विकासन्युज

खानेपानी योजनामा नक्कली उपभोक्ता समिति खडा

काठमाडाैं । सुन्दा पनि अचम्म लाग्न सक्छ, जिल्लाको आदर्श गाउँपालिका–२ मा रहेको ‘साउनकाँडा बाहुनकाँडा खानेपानी आयोजना’मा उपभोक्ता समिति नै नक्कली बनाइएको खबर बाहिर आएको छ । सो वडामा सञ्चालन भइरहेको खानेपानी योजनाको नक्कली उपभोक्ता समिति गठन गरेर रकम झ्वाम पार्ने योजना बनाएको स्थानीयवासीको आरोप छ । प्राप्त जानकारीअनुसार नक्कली ‘साउनकाँडा बाहुनकाँडा खानेपानी आयोजना उपभोक्ता समिति’ बनाएर रकम खाने योजना बनाएको स्थानीयवासीले चाल पाएपछि यो खबर बाहिर आएको हो । उपभोक्ताहरुको भेला नै नबोलाई कीत्र्ते हस्ताक्षर गरी उपभोक्ता समिति गठन गरेर गाउँपालिकाबाट पेस्की रकमसमेत लिएको स्थानीय रमेशबहादुर साउदले आरोप लगाए । स्थानीय धनबहादुर साउद अध्यक्ष रहेको उपभोक्ता समिति गठन गर्दा र वडा कार्यालयसँग सम्झौताको कागज बनाउँदासमेत कसैलाई पनि उपस्थित नगराइएको उनको भनाइ छ । उक्त समिति गएको जेठ १२ गतेका दिन गठन गरिएको पाइएको छ । विसं २०७६ साल फागुन महिनामा सबै उपभोक्ताहरुको उपस्थितिमा कुलप्रसाद ओझाको अध्यक्षतामा सोही योजनाको समिति गठन भइसकेको भए पनि उक्त समितिसँग सम्झौता नै नगरी गोप्यरूपमा जेठमा आएर अर्को समिति गठन भएर काम अगाडि बढाइएको बताइएको छ । ओझाले भने, “हामीलाई कुनै जानकारी नगराई समिति गठन गरेर काम भएको रहेछ, सबै कागजात नक्कली बनाइएका छन्, हस्ताक्षर कीत्र्ते गरिएको छ, कारवाही हुने की नहुने ?” उक्त खोपानी समितिमा अर्कै सडकको योजनाको समितिमा उपस्थित भएकाहरुको हस्ताक्षरसहितको कागजलाई ल्याएर खानेपानी समितिको फाइलमा राखेर उपस्थिति देखाइएको आदर्श–२ का अर्का स्थानीय नवराज ओझाले बताए । उनले भने, “वडा अध्यक्षलगायतको मिलेमतोमा काम अगाडि बढेको हो, यो कुरा उपभोक्ताहरु कसैलाई थाहा छैन्, सबैले मिलेर पैसा खान खोजेका हुन् ।”  तीन लाख रकम रहेको उक्त खानेपानी योजनाको ७५ हजार पेस्की लिएर नयाँ बनेको समितिले काम अगाडि बढाएको छ । समितिका अध्यक्ष धनबहादुर साउदले गठन प्रक्रिया नक्कली भएको स्वीकार गरे । “समिति गठन गर्दा सबैसँग सल्लाह हुन सकेन”, साउदले भने, “एकरदुई जनासँग मौखिक सल्लाह गर्दा हुन्छ भने, मैले पनि काम अगाडि बढाएँ, यस्तो होला भनेर थाहा पाएन ।” स्थानीय तीर्थ रौतेडाले सबै नक्कली कागजात मिलाएर सहयोग गरिदिएको अध्यक्ष साउदले जानकारी दिए । उता सो वडाका वडाअध्यक्ष रामबहादुर बोहराले भने त्यसमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरे । “सडकको समितिको माइन्युटलाई ल्याएर यो समितिमा उपस्थिति जनाएका रहेछन्”, वडाअध्यक्ष बोहराले भने, “कानूनमा नमिल्ने काम भएको अहिले थाहा पाएँ, नक्कली प्रक्रियाबाट उपभोक्ता समिति गठन भएको भए छानबिन गर्छौं ।” अहिले काम रोकिएको र पेस्कीअनुसारको काम भए नभएको अनुगमन गर्ने र यदि काम भएको छैन भने समितिबाट असुलउपर गर्नेसमेत वडाध्यक्ष बोहराले बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरत परियारले समिति नक्कली बनाएर पेस्की लिएको प्रमाणित भए काम रोकेर कारवाही गरिने बताए ।  रासस

