विकासन्युज

नेपालमा निर्मित कोरोनाको औषधि परीक्षणको पर्खाइमा

हेटौंडा । हेटौंडामा रहेको वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा संस्थानका प्राध्यापक डा.ललितकुमार दासले निर्माण गरेको कोरोना—१९ विरुद्धको खोप तथा औषधी परीक्षणको अन्तिम तयारीमा रहेको बताइएको छ । डा.दासले नमूना औषधी तयार भइसकेको र अब परीक्षणको लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र नेपाल स्वास्थ्य अनुसन्धान परिषदको निर्देशिका बमोजिमको आवश्यक प्रतिवेदनको पर्खाइमा रहेको बताए । सो प्रतिवेदन भित्रका मापदण्डहरु पूरागर्ने लामो प्रक्रियाको कारण तयारीमा केही समय लागेको डा.दासले बताए । प्रतिवेदन कुरेर बसेकोले केही समय यो विषय ओझेल परेको जस्तो देखिए पनि आफ्नो कार्य निरन्तर भइरहेको उनको भनाई छ । डा.दासका अनुसार उनले आफ्नो प्रयोगशालामा कोरोनाको भाइरस हटाउनेसम्बन्धी ‘एण्टी अक्सिडेण्ट एक्टिभिटी’ र ‘इन्जियोमेटिक एक्सन’ भएका बिरुवाहरु लिएर त्यसमाथि आवश्यक शोध गरेर औषधी तयार गरे । उनले कोरोना विरुद्धको खोप र खोपबाट हुनसक्ने एलर्जीका लागि समेत मुखबाट सेवन गर्न मिल्ने औषधी गरी दुबै औषधीको नमूना नै तयार भएको दाबी समेत गरे । साथै उनले मानव शरीरको प्रतिरोधात्मक क्षमता बढाउने औषधीको समेत नमूना तयार भइसकेको र यी सबै औषधीको परीक्षणको लागि प्रतिक्षामा रहेको दाबी गरे । आफुले तयार गरेको औषधी शतप्रतिसत सफल हुने दाबी गर्दै बागमती प्रदेशको सामाजिक विकास मन्त्री युवराज दुलाललाई निरीक्षण गराएर प्रतिबेदन बुझाएर यसबारेमा थप सहयोग पुगेको महसुस गरेको डा.दासको भनाई छ । उनले हाल नमूनाको रुपमा औषधी तयार रहेको र परीक्षण सफल भएमा ठूलो परिमाणमा औषधी बनाउन पनि समस्या नरहेको बताए । विगत २२ वर्षदेखी अनुसन्धान तथा अध्यापन गर्दै आएका उनले बनारस हिन्दू विश्वविद्यालयबाट फाइटोकेमिस्ट्रीमा विद्यावारिधी गरे । यसअघि जेठ २२ गते उनले सार्वजनिक गरेको कोरोना विरुद्धको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा विश्व स्वास्थ्य संगठनले जानकारी लिएको थियो । विश्व स्वास्थ्य संगठनको जेनेभास्थित कार्यालयबाट नै भिडियो कोन्फरेन्समार्फत नेपालसहित ७३ राष्ट्रसँग प्रत्यक्षरुपमा कोरोना विरुद्ध निर्माण भइरहेको औषधी र आवश्यक सहयोग सम्बन्धमा छलफल गरेको डा.