विकासन्युज

रोकिएन असारे विकास

काठमाडौ‌ं । पूर्वाधार विकासका काम आर्थिक वर्षको अन्तिम महिनानामा हुने क्रम रोकिएको छैन । तीनै तहका सरकारको बजेट पारित अघिल्लो वर्षको असारमै हुने कानूनी व्यवस्था गरिएको छ । विनियोजित बजेट तह लगाउने उद्देश्यले अन्तिम समयमा काम हुँदा गुणस्तरमा सम्झौता हुने गरेको छ । यसले गर्दा विकास निर्माणमा छुट्याइएको बजेट बालुवामा पानी हाले सरह भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको केन्द्र थलीबाट मूलपानीको प्लटिङमा निस्कने भित्री सडककमा असारको तेस्रो साता बल्ल काम थालिएको छ । असारे झरीका बीच सडकमा काम हुँदा गुणस्तरमा सम्झौता भएको स्थानीयवासीको गुनासो छ । भित्री कच्ची सडकमा मुसलधारे वर्षाका बीच काम हुँदा बाटो हिलोले हिँड्न नसकिने, पैदल यात्री एवं सवारी वाहक चिप्लिएर लडेर घाइते हुने लगायत समस्या रहेको स्थानीयवासी श्रीराम सापकोटाले बताए । निर्माण स्थलमा सूचना पाटी समेत नदेखिँदा कति सडकमा के काम गर्न लागिएको भन्ने थाहा नभएको उनले सुनाए । सडक निर्माणका क्रममा सिमेन्टको मात्रा समेत कम प्रयोग भएको स्थानीयवासीको भनाई छ । स्थानीयवासीले गुणस्तरीयता कायम हुनुप¥यो भनी राखेको माग पनि निर्माण व्यवसायीले सुनेका छैनन् । नगर प्रमुख कृष्णहरि थापा वाग्मती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालयको ठेक्कामा काम भइरहेको बताउँछन् । असारे झरीमा ग्राभेल नहाल्न नगरपालिकाले समेत अनुरोध गरेको उनले बताए । जिल्ला प्रशासन कार्यालबाट दरभाउ नआई बोलपत्र नहुने, असोजसम्ममा मात्र दरभाउ आउने, त्यसपछि टेण्डर गर्दा काम गर्ने समय असारमै पुग्ने गरेको नगरपालिकाले जनाएको छ । यसमा सुधारका लागि प्रशासन कार्यालय र महालेखा परीक्षकको कार्यालयलाई समेत अनुरोध गरिएको नगर प्रमुख थापाले जानकारी दिए । पूर्वाधार विकास कार्यालय अन्तर्गत ठेक्का भई प्लम्ब वाल लगाउने काम सम्पन्न भइसकेको इञ्जिनीयर सुजन थापाले बताए । त्यही सडकको मूलपानी प्लटिङतिरको भागमा नगरपालिकाले काम गरिरहेको छ । नगरपालिकाको काममा भने विभिन्न किसिमका समस्या आएको सुनिएको उनले जानकारी दिए । त्यो सडकका विषयमा स्थानीयवासीले बिरोध समेत गरिरहेका छन् । कार्यालयले गरेको भागमा भने सूचना पाटी राखिएको उनको भनाइ छ । त्यस क्षेत्रमा रु एक करोडको लागतमा ५८८ घनमिटरको वाल निर्माण भएको जनाइएको छ । नगरपालिकाको वडा नं.–५ को एउटै सडकमा एकातिर पूर्वाधार विकास कार्यालय र अर्कोतिर नगरपालिकाले काम गरिरहेको छ । नगर प्रमुख थापा पनि त्यस क्षेत्रमा नगरपालिकाको योजना समेत सञ्चालनमा रहेको स्वीकार्छन् । वर्षामा ग्राभेल भने नहाल्ने उनको भनाई छ । रासस

