विकासन्युज

खर्च कम गर्न बैंकहरूले थाले उपाय, शाखा मर्जदेखि कर्मचारी कटौतिसम्मको प्रयास

काठमाडौं । कोभिड–१९ को असर लामो समय देखिने आकलनसहित बैंकहरुले खर्च कटौतिलाई जोड दिन लागेका छन् । बैंकहरुले एक्लाएक्लै खर्च कटौतिको प्रयास गर्दा चौतर्फि आलोचना हुन थालेपछि सामूहिक रुपमा नै खर्च कटौतिको प्रयास थालेका छन् । नेपाल बैंकर्स संघले कोभिड–१९ का कारण परेको असर र खर्च कटौतिको उपायबारे सामूहिक धारणा बनाउन एउटा कमिटि बनाएर नै काम थालेको छ । संघको उपाध्यक्ष तथा नेपाल एसविआई बैंकको प्रबन्ध सञ्चालक अनूकल भट्नाकरको संयोजकत्वमा गठित समितिले यसै साता संघमा आफ्नो प्रतिवदेन बुझाउँदैछ । चैत मसान्तमा उठ्नु पर्ने कर्जाको ४५ प्रतिशत मात्र किस्ता उठेको र असार मसान्तमा पनि कर्जा उठ्ने झन् कम देखिएको भन्दै बैंकर्सहरु बढी नै चिन्तित देखिएका छन् । खर्च घटाउने बैंकर्सहरुले कर्मचारी कटौति गर्नेदेखि एटीएम तथा शाखा मर्जसम्मको अभ्यास थालेको जानकारी राष्ट्र बैंकमा आएको राष्ट्र बैंकको कार्यकारी निर्देशक देवकुमार ढकालले बताए । ‘३/४ वटा बैंकले विभिन्न समस्या देखाउँदै शाखा मर्जको प्रस्ताव ल्याएका छन् । कोही मौखिक रुपमा सोध्न आएका छन्, कोही लिखित रुपमा आएका छन्, राष्ट्र बैंकको स्वीकृतविना कुनै पनि शाखा गाभ्न वा बन्द गर्न पाइदैन । हामीले स्वीकृत दिएका पनि छैनौं,’ उनले भने । पछिल्लो समय कारोबार कम भएको, शाखामा सेवाग्राही नआएको, राष्ट्र बैंकले खोल्नै पर्छ भनेर खोलिएका शाखाहरुमा लामो समयसम्म नोक्सानमा गएको लगायतको समस्या लिएर बैंकहरु राष्ट्र बैंकमा शाखा बन्द वा मर्जको लागि लबिङ गरिरहेको बताइएको छ । बैंकहरुले खर्च कटौतिको प्रयास स्वारुप निक्षेपको व्याज सरदर ३ प्रतिशतले घटाइसकेका छन् । मुद्दतिको व्याजदर १० प्रतिशतबाट करिव ८ प्रतिशतमा झारिएको छ भने बचतको व्याजदर सरदर ७ प्रतिशतबाट ४ प्रतिशतमा झारेका छन् । त्यस्तै, कर्मचारी खर्च कटौतिमा पनि बैंकहरुले विभिन्न प्रयास थालेका छन् । धेरै बैंकहरुले प्रोत्साहन स्वरुप दिइने केही भत्ताहरु कटौति गरेका छन् भने केही बैंकहरुले कर्मचारी कटौति गरेका छन् । करार नविकरण नभएको भन्दै केही कर्मचारीले राष्ट्र बैंकमा गुनासो गरेको गुनासो सुनुवाई इकाइको जिम्मेवारी समेत हेरिरहेका ढकालले बताए । ‘हामीले कर्मचारी नहटाउनुहोस् भनेका छौं तर कर्मचारी र बैंकबीच भएको करारमा राष्ट्र बैंकले हस्तक्षेप गर्नु स्वभाविक हुन्न,’ उनले भने । बैंकहरुले नयाँ कर्मचारी लिँदा शुरुमा ३ महिना वा ६ महिना करारमा राख्ने गरेका छन् । त्यस्तै केही प्राविधिक कामका लागि करारमा कर्मचारी राख्ने गरेको छन् । केही कामदार व्यवस्थापन कम्पनीबाट आउटसोर्स गरिएका हुन्छन् । केही कर्मचारी लामो समय अस्थायी रुपमा काम गर्दै आएका हुन्छन् । यस्ता कर्मचारीहरुको जागिर यतिबेला जोखिममा परेका जानकारहरु बताउँछन् । सकेसम्म कर्मचारी कटौति नगर्ने बैंकर्सहरुको प्रयास भएका नेपाल बैंकर्स संघको अध्यक्ष भुवन दाहाल बताउँछन् । ‘कर्मचारी कटौतिबाट एउटा बैंकले वर्षमा बढीमा ५र७ करोड बचत होला, त्यति रकमका लागि कर्मचारी कटौति नगरौं भन्ने संघको धारणा हो, खास समय अवधिको लागि लिइएका कर्मचारीको करार नविकरण नहुनुलाई ठूलो समस्याको रुपमा लिनु भएन,’ उनले भने । एउटै सपिङ महलमा ३/४ वटा बैंकको एटीएम भएको अवस्थामा एउटा मात्र राख्ने, एउटै इलाकामा धेरै शाखा छन् भने आपसमा शाखा मर्ज गर्न सकिन्छ कि भन्ने लाईनमा छलफल भईरहेको तर शाखा बन्द गर्ने कुरा नभएको उनले बताए । आम्दानी घट्दा खर्च कटौतिको प्रयास हुनुलाई व्यवस्थापनको स्वभाविक अभ्यासको रुपमा लिनुपर्ने जानकारहरु बताउँछन् । यसमा राष्ट्र बैंक पनि सकारात्मक हुनुपर्ने व्यवस्थापन विज्ञहरु बताउँछन् ।

