नेपालमा थप ७ सय ४० जनामा कोरोना पुष्टि, अहिलेसम्मकै उच्च
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ७ सय ४० जनामा कोराेना भाइरस देखिएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १५ हजार २ सय ५९ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ६१ सय ४३ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३२ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म २ लाख ४२ हजार २ सय ४७ काे पिसिआर विधि र ३ लाख ६ सय २९ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ । सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन । हाल देशभर ३५ हजार ४ सय ७२ जना क्वारेन्टिनमा रहेका छन् भने ९ हजार ८४ जना आईसाेलेसनमा रहेका छन् ।
अनुमति नलिई डिजिटल कारोबार गर्ने संस्थालाई झट्का, त्यस्तासँग कारोबार नगर्न राष्ट्र बैंककाे निर्देशन
काठमाडौं । अनुमति नलिई डिजिटल प्रणालीमार्फत कारोबार गर्ने संस्थाहरुलाई झट्का लागेको छ । नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकबाट अनुमति नलिएका तर भुक्तानी प्रणाली सम्बन्धि कार्य गर्दै आएका विभिन्न संस्थाहरुसँग कारोबार नगर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले शुक्रवार एक सूचना जारी गर्दै बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकबाट अनुमति नलिएका संस्थाहरुलाई डिजिटल पेमेन्ट पार्टनरको रुपमा आवद्ध गरी भुक्तानी सेवा संचालन गरे गराएकोप्रति गम्भिर ध्यानाकर्षण भएको पनि बताएको हाे । नेपाल राष्ट्र बैंकबाट कुनै पनि अनुमति नलिई कारोबार गर्दै आएका विभिन्न संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले बैंकबाट अनुमति लिइसकेपछि मात्र त्यस्तो संस्थासँग कारोबार गर्न निर्देशन दिएको छ । सूचनामा भुक्तानी सेवा संचालनका लागि राष्ट्र बैंकबाट अनुमति पाएका संस्थालाई मात्र डिजिटल पेमेन्ट पार्टनर रुपमा आवद्ध गराउन निर्देशन दिइएको समेत उल्लेख गरेको छ । भुक्तानी तथा फस्र्यौट ऐन २०७५ को दफा ५ अनुसार नेपाल राष्ट्र बैंकको अनुमति नलिई भुक्तानी प्रणाली सञ्चालन गर्न वा भुक्तानी सेवा प्रदायकको रुपमा काम गर्न वा त्यस्तो सेवा सञ्चालन गर्न नपाइने प्रावधान रहेको सूचनामा उल्लेख छ । नेपाल राष्ट्र बैंकबाट हालसम्म भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायक गरी कुल २३ वटा संस्थाले डिजिटल भुक्तानीका लागि अनुमति लिएका छन् । बैंकबाट भुक्तानी प्रणाली सञ्चालक अन्तर्गत ९ वटा र भुक्तानी सेवा प्रदायक अन्तर्गत १४ वटा संस्था तथा कम्पनीहरुले डिजिटल भुक्तानी कारोबारका लागि अनुमति लिएका छन् ।
वाग्मतीको अर्थसम्बन्धी विधेयक पारित
हेटौँडा । वाग्मती प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७७ लाई बहुमतले पारित गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सोसम्बन्धी प्रस्ताव राखेका थिए । उक्त विधेयकमाथिको छलफलमा सहभागी हुँदै प्रदेशसभा सदस्यले सरकारले प्रशासनिक खर्च कटाएर स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि सडक निर्माण र उपेक्षित वर्गलाई आत्मनिर्भर हुने कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिए । प्रदेशसभा सदस्य केशवराज पाण्डे, सरेश नेपाल, सीता अधिकारी, प्रभात तामाङ, रमेश पौडेल, सुरेन्द्रराज गोसाईँ सिर्जना सैँजु, छिरिङ्दोर्जे लामा र पुकार महर्जनले आफ्नो विचार प्रस्तुत गरेका थिए ।
