सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा दोलखाको बाघखोरमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले दोलखा जिल्लाको मागादेउराली बाघखोरमा १०४ औं शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । बैंकले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको हो । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी गोविन्द श्रेष्ठलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखनिय विश्वास एवं बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ । कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेश सरकार अन्र्तगतको कोषमा ७ लाख रुपैयाँका दरले ४९ लाख रुपैयाँ, विभिन्न स्थानिय निकायमा खडा गरिएको कोषमा करिव ६ लाख रुपैयाँ तथा विभिन्न संघ संस्थालाई ६ लाख रुपैयाँ गरि हालसम्म कुल ६१ लाख रुपैयाँको सहयोग गरेको छ ।
स्वास्थ्य बीमा बोर्डमा पोखरेलका १८ महिनाः १३ काम गरे, १२ काम गर्न नपाएपछि राजीनामा
काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेश कुमार पोखरेलले पदबाट राजीनामा गरेका छन् । उनले बोर्डमा कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेको २ वर्ष पुग्न ६ महिना बाँकी हुँदा पदबाट राजीनामा गरेका हुन् । उनलाई पदबाट हटाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे एउटा टीम नै लागेकाे त्यसमा मन्त्री भानुभक्त ढकालकाे पनि माैन समर्थन रहेपछि पाेखरेलले राजीनामा गरेका हुन् । स्वास्थ्य बीमा कार्यक्रमको सफलताको लागि स्वास्थ्य बीमा बोर्ड र यसको कार्यकारी निर्देशकसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय, विभिन्न सरोकारवाला निकायहरु र यस्ता निकायमा कार्यरत कर्मचारीको कार्यक्रमप्रतिको स्वामित्व र कार्यक्रम लागू गर्ने इच्छाशक्ति पनि त्यतिनै आवश्यक हुने भएपनि आफूले त्यस्तो सहयोगको साटो अवरोधको मात्रै सामना गर्नुपरेको गुनासो पोखरेलले सरोकारवालासँग गर्दै आएका थिए । कार्यकारी निर्देशक पोखरेलले करिव १ वर्ष अगाडी बोर्डबाट ठूलै प्रयासपछि पारित गराएको संगठन संरचना उपर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट हालसम्म कुनै कारवाही अगाडी बढेको छैन । मन्त्रालयले करिव १ वर्ष अगाडी पेश भएको अस्थायी संरचना समेत हालसम्म पारित गरेको छैन । जनशक्तिको अभावमा धरासायी हुन लागेको कार्यक्रमलाई गति दिनेभन्दा पनि मन्त्रालयबाट यस्तो महत्वपूर्ण विषयलाई वेवास्ता गरिएको पोखरेलले अनुभूत गरेका थिए । पटक पटक पेश गरेका सुधार कार्यक्रमहरुमा समेत मन्त्रालयबाट कुनै कारवाही मात्रै भएन बरु उल्टै मन्त्रालयबाट उनलाई विभिन्न आरोप लगाई २०७६ फागुन ७ र २०७७ जेठ १३ गतेगरी २ पटक स्पष्टीकरण सोधिएको थियो । यसरी स्पष्टिकरण सोध्दा प्रचलित कानून र व्यवस्थाको समेत हेक्का नराखी कानून विपरित सोधिएको उनको गुनासो छ । स्वास्थ्य बीमा ऐन २०७४ को दफा २२ को उपदफा ३ बमोजिम लोकसेवा आयोगको सिफारिसमा मन्त्रिपरिषदको निर्णयबाट कार्यकारी