लगानी बोर्डको सीईओमा यी १२ भेट्रनबीच प्रतिस्पर्धा हुँदै, कसले मार्ला बाजी ?

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ)का लागि १२ जना बीच प्रतिस्पर्धा हुने भएको छ । बोर्डको सीईओका लागि आवेदन दिने अन्तिम समय शुक्रबार ३ बजेसम्मको लागि तोकिएको थियो । सो समयभित्र आवेदन दिएका १२ जनाबीच अब बोर्डको सीईओको लागि प्रतिस्पर्धा हुने भएको हो । आवेदन लिएको १२ जनाहरु विभिन्न क्षेत्रमा अनुभव प्राप्त गरिसकेका छन् । यसले पनि ती १२ जनाबीचको प्रतिस्पर्धा एकदमै रोचक हुने देखिन्छ । स्रोतका अनुसार दरखास्त पेस गर्नेहरूमा सरकारी निकायका पदीय जिम्मेवारीमा रहेका अधिकारीदेखि, बैंकर, पूर्वप्रशासक तथा चार्टर्ड एकाउन्टेन्टहरूसम्म छन् । अहिले सीईओ बन्नका लागि उनीहरुको दौडधुप पनि निकै तातेको छ । ६ अर्ब रुपैयाँ भन्दा बढी लगानी हुने परियोजनाको स्वीकृत दिने लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पद धेरैको लागि आकर्षणको केन्द्र बनेको छ । सीईओका लागि आवेदन दिनेहरूमा राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्ट, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष एवं कर्मचारी सञ्चयकोषका पूर्वप्रशासक कृष्णप्रसाद आचार्य र नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी रहेको बताइएको छ । त्यसैगरी पूर्वसहसचिव लक्ष्मीविलास कोइराला, बोर्डमा परामर्शदाताका रूपमा कार्यरत इन्जिनियर आशिष गजुरेल, विद्युत नियमन आयाेगका पूर्व सदस्य रामकृष्ण खतिवडा र विशेष आर्थिक क्षेत्र प्राधिकरणका पूर्व कार्यकारी निर्देशक चण्डीका भट्टले पनि आवेदन दिएका छन् । त्यस्तै, विदेशी लगानीबारे जानकार डा.सरोज कोइराला, माछापुच्छ्रे बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, कानून सेवाका शेरजङ कार्की र अर्थशास्त्रका सहप्राध्यापक रमेशचन्द्र पौडेल पनि बोर्डको सिइओका लागि आवेदन दिएका छन् । अर्थमन्त्री डा युवराज खतिवडा संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा पुष्प कँडेल र अर्थशास्त्री प्रा.डा गोविन्द नेपाल सदस्य रहेको छनौट समितिले उनीहरूमध्ये ३ जनाको नाम सर्टलिस्ट गरी नियुक्तिका लागि मन्त्रिपरिषदमा पेश गर्नेछ। राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा रहेको सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद्मा पठाउने र मन्त्रिपरषद्ले तीन मध्ये एक जना लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा चार वर्षको लागि नियुक्त गर्ने कानुनी व्यवस्था रहेको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको कार्यावधि ४ वर्षको हुने कानुनी व्यवस्था छ। सीईओका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानुन, इन्जिनियर वा विकास परियोजनासम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक निजी साझेदारी, लगानी प्रवद्र्धन, विकास प्रशासन, बैंकिङ, वित्तीय तथा औद्योगिक व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको व्यवस्थापकीय अनुुभव हासिल गर्नुपर्ने योग्यता हुनुुपर्ने कानुनी व्यवस्था छ । प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएपछि उक्त पद विगत ३ महिनाअघि खाली भएको थियो ।

