विकासन्युज

मौद्रिक नीतिको अन्तिम तयारीमा जुट्यो राष्ट्र बैंक, अर्काे साता सरोकारवालासँग बृहत छलफल

काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको अन्तिम तयारीमा जुटेको छ । साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने तयारी सहित राष्ट्र बैंक तयारीमा जुटेको हो । आगामी आर्थिक वर्षको मौद्रिक नीतिले राहत र पुनरुत्थानलाई विशेष जोड दिने नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । अहिलेसम्मको अनौपचारिक रुपमा राहत र पुनरुत्थानलाई जोड दिएको र विभिन्न मञ्चहरुमा पनि यही विषयमा बढी छलफल भएकोले मौद्रिक नीतिले सरोकारवालाले उठाएका विषयलाई नै सम्बोधन गर्ने उनको भनाइ छ । ‘अहिलेसम्म हामी विभिन्न क्षेत्रबाट सुझाव संकलन गरिरहेका छौं, आगामी आर्थिक वर्षको मौद्रिक नीतिले कोरोना भाइरस संक्रमणका कारण उत्पन्न आर्थिक समस्या समाधानको लागि राहत र पुनरुत्थानलाई बढी जोड दिनुपर्छ भन्ने सुझाव नै धेरै आएको छ, राष्ट्र बैंकको बुझाइ पनि त्यस्तै हो, मूल्यबृद्धि बान्छित सीमामा रहन सक्ने गरी मौद्रिक नीति केही खुकुलो खालको आउने सम्भावना छ,’ अनुसन्धान विभागका कार्यकारी निर्देशक समेत रहेका डा. भट्टले भने । राष्ट्र बैंकले आगामी साता सुझाव संकलन सक्ने तयारी गरेको छ । मौद्रिक नीति ल्याउनुअघि राष्ट्र बैंकले बैंकर्स, व्यवसायी, अर्थशास्त्री, प्राध्यापक, उद्यमी जस्ता विभिन्न क्षेत्रका प्रतिनिधि तथा विज्ञहरुसँग सामुहिक छलफल गर्ने गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिम धेरै भएकोले यसपाली राष्ट्र बैंकले भौतिक रुपमा उपस्थिति नगराई वेबनार मार्फत सुझाव संकलन गर्ने तयारी गरेको छ । आगामी साता यस्तो वेबनार हुने डा. भट्टको भनाइ छ ।

सनराइज बैंकद्धारा श्वेता श्री फाउन्डेशनलाई ५ लाख रुपैयाँ सहयोग

काठमाडौं । सनराइज बैंकले सिन्धुपाल्चोकको भुकम्प पीडित माझीहरुलाई एकिकृत बस्ती निर्माण गर्दै आएको श्वेता श्री फाउन्डेशनलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त परोपकारी फाउन्डेशनलाई उक्त सहयोग गरेको हो । शुक्रबार एक कार्यक्रमको बीच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले श्वेता श्री फाउन्डेशनलाई चेक हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृतले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विश्वब्यापी कोभिड-१९को कठिन घडिमा पनि यस्ता कार्य गर्दै आएको छ । आगामी दिनमा पनि अन्य सामाजिक कार्यहरु गरिरहने जनाएका छन् । यस्तै नायिका श्वेता खड्काले फाउन्डेशनलाई विश्वास गरेकोमा सनराइज बैंक प्रति कृतज्ञता जनाए । सो फाउन्डेशनले स्वर्गीय नायक श्री कृष्ण श्रेष्ठको सम्झनामा वि.सं २०७३ फाल्गुन १५ गतेदेखि सिन्धुपाल्चोकको माझी बस्तीमा कुल ५३ आधुनिक र सुविधा सम्पन्न घरहरु निमार्ण गर्दै आएको छ ।

