विकासन्युज

आणविक केन्द्रमा ठूलै आगलागी भएको इरानको स्वीकारोक्ती

तेहरान । इरानको आणविक केन्द्रको एक भवनमा आगलागीको घटना भएको इरानले पुष्टि गरेको छ । इरानी आणविक ऊर्जा केन्द्रका प्रवक्ताले उक्त दुर्घटना निकै अर्थपूर्ण भएको जनाउँदै यसबाट युरेनियम प्रशोधनमा प्रयोग हुने उपकरणको उत्पादनमा केही ढिलाई हुन सक्ने बताए । मध्य इरानको नतान्जस्थित आणविक प्रशोधन केन्द्रको एक घरमा बिहीबार आगलागी भएको थियो । उक्त घटना निकै भयानक रहे पनि कोही पनि व्यक्ति घाइते भएको वा रेडियोधर्मी विकिरण नचुहिएको प्रवक्ताले बताएका छन् । सुरक्षा अधिकारीहरुले उक्त घटनालाई दुर्घटनाका रुपमा व्याख्या गरेका छन् । तर उक्त घटना हुनुको मुख्य कारण बारे केही बताइएको छैन । इरानी समाचार संस्था इर्नामा प्रकाशित एक अन्तर्वार्तामा इरानी आणविक ऊर्जा संस्थाका प्रवक्ता बेहरोज कमालवन्दीले उक्त दुर्घटनाका कारण कोही व्यक्ति पीडित नभएका तर आर्थिक रुपमा निकै ठूलो क्षति भएको बताए । उनले यस दुर्घटनाका कारण उन्नत सेन्ट्रिफ्युजको विकास र उत्पादनमा केही ढिलाई हुने बताए । नन्ताज इरानको मुख्य आणविक प्रशोधन केन्द्र रहेको स्थान हो । टेलिभिजन फुटेजमा भने आगलागीका कारण सामान्य क्षति भएको देखाएको छ । तर यसअघि सार्वजनिक गरिएका तस्वीरहरुमा भने भवनमा निकै ठूलो क्षति भएको देखिएको छ । तेहरानले गत वर्ष मे महिनामा आणविक ऊर्जा कार्यक्रमसँग जोडिएका केही कार्यक्रम पुनः शुरु गरिने घोषणा गरेको थियो । सन् २०१५ को एक सम्झौता बमोजिम इरानी आणविक कार्यक्रम स्थगित गरिए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको सम्झौता अस्वीकार गरेर इरानमाथि नाकाबन्दी गरेपछि इरानले आणविक कार्यक्रम पुनः शुरु गर्ने चेतावनी दिएको थियो । इरानले गत वर्ष सेप्टेम्बरमा युरेनियम प्रशोधन पुनः शुरु गरेको थियो । तेहरानले यो कार्यक्रम ऊर्जासँग सम्बन्धित रहेको र यसलाई सैनिक प्रयोजनमा उपयोग नगरिने बताउँदै आएको छ । रासस–एएफपी