बोर्ड फेर्ने अधिकारसमेत पाएन पशुसेवा कार्यालयले

काठमाडौं । स्थानीय तहलाई आफ्नो मातहतका जनतालाई सेवामुखी सबै कार्यालयको जिम्मेवारी दिने संवैधानिक व्यवस्था भई कार्यान्वयन सुरु भएको तीन वर्ष बिते पनि स्थलगत रुपमा त्यस्तो हुन सकेको छैन । दूरदराजको त कुरै छोडौं राजधानीकै नगरपालिकाले आफ्ना अधिकार कार्यान्वयन गर्न सकेका छैनन् । गोकर्णेश्वर नगरपालिका मातहत रहेको पशु सेवा कार्यालयको बोर्ड फेर्ने अधिकारसमेत सो कार्यालयलाई छैन । नगरपालिकाको एउटै पशु सेवा कार्यालयको बोर्ड तीन वर्षदेखि च्यातिएर बुझ्न नसकिने भएको छ । यसका कारण सेवाग्राहीलाई कार्यालय खोज्न धौ धौ हुने गरेको छ । तर फेर्ने अधिकार नगरपालिकाले आफैँमा सीमित राखेको कार्यालयका कर्मचारीको गुनासो छ । नगरपालिका–२ नयाँपाटीस्थित भूमिस्थलीमा रहेको कार्यालयमा जनशक्तिको समेत अभाव छ । नगर क्षेत्रमा अझै पनि धेरै किसानले पशुपालन गरिरहेका छन् । खाली स्थानमा व्यावसायिक रुपमा कुखुरा, गाई फार्म चलाउने क्रमसमेत बढेको छ । तर कार्यालय एकजना पशु सहायकका भरमा चलेको छ । अर्का एक कार्यालय सहयोगी भए पनि उनीसँग पशुको उपचार गर्ने ज्ञान, सीप नहुने सेवाग्राहीको भनाइ छ । जनशक्ति नहुँदा पशुपालकको मागअनुसार सबैतिर पुगेर सेवा दिन नसकिएको पशु सेवा सहायक शान्ता खनालले बताए । कार्यालयका प्रमुख, उपप्रमुखलगायत पशु संरक्षण अधिकृतको पद रिक्त भएको पनि तीन महिनाभन्दा बढी भइसक्यो । तर पदपूर्ति हुन सकेको छैन । “बोर्ड च्यातिएर नबुझिने भएको गुनासो म आउनुभन्दा अघि पनि नगरपालिकामा गरिएको रहेछ, मैले पनि पटकपटक भनिसकें, नगरपालिकाका अधिकृत भीमबहादुर शाहीले हुन्छ भने पनि कार्यान्वय भएको छैन, जनशक्तिको कमी रहेको गुनासो पनि गरेका छौं, पशु सेवाको विषयलाई नगरपालिकाले ध्यान नदिएजस्तो अनुभव गरेका छौं”, उनले भने । कार्यालयमा हाल पशु सहायक खनाल र कार्यालय सहयोगी क्रान्ति लामामात्र कार्यरत छन् । पशु चिकित्सकको पद रिक्त भएको महिनौं बित्दासमेत पदपूर्ति नहुँदा सेवा पाउनबाट वञ्चित हुनु परेको सेवाग्राहीको गुनासो छ । नगरपालिकाको १ नं वडाको मूलखर्क, ओखरेनी, चिलाउनेलगायत दुर्गम स्थानबाट घण्टौं हिँडेर सेवा लिन जाँदा पनि पाउन नसकिने अवस्था रहेको सेवाग्राही रणबहादुर तामाङको गुनासो छ । पशुपालक किसानको समस्यामा नगरपालिकाको ध्यान नगएको तर्फ यहाँका हजारौं नागरिकले दुःख प्रकट गरेका छन् । नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना तीन दिनभित्र बोर्ड फेरिने प्रतिबद्धता जनाए। नगरपालिकाका सूचना अधिकारी भीमबहादुर शाही बोर्ड फेर्ने अधिकार कार्यालयलाई भए पनि कर्मचारीले नगरेको बताए । सातौं तहका कार्यालयप्रमुख हुँदा तला थप्न छुट्याएको बजेटबाट चालू आर्थिक वर्षमा केही काम गर्न नसकेको उनले बताए । कर्मचारी रिक्त भएको विषय लोक सेवा आयोगलाई लेखी पठाएकामा प्रदेश लोक सेवा आयोग गठन भइसकेकाले त्यहाँ लेखी पठाउन पत्राचार भइआएको जानकारी पनि उनले भने । सातौं र छैटौं तहका पशु चिकित्सकले एकै पटक राजीनामा दिँदा कार्यालय सहयोगीका भरमा चलेको कार्यालयमा सुत्केरी बिदामा बसेकी खनाललाई बोलाएर सकेको सेवा दिन थालिएको नगरपालिकाले जनाएको छ । रासस

