वैदेशिक रोजगारीको लागि पुन: श्रम स्वीकृति खुल्ला
काठमाडौं । वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति खुला भएको छ । कोरोना महामारीका कारण विगत ४ महिनादेखि रोकिएको वैदेशिक रोजगारीको लागि बिहीबारदेखि पुन: श्रम स्वीकृति खुला भएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए । गत फागुन ३० देखि बन्द रहेको वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने प्रक्रिया पुनः सुरु गरिएको हो । कोरोना सीसीएमसीले दिएको अख्तियारीलाई आधार मानेर श्रम मन्त्रालयले मापदण्ड तयार गर्नुका साथै बिहीबारबाट पुनः श्रम स्वीकृति दिन सुरु गरेको महानिर्देशक दाहालले बताए । आफूले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मार्ग निर्देशन तयार गरेर विभागमा पठाएसँगै पुनः श्रम स्वीकृति दिन सुरु गर्ने स्वीकृति दिएको जनाएका छन् । मन्त्रालयले तत्काल अवस्थालाई मध्यनजर गरेर पुनः श्रम स्वीकृतिलाई मात्रै खुला गरिएको र नयाँलाई आवश्यकताका आधारमा मात्र खोल्न सकिने प्रावधान रहेको छ ।
भुक्तानी लिन बैंकमा उपभोक्ताको चाप
काठमाडाैं । पछिल्ला केही दिन यता जिल्लाका बैंकमा उपभोक्ताको लामो लाइन लाग्ने गरेको छ । जिल्लाका नौ वटा स्थानीय तहमध्ये ८ वटा स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा आर्थिक कारोवारका लागि सदरमुकामका बैंकमा चाप परेको हो । अन्य वर्षजस्तै डोटीको जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा रहेका राष्ट्रिय वाणिज्य बैंकलगायत निजी क्षेत्रका बैंकका शाखा कार्यालयमा सेवाग्राही चाप देखिएको छ । सेवाग्राहीको चाप बढेपछि कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै यहाँका बैंक कर्मचारीले सावधानी अपनाएर रकम भुक्तानी गर्न थालेका छन् । असारको शुरूवातदेखि नै बैंकमा उपभोक्ताको निकै चाप बढेको राष्ट्रिय वाणिज्य बैंक दिपायलका मेनेजर गणेश विष्टले बताए । उनले भने, “अन्य स्थानीय तहमा बैंक छैनन्, उपभोक्तका काम सरकारी बैंकमार्फत हुने भएकाले अहिले उपभोक्त समितिका पदाधिकारीका कारण लामो लाइन लाग्न थालेको हो ।” स्थानीय तहमार्फत सञ्चालित योजनाको भुक्तानी लिनेहरु पनि यही समयमा राष्ट्रिय वाणिज्य बैंकमै आउने गरेका छन् । बैंकमा दिनभर लाइन लागेपछि मात्रै पालो आउने र कतिपयको त पालोसमेत नआउने गरेको जिल्लाको केआइसिंह गाउँपालिकाबाट योजना सम्पन्न भएको रकम लिन आउनुभएका सेवाग्राही शङ्करबहादुर ऐरले बताए । उनले भने, “योजनाको रकम असार महिनाभित्रै लिइसक्नु भन्ने गाउँपालिकाले पत्र काटेको छ, यहाँ बैंकमा पालो नै आउँदैन के गर्ने गर्ने अल्मलमै छौं ।” जिल्लामा रहेका नौ वटा स्थानीय तहमा दिपायल सिलगढी नगरपालिकाबाहेक अन्य आठ वटा स्थानीय तहमा अहिलेसम्म पनि सरकारी बैंक स्थापना हुन सकेको छैन । कतिपय पालिकामा निजी क्षेत्रका बैंक स्थापना भएका भए पनि उनीहरुले गाउँमा आर्थिक कारोवार नगर्ने गरेको र उनीहरुको आर्थिक कारोवार पनि वाणिज्य बैंकबाट नै भइरहेकाले सदरमुकाममा उपभोक्ता बढी भीड लाग्ने गरेको सायल गाउँपालिका–१ का स्थानीयबासी करनबहादुर सिहंले बताए । उनले भने, “यहाँका केही