दासले जानकारी दिए । उक्त छलफलमा विश्व स्वास्थ्य संगठनले आफ्नो निर्देशिकामा आधारित रहेर दुई घण्टा लामो सवाल जवाफ पनि गरेको थियो । उक्त प्रयोगशालामा उत्पादन गरिएको औषधी सम्बन्धमा आवश्यक जानकारीका लागि सो अध्ययन संस्थानका प्रध्यापक दामोदर गैरेले डब्लुएचओमा लिखित प्रस्ताव पठाएपछि उक्त प्रयोगशाला पनि छनौट भएको बताए । सर्वप्रथम नेपालको सम्बन्धित निकायसँग खोपको परीक्षण गराउनुपर्ने र नभए विश्व स्वास्थ्य संगठनसँग त्यसको प्रभावकारिता मुल्याङ्कनका लागि पहल गरिने कुराकानी भएको बताइएको छ । उक्त खोपका लागि प्रयोजन स्वीकृत भएमा ‘ट्रायल फन्ड’ का लागि पाँच लाख अमेरिकी डलर प्राप्त हुने समेत उक्त छलफलमा जानकारी गराइएको डा.दासले जनाए । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन आयुर्वेदिक क्याम्पसका प्राध्यापक डा.चन्द्रराज सापकोटाले आयुर्वेदिक पद्दतीबाट बनाइएको औषधी सफल हुनसक्ने बताए । उनले भने, “हामीसँग परीक्षण गर्ने प्रयोगशाला भइदिएको भए हामीले प्रयोग गर्दै आएका गुर्जो, पिप्ला, मरिच, सुठो, बेसार मिलाएर बनाएको औषधीले काम गर्छ भन्ने प्रमाणित भइसक्ने थियो, तर प्रयोगशालाको अभावमा हामीसँग प्रसस्त सम्भावनाहरु भए पनि खुम्चिएर बस्नुपर्ने अवस्था छ ।” उनले यिनै जडिबुटीहरुको मिश्रणबाट डा.दासले औषधी तयार पार्न डा.दास सफल हुने भने । आयुर्वेदिक औषधीबाट रुघा, खोकी, ज्वरो निर्मुल हुने भन्दै प्राडा. सापकोटाले कोरोना जीवाणु पनि स्वासप्रस्वाससँग बढी सम्बन्धित महामारी भएकोले डा.दासले जडिबुटीहरुको मिश्रणले तयार पारेको औषधीले काम गर्नसक्ने बताए । उनका अनुसार कोरोना एक किसिमको कडा खालको रुघा नै रहेको र यसको आयुर्वेदिक उपचार सम्भव रहेको छ । डा.दासको उक्त कार्यलाई बागमती सरकारले प्रोत्साहन गर्दै सहयोग गर्ने भएको छ । यस्तो कार्यमा प्रदेश सरकारले चासो राख्ने सामाजिक विकास मन्त्री युवराज दुलालले बताए । डा.दासले तयार पारेको उक्त औषधी परीक्षणको लागि प्रदेश सरकारले आर्थिक देखि अन्य आवश्यक सबै खालको सहयोग गर्ने पनि मन्त्री दुलालले बताए । उनले डा. दासले औषधी तयार गरेको बताएको भए पनि यसको परीक्षणको प्रक्रियाबारे थाहा नपाएको कारण समय लागेको बताए । उनले भने, “डा.