अब एक क्लिकमै गाडीको बुकिङ्ग गर्न सकिने, लक्ष्मी हुण्डाईले ल्यायो नयाँ सेवा

काठमाडौं । नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. (लक्ष्मी हुण्डाई) ले ‘क्लिक टु बुक’ सेवा शुरु गरेको छ । इण्डाईले हाल कोभिड-१९ को परिस्थितीलाई सहज बनाउनको लागि ग्राहकहरुले सोरुमसम्म नपुगिकन सजिलै अनलाइनबाट आफुलाई चाहिएको हुण्डाई गाडीको बुकिङ्ग गर्न सक्ने लक्ष्यले उक्त सेवा ल्याएको हो । लक्ष्मी हुण्डाईले आफ्नो आधिकारीक वेबसाईटबाट ‘क्लिक टु बुक’ सेवाको सुरुवात गरेको छ । ग्राहकहरुका लागि गाडी खरिदको प्रक्रिया सहज बनाउनको लागि, यस प्रणाली मार्फत ग्राहकहरुले आफुलाई चाहिएको गाडी सजिलै खोजेर छनौट गरी त्यस गाडीको विभिन्न विशेषताहरु, मुल्य, छुट तथा अन्य विभिन्न फाईदाहरुको साथै आफुलाई चाहिएको गाडीको उपलब्ध रहेका विभिन्न रंगहरुको पनि जानकारी लिन सक्नेछन् । ग्राहकहरुले आफुलाई चाहिएको गाडी छनौट गरे पश्चात बिक्री परामर्शका लागि दर्ता प्रक्रिया सेट-अप गरिनेछ । त्यस पछि ग्राहकहरुलाई तोकिएको बिक्री परामर्शदाताले सिधैं सम्पर्क गर्नेछन् । ग्राहकहरुले टेस्ट ड्राइभका लागि पनि अनलाइनबाट अनुरोध गर्न सक्नेछन्, जस्को व्यवस्थापन बिक्री परामर्शदाताले नै गर्नेछन् र यसका साथै सवारी साधनको एक्सचेन्जको अनुरोध पनि अनलाइन पोर्टल मार्फत गर्न सक्नेछ । ग्राहकहरुले उपलब्ध रहेको गाडीको जानकारी र अफरहरुबाट सन्तुष्ट भएपछी गाडीको बुकिङका लागि अनलाइनबाट कोटेशन जारी गर्न र साथै आवश्यकता परेमा बैंक फाइनान्सको पनि प्रक्रिया अनलाइनबाट सुरु गर्न सक्नेछन् अथवा प्रदान गरिएको भुक्तानी गेटवे मार्फत अनलाइन भुक्तानी गरी सजिलै आफुलाई चाहिएको गाडी बुक गर्न सक्नेछन् ।

इरानमा महामारीको दोस्रो छालको डर, मास्क लागू गर्न नयाँ कानून

काठमाडौं । इरानमा कोरोना महामारी फैलिने सम्भावनालाई ध्यानमा राख्दै सार्वजनिक ठाउँमा मास्क लगाउन नयाँ कानून लागू भइरहेको छ । इरानका राष्ट्रपति हसन रुहानीले भने, ‘सरकारले लागु गरेको नियम भंग गर्नेहरूको सरकारी सुविधा रोक्का गर्नेछु ।’ यदि तिनीहरूले कार्यालय, पसल वा काम गर्ने ठाउँमा नियम तोड्यो भने, तिनीहरू एक हप्ताको लागि बन्द हुनेछन् । अप्रिल महिनामा, इरानमा संक्रमणको घटनाहरू घट्न थाले । पछिल्लाे समय नयाँ काेराेना संक्रमितदेखिएसँगै इरानका पाँच प्रान्तहरूको शहरहरूमा  फेरि लकडाउन लागु गरेकाे हाे । हालसम्म इरानमा २ लाख ३७ हजार ८ सयभन्दा बढी कोरोना संक्रमित छन् भने मृत्यु हुनेको संख्या ११ हजार ४ सय ८ पुगेको छ । (बीबीसीकाे सहयाेगमा)

