विकासन्युज

कर्णाली प्रदेशका थप ७ जना कोरोनामुक्त

सुर्खेत । कर्णाली प्रदेशका ७ जना कोरोना सङ्क्रमित उपचारपश्चात् शुक्रबार घर फर्केका छन् । कर्णाली प्रदेशमा अस्पताल सुर्खेतमा उपचार गराइरहेका उनीहरु कोरोना जितेर घर फर्केका हुन् । दास्राे परीक्षणमा कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काइएको कर्णाली प्रदेश अस्पतालले जनाएकाे छ । कोरोना रोग निको भएर घर फर्कनेमा दैलेख महाबु गाउँपालिकाका १ र ६ जना सुर्खेतको रहेका छन् । काेराेनासँगकाे लडाइ जितेर घर फर्किनेमा वीरेन्द्रनगर नगरपालिका–१ धारापानीका १६ वर्षीय उमेश कठायत, वडा नं ३ तातापानीका २६ वर्षीय यामराज सोनी, वडा नं ८ का १७ वर्षीय लक्ष्मण राना, वडा नं ४ का ३७ वर्षीय धनबहादुर बस्याल, वडा नं ९ लाटीकोइलीका ११ वर्षीय रमेश सुनार र महाबु गाउँपालिका–१ दैलेखका २६ वर्षीय दीपक सावन रहेका छन् । त्यस्तै एक महिला पनि काेराेनामुक्त भएकाे अस्पतालले जनाएकाे छ । कर्णाली प्रदेशमा हालसम्म ४ सय ८९ जनामा काेराेना पुष्टि भएकाे छ भने २ जनाकाे मृत्यु भएकाे छ ।

ठूलो मान्छे होईन्, असल मान्छे बनौ

लेखक कसैले तपाईँ त ठूलो मान्छे हुनुभाे, हाकिम हुनुभो भनेर ठूलो बनाइदिए, कसैले हजूर प्रख्यात साहित्यकार , बरिष्ठ पत्रकार, बरिष्ठ राजनीतिकर्मी भनेर फुलाइ दिए । हामी बेलुन झै फुलिरहयौ । उनीहरुले फुलाउदै गएँ, कहिले काही रिसको झोकमा र झगडाको आवेशमा ‘म को हो तैले मलाई चिनेको छस’ भन्दै आफैले आफैलाई स्यंम ठूलो हुनुको आभास गरायाैं । के हामी साच्चै ठूला भएकै हुम त ?  ठूलो मान्छे कसलाई भन्ने ?  कसरी बन्ने ठूला मान्छे ? एक पल्ट बाल्यकालमा आफूले आफैलाई लगेर हेरौं त । दशैमा बा आमासँग आर्शिबाद थाप्दा आशिष स्वरुप ठूलो मान्छे बनेस,आफू भन्दा अग्रजलाई नमस्कार गर्दा वा ढोग्दा त पछि ठूलो भएस, स्कूलमा शिक्षकले ठूलो मान्छे हुनुपर्छ है भनेर भन्दै गर्दा र उ ठूलो मान्छे हो बाबु, ठूलो-मान्छेसँग झगडा गर्न हुदैन, मुख मुखे लाग्न हुदैन भनेर बाल्यकालमा कयौपल्ट सुनिरहेकै हो । बाल्यकालमा आफूभन्दा अग्रजहरुले ठूलो मान्छेको एउटा यस्तो परिभाषा थोपरिदिन्छन र बालकको टाउकोमा ठूलो मान्छेको गलत परिभाषा बिस्तरै बाल मनोविज्ञानमा पर्दै जान्छ र एउटा बालकमा बिस्तरै घमण्डी, अहंकारी र हो न हो म ठूलै मान्छे हु भन्ने भान पर्दछ । के हो त ठूलो मान्छे र कसरी बन्ने ? ठूलो मान्छे बन्नलाई आफूभन्दा अग्रजहरुबाट खारिएका अनुभबहरु सिकेर आफनो जीवनमा उर्तानुपर्दछ । ठूला ठूला गफ नगरी स-साना काम गरे पुग्छ । विद्यत प्राधिकरणले घर अगाडिको बत्ति फेरिदिएन् भन्दै टोलमा गुनासो गरेर घन्टौ समय बर्बाद गर्नु भन्दा मेरो पनि दायित्व छ भनेर सय रुपैयाको चिम आफैले लगाइदिए हुन्छ । नगरपालिकाले फोहर सफा गरेन बाटो दुर्गन्धित भो भन्नु भन्दा आफनो घर अगाडि आफैले झाढु लगाउदा के बिग्रन्छ ? देशको अर्थतन्त्र चौपट भो बर्बाद भो भन्नु भन्दा आफैले करेसा बारिमा पाँच वटा धनियाँ पात, दुइ वटा टमाटर अलिकति र्खोसानीको बोट रोप्दा के बिग्रिन्छ ? खाने अरु होइन आफै हो क्यारे । हामीले सरकारलाई कत्तिचोटि ठगेका छौ नि, भारतीय बोडरबाट सामान ल्यउदा घरको सामान हो भन्दै चेक पोस्टमा बसेका प्रहरीलाई घरायसी सामानमा पनि भन्सर लाग्छ  भनेर जिल्ल पारेकै हो । पसलबाट सामान किन्दा बरु बिल चाहिदैन डिस्काउन्ट चाहि गरिदिनु परो भनेर भनेकै हो । जग्गा किन्दा खरिद दाम भन्दा कम मूल्यङ्कन राखेर मालपोतबाट राजस्व ढाटेकै हो । घरमा भाडा लगाइ लगाइ मासिक आम्दानी गरेकै हो र घर वहाल कर छलेकै हो । के हामीले समयमै घर जग्गाको कर तिरेका छौ त ? हामीले व्यापार व्यवसाय गर्दा दर्ता गरेर खोलेका छौ त ? राज्य मेरो हो भनेर राज्यको सम्पति सार्वजनिक सम्पति जस्तै मठ, मन्दिर, जग्गा, बाटो, नाला, वनजगंल आदि चाहि हामीले कत्तिको सुरक्षित राखेका छौ नि ?  सरकारले दिने सुविधाहरु जस्तै गरिबले पाउने राहतमा हामी आफै लाइन पो लागेका छौ कि ? अनुदान पनि पहुँच लगाएर हामीले पो उपभोग गरेका छौ कि ?  सबै कुरामा राज्को मुख मात्र ताकेर निरास हुनु भन्दा आफनो ठाँउमा आफूले चाहि के गरेका छौ ? हामी कानुनी राज्य, असल न्यायलय र  सम्पन्न शान्ति देशको आशा गर्दछौ तर के हामी चाहि कति असल छौ ? के हामीले असल नागरिक हुनुको पूर्ण दायित्य निभाएका छौ त ? हामी आफूलाई अरुले ठूलो मान्छे भनिदिए हुन्थ्याे भन्छौ । सरकारले यो गरिदएन त्यो गरिदिएन भन्छौ । ठूलो मान्छे नबनौ जिम्मेवारी र सभ्य नागरिक र असल मान्छे बनौ । बिराटनगर-५, माेराेङ [email protected]

