विकासन्युज

मेलम्ची आयोजना सम्पन्न, छिटै उद्घाटन गरिने

काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको छ । खानेपानी मन्त्री बिना मगर मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएकाे बताएकी हुन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री मगरले मेलम्चीको उद्घाटन छिटै गरिने पनि जानकारी दिईन् । यस्तै आइतबार बिहानबाट मेलम्ची खोलाको पानी आयोजनाको सुरुङ मार्गमा पथान्तर गरिएको र सुरुङ मार्ग भरिन केही दिन लाग्ने र त्यसपछि सुरुङको अन्तिम परीक्षण हुने मन्त्री मगरले बताईन् । मेलम्ची खानेपानी आयोजनाका प्रमुख तिरेश प्रसाद खत्रीले सुरुङमा पानी हालिसकिएकाले केही दिनमा नै २६ किलोमिटर लामो सुरुङ भरिने र त्यसपछि सुरुङ खाली गरी फेरि पानी हालेर उपत्यकामा पानी वितरणको प्रक्रिया सुरु गरिने बताए । मन्त्री मगरले मेलम्ची आयोजना सम्पन्न गरिएको जानकारी पाउँदा आफूलाई गौरव बोध भएको बताईन् । मन्त्री मगरले भनिन्, ‘मेलम्चीबारे थुप्रै आशंकाहरु थिए । आम जनतामा निरासा थियो । मेलम्ची कतै दन्त्यकथा हुने त होइन भन्ने खालका चिन्ताहरु पनि थिए । तर, हामीले चुनौतीसँग जुध्यौं । ती सबै आशंकाहरु, अन्यौलताहरु, गलत प्रचारहरु हटाएर रातदिन काममा खटिरह्यौं । आज आयोजना सम्पन्न भएको छ । यो हाम्रा लागि ऐतिहासिक उपलब्धी हो ।’ मन्त्री मगरले आयोजना सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिईन् । मन्त्री मगरले भनिन्, ‘मेलम्ची आयोजना निकै लामो समयदेखि सुरु भएको आयोजना हो । मैले मन्त्रालयको नेतृत्व सम्हालेपछि निकै मेहेनतका साथ आयोजना सम्पन्न गर्न लागिरहें । आयोजना सम्पन्न गर्ने क्रममा थुप्रै चुनौतीहरु आए, अनेकौं गलत प्रचारहरु गरिए । तर, हिम्मत नहारिकन हामी अगाडि बढ्यौं । त्यसकै प्रतिफल आजको उपलब्धी हासिल गरेका छौं । यसले हामी सबै नेपालीको शीर उच्च भएको छ ।’ पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले निकै चुनौतीपूर्ण आयोजना सम्पन्न गरिएको बताईन् । उनले आयोजनाको निर्माण कार्य सम्पन्न भएको र अब छिटै उद्घाटन गरेर मेलम्चीको पानी काठमाडौं उपत्यकामा बितरण गरिने जानकारी दिए ।

नेपाल राष्ट्र बैंकले ५० को नयाँ नोट चलनचल्तीमा ल्याउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको, नोटमा गभर्नरको दस्तखत रहेको स्थानमा तत्कालीन गभर्नर डा चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ । केन्द्रीय बैंकका अनुसार, ‘नोटमा साविककै आकार, प्रकार तथा रंगमा सङ्केत नम्बर ज/८९०००००१ देखि ट/३३९९९९९९ सम्म नेपाल सरकारको जमानत प्राप्त यसको भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० पाइनेछ’ भन्ने व्यहोरा उल्लेख छ । नोटको मध्यभागमा नेपाल राष्ट्र बैंक अङ्ग्रेजी रोमनमा लेखिएको छ । नोटको मध्यभागमा हिउँ चितुवाको चित्र रहेको छ ।