नलगाड जलविद्युत्बाट प्रभावितलाई मुआब्जा दिन शुरु

जाजरकोट । कूल ४१७ मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएको नलगाड जलविद्युत् आयोजनाको मुआब्जा वितरणको काम शुरु भएको छ । करिब ४ सय ६५ घर तथा ३ हजार ९ सय ३३ कित्ता जग्गा अर्थात् ४ हजार ६ सय ५ रोपनी जग्गाको मुआब्जा वितरणको काम शुरु भएको हो । प्रत्येक रोपनीको ६ लाखका दरले रकम दिने सहमतिअनुसार मुआब्जा दिन शुरु गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए। २ अर्ब ७६ करोड ३१ लाख १२ हजार ७ सय ९८ रूपैयाँ मुआब्जा स्वरुप वितरण गरिन लागेको छ । त्यस्तै विस्तृत योजना प्रतिवेदन मस्यौदा कन्सलटेन्टले बुझाएको र फाइनल बुझाउन बाँकी छ । सन् २०१५ अप्रिलमा नलगाड जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदनका लागि अष्ट्रेलियाको स्मेक इन्टरनेशनल प्रालि, अमेरिकाको एमडब्लुएच इन्टरनेशनल आरएनसी र नेपाली उदय कन्सल्टेन्सीसँग सम्झौता भएको थियो । आयोजना स्थलमा निर्माण गरिएका घरहरुको असोजसम्म मूल्याङ्कन गरी मुआब्जा दिन लागिएको सर्भेएर चीत्र केसीले जानकारी दिए । विद्युत् उत्पादन गृह दल्लीबाट पानी खसाल्ने ठाउँसम्मको सडक निर्माणका लागि बोलपत्र निकाल्ने अन्तिम तयारीमा रहेको इञ्जिनियर पदम थापाले जानकारी दिए । विसं २०७६ भदौ २७ गते मुआब्जा पाउने नामावली सार्वजानिक भई जिल्ला प्रशासन कार्यालय, जाजरकोटले बारेकोट गाउँपालिकालाई डुबान क्षेत्रमा भौतिक संरचना निर्माण कार्य रोक्न अनुरोध गरिसकेको थियो । आयोजनाले २०७६ भदौ २७ पछि निर्माण हुने कुनै पनि संरचनाको रकम नदिने निर्णय गरिसकेको छ । अहिले बाँध निर्माणस्थलबाटै करोडौंको सडकसमेत निर्माण भइसकेको छ । अहिले डुबान क्षेत्रमा सरकारी भवन, स्वास्थ्य सेवा, विद्यालय प्रभावित भएका छन् । डिपिआरको काम पूरा भएर प्रतिवेदन दिन मात्र बाँकी रहेको आयोजनाका थापाले बताए । उत्ता डुबान क्षेत्रमा घर निर्माण गरिरहेका स्थानीयवासीहरु आफूलाई सूचना नै नभएको बताएका छन् । आयोजनाको डिपिआरको जिम्मा अष्ट्रेलियाको स्मेक इन्टरनेशनल प्रालि, अमेरिकाको एमडब्लुएच इन्टरनेशनल आरएनसी र नेपाली उदय कन्सल्टेन्सीले लिएका छन् । कोरोनाका त्रासले काममा अवरोध आएपनि अन्तिम प्रतिवेदनको तयारीमा रहेको आयोजनाका इञ्जिनीयर थापाले जानकारी दिए । आयोजना