ज्योति विकास बैंकको सूचना अधिकारीमा रामहरि आचार्य नियुक्त
काठमाडौं । ज्योति विकास बैंकको सूचना अधिकारीमा रामहरि आचार्य नियुक्त भएका छन् । बुधबार बसेको बैंकको सञ्चालक समितिको ३६३औं बैठकले बैंकको सहायक महाप्रबन्धक आचार्यलाई सूचना अधिकारी पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सूचना अधिकारी आचार्यले असार १८ गतेदेखि उक्त पदको जिम्मेवार सम्हालेका छन् ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको भाका १ वर्ष सर्यो
काठमाडाै । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको भाका १ वर्ष पर सरेको बताएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कोरोना भाइरसका कारण निर्माणको काममा अवरोध भएको र लगत्तै वर्षा सुरु भएकाले निर्माण तथा सञ्चालनका लागि केही थप समय लाग्ने जानकारी दिए। गएको वर्ष सन् २०२० को मार्चमा सञ्चालन गर्ने घोषणा गरिएको भएपनि सरकारले फेरि एक वर्ष पर सारेको छ। सन् २०२० को डिसेम्मरसम्म निर्माणको म्याद थप गरिएको र सन् २०२१ को मार्चसम्म उडान सुरु गरिने नयाँ लक्ष्य रहेको उनले बताएका छन्। चिनियाँ कम्पनीले निर्माणको जिम्मा लिएको उक्त विमानस्थलमा समय थप हुँदै आएको छ।
१० खर्ब लगानी रहेको पर्यटन क्षेत्र संकटमा, ३४ अर्बकाे क्षति, ८ लाख मानिस बेरोजगार हुने चिन्ता
काठमाडौं । सरकारी र नीजि क्षेत्रबाट गरी १० खर्ब बढीको लगानी रहेको पर्यटन क्षेत्र संकटमा परेको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण नेपालको पर्यटन क्षेत्रमा धेरै असर परेको बताइएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पनि कोरोनाको कारण पर्यटन क्षेत्र धरासायी बनेको धारणा राखेका छन् । शुक्रबार मत्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यति ठूलो लगानी रहेको क्षेत्रमा परेको असरले सम्पूर्ण क्षेत्रलाई त्यतिकै असर परेको बताएका छन् । उनले अब कोरोना संक्रमण जोखिमको अवस्था हेरेर व्यवसाय सञ्चालनका लागि आवश्यक छलफल तथा तयारी भइरहेको बताएका हुन् । साढे २ लाख प्रत्यक्ष र ८ लाख मान्छे आंशिक रुपमा पर्यटन व्यवसायसँग जोडिएको उल्लेख गर्दै उनले अहिले यी सबै मानिसहरुलाई असर परिरहेको उनको भनाई छ । यस्तै, लकडाउन सुरु भएदेखि आजसम्म पर्यटन क्षेत्रमा ३४ अर्ब क्षति भएको बताइएको छ । सरदर प्रतिमहिना १० अर्ब कारोबार मूल्यको प्रत्यक्ष क्षति भएको अध्ययनले देखाएको छ । मन्त्री भट्टराईले कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि जारी भएको लकडाउनका कारण पर्यटन क्षेत्रमा ८ लाखको रोजगारीमा असर परेको बताए । कोभिडका कारण कर्मचारीहरुलाई तलब दिन पनि समस्या भइरहेको उनले बताए । ‘भोलि होटल सञ्चालनमा आएपछि कसरी सतर्कता अपनाउने भन्ने विषयमा पर्यटन बोर्डसँग मिलेर काम भइरहेको छ, अहिलेको पर्यटक र ग्राहक नै आउन नसक्ने अवस्थामा होटल सञ्चालन गरेर मात्रै हुँदैन, त्यसका लागि हामी तयारी गरिरहेका छौं,’ उनले भने । व्यवसायीहरुले होटल सञ्चालनका लागि आवश्यक प्रोटोकल तयार गरेर आए छलफल गर्न सकिने उनले बताए । यस्तै, देशको अर्थतन्त्रलाई ध्यानमा राख्दै बजेटमार्फत ५० अर्बको पुर्नकर्जाका लागि कोष बनाइएको उनको भनाई छ । १ खर्बको अर्को कोष बनाइएको उल्लेख गर्दै उनले पर्यटन क्षेत्रमा परेको असरलाई कसरी सम्बोधन गर्ने भनेर अहिले २० करोडको एउटा कोष बनाइएको बताए ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका स्थानीय पाठ्यक्रम निर्माण गर्दै
काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आधारभूत तहका विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने भएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ मा भएको व्यवस्थाअनुसार चालू आवदेखि नगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको हो । स्थानीय ज्ञान, सीप, प्रविधि र संस्कृति भावि पुस्तालाई हस्तान्तरण गर्नमा सघाउ पु¥याउने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माणको कार्य हुन लागेको छ । आधारभूत तहको कक्षा १ देखि ८ सम्म स्थानीय पाठयक्रम निर्माण गरी लागू गर्ने योजना बनाइएको छ । चालू शैक्षिक सत्रमा कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम निर्माण गरिने नगरपालिकाको शिक्षा शाखाका प्रमुख टिकेन्द्रराज भट्टले बताए । उनले भने, “पाठ्यक्रमको खाका (ड्राफ्ट) तयार गर्नका लागि नगरपालिकाका विद्यालयका प्रधानाध्याकहरुको विज्ञ समिति गठन गरी कार्य अन्तिम चरणमा पुगेको छ ।” खाका तयार भएपछि नगर क्षेत्रका शिक्षा क्षेत्र समृद्ध व्यक्तिसँग छलफल र परामर्श लिई खाकालाई अन्तिम रुप दिई पाठ्यक्रमका रुपमा लागू गरिने उनले बताए । अर्को शैक्षिक सत्रमा कक्षा ४ देखि ८ सम्मको स्थानीय पाठयक्रम निर्माण गरि लागू पर्ने उनको भनाइ छ । स्थानीयस्तरका विषयवस्तुहरु समावेश गरी विद्यालयमा नियमित पठनपाठन गर्ने अभिप्रायले शैक्षिक सामग्री तयार गर्ने कार्य भैरहेको छ । पाठ्यक्रममा यस क्षेत्रको प्राकृतिक, सामाजिक, ऐतिहासिक, सांस्कृतिक, आर्थिक पक्षसँगै जैविक विविधता, नदी, ताल, तलैया, वन सम्पदा, खनिज पदार्थ, जलवायु परिवर्तन, विपद्, योग, खेलकुद, असल सामाजिक कार्यक्रमहरु, स्थानीय पेशा व्यवसायलाई पाठ्यक्रममा समावेश गरिनेछ । कक्षा १ देखि ३ सम्म पढाइने स्थानीय पाठ्यक्रम १०० पूर्णाङ्कको हुनेछ । रासस
सप्तरीका वडाध्यक्षमा भेटियो कोरोना
राजविराज । सप्तरीका एक जना वडाध्यक्षलाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालका निमित्त प्रमुख दुनियालाल यादवले तिलाठी कोइलाडी गाउँपालिका वडा नं ७ का ५८ वर्षीय वडाध्यक्षमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । उनी क्वारेन्टिन व्यवस्थापनमा सक्रिय रहँदै आएका थिए । उहाँसँगै गाउँपालिकाका अन्य वडाध्यक्ष, क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कार्यालय सहयोगीसहित अन्य कर्मचारीको स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गर्ने तयारीसमेत गरिएको प्रमुख यादवले बताए । सो वडाको क्वारेन्टिनमा रहेकामध्ये करिब २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिए । यससँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या २६७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा कोरोनाबाट १३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा रञ्जित झाले बताए ।