दाशले औषधीको लागि नेपाल सरकारसँग अनुमति लिनुपर्ने हुन्छ यो प्रक्रियामा जान सुझाएको छु यसका साथै उक्त प्रक्रियापछि उहाँ सही दिशामा हुनुहुन्छ वा हुनुहुन्न त्यो पनि नेपाल स्वास्थ्य अनुसन्धान परिषदले नै हेर्छ र उहाँको लागि आवश्यक सबै सहयोग प्रदेश सरकारले गर्नेछ ।” मन्त्री दुलालले आर्थिक कारणले उनको औषधी परीक्षण प्रक्रिया नरोकिने पनि बताए । यता कोरोनाको औषधी बन्यो भनेर उत्साहित भएका सर्वसाधरणहरु भने लामो समयसम्म औषधीको प्रयोग तथा प्रक्रियाबारे थाहा नपाउदा निरास भएको बताउन थालेका छन् । हेटौंडा उपमहानगरपालिका —४ का ८९ वर्षीय कृष्णप्रसाद मैनाली भने “कोरोनाको डरले घरभित्र नै थुनिएर बसेका हामी हाम्रो हेटौंडामा नै औषधी बन्यो रे भन्दा खुशी भएका थियौं तर यतिका समय भयो औषधी खान पाउने खबर नआएकोले निराश भएका छौं ।” उनले थपे “नेपालभर समाचार आएको र विश्वमा नै पुगेर विश्व स्वास्थ्य संगठनकै ध्यानाकर्षण भएको यो कुरा यत्तिकै त आएको होइन होला मन्त्रीले पनि हेर्या भन्ने सुन्थेँ, त्यसैले यो विषयलाई जतिसक्दो चाँडो प्रयोगमा ल्याउने वातावरण सरकारले मिलाओस् ।” औषधीको थप प्रक्रियाबारे जानकार नभएको बताउँदै मैनालीले औषधी बन्यो भन्ने समाचारले खुशी बनाएको र यसलाई प्रयोगशालासम्म लगेर यसको उपयोगिताबारे चाँडै बाहिर आओस् भन्ने हाम्रो माग हो । त्यसैगरी हेटौंडा—४ एकता टोल विकास संस्थाकी अध्यक्ष नमूना पाण्डेले कोरोनाको त्रासले आक्रान्त पारेको वर्तमान परिस्थितीमा आफ्नै गाउँ ठाउँमा कोरोनाको औषधी बनेको खबरले उत्साहित बनाएको बताए । उनले भने, “विश्यव्यापीरुपमा कोरोनाको महामारीको त्रासको अवस्था अझै कायमै रहेको तथा नेपालमा अझ यो महामारी बढ्दै जाने आशङ्काहरु बाहिर आएको अवस्थामा हामै घर आँगनमा औषधीबनेको खबरले यहाँका स्थानीय नागरिक एकदमै उत्साहित भएका छौं ।” यस विषयमा स्थानीय, प्रदेश र सङ्घीय सरकारले चासो दिएर परीक्षण गराउनुपर्ने उनको भनाई छ । सर्वसाधरणहरुले उक्त औषधी छिट्टै प्रयोग गर्न पाइयोस् भन्ने प्रतिक्षामा रहेको अध्यक्ष पाण्डेले बताए । त्यसैले सबै स्थानीय नागरिकले आवश्यक पहल गर्न सरकारसँग माग पनि गरेका छन् । विश्वमा नै कोरोना बिरुद्धको औषधी निर्माण तथा परीक्षण जारी रहेका समाचारहरु आउने गरेका छन् । तर पनि यसको औषधी या खोप नै पत्ता लागिसकेको अवस्था भने छैन । यस्तो समयमा डा.दासको औषधीको परीक्षण सफल भएमा यो नेपालका लागि मात्र नभएर विश्वकै लागि पनि ठूलो उपलिब्ध हुनेछ । यस महामारीको औषधि भारतीय आयुर्वेदिक औषधि निर्माण कम्पनी पतञ्जलीले निर्माण गरेको दाबी पनि गरेको थियो । तर सो औषधी विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको परीक्षण नभएको र औषधी निर्माणको अनुमति समेत नलिएको भन्दै त्यो औषधीलाई प्रतिबन्द लगाइएको छ । रासस