निर्देशकमा नियुक्त भएको व्यक्तिलाई कुन स्तरबाट स्पष्टिकरण सोध्नुपर्छ भन्ने सामान्य हेक्का समेत नरहेका व्यक्तिहरुबाट प्राकृतिक न्यायको सिद्धान्त र कानूनी व्यवस्था विपरित २ पटकसम्म स्पष्टिकरण सोधिएको छ । उनले पहिलो पटक पेश गरेको स्पष्टिकरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट राम्रो अध्ययन समेत नगरी अर्काे स्पष्टिकरण सोधिएको थियो । यसरी पुन स्पष्टिकरण सोधिएपछि आफूलाई जुनसुकै हालतमा निकाल्ने प्रयोजनका लागि प्रक्रिया पुर्याउन लागिएको भन्ने महसुस गरेर पोखरेल बोर्डबाट बाहिरिएका हुन् । कार्यकारी निर्देशक पोखरेलले बोर्डलाई अघि बढाउन गरेका प्रमुख १२ काममा मन्त्रालय बाधक भएपछि उनी राजीनामा गर्न बाध्य भएका हुन् । उनले विशेष गरेर गर्न चाहेका १२ प्रमुख सुधार यस्ता थिएः १. स्वास्थ बीमा कार्यक्रम सरकारको उच्च प्राथमिकतामा रहेको र वित्तीय व्यवस्थापन समेत सरकारकै रहेको तर बोर्डको हालको संरचना अत्यन्त फितलो र प्रभावकारी नरेहेको र बोर्डलाई प्राप्त अधिकार सेवा प्रदायक संस्थालाई नियमन र कारवाही गर्न समेत पर्याप्त नरहँदा सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसकेको तथ्यलाई समेत दृष्टिगत गरी बोर्डको विद्यमान संरचनामा परिवर्तन गरी यसलाई प्रभावकारी बनाउन जरुरी छ र यसको लागि आवश्यकता बमोजिम विद्यमान स्वास्थ्य बीमा ऐन २०७४ मा समेत संसोधन हुनु पर्दछ । २. बीमा कार्यक्रमलाइ ऐनकै भावना अनुरुप सवै नेपाली नागरिकलाई अनिवार्य गरिनु पर्दछ र यसको लागि स्वास्थ बीमालाई सार्वजनिक सेवा प्रवाहसँग आबद्धगरी यसको कडाइका साथ कार्यान्वयन समेत हुनुपर्दछ । यसको आरम्भ सबै संगठित क्षेत्रमा कार्यरत कर्मचारी र कामदारबाट हुनु पर्दछ । ३. स्वास्थ्य संस्थाहरुबाट प्रवाह हुने सेवा प्रवाहको गुणस्तर र कार्यक्रमप्रतिको जवाफदेहितामा वृद्धि हुनु पर्दछ । साथै, सवै स्वास्थ्य संस्थाहरुमा बीमा कार्यक्रम प्रति स्वामित्व, असल भावना र लागुगर्ने इच्छाशक्ती समेत हुनु पर्दछ । ४. सवै नागरिकहरुलाई सेवाको पहुँचमा सहजता हुनु पर्दछ । त्यसको लागि हरेक बस्ती र परिवारलाई आधारमानी स्वास्थ्य संस्थाको निर्माण, विकास र व्यवस्थापन हुन जरुरी छ । ५. स्वास्थ्य संस्थाहरुको पूर्वाधार,जनशक्तिको उपलब्धता र व्यवस्थापन सूचना प्रणाली बीमा कार्यक्रम अनुकुल रहनु पर्दछ । ६. प्रमुख लक्षित वर्गको रुपमा रहेको अति विपन्न परिवारको पहिचान गर्ने कार्य हाल २६ जिल्लामा मात्र सीमित रहेकोले बाँकी जिल्लाहरुमा समेत गरिवी निवारण मन्त्रालयले सीघ्र सम्पन्न गर्नु पर्दछ । ७. नेपाल सरकारकै स्वामित्व रहेका विविध संस्थाहरुद्वारा संचालित एकै प्रकृतिका र योगदानमै आधारित छरिएर रहेका स्वास्थ्य बीमा कार्यक्रम तथा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विभिन्न निकायहरुबाट संचालित एकै प्रकृतिका कार्यक्रम एउटै छातामुनी ल्याई एकिकृत ढंगबाट संचालनमा ल्याउनु पर्दछ । ८. नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरुको नियामक निकायको नाताले यस्ता संस्थाहरुलाई दिने अनुदान र चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई दिने अवसर र प्रोत्साहनलाइ कार्यसम्पादन सूचक बनाइ तोकिएको लक्ष र कार्यसम्पादन को आधारमा उपलब्ध गराउनु पर्छ । ९. हाल प्रयोगमा आइरहेको बीमा व्यवस्थापन सूचना प्रणालीमा अझ परिमार्जन गरी अनलाइन रजिष्ट्रेसनको विकास गर्नु पर्छ र बीमितहरुको सुविधाको थैलीबाट भएको खर्चको तत्कालै सूचना दिने प्रणालीको विकास गर्नु पर्दछ । १०. सवै सेवाप्रदायक स्वास्थ्य संस्थाहरुले दावी व्यवस्थापन आधुनिक विधुतीय प्रणाली मार्फत गर्नु पर्दछ र बीमा बोर्डले प्रयोगमा ल्याएको प्रणाली पनि सोही बमोजिम परिमार्जन गर्नु पर्दछ । ११. बोर्ड हालसम्म पनि अस्थायी संरचनामै संचालित रहेको र यसको दीर्घकालिन मार्गचित्र समेत नरहेको तथ्यलाइ मनन गरी बोर्डको स्थायी संरचना बोर्डबाट पारित गरी स्वीकृतिको लागि करिव १ वर्ष अगाडी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पठाईएकोमा हालसम्म स्वीकृत नभएकोले मन्त्रालयबाट उच्च प्राथमिकताको साथ स्वीकृत गरिनु पर्छ । १२. बोर्डको लागि स्थायी कर्मचारी भर्ना गर्न आवश्यक र कर्मचारीका सेवा र सुविधाहरुलाई व्यवस्थित गर्ने उद्देश्यले विज्ञको सहयोगमा मस्यौदा भै बोर्डमा छलफल र स्वीकृतिको लागि पेश भएको स्वास्थ्य बीमा कर्मचारी सेवा बिनियमावली २०७६ केही बोर्ड सदस्यहरुको स्वार्थ अनुकुल नरहेको कारण लामो समयदेखि स्वीकृत नभएकोले यसबाट समेत कर्मचारी भर्नादेखि सेवा र सुविधाहरुलाई व्यवस्थित गर्ने कार्य प्रभावित भएकोले यो बिनियमावली तत्काल स्वीकृत गरिनु पर्छ । २२ महिनामा के गरे पोखरेलले ? पोखरेल बोर्डमा जानुअघिसम्म १३ लाख जनसंख्या र ३६ जिल्लामा रहेको स्वास्थ्य बीमा कार्यक्रम अहिले ५६ जिल्लामा पुगिसकेको छ । थप ४ जिल्लामा सम्पूर्ण प्रारम्भिक कार्यक्रमहरु सम्पन्न भै सुरु गर्न मात्रै गर्न बाँकी छ । अहिलेसम्म २८ लाख ६२ हजार जनसंख्यालाई कार्यक्रममा समेटिएको छ । विश्वव्यापी कोरोनाको महामारीमा केही सुधार आएमा आगामी आवको करिव ६ महिनामा ७७ जिल्लामै बीमा कार्यक्रम पुर्याउने उद्देश्य बोर्डले राखेको थियो । पोखरेलको कार्यकालको शुरुआतमा करिव ३ लाखको हाराहारीमा रहेको अतिविपन्न नागरिक बीमा कार्यक्रम हाल ७ लाखमा पुगेको छ । यसरी पोखरेल कार्यकारी निर्देशक हुनुअघिसम्म शुन्य अवस्थामा रहेको जेष्ठ नागरिक बीमा आबद्धता २२ महिनामा नै ३ लाख नाघेको छ । सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भए बमोजिम आगामी आव भित्र कुल जनसंख्याको ४० प्रतिशत र आगामी ३ वर्षमा शतप्रतिशत नागरिकमा यो कार्यक्रम पुर्याउने गरी बोर्डले कार्ययोजना बनाइरहेको छ । पोखरेलले नेतृत्व सम्हाल्नुअघि करिव ५४ प्रतिशतमा रहेको बीमा नविकरण दर पछिल्लो अवधिमा ८८ प्रतिशतमा पुगेको छ । यी हुन् उनको कार्यकालमा भएका प्रमुख १३ सुधार १. बोर्ड हालसम्म पनि अस्थायी संरचनामै संचालित रहेको र यसको दीर्घकालिन मार्गचित्र समेत नरहेको