नक्सा स्वीकृत गर्न विद्युतीय हस्ताक्षर प्रयोगमा ल्याउँदै कामपा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी साउन १ गतेदेखि नक्सा स्वीकृत गर्दा विद्युतीय हस्ताक्षर (डिजिटल सिग्नेचर) प्रयोगमा ल्याउने भएको छ । कुनै पनि भवनको नक्सा पास गर्दा कागजी प्रक्रिया पूर्णरुपमा बन्द गर्नका लागि कामपाले यस किसिमको अभ्यास शुरु गर्न लागेको हो । नक्सा दर्ता भएको ३० दिनभित्र स्वीकृतिको प्रमाणपत्र दिने गरी प्रणाली विकास गरिरहेको कामपाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले जानकारी दिए । प्रमुख अर्यालका अनुसार सेवा लिन कार्यालय नै पुग्नुपर्ने, कर्मचारीलाई कुर्नुपर्ने अभ्यासलाई सुधार गर्न खोजिएको हो । यस प्रणालीमा दर्खास्तवालाले आफ्नो फाइल कुन डेस्कमा वा कुन अधिकारीकोमा पुगेको छ भनेर घरमै बसेर बुझन सक्छन् । कामपाले दुई वर्षअघि नै अनलाइबाट नक्सा पास गर्ने तयारी गरे पनि प्रभावकारी हुन सकेको थिएन । विद्युतीय हरस्ताक्षर कार्यान्वयनमा आइसकेपछि दर्खास्तवालाले घरमै बसेर नक्सा दर्ता गर्न सक्छन् । मापदण्ड र कागजागत पुगेका नक्सा स्वचालित प्रणालीबाट प्रक्रियामा जान्छन् । यस प्रक्रियामा दर्खास्तवाला सरजमिन गर्ने बेला र प्रमाणपत्र लिने बेला कार्यालयमा जानुपर्छ । बैंकमा दस्तुर बुझाउने बेला ऊसँग बैंकको कारोवार गर्ने सुविधाअनुरुप घरमै बसेर वा बैंकमा गएर तिर्न सक्छन् । फाइल प्रक्रियामा जाँदा शुरुआतमा नक्सा दर्ता भएको, दस्तुर बुझाएको र नक्सा स्वीकृत भएर प्रमाणपत्र लिन अनुरोध गरिएको एसएमएस दर्खास्तवालाको मोबाइलमा जान्छ । महानगर क्षेत्रभित्र भवन निर्माण वा पुनःनिर्माण गर्दा महानगरबाट अनिवार्य नक्सा स्वीकृत गराउनुपर्छ । यसो नगरे संरचना गैरकानूनी हुन्छ । भवन इजाजत विभागका प्रमुख सुरज शाक्यका अनुसार कामपा क्षेत्रभित्र निर्माण भएका भवन, तला थप हुने भवन, नयाँ निर्माण गरिने भवन तथा संरचनाको अनिवार्य नक्सापास गर्नुपर्छ । जग्गा धनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि, जग्गा धनी दर्ता प्रमाण पूर्जामा फोटो नभएको भए नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपिसहित १४ प्रकारका कागजात आवश्यक पर्छन् । पछिलो समय भवन निर्माण गर्दा नक्सा पास अनिवार्य गरे पनि पहिले नै निर्माण भएका भवन भने धेरै नक्सा पासविनै निर्माण भएको महानगर नै स्वीकार गर्दछ ।

बैंक वित्तीय संस्थाले शाखा बन्द गरेकोमा राष्ट्र बैंकको असन्तुष्टि, भन्छः यो बन्द गर्ने बेला होइन