विद्यालयमा राखिएका क्वारेन्टाइनको विकल्प खोज्दै प्रशासन

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले क्वारेन्टाइनका रूपमा प्रयोग गरिएका यहाँका सरकारी तथा सामुदायिक विद्यालयहरुको विकल्प खोज्न थालेको छ । प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विद्यालय क्वारेन्टाइनमा प्रयोग भइरहँदा बालबालिकाको पठनपाठनमा बाधा हुने कुरालाई मध्यनजर गर्दै ती क्वारेन्टाइनको विकल्प खोज्न थालिएको कार्यालयका सूचना अधिकारी पदमलाल लामिछानेले जानकारी दिए । “बैठकले भारत, तेस्रो मुलुकलगायत अन्य जिल्लाबाट मानिस आउने क्रम केही कमी भए पनि हालसम्म नरोकिएको र कोरोनाको सङ्क्रमणसमेत नियन्त्रणमा आउन नसकेकाले उच्च सावधानी अपनाउनुपर्नेमा जोड दिएको छ”, उनले भने, “मूलतः सुरक्षा व्यवस्थामा सहजता ल्याउन र विद्यालयमा रहेका क्वारेन्टिनलाई पालिकास्तरमा एकीकृतरूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउनेतर्फ जोड दिइएको छ ।” लामो समयसम्म कोभिड–१९ का कारण विद्यालय बन्द रही बालबालिकाको पठनपाठनमा बाधा परेको र क्वारेन्टिनमा बस्ने व्यक्तिहरुको सङ्ख्या क्रमशः घट्दै गइरहेकाले सम्भव भएसम्म अन्य भवनको प्रयोग गरी विद्यालयबाट क्वारेन्टिन हटाई पठनपाठन सहज हुने वातावरण मिलाउँदै जाने निर्णय गरिएको सूचना अधिकारी लामिछानेले बताए । उनका अनुसार सुर्खेतका आधारभूत विद्यालयदेखि विश्वविद्यालय गरेर १ सय ७५ शैक्षिक संस्थामा क्वारेन्टाइन सञ्चालन भएका छन् । भारतबाट आएका यो जिल्लाका १४ हजार ८ सय १९ मा उक्त शैक्षिक संंस्थाहरुमा सञ्चालन गरिएका क्वारेन्टाइनमा १२ हजार ८ सय ७० नागरिक बसेका छन् । क्वारेन्टाइन सञ्चालनले विद्यालयमा आगामी दिनमा पर्ने असरबारे पनि अध्ययन गर्ने जनाइएको छ । त्यस्तै विपद् व्यवस्थापनअन्र्तगत विभिन्न क्लष्टरको नेतृत्व गर्ने कार्यालय, सङ्घसंस्थाहरुले हुनसक्ने विपद्लाई मध्यनजर गरी आवश्यकतानुसार नियमित समन्वय र सम्पर्कको माध्यमबाट तयारी अवस्थामा रहने निर्णय गरिएको उनले बताए । हाल नेपालमा देखिएको सलहको प्रकोपबाट सुर्खेतसमेत प्रभावित भएकाले यहाँको कृषि बाली नष्ट हुनबाट बचाउने कार्यलाई पनि अघि बढाइने उनको भनाइ छ । सलहको झुण्डहरु कुन दिशाबाट आएको, कति सङ्ख्यामा रहेको साथै कुन दिशातर्फ जाँदैछन् भन्ने कुराको विषयमा स्थानीय तहमा रहेका कृषि शाखामार्फत जानकारी लिई नियन्त्रणका उपाय अपनाई सोको दैनिक प्रतिवेदन जिल्ला प्रशासन कार्यालय सुर्खेतमा गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ । रोकथाम तथा नियन्त्रणका लागि अवलम्बन गर्नुपर्ने विधिहरुबारे जनचेतना अभिवृद्धि गर्ने, यस वर्षको मनसुनले पार्ने प्रभावलाई मध्यनजर गरी सबै स्थानीय तहले खोज उद्धारका सामग्री, भारी यन्त्र उपकरण आदिको व्यवस्था मिलाउन निर्देशन दिने पनि निर्णय भएको छ ।   रासस

साधना लघुवित्तको आईपीओ आजदेखि खुल्यो, कति लगानी गर्ने र कसरी फाइदा लिने ?