मेडिकल कलेजले तिरेन दुई करोड ५८ लाख रूपैयाँ भाडा

चितवन । भारतीयले लगानी गरेको यहाँको कलेज अफ मेडिकल साइन्सेसले जग्गा भाडाबापतको भरतपुर अस्पताललाई तिर्नुपर्ने दुई करोड ५८ लाख १४ हजार ४२५ रूपैयाँ तिर्न आलटाल गरेको छ । सो कलेजले भरतपुर अस्पतालको नौ बिघा जग्गा प्रतिबिघा वार्षिक एक लाख रूपैयाँ मात्र तिर्ने गरी शुरुमा भाडामा लिएको छ । भरतपुर अस्पतालका लेखा प्रमुख भृगुराज खनालका अनुसार महालेखा परीक्षकको कार्यालयले गत वर्षसम्मको दुई करोड २० लाख २३ हजार ७७० रूपैयाँ तिर्न बाँकी रहेको भन्दै तत्काल असुल गर्न ताकेता गरेको छ । यस वर्षको भाडा र पछि थप गरिएको रकमसहित रु ३७ लाख ९० हजार ६५५ तिर्न बाँकी रहेको छ । अस्पतालले पटकपटक भाडा बुझाउन ताकेता गरेको भए पनि भाडा नउठेको उनले बताए । राष्ट्रिय सतर्कता केन्द्रले अस्पताललाई पत्राचार गरी दुई संस्थाबीचको सम्झौताको विस्तृत विवरण माग गरेको छ । महालेखा परीक्षकको कार्यालयले पनि स्वास्थ्य विभागमार्फत भाडा असुली तत्काल गर्न अस्पताललाई ताकेता गरिरहेको खनालले जानकारी दिए । विसं २०६२ मा सम्झौता हुँदा प्रतिबिघा वर्षको एक लाख रूपैयाँ, प्रतिवर्ष थप सहयोग १५ लाख रूपैयाँ र हरेक वर्ष सो रकमको १० प्रतिशतले वृद्धि हुने भनी सम्झौता गरिएको छ । नेपाल सरकारले अस्पतालको नाममा रहेको जग्गा कलेजलाई भाडामा दिने निर्णय गरेसँगै सन् १९९३ मा तत्कालीन शिक्षा, संस्कृति तथा समाजकल्याण मन्त्रालयले इन्टरनेस्नल सोसाइटी फर मेडिकल एजुकेसनसँग सम्झौता गरेको थियो । सो सम्झौतापश्चात अस्पतालले सम्झौता गरी भाडामा दिएको हो । यसबीचमा अस्पताल र कलेजबीच विभिन्न मितिमा फरकफरक किसिमका सम्झौता हुँदै आएको अस्पतालले जनाएको छ । पछिल्लो वर्षहरुमा भाडा रकम निकै न्यून भएकाले पुनः सम्झौता गर्नुपर्ने माग भरतपुर अस्पतालको भए पनि मेडिकल कलेजले अटेर गर्दै आएको जनाएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले सो मेडिकल कलेजका आधिकारिक व्यक्ति बाहिर भएकाले कुरा हुन नसकेको भए पनि उनी फर्किएपछि संस्थागत रुपमा बैठक बसी यस विषयको टुङ्गो लगाइने बताए । हाल भरतपुर अस्पतालले एक कट्ठाभन्दा कम जग्गाको मासिक झण्डै पाँच लाख रूपैयाँ भाडा असुल गरिरहेको बेलामा एक बिघाको वार्षिक एक लाख रूपैयाँ भाडासमेत कलेजले नतिरेको हो । अस्पतालले मेडिकल कलेजलाई ४९ वर्षका लागि जग्गा भाडामा दिएको हो । अस्पतालको आफ्नो गुरुयोजनाअनुसार संरचना निर्माणका लागि जग्गा अभाव भइरहेका बेला मेडिकल कलेजले कौडीको भाउमा लिएको जग्गा झाडी बनाएर छोडेको भन्दै सरोकारवालाले विरोध गरिरहेका छन् । रासस