ढलबाट कोभिड–१९ को सङ्क्रमण फेला परेको प्रमाण छैन: स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फोहर पानीको ढलमा कोभिड– १९ को सङ्क्रमण देखिएको प्रमाण कहीँकतै फेला नपरेको बताएको छ । आज मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ढलको पानीमा कोभिड– १९ को भाइरसको पहिचान भए पनि यसको माध्यमबाट मानिसमा भाइरस सार्नसक्ने सम्भावना अध्ययनले पुष्टि नगरेको बताए । “हालै राजधानीको ढलको पानी नमूना परीक्षण गर्दा कोभिड– १९ को सङ्क्रमण देखिएको भन्ने दाबीप्रति ध्यानाकर्षण भएको छ”, उनले भने, “विश्वमा अन्यत्र भएको अध्ययनले कोभिड– १९ को सङ्क्रमित भएको अवस्थामा वा निको भएपछि पनि ढलका कोभिड– १९ को व्यक्तिको भाइरसको टुक्राटाक्री भेटिएको देखिन्छ जुन सामान्यता रोग सार्ने खालको हुँदैन ।” ढलको पानीमा कोभिड– १९ को सङ्क्रमणको सम्भावना र अन्य सङ्क्रमण रोगका किटाणु प्रशस्त्रमात्रामा हुने हुनाले ढलको फहोर पानीको भने उचित प्रशोधन र व्यवस्थापन हुनु आवश्यक रहेको उनको भनाइ छ । मन्त्रालयका प्रवक्ता डा गौतमले ढलको पानीमा कोभिड– १९ को अंश भेटियो भन्दैमा समुदायमा सङ्क्रमण फैलिएर जटिल अवस्था सिर्जना भएको भन्न नमिल्ने बताए । “ढलमा हाल केकस्ता भाइरस भेटिएका हुन त्यसको आधिकारिकताको थप अध्ययन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहयोगमा मन्त्रालयले गर्नेछ”, उनले भने, “ढलको पानीमा भाइरस देखियो भन्दैमा कुनै पनि व्यक्ति नआत्तिन र नडराउन अनुरोध गर्दछौँ ।” उनका अनुसार विभिन्न अध्ययन अनुसन्धानले कोभिड– १९ भाइरस सामान्य तापक्रमको पानी, क्लोरिन जस्तो जिवाणुनाशक औषधि राखिएको फोहर पानीमा वा अस्पतालबाट निस्कने ढलको पानीमा पनि दुई दिनसम्म बाँच्ने देखिएको छ । ढलको पानीमा आधारित इमिडोयोलोजी विधिले ढलमा रहको पानीका माध्यमबाट मानिसमा कोरोना भाइरस फैलिन्छ भन्ने विषय नभई सो पानीमा रहेको जीवाणु र विषाणुको पहिचान तथा मात्रा तय गरी त्यसका आधारमा समुदायमा सङ्क्रमणको अवस्था बुझ्न सकिने उनको भनाइ थियो । प्रवक्ता डा. गौतमका अनुसार कोभिड– १९ को सङ्क्रमण हुने मुख्य दुई माध्यमले सर्ने गर्दछ । तीमध्ये पहिलो श्वासप्रश्वासका माध्यमबाट सङ्क्रमति व्यक्तिले हाँछ्यु वा खोक्दा नजिकमा रहेका व्यक्तिलाई छिटाका माध्यमबाट सर्ने गर्दछ । त्यस्तै सङ्क्रमित व्यक्तिको हातले कुनै वस्तु छोएमा त्यस्तो वस्तुमा भाइरस केही घण्टा जीवित हुने गर्दछ र त्यही व्यक्तिले छोएको ठाउँमा अन्य व्यक्तिले छुँदा, छोएको हातले मुख, नाक र आँखामा लैजादा भाइरस सर्ने बताइन्छ ।

भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सवारीसाधन आजदेखि सञ्चालनमा

हेटौँडा । भीमफेदी–कुलेखानी सडकखण्डमा पर्ने देउराली र हेबीमा केही दिनअघि गएको पहिरो पन्छाई भीमफेदी काठमाडौँतर्फको यातायात सेवा आजैबाट सञ्चालनमा ल्याइएको भीमफेदी इलाका प्रहरी कार्यालयले जनाएको छ । उक्त राजमार्गलाई विस्तार गर्ने क्रममा वाग्मती प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले भीमफेदीदेखि कुलेखानीसम्म करिब साढे १५ किलोमिटर सडकको विस्तार गर्ने क्रममा निर्माण कार्य भइरहेकाले ठाउँठाउँमा पहिरो जाँदा केही हप्तादेखि कुलेखानीदेखि हेटौँडासम्मको यातायात सेवा अवरुद्ध हुन पुगेको थियो । काठमाडौँको बल्खुबाट हेटौँडातर्फ आउने हल्का सवारी साधनलाई मदन भण्डारी राजमार्गको फाखेल–सिस्नेरीबाट आवतजावत गर्न स्थानीय प्रहरी चौकीले अनुमति प्रदान गरेको सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रविन झाले जानकारी दिए । हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ जाने हल्का सवारी साधनलाई व्यक्तिको आवश्यकता हेरी भैँसेस्थित प्रहरीले भीमफेदीतर्फ जाने अनुमति दिएको र खाद्यान्न, औषधि, इन्धन, लत्ताकपडालगायत अन्य सामग्री बोक्ने सवारी साधनलाई त्रिभुवन राजपथको दामन, पालुङ हुँदै मकवानपुरको विभिन्न गाउँमा पठाउने गरेको भैसे प्रहरी चौकीका इञ्चार्ज कुलबहादुर श्रेष्ठले बताए । प्रदेशको राजधानी हेटौँडाबाट ललितपुरको सातदोबाटो जोड्ने कान्तिराजपथमा पर्ने जिपुर र ठिंगनमा केही हप्ता अगाडि पहिरो जाँदा सातदोबाटोबाट हेटौँडासम्मको यातायात सेवा अवरुद्ध रहेको चौघडा प्रहरी चौकी हेटौँडाले जनाएको छ । सो राजमार्गको विभिन्न ठाउँमा गएको पहिरो पन्छ्याइ यातायात सञ्चालनमा ल्याउन अझै एक महिना लाग्ने जनाइएको छ ।

अस्ट्रेलियाका अर्थमन्त्रीद्वारा राजनीतिबाट अलग हुने घोषणा

क्यानबेरा । अस्ट्रेलियाका अर्थमन्त्री म्याथिअस कोम्र्यानले सन् २०२० को अन्त्यसँगै राजनीतिक जीवनबाट विश्राम लिने आइतबार घोषणा गरे । कोम्र्यान सत्ताधारी गठबन्धनका एक वरिष्ठ व्यक्तित्व हुन् । उनले राजनीतिलाई आफ्नो जीवनको सबैभन्दा ठूलो अवसर बताए । सन् २००७ मा पश्चिमी अस्ट्रेलियाको सिनेटरका रूपमा निर्वाचित बन्नुभएका कोम्र्यानले सन् २०१३ पछि बनेका विभिन्न सरकारको अर्थमन्त्रीका रूपमा काम गर्दै आएका छन् । कोम्र्यानले आफ्नो राजनीतिक जीवनबाट विदा लिन लाएको जानकारी गराउँदै जारी वक्तव्यमा भनिएको छ, ‘म यस पद (अर्थमन्त्री) का रूपमा यस वर्षको बजेटलाई तयार गर्दासम्म रहनेछु ।’ कोरोना भाइरस महामारीका कारण अस्ट्रेलियामा वार्षिक बजेट तयार गर्ने मिति आगामी अक्टोबरका लागि सारिएको छ । “मैले यो काम मन पर्छ । मैले हरेक दिन यसैका लागि अर्पण गर्ने गरेको छु । तर यस वर्षको अन्त्यसम्म यो सरकारको आधा कार्यकाल पनि सकिनेछ ।”  उनले भने, ‘अर्को निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गर्दै मैले प्रधानमन्त्री स्कट मोरिसनसँग सल्लाह गरिसकेको छु कि सन् २०२० को अन्त्य नै मलाई आफ्नो पदबाट विदा लिन उपयुक्त समय हुनेछ ।’ कोम्र्यानको राजिनामा यति वेला आएको छ जति वेला अस्ट्रेलियाले विश्वव्यापी महामारीका कारण ठूलो बजेट घाटाको सामना गरिरहेको छ । कोम्र्यानको राजिनामासँगै प्रधानमन्त्री मोरिसनले आफ्नो मन्त्री परिषद्मा फेरबदल गर्ने अनुमान गरिएको छ ।  रासस/सिन्ह्वा

