विकासन्युज

बागलुङकाे क्वारेन्टिनमा रहेका युवकको मृत्यु

गलकोट ।  क्वारेन्टिनमा बसेका बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका एक युवकको मृत्यु भएको छ । निसीखोला–२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टिनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बसेका उनको आज बिहान मृत्यु भएको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा मिलन मल्लले जानकारी दिए । लामो समयदेखि भारतमा बस्दै आएका विक मिर्गौलासम्बन्धी रोगबाट पीडित रहेको मल्लको भनाइ छ । उनको पिसीआर रिपोर्ट अहिलेसम्म आएको छैन । रिपोर्ट आएपछि उनको दाहसंस्कार गरिने डा मल्लले बताए । नेपाली सेनाले उनको शव व्यवस्थापन गर्ने बताइएको छ ।

गोंगबुस्थित बसपार्कमा आगोलागी हुँदा १२ वटा माइक्रोबसमा क्षति

सांकेतिक तस्विर काठमाडौं । काठमाडौंको गोंगबु स्थित नयाँ बसपार्कमा आज बिहान १२ वटा माइक्रोबसमा आगलागी भएको छ । ग्यारेजभित्र रोकी राखिएका माइक्रोबसहरुमा आगो लागेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । आगलागिबाट ८ वटा माइक्रोबस पूर्ण रुपमा क्षति भएको र ४ वटा बस आंशिक रुपमा जलेको प्रहरीले जानकारी दिएको छ । रोकेर राखेका बसहरुमा आगो कसरी लाग्यो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काेराेनाकाे कारण एक सातामा विदेशमा रहेका १३ नेपालीकाे मृत्यु

काठमाडौं । काेराेनाकाे कारण एक सातामा विदेशमा रहेका १३ नेपालीकाे मृत्यु भएकाे छ । गैरआवासीय नेपाली संघकाे अनुसार गएकाे एक सातामा विदेशमा रहेका १३ काेराेना संक्रमित नेपालीकाे मृत्यु भएकाे हाे । संघकाे स्वास्थ्य समितिका अनुसार युएईमा थप ६ जना, भारतमा ५ जना, ओमानमा १ जना, कुवेत १ जना गरी १३ जना नेपालीको ज्यान गएको हो। समितिका अनुसार शनिबार साँझसम्म नेपाल बाहिर १४ देशमा १ सय ४३ जना नेपालीले कोरोनाकाे कारण ज्यान गुमाईसकेका छन् ।