सुन ताेलाकाे ५ सय रुपैयाँले घट्यो

काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । बिहिबारकाे तुलनामा सुनकाे भाउ तोलामा पाँच सय रुपैयाँले घटेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारकाे लागि छापावाल सुन प्रतितोला ९० हजार ५ सय कायम गरेको छ । बिहीबार तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीकाे भाउ बिहिबारकाे तुलनामा १० रुपैंयाले घटेकाे छ । बिहीबार तोलाको ९५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ शुक्रबारका लागि ९४० रुपैयाँ तोकिएको छ । यस्तै तेजाबी सुनको भाउ पनि तोलामा ५ सय रुपैयाँले नै घटेको छ । शुक्रबारका लागि तेजाबी सुनको भाउ तोलाको ९० हजार ६५ तोकिएको छ । बिहीबार तोलाको ९० हजार ५ सय ६५ रुपैयाँ तोकिएको थियो ।  

प्रख्यात भारतिय कोरियोग्राफर सरोज खानको निधन

काठमाडौं । प्रख्यात भारतिय कोरियोग्राफर सरोज खानको शुक्रबार निधन भएको छ। दुई साता अघि अस्पताल भर्ना भएकी उनको शुक्रबार बिहान करिब २ बजे मुम्बईको गुरु नानक हस्पिटलमा मृत्यु भएको बताईएकाे छ । ७१ वर्षीया खान मुटुको समस्याबाट पीडित थिइन्। यसका साथै उनी मधुमेहकाे बिरामी पनि थिईन् ।

स्मार्ट टेलिकमको अफरः ३ रुपैयाँ ८३ पैसामा १ दिनभर भ्वाइस कल, २ सय ५४ रुपैयाँमा ४ जिबी डेटा

