विकासन्युज

बैंक अफ काठमाण्डूद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । बैंक अफ काठमाण्डूले मुद्दती खातामा एक लाख रुपैयाँ बराबराको बीमा दावी भुक्तानी गरेको छ । बैंकले यस कम्पनीमा मुद्दती खाता खोली बैंकिङ्ग कारोबार गर्दै आईरहेकी शुभद्रा श्रेष्ठलाई औषधी उपचारको लागत खर्च बापत उक्त रकम भुक्तानी गरेको हो । बैंकको सहायक महाप्रबन्धक मनिष कुमार सिंहले बैंकको निक्षेप ग्राहक शुभद्रा श्रेष्ठलाई उक्त बीमा दाबी रकम हस्तान्तरण गरेका हुन् । यस खातामा रहेका सुविधाहरुको लाभ लिन शुभद्रा श्रेष्ठले बैंक अफ काठमाण्डूको साँखु शाखामा बिओके सफलता मुद्दती खाता खोली बैंकिङ्ग कारोबार गर्दै आईरहेकी छिन् । श्रेष्ठले आफ्नो उपचारको लागि अस्पतालबाट बहिरंग सेवा लिएकी थिइन् । बैंकले सफलता मुद्दती खातामा रहेको बीमा सुबिधा सिद्धार्थ इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा उपलब्ध गराउँदै आईरहको छ । बैंक अफ काठमाण्डूले बिओके सफलता मुद्दती खातामा उच्चतम व्याजदरका साथ ११ लाख रुपैयाँसम्मको बीमा सुबिधा उपलब्ध गराउँदै आईरहेको छ । बीमा सुबिधा अन्तर्गत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तता लागि पाँच लाख रुपैयाँ, १८ घातक रोगहरुको लागि पाँच लाख रुपैयाँ तथा औषधी उपचारको लागि एक लाख रुपैयाँको बीमा सुविधा रहेको छ । बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

आइतबार थप २ सय ९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ७ सय ८४

काठमाडौं । आइतवार थप २ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप २ सय ९३ जना कोरोना संक्रमित भेटिएको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १५ हजार ७ सय ८४ पुगेकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ । हाल ९ हजार २ सय ३ जना आइसोलेसनमा उपचाररत छन् । हालसम्म उपचार पछि निकाे हुनेको संख्या ६ हजार ५ सय ४७ पुगेको छ ।