बैंकको किस्ता भुक्तानी गर्ने समय ६ महिना थप्न माग

कास्की । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले बैंक तथा वित्तीय संस्थाबाट यातायात व्यवसायीले लिएको ऋणको किस्ता भुक्तानी गर्ने समय छ महिना थप गर्न माग गरेको छ । पोखरामा प्रधान कार्यालय रही देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यातायात सेवा दिँदै आएको प्रालिले बुधबार यहाँ पत्रकार सम्मेलन आयोजना गरी कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि जारी बन्दाबन्दीले सार्वजनिक यातायात सञ्चालन हुन नसक्दा व्यवसायीहरु बैंकको किस्ता तिर्न सक्ने अवस्थामा नरहेकाले सरकारले कर्जा भुक्तानीको समय थप गर्ने व्यवस्था गरिदिन माग गरेको हो । अन्य पेशा व्यवसाय खुकुलो बनाइए पनि यातायात व्यवसाय भने ठप्प रहेको अवस्थामा बैंक तथा वित्तीय संस्थाबाट व्यवसायीलाई कर्जा तिर्न बाध्य बनाउने खालका मानसिक तनाव दिने कार्य जारी रहेकाले सरकारले आफ्नो मागको सुनुवाइ नगरेको खण्डमा असार २२ गतेदेखि कम्पनीमा आबद्ध व्यवसायीहरुको सवारी साधनको कागजात र तालाचाबी क्रमिकरूपमा सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई बुझाइने प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताए । “महासङ्घमार्फत पटक–पटक सरकारको ध्यानाकर्षण गरायौं तर हाम्रो मागको सम्बोधन हुन सकेन, यातायात सञ्चालनमा सरकारले नै बन्दाबन्दी घोषणा गरेको अवस्थामा किस्ता बुझाउन सकिने अवस्था छैन”, अध्यक्ष केसीले भने, “सेवा सञ्चालन गर्ने निर्णय भएमा पनि हालसम्म खडा भएका सवारी साधनको ब्याट्री, टायर तथा पार्टपुर्जा मर्मतका लागि समेत एउटा गाडीलाई तत्काल १ लाख रूपैयाँ लगानी गर्नुपर्ने बाध्यता छ ।” नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय उपाध्यक्ष ऐनकुमार साईले बन्दाबन्दीले विभिन्न पेशा व्यवसायीमध्ये यातायात व्यवसायी सबैभन्दा बढी समस्याग्रस्त हुन पुगेको भन्दै गर्दै करीब ३ लाख यात्रु बाहक तथा ६० हजार मालवाहक सवारी साधन ठप्प रहेकाले १२ लाखले प्रत्यक्ष तथा ४० लाखले अप्रत्यक्ष रोजगारीबाट वञ्चित हुनुपरेको बताए । पृथ्वीराजमार्ग कम्पनी प्रालिअन्तर्गतका १ हजार ४ सय सवारी साधनमा ५ अर्ब ६० करोड रूपैयाँ लगानी रहेकामा बैंक तथा वित्तीय संस्थाको ७० प्रतिशत र व्यवसायीको ३० प्रतिशत लगानी रहेको बताइन्छ । प्रालिले पोखरालाई केन्द्र मानी देशका विभिन्न शहर तथा ग्रामीण क्षेत्रमा समेत रात्रि तथा दिवासेवामा यातायात सञ्चालन गर्दै आएको छ ।   रासस