बाउन्स चेक काट्दा राजमान र विश्वमर्दनलाई ५ दिन कैद, जनही १४ लाख जरिवाना

काठमाडौं । पाटन उच्च अदालतले बाउन्स चेक काट्ने राजमान सुनार र विश्वमर्दन बस्नेतलाई बैंकिङ कसुर अन्तर्गत जरिवाना सुनाएको छ । अदालतले उनीहरु दुई जनालाई ५ वर्ष कैद सजाय तोकेको छ भने सुनारलाई १४ लाख ६९ हजार र बस्नेतलाई १३ लाख रुपैयाँ जरिवाना सुनाएको हो । उनीहरुले आफ्नो खातामा प्रयाप्त रकम नहुँदै पनि जानी बुझि रकम भुक्ताका लागि चेक काटेर दिएपछि उनीहरु विरुद्द मुद्दा दायर भएको थियो । आज पाटन अदालतले उनीहरुलाई साे सजाय सुनाएकाे हाे । उनीहरुलाई प्रहरीले काठमाडौंमा लुकिछिपी रहेको अवस्थामा पक्राउ गरेको थियाे । सुनार काठमाडौं महानगरपालिका १६ नयाँ बजारका हुन् भने बस्नेत धर्मस्थलीका हुन् ।

थप सशक्त बन्दै मेगा बैंक, गण्डकी विकास बैंकलाई प्राप्ति गरी शुरू गर्याे संयुक्त कारोबार 

काठमाडौं । पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंकलाई प्राप्ति गरी मेगा बैंक नेपाल लिमिटेडले आज(असार २१ गते) बाट संयुक्त कारोबार शुभारम्भ गरेको छ । आइतबार पोखरामा एक समारोहकाबीच गण्डकी विकास बैंकलाई मेगा बैंकमा प्राप्तिको घोषणा गरी ‘मेगा बैंक नेपाल लिमिटेड’काे नामबाट एकीकृत काराेबार शुरू गरिएकाे हाे । पोखरामा केन्द्रीय कार्यालय रहेको र ९५ वटा शाखा कार्यालय रहेको गण्डकी विकास बैंक मेगा परिवारमा समाहित भएको घोषणा गर्दै मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाहले पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा बृहत वृद्धि भई मेगा बैंक देशकै ठूलो मध्येको एक “क” वर्गको वाणिज्य बैंकको रुपमा स्थापित भएको बताए । अध्यक्ष शाहका अनुसार, मेगा बैंक र गण्डकी विकास बैंकको शेयर आदान प्रदान अनुपात १ः१ रहेको छ । कार्यक्रममा बोल्दै साबिक गण्डकी विकास बैंक सञ्चालक समितिका अध्यक्ष सुशील गौचनले गण्डकी विकास बैंकले स्थापनाको छोटो सयममै गण्डकी प्रदेशसहित विभिन्न प्रदेशका ग्राहकहरुको मन जित्न सफल भएको र अब त्यो विश्वास र माया मेगा बैंकमा सरेको बताए । कार्यक्रममा मेगा बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले गण्डकी प्रदेशका ११ वटै जिल्लामा शाखा कार्यालय विस्तार भएको गण्डकी विकास बैंकलाई प्राप्ति गरेपछि गण्डकी प्रदेशमा मात्रै मेगा बैंकको शाखा सञ्जाल ४८ वटा भएको बताइन् । अब मेगा बैंकको शाखा सञ्जालका हिसाबले वागमती प्रदेशपछि गण्डकी प्रदेश दोस्रो नम्बरमा रहेको उनले बताइन् । उत्कृष्ट व्यवसाय गरिरहेको गण्डकीलाई प्राप्ति गरेपछि मेगा बैंकको ओज बढेको उल्लेख गर्दै उनले मेगा बैंकको शाखा सञ्जाल अब ५८ वटा जिल्लामा फैलिएको जानकारी दिइन् । सीइओ खुञ्जेलीका अनुसार, देशका २७ वटा ‘क’ वर्गका वाणिज्य बैंकमध्ये मेगा बैंक निक्षेपका आधारमा ११औं स्थान, कर्जाका आधारमा १२ औं र मुनाफाका आधारमा ११औं स्थानमा रहेको छ । यसैगरी, मेगा बैंकको कर्मचारी संख्या पनि १२ सयबाट १८ सय पुगेको छ ।