काठमाडौ । स्मार्ट टेलिकमले ग्राहकहरुलाई डाटा तथा भ्वाइस प्याकेजमा विभिन्न सुविधाहरु प्रदान गर्दै आएको छ । स्मार्टको मोबाइल प्रयोगकर्तालाई पनि उसले प्रदान गरेका प्याकको बारेमा जानकारी नहुन सक्छ । स्मार्टले भने ग्राहकलाई सहुलियत दिनको लागि विभिन्न प्रकारका सुविधा भने प्रदान गरिरहेको हुन्छ । डाटा प्याकहरु स्मार्ट टेलिकमले ग्राहकहरुलाई ‘स्मार्ट डाटा प्याक्स’ नामक योजनाबाट सेवा दिइरहेको छ । स्मार्ट टेलिकमको २० जिबी डाटा ५ सय ९ रुपैयाँमा किन्न सकिन्छ । उक्त डाटा प्याकेज एक महिनाको अवधिसम्म प्रयोग गर्न सकिन्छ । दुई सय एमबी डाटा ग्राहकहरुले २ सय एमबी डाटा ११ रुपैयाँ ४९ पैसामा प्राप्त गर्न सक्छन् । सो प्याक १ दिनसम्म चलाउन सकिनेछ । ३७ रुपैयाँमा हजार एमबी डेटा ग्राहकहरुले ५ सय एमबी डाटा खरिद गर्दा थप ५ सय एमबी नै डाटा प्राप्त गर्न सक्छन् । सो योजना एक दिनका लागि मात्र मान्य हुनेछ । उक्त योजनाको मूल्य ३७ रुपैयाँ ३ पैसा रहेको छ । ८८ रुपैयाँमा २ जीबी डेटा वान जिबी प्लस वान जिबी योजनामा ग्राहकहरुले एक जिबी डाटा लिदा थप एक जिबी सित्तैमा प्राप्त गर्न सक्नेछन् । यस योजनाकोलागि ८८ रुपैयाँ ११ पैसा लाग्छ भने ७ दिनसम्म यस योजनाले काम गर्छ । वान जिबी प्लस वान जिबी स्मार्ट टेलिकमकै अर्को पनि वानजिबी प्लस वान जिबी योजना संचालनमा छ । सो योजना अन्र्तगत वान जिबी डाटा लिदा अर्को थप वान जिबी डाटा प्राप्त हुने व्यवस्था छ । यस योजना १ सय १३ रुपैयाँ ६४ पैसामा सुचारु गर्न सकिन्छ यसको समय अवधि १५ दिनसम्म हुन्छ । दुई जिबी प्लस दुई जिबी यस योजना अन्र्तगत ग्राहकहरुले २ जिबी डाटा खरिद गर्दा अर्को २ जिबी डाटा पाउँन सक्नेछन् । यस योजना संचालन गर्न २ सय ५४ रुपैयाँ १० पैसा लाग्छ भने उक्त डाटा ३० दिनसम्म चलाउन सकिन्छ । ४ सय ७० रुपैयाँमा १० जिबी डेटा यस योजनामा ५ जिबी डाटा किन्दा अर्को ५ जिबी डाटा पाउन सकिन्छ । उक्त योजना अनुसार ३० दिनसम्म डाटा चलाउन सकिन्छ । ४ सय ७ रुपैयाँ ३३ पैसा तिर्नुपर्छ । भ्वाइस प्याक अनलिमिटेड वान डे यस योजना अन्तर्गत स्मार्ट टेलिकमका सिम कार्ड बोक्ने ग्राहकहरुले ११ रुपैयाँ ४९ पैसामा १ दिनसम्म भ्वाइस कल गर्न सक्नेछन् । अनलिमिटेड भ्वाइस सेभेन डेज यस योजना अनुसार ग्राहकहरुले ३७ रुपैयाँ ३ पैसामा ७ दिनसम्म भ्वाइस कल गर्न सक्नेछन् । भ्वाइस अनलिमिटेड ३० डेज यस योजना अनुसार ग्राहकहरुले १ सय २६ रुपैयाँ ४१ पैसामा ३० दिनसम्म भ्वाइसकल गर्न सक्ने छन् । डेल्ली रेन्टल भ्वाइस प्याक यस योजना अनुसार स्मार्ट टेलिकममा ग्राहकले ३ रुपैयाँ ८३ पैसामा १ दिनभर भ्वाइस कल गर्न सक्ने छन् । स्मार्ट एसएमएस प्याक्स साढे ११ रुपैयाँमा महिनाभर एसएमएस स्मार्ट टेलिकमले सो योजना अनुसार ११ रुपैयाँ ४९ पैसामा एक महिनासम्म एसएमएस गर्न मिल्ने योजना संचालन गरिरहेको छ । ३ हजार एसएमएस, स्मार्ट टु स्मार्ट यस योजना अनुसार प्रयोगकर्ताले ३ हजार एसएमएस गर्न सक्छन् । उक्त एसएमएस स्मार्ट टेलिकमको एक सिमबाट अर्को सिममा गर्न मिल्छ । ग्राहकले २५ रुपैयाँ ५४ पैसामा उक्त योजना सुचारु गर्न सक्छन् । स्मार्ट रिचार्ज १ सय यस योजना अनुसार ग्राहकले १ सयको रिचार्ज गर्दा २ सय एमबीमा थप २ सय एमबी डाटा पाउन सक्ने व्यवस्था रहेको छ । सो योजना अनुसार १० मिनेको टक टाइम तथा १० वटा एसएमएस गर्न सक्ने छन् । यो योजना रिचार्ज गरेको ७ दिनसम्म लागू हुन्छ । २ सय २ सयको रिचार्ज गर्दा ४ सय एमबी र थप ४ सय एमबी डाटा तथा २० मिनेट टक टाइम र २० वटा एसएमएस गर्न सकिन्छ । यो योजना १५ दिनको लागि लागू हुन्छ । ५ सय ५ सयको रिचार्ज गर्दा साढे १ जिबी र थप साढे एकजिबी डाटा पाउन सकिन्छ । उक्त रिचार्ज गर्दा सय मिनेटको टक टाइम तथा सय वटा एसएमएस गर्न मिल्छ । रिचार्ज गरेको ३० दिनसम्म यो योजना लागू हुन्छ । १ हजारको रिचार्ज एक हजारको रिचार्ज गर्दा ३ जिबी डाटा तथा थप ३ जिबी डाटा ग्राहकले पाउन सक्छन् । यस्तै, २ सय मिनेट टक टाइम तथा २ सय वटा एसएमएस गर्न मिल्छ । सो योजना रिचार्ज गरेको ३० दिनसम्म लागू हुन्छ । ५ स्मार्ट अल नेट भ्वाइस प्याक वान डेप्याक सो योजना अनुसार १२ रुपैयाँ ७७ पैसामा प्रयोगकर्ताले एक दिनसम्म १२ मिनेट कुराकानी गर्न सक्नेछन् । ३० दिन प्याक यस प्याकमा प्रयोगकर्ताले १ सय २६ रुपैयाँ ४१ पैसामा १ सय २० मिनेट भ्वाइस कल गर्न सक्नेछन् । ६ विक्ली कम्बो डाटा प्याक स्मार्ट टेलिकमको सो योजना अन्र्तगत ३ जिबी डाटा प्लस अनलिमिटेड भ्वाइस कल गर्न मिल्छ । उक्त योजना ९८ रुपैयाँमा संचालन गर्न सकिन्छ । यो योजना ७ दिनको लागि लागू हुन्छ । ७ लकडाउन प्याक लकडाउन प्याक ३ सय ८१ रुपैयाँ ७९ पैसामा सुचारु गर्न सकिन्छ । सो योजना अन्र्तगत ४५ जिबी डाटा प्राप्त गर्न सकिन्छ । स्मार्ट टेलिकमको उक्त योजना ३० दिनको लागि लागू हुन्छ ।