एनआरएनएलाई अन्तर्राष्ट्रिय श्रम संगठनको ५ करोड १० लाख सहयोग

काठमाडाैं । संयुक्त राष्ट्र संघ अन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले एनआरएनएलाई ५ करोड १० लाख रुपैयाँ अनुदान सहयोग दिने भएको छ । एनआरएनएले हिजो शनिवार एक विज्ञप्ति जारी गर्दै आइएलओ र गैरआवासीय नेपाली संघबीच मंगलवार सहमतिपत्रमा हस्ताक्षर भएको जनाएको छ । संघका अध्यक्ष कुमार पन्तका अनुसार विशेष गरी कोभिड १९ बाट प्रभावित मलेसिया, युएई, कतार र साउदी अबर गरि चार देशका नेपालीको सहयोगार्थ आइएलओले सो आर्थिक सहयोग गरेको हो । सो रकम कोभिड १९ ले श्रम बजारमा पारेको प्रभाव अध्ययन गर्न र श्रमिकको हितमा खर्च हुने गैरआवासीय नेपाली संघले जनाएको छ । संघका अनुसार कोभिड–१९ ले श्रम बजारमा पारेको प्रभावको अध्ययन गर्न र श्रमिकको हितका लागि सो रकम खर्चिने छ । संघले ती मुलुकमा रहेका नेपालीको सहयोगका लागि नेपाली कुटनीतिक नियोगसंग समन्वय गरि कार्यालय स्थापना गरेर आफ्नो कार्य अघि बढाउने तयारी गरेको छ । ती कार्यालयबाट विदेशमा कोरोनाकै कारणले जागिर छोड्न बाध्य पारिएकालाई सुरुमै कानुनी परार्मश दिने तयारी संघले गरेको छ । संघका महासचिव डा. शर्माले गैरआवासीय नेपाली संघले पहिलो पटक विदेशी संस्थाबाट यति ठूलो आर्थिक सहयोग प्राप्त गरेको जानकारी दिए । शर्माले भने, ‘संघका लागि यो एक कोषे ढुंगा सावित हुनेछ, संधैं व्यक्तिको खल्ती ताकेर बस्नु पर्दैन, संस्था संचालन गर्न अन्य स्रोतसमेत परिचालन गर्न सकिन्छ भन्ने यो एउटा सन्देश हो ।’ सहयोगको लागि गैरआवासीय नेपाली संघको तर्फबाट संघका उपाध्यक्ष डा. बद्री केसी, महासचिव डा. हेमराज शर्मा, डा. पुरु श्रेष्ठ र एकनाथ खतिवडाले प्रपोजल तयार पारेका थिए । आइएलओले सो प्रस्तावलाई करिब ५ हप्ता लगाएर अध्ययन गरेपछि आर्थिक सहयोग गर्ने निष्कर्षमा पुगेको थियो । अन्तर्राष्ट्रिय श्रम संगठनले विश्वभर छरिएका श्रमिकको हितमा काम गर्दै आएको छ ।

राष्ट्रपतिलाई महाअभियोग लगाउने प्रचार झुठो- नेकपा प्रवक्ता

काठमाडौं ।  राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव ल्याउने भनेर झुठो प्रचार गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । प्रवक्ता श्रेष्ठले सामाजिक सन्जाल ट्वीटरमा मार्फत राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव ल्याउने भनेर झुठो प्रचार गरिएको बताएका हुन् । उनी लेख्छन्, ‘राष्ट्रपतिको विरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुठा प्रचार कसैले नगरौं । राष्ट्रपति संस्थाको अवमुल्यन नगरौं ।’ शनिबार साँझ मन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाउने र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षडयन्त्र गरिएको सुनाएका थिए ।

