डब्ल्यूएचओले जारी गर्याे नयाँ दिशानिर्देशन, सार्वजनिक स्थानमा मास्क प्रयाेग गर्नैपर्ने
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मास्क लगाउनेबारे नयाँ दिशानिर्देशन जारी गरेको छ । स्वस्थ व्यक्तिले मास्क लगाउन नपर्ने बताउँदै आएको डब्ल्यूएचओले सामाजिक दुरी कायम गर्न सम्भव नहुने पार्वजनिक स्थानहरुमा मास्क लगाउन आग्रह गरेको छ । सार्वजनिक यातायात, बजार, शरणार्थी शिविर जस्ता स्थानमा जाँदा कम्तिमा कपडाको मास्क भए पनि लगाउन डब्ल्यूएचओले सबैलाई निर्देशन दिएको छ । डब्लुएचओको कोभिड–१९ सम्बन्धमा प्रमुख प्राविधिक विज्ञ डा.मारिया भान केर्खोभले कपडाको मास्क मात्रै लगाउँदा पनि कोरोना भाइरस मिसिएका थुकका छिटाहरुबाट जोगिन सकिने बताएकी छन् । यस अगाडी डब्लुएचओले संक्रमित व्यक्तिको नजिक जाने र संक्रमित व्यक्तिबाहेक अन्य स्वस्थ व्यक्तिले मास्क नलगाए पनि हुने बताउँदै आएको थियो । डब्ल्यूएचओको परिमार्जित सुझावमा स्वस्थ मानिसले पनि सार्वजनिक स्थानमा जाँदा वा घर बाहिर निस्कँदा सम्भावित संक्रमणबाट जोगिन अनिवार्य रुपमा माक्स लगाउनुपर्ने उल्लेख गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिने क्रमसँगै सबैले मास्क लगाउन थालेपछि विश्वभर मास्क अभाव भएको थियो । तर ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरुले भने मेडिकल मास्क लगाउर्नैपर्ने डब्ल्यूएचओले जनाएको छ ।
वाग्मती प्रदेशले स्वास्थ्यलाई प्राथमिकता दिने
हेटाैंडा । वागमती प्रदेशको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा प्रदेशको स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । कोरोनाले महामारीको रूप लिएपछि वाग्मती सरकारले बजेटमा समावेश गर्न यस्तो नीति तथा कार्यक्रम ल्याएको हो । वाग्मती प्रदेश सरकारले सङ्घीय सरकार र स्थानीय तहसँग समन्वय गरी निःशुल्क आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी र सुदृढ बनाउन स्वास्थ्य संस्थामा जनशक्ति, उपकरण तथा औषधिको उपलब्धता सुनिश्चित गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । प्रदेश मातहतका सबै जिल्ला आयुर्वेद केन्द्रलाई वैकल्पिक चिकित्सा सेवा, पञ्चकर्म तथा योग सेवासहित सुदृढीकरण गरिने र प्राकृतिक एवं वैकल्पिक चिकित्सा सञ्चालनका लागि प्रोत्साहन गरिने भनिएको छ । हेटौंडा अस्पताललाई स्तरोन्नति गरी ३ सय श्ययाको बनाउने नीति तथा कार्यक्रममा छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्न संस्थागत तथा संरचनागत व्यवस्था गरी शैक्षिक कार्यक्रम सञ्चालन गरिनेछ । भक्तपुर, सिन्धुली र त्रिशूली अस्पताललाई १ सय श्यया क्षमताको विशिष्टीकृत स्वास्थ्य सेवा प्रदायक अस्पतालका रूपमा स्तरोन्नति गरिनेछ । धादिङ र चौतारालाई ५० श्यया तथा रामेछाप र रसुवा अस्पताललाई २५ श्यया क्षमतामा स्तरोन्नति गरी सुदृढीकरण गरिनेछ । प्रदेशको अस्पताल नभएका जिल्लामा स्थानीय तहको सहमतिमा स्थानीय स्वास्थ्य संस्थालाई स्तरोन्नति गरी प्रदेश अस्पताल बनाइनेछ । वाग्मती सरकारले कोभिड–१९ को सङ्क्रमणबाट रोजगारी र उत्पादनमा परेको नकारात्मक प्रभावलाई न्यून गरी दिगो उत्पादकत्व, भरपर्दो वितरण सञ्जाल र उद्यमशीलताको विकास गर्न प्रदेश सरकारबाट दिइँदै आएको अनुदानलाई प्रभावकारी बनाउन बैंकिङ पद्धतिमार्फत न्यून ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरिने भनिएको छ । यसका लागि ऋण उपलब्ध गराउने वा ब्याज अनुदान दिने विषय कार्यविधि तर्जुमा गरी व्यवस्थित गरिने जनाइएको छ । रासस
सुदूरपश्चिम प्रदेशमा स्वाब सङ्कलन स्थगित