नेपाल रेडक्रस र कोका–कोला नेपालबीच कोभिड—१९ विरुद्धको लडाइमा सहयोग

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) र कोका–कोला नेपालले कोभिड–१९ को महामारीमा संकटमा रहेका विरामीहरुको सहयोगार्थ अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको सुरक्षा अभिवृद्धिको लागि साझेदारी गरेको छ । यस प्रोजेक्टको लक्ष्य देशभरका सातवटै प्रदेशका प्रमुख सार्वजनिक अस्पतालका स्वास्थ्यकर्मी तथा अग्रपतिंका स्वयंसेवका लागि सुरक्षा सामग्री र निस्संक्रामक वस्तुहरु उपलब्ध गराउने रहेको छ । यस परियोजनाको समग्र उद्देश्य कोभिड–१९ को जोखिममा रहेका डाक्टर, नर्स, रक्त टेक्निशियनहरु, एम्बुलेन्स ड्राइभर, मेडिकल टेक्निशियन, क्वारेन्टीन केन्द्रका मानिसहरु तथा समुदायका सदस्यहरु सहित करिब ६० हजारलाई सेवा पुर्याउने रहेको छ । यसै सन्दर्भमा हस्तान्तरण समारोह असार १६ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसरमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, कोका—कोला नेपाल र नेपाल रेडक्रसका प्रतिनिधिहरुको उपस्थितिमा शुरुवात गरिएको हो । पहिलो चरणको सुरक्षा सामग्रीहरु र स्वास्थ्य सामग्रीहरु मन्त्री भानुभक्त ढकालले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीलाई हस्तान्तरण गरेका छन् । यस सामग्रीहरुमा विभिन्न चरणमा हस्तान्तरण गरिनेछ र पहिलो चरणमा हस्तान्तरण हुने सामग्रीहरुमा १५ हजार थान सर्जिकलमास्क, को–९५ माक्स १ हजार १ सय ५० थान, ५ सय ५० थान हुडको साथ डिस्पोजेबल कभर्अल, सुरक्षा चस्मा ३ सय वटा, १० हजार जोडी पञ्जा, ४ सय ४० थानसुरक्षा बुट, स्यानिटाइजर २ हजार ५ सय बोटल, निर्मलीकरण केमिकल सोडियम हाइपोक्लोराइड ४ सय ५० र १५ हजार १ सय १८ थान साबुन रहेका छन् । आगामी २ हप्ताभित्र सबै सामग्रीहरु वितरण भइसक्नेछन् । सामग्री वितरण समारोहमा माननीय मन्त्री ढकालले कोभिडको महामारीको चालु लडाईमा सहयोग गर्न सामग्री सहितउपस्थित भएकोमा नेपाल रेडक्रस र त्यसको साझेदार कोका—कोलालाई धन्यबाद व्यक्त गर्दै भने, “यो कठिन समयमा सबैको सहयोग आवश्यक छ र प्राप्त सबै सामग्रीहरु पारदर्शी रुपमा रेकर्ड गरिनेछ भनेर हामी सुनिश्चित गर्न चाहन्छौं र यसको उचितवितरण गरिने छ । नेपाल सरकारले यी सामग्रीहरु नपुगेको स्थानमा तत्काल सामान पठाउनेछ ।” शुक्रराज अस्पतालका टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीले योे सामग्रीले डाक्टर, नर्स लगायत अग्रपंतिका स्वास्थ्यकर्मीको हौसला बढाएको बताउए । उनले भने, “अस्पतालले संक्रमितहरुलाई स्वास्थ्य किट उपलब्ध गराउन कडा परिश्रम गर्दै आइरहेको छ र प्राप्त सामग्रीहरु हामीहरुका लागि पनि निश्चय नै उपयोगी हुनेछन् ।” “नेपाल रेडक्रस र द कोकाकोला फाउण्डेशनको यो साझेदारी कोरोना भाइरसलाई नियन्त्रण गर्ने र अग्रपंतिमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको संरक्षण गर्ने एउटा प्रयास हो” नेपाल रेडक्रसका अध्यक्ष संजीव थापाले बताए । रक्त सञ्चार, एम्बुलेन्स, अस्पताल आदि जस्ता अत्यावश्यक सेवाहरूको निरन्तरता सुनिश्चित गर्न अतिआवश्यक सुरक्षा सामग्रीहरुको ठूलो महत्व छ । उपकरणहरूसँगै प्रयोग विधिहरु सम्बन्धित प्रशिक्षणहरू साथसाथै उपलव्ध गराइने छ । यस क्रम माबन्दाबन्दीको नियमको पालना र भौतिक दूरी कायम गरिने छ ।” मुलुक र नागरिकहरुलाई सुरक्षित राख्नअथक परिश्रम गरिरहेका स्वास्थ्यकर्मी र आपतकालीन स्वयंसेवकहरुलाई अत्यावश्यक व्यक्तिगत उपकरणहरु र विभिन्न स्वास्थ्य निकायहरुलाई आवश्यक स्वास्थ्य उपकरणहरु उपलव्ध गराउन नेपाल रेडक्रस लगायत हाम्रा साझेदारसँग सहकार्य गर्न पाउँदा हामीलाई खुशीलागेको छ, कोका—कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने ।

