कोरोना असरः एयर फ्रान्सले ७ हजार ५ सय कामदार हटाउने
पेरिस । कोरोना भाइरसका कारण हवाई उड्डयनका क्षेत्रमा मन्दी छाएपछि फ्रान्सको राष्ट्रिय ध्वजाबाहक एयर फ्रान्सले आफ्नो कम्पनीमा कार्यरत ७ हजार ५ सय कामदार हटाउने निर्णय गरेको छ । तर एयर फ्रान्सको मुख्यालयमा ट्रेड युनियनले कम्पनीको घोषणाको विरोधमा प्रदर्शन गरेका छन् । कम्पनी र युनियनका प्रतिनिधिबीच एयर फ्रान्सको प्रस्तावका विषयमा वार्ता पनि शुरु भएको छ । फ्रान्स सरकारले गत मे महिनामा ल्याएको आर्थिक सहायता कार्यक्रमबाट एयर फ्रान्सले करिब ८ अर्ब डलर सरकारी कोष प्राप्त गरे पनि मजदूर निकाल्ने निर्णयमा पुगेको भन्दै मजदूर युनियन आक्रोशित भएका हुन् । मजदूर युनियनले एयर फ्रान्सको निर्णयले फ्रान्सेली अर्थतन्त्रमै असर पार्ने चेतावनी दिएका छन् । सरकारी सहायता रकमबाट कम्पनीमा सुधार गर्नुपर्नेमा उल्टै मानिसलाई बेरोजगार बनाएको युनियनका नेताहरुको गुनासो छ । एयर फ्रान्सका प्रतिनिधिसँग पहिलो चरणको वार्तापछि कम्पनी व्यवस्थापनले एयर फ्रान्सबाट ६ हजार ५ सयदेखि ४१ हजार कर्मचारी, कामदार हटाउने तथा एयर फ्रान्सको सहायक कम्पनी हपले १ हजारदेखि २ हजार ४ सय मजदूर सन् २०२२ सम्ममा हटाउने घोषणा गरेको थियो । एक अनुमान अनुसार विश्वभर यस वर्ष एयरलाइन्सहरुले करिब ८४ अर्ब डलर नोक्सानी व्यहोर्ने छन् । एयरलाइन्सको आम्दानीमा झण्डै आधा घट्ने छ । केही विमान कम्पनी बन्द हुनेक्रममा रहेका छन् । अधिकारीहरुले विश्वको एयरलाइन्स व्यवसायलाई बचाउन वा लयमा फर्किन केही वर्ष लाग्ने बताएका छन् । कोरोनाभाइरसका कारण एयर फ्रान्सले आफ्ना उडानमा विगत तीन महिनाभित्र करिब ९५ प्रतिशतले कमी आएको जनाएको छ । कम्पनीले प्रति दिन १ करोड ५० लाख युरो गुमाउनु परेको छ । सरकारले उपलब्ध गराएको वित्तीय सहायता ऋण र ऋणको प्रत्याभूतिका रुपमा दिइएको छ । उड्डयन क्षेत्रमा फ्रान्स सरकारले करिब १५ अर्ब युरोको आर्थिक सहयोगको व्यवस्था गरेको छ । फ्रान्समै रहेको युरोपेली बिमान निर्माता कम्पनी एयरबसले पनि शुक्रबार कम्पनी बचाउन करिब १५ हजार कामदार, कर्मचारी हटाउने घोषणा गरिसकेको छ । रासस–एपी
कृषि विकास बैंक ह्याक गरेको अभियोगमा एक जना पक्राउ
काठमाडौं । कृषि विकास बैंक ह्याकिङ गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बैंकको सूचना प्रणालीमा अनाधिकृत पहुँच राखि रकम रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न रही फरार रहेका व्यक्तिलाई प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो । उनी धादिङको रुविभ्यालिका सौजन तामाङ हुन् । उनलाई जावलाखेलबाट पक्राउ गरिएको हो । २०७६ असोज ७ गते कृषि विकास बैंकको न्युरोड शाखाबाट सुनिता श्रेष्ठको खातामा रहेको ४९ लाख ५० हजार रुपैयाँ रकमान्तर गरी भुक्तानी भएको थियो। श्रवण कुमार श्रेष्ठको खातामा २० लाख रुपैयाँ रकमान्तर गर्न चेक पेश गरेको अवस्थामा उनीहरुमाथी संका गरिएको थियो। बैंकको वित्तीय प्रणालीमा पहुँच राखि ४ करोड ८८ लाख ४६ हजार रुपैयाँ रकमान्तर गरी भुक्तानी लिएको पाइएको थियो। गत असोज ७ गते श्रवण कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पन्जारलाई पक्राउ गरिएको थियो ।
पशुपतिको गुरुयोजना लागू गर्न तिलगङ्गाको बस्ती हटाइँदै