काठमाडौं । राष्ट्रिय स्तरको साधना लघुवित्त वित्तीय संस्थाले आज(असार २१ गते)देखि साधारण सेयर(आईपीओ)को बिक्री खुला गरेको छ । संस्थाले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ७ लाख ७ हजार ८ सय कित्ता अर्थात ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आईपीओ बिक्रीमा राखेको हो । गत असार ७ गतेमात्र नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको लघुवित्तले १५ दिनमै सेयर निष्काशन गर्ने भएको छ । कूल ७ लाख ७ हजार ८ सय कित्ता साधारण सेयर मध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८ सय ९० कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरेको छ । त्यस्तै, सर्वसाधारणलाई छुट्याएको सेयर मध्येको ५ प्रतिशत अर्थात ३५ हजार ३ सय ९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहने ६ लाख ६१ हजार ५ सय २० कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरिने संस्थाले जनाएको छ । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा असार २४ गते र ढिलामा साउन ४ गतेसम्म हुनेछ । उक्त सेयर निष्काशनको लागि संस्थाले ईक्रा नेपालबाट ‘आईसीआरए एनपी आईपीओ ग्रेड ४’ क्रेडिट रेटिङ्ग पाएको छ । कति लगानी गर्दा उपयुक्त हुन्छ ? ‘सामन्यतः लघुवित्तको निष्काशन हुने सेयर संख्याको अनुपातमा आवेदन दिने व्यक्तिहरुको संख्या धेरै गुणा बढी हुने गर्दछ । त्यसो हुँदा प्रतिव्यक्ति १० कित्ताको दरले सेयर वितरण गरिने र त्यसमा पनि संख्या बढी भएमा चिठ्ठा मार्फत् छनोट गरिने हुँदा धेरै रकम लगानी गर्न आवश्यक छैन । तसर्थ हाम्रो लघुवित्तको हकमा न्युनतम कित्ता १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ ।’ – संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्याैपानेले बताए । यो आईपीओमा लगानी गर्दा कसरी फाइदा लिने र कहिलेदेखि प्रतिफल पाइन्छ ? ‘सेयरधनीहरुले यो आर्थिक वर्षको कमाईबाटै अझ गत वर्षहरुको सञ्चित आम्दानी समेत गरी अर्को वर्ष प्रतिफल पाउनुहुन्छ । अझ स्पष्ट भन्ने हो भने यसपालीको सेयरधनीहरु भाग्यमानी हुनुहुन्छ । किनभने, आईपीओ बाँडफाँट भए पश्चात् यस वर्षनै प्रतिफल दिईने संस्थाको योजना रहेको छ । त्यसैले, उहाँहरुले लगानी गरेको १० दिनमै उचित प्रतिफल पाउनुहुन्छ । ढुक्क भएर सेयर भर्नोस् ।’- सीईओ न्याैपानेले विकासन्युजसँग बताए । र, याे पनि पढ्नुहाेस्ः साधना लघुवित्तमा लगानी गरेको १० दिनपछि नै उचित प्रतिफल पाइन्छ- सीईओ न्यौपाने