कञ्चपुर । सुदूरपश्चिममा कोरोना भाइरस परीक्षणका लागि थ्रोट स्वाब सङ्कलन स्थगन गरिएको छ । धनगढीको एक मात्रै प्रयोगशालामा क्षमताभन्दा बढी स्वाबका नमूना परीक्षणका लागि आउन थालेपछि ५ दिनका लागि स्वाब सङ्कलन कार्य स्थगन गरिएको हो । पिसीआर प्रयोगशालाको दैनिक जाँच क्षमता २ सय ५० मात्रै छ । परीक्षणका लागि आएका स्वाबका १ हजार ८३ नमूना परीक्षण गर्न बाँकी छन । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर डोटीका निर्देशक गुणराज अवस्थीका अनुसार दैनिक स्वाब सङ्कलन कार्य भइरहेको छ । यसरी नै स्वाब सङ्कलन भइरहने हो भने परीक्षण गर्नुपर्ने स्वाब धेरै दिन थन्किन सक्ने र धेरै दिनसम्म परीक्षण नगरी स्वाब राखेमा बिग्रने पनि सम्भावना भएकाले ५ दिनका लागि स्थगन गरिएको छ । प्रयोगशालमा परीक्षण गर्न बाँकी नमूना परीक्षणको कार्य सकिएपछि मात्रै स्वाब सङ्कलनको कार्य शुरु गरिने बताइएको छ । रासस
नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा
काठमाडाैं । नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८४ प्रतिशत काम सम्पन्न भएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ । लकडाउनले डेढ महिना रोकिएको काम पुनः तीव्र पारिएको हो । “अहिले धमाधम काम भइरहेको छ”, आयोजनाका सूचना अधिकारी इञ्जीनियर शिव खनालले भन्नुभयो, “असार मसान्तसम्म काम सम्पन्न हुन्छ ।” उहाँले कामदारको समस्या भए पनि स्थानीयस्तरबाट व्यवस्थापन गरेर कामलाई निरन्तरता दिएको बताए । उनका अनुसार सडकखण्डको नौ ठाउँमा पहिरो रोक्नका लागि तार, रडलगायतका सामग्री प्रयोग गरिएको छ । सडकखण्डको १५ किलो, १८ किलो, घुमाउने, भालुढुङ्गा, जलवीरे, चारकिलो, टोपेखोला र कालिखोला नजिक पहिरो रोकथामको काम भइरहेको खनालले बताए । नयाँ प्रविधिको उच्चतम प्रयोग गरेर ‘रकनेटिङ’, ‘बोल्टिङ’ र ‘बायो इञ्जीनियरिङ’ प्रविधिबाट पहिरो रोकथामको काम भइरहेको उनले जानकारी दिए । निर्माण कम्पनीले ३० हजार वर्गमिटर क्षेत्रमा पहिरो रोकथामको काम गर्नेछ । १४ करोड ९ लाख रूपैयाँ लागतमा पहिरो रोक्ने कामको जिम्मा बज्रगुरु हिमशिखर र न्यूटेक्निकल जेभीले पाएका हुन् । सामान्य अवस्थामा यो सडक हुँदै दैनिक १० हजार सवारी गुड्छन् । रासस
देशभरको मौसम सामान्यतय पूर्ण बदली भइ अधिकांश क्षेत्रमा वर्षा
काठमाडाैं । देशभर सामान्यदेखि पूर्ण बदली भइ अधिकांश क्षेत्रमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व, मध्य र पश्चिमका केही तथा मध्य पश्चिम र सुदूरपश्चिमका थोरै स्थानमा मध्यम वर्षा भएको जनाइएको छ । सबै क्षेत्रमा सामान्यदेखि पूर्ण बदली महाशाखाले जानकारी दिएकाे छ । निसर्ग आँधीको सामान्य प्रभाव रहेको र प्रभाव कम हुने क्रममा भए पनि न्यून चापीय क्षेत्रको प्रभावले मौसम बदली तथा वर्षा भएको मौसमविदकाे भनाइ छ । दिउँसाे अधिकांश क्षेत्रमा पूर्ण बदली रही बाँकी भू–भागको मौसम सामान्य बदली हुनेछ । देशभरका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र उच्च हिमाली भेगका हिमपातको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
इटालीलाई पछि पार्दै भारत उक्लियो सवैभन्दा बढि कोरोना प्रभावित राष्ट्रको छैठौं स्थानमा
काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या लगातार बढ्दै गइरहेको छ । २ लाख ३६ हजार भन्दा बढिमा कोरोना संक्रमण पाइएसँगै भारत इटालीलाई पछि पार्दै सबैभन्दा बढि कोरोना प्रभावित राष्ट्रको छैठौं स्थानमा उक्लिन पुगेको छ । हालसम्म त्यहाँ कोरोना संक्रमणका कारण ६ हजार ६ सयभन्दा बढिको मृत्यु भइसकेको छ भने १ लाख १३ हजारभन्दा बढि चाहिँ निको भएर घर फर्किसकेका छन् । हाल भारतमा कोरोनाको व्यापक फैलावटका बावजुद पनि लकडाउनलाई चरणबद्ध रुपमा अन्त्य गर्दै लान थालिएको छ ।