लायन्स क्लव ग्लोबल आइद्वारा रक्तदान सम्पन्न, नाइजेरियन खेलाडीसहित ५० जनाले गरे रक्तदान

लतिलपुर । लायन्स क्लव ग्लोबल आइले वृहत रक्तदान रक्तदान कार्यक्रम गरेको छ । बुधबार ललितपुरको मानभवनमा लायन्स क्लव ग्लोबल आइले मानभवन व्याडमिन्टन क्लव र वृग्रेड ब्याएज क्लवको सहआयोजनामा वृहत रक्तदान रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । विभिन्न सामाजिक कार्यगर्दै आएको लायन्स क्लव ग्लोबल आइले प्रतिकुल परिस्थितिमा पनि रगतको अभाव नहोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष अमर बान्तुले बताए । कार्यक्रममा पचास भन्दा बढी व्यक्तिले रक्तदान गरेका थिए । कार्यक्रम मल्टिपल जीएसटी कोअडिनेटर लायन अनन्तप्रसाद भेटबाल, सेकेन्ड डिस्टिक गभर्नर लायन कर्मा गुरुङ, चार्टर प्रेसिडेन्ट तथा प्रोग्राम कोअडिनेटर लायन हरि दाहाललगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । पचासजना भन्दा बढी व्यक्तिले रक्तदान गरेको उक्त कार्यक्रममा नाइजेरियन तीन जना खेलाडीले पनि रक्तदान गरेका थिए । समय समयमा विभिन्न सामाजिक कार्य गर्दै आएको लायन्स क्लव ग्लोबल आइले कोरोना सङ्क्रमणलाई नियन्त्रण र रोकथाम गर्नका लागि गरिएको लकडाउनका समयमा अप्ठायारोमा परेका धेरैलाई सहयोग तथा राहत प्याकेज वितरण गरेको थियो ।

एनआईसी एशिया लघुवित्तको आईपीओ प्री-अलोटमेन्ट आज, कति बजे ?

काठमाडौं । एनआईसी एशिया लघुवित्तले जारी गरेको साधारण सेयर(आईपीओ)को प्री-अलोटमेन्ट आज(बिहीबार) हुँदै छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज बिहान १० बजेपछि प्री-अलोटमेन्ट हुने जनाएको हो । साथै, सेयर बाँडफाँडको मिति भने नियामकहरुसँगको निर्णयपछि तय गरिने क्यापिटलले जानकारी गराएको छ । गत असार १० गतेदेखि असार १४ गतेसम्म बिक्री खुला भएको उक्त आईपीओमा ४ लाख १४ हजार एक सय ८० जनाले आवेदन दिएका थिए । उनीहरुले कूल २ अर्ब ३० करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबर अर्थात २ करोड ३० लाख ६५ हजार ३ सय ९० कित्ता सेयर माग गरेका छन् । जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा ५.१९ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा ४४ लाख ४३ हजार २ सय कित्ता सेयर बिक्रीमा राखेको थियो । संस्थाले एक सय अंकित मूल्य रहेको कूल ४७ लाख ५५ हजार कित्ता सेयर बिक्री गरेको हो । जुन नेपालका माइक्रोफाइनान्स कम्पनीहरुले हालसम्म जारी गरेका आइपीओ मध्येकै ठूलो हो । जसमध्ये २ लाख ३७ हजार ८ सय कित्ता(५ प्रतिशत) साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको, ७४ हजार कित्ता(०.५ प्रतिशत) साधारण सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने बाँकी ४४ लाख ४३ हजार २ सय कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको हो ।

मास्क नलगाउने सवालमा के भन्छन् अमेरिकी राष्ट्रपति ?