कौडीको भाउमा चिया बेच्दा मन रुन्छ : चिया किसान

इलाम । सूर्योदय नगरपालिका–७ का चिया किसान डम्बर कटुवाललाई आजकाल किसान भएकामा ठूलो ग्लानी छ । एउटै विषयलाई लिएर पटक–पटक आन्दोलन गर्नुपरेकामा र चियाको उचित मूल्य नपाएकामा धुरुधुरु रुन मन लाग्छ । बन्दाबन्दीको समयमा घरमा नुनतेल साट्ने चियाको मूल्य नै ‘कौडीको भन्दा कम परेपछि’ उनलाई अहिले चिया बेच्नु न नबेच्नु भएको छ । “खासमा दुःख गरेअनुसारको भाउ पाउनु त पर्छ नि । आखिर किन हामीलाई लागत नै नउठ्ने मूल्य लिन बाध्य बनाइन्छ”, कटुवाल भन्छन्, “घरमा साग रोप्ने करेसाबारीमा पनि चिया नै लाइयो, अहिले चकलेटको मूल्यमा चिया दिनु पर्दैछ । कहिलेचाहिँ हामीले यो विषयबाट मुक्ति पाउँछौँ ।” बन्दाबन्दीको समयमा पनि हरियो चियापत्तीको सोचेजस्तो मूल्य नपाएपछि डम्बर यतिबेला के गर्ने र कसो गर्ने अवस्थामा पुगेका छन् । स्थानीय सूर्योदय नगरपालिका (सूनपा) ले पनि चियाको भाउ प्रतिकिलो रु ४० भन्दा कम नकिन्नु भनेर कार्ययोजना नै बनाएको छ । तर पनि उद्योगीहरूले त्यही मूल्य पनि नदिने ‘अड्डी’ कसेपछि डम्बरको मन पिरलिएको हो । “स्थानीय सरकारले पनि कानून मात्र बनाएको छ । कार्यान्वयन गराउने पक्षमा छैन । उद्योगीहरू पनि आफ्नै भलो मात्र चाहन्छन्”, डम्बर भन्छन्, “हाम्रो पक्षमा कसले पो बोलिदिन्छ र !” डम्बर मात्र होइन, सूनपाकै अर्का किसान ज्ञानु राईलाई पनि यस्तै लाग्न थालेको छ । चियाको उचित मूल्य पाउन छाडेपछि एकातिर बन्दाबन्दीमा घरमा आर्थिक सङ्कट आइलागेको छ भने अर्कातिर बालीको मूल्य नै राम्रो नपाएपछि उकुसमुकस भएको छ । ज्ञानुलाई आफ्नो चित्त दुखाइ स्थानीय सरकार र उद्योगीसँग मात्र नभई चिया किसानसँग पनि हो । “आखिर हामी पनि एकजुट हुन नसकेकाले यो समस्या आएको हो”, ज्ञानु भन्छिन्, “हाम्रा लागि लड्ने त हामी नै त रहेछौँ, हामीले त २० वर्षअघि जति मूल्यमा चियापत्ती बेच्थ्यौँ अहिले पनि त्यही मूल्यमा दिनुपरेको छ ।” हरियो चियापत्तीको उचित मूल्य नपाएपछि यतिबेला चिया किसान सडकमा छन् । बन्दाबन्दीको समयमा अन्तर्राष्ट्रिय बजारमा हरियो चियापत्ती नबिकेको भन्दै उद्योगीले मूल्य घटाएपछि किसान सडकमा आउन बाध्य भएका हुन् । किसानले आन्दोलनस्वरुप नगरपालिकाभरिका किसान मिलेर सङ्घर्ष गर्ने योजना पनि बनाएका छन् तर एक हुन नसक्दा समस्या आएको छ । “हामी विस्तारै एक हुने क्रममा छौँ । तीन/चार वडाका किसान त एक भइसक्यौँ”, अर्का चिया किसान डम्बर प्रधान भन्छन्, “हामी चिया किसानले चियामा सुधार ल्याउनुपर्ने छ भने हामी ल्याउन तयार छाँै तर उद्योगीले उचित मूल्यचाहिँ दिउन् ।” प्रधान भने नगरले तोकेको मापदण्डानुसार उद्योगीले चिया नलिए चिया नै नदिने जिकिर गर्छन् । किसानको उत्पादनको मूल्य कम पारेर उद्योगीले नाफा मात्र कमाएको दाबी गर्दै प्रधान भन्छन्, “हो बन्दाबन्दी छ, चियाको मूल्य उद्यागीले धेरै दिन सक्दैनन् तर नगरपालिकाको मापदण्डमा त टेक्नैपर्छ । नगरको मापदण्डभन्दा धेरैमाथिको मूल्यसमेत हामीले विगतमा पाएका हौँ ।” ‘उद्योग बन्द भए पनि चिया दिँदैनौँ’ सूनपाले तोकेको मापदण्डमा टेकेर चिया उद्योगले हरियो चियापत्तीको मूल्य नदिए उद्योगलाई कुनै हालतमा चिया नदिनेसम्म किसानले बताएका छन् । विषम परिस्थितिको फाइदा उठाउँदै उद्योगले कम भाउ तोके