सुरु भयाे टुटल–पठाओ
काठमाडौं । राइड सेयर कम्पनि टुटल र पठाओले आफ्नो सेवा सुचारु गरेका छन्। करिब ३ महिनाबढि पछि यि राईड सेयर कम्पनिले सेवा सुचारु गरेका हुन् । याे समयमा अस्पताल जान समस्या हुने साथै अरु अति आवश्यक कामकाे लागि जाने व्यक्तिहरुलाई विशेष फाेकस गर्दै सेवा सुचारु गरेकाे पठाओका रिजनल डिरेक्टर असिम मान सिंह बस्नेतले बताए । सिमित राईडरहरुलाई बाेलाएर सेवा सुरु गरिसकेकाे उनले जानकारी दिए । राईडरहरुलाई सुरक्षा पाेसाकसँगै ग्राहकहरुकाे लागि स्यानिटांईजरकाे व्यवस्था पनि गरेकाे उनले बताए । सरकारले लकडाउन खकुलाे गर्दै जेठ ३० गतेदेखि निजि सवारीसाधनमा जाेड बिजाेड प्रणालीमा चलाउन दिएकाे थियाे । बाईकमा एकजना मात्र बस्न पाईने भन्दै आ पनि हाल उपत्यकामा त्यसलाई खासै कडा गरिएकाे छैन ।
पुनर्बीमा कम्पनीको अध्यक्ष पद खाली, १६० करोड लगानीकर्ताको प्रतिनिधि शुन्य
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष पद खाली भएको छ । महेश गुरागाईँको कार्यकाल असार १४ गतेबाट सकिएको छ । पुनर्बीमा कम्पनीको कार्यकाल सकिनै लाग्दा गुरागाईँ पर्यटन मन्त्री योगेश भट्टराई अध्यक्ष रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति सदस्यमा नियुक्त भएका छन् । पुनर्बीमा कम्पनी छाेड्नु परेपनि सरकारले आफूलाई नछाेडेकाे सन्देश दिन उनी सफल भएका छन् । पुर्नबीमा कम्पनीमा कामु अध्यक्षको जिम्मेवारी सञ्चालक पुरुषोत्तम सुवेदीले पाएका छन् । बीमा संस्थानबाट अवकास प्राप्त सुवेदी उक्त कम्पनीमा २०७५ भदाैदेखि स्वतन्त्र सञ्चालककाे रूपमा कार्यरत छन् । यस कम्पनीको सर्बसाधारण सेयरधनीको १ अर्ब ६० करोड रुपैयाँ सेयर लगानी रहेको छ । तर अहिलेसम्म सञ्चालक समितिमा साधारण लगानीकर्ताको प्रतिनिधित्व भएको छैन । कम्पनीको आगामी साधारणसभामार्फत सर्बसाधारण सेयरधनीको तर्फबाट सञ्चालक चयन हुने कम्पनीको प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझीले बताए । हाल नेपाल सरकारको तर्फबाट यमलाल भुषाल र रमेश राणा सदस्य छन् । बीमा कम्पनीहरुको तर्फबाट दीपप्रकाश पाण्डे सदस्य रहेका छन् । करिव ६० प्रतिशत सेयर नेपाल सरकारको रहेकोले कम्पनीको अध्यक्ष सोझै सरकारले नियुक्त गर्ने गरेको छ ।
खुलेकाे एक घण्टा नबित्दै नेप्सेमा लाग्याे दुई पटक नकारात्मक सर्किट
काठमाडौं । बिहीबार कारोबार खुलेको एक घण्टा नबित्दै दुई पटक नकारात्मक सर्किट ब्रेक लागेको छ । दुई दिन लगातार उकालो लागेको बजारमा बिहीबार बजार खुलेदेखि नै घटेर नेगेटिभ सर्किट लागेको हो । पहिलो सर्किट लागेर २० मिनेटपछि खुलेको बजारमा ४ मिनेटमै अर्को सर्किट लागेको हो । नेप्से परिसूचक ५ प्रतिशतभन्दा बढीले घटेपछि सेयर कारोबार ४० मिनेटको लागि स्थगित भएको छ । ११ बजेर ४७ मिनेट जाँदा रोकिएको कारोबार अब दिउँसो १२ बजेर २७ मिनेटमा पुनः सुचारु हुने छ । यसअघि कारोबार सुरु भएको २३ मिनेटमै नेप्सेमा नेगेटिभ सर्किट लागेको थियो । ५३.५ अंक अर्थात ४ प्रतिशतले घटेपछि सेयर कारोबार २० मिनेटमा लागि रोकिएको हो । केही मिनेट उकालो लागेको बजार त्यसपछि लगातार आरालो लागेको हो । सेयर बजार ११ बजेर २३ मिनेटमै ४ प्रतिशतले घटेको थियाे । दोश्रो पटक सर्किट लाग्दा नेप्से परिसूचक ६७ अंकले घटेर १२६९ अंकमा झरेको छ । सो अवधिमा १३३ कम्पनीको २९ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