हवाई उडानमा नयाँ मापदण्डः ज्वरो र खोकी लागेकालाई रोक

काठमाडौं । सरकारले वायु सेवा उडानमा संलग्न कम्पनीका लागि नयाँ हवाई उडान मापदण्ड ल्याएको छ । उडानपूर्व वायु सेवा सञ्चालकले जहाजलाई अनिवार्य रूपमा डिस्इन्फेक्ट (निर्मलीकरण) गर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड १९ को समयमा यसको सङ्क्रमण रोक्नका लागि जारी गरेको नयाँ मापदण्डमा यस्तो व्यवस्थालाई अनिवार्य गरिएको छ । मापदण्डमा हवाई सेवा प्रयोग गर्दा यात्रुले अवलम्बन गर्नुपर्ने नियम तथा वायु सेवा सञ्चालक, विमानस्थल सञ्चालक र भूमिस्थ सेवा संलग्न कर्मचारीले पालन गर्नुपर्ने नियम तथा सुरक्षाका उपाय समेटिएको छ । मापदण्डअनुसार खोकी, ज्वरो, सास फेर्न समस्या भएको तथा स्वाद र गन्ध थाहा नपाउने अवस्थाका व्यक्तिलाई उडानमा पूर्ण रूपमा निषेध गरेको छ । यात्रुले वायु सेवा सञ्चालकले उपलब्ध गराउने फाराम भरेर आफू पूर्ण रूपमा स्वस्थ भएको स्वघोषणा गर्नुपर्ने छ । (गोरखापत्र दैनिकबाट)

उद्योग क्षेत्रमा भित्रियाे ३ अर्ब लगानी

काठमाडाैं । बन्दाबन्दीको पछिल्लो एक महिनामा विदेशी तथा स्वदेशीको लगानी रहने गरी उद्योगमा पौने तीन अर्ब लगानी भित्रिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार एक महिनाका अवधिमा स्वदेशी ४ र विदेशी ११ गरी १५ उद्योगमा २ अर्ब ७४ करोड ९० लाख बराबरको लगानी स्वीकृत भएको छ । उद्योग विभागबाट ११ उद्योगमा ९२ करोड ७० लाख विदेशी लगानी र चार नयाँ उद्योगमा १ अर्ब ८२ करोड २० लाख स्वदेशी लगानी भित्रिएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै लगानी चीनबाट भित्रिएको छ । चीनबाट सात उद्योगमा ७२ करोड ७० लाख रूपैयाँ तथा भारत, दक्षिण कोरिया, नेदरल्याण्डस र मलेसियाबाट ५/५ करोड भित्रिएका छन् । उनका अनुसार मन्त्रालयले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा २० मा व्यवस्था भएको औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डको काममा सहयोग गर्न उद्योगमन्त्रीको संयोजकत्वमा उद्योग तथा लगानी क्षेत्रका प्रतिष्ठित व्यक्ति एवं सम्बन्धित क्षेत्रका विज्ञ रहने गरी एक उच्चस्तरीय औद्योगिक तथा लगानी नीति मञ्च गठन गरिएको छ । मञ्चलाई प्रचलित कानूनद्वारा बोर्डलाई तोकिएका कार्यका अतिरिक्त छिमेकी मुलुकको उद्योग तथा लगानीसम्बन्धी व्यवस्थाको अध्ययन गरी सिफारिस गर्ने एवं उद्योग तथा लगानी प्रवद्र्धनमा देखिएका क्षेत्रगत, प्रक्रियागत, प्रविधिगत सुधारका विषय, उद्योग र लगानी प्रवद्र्धनका लागि अर्थतन्त्रमा गर्नुपर्ने सुधार, रोजगारी अभिवृद्धि, उद्योग तथा लगानीको वातावरणीय पक्ष, प्रदेश तथा स्थानीय तहका उद्योग एवं लगानीसम्बन्धी विषयमा बोर्डलाई आवश्यक परामर्श तथा सुझाव दिन कार्यदिशा तोकिएको छ । रासस