तथ्यलाई मनन गरी बोर्डको स्थायी संरचना बोर्डबाट पारित गरी स्वीकृतिको लागि करिव १ वर्ष अगाडी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पठाइएको छ । २. बोर्डको अस्थायी संरचना समेत करिव ३ बर्ष अगाडी स्वीकृत भएको र सोही बमोजिम कर्मचारीहरुको व्यवस्थापन भएकोमा पछिल्लो समयको कर्मचारी समायोजनबाट बोर्डबाट उल्लेख्य संख्यामा कर्मचारीहरु बाहिरिएकोले बोर्डमा जनशक्तीको अत्यन्त अभाव रही कार्यक्रमा समेत ठूलो प्रभाव परेको हुँदा यसको सम्बोधनको लागि अस्थायी संरचनाको स्वीकृति र केही कर्मचारीहरुको सेवा करारमा नियुक्तिको स्वीकृतीको लागि अर्थ मन्त्रालयमा करिव १ वर्ष अगाडी पठाइएको थियो । तर, स्वीकृति नआएपछि केही दिन अगाडी पुनः ताकेता गरिएको थियो । ३. वर्षौंदेखि लाखौंको संख्यामा थाती रहेका सेवाप्रदायक संस्थाहरुका दावीहरुलाई उपलब्ध कर्मचारीहरुको अधिकतम परिचालन गरी उल्लेख्य तहमा राफसाफ गरी यसलाइ आधार तहमा झारिएको छ । ४. विगतमा करिव ३ सय ५० संस्थाहरुको दावी भुक्तानी गर्दा परम्परागत चेक प्रणालीबाट भुक्तानी गर्ने गरिएको र यस्तो प्रणालीले दावी भुक्तानीले धेरै समय लिनुको साथै चेक समयमा नपुग्ने, हराउने र अन्य विकृति र समस्या समेत रहेकोले बैंकहरुसँग उच्चतहको सहकार्य गरी हाल आइपीएस÷आरटीजीएस जस्ता भुक्तानीका नयाँ प्रणालीबाट भुक्तानी गर्ने कार्यको थालनी गरिएको छ । यस्तो कार्यबाट सेवाप्रदायक संस्थाहरुको समयमै भुक्तानी भएर संस्थाहरु लाभान्वित हुने गरेको र सेवाको प्रवाहमा समेत सकारात्मक प्रभाव परेको छ । ५. एकै प्रकृतिका र योगदानमा आधारित एवं सरकारको स्वामित्वमा रहेका विभिन्न निकायबाट संचालित स्वास्थ्य बीमा सम्बन्धी विविध कार्यक्रमहरुलाई एकीकृत गरी सेवाको दोहोरोपन हटाउने, कार्यक्रमको प्रभावकारिता बढाउने र स्रोत र साधनको समुचित उपयोग गर्ने तर्फ विभिन्न सरोकारवाला निकायहरुबीच प्रभावकारी बहसको थालनी गरिएको छ । ६. स्वास्थ्य बीमाबारे बजारमा चलेका अफवाह र नकारात्मक कुराहरुलाई चिर्न सवै तहका सरकारहरुसँग आवश्यकता बमोजिम समन्वय र सहकार्य गरी कार्यक्रमको बारेमा क्रमशः सकारात्मक भावना जगाइएको र सूचना संचारलाई पनि सुदृढ बनाइएको छ । ७. स्वास्थ्य संस्थाहरुको सेवाको गुणस्तर सुधार गर्न अनुगमन कार्यलाई क्रमशः प्रभावकारी बनाउँदै लगिएको छ । ८. बीमा कार्यक्रम अन्तर्गत प्रदान हुने सुविधाको थैलीलाई चिकित्सा क्षेत्रको सेवा, सामग्री र औषधीहरुमा भएको मुद्रास्फितीसँग आबद्धगरी पुनरावलोकन गर्ने नीति लिइ यो कार्यलाइ अगाडी बढाइएको छ । ९. स्वास्थ्य संस्थामा कार्यरत सम्पूर्ण चिकित्साकर्मीहरुलाई बीमित वा सेवाग्राहीलाई औषधी लेख्दा अन्तराष्ट्रिय मापदण्ड बमोजिमका जेनेरिक नाममा मात्र लेख्न उत्पे्ररित गरिएको छ । १०. बीमा कार्यक्रममा आबद्ध हुने हालको प्रकृयालाई सरलीकृत गरी अनलाइन दर्ता प्रणालीलाई प्रयोगमा ल्याउनेतर्फ कार्यको थालनी गरिएको छ । ११. बीमितहरुले आफ्नो सुविधाको थैलीमा रहेको रकम उपयोगको अद्यावधिक अवस्था जानकारी पाउने गरी एसएमएस सूचना प्रणालीलाई कार्यान्वयन गर्ने कार्यलाई अगाडी बढाइएको छ । १२. स्वास्थ बीमामा आबद्ध हरेक स्वास्थ संस्थाहरुमा आव २०७७।