कैलालीको अत्तरियामा सैपाल ग्याँस उद्योग सञ्चालनमा
काठमाडौं । एभरेष्ट ग्रुपले कैलालीको अत्तरियामा सैपाल ग्याँस उद्योग सञ्चालनमा ल्याएको छ । देशभर अन्य छ स्थानमा ग्याँस उद्योग सञ्चालन गरिरहेको यस ग्रुपले अर्को नयाँ उद्योग सञ्चालनमा ल्याएको हो । ग्रुपका अध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार एभरेष्ट ग्याँस ग्रुपसँग हाल सञ्चालनमा रहेका काठमाडौं उपत्यकासमेत ६ वटा उद्योग सञ्चालनमा रहेका छन् भने करिब १७ लाख सिलिन्डर बजारीकरण गरिएका छन् । यस ग्रुपले प्रत्येक महिना करिब चार लाख सिलिन्डर उत्पादन र बिक्रि-वितरण गर्दै आएको छ भने प्रत्येक महिना करिब १० लाख सिलिन्डर एल.पी.ग्याँस उत्पादन गर्ने उद्योगहरुको क्षमता रहेको छ । यस ग्रुपले उद्योगको आवश्यकता सबैभन्दा बढी रहेको यस क्षेत्र पहिचान गरी आवश्यक तयारीकै क्रममा यस क्षेत्रकै अत्याधुनिक यूरोपियन प्रविधियुक्त सैपाल ग्याँस उद्योगमार्फत्सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नम्बर ५ गरी तीन वटै प्रदेशमा यस उद्योगमार्फत् डिलरका माध्यमबाट उपभोक्ताको भान्सासम्म सेवामुखी व्यवसाय गर्दै जाने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।
गण्डकीलाई प्राप्ति पश्चात मेगा बैंकद्वारा असार २१ गतेदेखि एकीकृत कारोबार
काठमाडौं । मेगा बैंक नेपालले गण्डकी विकास बैंकलाई प्राप्ती (एक्विजिशन) गरि आगामी असार २१ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएको छ । गत असार १० गते नेपाल राष्ट्र बैंकबाट गण्डकी विकास बैंकलाई प्राप्ती गर्न अन्तिम स्वीकृति पाएको मेगा बैंकले ‘मेगा बैंक नेपाल लिमिटेड’को नामबाट आगामी आइतबारबाट एकीकृत कारोबार सञ्चालन गर्ने भएको हो । यससँगै, गण्डकी बैंकको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुले असार २१ गतेबाट मेगा बैंक नेपाल लिमिटेडको प्रादेशिक/शाखा कार्यालयको रुपमा कारोबार सञ्चालन गर्ने छन् । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र पाएको मेगा बैंकको केन्द्रीय कार्यालय काठमाडौंको कमलादीमा रहेको छ भने ‘ख’ वर्गको वित्तीय संस्था गण्डकी विकास बैंकको केन्द्रीय कार्यालय कास्कीको पोखरामा रहेको छ ।
लकडाउनमा कुलमानको सक्रियता, काठमाडौंका अव्यवस्थित तारलाई भूमिगत गर्नेमा तीव्रता
काठमाडौं । कोरोना भाइरसको कारण उत्पन्न लकडाउनमा धेरै कामहरु प्रभावित बनेका छन् । विकास निर्माणका आयोजनादेखि अन्य गतिविधिहरु लकडाउनको समयमा सुस्त नै छन् । तर यही लकडाउन काठमाडौंका अव्यस्थित विद्युतका तारहरु भूमिगत गर्ने कार्यलाई भने तीव्रता दिने एक अवसरका रुपमा देखिएको छ । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा अव्यवस्थित रुपमा रहेको गुजुल्टो तारलाई व्यवस्थित बनाउनको लागि तार भूमिगत गर्ने कार्यलाई तीव्रता दिइएको हो । प्राधिकरणको रत्नपार्क र महाराजगञ्ज विद्युत् वितरण केन्द्र अन्तर्गतबाट भइरहेको यो कामलाई पहिलो चरणको आयोजना भनिएको छ । महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत बालुवाटार, बूढानीलकण्ठ, टोखा, गोङ्गबु, महाराजगञ्ज लगायतका क्षेत्रमा तार भूमिगत गरिनेछ । यस्तै, महाराजगन्ज वितरण केन्द्रअन्तर्गत बालुवाटार, पानीपोखरी, बुढानीलकण्ठ, टोखा, गोंगबु, सामाखुसी, महाराजगन्ज, धापासी, बसुन्धारा, शिवपुरी, चुनीखेल, सुकेधारा, धर्मस्थली, टिचिङ हस्पिटललगायतका स्थानमा लाइन भूमिगत गर्ने प्राधिकरणको योजना छ । आयोजनामा एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण र नेपाल सरकार तथा प्राधिकरणको लगानी छ । यो आयोजना अन्तर्गत करिब २ सय ५० किलोमिटरमा ११ हजार भोल्ट, र ४ सय किलोमिटरमा ४ सय भोल्टको भूमिगत वितरण लाइन निर्माण गरिनेछ । काठमाडौंले तारको गुजुल्टोबाट मुक्ति पाउने, बिजुलीका