काठमाडाैं । विश्वसम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न गुरुयोजनाअनुरुप संरचना निर्माणका लागि अधिग्रहण गरिएको जग्गा खाली गराउन लागिएको छ । काठमाडौं महानगरपालिका वडा नं ८ स्थित तिलगङ्गा आवास क्षेत्रको जग्गा तथा सोमा बनेका पक्की, कच्ची घर, टहरा, गोठ, पर्खाल आदि संरचनासमेत हटाउन सूचना जारी गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए । जग्गाप्राप्ति ऐन २०३४ को दफा ६, ७ र ८ बमोजिम प्रारम्भिक कारवाही भई दफा १० अनुसार २०७० साल जेठ ३० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंले अधिग्रहण गरेको सूचना जारी गरेको कोषले जनाएको छ । विसं २०७१ वैशाख ५ गते त्यस क्षेत्रका अधिकांशलाई मुआब्जा दिइसकिएको र बाँकीलाई दिन लागिएको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले बताए । मुआब्जा लिइसकेका सबैलाई ३५ दिनभित्र स्थान छोड्न कोषले अनुरोध गरेको छ । सूचनाको बर्खिलाप हुने गरी संरचना नहटाएमा कोषले प्रशासनको सहयोगमा हटाउने पनि उनले सुनाए । तिलगङ्गामा मुआब्जा लिएर हट्नेलाई कोषले कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ गोठाटारमा रहेको जग्गामा जग्गा विकास गरी न्यूनतम् मूल्यमा खरिद गर्नसक्ने व्यवस्था गर्न लागेको छ । गोठाटारमा जग्गा विकास गरी सडक, बत्ती, खानेपानी, टेलिफोन, ढल लगायत सबै पूर्वाधार सुविधा पुर्याउने तयारीसमेत भइरहेको छ । यसअघि पशुपतिको मुख्य क्षेत्रबाट अधिग्रहण गरिएकालाई पनि सिनामङ्गलमा जग्गा विकास गरी बस्ने व्यवस्था मिलाइएको थियो । तिलगङ्गाको जग्गामा भने गुरुयोजनाअनुसार विक्रान्त मन्दिर र नक्षेत्र मण्डल निर्माण गरी धार्मिक पर्यटक आकर्षित गरिने तयारी शुरु भएको छ । यस क्षेत्रमा हाल ७५ देखि ८० घर रहेका कोषले जनाएको छ । रासस
बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ
काठमाडौं । कृषि विकास बैंकको वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखी विभिन्न व्यक्तिको खातामा करोडौं रकम रकमान्तर गरी बैंकलाई हानीनोक्सानी पुर्याउने कार्यमा संलग्न रही फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । धादिङ घर भई काठमाडौं तारकेश्वर नगरपालिका बस्ने ३६ वर्षीय सौजन तामाङलाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले गएराति ललितपुरको जाउलाखेलबाट पक्राउ गरेको हो । उनीविरुद्ध सङ्गठित अपराधसमेतको कसुरमा अनुसन्धान थालिएको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । तामाङलगायतको समूहले गत असोज ७ गते कृषि विकास बैंक शाखा कार्यालय न्युरोडमा अनधिकृतरुपमा सुनिता श्रेष्ठको खातामा ४९ लाख ५० हजार रूपैयाँ रकमान्तर गरी त्यसबाट ९ लाख ५० हजार रूपैयाँ भुक्तानी लिन सफल भएको थियो । यस्तै श्रवनकुमार श्रेष्ठको खातामा रकमान्तर गर्न २० लाख रूपैयाँको चेक पेश गरेको अवस्थामा शङ्का लागि सिस्टम परीक्षण गर्दा उक्त कैफियत फेला परेको थियो । आरोपी सुनिता श्रेष्ठसमेतका व्यक्तिको खातामा बैंकको मौज्दातबाट विभिन्न मितिमा आपराधिक व्यक्तिले बैंकको वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखी कूल ४ करोड ८८ लाख ४६ हजार रूपैयाँ रकमान्तर गरी भुक्तानी लिएको भन्ने सूचना प्राप्त भएपछि महाशाखाले अनुसन्धान थालेको थियो । महाशाखाले सोही दिन श्रवनकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशङ्कर पञ्जालाई पक्राउ गरी सङ्गठित अपराध कसुरमा अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइको थियो । तर तामाङ भने फरार हुँदै आएका थिए । रासस
बैंक म्यानेजरले आफ्नै खातामा हाले ग्राहकका पैसा