७८ भित्रै सूचना प्रविधिमा आधारित दावी व्यवस्थापन सेवा प्रयोगमा ल्याउने अभिप्रायबाट विकास साझेदार संस्थाहरुसँगको सहकार्य अगाडी बढाइएको छ । १३. स्वास्थ बीमाको हाल कायम गरिएको योगदान रकमको कुनै वैज्ञानिक आधार नरहेकोले केहि अन्तर्राट्रिय संस्थाहरुसँग सहकार्य गरी विज्ञहरुबाट एक्चुरियन विश्लेषण गरी वैज्ञानिक आधारमा योगदान रकम निर्धारण गरिने कार्यको थालनी गरिएको छ ।
सानिमा बैंकका ग्राहकलाई सामान खरिदमा विशेष छुट, भयो आईएमएस ग्रुपसँग सम्झौता
काठमाडौं । सानिमा बैंक र आईएमएस ग्रुपबीच बैंकका ग्राहकहरुलाई विभिन्न सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र आईएमएस ग्रुपका तर्फबाट ग्रुपका अध्यक्ष तथा निर्देशक डिकेस मल्होत्राले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकका ग्राहकहरुले आईएमएस ग्रुपको काठमाडौं कमलपोखरीस्थित सिटी सेन्टर र दरबारमार्गस्थित वन दरबार मलमा रहेको आईएमएस लिटल स्माइल्स स्टोरबाट डेबिट क्रेडिट कार्ड प्रयोग गरी ड्रोन, गिम्बल, ह्युमिडिफायर, पावर बैंक, बेबि प्रोटक्टस् आदि खरिद गर्दा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । साथै क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई १८ महिनासम्मको मासिक किस्ताबन्दी (ईएमआई) सेवा पनि उपलब्ध रहेको छ ।
खोटाङ अस्पतालमा डिजिटल एक्स–रे सञ्चालनमा
खोटाङ । जिल्ला अस्पताल खोटाङमा डिजिटल एक्स–रे (कम्प्युटराइज रेडियोग्राफी) मेशिन सञ्चालनमा ल्याइएको छ । वर्षौंदेखि मेनुअल एक्स–रे मेशिनबाट सेवा प्रवाह गर्दै आएको अस्पतालले रु १६ लाख मूल्य पर्ने डिजिटल एक्स–रे मेशिन जडान गरेर सेवा दिन थालेको छ । डिजिटल एक्स–रे मेशिन चलेपछि रिपोर्टका लागि सेवाग्राहीले घण्टौँ कुर्नुपर्ने बाध्यता हटेको छ । सो मेशिन चलेपछि एक्स–रे जुनसुकै समयमा पनि गर्न सकिने अस्पतालका रेडियोग्राफर कल्याण बस्नेतले बताए । “डिजिटल एक्स–रे ले बढीमा पाँच मिनेटमा रिपोर्ट दिन्छ”, उनले भने, “ यसको रिपोर्ट कम्प्युटरमा आवश्यकताअनुसार जुम गरेर हेर्न सकिने र मेनुअल एक्स–रे रिपोर्टभन्दा धेरै राम्रो र छिटो हुनेछ ।” यसलाई चौबीसै घण्टा सञ्चालनमा ल्याउन विद्युत्को विकल्पमा ब्याकअपसमेत जडान गरिएको जिल्ला अस्पतालका निमित्त प्रमुख रविनकुमार फुयाँलले बताए । अस्पतालबाट प्रवाह हुने सेवालाई छिटो र भरपर्दो बनाउने लक्ष्यले प्रविधि स्तरोन्नति गर्दै लगिने निमित्त प्रमुख फुयाँलको भनाइ छ । अब एक्स–रे गर्न निजी क्लिनिक धाउनुपनेबाध्यता पनि हटेको छ । विद्युत् नभएको समयमा एक्स–रे गर्दा निजी क्लिनिक सञ्चालकले सेवाग्राहीबाट दोब्बर मूल्य लिने गरेका थिए । सो १५ श्याको जिल्लाको एकमात्र अस्पतलालाई ५० श्याको बनाउने तयारीसाथ विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम भइरहेको छ । विसं २०४८ मा स्थापना भएको जिल्ला अस्पतालमा श्यया अभाव हुँदा कतिपय बिरामीलाई भुइँमा राखेर उपचार गराउनुपर्ने बाध्यता छ। यहाँका जटिल किसिमका बिरामीलाई थप उपचारका लागि राजधानी काठमाडौँ तथा तराईका जिल्ला लानुपर्ने बाध्यता छ । दुई नगरपालिका र आठ गाउँपालिकाको जिल्लाको उत्तरी क्षेत्र ऐंसेलुखर्क र दक्षिणी क्षेत्र चिसापानीमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । रासस