विदेशमा अलपत्र परेकाको उद्धार जारी

काठमाडौं । दुई एयरलाइन्सले विभिन्न मुलुकबाट दैनिक औसत पाँचदेखि छवटा अन्तर्राष्ट्रिय उडान गरी समस्यामा परेका नेपालीलाई उद्धार जारी राखेका छन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमालय एयरलाइन्सले चार्टर्ड उडान गरी उनीहरुलाई स्वदेश फर्काइरहेका हुन् । नेपाल एयरलाइन्सले दैनिक तीनदेखि चार र हिमालयले दैनिक दुईदेखि तीन उडान भर्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । यी उडानमा कहिलेकाहीँ गन्तव्य तथा उडान सङ्ख्यामा पनि तलमाथि हुने गरेको छ । दुवै एयरलाइन्सले जुलाई महिनामा हुने उडान तालिका बनाएर धमाधम चार्टर्ड उडान गरिरहेका छन् । नेपाल एयरलाइन्सले जुलाई ११ तारिखसम्मको उडान तालिका सार्वजनिक गरेको छ । यसैगरी हिमालयले जुलाई दुईदेखि १० सम्मको उद्धार उडान तालिका निर्धारण गरेको छ । नेपाल एयरलाइन्सले यसअघि जुन पहिलो सातादेखि महिनाभर विभिन्न मुलुकमा चार्टर्ड उडान गरी नेपालीलाई स्वदेश ल्याएको थियो । त्यस्तै हिमालयले जुन १६ देखि अन्तिमसम्म उद्धार उडान गरेको थियो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जुलाई महिनाको १२ तारिखसम्म मात्रै उद्धार उडान हुने जानकारी दिए । यसपछि एक/दुई साता चार्टर्ड उडान नहुने उनले जानकारी दिए । उनका अनुसार जुन महिनामा छुटेकासहित उद्धार उडान जुलाईको ११ देखि १२ तारिखसम्म हुनेछ । यसपछि दुई साता उडान हुनेछैन । सरकारले निर्णय गरेमा थप उडान हुनसक्ने जनाइएको छ । नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख दीपुराज ज्युहार्चनले निगमको पूर्वनिर्धारित तालिकाअनुसार दैनिक तीनदेखि चार उडान भइरहेको जानकारी दिए । पछिल्लो पटक निगमको एक वाइड बडी जहाज ग्राउन्डेड भएकाले अहिले दैनिक सरदर तीन उडान भइरहेको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वाइड बडी र दुई न्यारोबडी जहाज छन् । हिमालयसँग तीन न्यारो बडी जहाज छन् । पर्यटन मन्त्रालयले जुलाई महिनामा विभिन्न मुलुकबाट गरिने उद्धार उडानका लागि नेपाल एयरलाइन्सलाई तीन र हिमालयलाई दुई उडान अनुमति दिएको छ । अन्य विदेशी एयरलाइन्सले पनि नेपालीको उद्धार उडानका लागि अनुमति पाएका छन् । हिमालयले औसतमा दैनिक दुईदेखि तीन चार्टर्ड उडान गरिरहेको कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । अहिलेलाई पूर्वनिर्धारित तालिकामा उडान भर्ने र थप उडानका लागि सरकारले निर्णय गरेमा उडानका लागि तयारी अवस्थामा रहेको उनले बताए । उनले यात्रु चार्टर्ड र केही कार्गो उडानबाहेक अहिलेलाई कुनै योजना नभएको जानकारी दिए । एयरलाइन्सले विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि जुलाई २ देखि १० सम्मको उद्धार उडान निर्धारण गरी चार्टर्ड उडान गरिरहेको छ । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउन सरकारले दिएको अनुमतिअनुरूप दुवै एयरलाइन्सले उडान तालिका बनाएर चार्टर्ड उडान गरिरहेका हुन् । यी एयरलाइन्सले चीनका विभिन्न गन्तव्य, बङ्गलादेश, मलेसियाको क्वालालम्पुर, साउदी अरेबियाको रियाद, दमाम, युएईको अबुधाबी, कतारको दोहा, बहराइन, कुवेत, जापानलगायत मुलुकबाट नेपाली स्वदेश फर्काउन चार्टर्ड उडान गरिरहेका छन् । अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दैनिक नौदेखि १६ वटा चार्टर्ड उडान हुँदै आएका छन् । असार महिनामा धेरै सङ्ख्यामा उडान भएको विमानस्थलको विवरण छ । यही असार १२ गते एकै दिन १६ अन्तर्राष्ट्रिय उडान भएको थियो । यसअघि असार १० र ११ मा दैनिक १५ उडान भए । शनिबार र आइतबार दैनिक ११ उडान भएको विमानस्थलले जनाएको छ । सरकारले गत जेठ १६ गते तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको थियो । सरकारद्वारा गठित कोभिड–१९ सङ्क्रमण व्यवस्थापन सेन्टर (सिसिएमसी) को निर्णयअनुरुप पहिलो चरणमा २५ हजार नेपालीलाई स्वदेश फर्काइने जनाइएको छ । १६ हजारभन्दा बढी फर्किए विभिन्न मुलुकबाट भइरहेका उद्धार उडानमार्फत १६ हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को विवरणअनुसार यही असार १८ गतेसम्म विभिन्न मुलुकबाट १६ हजार २ सय ९४ यात्रु फर्किएका हुन् । यीमध्ये सबैभन्दा धेरै कुवेतबाट ३ हजार ५ सय २७, युएईबाट २ हजार ७ सय ३७, साउदी अरेबियाबाट २ हजार २, कतारबाट १ हजार ८ सय १७ र मलेसियाबाट १ हजार ५ सय ३७ स्वदेश फर्किएका छन् । प्रदेशगत हिसाबले सबैभन्दा बढी वाग्मती प्रदेशका ५ हजार ३ सय ५८, प्रदेश नं १ का ३ हजार ८९, प्रदेश नं ५ का २ हजार ५ सय ८१, प्रदेश नं २ का २ हजार ४ सय ९८, गण्डकी प्रदेशका २ हजार २१, कर्णाली प्रदेशका ३ सय ९४ र सुदूरपश्चिम प्रदेशका ३ सय ५३ स्वदेश फर्किएका छन् ।  रासस