सुदूरपश्चिममा कोरोना परीक्षणको दायरा बढेन
भीमदत्तनगर । सुदूरपश्चिम प्रदेश सरकारले हालसम्म कोरोना परीक्षणका लागि पीसीआर र आरडीटी ‘कीट’ खरिदका लागि १ करोड ३४ लाख ८ हजार खर्च गरेको छ । केही दिनअघि प्रदेश सरकारले कोरोना रोकथाम, उपचार र व्यवस्थापनमा ५८ करोड ४८ लाख खर्च गरेको विवरण सार्वजनिक गरेको थियो । प्रदेश सरकारले कोरोनाको परीक्षण दायरा बढाउनका लागि आवश्यक मेसिन तथा परीक्षण कीट खरिदमा भने ठोस पहल र खर्च गरेको देखिँदैन् । प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रले दिएको जानकारी अनुसार पीसीआर विधिबाट परीक्षणका लागि प्रदेश सरकारले दुई हजार चार सय थान कीट खरिद गरेको छ । टेण्डर प्रक्रिया मार्फत पीसीआरका लागि प्रतिकिट रु चार हजार ५ सयका दरले खरिद गरिएको हो । “दुई हजार चार सय किटमा रु एक करोड ८ लाख खर्च भएको देखिन्छ ।” केन्द्रका जनस्वास्थ्य निरीक्षक लक्ष्मीकुमार श्रेष्ठले भने–“केन्द्रका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाबाट प्राप्त कीट प्रदेश जनस्वास्थ्य प्रयोगशाला र सोझै यहाँ सञ्चालनमा रहेको प्रयोगशालामा उपलब्ध भएको हो ।” त्यसैगरी प्रदेश सरकारले आरडिटि विधिबाट कोरोना परीक्षणका लागि हालसम्म सुदूरपश्चिममा १ लाख ७४९२ थान ‘टेष्ट कीट’ खर्च भएको आपूर्ती व्यवस्थापन केन्द्र धनगढीले जनाएको छ । ती ८० हजार १५० थान केन्द्रबाट उपलब्ध हुनुका साथै प्रदेश सरकारले २४ हजार ७ सय कीट खरिद गरेको हो । “आरडिटि कीट खरिदमा अहिलेसम्म रु २६ लाख ३८ हजार खर्च भएको देखिन्छ ।” उनले भने–“आरडिटि टेष्ट कीट प्रति थान रु ९५० परेको छ ।” त्यसैगरी यहाँका स्थानीय तहरुले पनि आरडीटी परीक्षणका लागि कीट खरिद गरेर परीक्षण गरिरहेका छन् । “पालिकाहरुको तथ्याङक यहाँ आइपुगेको छैन ।” उनले भने–“पालिकाहरुले पनि स्वास्थ्यकर्मी खटाएर आरडीटी परीक्षण दायरा बढाएका छन् ।”यहाँको प्रदेश सरकारले डोटी र बैतडीमा समेत पीसीआर मेसिन जडान गरेर परीक्षणको दायरा बढाउने भनेपनि जडानको गति भने सुस्त छ । तीन स्थानका लागि प्रयोगशालाको सामान धनगढी आउने क्रम जारी रहेको निर्देशनालयको भनाइ छ । हाल धनगढीको पशुपंक्षी अन्वेषण केन्द्रमा सञ्चालनमा रहेको पीसीआर प्रयोगशालामा दैनिक बढीमा २५० जनाको मात्रै परीक्षण हुने गरेको प्रयोगशालाका प्रमुख रमेश शाहीले बताए । उनले प्रयोगशालामा हाल ५ हजार थान परीक्षणका लागि कीट मौज्दात रहेको जानकारी दिए । प्रदेशमा सञ्चालनमा रहेको एकमात्रै प्रयोगशालाले हालसम्म दश हजार बढीको कोरोना परीक्षण गरेको छ । यहाँ परीक्षणको चाप बढेपछि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकू स्वाब परीक्षणका लागि पठाउने गरिएको छ । बुधबार साझँसम्म सुदूरपश्चिममा दुई हजार ६११ जनामा कोरोनाको सङक्रमण देखिएको छ । यहाँ हालसम्म