विकासन्युज

योजना अनुगमन गर्न समन्वयको टोली गाउँगाउँमा

जुम्ला । जुम्लामा कर्णाली प्रदेश सरकारले सञ्चालन गरिरहेका विकासे योजनाको अनुगमन गर्न जिल्ला समन्वय समिति जुम्लाको टोली गाउँमा पुगेको छ । यहाँका आठ वटै स्थानीय तहमा अनुगमन टोली खटिएको जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले बताए । उनका अनुसार एक इञ्जिनीयरसहित चार ओभरसियर र समन्वय समितिका जनप्रतिनिधिको टोली गाउँमा पुगेको छ । प्रदेश सरकारबाट विनियोजित बजेटबाट निर्माण भइरहेका हरेक विकास योजनाको अनुगमन भइरहेको छ । समन्वय समितिका उपप्रमुख बुढाले भने, “हामीले स्थानीय तहको अनुगमन समितिलाई पनि प्रदेश योजनाको अनुगमनका लागि आग्रह गरिरहेका छौं । समयाभावका कारण जान सकेका छैनन् ।” यहाँको कृषि कार्यालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय, पुर्वाधार विकास कार्यालय, सामाजिक विकास कार्यालय, वन डिभिजन कार्यालयलगायतका प्रदेश सरकार माताहतका सबै कार्यालयका विकास योजनाको अनुगमन गर्न थालिएको उपप्रमुख बुढाले बताए । अनुगमनका क्रममा प्रदेश सरकारबाट सञ्चालित विकास योजनाको काम प्रभावकारी हुन नसकेको जिल्ला समन्वय समिति जुम्लाले जनाएको छ । अनुगमनपश्चात समग्र विकास गतिविधिको प्रतिवेदन कर्णाली प्रदेश सरकारलाई पठाइने छ । समन्वय समितिका प्रमुख लालबहादुर सार्की हरेक योजनाको प्रभावकारिता र पारदर्शीताका लागि निरन्तर अनुगमन गरिरहने बताए । पछिल्लो समयमा समन्वय समितिलाई विकास निर्माणका क्रियाकलापमा संलग्न गराइँदैन तैपनि अनुगमनका लागि टोली गाउँमा पुगेको प्रमुख सार्कीले बताए ।   रासस

काेराेना संक्रमण: विश्वकाे तेस्रो स्थानमा पुग्यो छिमेकी मुलुक भारत

काठमाडौं । कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएसँगै भारत विश्वकै तेस्रो धेरै सङ्क्रमित भएको मुलुक बनेको छ । भारतमा गत तीन दिनमा यता नयाँ सङ्क्रमितको सङ्ख्या लगातार बढ्दै गएको छ । हाल सबभन्दा धेरै सङ्क्रमितको सङ्ख्या अमेरिकामा र त्यसपछि ब्राजिलमा पाइएको छ । भारतमा हाल कुल सङ्क्रमितको सङ्ख्या करिब ६ लाख ९७ हजार ८ सय पुगेको छ । कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १९ हजार ७ सय पुगेको छ । आइतबारमात्रै भारतमा झन्डै २५ हजार नयाँ सङ्क्रमित थपिएका थिए ।  भारतमा यथार्थ कोरोना संक्रमितको संख्या चित्रण गर्न नसक्ने विज्ञहरुले बताउँदै आएका छन् । भारतका मूख्य शहर नै कोरोना भाइरसले प्रभावित भएका छन् । भाइरस सङ्क्रमण फैलँदै गर्दा भारतको एक प्रमुख पर्यटन आकर्षण ताज महल आगन्तुकका निम्ति सोमबारदेखि खुला गर्ने योजना पनि अहिलेलाई स्थगित गरिएको छ। भारतमा सबैभन्दा धेरै सङ्क्रमितहरूको सङ्ख्या पश्चिमी महाराष्ट्र राज्यमा पाइएको छ ।

