विकासन्युज

विश्वभर १ करोड १७ लाखभन्दा बढी काेराेना संक्रमित, निको हुनेको संख्या ६६ लाख बढी

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट १ करोड १७ लाख ३१ हजार ८ सय ३६ जना संक्रमित भइसकेका छन् । नेपाली समयअनुसार सोमबार विहान साढे ६ बजेसम्म संसारभरीका ५ लाख ४० हजार १ सय १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोनाको उपचार पछि ६६ लाख २२ हजारभन्दा बढी मानिस निको भएका छन् । सबैभन्दा बढी अमेरिकामा ३० लाख ३९ हजार ९ सयभन्दा बढी कोरोना संक्रमित छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३२ हजार ९ सयभन्दा बढी रहेका छन् । उपचारपछि १३ लाख १० हजारभन्दा बढी निको भइ घर फर्किएका छन् । उच्च कोरोना संक्रमणको तेस्रो स्थानमा आइपुगेको छिमेकी देश भारतमा ७ लाख २० हजार ३ सय ४६ जना संक्रमित पुगेका छन् । २० हजार १ सय ७४ जनाको मृत्यु भइसकेको छ भने ४ लाख ४० हजार उपचार पछि निको भएका छन् । त्यस्तै नेपालमा हालसम्म १५ हजार ९ सय ६४ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट ३५ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ६ हजार ८ सय ११ जना कोरोना संक्रमित उपचार पछि निको भइ घर फर्किएका छन् । (वल्डोमिटर)

हिमालयन बैंकको सीइओमा पुनः अशोक राणा, बनाए नयाँ रेकर्ड

काठमाडौं । हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक शमशेर राणा पुन नियुक्त भएका छन् । आज (२२ असारमा) बसेको बैंक संचालक समिति बैठकले राणालाई नै प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो । राणालाई थप ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय भएको एक संचालकले जानकारी दिए । राणाको कार्यकाल सकिएपछि आजैदेखि लागू हुने गरी अर्काे ४ वर्षे कार्यकालको लागि नियुक्त गरिएको छ । अर्काे एक कार्यकालको लागि बाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृत पदमा सबैभन्दा लामो समय बस्ने नेपाली बैंकरको रेकर्ड पनि राणाले बनाएका छन् । नेपाली बाणिज्य बैंकमा अब उनीभन्दा लामो समय प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी बहन गरेका नेपाली बैंकर छैनन् ।

