्यक्रम नेपाल सरकारकै अनुदानमा चलाईरहेका छौं । हामीले ४ अर्बको हाराहारीमा बीमा शुल्क उठाएका छौं र ६ अर्ब खर्च भएको छ । यसको अर्थ हामी २ अर्बको हारहारीमा घाटामा छौं ।  यो बीमाको दायरा बढाउँदै लैजाने क्रममा हामी ५० प्रतिशतभन्दा बढी जनसंख्याको बीमा गराएपछि हामी टिक्न सक्छौं र ६० भन्दा माथि पुगेको अवस्थामा नेपाल सरकारले स्वास्थ्य बीमा कार्यक्रमको लागि अलगै पैसा हाल्नुपर्दैन । स्वास्थ्य बीमा बोर्डले स्वतन्त्र रुपमा स्वास्थ्य बीमा कार्यक्रम चलाउन सक्छ । त्यसको मतलब आगामी आर्थिक वर्षमा हामी ४० प्रतिशतमा पुग्छौं, त्यसपछि अर्को वर्ष हामी ६० मा त पुग्छौं पुग्छौं । त्यसपछि सरकारले स्वास्थ्य बीमामा अहिले जसरी अर्बौ रुपैयाँ लगानी गर्नु पर्दैन ? यसलाई एकदम निरपेक्ष ढंगले विश्लेषण गर्दा हतारो हुन्छ भन्छु म । यो सिर्फ मेरो एउटा रफ स्केच हो । यसको लागि धेर आधारहरु तय गर्नुपर्ने हुन्छ र यो मेरो एउटा सकरात्मक अनुमान हो । अहिले पनि बीमा कम्पनीहरुले भन्दा बढी बीमा शुल्क स्वास्थ्य बीमा बोर्डले उठाउँदै आएको छ । धेरै मानिसहरु आवद्ध भएसँगै तपाईहरुले बीमा शुल्क पनि घटाउनु हुन्छ होला नि ? स्वास्थ्य बीमा बोर्ड र निजी कम्पनीहरुबीच तुलना हुँदैन किनभने यो चाँहि सामाजिक उदेश्य बोकेर संचालन गरिएको सरकारको निकै महत्वपूर्ण काम हो । यसले खाली पैसा मात्र लिएर कार्यक्रम संचालन गरेको छैन । अहिले जति पनि बीमितहरु स्वास्थ्य बीमाको दायरामा ल्याएका छौं, त्यसमा २५ प्रतिशतभन्दा धेरैलाई निःशुल्क समावेश गरेका छौं । गरिबीको मुनिको हाम्रो जनसंख्या ७ लाखभन्दा बढि पुगिसकेका छ । यस्तै ७० वर्षभन्दा माथिको जनसंख्या ३ लाख बढी हुनुहुन्छ । उहाँहरुलाई पनि यो कार्यक्रममा निःशुल्क समावेश गरिएको छ । यस्तै विभिन्न दीर्घरोग लागेको व्यक्तिको परिवारलाई नै निःशुल्क बीमा गराईदिएका छौं । यस्तै कोही अशक्त व्यक्ति छ भने पनि उसको परिवारका सबैको स्वास्थ्य बीमा निःशुल्क गराईदिन्छौं । निजी क्षेत्रका कम्पनीले यस्तो कार्यक्रम गर्दैन । यसरी हामीले जुन वर्गबाट यो अनुदान उठाउँछौं त्यो पनि हामीले मुनाफा प्रयोजनको लागि खर्च गर्दैनौं । यो चाहिँ हामी जुन वर्गलाई आवश्यक छ निःशुल्क बीमाको खाँचो छ त्यसलाई प्रदान गर्ने र बाँकी नेपाल सरकारले सहयोग गर्दछ । त्यसैले हाम्रो कार्यक्रम मात्र सामाजिक न्यायको भावना राखेर गरिएको हो त्यसैले हाम्रो तुलना निजी बीमा कम्पनीहरुसँग हुन सक्दैन । तर जब हामी जनसंख्याको ठूलो हिस्सालाई स्वास्थ्य बीमाको दायरामा ल्याउँछौं र अब टिक्छौं भन्ने अवस्थामा पुग्छौं तब पक्कै पनि अहिलेको बीमा शुल्कमा केही कम भएर जान सक्छ । तपाईले सामाजिक भावनामा सेवा दिनको लागि स्वास्थ्य बीमा कार्यक्रम