फोर्ड एन्डेभरको नयाँ माेडल नेपाली बजारमा, मूल्य एक करोड ४९ लाख रुपैयाँ

काठमाडौं । फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमावाइल्सले फोर्ड एन्डेभरको २०२० मोडलको गाडी नेपाली बजारमा ल्याएको छ । जसकाे मूल्य नेपाली बजारमा एक कराेड ४९ लाख रूपैयाँ ताेकिएकाे छ । विश्वको पहिलो १०-स्पीड स्वचालित ट्रान्समिशन भएको यस गाडीमा नयाँ २.० लिटर ईकोब्लू डीजेल इन्जिन राखिएको छ । १४ प्रतिशतसम्म इन्धन खपतमा सुधार गरिएका, शक्तिशाली अफरोड क्षमता, सस्तो सर्भिसिङ्ग सेवा, उत्कृष्ट पर्फरमेन्सका साथ २०२० एन्डेभर एसयूवी सेग्मेन्टमा नेपालमा आफ्नो छुट्टै प्रभूत्व स्थापित गर्ने कम्पनीकाे लक्ष्य रहेकाे छ । एसयूवी चालकले अपेक्षा गरेभन्दा बढी सुविधाहरू भएकाले एसयूवी पारखीहरुको यो पहिलो रोजाइ बन्नेमा कम्पनी विश्वस्त छ । उत्कृष्ट पर्फरमेन्स र अनुकूल मूल्यका साथ नेपालमा यो कार भित्रिएको छ । विश्वको पहिलो १० स्पीड स्वचालित ट्रान्समिशनयुक्त यो कार सेलेक्ट सिफ्ट टेक्नोलोजीयुक्त सेग्मेन्टको पहिलो गाडी हो साथै चाहेको दायरामा रहेर गियर लक गने सुविधा पनि यसमा रहेको छ । पूर्ण सुरक्षा मापदण्ड पूरा गरि निर्माण गरिएको यो कार सुरक्षाका दृष्टिकोणले उत्कृष्ट छ । यसमा सात एयरब्याग, भूमि व्यवस्थापन प्रणाली जडान गरिएको छ । यसले गाडी भित्रको ध्वनिको उत्सर्जनलाई कम गर्ने प्रविधिको पनि प्रयोग गरिएको छ साथै आरामदायी, समानान्तर पार्क सहायता लगायतका फिचरहरू यसमा राखिएका छन् । डिजेल गेम चेन्जर-अल न्यू फोर्ड २.० लिटर ईको ब्लू इन्जिन २०२० फोर्ड एन्डेभरमा उन्नत २.० ईकोब्लू डीजेल इन्जिन प्रयोग गरिएको छ, पछिल्लो परिस्कृत यस इन्जिन का कारण इन्धन र पर्फरमेन्सका लागि यो अतुलनिय प्याकेज बन्न पुगेको छ । यसले उत्सर्जनलाई घटाएर कम इन्धन खपत गर्दछ ।एन्डेभको यस संस्करणमा आइपुग्दा १७० पीएस पिक पावर र ४२० टर्कका साथ कम्पनीले यात्रालाई शानदार र मनोरञ्जन गराउन गाडीको पर्फमेन्सको गुणस्तरलाई निरन्तरता दिएको छ । ४x४ भेरीयन्टको ईकोब्लूयुक्त यस गाडीमा विशिस्ट इन्धन क्षमता रहेको छ जसले १२.४ किलोमिटर प्रति लिटर माइलेज दिन्छ । फोर्ड इकोब्ल्यू इञ्जिन परिष्कृत स्वरुप हो, जसले ध्वनि उत्सर्जन कम्तीमा ४ डेसिबल एकाई घटाएको छ । यस गाडीमा नयाँ इञ्जिन डिजल निकास फ्लुइडको प्रयोग गरिएको छ । यस फ्लुईडले नाइट्रोजन अक्साइडको उत्सर्जन घटाउन मद्दत गर्दछ र प्रदुषण कम गर्दछ । सेलेक्टशीफ्ट सहित पहिलोपटक १० स्पीड अटोमेटिक ट्रान्समिशन प्रयोगमा ल्याइएको यो गाडीले आरामदायी र उच्च गतिका साथ यात्रालाई विशिष्ट बनाउन मद्दत गर्दछ । स्टील, आल्मुनियमको