स्थानीय तहमा निजी क्षेत्रका बैंक स्थापना भएपनि उनीहरुको आर्थिक कारोवार दिपायलमा रहेका सरकारी बैंकबाट हुने भएकाले गाउँमा खाता खोले पनि ठूलो रमकको चेक साट्न दिपायल आउनुपर्ने बाध्यता छ ।” यहाँको जिल्ला सदरमुकाममा अन्य बेलाको समयमा सुनसान हुने गरे भए पनि असार शुरु भएदेखि निकै चाप रहेको दिपायल पिपल्लाका स्थानीय व्यापारी मोहन पातलीले बताए । उनले भने, “राजधानी कैलाली सारिएसँगै जिल्ला र पुरानो क्षेत्रीय सदरमुकाम दिपायल प्रायः सुनसान थिए, अहिले असार लागेपछि उपभोक्ता समितिका मान्छे आएपछि चहलपहल र भीडभाड एकाएक बढेको छ ।” जेठमै सम्पन्न भएका योजनाको भुक्तानी दिन ढिलाइ हुँदा असारमै आएर उपभोक्ताको भीडभाड बढेको पूर्वीचौकी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले बताए । उनले भने, “कोरोनाका कारण लकडाउन हुँदा जेठमै सम्पन्न भएका योजनाको भुक्तानीका लागि चेक दिन सकेनौं, अहिले अवस्था केही सहज भएकाले भुक्तानीका लागि पत्र दिन थालिएपछि भीड बढ्न थालेको हो ।” निजी क्षेत्रका केही बैंकले पालिकामा आफ्ना शाखा स्थापना गरे पनि अहिलेसम्म गाउँमा सुरक्षाको कारण देखाउँदै आर्थिक कारोवार गर्न नसकेको स्थानीयवासी बताउँछन् । गत वर्षको साउन महिनामै स्थानीय तहमा सरकारी बैंक स्थापना हुने भनिए पनि सुरक्षा, सडक सुविधा विद्युत्लगायत कारणले बैंक स्थापना गर्न नसकिएकोे राष्ट्रिय वाणिज्य बैंक दिपायलका मेनेजर विष्टले जानकारी दिए । स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा पेन्सनधारी कर्मचारी, पालिकाका कर्मचारी, तथा स्थानीय नागरिक बैंकिङ कारोवार तथा तलबभत्ताका लागि जिल्ला र क्षेत्रीय सदरमुकाम दिपायलमा रहेका बैंकमा धाउन बाध्य भएका छन् । दिपायलमा चहलपहल बढेसँगै यहाँको व्यापार व्यवसाय पनि बढेको अमरपुष्तक भण्डार पिपल्लाका व्यापारी सर्वजित देउवाले जानकारी दिए । रासस
नगरपालिकालाई खरको छानामुक्त बनाइने
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई खरको छानामुक्त बनाउने अभियान शुरु गरिएको छ । करिब ९ सय घर गरिब परिवार रहेको सो नगरपालिकालाई आगामी दुई वर्षभित्र खरको छानामुक्त बनाउने अभियानअन्तर्गत बिहीबार ४५ घर गरिब परिवारलाई जस्तापाताको छाना हाल्नका लागि पहिलो किस्ताबापतको रकम प्रदान गरिएको छ । सङ्घीय सरकारबाट प्राप्त २० तथा नगरपालिकाको तर्फबाट २५ गरी ४५ घर गरिब परिवारलाई ५० हजारका दरले जस्तापाता खरिदका लागि रकम उपलब्ध गराइएको नगर उपप्रमुख विणादेवी राईले बताए । “नगरपालिकाभित्र करिब ९ सयको हाराहारीमा गरिब घर परिवार रहेका छन्”, उनले भने, “आर्थिक वर्ष २०७७/७८ मा ३ सय ३८ घर परिवारमा उक्त कार्यक्रम लागू हुनेछ ।” प्रतिगरिब घर परिवारलाई ५० हजार रुपैयाँ उपलब्ध गराउने कार्यक्रमअन्तर्गत पहिलो किस्ताबापतको २५ हजार रुपैयाँका दरले उपलब्ध गराइएको रकमको चेक प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले हस्तान्तरण गरे । बाँकी २५ हजार रुपैयाँ रकम लक्षित परिवारले घरमा छाना लगाइसकेपछि मात्र प्रदान गरिने जनाइएको छ । १० हजार ५० घरधुरी रहेको नगरपालिकालाई खरको छानामुक्त अभियान शुरु गरेपछि गरिब