लकडाउनले कसलाई फाइदा गर्याे ?

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको कारण सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गर्याे । कोरोना नियन्त्रणका लागि भनिएर गरिएको लकडाउनले न त कोरोना नियन्त्रण नै गर्याे न त देश विदेशमा रहेका आम नागरिकका समस्याको समाधान गर्ने काम गर्याे । लकडाउनले अधिकांश क्षेत्रमा चौतर्फी घाटा मात्रै वेहोर्नु परेको छ । धेरैकाे रोजगारी गुमेकाे छ भने कतिपयको रोजीरोटीमा समस्या उत्पन्न भएको छ । पर्यटन, उद्योग, व्यापारहरु घाटामा छन् भने सार्वजनिक यातायात व्यवसायीहरु तथा विमान कम्पनीहरु टाट पल्टने स्थितिमा पुगेका छन् । अनि केही गर्नु पर्छ भनेर अगाडी बढ्दै गरेका लाखौं विद्यार्थी तथा युवाहरुको मूल्यवान समय यतिखेर सामाजिक संजालमै वितिरहेको छ । सबै स्कुल तथा कलेजहरु बन्द हुँदा विद्यार्थी अध्ययन रोकिएसँगै भविष्य अन्योल बनेको छ । सरकारले अन्तर्राष्ट्रिय उडान रोकेकै कारण हजारौं नेपाली युवाहरु विदेशमा अलपत्र अवस्थामा छन् । दिनप्रति दिन बढ्दो कोरोनाको कहरले आत्तिएका लाखौं नेपालीहरु आफ्नो मातृभूमि (स्वदेश) फर्किन पाइरहेका छन् । रोजगार गुमाएका तथा श्रम अवधि सकिएर नेपाल फर्किने तयारीमा रहेका ती नेपाली जो विदेशी भूमीमा वेरोजगारी भई खान बस्नका लागि मह्रगो शुल्क तिर्न बाध्य रहेका छन् । कतिपयले आफ्ना वृद्द विरामी बाबुआमालाई छिटो आउँदै छु है भन्दै कुराइरहेका छन् । सरकार भने लकडाउनको मोडालिटी परिवर्तन गर्ने भन्दै लकडाउन बढाउन तर्फ व्यस्त छ । जब कि नेपालमा दोस्रो व्यक्तिमा कोरोना देखिएसँगै सरकारले लकडाउन घोषणा गर्याे खै त त्यसको प्रतिफल ? लकडाउन थपिए पनि कोरोना संक्रमित बढ्दो छ भने हिजोआज आम मानिसमा कोरोनाको डर घट्दो छ । तर पनि सरकार लकडाउन बढाइरहन्छ तर लकडाउन के कस्तो हो र यो कस्का लागि भन्ने कुरामा सरकार गम्भिर भएको छैन् । विभिन्न देशमा रहेका अलपत्र श्रमिक ‘उद्धार’ गर्नका लागि श्रममन्त्रालय र परराष्ट्र मन्त्रालयले चरणवद्ध रुपमा नेपाल फर्काउने निर्णयका साथ काम अगाडि बढाइरहेका छन् । पर्यटन मन्त्रालयको स्वीकृतिमा हिमालय र नेपाल एयरलाइन्सले यात्रु ल्याउने जिम्मा पाएका छन् । एक त अलपत्र रहेका नेपाली महँगाे भाडा त्यस माथि पनि उडान मिति सार्ने प्रचलनले कोरोना महामारीको बेलामा पनि सरकार व्यवसायी बनिरहेको भन्ने कुराको टिकाटिप्पणी भइरहेका छन् । हुन पनि विभिन्न देशमा रहेका करिब ७ लाखभन्दा बढी नेपाली घर फर्किन पाउँ भनि निवेदन दिएका थिए तर सरकारले चरणवद्ध तरिकाले ल्याउने निर्णयसँगै पहिलो चरणमा विभिन्न देशमा रहेका करिब २५ हजार नेपाली ल्याउने भनेको थियो । तर हालसम्म १६ हजार अलपत्र नेपाली ल्याइएको छ । यस अन्तर्गत  रोजगार गुमाएका, कम्पनी बन्द भएका, श्रम अवधि सकिएका, अशंक्त, महिला, जेष्ठ नागरिक एवं आफ्ना परिवार गुमाएर अन्त्यष्ठीका लागि घर पर्न पाउ भनि निवेदन दर्ता भएका छन् ।  अर्काेतिर स्वास्थ्य मन्त्रालयमा कोरोनाको उपचारको लागि आवश्यक सामग्रीमा भ्रष्टाचार गर्न पछि नपरेको तथा गृह मन्त्रालय नागरिक विधेयक अगाडी सर्दै जनता अल्मलाउने काम व्यस्त रहेको भन्ने टिकाटिप्पणीहरु पनि नभएका होइनन् । स्थानिय स्तरमा किन बढ्दैछ काेराेना ?  कोरोनाको कारण धेरै दुख, पीडा, सन्त्रास र तनाव बढिरहेकाे छ ।  छ । स्थानिय स्तरका क्वारेन्टाइन विश्व स्वास्थ्य संगठनको मापदण्ड भित्र छैन । भ्रामक कुराको पछि लागेर कोरोनालाई सामान्य रोग लिएकोले हाल यो अवस्था पैदा भएको छ । क्वारेन्टाइन पनि डब्ल्युएचओको मापदण्ड भित्र निर्माण नभएको हुँदा क्वारेन्टाइन नै कोरोना उत्पादन गरिरहेको छ । आत्महत्याको घटनाहरु दिनप्रतिदिन बढिरहेका छन् यता सरकार भने कारण खोज्नुको सट्टा  समस्या टुलुटुलु हेरेर बसेकाे छ । कोरोनाका कारण विभिन्न देशमा अलपत्र परेका नेपाली नागरिकलाई नेपाल फर्काउने काममा सरकार चुकेको छ । कोरोना फैलिँदै गरेका देशमा आएका नेपालीलाई व्यवस्थित क्वारेन्टाइनमा राख्न देखि पिसीआर परीक्षण गरेर घर पठाउने काममा सरकार असफल भएको छ । डब्ल्युएचओबाट मान्यता प्राप्त नगरेको आरडीटी परीक्षणले खास कोरोना संक्रमित पत्ता लगाउन सकेको छैन । तर,  नेपाल सरकारले त्यसैलाई मान्यता दिएर क्वारेन्टाइनमा रहेका मानिसलाई आरडीटी परीक्षणपछि घर पठाउने गरेको छ । यस्तो अवस्थामा स्वास्थ्य सामाग्री भित्र्याउँदा कमिसन र भ्रष्टाचारमा नै लिप्त रहेको छ ।

