अब मास्क नलगाउनेलाई प्रहरीले पक्राउ गर्ने
काठमाडौं । अब मास्क नलगाउनेलाई प्रहरीले पक्राउ गर्नेभएको छ । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएको हाे । मन्त्रालयले सोमबार ७७ वटा जिल्लामा नै लागू गर्नेगरी प्रहरी प्रधान कार्यालय नक्साललाई यस्ताे निर्देशन दिएको हो।
नेपाल एयरलाइन्सका तीनजना पाईलट सहित ७ जनामा देखियो कोरोना
काठमाडौं । नेपाल एयरलाइन्सका तीनजना पाईलट सहित ७ जनामा कोरोना देखिएकाे छ । नेपाल एयरलाईन्स प्रवक्ता अर्चना खड्काले तीनजना पाईलट सहित ७ जनामा कोरोना देखिएकाे पुष्टि गरेकी हुन् । एयरलाईन्सकाे ४ सय जनाकाे परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएकाे उनले बताईन् । एयरलाईन्सका कर्मचारीमा काेराेना देखिएकाेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री याेगेश भटराईले दुख व्यक्त गरेका छन् । यस्ताे संकटकालकाे अवस्थामा उनीहरुले गरेकाे काम प्रशंशा याेग्य रहेकाे उनले बताए ।
लकडाउनमा घर बस्ने श्रमिकलाई ५० प्रतिशत तलब, काम गर्नेलाई पुरै
काठमाडौं । निजी क्षेत्रले लकडाउनको समयमा काममा रहेका कर्मचारीलाई शतप्रतिशत र घरमा बसेकाहरुलाई ५० प्रतिशत तलब दिने तयारी गरिरहेकाे छ । कोरोना भाइरसको कारण उत्पन्न लकडाउनले श्रमिकहरुलाई पनि धेरै समस्या भएको भन्दै उद्योगी व्यवसायीले सो तयारी गरिरहेका हुन् । यसका लागि नेपाल उद्योग वाणिज्य महासंघले एक छुट्टै समिति गठन गरेर काम पनि गरिरहेको छ । सो समितिले सरकारलाई घरमा बसेका श्रमिकहरुलाई ५० प्रतिशत र लकडाउनमा पनि निरन्तर काम गरिरहेका कामदारहरुलाई शतप्रतिशत अर्थात १०० प्रतिशत तलब दिने तयारीका साथ सरकबालाई बुझाउने तयारी भइरहेको बताइएको छ । निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य संघ, नेपाल उद्योग परिसंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल चेम्बर अफ कमर्शको बैशाख २ गते बसेको बैठकले लकडाउन अवधिमा कर्मचारीलाई आधा तलब दिने निर्णय गरेको थियो । अझै पनि उनीहरुलाई धेरै समस्या भएको भन्दै चैत महिनाको सतप्रतिशत तलव दिने र बाँकी महिनाको घरमा रहेकालाई ५० र काममा रहेकालाई सतप्रतिशत दिने तयारी भइरहेको महासंघका वरिष्ठ उपाध्यक्ष शेदर गोल्छाले बताए । उनले महासंघद्वारा गठित समितिले तयार पारेको प्रतिवदेन सरकारालई बुझाउने तयारी पनि भइरहेको बताएका छन् । अहिले लकडाउनका कारण उत्पन्न भएको समस्याले आ—आफ्नो उद्योग प्रतिष्ठान र क्षेत्रका लागि सो क्षेत्रसंग सम्बन्धित श्रमिक संगठन वा श्रमिकहरुसंग पनि आपसी छलफल भइरहेको छ । ‘हामीले सुरुदेखि नै लकडाउनकमा घर बसेका श्रमिकहरुलाई ५० प्रतिशत र काममा रहेकालाई सत प्रतिशत तलब दिने भनेका थियौं, जव सरकारले सबैलाई सत प्रतिशत दिनु पर्छ भन्यो काम गर्न कोही पनि आएनन्, यसले