काठमाडाैं । अमेरिकी राष्ट्रपति एकदम दुर्लभ अवसरहरूमा मास्क लगाएको देखिएको छ । बुधबार मास्क नलगाउने भन्ने सवालमा ट्रम्पले भने कि उनलाई मास्क लगाउन कुनै समस्या छैन तर यदि परिस्थिति त्यस्तै रहेकाे बताएका छन् । एक दिन अघि, रूसमा चुनावको बेला, वर्तमान राष्ट्रपति भ्लादिमिर पुतिनको तस्वीर चलिरहेको थियो । खबरको कारण पुतिनले मास्क लगाएको थिएन । उनीलाई पनि यस तथ्यको आलोचना गरिएको थियो कि यस्तो वातावरणमा जब कोरोना भाइरस संक्रमण व्यापक छ र मास्क लगाउनु आवश्यक छ भनिन्छ भने राष्ट्रपति पुतिनले यो कसरी गर्न सक्दछन् । पुतिन उभिरहेको हलमा प्रायः सबैले मास्क लगाएका थिए तर उनीहरूले त्यसो गरेनन्। प्राविधिक रूपमा तिनीहरूले मस्कोमा लागू हुने नियमहरूको उल्लंघन गरे । यद्यपि उनी अत्यन्त विरलै अवसरहरूमा मास्क लगाएको देखिन्छ, तर ऊ मानिसहरूलाई भेट्दा गियरको साथ देखिएको छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मास्क नहेर्ने भन्ने प्रश्नको जवाफ दिएका छन् । मुखौटे लगाउनु यस समय कोरोना भाइरस महामारीको सबैभन्दा महत्त्वपूर्ण सावधानीका रूपमा देखिएको छ । विश्व स्वास्थ्य संगठन आफैंले मास्क लगाउने र सामाजिक दूरी पनि संक्रमणबाट सुरक्षित हुन आवश्यक छ भनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘यदि म त्यस्तो ठाउँमा छु जहाँ धेरै मानिस छन् भने म मास्क लगाउनेछु ।’ संक्रमित र मर्नेहरूको संख्या सन्दर्भमा अमेरिका विश्वमा सबैभन्दा बढी प्रभावित देश हो । उही समयमा, अमेरिकी राष्ट्रपति ट्रम्प भन्छन् कि उनी सामान्यतया मास्क लगाउने आवश्यक अवस्थामा छैनन् । यद्यपि उनले निश्चित रूपमा भने कि यदि ऊ आवश्यक छ भने अवश्य पनि मास्क लगाउनेछ र यो मास्क लगाउनु राम्रो हुन्छ ।   (बीबीसीकाे सहयाेग)

२ महिलासहित ६ जुवाडे पक्राउ

कास्की । कास्की प्रहरीले दुई महिलासहित छ जुवाडेलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१७ तितेपानी रानीवनस्थित रिमा गुरुङको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । पक्राउ पर्नेमा घरधनी ३६ वर्षीया गुरुङ, ४१ वर्षीया मुना गुरुङ, छोरेपाटन बस्ने ३१ वर्षीय लीलाधर सुवेदी, ३० वर्षीय राजमान गुरुङ, ३८ वर्षीय डिलप्रसाद गुरुङ र पोखरा–१६ का दीप बस्नेत र ४८ वर्षीय खेम गुरुङ छन् । जुवाखालबाट ४७ हजार १ सय र तास बरामद भएको छ । प्रवक्ता हमालका अनुसार विशेष सूचनाका आधारमा जुवाडेलाई पक्राउ गरिएको हो । कास्की प्रहरीले पोखराका विभिन्न स्थानबाट तीन महिलासहित १० जुवाडेलाई पक्राउ गरेको थियो ।  रासस