पहिरोले भीमफेदी–कुलेखानी सडक अवरुद्ध

काठमाडौं । शुक्रबार बिहानैदेखि परिरहेको वर्षाका कारण पहिरो जाँदा हेटौँडादेखि काठमाडौँ जोड्ने सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । भीमफेदी गाउँपालिका–६ मा पर्ने उक्त सडकखण्डमा शनिबार बिहान खसेको पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिए । हेटौंडाबाट काठमाडौं जोड्ने छोटो दूरीको उक्त सडकमा खसेको पहिरो पन्छाउने प्रयास भइरहेको समेत प्रहरीले जनाएको छ । रासस

रिसोर्टमा काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा ।  झापाको दमक नगरपालिका–२ स्थित हुम्सेदुम्से सामुदायिक वनभित्रको रिसोर्टमा काम गर्ने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सल्यान जिल्ला कालिमाटी गाउँपालिका–४ बस्ने २६ वर्षीय चित्रबहादुर ओली रहेका छन् । शुक्रबार दिउँसो रिसोर्टभित्र काम गर्ने क्रममा बा१क ८०९६ नंको जेसिबीले बिजुलीको तार छोइ करेन्ट लाग्दा उनी घाइते भएका थिए । घाइते ओलीलाई उपचारका लागि आम्दा अस्पताल दमक लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनी जेसिबीका सहचालक हुन् । उनको शव आम्दा अस्पताल दमकमा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक साकारराज पन्तले जानकारी दिए ।    रासस

सीमा विवाद वारे आज छलफल गर्दैछन् भारत र चीन

काठमाडौं । गत एक महिना देखि भारत र चीनका बीच चलिरहेको सीमा विवादलाई अन्त्य गर्नका लागि आज दुवै देशका बीच लेफ्टिनेन्ट जनरलस्तरको छलफल हुन गइरहेको छ । भारत र चीनका बीच वास्तविक नियन्त्रण रेखाको नजिक चुशूल–मोल्दोमा स्थित भारतीय बोर्डर प्लाइन्ट मिटिंग हटमा हुने आजको छलफल भारतको पहलमा हुन लागेको हो । उक्त दुवै देशका सैनिकहरु बीच पहिले पहिले तीन वर्षमा एकपटक जस्तो भिडन्त हुने गरेकोमा अहिले एक वर्ष भित्रैमा तीन पटकसम्म पनि झडपका घटना बाहिरिएका छन् । सीमा नजिक भारतद्वारा सडक बनाएको प्रति चीनले चित्त नबुझाउनु नै सो तानातानीको प्रमुख कारण मानिएको छ । भारत र चीन दुवैले करीब १ लाख ३० हजार वर्ग किलोमिटर क्षेत्रलाई परस्पर दावी गर्दै आइरहेको बताइएको छ । यी दुवै देशहरु आफ्नो आफ्नो क्षेत्रको १ इन्च मात्र पनि जमीन नछोड्ने अडानमा छन् ।

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना पुष्टि , संक्रमितको संख्या ७५

काठमाडौं । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १४ जना र भरतपुर अस्पतालमा ३ जना गरि शनिबार थप १७ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । जसमा स्याङ्जा जिल्ला वालिङ नगरपालिका निवासी ८ जना पुरुषहरु १६, १९, २३, २५, ३२, ४४, ५२, ५४ उमेरसमूहका र हरिनास गाँउपालिकाका १८, ४० वर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो ।  बाग्लुङ, ताराखोला गाँउपालिकाका ३९ वर्षिय पुरुष, कास्की जिल्ला रुपा गाँउपालिकाका २३, ३२ वर्षिय पुरुषहरु र पोखरा महानगरपालिकाका ५९ वर्षिय पुरुष रहेका छन् । त्यसैगरी भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा कोरोना पुष्टि हुने नवलपरासी, बिनय त्रिबेणी गाँउपालिका निवासी १८, १९, २७ वर्षिय पुरुष रहेका छन् । हाल सबै संक्रमितलाई  जिल्ला अस्पताल पुराउने तयारी भइरहेकाे गण्डकी प्रदेश काेराेना राेकथाम तथा  नियन्त्रण कार्यक्रमका निर्देशक डा. विनोद बिन्दु शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।