एकदमै महत्वपूर्ण उद्योगहरुमा पनि श्रमिकहरु नहुँदा समस्या उत्पन्न भयो,’ उनले भने । ‘लकडाउनको कारण धेरै उद्योग व्यवसायहरु समस्यामा परेकोले धेरै कर्मचारी कटौती गर्नुपर्ने अवस्था आएको पनि उनले स्पष्ट पारे । कति कर्मचारी कटौती गर्ने भन्ने कुराकाे अध्ययन भइरहेको छ, श्रम मन्त्रालयको हेर्ने हो भने झण्डै ५ लाख श्रमिक कटौती वा विस्थापित हुन्छन् भन्ने अनुमान गरेको छ,’ उनले भने । अहिले विस्तारै उद्योग व्यवसायले आफ्नो लय लिएको बताउँदै अब धेरै समस्या आफै हटेर जाने बताए ।
लकडाउनमा १ सय २५ मुद्दा फैसला
काठमाडाैं । लकडाउनको अवधिमा चितवन जिल्ला अदालतबाट १ सय २५ मुद्दा फैसला भएका छन् । कोरोना सङ्क्रमणको समयमा सरकारले लकडाउन गरेसँगै अदालतमा २ सय ३० वटा मुद्दा दर्ता भएको थियो । ती फैसलाबाट ९१ जनालाई कारागार पठाइएको छ । सोही समयमा फैसलाबाट १ सय २१ जना छुटेका छन् । अदालतका स्रेस्तेदार रुद्रमणि गिरीका अनुसार लकडाउनमा बन्दी प्रत्यक्षीकरणमा १, सरकारवादी फौजदारी १ सय २४, दुनियावादी देवानी ८१, दुनियावादी फौजदारी २१ र निषेधाज्ञा तीन वटा मुद्दा दर्ता भएका थिए । फैसला हुनेमा सरकारवादी फौजदारी ४५, दुनियावादी देवानी ४०, दुनियावादी फौजदारी १०, निषेधाज्ञा एक, मिलापत्र २१ भएको छ । यस्तै आठ वटा मुद्दा फिर्ता भएको गिरीले जानकारी दिए । अदालतका अनुसार लकडाउनमा मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १ सय ५५ बमोजिम सुविधा पाउने कैदी १८ रहेका छन् । जसमा एक वर्षसम्म कैद तोकिएकालाई दैनिक ३ सय तिरेर कैद भुक्तान गरेका थिए । यसका लागि २६ वटा निवेदन दर्ता भएका थिए । सोही समयमा २६ पक्राउपूर्जी, जरुरी पक्राउपूर्जी समर्थन ६० वटा, म्याद थप २ सय २३ पटक, विवाह दर्ता दुई, अधिकृत वारेसनामा आठ वटा काम भएको उनले जानकारी दिए । लकडाउनमा पनि कार्यालय बन्द नभई काम भएको यस कार्यालयले चैतको ९ गतेदेखि अभियोग दर्ता, थुनछेक, म्याद थप, जरुरी पक्राउ पूर्जी जस्ता काम रोकिएको थिएन । जेठ १९ गतेपछि थुनुवाको मुद्दा सुनुवाइ, कसुर ठहर भई सजाय निर्धारण, बालबालिकाको मुद्दा सुनुवाइ र विवाह दर्तालगायत जेठ ३० गतेदेखि मुद्दाको डिसमिस, तामेलिका लागि सुनुवाइ, मिलापत्रलगायतका कामसमेत गरिएको कार्यालयले जनाएको छ । असार महिनाबाट सम्पूर्ण काम भइरहेका गिरीले बताए । रासस
देशभरिका बालबालिकालाई आज भिटामिन ए खुवाइँदै