कोरोना भाइरसको कारण विदेशमा थप १३ नेपालीको मृत्यु

काठमाडाैं । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई)मा थप छ, भारतमा पाँच, ओमान र कुवेतमा एक/एक नेपालीको मृत्यु भएको हो । समितिका अनुसार शनिबार साँझसम्म विभिन्न १४ देशमा १४३ नेपालीको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ । हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्विडेन, ओमानलगायत देशमा रहेका नेपालीको मृत्यु भएको छ । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस हप्ता विदेशमा मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना सङ्क्रमणको दर न्यून हुँदै गएको छ । शनिबार साँझसम्म विदेशमा २८ हजार ९१८ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने २५ हजार २२६ गैरआवासीय नेपाली कोरोना मुक्त भएका छन् । एनआरएनएका अनुसार हालसम्म विश्वभर ३७ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट प्रभावित भएका छन् । उद्धार जारी यसैबीच कोरोना भाइरसका कारणले विश्वव्यापी लकडाउन सुरु भएपछि विभिन्न देशमा रोकिएका नेपालीको उद्धारको कामले तीव्रता पाएको छ । एनआरएनए र विदेशस्थित नेपाली कूटनीतिक नियोगको संयुक्त पहलबाट एक महिनाको अवधिमा २१ देशमा रहेका १८ हजार २९३ नेपालीको उद्धार गरिएको छ । अफगानिस्तान, अष्ट्रेलिया, ओमान, कतार, म्यान्मा, कुवेत, जापान, थाइल्यान्ड, दक्षिण कोरिया, बङ्गलादेश, मलेसिया, माल्दिभ्स, श्रीलङ्का, युएई, साउदी अरब, सिङ्गापुर, हङकङ, पाकिस्तान, बहराइन, अमेरिका र बेलायतलगायत मुलुकमा रहेका नेपाली स्वदेश फर्किएको सङ्घको कोभिड-१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

नाराबाजीका बीच प्रस्ताव पारित

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकले प्रतिपक्षी दलको नाराबाजीका बीच ‘आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पारित गरेको छ । बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका प्रदेशसभा सदस्यले आ–आफ्नो आसनवाट उठेर विरोध जनाएका थिए । विरोधकै बीच सभामुख अर्जुनबहादुर थापाले बैठकमा आगामी आर्थिक वर्षको बजेट कार्यक्रम माथिको कारवाही अगाडि बढाए भएपछि ती दुई पार्टीका सदस्य रोष्ट्रम अगाडि पुगेर नाराबाजी गरेका थिए । नाराबाजीकै बीच आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आगामी आर्थिक वर्षको बजेट कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु हुँदा उक्त प्रस्तावलाई बैठकले पारित गरेको हो । प्रतिपक्षी दलका सदस्यले बेल घेरेर नाराबाजी गरिरहँदा पनि प्रस्ताव पारित गर्ने कार्य असंसदीय भएको टिप्पणी काँग्रेसका सदस्य भरतबहादुर खड्काले गर्नुभयोे । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट कार्यक्रमबारे प्रतिपक्षी सदस्यको माग सुनुवाइ नभएसम्म प्रदेशसभा बैठकमा विरोध जारी रहने उनले भने । प्रतिपक्षी दलले राखेका मागबारे छलफल गर्न सरकार र प्रतिपक्षी दलकाबीच चारपटक वार्ता भए पनि आजसम्म कुनै निष्कर्ष निस्कन नसकेको जनाइएको छ । बैठकलाई पुनः सञ्चालन बनाउने विषयमा छलफल गर्न बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा पनि कुनै सहमति जुट्न नसकेको बताइएको छ । सरकारले कोरोना भाइरसको रोकथाम र व्यवस्थापनमा प्रभावकारी काम गर्न नसकेको, विभिन्न निकायमा भइरहेको भ्रष्टाचार र अनियमिता रोक्न नसकेको, बजेट बाँडफाँटमा असमान व्यवहार गरिएको, कोरोना भाइरसको रोकथामका लागि भएको ५३ करोड रुपैयाँ खर्चको वास्तविक विवरण सदनलाई जानकारी नदिइएको जनाउँदै प्रतिपक्षीदलले विरोध गर्दै आएका छन् । ५३ सदस्य रहेको प्रदेशसभामा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ३९, प्रतिपक्षी नेपाली काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुईजना सदस्य छन् । रासस