वार्षिकोत्सवको अवसरमा अजोड इन्स्योरेन्सले गर्यो रक्तदान कार्यक्रम

काठमाडौं । अजोड इन्स्योरेन्सले आफ्नो दाेश्राे वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ । कम्पनीले दुई वर्ष पार गरी ३ वर्षमा प्रवेश गरेको अवसरमा आइतबार(असार २१ गते) रक्तदान कार्यक्रमको आयोजना गरेको हो । आज गरेको रक्तदान कार्यक्रममा हालसम्म ३५ जनाले रक्तदान गरेका छन् । कार्यक्रमको सुरुवात कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले रक्तदान गरेका थिए । साथै, इन्स्योरेन्स कम्पनीले आगामी दिनमा अझ विश्वनीय, भरपर्दो, छिटो, छरितो, व्यवस्थित एवम् प्रविधिमैत्री बीमा सेवा प्रदान गर्दै जाने प्रतिवद्धता जनाएको छ ।

ओली-प्रचण्ड वार्ता सकियो, निश्कर्ष के आयो ?

काठमाडौं । सत्तारुढ नेकपा भित्र जारी विवाद मिलाउन दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको वार्ता सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको वार्ता आज पनि निष्कर्षमा पुग्न नसकेको बताइएको छ । भोलि पुनः छलफल हुने गरी आजको वार्ता टुंग्याइएको हो । वार्तामा दुबै पक्षले आआफ्नो अडान दोहोर्याइएको बताइएको छ । प्रधानमन्त्री एवं अध्यक्ष ओलीले दुबै पद नछाड्ने अडान दोहोर्याउँदा अर्का अध्यक्ष प्रचण्डले अब हठले पार्टी नचल्ने प्रष्ट पारेकाे बुझिएकाे छ ।  

नागरिक लगानी कोष र चन्द्रागिरी हिल्सबीच सेयर निष्काशन सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र चन्द्रागिरी हिल्सबीच स्थानिय बासिन्दा एवम् सर्वसाधारणमा सेयर निष्कासन एवम् प्रत्याभुति नियुक्ती गर्ने सम्बन्धी आइतबार सम्झौता भएको छ । चन्द्रागिरी हिल्सको १८ लाख ४० हजार ९ सय १० कित्ता सेयरको १८ करोड, ४० लाख ९१ हजार रुपैया बराबरको सेयर प्रत्याभुत गर्ने सम्झौता भएको हो । उक्त प्रत्याभुतिमा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरी हिल्सको तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेक बिक्रम शाहले हस्ताक्षर गरेका हुन् ।