चिया घरमै राख्नेसमेत किसानले बताएका छन् । “हाम्रो पनि श्रमको मूल्य हुनुप¥यो”, चिया किसान साधना फागो भन्छिन्, “हाम्रो वस्तुको उचित मूल्य नै दिइँदैन भने हामी किन झुक्ने ?” फागोका अनुसार धेरैजसो चिया किसानलाई उद्योगले चियापत्ती ल्याउन अनुरोध गरेको र पछि निर्धारित मूल्यसमेत दिएका छन् । “हामीले पनि त कर तिर्नुपर्छ, घर चलाउनु पर्छ”, फागो भन्छिन्, “चिया किसानलाई सहुलियत ऋण र तालिम दिनुको सट्टा हाम्रै उत्पादन पनि सस्तो खोज्ने ?” आर्थिक अभावपछि शिथिल बन्दै आन्दोलन आन्दोलन चर्काउनकै लागि भनेर पछिल्लो समय नगरभरका किसानको ‘सङ्घर्ष समिति’ समेत कोसिसमा लागेको छ । किसानहरूले नगरका तीन वडामा ‘समिति’ नै गठनसमेत गरेका छन् तर किसानसमेत एकजुट हुन नसक्दा समस्या आएको उनीहरू नै बताउँछन् । “किसानलाई चिया नबिकेपछि घर चलाउन गाह्रो भएको छ”, चिया किसान फागो भन्छिन्, “त्यसपछि त्यही चिया उद्योगीलाई दिएर पैसा ल्याउनुपर्ने दयनीय अवस्था आइलागेकाले एकजुट हुनसकेका छैनौँ ।” उनका अनुसार अहिले घर खर्च चलाउनकै लागि पनि तोकिएको मूल्यभन्दा कम मूल्यमा नै चिया बेच्नुपरेको छ । किसानले नगरको वडा नं ८, १० र ११ मा ‘हरियो चिया उत्पादक कृषक सरोकार समिति’ गठन गरिसकेका छन् । फागोका अनुसार अन्य वडामा पनि समिति गठन गर्ने प्रयत्न भइरहेको छ । के छ नगरको कार्यविधिमा ? सूनपाले दुई वर्षअघि मात्र किसानको हरियो चियापत्तीको मूल्य कम्तीमा प्रतिकिलो रु ४० मा उद्योगले किन्नुपर्ने कार्यविधि गरेको थियो । त्यसबेला आफ्नो चियाको मूल्य कम राखेको भन्दै किसानले आन्दोलनसमेत गरेका थिए तर अहिले त्यही नगरले तोकेको मूल्यसमेत उद्योगले नदिँदा किसान अझै समस्यामा परेका हुन् । नगरको कार्यविधि ‘सरकारको कानून’ भएको हुनाले जसरी पनि उद्योगले मान्नुपर्ने बताउनुहुन्छ सूर्योदय नगरपालिकाका आर्थिक विकास समितिका संयोजक देवेन्द्र शर्मा । “सधैँ किसान मार्ने काम मात्र भएको छ । यदि उद्योगले नगरपालिकाको मापदण्डविपरीत चिया लिए आवश्यक कारवाही गर्नेछौँ”, शर्माले भने, “जहिले पनि वस्तुको मूल्य कम लागतमा निर्धारण हुन्छ । विषम परिस्थिति आयो भन्दैमा कानूनविपरीत वस्तुको मूल्य कहीँ पनि लिन पाइँदैन ।” शर्माले विगतमा उद्योगले किसानको चिया ‘कौडी’कै मूल्यमा लिए पनि अब भने त्यस्तो गर्न नसक्ने बताए । आन्दोलनकै बेला नगरमा चिया शाखा गठन चियाको गुनासो सुनुवाइ गर्न पहल गर्ने गरी सूनपाले नगरमा चिया शाखा गठन गरेको छ । आर्थिक विकास समितिका संयोजक शर्माको संयोजकत्वमा नौ सदस्यीय समिति नगरले गठन गरेको हो । समितिमा दुई–दुई किसान र उद्योगका प्रतिनिधि, एक चिया तथा कफी विकास बोर्डका प्रतिनिधि, एक नगर सल्लाहकार र समितिको सदस्यसचिवमा उद्योग शाखाको सचिव रहने गरी शाखा स्थापना भएको हो । के भन्छन् त उद्योगी ? यता उद्योगीले भने तयारी चिया नबिकेकाले किसानलाई चियाको उचित मूल्य दिन नसकिएको बताएका छन् । उनीहरूले नेपालमा बजार नभएको र तेस्रो मुलुकमा लगेर बेच्न समस्या भएकाले कम मूल्य दिएको स्वीकार गरेका छन् । “तयारी चिया बिक्री नभएकाले किसानलाई बढी मूल्य दिन उद्योगलाई समस्या छ”, चिया उद्योगी गोपाल कट्टेलले भने, “अहिले उद्योगहरूले तयारी चिया बेच्न नपाएकै कारण किसानको हरियोपत्तीको मूल्य तिर्न सकेका छैनन् ।”