वोमी लघुवित्तको अध्यक्षमा बिन्दीया प्रधान, सञ्चालकमा ६ जना निर्वाचित

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा बिन्दीया श्रेष्ठ प्रधान नियुक्त भएका छन् । असार १९ गते सम्पन्न साधारण सभापश्चात साँझ बसेको सञ्चालक समितिको बैठकले प्रधानलाई संस्थाको अध्यक्ष पदमा चयन गरेको हो । सो दिन बसेको आठौं वार्षिक साधारण सभाले संस्थापक तर्फबाट ४ जना र सर्वसाधारण तर्फबाट २ जना गरी ६ जनालाई सञ्चालक पदमा निर्वाचित गरेको हो । उक्त सभाले संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने बिन्दीया श्रेष्ठ प्रधान, बिमला उपाध्याय घिमिरे, किशोरी थापा र नरेन्द्र कुमार प्रसाईलाई निर्विरोध निर्वाचित गरेको हो । त्यस्तै, सर्वसाधारण तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने कृष्ण राज सिलवाल र शिव प्रसाद मिश्रलाई निर्विरोध निर्वाचित गरेको संस्थाले जनाएको छ ।

चन्द्रागिरिमा दुई वर्षमा ६७ उजुरी

काठमाडाैं । चन्द्रागिरि नगरपालिकामा पछिल्लो दुई वर्षमा विभिन्न घटनाका ६७ उजुरी परेका छन् । आर्थिक वर्ष २०७५/७६ मा ४६ र आर्थिक वर्ष २०७६/७७ मा २१ उजुरी दर्ता भएका हुन् । ती उजुरीमध्ये अधिकांश घरजग्गा र बाटोसम्बन्धी रहेका छन् । नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक लिशा नकर्मीले जग्गा, करारसम्बन्धी, मानाचामल, ढल , घरेलु हिंसासम्बन्धी बढी उजुरी आउने गरेको जानकारी दिए । नगरपालिकाले उजुरी आएका अधिकांश मुद्दा मिलान गरिसकिएको छ । “हामी निरन्तर छलफलमा छौँ, बाँकी रहेका मुद्दा पनि चाँडो टुङ्गो लगाउँछौं”, उनले भने । नगरपालिकाले उजुरी आएपछि सात दिनको म्याद तामेली राखेर छलफल चलाउँदै आएको छ । उनले उजुरी दिने व्यक्ति, उजुरी कसका लागि दिएको हो सो व्यक्तिसँग छुट्टाछुट्टै छलफल गर्ने र पछि दुवै जनालाई बोलाएर संयुक्त छलफल गरेर मुद्दा टुङ्ग्याउँदै आएको बताए । नगरपालिकाले मुद्दाको टुङ्गो लगाउन मेलमिलाप कर्तासमेत तोकेको छ । ४० भन्दा बढी व्यक्तिलाई मेलमिलाप कर्तासम्बन्धी तालीम दिइसकेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको इजलास हरेक हप्ताको सोमबार बस्दै आएको छ । नगरपालिकामा धेरै मुद्दा दर्ता भए इजलास समय पनि थप गर्दै लैजाने उनले बताए ।   रासस