तार भूमिगत गरिँदै रत्नपार्क वितरण केन्द्रअन्तर्गतका रत्नपार्क, न्युरोड, अनामनगर, ठमेल, त्रिपुरेश्वर, सिंहदरबार, लाजिम्पाट, एयरपोर्ट, चाबहिल, जोरपाटी क्षेत्रमा पनि तार जमिनमुनि बिछ्याइने काम गरेको हो । आयोेजनाका अनुसार चाबहिल क्षेत्रको वितरण लाइन भूमिगत गर्ने काम पूरा भइसकेको छ । प्राधिकरणको यो काम २०२१ अक्टोबर सम्ममा सक्ने गरी भारतको केईआई कम्पनीलाई ठेक्का दिएको छ । यस्तै, महाराजगन्ज क्षेत्रमा १ सय ४ किलोमिटर वितरण लाइन भूमिगत गर्ने प्राधिकरणको योजना छ । गत फागुनदेखि सुरु भएको वितरण लाइन भूमिगतको काम अहिलेसम्म निरन्तर रुपमा भइरहेको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले चाबहिल–मित्रपार्क र चाबहिल–चुच्चेपाटी खण्डको लाइन भूमिगत गरेर सकिएको बताए । त्यसमा अब प्यानल राख्न बाँकी रहेको बताइएको छ । केही सिमित कामदारबाट तार भूमीगत गर्ने काम भइरहेको अधिकारीले बताए । चाबहिल क्षेत्रको काम पूरा भएकाले लैनचौर क्षेत्रको वितरण लाइन भूमिगत गर्ने कार्यको सुरुवात गर्ने तयारी भइरहेको उनले बताए । उनका अनुसार अब दैनिक रुपमा वर्षा आउने भएकोले त्यसले गाडी आवत जावतमा समस्या हुने भएकोले भित्री भागबाट काम सुरु गर्ने बताए । तार भूमिगत गर्ने घिसिङको ‘कोर प्लान’ नपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देश कुलमान घिसिङको यो मुख्य योजना हो । देशको लोडसेडिङ अन्त्य देखि वितरण प्रणाली सुधारका धेरै काम सफलतापूर्वक सम्पन्न गरेर वाहीवाही पाएका घिसिङको काठमाडौं लगायतका क्षेत्रको अव्यवस्थित तारलाई भूमिगत गर्नु पनि महत्वाकांक्षी योजना हो । उनले प्राधिकरण र देशको विद्युत क्षेत्र सुधारका लागि एलइडी बल्ब देखि पम्प स्टोरेज आयोजना सम्म उनका योजना रहेका छन् । जसमध्ये यो उनको कोर प्लानमा पर्छ । घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएपछि, स्मार्ट मिटर, स्मार्ट ग्रीड र भूमिगत तार बिच्छ्याउने उनको महत्वाकांक्षी योजनाका रुपमा उनले लिएका थिए । विभिन्न समयमा त्यसका लागि कदम चाले पनि आलसम्म हुन सकेको थिएन । तर, उनका लागि तार भूमिगत गर्ने उचित समय लकडाउन बन्न पुग्यो ।
प्रिमियर इन्स्योरेन्सको सञ्चालकमा मानन्धर र श्रेष्ठ पुनः निर्वाचित
काठमाडौं । प्रिमियर इन्स्योरेन्सको सञ्चालकमा केदार नारायण मानन्धर र बलराम श्रेष्ठ पुनः निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न कम्पनीको २६औं वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना संचालकलाई पुनः निर्विरोध निर्वाचित गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा कुल बीमा शुल्क एक अर्ब ६४ करोड ६७ लाख ८८ हजार रुपैयाँ र २६ करोड ५८ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ७ करोड ४५ लाख ६० हजार रुपैयाँ रहेको छ ।
एनआईसी एशिया लघुवित्तको आईपीओ शनिबार नै बाँडफाँड हुने, घरबाटै लाइभ हेर्न सकिने
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको साधारण सेयर(आईपीओ) शनिबार(असार २० गते) नै हुने भएको छ । आइतबार बाँडफाँड हुने भनिएको संस्थाको आईपीओ एक दिन अगाडि नै बाँडफाँड हुने भएको हो । संस्थाको आईपीओ शनिबार बिहान साढे ९ बजे सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा हुनेछ । उक्त सेयरकाे बाँडफाँड प्रक्रिया लगानीकर्ताले सानिमा क्यापिटलको फेसबुक पेजबाट लाइभ हेर्न सक्नेछन् । आगामी साता दुई कम्पनीको आईपीओ निष्काशन हुने भएको र उक्त सेयरमा लगानी गर्न लगानीकर्तालाई सहज हुने भएकाले शनिबार नै बाँडफाँड गर्न लागेको बिक्री प्रबन्धक क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार आइतबार साधना लघुवित्तको आईपीओको बिक्री खुला हुने भएको र सोहि दिन बाँडफाँड गर्दा सीडीएससीको सर्भरमा चाप पर्ने भएकाले अघिल्लो