घर परिवार पनि हर्षित बनेका छन् । नगरपालिकाले तेस्रो नगर दिवसको अवसर पारेर खरको छानामुक्त अभियान शुरु गरेपछि आर्थिक अभावमा जस्तापाताको छाना लगाउन नसकेका गरिब घर परिवार हर्षित भएका हुन् । नगरपालिकालाई आफ्नै कार्यकालमा खरको छानामुक्त बनाउने गरी काम शुरु गरिएको नगप्रमुख दीपनारायण रिजालले बताए । “हामी निर्वाचित भएर आउनासाथ पहिलो नगरसभाबाट गरिबका लागि छानो कार्यक्रम पारित गरिएको थियो”, उनले भने, “विभिन्न कारणले शुरुआत गर्न सकिएको थिएन । बिहीबारबाट औपचारिक रुपमा शुरुआत गरिएको छ । यो कार्यक्रम हाम्रै कार्यकालमा सम्पन्न गरिनेछ ।” नगरपालिकाले शुरु गरेको गरिबका लागि छाना कार्यक्रम प्रभावकारी रहेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहेका सांसद भट्टराईले प्रतिक्रिया दिए । “जिल्लाका दशवटै स्थानीय तहमा गरी करिब २३ हजार घरधुरी स्थानीय बासिन्दा खरको छाना भएको घरमा बसिरहेको तथ्याङ्क छ”, उनले भने, “सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत दुई वर्षभित्र सबै गरिब परिवारको घरमा छाना उपलब्ध गराउने सरकारको लक्ष्य छ ।” पन्ध्र वटा वडा रहेको सो नगरपालिकामा यसअघि जनता आवास कार्यक्रमअन्तर्गत नयाँ आवास निर्माण सम्पन्न गरेर प्रयोगमा ल्याएका आठ घर गरिब परिवारलाई रकम उपलब्ध गराइएको थियो । प्रदेश सरकारद्वारा सञ्चालित जनता आवास परियोजनाअन्तर्गत नगरपालिकाभित्र बसोबास गर्ने १४ घर गरिब परिवार छनोट गरिएकामा नयाँ घर निर्माण सम्पन्न गर्ने ८ घर गरिब परिवारलाई एकमुस्ट ३ लाख ५ हजार रुपैयाँका दरले रकम प्रदान गरिएको हो । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण कार्यालय ओखलढुङ्गा फिल्ड युनिट खोटाङमार्फत जिल्लाका दशवटै स्थानीय तहमा आवास निर्माण कार्यक्रम सञ्चालनमा छ । गरिबीका कारण ओत लाग्ने घर अभावमा छाप्रोमा बस्दै आएका नागरिकलाई प्रदेश सरकारले उपलब्ध गराएको रकमबाट नयाँ घर निर्माण गर्न पाएपछि उनीहरु हर्षित भएका छन् । रासस
एकै दिनमा २ लाखभन्दा बढी कोरोना संक्रमित थपिए
काठमाडौं । विश्वभर एकदिनमै थप २ लाख ८ हजार ३ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाली समय अनुसार शुक्रबार विहानसम्म १ करोड ९ लाख ७३ हजार ८ सय ६४ जना कोरोना संक्रमित पुगेका छन् । संसारभरी उपचार पछि निको हुनेको संख्या ११ लाख ९१ हजार नाघेको छ । संसारभर कोरोनाबाट पछिल्लो २४ घण्टामा ५ हजार १ सय ४७ जनाले ज्यान गुमाएका छन् । योसँगै ज्यान गुमाउनेको संख्या ५ लाख २३ हजार २ सय ३४ पुगेको छ । सबैभन्दा बढी कोरोना संक्रमित रहेको अमेरिकामा संक्रमितको संख्या २८ लाख ३६ हजार ८ सय ४३ पुगेको छ । कोरोनाबाट १ लाख ३१ हजार ४ सय ८० जनाको मृत्यु भएको छ । ११ लाख ९१ हजारबढी उपचार पछि घर फर्किएका छन् । भारतमा पछिल्लो २४ घण्टा यता थप २१ हजार ९ सय ५० जना कोरोना संक्रमित भेटिएका छन् । हालसम्म १८ हजार २ सयभन्दा बढी मानिसको कोरोना संक्रमण कै कारणबाट मृत्यु भएको छ भने ६ लाख २७ हजार १ सय ६८ जना संक्रमित पुगेका छन् । नेपालमा हालसम्म १४ हजार ५ सय १९ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोनाबाट ३१ जनाका्े ज्यान गरेको छ भने ५ हजार ३ सय २० जना उपचार पछि निको भइ घर फर्किएका छन् । (वल्डोमिटर)