पीसीआर विधिबाट १८ हजार ८७५ जनाको कोरोना परीक्षण गरिएको छ, भने आरडीटी विधिबाट हालसम्म १ लाख १३ हजार १८४ जनाको परीक्षण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सुदूरपश्चिममा हालसम्म ४९५ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किसकेका छन । त्यसैगरी यहाँ पीसीआर विधिबाट परीक्षणका लागि लिइएको ५ हजार ९६ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । त्यसैगरी हालसम्मको कोरोना परीक्षणमा २० देखि २९ बर्षीया युवामा सबैभन्दा बढी संक्रमण देखिएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । सो उमेर समुहमा एक हजार एक सय ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिममा स्थानीय सङक्रमण नफैलिएको दाबी गरिएपनि कोरोना सङक्रमण पुष्टि भएकाहरुलाई पनि होम क्वारेन्टाइनमा राख्न सङ्क्रमण फैलिने चिन्ता सर्वत्र छ ।त्यसैगरी नागरिकस्तरबाट चन्दा संकलन गरी डडेल्धुरा अस्पतालमा स्थापना गरिएको पीसीआर मेसिनबाट कोरोना परीक्षणको अन्तिम तयारी भइरहेको छ । प्रदेशमा कोरोना भाइरसको रोकथाम उपचार र व्यवस्थापनका लागि खडा गरिएको कोषबाट रु ४२ करोड ४८ लाख र प्रदेश सरकारको थप रु १५ करोड कोभिड–१९ को उपचार रोकथाम र व्यवस्थापनका लागि खर्च छ । कोभिड–१९ को शुरुको चरणमा प्रदेशका स्थानीय तह धनगढी उपमहानगरपालिकालाई रु पाँच लाख, ३३ नगरपालिकालाई रु चार लाख र ५४ गाउँपालिकालाई रु तीन लाखका दरले रकम उपलब्ध गराइएकामा दोस्रो चरणमा राहत वितरण गर्न रु १५ करोड २६ लाख र तेस्रो चरणमा केही दिनअघि मात्र क्वारेन्टिन र आइसोलेशनको व्यवस्थापन गर्नका लागि रु ६ करोड बजेट उपलब्ध गराइए प्रदेश सरकारको भनाई छ । यस्तै कोरोना भाइरस रोकथाम र व्यवस्थापनकै लागि प्रदेशको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, जिल्ला प्रशासन र राष्ट्रिय अनुसन्धानलाई समेत गरी रु एक करोड ५० लाख रकम उपलब्ध गराइएको छ ।
महालक्ष्मी विकास बैंकद्धारा पोखराका ५० घरलाई आर्थिक सहयाेग
काठमाडौं । लकडाउनको कारण समस्यामा परेका पोखराका ५० घरलाई महालक्ष्मी विकास बैंकले ५० हजार रुपैंया आर्थिक सहयोग गरेको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले चैत्र ११ गतेदेखि देशैभरी गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका श्रमिकहरुले आर्थिक अभाव भोगरिहेको समयमा बैंकको बैंकल न्यूरोड शाखाले पोखरा महानगरपालिका वडा न. ९ सँग समन्वय गरी सहयोग गरेको हो । बैंकको न्यूरोड शाखाका प्रबन्धक गणेश आचार्यले पोखरा महानगरपालिका वडा न. ९ का अध्यक्ष रामराज लामिछाने ज्युलाई रु. पचास हजार रकमको चेक हस्तान्तरण गरेका थिए । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्ता जनाएको छ ।
मन्त्रिपरिषद् बैठक आज बस्दै
काठमाडौं । आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ । बिहिबार आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बस्ने भएको हाे । आज दिउँसो १२ बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।
आफ्नो नाममा टुक्रा जमीन छैन, कसरी परिवार पाल्ने ?