दिनको लागि मिति तय गरिएको हो । उक्त सेयरको प्री-अलोटमेन्ट आज(बिहीबार) भएको थियो । जसअन्तर्गत कूल ३ लाख ९७ हजार ७ सय ४१ जनाको आवेदन मात्र योग्य रहेकोे र बाँकी १६ लाख ४ सय ३९ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । गत असार १० गतेदेखि असार १४ गतेसम्म निष्काशन भएको संस्थाको सेयरमा कूल ४ लाख १४ हजार एक सय ८० जनाले आवेदन दिएका थिए । यससँगै सेयर बाँडफाँडको क्रममा पहिलो चरणमा सबै आवेदकले १०/१० कित्ताको दरले सेयर प्राप्त गर्ने छन् र त्यसपछि बाँकी रहेको सेयर गोलाप्रथा मार्फत वितरण गरिने छ । गत असार १० गतेदेखि असार १४ गतेसम्म बिक्री खुला भएको उक्त आईपीओमा ४ लाख १४ हजार एक सय ८० जनाले आवेदन दिएका थिए । उनीहरुले कूल २ अर्ब ३० करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबर अर्थात २ करोड ३० लाख ६५ हजार ३ सय ९० कित्ता सेयर माग गरेका छन् । जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा ५.१९ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा ४४ लाख ४३ हजार २ सय कित्ता सेयर बिक्रीमा राखेको थियो । संस्थाले एक सय अंकित मूल्य रहेको कूल ४७ लाख ५५ हजार कित्ता सेयर बिक्री गरेको हो । जुन नेपालका माइक्रोफाइनान्स कम्पनीहरुले हालसम्म जारी गरेका आइपीओ मध्येकै ठूलो हो । जसमध्ये २ लाख ३७ हजार ८ सय कित्ता(५ प्रतिशत) साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको, ७४ हजार कित्ता(०.५ प्रतिशत) साधारण सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने बाँकी ४४ लाख ४३ हजार २ सय कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको हो ।
‘मेरा सम्पादककाे मुट छ मर्म छैन’
काठमाडाैं । पेशागत सुरक्षाको ग्यारेण्टीको माग गर्दै नेपाल पत्रकार महासंघले शुक्रबार राजधानीमा विरोध प्रदर्शन गरेको छ। श्रमजीवी पत्रकार ऐन लागु गर्नुपर्ने, पेशागत सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने माग गर्दे महासंघले प्रदर्शन गरेको हो। मिडिया हाउसले लकडाउनको कारण देखाएर पत्रकारलाई कामबाट निकाल्ने, बेतलबी बिदामा राख्ने, तलब नदिनेजस्ता गतिविधि बढेको भन्दै पत्रकारहरु सडकमा उत्रिएका छन्। विराेधमा उत्रिएका पत्रकारहरुले ‘अरुको आवाज हामीले सुन्यौँ, हाम्रो आवाज कसले सुन्ने ?’ ‘सञ्चारगृहले कमाएको अर्बौँ मुनाफा खोई ? मेराे सम्पादककाे मुट छ मर्म छैन ’ आदि लेखिएका प्ले कार्ड बोकेका थिए।
क्यान्सर राेगी, ईमर्जेन्सीका बिरामी तथा स्वास्थ्यकर्मीकाे काेराेना परीक्षण हुने
काठमाडाैं । सरकाराले सबै क्यान्सर राेगी, ईमर्जेन्सीका बिरामी तथा स्वास्थ्यकर्मीकाे काेराेना परीक्षण गर्ने भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता जागेश्वर गौतमले सबै क्यान्सर, मधुमेहका बिरामी, ईमर्जेन्सीका बिरामी तथा स्वास्थ्यकर्मीकाे काेराेना परीक्षण गर्ने तयारी भएकाे बताएका हुन् । शुक्रबार मन्त्रालकाे प्रेस ब्रिफिङ गाैतमले यस्ताे बताएका हुन् । यसका साथै सरकारले संक्रमितहरुलाई राख्न थप सरकारी, सामुदायिक र निजि अस्पतालहरु थप्ने तयारी भईरहेकाे जानकारी दिए ।
कोरोनाको कारण काठमाडौंमा पनि एक जनाको मृत्यु
काठमाडाैं । काेरोनाको कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ८५ वर्षीय वृद्धको मृत्यु भएको पुष्टि गरेका हुन् । काठमाडौंमा कोराेनाको कारण मृत्यु भएको यो पहिलो केस हो । उनी काठमाडौंको बानेश्वरका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५ वर्षका पुरुषको असार १७ गते काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएको हो । उच्च रक्तचाप र पार्किन्सनको बिरामी वृद्ध छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेका बेला उनको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।