स्वास्थ्य बीमा बोर्डबाट पोखरेलले दिए राजीनामा, स्वास्थ्य मन्त्रालयले सहयोग नगरेको गुनासो
काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले पदबाट राजीनामा गरेका छन् । पोखरेललाई २०७५ भदौ १५ गते मन्त्रिपरिषदले बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफूलाई सहयोग नगरेको गुनासो गर्दै आएका पोखरेलले अन्ततः पदबाट राजीनामा गरेका हुन् । उनले असार १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पेश गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसहित मन्त्रालयको केही समुह नै उनी विरुद्ध खनिएको र सुधारका कार्यक्रम लागू गर्न गराउन असहयोग भएपछि जागिर खाएर मात्रै बस्दिन भन्दै पोखरेलले राजीनामा दिएका हुन् ।
मन्त्रिपरिषद् बैठक सकियो, के भयो निर्णय ?
काठामाडाैं । कोरोना संक्रमणको जोखिमलाई कारण देखाउँदै सरकारले संसद् अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार दिउँसो १२ बजे बसेको मन्त्रिपरिद् बैठकले संसद्को बजेट अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद् बैठक अन्त्य गर्नेछिन् । पिसिआर टेस्ट पनि गरेको र सांसदहरूको जिल्ला भ्रमण पनि जारी रहेकाले कोरोनाको संक्रमण हुन जोखिम झन् बढेकाले संसद् बैठक अन्त्य गर्ने निर्णय सरकारले गरेको छ। ‘तत्काल सांसदहरूको पुनः पिसिआर परीक्षण पनि सम्भव देखिएन, संसद्को बिजनेस पनि सकिएको र कोरोना संक्रमणको त्रास पनि बढ्दै गएकाले संसद् अधिवेशन स्थगित गर्न सिफारिस गर्ने निर्णय गरिएको छ,’ बैठकमा सहभागी एक मन्त्रीले भने ।
निर्धारित समय अगावै बन्द भयाे सेयर बजार, कारोबार अब आइतबार मात्रै हुने
काठमाडौं । गत मंगलबारदेखि निरन्तर बढेको सेयर बजारमा बिहीबार ब्रेक लागेको छ । कारोबार शुरु भएदेखि निरन्तर ओरालो लागेको बजारमा तीन पटक नकारात्मक सर्किट ब्रेक लागेर निर्धारित समय अगावै कारोबार बन्द भएको हो । दिउँसो १२ बजेर ४० मिनेटमा नेप्से परिसूचक ६.०२ प्रतिशतले घटेपछि बजारमा अर्को सर्किट ब्रेक लागेको हो । यससँगै आजको लागि कारोबार स्थगित भएको छ । यसअघि दुई दिन लगातार तीन पटक सम्म सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको बजारमा आज करेक्सन भएको छ । बजार खुलेको २३ मिनेटमै नेप्सेमा नेगेटिभ सर्किट लागेर २० मिनेट कारोबार स्थगित भएको थियो । त्यसपछि बजार खुलेको ४ मिनेट नबित्दै परिसूचक ५ प्रतिशतले घटेर दोश्रो पटक सर्किट लागेको थियो । यससँगै ४० मिनेट पछि खुलेको बजारमा नेप्से परिसूचक ६ प्रतिशतले घटेर पुनः सर्किट लागेर आजको कारोबार बन्द भएको हो । यो अवधिमा नेप्से परिसूचक ८०.