मिश्रणसाथ यो कारलाई बलियो र वजनदार रुपमा निर्माण गरिएको छ जसले उत्कृष्ट प्रदर्शन गर्दछ । सेलेक्टसिफ्ट यस सेग्मेन्टको अर्को विशिष्ट विशेषता हो । विशेषगरी चुनौतीपूर्ण ड्राइभिङको समयमा ड्राइवरद्धारा नियन्त्रण गर्न सकिने गरी यस कारलाई निर्माण गरिएकोले सुरक्षाका दृष्टिकोणले यो कार चालकप्रति उत्तरदायी छ । विशिष्ट एसयूभी हरेक कोणले सबैभन्दा राम्रो २०२० मा सार्वजनिक यस एन्डेभर पूर्ण एलईडी हेडल्याम्प राखिएको छ । अल न्यू कन्टेम्पोरेरी स्क्वायर डिजाइनमा निर्माण गरिएको यस एलइडी हेडल्याम्पलाई तल र माथि दुबै बिममा कम्तीमा २० प्रतिशत प्रकाश बढाउने गरी निर्माण गरिएको छ । यस लगायत यो कारमा ८ इन्च टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, आरामदायी सिट, पावर एडजेस्टेबल ओआरवीएम लगायतका विशेषताहरु राखिएका छन् । यसमा आवश्यक ट्रान्सफरर्मर र टर्कका लागि उत्कृष्ट फोर ह्वील ड्राइभ सिस्टम प्रयोग गरिएको छ । यस सेग्मेन्टमा पहिलोपटक सामान्य, हिउँ परेको सडक, हिलोयुक्त सडक, घाँसयुक्त सडक र बालुवा र चट्टानयुक्त सडक गरी चारवटा मोडमा टेरेन म्यानजमेन्ट सिस्टम (टीएमएस) को प्रयोग गरिएको छ । जसले जस्तोसुकै अवस्थामा पनि गतिशील र सुविधासम्पन्न यात्राका लागि सहयोग पुर्याउँछ । सुरक्षाका लागि ड्राइभरको घुँडाछेउको एयरब्यागसहित यस कारमा सातवटा एयरब्यागहरु राखिएका छन् । उत्कृष्ट ग्राउन्ड क्लियरेन्सका साथै ८०० मिलिमिटर वाटर वेडिङ क्षमता छ । ८ इन्च टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, एन्ड्रोइड एप्पल कारप्ले, गुगल अटो कम्प्याटिबल, एसवाईएनसीथ्री लगायतका विशेषताहरु रहेका छन् । क्याविनमा आवाजलाई कम गर्ने तथा इन्जिनको ध्वनिलाई घटाउने नोइज क्यान्सिलिङ प्रविधियुक्त यस गाडीलाई बनाइएको छ । ५० प्रतिशत गाडीको छत प्यानोरेमिक सन रुफले कभर गरिएको छ । फ्लेग्जिबल सिट र कार्गो व्यवस्थापनको प्रयोग गरिएको छ । दोस्रो रो र तेस्रो रो सिट फोल्ड गरीे २ हजार १० लिटरसम्म कार्गो होल्ड गर्न सक्दछ । अर्धस्वचालित समानान्तर पार्क एशिस्ट, पुश स्टार्ट बटन, पछाडिको गेटमा हैंडफ्री पावर लिफ्ट, अगाडि र पछाडि दुबैतर्फ पार्किङ सेन्सर, पछाडिपट्टि पार्किङ क्यामेरा, अटोमेटिक हेडल्याम्प, अटोमेटिक वायपर्स, डीआरएल, ड्युल जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल एसी, ड्राइभर र पेसेन्जर सिट ८ तरिकाले पावर एडजस्टेबल गर्न सकिने जस्ता विशेषता राखिएका छन् । ३ वर्ष वा एक लाख किलोमिटरसम्मको वारेन्टी रहेकाे यस कार डिफ्युज सिल्भर, डायमन्ड वाइट र एब्सोल्युट ब्ल्याक गरी तीन कलरमा उपलब्ध रहेकाे छ ।