एमसीसीको विरुद्धमा उत्रिए अपाङ्गता भएका युवा
काठमाडाैं । अपाङ्गता भएका युवाहरू एमसीसीकाे विरुद्दमा उत्रिएका छन् । उनीहरुले एमसीसीकाे विराेध गर्नकाे लागि एक समूह निर्माण गरी यसकाे विराेधमा उत्रिएका हुन् । एमसीसी नेपालकाे हितमा नभएकाे भन्दै उनीहरुले एक विज्ञप्ती पनि जारी गरेका छन् । एमसीसी नेपालको हितमा नभएको भन्दै यसलाई यथास्थितिमा पारित गर्न नहुने पक्षमा आवाज उठाएका छन् । युवाहरुले विभिन्न औपचारित तथा अनाैपचारिक कार्यक्रम गरेर एमसीसीकाे विराेध पनि गरिरहेका छन् । उक्त अभियानका संयोजक तथा सामाजिक अभियन्ता अर्जुन रावलले एमसीसी नेपालको हितमा नभएको भन्दै भेलामा यसका केही राष्ट्रघाती बुँदाहरू संशोधन नभएसम्म पारित गर्न नहुने बताएका छन् । उनीहरुले एमसीसीमा उल्लेख भएका केही बुँदाहरु अस्पष्ट भएकोले त्यसको स्पष्टता र संशोधन नहुँदासम्म एमसीसी पास गर्नु नेपालको लागि उचित नहुने जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेशनल माइक्रोफाइनान्स सातौं वर्षमा प्रवेश, ९० हजार घर परिवारलाई सेवा दिन सफल
काठमाडाैं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था आजबाट साताैं वर्षमा प्रवेश गरेकाे छ । २०७१ आषाढ १८ गतेबाट आफ्नो कारोबार संचालन गरेकाे यस संस्था छैठाैं वर्ष पुरा गरि सातौं वर्षमा प्रवेश गरेको हाे । संस्थाको छैठो बार्षिकोत्सवको उपलक्ष्यमा प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालय, इटहरी सुनसरी, प्रदेश नं २ को ट्राफिक प्रहरी कार्यालय, पथलैया,बारा प्रदेश नं ३ को ट्राफिक प्रहरी कार्यालय, रामनगर,चितवन प्रदेश नं ५ को ट्राफिक प्रहरी कार्यालय, बुटबल,रुपन्देही प्रदेश नं ७ को ट्राफिक प्रहरी कार्यालय, धनगढी, कैलाली लगायत जिल्ला प्रहरी धादिङबेसीलाई कोभिड-१९ बाट बच्न सुरक्षात्मक स्वास्थ्य समाग्रीहरु मास्क, सेनिटाईजर र ग्लोब वितरण गरेको छ । संस्थाले संचालनको छैठो वर्षको अबधिमा ४७ जिल्लाको ६५ वटा शाखा कार्यालय मार्फत ९० हजार घर परिवारलाई आफ्नो सेवा विस्तार गरी उनीहरूमा ४ अर्ब ३० करोड रूपैयाँ लगानीमा रहेको कर्जाको साथै सदस्यहरूबाट १ अर्ब ६० करोड रूपैयाँ बचत परिचालन गरेको छ । संस्थाले सदस्यहरुको लघुउद्यमशिलता विकास लगायत वित्तीय साक्षरतामा मुख्य ध्यान केन्द्रित गरि अगाडी बढेको कुरा संस्थाको प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले जानकारी गराएका छन् । हाल कोभिड १९ बाट प्रत्यक्ष रुपमा असर गरेका ग्राहकहरुलाई राहत स्वरुप ५० लाख रूपैयाँ बराबरको खाद्यान्य समाग्रीहरु वितरण गर्नुको साथै नेपाल सरकारको राहत कोषमा १० लाख सहयोग गरेको कुरा प्रमुख कार्यकारी अधिकृत यादवले जानकारी गराएका छन् ।
नेपाल एयरलाइन्सले यूएनको शान्ति मिसनमा उडान गर्ने