निर्माणस्थलमा प्रभावित हुने क्षेत्र बारेकोट गाउँपालिका र नलगाड नगरपालिकाभित्र पर्ने नलगाड नदीमा निर्माण हुन लागेको नलगाड जलविद्युत् आयोजनाबाट यहाँका खानी, जलचर, जडिबुटी र चराचुरुङ्गीमा पर्ने प्रभावका विषयमा यहाँका स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । पुस्तौँदेखि बस्दै आएका स्थानीयवासीलाई सही रूपमा व्यवस्थापन गर्नुपर्ने र आयोजना निर्माणस्थलबाट विस्थापित भएकालाई राज्यले कति वर्षसम्म सहयोग गर्ने हो त्यो समेत किटान गर्न आग्रह गर्दै सकेसम्म स्थानीयस्तरमै बसोबासको व्यवस्थापन गर्न आग्रह गरेका छन् । सरकारले आयोजनाको डिपिआर छिटो निर्माण गरी निर्माण प्रक्रियामा लैजाने तयारी गरेको छ । केही दिनअघि मात्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नलगाड जलविद्युत् आयोजना निर्माणका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)लाई आग्रह गरेको थियो । जापानी व्यवसायी एवं जाइकाले नलगाड जलविद्युत् आयोजना निर्माणका लागि इच्छासमेत देखाएका छन् । आयोजना निर्माणका लागि रु १२३ अर्ब लाग्ने अनुमान छ । वातावरणीय व्यवस्थापन अनुमानित लागत ५६ अर्ब रूपैयाँ लाग्ने आयोजनाले बताएको छ । साढे छ वर्षभित्र निर्माणकार्य पूरा गर्ने लक्ष्य लिइएको छ । आयोजनाको बाँध भरिँदा ४ सय ७४ करोड घनमिटर पानी भण्डारण हुनेछ । कूल ५ सय ४५ मिटर चौडाइ र २ सय १० मिटर अग्लो जलाशय हुनेछ । ८ हजार ३ सय मिटर लामो भूमिगत सुरुङ निर्माण गरी ४ सय १७ मेगावाट विद्युत् उत्पादन हुने डिपिआरमा उल्लेख छ । आयोजनाले पार्ने वातावरणीय एवं जैविक प्रभाव न्यून गर्नुपर्ने र वातावरणीय संरक्षण नियम २०५४ लाई ध्यान दिनुपर्नेमा जोड दिँदै काम गर्न आग्रह सरोकारवालाले गरेका छन् । आयोजना निर्माणपछि हरित ग्यासको उत्सर्जन घट्ने र कार्बनडाइ अक्साइडको उत्सर्जन हुनबाट ७ लाख १७ हजार टन बचत हुनेछ । आयोजनाबाट नलगाड नगरपालिका–५ र ७, बारेकोट गाउँपालिका– १, २, ५, ६, ७ र ८ प्रभावित हुनेछ । अहिले नलगाड नगरपालिका–७ दल्लीमा भूमिगत रूपमा निर्माण हुने विद्युत् उत्पादन गृहको अवस्था (कमजोर, जटिल) पत्ता लगाउन सुरुङको काम चलिरहेको छ । निर्माणकार्य ३० महिनाभित्र सक्ने भनी गरिएको सम्झौता गुज्रेर थपिएको मिति सकिएपनि अझै डिपिआरको काम पूरा हुनसकेको छैन ।   रासस