६८ लाख ३९ हजार मानिसमा कोरोना संक्रमण, मृतककाे संख्या ४ लाख नजिक
काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ६८ लाख ३९ हजार २ सय ४४ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ९७ हजार ४ सय ४१ जनाको मृत्यु भइसकेको छ भने ३३ लाख २९ हजार ८ सय ६५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख ११ हजार ३ सय ८५ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १९ लाख ६५ हजार ५ सय ५१ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २ लाख ३६ हजार १ सय ८४ पुगेको छ भने अहिलेसम्म ६ हजार ६ सय ४९ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म २ हजार ९ सय १२ जना संक्रमित भएका छन् भने ११ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ३ सय ३३ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
नेको इन्स्योरेन्सको साधारणसभा सम्पन्न, ८ दशमलव १६ प्रतिशत लाभांश पारित
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको २४ औ बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। कम्पनीको ज्ञानेश्वर भवन , काठमाडौंमा सम्पन्न बार्षिक साधारणसभाले गत आर्थिक बर्षको मुनाफाबाट ८ दशमलव १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ। कम्पनीले चालु आ.व. २०७६/०७७ को फागुनसम्ममा १ अर्व ४९ करोड १३ लाख १९ हजार ९७६ रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सोही अवधिमा आ.व. २०७५/०७६ मा १ अर्व २३ करोड ६३ लाख २४ हजार ८७ रुपैया बीमाशुल्क आर्जन गरेको थियो । शुक्रवार सम्पन्न कम्पनीको २४ औं वार्षिक साधरण सभामा उक्त कुराको जानकारी दिइएको हो । दोहोरो वित्तिय विवरण बनाउनु पर्ने प्रावधानका कारण संस्थाले नाफाको अत्याधिक हिस्सा दोहोरो व्यवस्थामा राख्नुपर्ने भएकाले यसवर्ष शेयरधनिलाई प्रदान गरिने लाभान्स केहि कम हुन गएको बताउँदै अध्यक्ष रमेश कुमार निरौलाले कम्पनीले दिएको प्रतिफल तुलनात्मक रुपमा सन्तोषजनक रहेको बताए। यो अवधिसम्म आइपुग्दा कम्पनीको व्यावसायिक दक्षत अभिबृद्धि गरि गुणस्तरिय र भरपर्दाे सेवा प्रदान गरी ग्राहकको विश्वास आर्जन गर्न सफल भएको बताउँदै संस्थाका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले ३ करोड चुक्ता पूँजीबाट शुरु भएको नेको इन्स्युरेन्स हाल मुलुककै सवैभन्दा बढी पूँजी भएको निर्जीवन विमा कम्पनीका रुपमा परिणत भएको बताए । ‘हामी अन्य सूचकांकमा समेत नेपालका बीमा कम्पनीहरुमा अग्रणी स्थानमा छौं’—खड्काले भने । कम्पनीले नेपाली बीमा बजारमै पहिलो पल्ट शूरु गरेको ठाउँको ठाउँ भुक्तानी योजना निकै लोकप्रिय बनेको र यसले धेरैको प्रशंसा पाएको बताउँदै प्रमुख कार्यकारी खड्काले ग्राहकहरुलाई पृथक बीमा सेवा उपलब्ध गराउने उदेश्यले कम्पनीले नयाँ नयाँ बीमालेखहरु जारी गरिरहेको बताए । विश्वमै माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्व कै आर्थिक गतिविधि ठप्प भएको र नेपालमा पनि यसको प्रत्यक्ष असर परेको बताउँदै प्रमुख कार्यकारी खड्काले चालु आर्थिक बर्ष र यसपछिका वर्षमा पनि यसले नकरात्मक प्रभाव पार्ने बताउँदै कम्पनी यस्ता असरलाई कम गर्न हरसंम्भव प्रयत्न गर्ने बताए । साधरण सभाले रमेशकुमार निरौलाको अध्यक्षतामा ५ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।