पहिरोले घर भत्किँदा एक परिवार विस्थापित, १० घर जोखिममा

काठमाडौं । वर्षा शुरु भएसँगै बैतडीका विभिन्न स्थानमा पहिरोले क्षति पु¥याउन थालेको छ । पुर्चौँडी नगरपालिका–७ ऐरीगाउँमा पहिरोले स्थानीय मङ्गल ऐरको घरमा क्षति पु¥याएको स्थानीय देवबहादुर ऐरले जानकारी दिए । गएराति घरमाथिबाट खसेको पहिरोले घर पुरेको छ भने शौचालय भत्काएको छ । उनले भने, “बस्तीमाथिबाट खसेको पहिरोले सो ठाउँका १० घर जोखिममा परेका छन् ।” पहिरोले घरमा क्षति पु¥याएपछि मङ्गल ऐरको परिवार विस्थापित भएर अहिले अर्को घरमा बसिरहेको छ । यस्तै पुर्चौँडी–३ मा गएरातिको वर्षाले दुई पानीघट्ट, एक कल्भर्ट र खेतबारीमा क्षति पु¥याएको छ । नगरपालिकाको वडा नं ३ स्थित सपैया खोलामा रहेका दुई घट्ट र एक कल्भर्ट बाढीले बगाएको स्थानीय खेमराज जोशीले जानकारी दिए । सपैयाखोलामा रहेको कल्भर्ट बगाउँदा नगरपालिकाको केन्द्र, वडा कार्यालय र डिलाशैनी गाउँपालिका आवतजावतमा समस्या भएको छ । दार्चुलामा पनि क्षति दार्चुलाको नौगाड गाउँपालिका–४ कपडेमा बाढी र पहिरोले क्षति पु¥याएको छ । गएरातिको वर्षाले वीरकोर खोलामा आएको बाढीले एउटा घट्ट बगाएको छ भने वीरकोर खानेपानी योजना पूर्णरूपमा नष्ट गरेको स्थानीय कालुसिंह ठगुन्नाले जानकारी दिए । यस्तै पहिरोका कारण हर्क ठगुन्ना, देवसिंह ठगुन्ना र प्रेमसिंह धामीको घर जोखिममा परेका छन् । यसका साथै नौगाड–४ मा होपरी चट्केमा रहेको डाडाबाग आधारभूत विद्यालय पनि पहिरोको उच्च जोखिममा परेको छ । माथिबाट पहिरो खस्न थालेकाले विद्यालय उच्च जोखिममा परेको स्थानीय कुमार ठगुन्नाले जानकारी दिए । साथै होपरीको ठाउँठाउँमा पहिरो जाँदा आवतजावतमा पनि समस्या भएको छ । यही असार १४ गतेको पहिरोले होपरीगाड लघुजलविद्युत्को नहर भत्किएपछि हालसम्म पनि उक्त क्षेत्रमा विद्युत् सेवा सञ्चालन हुनसकेको छैन । सोही नहर भत्किएर पहिरो जाँदा होपरीमा दुई जनाको ज्यान गएको थियो भने पाँच घाइते भएका थिए । खोलाले बगाउँदा एक महिलाको मृत्यु खोलाले बगाउँदा बैतडीमा शनिबार एक महिलाको मृत्यु भएको छ । पुर्चौँडी नगरपालिकास्थित जमाडी खोलाले बगाउँदा अन्दाजी ३५ वर्षीया महिलाको मृत्यु भएको हो । मृतक महिलाको पहिचान हुन नसकेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । जमाडीखोलाले बगाएर ल्याएको अवस्थामा गिरीजाबगर भन्ने स्थानमा महिलाको शव फेला परेको हो । उनले भने, “मृत महिलालाई खोलाले बगाएर ल्याएको जस्तो छ ।” शनिबार मध्याह्न स्थानीय बासिन्दाले खोला किनारमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । रासस