नेपालीहरुको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १३० डलरले वृद्धि

काठमाडौं । नेपालीहरुको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १३० डलरले वृद्धि भएकाे छ । विश्व बैंकको तथ्यांक अनुसार नेपालीहरुको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १३० डलरले वृद्धि भएको हाे । सन् २०१९ मा नेपालीहरुको प्रतिव्यक्ति आय ९६० अमेरिकी डलर थियो । यस्तै २०२० को जुलाई १ सम्म नेपालीहरुको प्रतिव्यक्ति आय एक हजार ९० अमेरिकी डलर पुगेको विश्व बैंकले जनाएको छ । याेसँगै नेपाल नेपाल निम्न आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ ।

बिना धितो कर्जाको व्यवस्था मिलाउन माग

काठमाडौं । राष्ट्रिय व्यापार सङ्घले मौद्रिक नीतिमा व्यवसायीलाई बिना धितो कर्जाको व्यवस्था मिलाउन माग गरेको छ । सङ्घका महासचिव वैकुण्ठ दाहालले बिहीबार एक विज्ञप्ति जारी गरी कोभिड–१९ का कारण थला परेको अर्थतन्त्र जोगाउन बिना धितो कर्जाको व्यवस्था मिलाउन माग गरेका हुन् । “मौद्रिक नीति व्यवसायीमैत्री हुनुपर्छ, कोरोनाले थला परेको व्यवसायलाई सम्बोधन गर्ने खालको नीति आउनुपर्छ”, महासचिव दाहालले भने । कोरोनाले थलिएका व्यापारीलाई मौद्रिक नीतिले उठाउने अपेक्षासमेत व्यवसायीले लिएका छन् । सङ्घले बन्दाबन्दीको समयको बैंक तथा वित्तीय संस्थाको ब्याज मिनाहा गर्न तथा किस्ताको समय थप गर्नुपर्ने बताएको छ । व्यवसायीलाई सरकारले पुर्नकर्जाको व्यवस्था मिलाउनको साथै सरल र बिना झण्झट कर्जाको व्यवस्था गर्न सङ्घले आग्रहसमेत गरेको छ । विसं २०६१ मा स्थापना भएको सङ्घले व्यवसायीको हकहितका लागि काम गर्दै आएको छ । उक्त सङ्घमा एक हजारभन्दा बढी व्यवसायी आबद्ध छन् । रासस