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्न सरकारले देशव्यापी रुपमा जारी गरेको लकडाउनको कारण कारोबार नभएको कारण देखाएर बैंक वित्तीय संस्थाहरुले शाखा बन्द गर्न थालेका छन् । बैंक वित्तीय संस्थाले यसरी शाखा बन्द गरेकोप्रति नेपाल राष्ट्र बैंकले असन्तुष्टि जनाएको छ । कोरोना भाइरस संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका कारण आर्थिक गतिविधि करिब ठप्प भएकोले यसलाई पुनरुत्थान गर्न आर्थिक गतिविधि बढाउनु पर्ने र त्यसका लागि बैंक तथा वित्तीय संस्थाको उपस्थिति अनिवार्य भएकोले बन्द गराउन नहुने राष्ट्र बैंकको भनाइ छ । आर्थिक गतिविधि बढाउन बैंक तथा वित्तीय संस्थाको उपस्थिति आवश्यक पर्ने भएकोले अहिले भएका शाखा बन्द गर्नु उपयुक्त नभएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् । ‘अहिले केही समयमा कारोबार कम भयो होला, आर्थिक गतिविधि कम भए होलान्, तर अहिले देखिएका समस्या समाधान गरेर आर्थिक रुपमा अघि बढ्न आवश्यक छ, त्यसको लागि बैंक वित्तीय संस्थाको उपस्थिति अनिवार्य हुन्छ, त्यसैकारण बैंक वित्तीय संस्थाका शाखा बन्द गर्नु हुदैन, शाखा नभएका ठाउँमा पनि नयाँ खोल्नुपर्ने अवस्था आउने भएकोले अहिले शाखा बन्द गर्नु उल्टो हुन्छ,’ अनुसन्धान विभागका कार्यकारी निर्देशक समेत रहेका प्रवक्ता डा. भट्टले भने । केही बैंक तथा वित्तीय संस्थाहरुले भने पछिल्लो समय कारोबार कम भएको, खोलिएका शाखामा सेवाग्राही नआएका तथा आफ्नो संचालन खर्च कम गर्न भन्दै कम कारोबार हुने शाखालाई नजिकको शाखासँग गाभ्ने गरेका छन् । यसरी शाखा बन्द गर्दा आफूहरुलाई समस्या भएको सेवाग्राहीको गुनासो छ । सरकारले लकडाउनको समयमा बैंक वित्तीय संस्थाका कर्मचारीलाई आवत जावत गर्न कठाइ गरेपछि शाखा खोल्न समस्या भएको पनि बैंक वित्तीय संस्थाहरुको गुनासो छ । तर, पछिल्लो समय सरकारले लकडाउन खुकुलो बनाउँदै लगेपछि यो समस्या भने समाधान हुँदै गएको छ ।