कोरोना अपडेट: विश्वभर ५ लाख ३६ हजारभन्दा बढीको मृत्यु

काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणबाट ५ लाख ३६ हजार ४ सय ३६ जनाको मृत्यु भइसकेको छ । नेपाली समयअनुसार सोमबार विहान साढे ६ बजेसम्म संसारभरीका १ करोड १५ लाख ४९ हजार ३ सय ४२ जना मानिसमा कोरोना पुष्टि भएको छ । कोरोनाको उपचार पछि ६५ लाख २७ हजारभन्दा बढी मानिस निको भएका छन् । सबैभन्दा बढी अमेरिकामा २९ लाख ८१ हजार ७ सयभन्दा बढी कोरोना संक्रमित छन् । अमेरिकामा १ लाख ३२ हजार ५ सयभन्दा बढीको कोरोनाकै कारण मृत्यु भइसकेको छ । उपचारपछि १२ लाख ८५ हजारभन्दा बढी निको भइ घर फर्किएका छन् । उच्च कोरोना संक्रमणको तेस्रो स्थानमा आइपुगेको छिमेकी देश भारतमा ६ लाख ९७ हजार ८ सय ३६ जना संक्रमित पुगेका छन् । १९ हजार ७ सय जनाको मृत्यु भइसकेको छ भने ४ लाख २४ हजार उपचार पछि निको भएका छन् । त्यस्तै नेपालमा हालसम्म १५ हजार ७ सय ८४ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट ३४ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ६ हजार ५ सय ४७ जना कोरोना संक्रमित उपचार पछि निको भइ घर फर्किएका छन् । (वल्डोमिटर)

दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट

काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिएको छ । ग्रामीण दूरसञ्चार कोषमार्फत विभिन्न परियोजना ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिसकेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । ग्रामीण क्षेत्रमा इन्टरनेटको विस्तार मुख्य प्राथमिकता भए पनि फाइबर विस्तारको काममा सडक विभाग र विद्युत् प्राधिकरणसँग समन्वय हुन नसक्दा काममा ढिलाइ भएको र पछिल्लो समय कोरोना, लकडाउन र केही परियोजनामा अदालती प्रक्रिया जस्ता कारणले मध्यपहाडी लोकमार्ग र अन्य क्षेत्रमा केही ढिला हुन गएको उनको भनाइ छ । प्राधिकरणले कोषको रकम खर्चेर विभिन्न १८ वटा प्याकेजमा देशभर इन्टरनेट सेवा विस्तार गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ । यसअन्तर्गत ११ परियोजनाको काम सम्पन्न भएको प्राधिकरणले जनाएको छ । नेपाल टेलिकमका अध्यक्ष डिल्ली अधिकारीले भने, “पछिल्लो समय ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँच विस्तारमा उल्लेख्य प्रगति भइरहेको र टेलिकमले विभिन्न योजना बनाएर काम गरिरहेको छ, विभिन्न ३५ सय टावरमार्फत फोर जी विस्तार भइरहेको हुँदा यसले डिजिटल रूपान्तरणमा फड्को मारेको छ, पछिल्लो समय नेपाल टेलिकमले दूरसञ्चार कोषअन्तर्गतको परियोजनामा पनि प्राथमिकताका साथ काम गरिरहेको हुँदा अब इन्टरनेटको प्रोडक्टिभिटी र उपयोगितामा पनि जोड दिनुपर्नेछ ।” विभिन्न चरणमा प्रदेश, क्षेत्र र पूर्वपश्चिम मध्यपहाडी लोकमार्गमा फाइबर विस्तार गर्दै दुई वर्षसम्म स्थानीय निकाय, विद्यालय र स्वास्थ्य केन्द्रमा निःशुल्क इन्टरनेट प्रदान गर्ने काम सफलतापूर्वक अघि बढिरहेको अध्यक्ष खनालले जानकारी दिनुभयो । यद्यपि कतिपय स्थानमा सडक विभाग र विद्युत् प्राधिकरणका कारण काम अड्किएको उनको भनाइ छ । दूरसञ्चार प्राधिकरणअन्तर्गत इन्फ्रास्ट्रक्चर डिभिजनका निर्देशक डा सुरेन्द्र हाडाले ७०१ स्थानीय तहमा इन्टरनेट विस्तार भइसके पनि अझै उच्च गतिको अर्थपूर्ण इन्टरनेट विस्तारमा धेरै काम गर्न बाँकी रहेको जानकारी दिए । पछिल्लो समय नेपालमा पनि इन्टरनेट प्रविधिको प्रयोग बढिरहेको छ । इन्टरनेट प्रयोगकर्ता बढेसँगै डिजिटल सर्भिसेस, ई–कमर्श, अनलाइन शिक्षा, डिजिटल स्वास्थ्य र डिजिटल कृषिको आवश्यकता र माग पनि बढिरहेको छ । दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको गत वैशाखसम्मको तथ्याङ्क हेर्ने हो भने नेपालमा ७२ प्रतिशतले इन्टरनेट प्रयोग गरिरहेका छन् । लगभग ५४ प्रतिशत मानिसले मोबाइल डाटाकै प्रयोग गरेर इन्टरनेट चलाइरहेका छन् । अझै पनि ग्रामीण र विकट क्षेत्रमा इन्टरनेटको पहँुच पुग्न सकेको छैन । रासस