४१ अंकले घटेर १२५६.११ अंकमा झरेको छ । सो दिन १४२ कम्पनीको ४७ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको ६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ३८३ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ५३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बिहीबार म्युचअल फण्ड बाहेक कारोबारमा आएका सबै समूहहरु ओरालो लागेका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ६०८ अंकले घटेको छ । तीन पटकसम्म नकारात्मक सर्किट लागेको बजारमा पनि स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८.०७ प्रतिशत कमाएका छन् । सबैभन्दा बढी सोल्टी होटलको सेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, ९ प्रतिशत बढी गुमाउनेमा प्रभु बैंक, हिमालयन डिष्टिलरी, लाईफ इन्स्योरेन्स कम्पनी र ग्लोबल आईएमई क्यापिटलका लगानीकर्ता रहेका छन् । यससँगै अब आइतबार(असार २१ गते) मात्रै सेयर कारोबार खुल्ने भएको छ ।
शैक्षिक सत्र कसरी चलाउने ? शिक्षा मन्त्रालयसँग केही छैन योजना
काठमाडौं । कोरोना भाइरसको कारण उत्पन्न लकडाउनको कारण देशभरका सम्पूर्ण शैक्षिक संस्थाहरु ठप्प छन् । सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि भन्दै चैत ११ गतेदेखि लकडाउन गरेदेखि नै सबै शैक्षिक संस्थाहरु पनि बन्द अवस्थामा नै रहेको कारण विद्यार्थीको पठनपाठनमा नराम्रो असर परिरहेको छ । अझै पनि कोरोना भाइरसको असर कतिसम्म रहने हो र शैक्षिक संस्थाहरु कहिले खोलिने हुन् भन्ने कुरा निश्चित नै छैन । तर लकडाउन भएको ३ महिना पुरा भइसक्दा पनि शैक्षिक संस्था खोल्ने र पठनपाठन गर्ने कुरा भने अहिलेसम्म कुनै निर्णय भएको छैन । लकडाउन नभएको भए यतिबेला भर्ना अभियान सकिएर नयाँ शैक्षिक सत्र सुरु भईसकेकाे हुन्थियाे । तर, यो वर्ष यतिवेलासम्म कक्षोन्नतिसमेत भएको छैन । गत ५ चैतभित्र कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा लिए पनि धेरैको नतिजा पनि सार्वजनिक भएको छैन । केहीले अनलाइनमार्फत कक्षा सञ्चालन गरे पनि अधिकांश विद्यार्थी सिकाइबिना घरमा बसिरहेका छन् । विद्यालय तह (१ देखि १२ कक्षा) मा ७० लाख हाराहारीमा बालबालिका रहेका छन् । सामान्यतः बैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हन्छ । आज असार १८ गते भइसकेको छ । हालसम्म साढे २ महिना बित्नु भनेको ७५ दिन भनेको शैक्षिक संस्था र विद्यार्थीका लागि महत्वपूर्ण हो । यही समयमा शैक्षिक संस्थाहरुको पठनपाठन बढी र प्रभावकारी किसिमले हुन्छ । तर, यही समयमा शैक्षिक संस्थाको पठनपाठन नहुनुले शैक्षिक संस्था र स्वयमं विद्यार्थीहरुका लागि नराम्रो असर पर्न सक्छ । एक वर्षको कुल ३ सय ६५ दिनमा १ सय ९० दिन पढाई भएर विद्यालयहरुले २ सय २० दिनमा परीक्षाहरु सबै पुरा गर्दछ र बाँकी दिनहरु दशैं, जाडो, गर्मी, सरकारी र शनिबार बिदा काटिन्छ । देशभर ३५ हजार बढि सरकारी विद्यालय र करिब ७ हजारको हाराहारिमा