८.२५ प्रतिशत व्याजमा घर र सवारी कर्जा

काठमाडौं । एनआईसी एशिया बैंकले सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा योजना ग्राहकहरु माझ सार्वजनिक गरेको छ । बैंकले ग्राहकमाझ नेपालको बैंकिङ्ग क्षेत्रकै सर्वाधिक न्यून ब्याजदर तथा प्रशासनिक शुल्क रहेको तीन सुपर चमत्कारिक कर्जा योजनाहरु ल्याएको छ । यस अन्तर्गत बैंकले ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा उक्त कर्जाहरु उपलब्ध गराउनेछ र उक्त ब्याजदर एक वर्षसम्मका लागि परिवर्तन नहुने व्यवस्था गरेको छ । सुपर चमत्कारिक घर कर्जाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्नका लागि जग्गा खरिद आदि वित्तीय सेवा सुविधा लिन चाहने ग्राहकले यस योजनाको लाभ लिन सक्नेछन् । न्यूनतम ५ वर्ष देखि अधिकतम ३० वर्ष (मोरेटोरियम पिरड ५ वर्ष समेत गरी) कर्जाको समयावधि कायम गरिएको छ भने अधिकतम १ करोड ५० लाख रुपैयाँसम्म कर्जा सीमा कायम गरिएको छ । जस अन्तर्गत अधिकतम ५० लाख रुपैयाँसम्मको ओभरड्राफ्ट सुविधा समेत लिन सकिने व्यवस्था गरिएको छ । घर निर्माण गर्दाको हकमा बैंकले निर्माण लागतको शतप्रतिशतसम्म कर्जा प्रवाह गर्ने, घर निर्माणको लागि अधिकतम ५ वर्षसम्मको मोरेटोरियम पिरड लिन सकिने र उक्त मोरेटोरियम अवधिमा ऋणीले कर्जाको ब्याज मात्र भुक्तानी गर्न सक्ने समेत सुविधा रहेको छ । यस बाहेक फेक्जिबल ईएमआई मार्फत ग्राहकले आफ्नो आर्थिक क्षमता अनुसारको आफूले तिर्नसक्ने ईएमआई वार्षिक रुपमा आफैले निधारण गरेर भुक्तानी गर्न सक्नेछन् । यस योजना अन्र्तगत घर कर्जा उपभोग गरिरहेका ग्राहकले बन्डल अफर अन्तर्गत सवारी कर्जा उपभोग गर्न सक्ने व्यवस्था समेत रहेको छ । अन्य बैंक तथा वित्तीय संस्थामार्फत घर कर्जा उपभोग गरिरहेका ग्राहकले यस कर्जा अन्तर्गत आफ्नो कर्जा स्थानान्तरण(स्वाप) गरी आफ्नो आर्थिक भारलाई न्यून गर्न सक्ने बैंकले जनाएकाे छ । यसैगरी सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी र विद्युतीय सवारीको लागि ग्राहकले कर्जा प्राप्त गर्न सक्नेछन् । अन्य बैंकमार्फत सवारी कर्जा उपभोग गरिरहेका ग्राहकले यस बैंकको सुपर चमत्कारिक सवारी कर्जा अन्तर्गत आफ्नो कर्जा स्थानान्तरण(स्वाप) गर्न समेत सक्नेछन् । यस योजनाअन्तर्गत अधिकतम २ करोड रुपैयाँ कर्जा सीमा कायम गरिएको छ । सवारी धितो राखेको हकमा कर्जा अवधि अधिकतम १० वर्षसम्म र सवारी तथा रियलइस्टेट दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको छ ।

आगामी ३ दिन केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुन सक्रिय भएकाले आगामी तीन दिन देशभर बदलीसहित वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै केही दिन वर्षाको सम्भावना रहेकाले बाढीपहिरोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमविद् गङ्गा नगरकोटीका अनुसार आगामी तीन दिन देशभरि नै वर्षाको सम्भावना रहेको छ । महाशाखाले आगामी २४ घण्टा देशको सबै प्रदेशमा बदली रही मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहनुका साथै प्रदेश १, ५, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । तसर्थ ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाइ यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाँउमा डुबानसमेत हुनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ । “शुक्रबार अपराह्नपछि देशको धेरैजसो स्थानमा मनसुनी बादल विकसित भई हल्कादेखि मध्यम वर्षा हुनेछ”, मौसमविद् नगरकोटीले भने । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम, प्रदेश ५, वाग्मती र कर्णाली प्रदेशका केही स्थानमा हलकादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३१ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

कोरोनाकाे बीचमै खुल्यो सुनै सुनले बनेको होटल (तस्वीरसहित)

काठमाडौं । विश्वभरी कोरोना भाइरसको महामारी भइरहेको बेला भियतनाममा भने सुनै सुनले बनेको होटल निर्माण भएको छ । सन् २००९ बाट निर्माण सुरु गरिएको होटलको सुभारम्भ बिहिबार गरिएको हो । भियतनामको राजधानी हनोईमा संसारको पहिलो सुनै सुनले बनेको होटल खुलेको हो । बिहीवार डोल्चे हनोई गोल्डन लेक नामको फाइभ स्टार होटलको शुभारम्भ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । सो होटलको भत्ता, ढोका, झ्याल, कप, टेबल, खानेकुरा राख्ने भाँडो, शावर, भुइँ सबै सुनले नै बनेका छन् । २५ तले सो होटलमा ४ सय वटा कोठा रहेका छन् । होटलको बाहिरी भित्तोमा लगभग ५४ हजार वर्गफीटमा सुनौलो टाइल लगाइएको छ । होटलको स्टाफको ड्रेस कोड पनि रातो र सुनौलो छ । लबीमा फर्निचर र सजावटमा पनि सुनौलो कलाकृति छ । छतमा स्विमिङ पूल छ । त्यहाँबाट हनोई शहरको सुन्दर दृश्य देखिन्छ । सो होटलको प्रेसिडेन्सिय सुइटमा बस्न एक रातको लगभग ८ लाख रुपैैयाँ तिर्नुपर्ने हुन्छ । होटलका कोठाहरूको सबभन्दा कम मूल्य नै लगभग ३० हजार रुपैयाँ छ । मानिसहरूको आकर्षण यस होटलप्रति उच्च देखिएको छ । यो होटललाई दक्षिणपूर्वी एसियाकै सबभन्दा विलासी होटल मानिएको छ ।