सुदूरपश्चिममा कोरोनाको सङ्क्रमण दर उच्च

धनगढी । बिहीबार एकै दिन ३३३ जना कोरोना सङ्क्रमित थपिएपछि सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ९३३ पुगेको छ । प्रदेशको कैलाली जिल्लामा एकै दिन १३८ जना नयाँ सङ्क्रमित थपिएपछि यो जिल्लामा सङ्क्रमितको सङ्ख्या ८७४ पुगेको छ । योसँगै कैलाली जिल्ला देशभरमै सबैभन्दा बढी कोरोना सङ्क्रमित जिल्लाको रुपमा देखिएको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार बिहीबारसम्म कञ्चनपुरमा ३५१, डोटीमा ४७३, डडेलधुरामा २३०, बाजुरामा ३३७ बैतडीमा २३६, बझाङमा १२७, अछाममा २८८ र दार्चुलामा १७ जना सङ्क्रमित पुगेको बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, सेती प्रादेशिक अस्पताल र वीरअस्पतालमा गरिएको नमूनाको परीक्षणमा बिहीबार एकै दिन सुदूरपश्चिम प्रदेशका ३३३ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । बिहीबार बझाङबाट २०, कैलालीबाट चार, अछामबाट १६, डोटीबाट ३० गरी ७० जना डिस्चार्ज भई हालसम्म जम्मा डिस्चार्ज हुनेको सङ्ख्या ५६१ पुगेको छ । कोभिड–१९ का कारण सुदूरपश्चिम प्रदेशमा हालसम्म छ जनाको मृत्यु भएको छ । पछिल्ला दिनमा कोभिड–१९ को सङ्क्रमणको दर प्रदेशमा ह्वात्तै बढ्दै गएको छ । प्रदेशमा पहिलोपटक गएको चैत १४ गते पहिलो कोरोना सङ्क्रमित भेटिएका थिए । वैशाख महिना शुरु हुँदासम्म पाँच जना सङ्क्रमित फेला परेकामा त्यस पछि झण्डै एक महिनासम्म नयाँ सङ्क्रमणको दर स्थिर रहेको थियो तर कोरोना सङ्क्रमित देश भारतबाट फर्किने नेपाली बढ्दै जाँदा प्रदेशमा सङ्क्रमणको दर बढ्दै गएको स्वास्थ्यकर्मीको भनाइ छ । हालसम्म पिसिआर पद्धतिबाट २० हजार ९९६ को स्वाबको नमूना जाँच भइसकेकोमा तीन हजार ६७९ नमूनाको नतिजा आउन बाँकी छ । यस्तै आरडिटी पद्धतिबाट हालसम्म एक लाख १३ हजार ८९३ नमूनाको जाँच भइसकेको छ । बन्दबन्दी खुकुलो पारिएसँगै सर्वसाधारणको चहलपहल पनि बढ्दै जाँदा रोगको जोखिम पनि बढ्ने देखिएको कतिपयको बुझाइ छ । सङ्क्रमित देश भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका नेपालीको बसाईसमेत व्यवस्थित र तोकिएको मापदण्डअनुसार हुन नसक्दा पनि सङ्क्रमणको जोखिम थपिएको हो । क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थी भारतबाट आउने क्रम जारी रहँदासम्म प्रदेशमा कोरोना सङ्क्रमको दर पनि बढ्दै जाने बताए । धनगढी उपमहानगरपालिकाले पिसिआर पद्धतिबाट नमूना जाँच गर्नका लागि बिहीबारबाट शङ्कास्पद व्यक्तिको स्वाब सङ्कलन गर्न थालेको छ । बेली गाउँस्थित नगर स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत स्वाब सङ्कलन शुरु गरिएको उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले बताए । उपमहानगरपालिकाले विभिन्न वडाका क्वारेन्टिनमा बसेका शङ्कास्पद व्यक्तिको कोरोना जाँच गरेर कोरोना पोजेटिभ देखिएकालाई उपमहानगरपालिकाले बनाएको आइसोलेसनमा राख्न थालेको छ । रासस