हालसम्म कतिले भरे साधना लघुवित्तको सेयर ?

काठमाडौं । साधाना लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओमा पहिलो दिनमै ३८ करोड ९९ लाख ६७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । जुन संस्थाले माग गरेकोभन्दा ५.८९ गुणा बढी हो । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल अनुसार असार २१ गते एकदिनमै एक लाख ५५ हजार २ सय ९६ जनाले ३८ लाख ९९ हजार ६ सय ७० कित्ता सेयरको लागि आवेदन दिएका छन् । संस्थाले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ७ लाख ७ हजार ८ सय कित्ता अर्थात ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आईपीओ बिक्रीमा राखेको छ । जसमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८ सय ९० कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरेको छ । त्यस्तै, सर्वसाधारणलाई छुट्याएको सेयर मध्येको ५ प्रतिशत अर्थात ३५ हजार ३ सय ९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहने ६ लाख ६१ हजार ५ सय २० कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरिने संस्थाले जनाएको छ । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । उनीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट तथा मेरो सेयरमार्फत पनि आवेदन दिन सक्नेछन् । यो आईपीओको निष्कासन बन्द छिटोमा असार २४ गते र ढिलामा साउन ४ गतेसम्म हुनेछ ।

बीमा समिति भन्छः बरु शाखा घटाउ, कर्मचारी नहटाउ

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई कोरोना महामारीको विशेष परिस्थितिमा कर्मचारीलाई कामबाट ननिकाल्न निर्देशन दिएको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण उत्पन्न परिस्थितिमा आफूहरुको आम्दानी नै खुम्चदै गएकोले खर्च कटौति गर्न भन्दै कम्पनीहरुले कर्मचारी कटौति गर्न लागेका समयमा समितिको यस्तो भनाइ आएको हो । बिमितलाई दिने सेवामा कुनै कमी नआउने गरी शाखा कार्यालय बन्द वा मर्ज गर्न आवश्यक भए बरु त्यसो गर्न भन्दै समितिले कर्मचारी कटौति भने नगर्न भनेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अहिलेको परिस्थितिमा कम्पनीहरुलाई परेको समस्या समाधानका लागि समिति तयार भएपनि कर्मचारी कटौतिको विषयमा सोच्नसमेत नसकिने बताए । ‘बीमा कम्पनीहरुले आफूले प्रवाह गर्ने सेवालाई छिटो छरितो बनाउँन आवश्यक छ, अनावश्यक खर्चदेखि शाखा कटौतिमा कम्पनीहरु लाग्नु पर्छ तर कर्मचारी कटौति भने गर्नु हुँदैन’, कार्यकारी निर्देशक पौडेलले भने । बीमा कम्पनीहरु पनि सकेसम्म कर्मचारी कटौति नगर्ने मुडमा छन् । तर, आम्दानी घटेर कम्पनी नै समस्या पर्ने अवस्था आएको अवस्थामा कम्पनी बचाउन सबै विकल्पमा सोच्नुपर्ने उनीहरुको भनाइ छ । सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) चंकी क्षेत्री अहिले कर्मचारी कटौतिभन्दा पनि अन्य विकल्पका बारेमा गृहकार्य भइरहेको बताउँछन् । पहिलो चरणमा स्थानान्तरण गर्दा हुने शाखालाई नजिकको शाखामा गाभ्ने कार्य हुने उनको भनाइ छ । ‘बिमितलाई दिने सेवा सुविधामा कुनै सम्झौता गरिएको छैन, सकेसम्म सुविधा प्रदान गर्ने गरी काम भइरहेको छ, तर पछिल्लो समय खोलिएका शाखाहरुमा बिमितको आकर्षण देखिएको पाइएन, यसको मुख्य कारण कोरोना भाइरस संक्रमणको सन्त्रास नै हो, अहिले हामीहरु कम चाप देखिएका शाखालाई नजिकको शाखामा गाभ्ने लगायतका प्रयास गर्दा हुन्छ कि भन्ने सोचमै छौं,’ नेपाल बिमक संघका महासचिव समेत रहेका क्षेत्रीले भने । सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल बीमा कम्पनीहरु अब कसरी अगाडि बढ्नुपर्छ भनेर अध्ययन भइरहेको बताउँछन् । सो अध्ययनले दिएका विकल्पमा रहेर अघि बढ्ने योजनामा आफूहरु रहेको उनको भनाइ छ । ‘बीमा कम्पनीहरुले आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा योजना बनाइरहेका छन्, कोरोना महामारी आउनु अघि र कोरोना महामारी आएपछि बीमा बजारमा केही भिन्नता अवश्य नै हुनेछ, चलिरहेको शाखा त बन्द गर्ने कुरा भएन तर ग्राहक कम भएका शाखाहरु भने केही समयका लागि रोक्दा हुने देखिएको छ,’ प्रमुख कार्यकारी अधिकृत अर्यालले भने । केही समयअघिसम्म बीमा कम्पनीहरु मर्जर जान्छन् भन्ने चर्चा बीमा चलेको थियो । अहिले कोरोना महामारीका कारण बीमा कम्पनीहरु मर्जमा जाने भन्दापनि कम्पनीहरु आफ्नै शाखाहरु मर्ज गर्न केन्द्रित देखिएका छन् । बीमा समितिले पनि कुनै कम्पनीलाई कुनै शाखा बन्द गर्नुपर्ने अवस्था आए नजिकको शाखामा गाभेर सेवा प्रवाह गर्न भनेको छ ।