चार महिनापछि पक्राउ परे सुन पसल चोरी गर्ने तीन जना

नवलपरासी । नवलपरासी(बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिका वडा नम्बर ४ काँग्रेस चोकमा रहेको मोनिका सुनचाँदी पसलमा चोरी गर्ने तीन जनालाई गैँडाकोट प्रहरीले करिब चार महिनापछि पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय गैँडाकोटले आज बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । गत फागुन १८ गते भएको चोरीमा संलग्न भएको अभियोगमा प्रहरीले दोलखा मेलुङ गाउँपालिका-१ घर भई हाल ललितपुुर महालक्ष्मी नगरपालिका-५ टीकाथली बस्ने २४ वर्षीय अनुज लामा, सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका-३ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका-८ बस्ने २८ वर्षीय तीर्थबहादुर रुम्बा र काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-१२ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोल बस्ने ४० वर्षीय जीतबहादुर तामाङ पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व), इलाका प्रहरी कार्यालय गैँडाकोट, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा र महानगरीय अपराध महाशाखा काठमाडौँबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनास्थलमा अनुसन्धानका क्रममा देखिएका शंकास्पद मोबाइल नम्बर तथा जनशक्तिका माध्यमबाट चोरी गर्ने व्यक्तिको खोजतलास गर्ने क्रममा उनीहरुलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । आरोपितले आफूहरुका भागमा १० देखि १२ तोलासम्म सुन परेको स्वीकार गरेको जनाइएको छ । सुन चोरीको मुद्दामा थप अनुसन्धान भइरहेको र अनुसन्धानपछि सबै कुरा खुल्ने रेग्मीले जानकारी दिए । पक्राउ परेकाविरुद्ध यही असार १४ गतेदेखि लागू हुने गरी डाँका चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ । अभियुक्तका साथबाट सुनका विभिन्न गरगहना १२ तोला पाँच लाल, चोरीमा प्रयोग भएका विभिन्न कम्पनीका ६ थान मोबाइल, फोरिएको अवस्थामा सेफ लकर, प्रदेश ३-०२-०१४ नम्बरको नयाँ स्कुटर-ठेला रिक्सा एक थान र खैरो रङको कपडाको पाइन्ट एकएक थान बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै सेफ फोर्नका लागि गल, घन, टेष्टर, सलाई रेञ्ची, सानो नीलो बाल्टी र ग्यास रेगुलेटरसहितको अक्सिजन सिलिण्डर एकएक थान, छिनो २ र सुन राख्न प्रयोग गरिने ट्रे ६ थान बरामद भएको बताइएको छ । घटनाको मुख्य योजनाकारदेखि अन्य केही व्यक्ति पक्राउ गर्न बाँकी नै रहेको र उनीहरुको खोजी जारी रहेको जनाइएको छ । घटनाको अनुसन्धानमा केही समय लागे पनि अब नजिक पुगेको र अन्य पनि चाँडै पक्राउ हुने उनको भनाइ छ । पूर्वपश्चिम राजमार्ग नजीकै रहेको सुनचाँदी पसल फोरेर सो दिन राति तयारी सुनका गरगहना ६९ तोला पाँच लालसहित सुन र चाँदीका तयारी गरगहना गरी एक किलो तथा रु सात लाख राखिएको सेफ लकरसहित चोरी भएको थियो । रासस