काठमाडाैं उपत्यकामा थपिए ३० जना कोरोना संक्रमित

काठमाडाैं । आईतबार काठमाडौं उपत्यकामा ३० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३० जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडौंमा २७ जना, ललितपुरमा २ जना र भक्तपुरमा एक जना संक्रमित रहेकाे गाैतमले बताए । हालसम्म उपत्यकाका काठमाडौंमा १३० जना, ललितपुरमा १९ र भक्तपुरमा २९ जना संक्रमित देखिएका छन्। पछिल्लो २४ घण्टामा देशभर २९३ जना संक्रमित थपिएका छन्। यो संगै कूल संक्रमितको संख्या १५ हजार७ सय ८४ पुगेको छ।

६ सय नेपाली स्वदेश फर्किए

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि नौ अन्तरराष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र ६ सयभन्दा बढी नेपाली स्वदेश फर्किएको विमानस्थलले जनाएको छ । नेपाल एयरलाइन्सले कतारको दोहाबाट १ सय ४७ नेपाली काठमाडौँ ल्याएको छ । सोही एयरलाइन्स साउदी अरेबियाको दमाम, दुबई, बहराइनबाट नेपाल ल्याउन त्यसतर्फ प्रस्थान गरेको विमानस्थलले जनाएको छ । हिमालय एयरलाइन्सले अबुधाबीबाट १४९ र दोहाबाट १५२ यात्रु ल्याएको छ । त्यस्तै जजीरा एयरले कुवेतबाट १६५ यात्रु ल्याएको छ । कुवेतबाट थप नेपाली ल्याउन हिमालयको जहाज त्यसतर्फ प्रस्थान गरेको छ । सोमबार पनि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका पाँच अन्तरराष्ट्रिय उडान हुनेछन् । दमाम, बहराइन, अबुधाबी र क्वालालम्पुरबाट नेपाली ल्याउने विमानस्थलको तालिका रहेको छ । आइतबार पनि विभिन्न मुलुकबाट एक हजारभन्दा बढी नेपाली फर्किएका थिए । आज आन्तरिकतर्फ पनि कैलाश हेलिकप्टरको विराटनगर र एयर डाइनेष्टीको सिन्धुली उडान भएको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ललितपुरका पाँच स्थानमा आकाशेपुल बनाउन अध्ययन

ललितपुर । ललितपुर महानगरपालिकाका पाँच स्थानमा आकाशेपुल निर्माणका लागि सम्भाव्यता अध्ययनको मस्यौदामाथि छलफल शुरु भएको छ । ग्रीड इन्डिको मटेरियल टेस्ट जेभीले सो निर्माणका लागि अध्ययन गर्ने भएको हो । ग्वार्काे, सातदोबाटो, चापागाउँ दोबाटो, एकान्तकुना र पुल्चोकदेखि कुपण्डोल वाग्मती पुल जाने स्थानमा फ्लाइओभर निर्माण गरिने योजना अघि बढाइएको महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । उनले भने,“ हामीले चक्रपथका चार ठाउँ र वाग्मती पुलसम्म फ्लाइओभर निर्माण सम्भाव्यता अध्ययनको जिम्मा ग्रीड जेभीलाई दिएका छाै‌ं ।महानगरपालिकाभित्र फ्लाइओभर निर्माण हुनु एक गौरवको कुरा हो ।” अध्ययनकर्ताबाट सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन आएपछि सडक विभागसँग छलफल गरेर छिट्टै काम अघि बढाइनेछ । आकाशेपुल निर्माणले सडक दुर्घटना न्यूनीकरण र भद्रगोल ट्राफिक व्यवस्थापन गर्न सहज हुने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनुभयो । उनले भने, “महानगरपालिकाले फ्लाइओभर गाइडलाइनसमेत तयार पारेको छ । यो गाइडलाइन नेपालमा बनेको पहिलो गाइडलाइन हो ।”

एभरेष्ट बैंकद्वारा वृक्षारोपण

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत टेकु क्षेत्र, काठमाडौं महानगरपालिका, वडा नं. १२ को वरिपरि वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वृक्षारोपण कार्यक्रम, एभरेष्ट बैंक, काठमाडौं महानगरपालिका वडा नं. १२ को कार्यालय र पिडिएसएस नेपालकोे समन्वयमा सम्पन्न भएको छ । वृक्षारोपण कार्यक्रमको उद्घाटन बैंकका डी.जी.एम डा. सन्धीर कुमार र वडा नं. १२ का वडा अध्यक्ष विकास डंगोलले गरेका थिए । एभरेष्ट बैंकले जनहितका लागि सधैँ विभिन्न सामाजिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।