काठमाडौं । बैंकको सिष्टम ह्याक गरी बैंकको खातामा राख्नु पर्ने पैसा आफ्नै खातामा राख्ने नेपाल बैंकका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइराला विरुद्ध भ्रष्टाचारको मुद्दा लागेको छ । बैंकको डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक कोइरालाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५४ लाख ८४ हजार ४५ रुपैयाँ कायम हुने गरी आइतबार भ्रष्टाचारको मुद्दा दायर गरेको हो । उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ज) बमोजिम सजाय हुन तथा हानिनोक्सानी गरी खाई मासेको बिगो रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम निजबाट असुल उपर गरी पाउन मागदाबी लिनका लागि विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको बताइएको छ ।
बैंकका कर्मचारीको व्यस्तता बढ्यो, फोन गर्दै भन्न थाले ‘२ प्रतिशत व्याज छुट छ, छिट्टै किस्ता हाल्दिनुस् न’
काठमाडौं । असार मसान्त नजकिदै गर्दा बैंक तथा वित्तीय संस्थाका कर्मचारी ऋण लाने व्यक्तिलाई फोन गर्न व्यस्त हुन थालेका छन् । आर्थिक वर्षको अन्त्यमा किस्ता नियमित नउठे आफूहरुको व्यालेन्ससीट नै विग्रने भएकोले ऋणको किस्ता तथा व्याज उठाउन बैंकहरुले ताकेता गरेका हुन् । पछिल्लो केही दिनयता बैंकबाट तारन्तार फोन आउन थालेको उद्योगी व्यवसायीले बताएका छन् । चैत मसान्तमा तिर्नुपर्ने किस्ता तथा व्याज पनि असार मसान्तमा तिर्दा हुने व्यवस्था गरिएकोले अहिले बैंकहरुले किस्ता र व्याज उठाउन ताकेता गरेका हुन् । ‘बैंकबाट फोन आएर हैरान पारिरहेको छ, किस्ता र व्याज जसरी भएपनि हाल्दिनुस् न भन्छन्, सकेसम्म त व्यवस्था गर्दैछौं, केही गरी सकिएन भने के कसो हुने हो भन्ने अनुमानै गर्न सकिएको छैन,’ एक व्यवसायीले भने । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्न भन्दै सरकारले चैत ११ देखि देशव्यापी रुपमा लकडाउन जारी गरेको थियो । सरकारले लकडाउन गरेपछि उद्योग, व्यवसाय, व्यापार जस्ता सवै क्षेत्र ठप्प छन् । लकडाउनमा बैंकसम्म जान समस्या भएको र बैंकलाई तिर्ने बुझाउने रकम जोहो गर्न पनि समस्या हुन सक्ने भन्दै चैत मसान्तमा तिर्नु बुझाउनु पर्ने किस्ता तथा व्याज बुझाउने म्याद बढाएर असार मसान्तसम्म पुर्याइएको छ । यसैकारण बैंक तथा वित्तीय संस्थाहरुले असार मसान्तमा ऋण तथा व्याज असुलीलाई उच्च प्राथमिकता दिएका हुन् । असार मसान्तमा किस्ता तथा व्याज बुझाउँदा व्याज रकममा २ प्रतिशत छुट पाउने व्यवस्था राष्ट्र बैंकले नै मिलाएको छ । राष्ट्र बैंकले यस्तो छुट रकम भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुले आफ्नै स्रोतबाट व्यवस्थापन गर्नुपर्ने भनेको छ । बैंकले ऋणीलाई फोन गर्दा यही सुविधाको विज्ञापन गर्ने गरेका छन् । ‘सर, असारसम्मको हजुरको किस्ता तथा व्याज रकम यति भएको रहेछ, असार मसान्तअघि नै यो रकम तिर्नुभयो भने यति रकम छुट पाउनु हुन्छ भन्दै बैंकबाट फोन आउँछ, तिर्न सक्ने अवस्था भयो भने त यो राहत उपभोग गर्न पाइन्छ, सकिएन भने असार मसान्तपछि बैंकहरुले कस्तो रणनीति अपनाउँछन्, त्यसैले झन जटिल अवस्था आउने हो कि भन्ने डर पनि लागिरहेको छ,’ अर्का एक व्यवसायीले भने । लकडाउनका कारण सर्वसाधारणको दैनिकी कष्टकर बनेको तथा अर्थतन्त्र धराशायी भएको भन्दै सरकारले असार १ गतेदेखि लकडाउन खुकुलो बनाएको छ । लकडाउन खुकुलो भएपनि उद्योग प्रतिष्ठान राम्रोसँग खुल्न सकेका छैनन् । व्यापार व्यवसाय पनि खासै चल्न सकेको छैन । निजी क्षेत्रका कतिपय उद्योग प्रतिष्ठानहरुले आफ्ना कर्मचारीको तलब भत्ता तथा सेवा सुविधा कटौति गरिसकेका छन् । सामान्य अवस्थाको भन्दा आम्दानी कम भएकोले बैंकबाट ऋण लिनेहरुले ऋणको किस्ता तथा व्याज तिर्न गाह्रो भइरहेको बताएका छन् ।
बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
काठमाडाैं । काठमाडौंको गोकर्णेश्वरमा २९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बलात्कार गरेको उजुरीपछि गोकर्णेश्वर नगरपालिकाको माकलबारीबाट दुई जना पक्राउ गरेको महानगरीय प्रहरीवृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए । पक्राउपर्नेमा गोकर्णेश्वर –४ बेंसीगाउँ बस्ने दोलखा गौरीशङ्कर गाउँपालिका– ४ घर भएका २७ वर्षीय पासाङ शेर्पा र कागेश्वारी मनोहरा नगरपालिका– ६ बस्ने सिन्धुपाल्चोक घर भएका २८ वर्षीय भुवन विष्ट रहेका छन् । अभियुक्तले मादक पदार्थ सेवन गरी ती महिलालाई नशालु पदार्थ खुवाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई महानगरीय प्रहरीवृत्त बौद्धबाट खटिएको प्रहरीले पक्राउ पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । रासस
बाढी र पहिरोले पुर्याएको क्षतिबारे ध्यानाकर्षण
खस्यौली । प्रदेश नं ५ को प्रदेशसभामा आज सदस्यले गुल्मी र अर्घाखाँचीमा बाढी र पहिरोले पु¥याएको क्षतिबारे सरकारको ध्यानाकर्षण गराएका छन् । सो जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभाका सदस्यले शून्य समयमा तत्काल उद्धार र राहतका कार्यक्रम लैजान प्रदेश सरकारसँग माग गरे । गुल्मीका प्रदेशसभा सदस्य गीता थापाले जिल्लाको मुसिकोट र इस्मामा बाढी र पहिरोले क्षति पु¥याएको उल्लेख गर्दै १ सय ५० विस्थापित भएर विद्यालयको शरणमा बसेको बताए । उनले भने, ‘मोटरबाटो अवरुद्ध भएको छ, संरचना भत्केको छ तर प्रदेश सरकारको ध्यान गएको छैन । ’ अर्घाखाँचीका प्रदेशसभाका सदस्य रामजी घिमिरेले प्राकृतिक प्रकोपप्रति प्रदेश सरकार उदासीन भएको आरोप लगाउँदै अर्घाखाचीमा दर्जनौं घर भत्केको र खानेपानी योजना र सिंचाइ योजना तहसनहस भएको बताए । उनले भने, ‘ बाढीपीडितको घरआँगनमा राहत र पुनः निर्माणका प्याकेज लिएर प्रदेश सरकार जानुपर्छ ।’ प्रदेशसभा सदस्य फकरुद्धिन खाँनले कोरोना भाइरसको स्वाब परीक्षणमा शुल्क लिने विषयमा प्रदेश सरकारको नीति भएको वा नभएको स्पष्ट गर्न माग गए । सदस्य सरस्वती गौतमले राप्ती विज्ञान प्रतिष्ठानमा स्वाबका विषयमा समस्या देखिएको उल्लेख गर्दै त्यहाँका उपकुलपतिले जथाभाबी काम गरेको आरोप लगाए । सभामा स्थानीय तहका पदाधिकारीको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भनी प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले पेश गरे । सो विधेयकमाथि कमला विक र दीपेन्द्र पुन मगरले सैद्धान्तिक छलफल गरेका थिए । त्यस्तै सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रदेश विश्वविद्यालयको स्थापना, सञ्चालन, नियमन र व्यवस्थापन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गरे । सो प्रस्तावमाथि प्रदेशसभाका सदस्य सुरेन्द्रबहादुर हमाल, तुलसी चौधरी, दामा शर्मा र सन्तोष पाण्डेले सैद्धान्तिक छलफल गर्दै विश्वविद्यालयलाई गुणस्तरीय शिक्षा प्राप्त हुने थलोका रुपमा विकास गर्न आवश्यक रहेकामा जोड दिए । छलफलपछि सभामा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री बरालले विश्वविद्यालयको स्वायत्ततालाई कम नगरिएको बताए । सभामा प्रदेश नं ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले प्रमाणीकरण गरेका दुई विधेयक सभामुख पूर्णबहादुर घर्तीले पढेर सुनाएका थिए । रासस