जाजरकोट । नदीको किनारमा सानो खरले छाएको घर । घरको एक छेउतिर बिहान मिरमिरेदेखि बेलुकीसम्म कुशे गाउँपालिका-५ साँधीबिसौनाका गणेशबहादुर बादी १३ वर्षीय छोरा रमणसँग पसिना निकाल्दै फलामको काम गर्न थालेको धेरै भयो । ‘जेठो छोरा भर्खरै जन्मिएको थियो, माछा मार्ने काम बन्द गरी फलामबाट भाँडा बनाउनतर्फ लागेँ’, गणेशले भने, ‘माछा मारेर परिवार पाल्न नसक्ने अवस्था आएपछि फलामको भाँडा बनाएर परिवार पाल्ने विकल्पको खोजी गरेको हुँ । अहिले मेरो घरमा छ छोराछोरीसहित आठ जना छौँ ।’ पेशा बदले पनि गणेशको समस्या अझै हल भएको छैन । उनको एकतलाको खरले छाएको कच्ची घर छ तर जुन घर निर्माण गरी गणेश बसिरहेको छ, सो घर निर्माण गरेको जग्गासमेत उनको नाममा छैन । अन्य जग्गाको कुरा त सपनाजस्तै भइसक्यो । ऐलानी जग्गामा एकतले कच्ची घर निर्माण गरी बसेका गणेश आठ जना परिवारको समस्या टार्ने एक्लो व्यक्ति हुन् । वर्षैपिच्छे जन्मिएका छोराछोरीको स्याहारसुसार गर्नमै गणेशकी श्रीमती फूलमायाको दिन बित्ने गर्छ । छिमेकीको घरमा छोराछोरीलाई मिठो मसिनो खुवाएको देख्दा आफ्नो घरमा मकैको रोटी आधा पेट खाएर बाँकी छोराछोरीलाई दिई प्राण बचाउनुपरेको बाध्यता फूलमायाको हृदयमा बलियो गाँठो बनेर बसेको छ । दुब्ला, पातला देखिने स-साना बालबालिकाले पूरै पेट खाना नपाएको बताएका छन् । ‘बिहान खाए बेलुकी के खाने भन्ने चिन्ताले सताउने गर्छ’, फूलमायाले भने, ‘गाउँपालिकाका अध्यक्षसँग जग्गा माग्दा कसैले सुन्दैनन्, हाम्रो कुरा सुन्ने कोही भएन । सरकारले आधा तलो कच्ची घर बनाइदिएपछि बास बसेका छौँ ।’ फूलमायाले छोराछोरी पढाउने इच्छा भए पनि कपडा किन्ने, कापी कलम किन्ने पैसा नहुँदा विद्यालय पठाउन नसकेको पीडा सुनाए । ‘फलामको भाँडा बनाए पनि बिक्री हुँदैन, बाहिरबाट फलाम ल्याउनसमेत मुस्किल छ’, गणेशले भने । गाउँगाउँमा डेक, मोबाइलका कारण मादल बिक्री हुन छाडेपछि पुख्र्यौली पेशा छाड्न बाध्य भएको अर्का कर्णबहादुर बादीले पीडा पोख्नुभयो । ‘मादल बनाउन काठ चाहिन्छ रु तर सामुदायिक वनले जथाभावी काठ काट्न दिँदैनन् अनि हाम्रो पेशा कसरी चल्छ ?’, कर्णले भने । आधुनिक प्राविधिका कारण मादलको महत्व घट्दै आएको उनको भनाइ छ । पुख्र्यौली पेशा माछा मारेर, मादल बनाएर जीवन निर्वाह गर्ने बादी समुदाय अहिले विस्तारै सो पेशा छाड्न बाध्य भएको उनको भनाइ छ । उनीजस्तै कुशे गाउँपालिकामा मात्र ३० घरभन्दा बढी बादी समुदायका मानिसको बसोबास छ । कसैको पनि आफ्नो जमीन छैन । शुरुमा रुकुमपश्चिम आठबीसकोटको राडीमा बसोबास गर्दै आएका यहाँका बादी समुदायका सर्वसाधारण