कोभिड– १९ का कारणले रोकिएको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम आज देशभरि एकैसाथ सञ्चालन गरिएको छ । उक्त कार्यक्रमअन्तर्गत बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइएको स्वास्थ्य सेवा विभाग पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिए । ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमअन्तर्गतको दोस्रो चरणको गत वैशाख ६ र ७ गते रोकिएकोमा आज र भोलि दुई दिन चल्नेछ । करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ए करिव २७ लाख ३ हजार ५२२ बालबालिका र जुकाको औषधि २३ लाख ९३ हजार १५२ बालबालिकालाई खुवाइने उहाँले जानकारी दिए । छ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाइन्छ । कोभिड– १९ का कारणले बन्दाबन्दीले गर्दा वैशाख ६ र ७ गते हुने कार्यक्रम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चैत २१ गते रोकेको थियो । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट सरकारले निःशुल्क भिटामिन ए खुवाउँदै आइरहेको छ । यस्तै जुकाको औषधि २०५८ सालदेखि प्रत्येक वर्ष दुईपटक बालबालिकालाई खुवाउने गरिन्छ । पोषण शाखा प्रमुख पराजुलीले आज नै १५ बहुसुक्ष्म पोषण तत्वले बनेको बालभिटा छ महिनादेखि २३ महिनाका बालबालिका समेत सोही कार्यक्रममा खुवाइने बताउनुभयो । त्यस्तै ४१ जिल्लामा लागू गरिएको बालभिटा २०६६ सालदेखि बालबालिकालाई खुवाउन थालिएको हो ।
टेकुमा अझै घटेन कोरोना परीक्षण गराउनेको भीड
काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड–१९ परीक्षणका लागि आउनेको संख्या अत्यधिक हुँदा भीड नियन्त्रण गर्न कठिन भएको छ । काठमाडौँ उपत्यकामा कार्यालय र पसल खुलेसँगै असार लागेदेखि नै अस्पतालमा चाप ह्वात्तै बढेको हो । कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले सामाजिक दूरी कायम गर्न भने पनि अस्पतालमै भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले बताए । व्यवस्थापन गर्न असाध्यै गाह्रो भइरेहको उनले जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सरुवा रोग नियन्त्रण महाशाखाबाट कुनै निर्देशन नआएको उनको भनाइ छ । उनले भने, “मन्त्रालयाटै स्पष्ट निर्देशन नहुँदा समस्या व्यवस्थापन गर्न असाध्यै गाह्रो भइरेहको छ ।” अहिले दैनिक ७ सयदेखि १ हजार ३ सयसम्म कोरोना परीक्षणका लागि आउने गर्द छन् । शुक्रबार ९ सय जना परीक्षणका लागि आएको जनाइएको छ । अस्पतालले सामाजिक दूरी कायम गर्न आग्रह गर्दै आएको छ । भीड धेरै हुँदा दूरी कायम गर्न गाह्रो भएको छ । अस्पतालले ट्राकिङ गरेर आश्यकको मात्रै परीक्षण गरिरहेको छ । अस्पतालले सङ्क्रमणको जोखिममा रहेका वर्ग वा सङ्क्रमित बढी भएका स्थान वा सङ्क्रमितसँग सम्पर्कमा आएकालाई रातो श्रेणीमा पार्ने गरेको छ । उच्च जोखिमका मानिसलाई रातो दिएर परीक्षण गर्ने व्यवस्था मिलाएको छ । परीक्षण गर्न नपर्ने छन् उनीहरुलाई हरियो दिएर पठाउने गरेको छ । अस्पतालमा अहिले जोखिममा नपर्ने व्यक्ति बढी सङ्ख्यामा परीक्षणका लागि आइरहेका छन् । बन्दाबन्दी हुनासाथ काठमाडौं उपत्यका बाहिर गएकालाई अहिले सम्बन्धित पालिका वा घरबेटीले परीक्षण गराएर मात्रै प्रवेश