चलाईरहेको छौं पनि भन्नु भयो । तर नाफामुखी संस्थाकोभन्दा बढी बीमा शुल्क बीमितसँग लिईरहनु भएको छ । यो त अलि नमिल्दो कुरा भएन ? अन्य संस्थाले पनि हामीले जस्तै ३० देखि ३५ प्रतिशत जनसंख्यालाई निःशुल्क बीमा गराएको अवस्थामा पो हामीसँग दाँज्न मिल्छ । कुन चाहिँ निजी संस्थाले उनीहरुले गरेको बीमित मध्ये ३५ प्रतिशतको बीमा निःशुल्क गरेको पाउनुहुन्छ ? हामीले योगदान गर्ने वर्गको रकम योगदान गर्न नसक्नेलाई हस्तानतरण गर्ने हो । एउटा सामाजिक न्यायको दृष्टिकोण भनेको त्यो हो । हामीले यसको विभिन्न मोडल अपनाउन सक्थ्यौं तर अहिलेको हाम्रो मोडल सामाजिक स्वास्थ्य संरचना नै हो । यसमा हुनेखानेले योगदान गर्ने हो र गरिबहरुले यसको प्रयोग गर्ने हो । अरुहरुको त जति ठूलो जोखिम त्यति धेरै प्रिमियम भन्ने रहको छ तर हामीले शारिरीक तन्दुरुस्ताको आधारमा बीमा शुल्क फरक तोक्दैनौ । स्वास्थ्य अवस्थाको आधारमा हामीले कसैलाई पनि भेदभाव गर्दैनौं । हामीले उठाउने रकम कार्यक्रमलाई टिकाउने र हाम्रो परिचालित कर्मचारीको लागि तलबहरुको व्यवस्था गर्नलाई मात्र हो । यसमा कुनै मुनाफा राखेर बोनस बाँड्नको लागि संचालित कार्यक्रम होइन । नेपालमा आयस्तरको आधारमा मान्छेहरुको पहिचान स्पष्ट रुपमा छैन । तपाईहरुले यो मान्छे विपन्न हो योसँग रकम लिनुहुन्न र यो सम्पन्न हो योसँग रकम लिनुपर्छ भनेर कसरी छुटाउनु हुन्छ ? नेपाल सरकार, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले गरिबीको पहिचान भन्ने ठूलो एउटा कार्यक्रम चलाईरहेको छ । उहाँहरुले विपन्न नागरिकको पहुँचको सर्वेक्षण आफैले गर्नुहुन्छ र त्यसै अनुसार वर्गिकरण गर्नुहुन्छ । नेपाल सरकारको मातहतमा रहेको कार्यक्रमले पक्कै पनि केही वैज्ञानिक आधारमा वर्गिकरण गरेको हो भन्ने विश्वासका साथ त्यसैलाई आधार मानेर हामीले मानिहरुलाई बीमाको दायरामा ल्याउँदै आएका छौं । हामीले त्यसमा पनि अति विपन्नलाई निःशुल्क बीमा गरेका हौं । स्वास्थ्य बीमा कार्यक्रम भित्रको एउटा उदेश्य स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउँदै लैजाने पनि छ । अहिलेसम्ममा स्वास्थ्य सेवाको गुणस्तरमा कति सुधार भयो ? यो सुधारहरु क्रमिक रुपमा हुँदै जाने कुराहरु हुन् । स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुने सरकारी तथा निजी, सामुदायिक जुनसुकै स्वास्थ्य संस्थाहरुले सरकारले बनाएका, हामीले बनाएका मापदण्ड पुरा गर्नुपर्छ । अस्पतालहरु हाम्रो मापदण्ड पुरा गर्दै जाने बित्तिकै स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि आउँदछ । जबसम्म कुनै संस्था मापदण्ड पुरा गर्ने अवस्थामा हुँदैन हामी उहाँहरुसँग सम्झौता पनि गर्दैनौं । हाम्रो स्वास्थ्य क्षेत्रमा अपेक्षा र