कुशेमा आएको करिब दुई दशक बितेको छ । आफ्नो निजी जमीन र सम्पत्ति नभएका बादी समुदायका सर्वसाधारण जीवन निर्वाह र आधारभूत आवश्यकता पूरा गर्नका लागि अहिले सङ्घर्षमा रहेको बताएका छन् । केही वर्षअघि आफ्ना र अर्काका पीडा गीतमार्फत सुनाउँदै आवश्यक खाद्यान्न, पैसा असुल्दै आएका यो समुदाय अहिले नयाँ जीवन जिउने रणनीति बनाउन अनेक उपायको खोजीमा छ । उनीहरु अब आफैँ आत्मनिर्भर भएर पीडाको जिन्दगीबाट मुक्ति पाउन चाहेको बताएका छन् । उनीहरुको इच्छा, स्थानीय सरकारले जग्गा उपलब्ध गराइदेओस् भन्ने छ । सरकारले एकतले कच्ची घर बनाउन पैसा दिए पनि अन्य जीवन जिउने आधार नदिएको उनीहरुको भनाइ छ । स्थानीय सरकारले आयआर्जन गर्न र जीवन जिउने गतिलो उपायसहितको योजना ल्याएर श्रम गर्ने वातावरण सिर्जना गरोस् भन्ने बादी समुदायको माग छ । जिल्लाका अन्य ठाउँमा समेत बादी समुदायको बसोबास छ । नलगाड नगरपालिका-७ दल्लीमा रहेका बादी समुदायलाई स्थानीय सरकारले जीविकोपार्जनका लागि आधार तयार गरेको नगरप्रमुख टेकबहादुर रावलले बताए । ‘अब सबै बदलिनुपर्छ, सधैँ एउटै काम गरेर हुँदैन’, नगरप्रमुख रावलले भने, ‘सीपमूलक कामका लागि बजेट दिएर हामीले बादी समुदायका साथीलाई दुई वर्षदेखि सहयोग गर्दै आएका छौँ, अन्य पनि बजेट दिन तयार छौँ, तर काम हुनुपर्यो ।’ रासस
टोखाले सलह मार्नेलाई प्रतिकिलो ५० रूपैयाँ प्रोत्साहन भत्ता दिने
काठमाडाैं । टोखा नगरपालिकाले सलह किरा सङ्कलन गरेर आफ्नो वडामा बुझाउने व्यक्तिलाई प्रतिकिलो ५० रूपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाले नेपालको कृषि क्षेत्रको चुनौतीका रूपमा देखिएको सलह किरा नियन्त्रणका लागि उक्त योजना अगाडि सारेको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सलह किराले ठूलो क्षेत्रमा कृषिबाली नष्ट गर्न थालेपछि यसको नियन्त्रणका लागि प्रोत्साहनस्वरुप रकम उपलब्ध गराउने घोषणा गरिएको जानकारी दिए । टोखाले सलह किरा नियन्त्रणका लागि किराको बासस्थान पहिचान गरी बिहान ६ बजेदेखि ८ बजेसम्म र बेलुका ६ बजेदेखि ७ बजेसम्म मालथियन, क्लोरोपाइरिफस, बोरिक एसिडलगायतका विषादी प्रयोग गर्न किसानलाई आग्रह गरेको छ । यस्तै सलह बसेको रुख तथा बोटविरुवा हल्लाई किरा भगाउने, सलह किरा बढी प्रोटिनयुक्त भएकाले मारेर हाँस तथा कुखुराको दानाका रूपमा प्रयोग गर्न कृषकलाई सुझाव दिएको छ । टोखाले सलह किरा साँझपख बोटबिरुवामा झुण्ड अवस्थामा बस्ने भएकाले यसलाई भगाउन थाल, मादल, टिन ठटाउने, खेतीबालीलाई संरक्षणका लागि झुलले बालीलाई ढाक्नुपर्ने बताएको छ । टोखामा ११ वडा रहेका छन् । रासस