गर्न भनेका छन् । कर्मचारी नै मन्त्रालय जाने जनाउँदै पिसिआर परीक्षण गर्न आउने गरेका बताइएको छ । अस्पतालले पहुँच भएका व्यक्तिभन्दा पनि आवश्यक व्यक्तिको मात्रै परीक्षण गर्दै आएको छ । बन्दाबन्दीमा उपत्यका बाहिर गएकाले अहिले घरबेटीलाई देखाउन परीक्षण गर्नेको सङ्ख्या सबैभन्दा बढी छ । प्रहरी हिरासतमा रहेर म्याद थप गर्न वा पेश्कीका लागि अदालत जानेलाई अदालतले परीक्षण गरेर रिपोर्टको माग गरेको छ । अदालतको प्रयोजनका लागि आउनेमध्ये धेरै जोखिम नभएको भएकाले उनीहरुको परीक्षण नगरिने निर्देशक डा भण्डारीले बताए । उनले भने, “अदालतबाट आउने सबै जोखिममा नभएकाले हामीले आवश्यकको मात्रै गरिरहेका छौं ।” कोभिड–१९ को जोखिम कम गर्न अस्पतालको परिसरमा भीडभाड कम गर्न प्रशासनले भनेको छ । अस्पतालमा आउनेको ट्रेसिङ गर्ने, हिस्ट्रि जानकारी लिने, तापक्रम हेर्ने गरिएको छ । व्यक्तिलाई सङ्क्रमणको जोखिम भएकामा रातो र नभएमा हरियो दिइनेछ । सरकारी वा गैरसरकारी संस्था वा नेपाल प्रहरीलगायत सुरक्षा निकायले पनि उपत्यका बाहिरबाट भर्खर आएकालाई परीक्षण अनिवार्य गरेको उनले बताए । अस्पतालले पहिले व्यक्तिका विवरण सङ्कलन गरेर आवश्यकलाई मात्रै परीक्षण गर्दै आएको छ । उपत्यका बाहिरबाट आउनेमध्ये जोखिममा रहेकाको मात्रै परीक्षण हुने गरेको छ । उनले भने, “परीक्षण गर्नु पर्दैन भनेकाहरु कर्मचारीलाई धम्की दिने गर्छन् ।” दैनिक २ सय ८८ परीक्षण गर्नसक्ने अस्पतालको क्षमता छ । अस्पतालले एक दिन गरेको परीक्षणको अर्को दिनमा रिपोर्ट दिने गरेको उनले जानकारी दिए । सरकारले केही अस्पतालबाट अत्यावश्यक परेका व्यक्तिले शुल्क तिरेर पनि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । यसले यहाँको चाप कम हुने आशा गरिएको छ । उनले भने, “गर्नसक्ने उताबाट गर्छन् भने विपन्न वर्ग निःशुल्क गर्नका लागि तोकिएका अस्पताल जानेछन् ।” अस्पतालमा आएकामध्ये झण्डै २० देखि २५ प्रतिशतको मात्रै परीक्षण हुने गरेको अस्पतालले जनाएको छ । परीक्षणको आवश्यक नपर्ने बाँकी ७५ देखि ८० प्रतिशतलाई काउन्सिलिङ गरेर घर पठाइने गरेको छ । उपत्यकामा कुनै पनि पालिकाले कोभिड–१९ को जोखिम कम गर्न आवश्यक तयारी नगरेको उनको आरोप छ । सबैभन्दा बढी जनसङ्ख्याको बसोबास रहेको काठमाडौं महानगरपालिकाले पनि कुनै तयारी गरेको छैन । उनले भने, “एउटा राम्रो क्वारेन्टिनसमेत व्यवस्था भएको पाइँदैन ।” अस्पतालमा अहिले दुई जना सघन उपचार कक्षमा र आइसोलेशनमा २२ जना छन् । अस्पतालले केही समय पहिले मात्रै सघन उपचार कक्ष श्याय बढाएको थियो । अस्पतालले दिँदै आएका धेरै किसिमका सेवा वीर अस्पतालमा सारिएको छ । रेविजविरुद्धको खोप भने यहीँबाट लगाइने गरिएको छ । रासस
साधना लघुवित्तको आईपीओमा ८ गुणा बढीको आवेदन पर्याे, कतिले भरे ?