गायकको मृत्युसम्बन्धी विवादमा भएको झडपमा कम्तीमा १ सय ६६ जनाको मृत्यु

अदिस अबाबा । इथियोपियाली लोकप्रिय गायकको मृत्युका विषयमा भएको विवाद हिंसात्मक भडपमा परिणत हुँदा इथियोपियाको ओरोमिया क्षेत्र र राजधानी अदिस अबाबामा कम्तीमा १६६ जनाको मृत्यु भएको प्रहरी स्रोतहरूले आइतबार जानकारी गराएका छन् । अरोमिया क्षेत्रका प्रहरी उप–आयुक्त गिरमा गेलमले झडपमा कम्तीमा १ सय ५६ सर्वसाधारण र ११ सुरक्षाकर्मीको मृत्यु भएको शनिबार राति सञ्चारमाध्यमहरूलाई जानकारी गराए । प्रहरीले गत मङ्गलबार अदिस अबाबामा भएका झडपमा कम्तीमा १० प्रदर्शनकारी र दुई प्रहरी अधिकारीको मृत्यु भएको जनाएको थियो । इथियोपियाका जनजातीहरूको अधिकारका लागि गाउने गरेका हाचालु हुन्देसाको मृत्युलाई लिएर उक्त समुदायले गरेका विरोधका कार्यक्रमले हिंसात्मक स्वरूप लिएको हो । हुन्देसाको गायनबाट उठेको सांस्कृतिक चेतनाको बलमा उठेको आन्दोलनले सन् २०१८ मा तत्कालीन प्रधानमन्त्रीले सत्ता छोड्न बाध्य पारेको थियो । हुन्देसालाई अज्ञात व्यक्तिले गत सोमबार गोली हानी मारेको थियो । उहाँको मृत्युपछि राजधानी अदिस अबाबा र ओरोमिया क्षेत्रमा रहेका आदिवासी जनजातीहरूले हुन्देसाको हत्यामा सम्लग्न व्यक्तिको खोजी गरी कानूनी कारबाहीका लागि आन्दोलनमार्फत् दवाव सिर्जना गर्दै आएका थिए । सञ्चारमाध्यमका अनुसार आन्दोलन चर्किदै गएपछि इथियोपियाका केही क्षेत्रमा इन्टरनेट सेवा काटिएको छ । हिंसात्मक आन्दोलनमा सहभागी भएको आरोपमा कम्तीमा २ हजार २ सय व्यक्तिलाई नियन्त्रणमा लिइएको सरकारी अधिकारीहरूले बताएका छन् । आन्दोलन र झडपका घटना शनिबारदेखि नियन्त्रणमा आएको बताइएको छ ।  रासस/सिन्ह्वा