काठमाडाैं । राष्ट्रिय ध्वजा वाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान अफ्रिकन मुलुकमा चार्टर्ड उडान गर्ने भएको छ । नेपाली सैनिकलाई संयुक्त राष्ट्रसङ्घ (यूएन)को शान्ति मिसनमा लैजान नेपाल एयरलाइन्सको चार्टर्ड उडान सेन्ट्रल अफ्रिकन रिपब्लिक र मालीमा गर्ने भएको निगमको अपरेशन विभाग प्रमुख दीपु ज्जहार्चनलले जानकारी दिए । निगमको बजार विविधीकरणको योजनाअनुरुप संयुक्त राष्ट्रसङ्घको सेन्ट्रल अफ्रिकन रिपब्लिकन र मलिको मिनुसामा नेपाली सेनालाई लैजाने सम्बन्धमा आज निगम र नेपाली सेनाका उच्च अधिकारीबीच सम्झौता भएको हो । सम्झौतानुसार मिसनका लागि खटिने नेपाली सेनालाई आगामी असार २४ गते अर्थात जुलाई ८ तारिखमा वाइड बडी जहाजमार्फत अफ्रिकन रिपब्लिक र माली लगिनेछ । निगमको वाइडबडी जहाज काठमाडौंबाट कतारको दोहामा प्राविधिक उडान गर्दै त्यहाँबाट सेन्ट्रल अफ्रिकन रिपब्लक पुग्ने जनाइएको छ । सोही जहाजबाट शान्ति मिसनमा रहेका ती मुलुकबाट सैनिक स्वदेश फर्काइनेछ । नयाँ गन्तव्यको चार्टर्ड उडानलाई कम्पनीले चुनौती र अवसर दुवैरुपमा लिएको अपरेशन प्रमुख ज्युहार्चन बताए । निगमले जुन १२ तारिख र त्यसपछि हुने दक्षिणी सुडानलगायत गन्तव्यको उडान तालिका छिट्टै निर्धारण हुने उल्लेख गरेको छ । रासस
एनआईसी एशिया लघुवित्तको आईपीओ आइतबार बाँडफाँड हुने, १६ हजार बढीको आवेदन रद्द
काठमाडौं । एनआईसी एशिया लघुवित्तले निष्काशन गरेकाे साधारण सेयर (आईपीओ) आगामी आइतबार(असार २१ गते) बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले बिहीबार उक्त जानकारी गराएको हो । उक्त सेयरको प्री-अलोटमेन्ट आज(बिहीबार) भएको थियो । जसअन्तर्गत कूल ३ लाख ९७ हजार ७ सय ४१ जनाको आवेदन मात्र योग्य रहेकोे र बाँकी १६ हजार ४ सय ३९ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । गत असार १० गतेदेखि असार १४ गतेसम्म निष्काशन भएको संस्थाको सेयरमा कूल ४ लाख १४ हजार एक सय ८० जनाले आवेदन दिएका थिए । यससँगै सेयर बाँडफाँडको क्रममा पहिलो चरणमा सबै आवेदकले १०/१० कित्ताको दरले सेयर प्राप्त गर्ने छन् र त्यसपछि बाँकी रहेको सेयर गोलाप्रथा मार्फत वितरण गरिने छ । साथै, आइतबार कहाँ र कति बजे सेयर बाँडफाँड हुन्छ भन्ने अहिले निर्णय भइनसकेको र सो सम्बन्धि जानकारी शनिबार गराइने क्यापिटलले जनाएको छ । गत असार १० गतेदेखि असार १४ गतेसम्म बिक्री खुला भएको उक्त आईपीओमा ४ लाख १४ हजार एक सय ८० जनाले आवेदन दिएका थिए । उनीहरुले कूल २ अर्ब ३० करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबर अर्थात २ करोड ३० लाख ६५ हजार ३ सय ९० कित्ता सेयर माग गरेका छन् । जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा ५.१९ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा ४४ लाख ४३ हजार २ सय कित्ता सेयर बिक्रीमा राखेको थियो । संस्थाले एक सय अंकित मूल्य रहेको कूल ४७ लाख ५५ हजार कित्ता सेयर बिक्री गरेको हो । जुन नेपालका माइक्रोफाइनान्स कम्पनीहरुले हालसम्म जारी गरेका आइपीओ मध्येकै ठूलो हो । जसमध्ये २ लाख ३७ हजार ८ सय कित्ता(५ प्रतिशत) साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको, ७४ हजार कित्ता(०.५ प्रतिशत) साधारण सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने बाँकी ४४ लाख ४३ हजार २ सय कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको हो ।