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको साधारण सेयर(आईपीओ)मा ८ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार दोश्रो दिन अर्थात सोमबार पौने २ बजेसम्म ५५ लाख ९८ हजार २ सय कित्ता सेयरको लागि आवेदन परेको छ । जुन संस्थाले माग गरेकाे भन्दा ८.४६ गुणा बढी हाे । सो अवधिसम्ममा २ लाख २५ हजार ७ सय २० जनाले सो मात्राको सेयरको लागि आवेदन दिएका छन् । संस्थाले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ७ लाख ७ हजार ८ सय कित्ता अर्थात ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आईपीओ बिक्रीमा राखेको छ । जसमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८ सय ९० कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरेको छ । त्यस्तै, सर्वसाधारणलाई छुट्याएको सेयर मध्येको ५ प्रतिशत अर्थात ३५ हजार ३ सय ९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहने ६ लाख ६१ हजार ५ सय २० कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरिने संस्थाले जनाएको छ । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । उनीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट तथा मेरो सेयरमार्फत पनि आवेदन दिन सक्नेछन् । यो आईपीओको निष्कासन बन्द छिटोमा असार २४ गते र ढिलामा साउन ४ गतेसम्म हुनेछ ।
उत्तरी मोजाम्बिकमा ग्यास परियोजनाका कामदारमाथि गोली प्रहार, ८ जनाको मृत्यु
मापुतो । मोजाम्बिकको उत्तरी क्षेत्रस्थित एक निजी ग्यास परियोजनामा कार्यरत मजदूरमाथि बन्धुकधारीले गोली प्रहार गरी हत्या गरिदिएका छन् । कम्पनीका अनुसार बाटो ढुकेर बसेका बन्धुकधारीले गोली चलाउँदा कम्पनीमा कार्यरत आठ मजदूरको ज्यान गएको छ । उत्तरी मोजाम्बिकमा सन् २०१७ देखि जिहादी विद्रोह जारी छ । यस विद्रोहका कारण उक्त क्षेत्रमा एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । विद्रोहका कारण तेल उत्खननका कार्यमा पनि असर परेको छ । तर प्राकृतिक ग्यास (एनएलजी) का परियोजनामा कार्यरत मजदूरमाथिको आक्रमण भने तुलनात्मक रुपमा कम हुने गरेको अधिकारीहरुले बताएका छन् । फ्रान्सेली तेल उत्पादक टोटलले नियुक्त गरेको फेनिक्स कन्ट्रक्सन सर्भिसले गत महिना आफ्नो कम्पनीमा कार्यरत मजदूरहरु चढेको सवारी साधनमाथि मोजाम्बिकको सेनाको पोशाकमा आएका पाँच जना बन्धुकधारीले गोली चलाउँदा केही मजदूर घाइते भएका र तीन जना अझै बेपत्ता रहेको बताएको छ । संयुक्तराष्ट्र संघले गत मे महिनामा सार्वजनिक गरेको अनुमान अनुसार विद्रोही समूहको आक्रमणबाट बिस्थापित हुनेको संख्या २ लाख १० हजार पुगिसकेको छ । तर पछिल्लो समयमा निरन्तर जारी आक्रमणका कारण बिस्थापितको संख्या २ लाख ५० हजार नाघेको स्थानीय सहायता निकायहरुले बताएका छन् । मोजाम्बिकको उत्तरी क्षेत्रमा आक्रमणहरु भइरहे पनि टोटलले २३ अर्ब डलरको ग्यास परियोजनालाई निरन्तरता दिने बताएको छ । रासस–एएफपी