बन्दाबन्दीले चिया क्षेत्रमा लाखौं घाटा न श्रमिकलाई तलब, न त चियाकै बिक्री

काठमाडौं । मुख्य सिजनमै बन्दाबन्दी भएपछि चिया क्षेत्रले लाखौंको घाटा व्यहोर्नु परेको छ । चियाकै राजा ‘पहिलो टिपाइ’ बेच्ने समयमा कोरोनाका कारण बन्दाबन्दी भएपछि एकातिर किसानले चिया टिपेर प्रशोधित क्षेत्रसम्म पुर्याउन सकेनन् भने अर्कातिर उद्योगमा प्रशोधन गरिएको चिया पनि बजारमा पुर्याउन नसक्दा समस्या भएको छ । विशेषगरी चैतको दोस्रो साताबाट चियाको ‘पहिलो टिपाइ’ शुरु हुन्छ । यो चियाको अन्य सिजनको भन्दा गुणस्तरीय हुने भएकाले महँगोमा बिक्री हुन्छ तर यस वर्ष भने सोही समयमा बन्दाबन्दी भएपछि गुणस्तरीय चिया टिप्न सकिएन । गुणस्तरीय चिया नै प्रशोधन गर्न नसकिएपछि लाखौंको घाटा व्यहोर्नु परेको इलाम नगरपालिका–४ को जसवीरे चिया प्रशोधन केन्द्रका सञ्चालक सरद सुब्बा बताए । मुख्य सिजनमै उद्योग बन्द गर्नु पर्ने भएपछि तेस्रो मुलुकबाट चियाको माग आए पनि पठाउन नसकिएको सुब्बाको गुनासो छ । “हामी चीनलगायतका तेस्रो मुलुकमा तयारी चिया पठाउछौँ तर यो वर्ष अन्तर्राष्ट्रिय बजार ठप्प हुँदा अझैसम्म पनि पठाउन सकिएको छैन”, सुब्बाले भने, “चिया किनेर प्रशोधन त गरियो तर बिक्री नहुँदा किसान र श्रमिकलाई दिने रकमसमेत छैन ।” उनका अनुसार लकडाउनको समयमा चिया बिक्री त भएन नै श्रमिक र किसानलाई हातमुख जोड्ने रकमको समेत समस्या पर्यो । त्यही सिजनमा चियाको भुक्तानी पनि दिन नसक्दा धेरै चिया किसान–श्रमिक चिढिएको सुब्बाको भनाइ छ । पछिल्लो समय चिया बिक्री हुन नसकेपछि केही दिन उद्योग नै बन्द गर्नुपर्दा घाटा व्यहोर्नु परेको सूर्योदय नगरपालिकास्थित गोर्खा टी स्टेटका प्रमुख उदय चापागाईँले बताए । विभिन्न संस्था र व्यक्तिको सहयोगले प्रशोधन उद्योग खुले पनि बजारमा चिया पुर्याउन भने अझै समस्या पर्ने गरेको चापागाईँको भनाइ छ । “एक चोटिको चिया चाहिँ गइसक्यो । लकडाउनकै समयमा भारतले चिया भन्सारमै रोकिदिएपछि पनि जान ढिला भयो”, चापागाईँले भने, “तर अहिले अवस्था सामान्य भइसक्यो ।” उनले चिया बजारसम्म नपुगे पनि आफूले श्रमिक र किसानलाई पारिश्रमिक र चियाको मूल्य भने दिँदै गरेको जिकिर गरे । बन्दाबन्दीको चपेटामा परेका बेला श्रमिक र किसानको हातमुख जोड्ने वस्तु चियासमेत बिक्री नहुँदा समस्या आउन सक्ने भएकाले रकम भुक्तानी गरिसकेको उनको भनाइ थियो । “धेरै उद्योगले चिया बिक्री भएपछि मात्र रकम दिने भन्दै उधारोमा चिया लिइरहेका छन् तर किसानलाई खाद्य सङ्कट आउन सक्छ भनेर मैले चाहिँ सबैलाई दिइसकेको छु”, उनले भने । यस वर्ष बन्दाबन्दीका कारण पहिलो सिजनमा करिब ६० लाख घाटा भएको केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राईको भनाइ छ । वन्दाबन्दीले चिया उत्पादित जिल्लामध्ये तराई क्षेत्रका जिल्लामा चियामा बढी घाटा व्यहोर्नु परेको महासचिव राईले बताए ।  रासस