सनराइज बैंक र अष्ट्रेलियाको रोयल रेमिटबीच अनलाइन रेमिट्यान्स सम्झौता

काठमाडौं । सनराइज बैंक र अष्ट्रेलिया स्थित रोयल रेमिटमार्फत अनलाइन माध्यमबाट विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार अष्ट्रेलियामा रहेका नेपालीहरुले नेपालमा पैसा पठाउन थप सरल र सुलभ हुने छ । यसरी रोयल रेमिट नेपाल मार्फत पैसा पठाउदा उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत गरेको छ । रोयल रेमिट नेपाल मार्पmत अष्ट्रेलियाबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सनराइज बैंकका देशभर रहेका १३० शाखाहरु तथा बैंकका देशभरी छरिएका १० हजारभन्दा बढी एजेन्ट सञ्जाल मार्फत सजिलै नगद भुक्तानी लिन सकिनेछ । साथै, बैंक खातावालाको हकमा भने, यो सेवा सनराइज बैंकको खातामा मात्र सिमित नभई देशका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुको खाताहरुमा समेत केही मिनेटमै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ ।

ढलमा कोरोना देखिँदैमा आत्तिनु पर्दैन: जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डे

काठमाडौं । ढलमा कोरोना देखिँदैमा आत्तिनु नर्पेन जनस्वास्थ्यविद् रविन्द्र पाण्डेले बताएका छन् । सेन्टर फर मलिक्युलर डायनामिक्स नेपालले गरेको ‘ईन्भारुमेन्टल सर्भिलेन्स अफ सार्स’ नामक अध्यनमा काठमाडौंको दुई ठाउँको ढलमा कोरोना देखिएको थियो । पाण्डेले सिमित ठाउँमा गरिएको अध्यनले डराईहाल्नु पर्ने अवस्था नरहेका बताउँछन् । यद्यपी धेरै ठाउँमा परीक्षण गरेको अवस्थामा भने संभावित महामारीको पुर्व अनुमान गर्न सकिने उनले बताए । यस्तो किसिमको परीक्षण सर्भेको लागि गरिने गरिएको पाण्डेले बताए । टाइफाइड, हैजा लगायतका रोग समुदायमा छ कि छैन भनेर पनि यो खालको परीक्षण गर्ने पुरानो विधि हाे, उनी भन्छन् । कोरोना भाइरस जीवित कोषमा मात्र बाँच्न सक्ने हुनाले ढलमा देखिएको कोरोना भाईरस मानिसमा नर्सने उनले बताए । ढल मिसिएको पानी खाँदा पनि कोरोना संक्रमण सरेको प्रमाणित नभएको पनि पाण्डे बताउँछन् । ढलको परीक्षणबाट कोरोना भाइरसका टुक्रा, भाइरसको फोहोर वा जिन देखिने हा, पाण्डे भन्छन् । उनले भने, ‘स्पेनको बार्सिलोनामा गत २०१९ मार्च महिनामा ढलको परीक्षणमा कोरोना भाइरस देखिएको थियो । त्यस्तै ब्राजिलमा २०१९ नोभेम्बर २७ र डिसेम्बरमा इटलीमा पनि यो परीक्षण गरिएको थियो तर त्यो समयमा त्यहाँ कोरोना संक्रमणको महामारी फैलिएको थिएन । ढलमा देखिनेबित्तिकै महामारी हुँदैन, तर यसले के संकेत गर्छ भने समुदायमा संक्रमण छ, परीक्षण तीब्र गतिमा गर्नु जरुरी छ । ‘ यसलाई ध्यानमा राख्दै सरकारले परीक्षणहरुलाई तिव्रताको साथ बढाउनु पर्ने उनले बताए । यो समयमा सकभर घरभित्र बस्न र बाहिर जानुपरे सहि तरिकाले मास्क, चस्मा र पंजा लगाउन, मानिसहरुसँग ६ फिटको व्यक्तिगत दुरी कायम गर्न, भीडभाडमा नजान, साबुनपानीले पटकपटक हात धुने र हातले अनुहार छुने बानी हटाउन पाण्डे सुझाव दिन्छन् ।