घरजग्गा धितोमा मात्रै ऋण पाइने व्यवस्था पुनरावलोकन गर

काठमाडाैं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको अन्तिम तयारीमा छ । साउन पहिलो साता आउने मौद्रिक नीतिले जेठ १५ गते आएको बजेटलाई के कसरी सहयोग गर्छ भन्ने जिज्ञासा धेरैको छ । अहिलेसम्मको नेपाली अभ्यास हेर्ने हो भने मौद्रिक नीतिप्रति बैंक वित्तीय संस्था र उद्योगी व्यवसायीले मात्रै खास चासो देखाउने गरेको पाइन्छ । तर, यथार्थ भिन्न छ । किनभने मौद्रिक नीतिले लिएका लक्ष्य र उदेश्यले बैंक वित्तीय संस्था, उद्योगी व्यवसायीलाई मात्रै होइन, सर्वसाधारणको भान्सासमेत प्रभावित पार्छ । मौद्रिक नीतिले लिने मूल्य बृद्धिको लक्ष्य बजेटमा नै आउने भएपनि त्यसको व्यवस्थापन कसरी गर्ने गराउने हो भन्ने निक्र्याेल मौद्रिक नीतिबाट मात्रै हुन्छ । अर्थात मौद्रिक नीतिपछि मात्रै बजेटमा भनिए अनुसारको मूल्य बृद्धि र आर्थिक बृद्धि हासिल हुन सक्छ कि सक्दैन भन्ने यकिन हुन्छ । आगामी आर्थिक वर्षको लागि आउने मौद्रिक नीति विशेष चासो र सरोकारको विषय बनेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्न ३ महिनासम्म सरकारले देशव्यापी रुपमा गरेको लकडाउनका कारण उत्पन्न आन्तरिक परिस्थितिको सामना गर्न आर्थिकक्रान्ति आवश्यक छ । कोरोना भाइरसकै कारण उत्पन्न अन्तराष्ट्रिय परिस्थितिको नकारात्मक प्रभाव पनि नेपाली अर्थतन्त्रमा परेको छ । उद्योग, व्यवसाय, उत्पादन, आपूर्ति, रोजगारी जस्ता धेरै क्षेत्रमा परेको समस्या समाधानको लागि सबैभन्दा पहिला राष्ट्र बैंक नै देखिनु पर्छ । किनभने विषम परिस्थितिमा चाहिने भनेको पैसा हो, पैसाको आपूर्ति राष्ट्र बैंकले नै गर्छ । विशेष परिस्थितिमा आउने मौद्रिक नीति विशेष प्रकारको नै हुनुपर्छ । मौद्रिक नीतिले एकातिर थलापरेको अर्थतन्त्रलाई जगाएर बजार गुल्जार बनाउन भूमिका खेल्नुपर्ने वाध्यता छ भने अर्काेतिर रोजगारी र व्यवसाय गुमाएर बसेका उद्योगी, व्यवसायी, पेशाकर्मी र आमसर्वसाधारणलाई महंगीको मार नथोपरिने परिस्थिति सिर्जना गर्नुपर्ने आवश्यकता छ । यी दुबै विषय आफैमा परस्पर विरोधी हुन् । किनभने बजार गुल्जार बनाउन नोटको आपूर्ति बढाउनु पर्छ । महंगी नियन्त्रणमा राख्न नोट आपूर्ति कम गर्नुपर्छ । अहिलेको मौद्रिक नीतिको मुख्य चुनौति नै यही हो । मौद्रिक नीतिले गर्नुपर्ने अर्काे सम्बोधनको विषय भनेको बैंक तथा वित्तीय संस्थाको कष्ट अफ फण्ड घटाउने र उद्यम व्यवसाय गर्न चाहने वा गरिरहेकाहरुले सहज रुपमा ऋण पाउने व्यवस्था हो । बैंक वित्तीय संस्थाको कष्ट अफ फण्ड कम गर्दा व्याजदर सस्तो हुन्छ । व्याजदर सस्तो भएपछि लगानीको लागि राम्रो अवसर बन्छ । कष्ट अफ फण्ड कम गर्नका लागि अहिले संचालनमा रहेको पुँजी कर्जा निक्षेप अनुपात (सीसीडी) हटाए हुन्छ । किनभने बैधानिक तरलता अनुपात (एसएलआर) र अनिवार्य नगद मौज्दात (सीआरआर) कारण अहिले पनि बैंक वित्तीय संस्थाले १५ प्रतिशतभन्दा बढी स्रोत परिचालन गर्न रोकिएकै छ । बैंकमा निक्षेप जम्मा पार्नको लागि ग्राहक पहिचान (केवाइसी) का नाममा सर्वसाधारणले विभिन्न प्रकारको हैरानी व्यहोर्नु परेको छ । केवाइसी प्रावधान पूरा गर्नको लागि अपनाउनु पर्ने विधिमा सरलीकृत गरी निक्षेप आकर्षित गर्ने व्यवस्था मौद्रिक नीतिले गर्नुपर्छ । यसको लागि केवाइसी नम्बर प्रदान गरेर सहज बनाउन सक्ने संयन्त्र बनाउने वा अहिले भएकै कुनै संयन्त्रलाई यसको जिम्मा दिन सकिने विकल्प नभएको हाइन । यस्तै १० लाख रुपैयाँभन्दा बढीको निक्षेप संकलनको लागि स्रोत अनिवार्य देखाउनु पर्ने अहिलेको व्यवस्थामा समयसापेक्ष सुधार गरी २० लाखको सीमा कायम गर्दा बैंकिङ क्षेत्रमा स्रोत थप हुने देखिन्छ । बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह हुने अहिलेको परिपाटीमा राष्ट्र बैंकले विशेष सहजीकरण गर्न जरुरी छ । कुनै उद्यम व्यवसाय संचालन गर्नको लागि अहिले बैंकमा ऋण लिन गयो भने शहरी क्षेत्रमा २० फिटे कालोपत्रे सडकले छोएको घरजग्गा धितो चाहिन्छ । बैंकले स्वीकार गर्ने घरजग्गा धितो नहुने व्यक्तिले उद्यम व्यवसाय गर्न सक्ने अवस्था नै छैन । यो परिपाटीमा विशेष सहजीकरण गरेर परियोजना धितो कर्जाको अवधारणामा बैंकहरुलाई डोर्याउनु पर्नेछ । यो काम पनि आगामी आर्थिक वर्षको मौद्रिक नीतिको मुख्य विषय बन्न सक्नुपर्छ । उद्यमी व्यवसायीले बैंकमार्फत खोजेका राहत र पुनरुत्थानका कार्यक्रम ल्याउनको लागि राष्ट्र बैंक आफै सकारात्मक रुपमा सक्रिय छ । त्यो सक्रियता पनि कम नहोस् ।