सेवा प्रवाहबीच केही ग्याप रहेका छन । त्यो ग्याप पुरा गर्ने हामीलाई समय लाग्छ किनभने हामी आफैं पनि शुन्यबाट सुरु भएका हौं र आज यो स्थानमा छौं । म आफैं पनि उहाँहरुको गुणस्तर धेरै राम्रो छ भनेर भन्न सक्दिन तर त्यो विस्तारै सुधार भएर जाने अपेक्षा भने राख्दछु । बीमितहरु स्वास्थ्य संस्थाहरुबाट पाएको सेवामा सन्तुष्ट व्यक्त गर्छन् ? यसमा पनि २/३ वटा पाटाहरु छन् । यसलाई पनि हामीले निपेक्ष ढंगले नहेरेर तुलनात्मक ढंगले हेर्नुपर्छ । हामीले यसको सर्वक्षण ठ्याक्कै गर्न सकेका छैनौं । धेरै मिडियाहरुबाट पनि यसबारे समाचार आएका छन् । सानो सानो सर्वेक्षणहरु पनि भएका छन् । यसरी हेर्दा कतै सन्तुष्टि छ भने कतै केही असन्तुष्टि छ । यसको राम्रो प्रभावकारिता मध्य पहाडी र पहाडी क्षेत्रमा देखिन्छ । यस्तै तराई, मधेसमा अझै पनि मानिसहरु सन्तुष्ट छैनन् । अति दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच कमजोर नै छ । तर यस स्वास्थय बीमाबाट निम्न मध्यम र मध्यम वर्गिय परिवारहरु सन्तुष्ट भएको देखिन्छ । काठमाडौं लगायत शहरी क्षेत्रमा स्वास्थ्य बीमा कहिले उपस्थित हुन्छ ? काठमाडौं, ललितपुर लगायतका १७ जिल्लामा हामी पुगेका छैनौं तर त्यहाँ पनि हामीले सुरु गर्ने लक्ष्य राखेका छौं । यो सबै क्रमिक रुपमा हुँदै जाने हो । जहाँ स्वास्थ्य संस्था, सेवाको पहुँच कम छ र गरिबी धेरै छ भने हामीले त्यस्तो स्थानलाई प्राथमिकतामा राखेका छौं । वार्षिक आयोजना बनाउँदा पनि हामीले त्यस्तो विषयलाई प्राथमिकता दिएर कार्यक्रम बनाउँछौं । बीमितहरुको बीमा लेख नविकरणको अवस्था कस्तो छ ? लकडाउन अगाडि बीमा नविकरण दर प्रतिशत ७५ थियो र अहिले आउँदा पनि त्यो दरमा खासै कमी भने आएको छैन । तर बीचमा लकडाउनको कारण कतिसँग प्रिमियम तिर्ने पैसा नै नहोला, कति रोजी रोटी पनि व्यवस्था गर्ने गाह्रो अवस्थामा पुगेका छन् । साथै हाम्रा अभिकर्ताहरु पनि परिचालित हुन नसक्दा यसमा केही कमी भविष्यमा भने देखिएला । अब संसारको कुनै पनि बीमा कार्यक्रम शत प्रतिशत नविकरण त हुँदैनन् । तर सरकारले अनुदान दिएर सञ्चालन गरेको कार्यक्रम, सामाजिक न्यायसहितको कार्यक्रममा नविकरण दर ७५ प्रतिशत त निकै कम होइन र ? हाम्रो लक्षित वर्गको पुनः सुचारु गर्न दर हेर्ने हो भने करिव ९० प्रतिशत रहेको छ तर बीमा शुल्क तिर्नेहरुको नविकरण दर भने केही कम नै छ । स्वास्थ्य सेवाको पहुँच वृद्धिसँगै स्तरवृद्धि पनि हुँदा जाँदा जनसहभागिता र नविकरण दुबै बढ्छ भन्ने हाम्रो विश्वास हो । अहिलेको नविकरण अवस्थालाई पनि नराम्रो मान्न सकिदैन । नविकरण दर घट्दो छ कि बढ्दो छ ? १६ महिना अगाडी म आउँदा यसको नविकरण दर घटेर ६० प्रतिशतभन्दा तल झरेको थियो । आहिले आएर यो ७५ प्रतिशत पुगेको छ । तर अहिले आएर लकडाउनले केही असर गर्ला भन्ने छ । कोरोना संक्रमितहरुले स्वास्थ्य बीमाबाट केही लाभ पाउँछन् कि केही पनि पाउँदैनन् ? यदि हाम्रो बीमितहरु कोही पनि कोरोना संक्रमित हुनुभएको छ भने हामीले उहाँहरुको लागि बीमाको रकम खर्च गर्ने प्रावधान मिलाउँछौं । तर अब सरकारले पनि सबै निःशुल्क गरिदिएको छ, सरकारले नै तिरेको छ भने स्वास्थ्य संस्थाले बीमा दावी नै गर्दैनन । यदि बिरामी कुनै निजीमा उपचार गराउन चाहानुहन्छ भने हामी उहाँलाई रकम उपयोग गर्न दिन्छौं । तपाईहरुले सञ्चालन गरेको स्वास्थ्य बीमाको पुनर्बीमा भएको छैन । यसको जोखिमलाई तपाईहरुले कत्तिको विश्लेष्ण गर्नुभएको छ ? हाम्रो सबैभन्दा ठूलो बीमक भनेको नेपाल सरकार हो, पुनर्बीमक पनि सरकार नै हो । यो कार्यक्रम जोखिममा आधारित होइन, यो सामाजिक न्यायमा आधारित हो । यो सामाजिक सुरक्षाको महत्वपूर्ण भाग हो । हामीले जोखिमको आधारमा कहिले पनि प्रिमियम चार्ज गर्दैनौं । हाम्रो लागि सबै बीमितहरु समान हुन् । चाहे एउटा मृत्यु शैयामा रहेको एउटा बीमित होस् वा क्यान्सरको उपचारको गराईरहेको बीमित होस् वा सामान अवस्था भएको बीमित होस् । त्यसैले यो जोखिममा आधारित बीमा नै होइन । त्यसैले यसको पुनर्बीमा हुनुपर्छ जस्तो लाग्दैन । अहिलेको अवस्थामा पुनर्बीमा आवश्यक पनि म दख्दिन तर समयसन्दर्भ हाम्रो यो दायर बढ्दै जाने हो भने नियमक संस्थाको पनि जरुरी पर्ला । निजी क्षेत्रले गर्दै आएको सबै स्वास्थ्य बीमा स्वास्थ्य बीमा बोर्डको कार्यक्षेत्र बन्न पनि सक्छ । बीमा कम्पनीहरुले नै स्वास्थ्य बीमा गर्ने, स्वास्थ्य बीमा बोर्डले सबै किसिमका स्वास्थ्य बीमालाई सहजीकरण गर्ने भूमिका हुन पनि सक्छ । व्यवसायिक कम्पनीहरुले जोखिमको आधारमा बीमा गर्दा पुर्नबीमा पनि आवश्यक पर्नसक्छ । स्वास्थ्य बीमा बोर्ड बीमा समितिको नियामकीय क्षेत्रभित्र जाने अवस्था आएको हो ? बीमा समिति एउटा जीवन र निर्जीवन बीमा कम्पनीहरुको व्यवसायलाई परिचालन गर्ने नियामक हो । उक्त संस्था हामीभन्दा निकै नै पृथक छ । उनीहरुसँग हाम्रो कुनै सम्बन्ध छैन । तर यसै वर्ष हामीले ४० प्रतिशत मानिसलाई स्वास्थ्य बीमा सेवा दियौं, अर्को वर्ष ६० प्रतिशतभन्दा बढी होला, त्यतिखेरा यो क्षेत्रमा पनि विकृतिहरु जन्मन सक्छन् । त्यसको नियमन आवश्यक पर्ला । त्यतिबेला हामीले अपरेशनको जिम्मा अरुलाई दिन पनि सकिन्छ र हामी नै नियामक रुपमा बन्न पनि सक्छौं । सरकारले बीमा प्रधिकारण ऐन पनि ल्याउँदै छ र त्यसअन्तर्गत स्वास्थ्य बीमा पनि पर्छ भन्यो भने हामीले पनि सरकारको निर्णय स्वीकार गर्नुपर्छ । तर अहिलेको परिवेशमा हामी बीमा समिति नियामकीय दायरामा जानु पर्ने अवस्था छैन । भिडियाे हेर्नुहाेस् ।