हलेसीको चौतर्फी विकास गर्न कार्ययोजना बनाएर अगाडि बढिने

खोटाङ । हलेसी विकास समितिले त्रिधार्मिकस्थल हलेसी गुफा संरक्षणका लागि कार्ययोजना निर्माण गर्ने निर्णय गरेको छ । पूर्वसांसद टङ्क राई विकास समितिको अध्यक्षमा चुनिनुभएपछि बसेको विकास समितिको पहिलो बैठकले त्रिधार्मिकस्थल हलेसी गुफाको भौगर्भिक अध्ययन गरी दीर्घकालीन संरक्षण गर्न कार्ययोजना निर्माण गर्ने निर्णय गरेको हो । प्राकृतिक रूपमा बनेको गुफाकै कारण हलेसीले हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा प्रसिद्धि पाएकाले गुफाको भौगर्भिक अध्ययन गरी दीर्घकालीन संरक्षण योजना बनाउने निर्णय गरिएको विकास समितिका कार्यकारी निर्देशक सम्मर भुजेलले बताए । धार्मिक तथा साँस्कृतिक दृष्टिले प्रसिद्ध हलेसी महादेव गुफा, धर्मद्वार, पापद्वार, बसाहा गुफा, भैरव गुफा, मञ्जुश्री गुफा, दुङ्देलो गुफालगायतका प्राकृतिक आकृतिको दृश्यावलोकनका लागि प्रसिद्ध छ । स्वदेश तथा विदेशका पर्यटक तथा दर्शनार्थीको भीड लाग्ने हलेसीमा हरेक हिउँद याममा विश्वभरका बौद्धमार्गीहरुले चार/पाँच महिनासम्म बसेर ध्यान गर्ने गरेका छन् । विकास समितिको बैठकले हलेसीको ऐतिहासिक, धार्मिक र साँस्कृतिक महत्वका बारेमा अनुसन्धान गरी आगामी आर्थिक वर्षभित्र त्रिधार्मिक शोधग्रन्थ तयार पारेर प्रकाशन गर्ने, किराँत धर्मको प्रतीक स्वरूप हलेसीमा चुल्हो घर स्थापना गर्न अध्ययन गरेर योजना बनाउने, भैरवगुफा क्षेत्रमा ढल निकासको व्यवस्था गर्ने लगायतका निर्णय गरेको छ । यस्तै महादेवस्थानको गुफा प्रवेशद्वारमा पित्तलको घेराबारा हाल्न पुनः व्यवस्थापन गर्ने, बसाहा गुफाभित्रको पदमार्ग र ढोका व्यवस्थापन गर्ने, ककनी मन्दिर जाने पदमार्गलाई पूर्णता दिने लगायतका निर्णय गरिएको छ । बैठकमा हलेसी आसपासमा बसिरहेका विपन्न वर्गलाई सहभागी गराएर पर्यटक पथप्रदर्शक तालिम सञ्चालन गर्ने निर्णय गरिएको कार्यकारी निर्देशक भुजेलले बताए । समितिको बैठकमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईलगायतको उपस्थिति रहेको थियो । लामो समय नेतृत्वविहीन रहेको विकास समितिले पूर्णता पाएपछि हलेसीको चौतर्फी विकास हुनेमा स्थानीय बासिन्दा आशावादी छन् । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन हलेसी मन्दिर अनिश्चितकालका लागि बन्द गरिएको छ । दैनिक आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने विश्व प्रसिद्ध हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी मन्दिर गत चैत ८ गतेदेखि अनिश्चितकालका लागि बन्द गरिएको हो । धार्मिक मान्यताले मात्रै नभई प्राकृतिक सौन्दर्यले पनि प्रसिद्ध खोटाङको हलेसी गुफाभित्र विराजमान शिवलिङ्ग र पार्वतीको मन्दिर छ । हलेसी मन्दिरको मुख्य गुफाको ठीक पछाडिपट्टि उस्तै ठूलो बसाहा गुफाभित्र छिरेपछि देखिने आकाशको दृश्य प्राकृतिक सौन्दर्यको अनुमप उपहार हो । महादेव मन्दिर रहेको मुख्य गुफाका अगाडि उत्रै ठूलो भैरव नामक प्राकृतिक गुफा रहेको हलेसीलाई भू–बनोटको हिसाबले विश्वकै नमूना मानिन्छ । सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित हलेसी त्रिधार्मिकस्थलका रूपमा विश्वभर चर्चित छ । रासस

विश्वमा १ करोड १३ लाखभन्दा बढी कोरोना संक्रमित, ६४ लाख बढि निकाे भए

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या १ करोड १३ लाख ७१ हजार ६ सय ४९ पुगेको छ । नेपाली समय अनुसार बुधबार विहान साढे ६ बजेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख ३२ हजार ८ सय ५६ जना रहेको छ ।  त्यस्तै ६४ लाख ३१ हजार १ सय ८५ जना उपचार पछि निको भएका छन् । सबैभन्दा बढी २९ लाख ३५ हजार ४ सय २७ जना कोरोना संक्रमित अमेरिका रहेका छन् जहाँ मृत्यु हुनेको संख्या १ लाख ३२ हजार ३ सय १३ पुगिसकेको छ । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितको संख्या ६ लाख ७३ हजार ९ सय ४ रहेका छन् भने १९ हजार २ सय ७९ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा हालसम्म १५ हजार ४ सय ९१ जनामा कोरोना पुष्टि भएको छ भने ३४ जनाले कोरोना कै कारण ज्यान गुमाएका छन् । त्यस्तै ६ हजार ४ सय १५ जना उपचार पछि निको भएका छन् ।