निजी विद्यालय संचालक आन्दोलनबाट पछाडि हट्याे, अनलाइन कक्षा निरन्तर

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । सरकारसँग आइतबार भएको वार्ता सफल भएकाे भन्दै निजी विद्यालय सञ्चालकहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका एनप्याबसनका अध्यक्ष रितु राज सापकाेटाले बताए । हालकाे लागि वार्ता नसकिएसम्मकाे लागि आन्दोलन स्थगित गरिएकाे उनले बताए । विद्यालय सञ्चालकहरूले असार १ गतेबाट हुने विद्यालय भर्नाकाे, अनलाईन शिक्षाकाे शुल्क संकलन गर्न नपाएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए । सरकारले विद्यालयका शिक्षक तथा कर्मचारीलाई कसरी तलब दिने विषयमा ध्यान दिँदै एउटा न्युनतम शुल्क ताेकिनुपर्न सापकाेटा बताउँछन् । यसका साथै सहुलियतमा ऋण दिनुपर्न व्यवस्था पनि गरिनुपर्न आफुहरुङ्काे माग रहेकाे उनले बताए । यसका साथै उनीहरुले अनलाईन रेडियाे मार्फत स‌ंचालन भईरहेका कक्षा पनि स्थगित गर्न बताएका थिए । तर अब यस मार्फत भईरहेका कक्षाहरु निरन्तरता दिने सापकाेटाले बताए ।

गरगहनाको परिक्षण तालिम समापन

काठमाडाैं ।  नेपाल सरकार, अर्थमन्त्रालय, भन्सार विभाग अन्तर्गतको त्रिभुवन विमानस्थल भंसार कार्यालय र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको संयुक्त आयोजनामा भएकाे सुन, चाँदी, हीरा तथा सुनचाँदीका गरगहना परीक्षण सम्बन्धि ५ दिने तालिम कार्यक्रमको समापन भएको छ । भन्सार कार्यालयमा कार्यरत कर्मचारीहरुका लागि प्रदान गरेकाे उक्त तालिम समापन कार्यक्रममा प्रमुख अतिथि, भंसार विभागका महानिर्देशक सुमन दाहालबाट नियामक निकायमा यस किसिमको गरगहना सम्बन्धि प्राविधिक तालिम पहिलो र ऐतिहासिक भएको बताए ।  देशभरीका सम्बन्धित कर्मचारीहरुलाई प्रशिक्षणको व्यवस्था गर्दै जान महासंघबाट सहयोग हुने अपेक्षा राखेकाे जनाए । साथै अत्यन्त छोटो समयको बवजुट पनि यस किसिमको प्रशिक्षण तालिम कक्षाको व्यवस्था गरिदिनु भएकोमा प्रशिक्षक तथा महासंघलाई धन्यवाद व्यक्त गरे । प्रशिक्षार्थी कर्मचारीहरुबाट यस तालिमबाट प्राप्त भएको अनुभव सुन्न पाउँदा आफू खुशी भएको बताए  । सो अवसरमा कार्यालय प्रमुख शम्भु प्रसाद मरासिनिले विज्ञहरुको कमिका कारणले भंसार चेक जाँचमा जटिल समस्या आईरहेको बेला यस परिक्षण तालिमबाट समस्या समाधान हुने बताए । समापन कार्यक्रमा प्रशिक्षार्थीहरुद्वारा उक्त तालिमबाट सुनचाँदी गरगहना परिक्षण सम्बन्धि ठूलो ज्ञान पाएको बताए । साे कार्यक्रमको अध्यक्षता गर्दै नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले यस किसिमका तालिमहरुले निजी तथा सरकारी निकाय विच विश्वासको वातावरण सिर्जना हुनेछ । साथै निजी र सरकारी सहकार्यबाट नै राष्ट्रको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताउनुभयो र नियामक निकायमा क्षेत्रगत विज्ञहरु भई दिएमा राजस्व अभिवृद्धि र निर्यात प्रवद्र्धनमा पनि अहम भूमिका खेल्ने विश्वास समेत बताए ।