संस्थागत विद्यालयहरु रहेका छन् । तर, ती विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीले पाउनुपर्ने शिक्षाको हकमा यस ३ महिनाको अवधिमा न त सरकारले केही गरेको छ न त गर्ने प्रयास नै गरिरहेको छ । कतिपय ठुला संस्थागत विद्यालय तथा कलेजहरुले भने बैशाख देखि नै अनलाईन मार्फत कक्षाहरु सुरु गरिसकेका छन् तर सामुदायिक विद्यालयहरुकोे हकमा भने यो प्रयास पनि गरेको देखिँदैन । शिक्षा मन्त्रालयले स्थगित भएका परीक्षा कसरी सञ्चालन गर्ने, वैकल्पिक माध्यम प्रयोग गरी कसरी कक्षा सञ्चालन गर्ने र शिक्षासम्बन्धी योजना बनाउन तीन कार्यदल निर्माण गरेको छ । सरकारसँग छैन योजना यतिका दिनसम्म शैक्षिक संस्थाहरु बन्द भएर विद्यार्थीको पठनपाठनमा प्रभाव परिहेको भएपनि सरकारकाे भने कुनै योजना दखिँदैन । सरकार पर्ख र हेरौंको अवस्थामा छ । कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गएकोले कहिले विद्यालय खोल्ने र कसरी पठनपाठन सुरु गर्ने भन्ने कुनै योजना सरकारसँग छैन । कोराेना भाइरसलाई नै मध्येनजर गर्दै सरकारले असार १ गतेदेखि टीभी तथा रेडियोबाट गर्ने भनिएको पठन पाठन पनि खासै प्रभावकारी देखिँदैन । यसले पनि धेरै विद्यार्थीहरुको यो वर्षको पठनपाठन नराम्ररी प्रभावित हुने देखिएको छ । हालसम्म ठप्प रहेको शिक्षा क्षेत्रको आगामी योजना र रणनीतिबारे सरकारी अधिारीहरुसँग कुनै योजना नै नभएको उनीहरुको प्रतिक्रियाबाट स्पष्ट हुन्छ । शिक्षा मन्त्रालय भन्छः हामी पर्ख र हेरौंको अवस्थामा छौं शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अहिले कोरोना भाइरसको जोखिम बढी नै रहेकोले शैक्षिक संस्था खोल्ने सम्बन्धि अहिले कुनै योजना नभएको बताएको छ । मन्त्रालयका प्रवक्ता दिपक शर्मा स्वास्थ्य संकट अन्त्य नभएसम्म विद्यालय खोल्न सम्भव नभएको बताउँछन् । यो संकट अन्त्य नहुँदासम्म यही नै हुन्छ भन्ने अवस्था नभएको उनको भनाई छ । विस्तारै स्थिती सामान्य भएपछि मात्र पढाई हुने र त्यसको लागि मन्त्रालयले विद्यालय कसरी संचालन गर्ने बारे ढाँचा तयार भइरहेको उनले बताए । तर, उनी भने शैक्षिक सत्र नबिग्रिएको दाबी गर्छन् । नयाँ शैली अपनाऔंः शिक्षाविद् शिक्षाविद्ध विद्यानाथ कोइरालाले अब पठनपाठनमा नयाँ शैलि अपनाउनु पर्ने धारणा राखेका छन् । यो अवस्थामा विभिन्न शैक्षिक संस्थाहरुले विद्यार्थीलाई शैक्षिक कार्यक्रमको फाइल बाँडेर पठनपाठन गर्न सकिने बताउँछन् । उनी भन्छन्, यो वर्षदेखि चलि आएको चलनमा परीक्षाहरु लिन किन जरुरी छ, विद्यालयहरुले आफै विद्यार्थीलाई मुल्यांकन गर्न दिऔं, हामीले गरेको यो परम्परागत शैली मात्र ठिक भनेर कसरी भन्न सकिन्छ, नयाँ प्रयास गरे नयाँ शैली पनि त ठिक हुन सक्छ ।’ इन्टरनेटको पहुँचमा नभएका विद्यार्थीहरुको हकमा शैक्षिक कार्यक्रमहरुको फाईल बनाई त्यस्ता विद्यार्थीहरुलाई बाँड्नुपर्ने उनी बताउँछन् । यस्तै अहिलेको शैक्षिक सत्रलाई खारेज गर्ने भन्दा पनि शैक्षिक प्रणालीमा परिवर्तनहरु ल्याउन सकिने उनको भनाई छ ।