विश्वभर सङ्क्रमितको सङ्ख्या शनिबार अहिलेसम्मकै उच्च : डब्लुएचओ

जेनेभा । विश्वमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबार अहिलेसम्मकै उच्च रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।डब्लुएचओका अनुसार शुक्रबारदेखि शनिबार विहानसम्मको २४ घण्टाको अवधिमा विश्वभर सङ्क्रमितको सङ्ख्या दुई लाख १२ हजार ३२६ रहेको थियो । यो अवधिमा सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या अमेरिकी क्षेत्रमा रहेको डब्लुएचओले जनाएको छ । अमेरिकी मुलुकहरूमा पनि संयुक्त राज्य अमेरिका र ब्राजिलमा २४ घण्टामा सङ्क्रमित दुई लाख १२ हजार ३ सय २६ व्यक्ति मध्ये झण्डै आधा सङ्क्रमित भेटिएका थिए । उक्त अवधिमा ब्राजिलमा ५३ हजार २ सय १३ र संयुक्त राज्य अमेरिकामा ४८ हजार १ सय ५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको थियो । आइतबारसम्ममा विश्वभर १ करोड १३ लाख ८६ हजारभन्दा बढी कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । समाचार तयार पार्दासम्म यो भाइरस सङ्क्रमित ५ लाख ३३ हजार ६ सय १९ जनाको ज्यान गुमेको पुष्टि विश्व स्वास्थ्य संगठनले गरेको छ । सङ्क्रमणका कारण सबैभन्दा बढी अमेरिकामा १ लाख ३२ हजार ३ सय १८ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा ६४ हजार ३ सय ६५ जनाको मृत्यु भएको छ । अमेरिका र ब्राजिलमा क्रमशः २९ लाख ३५ हजार ७ सय ७० र १५ लाख ७८ हजार ३ सय ७६ व्यक्ति सङ्क्रमित रहेका छन् । रूसमा सङ्क्रमित सङ्ख्या छ लाख ७४ हजार ५ सय १५ रहेको छ भने मृत्युदर अन्य ठूला मुलुकको तुलनामा कम रहेको छ अर्थात् कोभिड–१९ का कारण रूसमा दश हजार २७ व्यक्तिको मृत्यु भएको छ । त्यस्तै भारतमा ६ लाख ७३ हजार ९ सय ४ सङ्क्रमित र १९ हजार २ सय ७९ मृत्यु, पेरूमा २ लाख ९९ हजार ८० सङ्क्रमित र १० हजार ४ सय १२ मृत्यु, स्पेनमा २ लाख ९७ हजार ६ सय २५ सङ्क्रमित र २८ हजार ३ सय ८५ मृत्यु, चिलीमा २ लाख ९१ हजार ८ सय ४७ सङ्क्रमित र ६ हजार १ सय ९२ मृत्यु भएको छ । बेलायतमा सङ्क्रमितको सङ्ख्या २ लाख ८४ हजार ९सय रहेको छ भने ४४ हजार १९८ जनाको मृत्यु भएको छ । यसबाहेक बढी सङ्क्रमित र मृत्यु भएका मुलुकहरूमा मेक्सिको, इटली, इरान, पाकिस्तान, साउदी अरब, टर्की जर्मनी र चीन रहेका छन् ।   रासस/सिन्ह्वा

कक्षा ११ को बोर्ड परीक्षा नहुने, आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र

काठमाडौं । कोरोनाकाे संक्रमण फैलिएसँगै सरकारले गरेकाे लकडाउनका कारण यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नहुने भएको छ । कक्षा ११का विद्यार्थीहरूकाे आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र दिइने भएको हाे। पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिने निर्णय गरेकाे छ । राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक मूल्यांकन कसरी गर्ने भन्ने सम्बन्धमा कार्यविधि बनाउने जिम्मा पाएकाे छ । यसअघि कक्षा १० को एसईई पनि आन्तरिक मूल्यांकनकै आधारमै गर्ने निर्णय भइसकेको छ । कक्षा १२ को विषयमा भने अहिलेसम्म कुनै पनि निर्णय भएको छैन ।