काठमाडौंमा घर खाली हुन थाले, कोठाभाडा पनि सस्तो हुँदै

काठमाडौं । कोरोना संक्रमण सुरू हुनुअघि काठमाडौं उपत्यकामा कोठा पाउँन साह्रै कठिन थियो । तर लकडाउन भएको १ सयभन्दा धेरै दिन भएपछि काठमाडौं उपत्यकामा पसल र कोठाहरु खाली हुन थालेका छन् । कोरोनाको कारणले व्यापार नभएको र भाडामा बस्नेहरुको पनि काम नभएको कारणले कोठा र सटर छाड्न थालेका छन् । लडाउनको कारणले काठमाडौंमा भोकै परिएला कि भनेर गाउँ फर्कनेकाे संख्या बढेकाे छ । लकडाउन अघिसम्म काठमाडौं उपत्यकामा कोठा मुस्किल हुन्थ्याे। तर लकडाउनले गर्दा सबै आर्थिक क्रियाकलाप बन्द जस्तै रहेको कारणले कोठा र सटरहरु खाली हुन थालेका छन् । काठमाडौंका कोठाहरु खाली हुनथाले पछि घरधनीले सस्तोमा नै कोठा भाडामा दिन थालेका छन् । कलंकीको मैत्रीनगर बस्ने राजु बलामीले ३ वटा कोठा २० हजारमा लिएका थिए । तर, लकडाउनको कारणले उनले आफु बस्ने नजिकै ३ वटा कोठा १२ हजारमा पाए । ‘लकडाउनले गर्दा पहिले बसेको भन्दा ठूलो कोठा सस्तोमा पाए, अहिले धेरैतिर कोठा खाली भैरहेका छन्, पहिले घरधनीले भनेको जति भाडा तिर्दा पनि राम्रो कोठा पाउन सकिदैन थियो तर अहिले रोजेर कोठा छान्न पाइएको छ,’ बलामीले भने । काठमाडौंमा कोठा मात्रै हाेइन, सटरहरु पनि खाली हुन थालेका छन् । व्यापार गर्ने व्यापारीहरुले व्यापार नभएपछि सटर छाड्न थालेका हुन् । उपत्यकाभरि नै कोठा खाली हुन क्रम सुरु भएको छ । काठमाडौंको कलंकी, कालिमाटी, बल्खु, टेकु, थापाथली, सतुंगल, नयाँबजार, कीर्तिपुर, धोबिघाट, तिनकुने, जडिबुटी, बलाजु र थानकोट लगायतका स्थानमा कोठा खाली हुन थालेका छन् । व्यापारिक क्षेत्र दबारमार्ग, न्यूरोड र असन लगायतका ठाउमा पनि सटर खाली हुन थालेका छन् । व्यापारीहरुले व्यापार नभएको कारणले घरधनीलाई भाडा दिन नसकिने अवस्था आएको भन्दै सटरहरु खाली गर्न थालेका छन् । घरभाडा छुट नदिजे घरधनीहरुको घर खाली हुन थालेका छ । कारोनाको कारणले आर्थिक क्रियाकलाप बन्द जस्तै रहेको अवस्थामा पनि भाडा छुट नदिएपछि सस्तो कोठा खोजेर भाडामा बस्नेहरु कोठा सर्न थालेका छन् । कालिमाटी बस्ने मकवानपुरका अमिर लामाले आफ्नो कोठाको सामान बाेकेर घर फर्केका छन् । अब उनी काठमाडाैं फर्कने नफर्कने निर्णय गर्न सक्ने अवस्थामा पनि छैनन् । देशका सहरी क्षेत्रमा मानिसको बसोबासको चाप बढ्दै गएको थियो । तर कोरोनाले सहरी क्षेत्रको चाप घट्दै गएको छ । कतिले कामको कारण, अध्ययन वा उपचार जस्ता विविध कारणले सहरी क्षेत्रलाई बसोबासको मुख्य केन्द्र बनाउनेको गरेका थिए । तर कोरोनाको कारणले गाउँमा नै बस्न थालेका हुन । मानिसहरुले सहरी क्षेत्रमा कमाएर, पैतृक सम्पत्ति बेचेर वा ऋण काढेर बस्न र घर बनाउन सहरी क्षेत्र रोजने गरेका थिए । तर कोरोनाको कारणले काठमाडौंका आकर्षण घट्दै गएको छ । उपत्यकामा विद्यालय, कलेज पढ्ने र संघसंस्थाका काम गरेर बसोबास गर्नेहरु गाउँमा गएका कारणले पनि काठमाडौंमा कोठा खाली हुन थालेका हुन । घर बहालबाट प्राप्त हुने रकमले आफ्नो घरव्यवहार चलाउँदै आएका घरधनीहरु कोठा खाली हुनथाले पछि सस्तोमा नै कोठा दिन थालेका छन् । बहालमा बस्ने धेरै मानिसहरु छोटो-छोटो समयमै भाडा दर बढ्ने कारणले बहालवालाहरुलाई मर्का पर्ने गरेको थियो । घर धनीहरुको मनपरी तरिकाले चर्को भाडादर लिएर नै कोठामा बस्नेहरु समस्यामा पर्ने गरेका थिए । तर, काेराेना भाइरस संक्रमणकाे कारण धेरैले काठमाडाैं उपत्यका जस्ता शहरी क्षेत्रकाे बसाइ नै टुंग्याएपछि घरधनीहरू समस्यामा परेका हुन् ।

साढे २ लाख बढीले भरे साधना लघुवित्तको आईपीओ

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको साधारण सेयर(आईपीओ) जारी भएको दोश्रो दिनसम्ममा साढे २ लाख बढीले आवेदन दिएका छन् । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुुसार सोमबार साँझ ५ बजेसम्ममा २ लाख ५६ हजार २ सय ८१ जनाले ६२ लाख ९५ हजार २ सय ७० कित्ता सेयर माग गरेका छन् । सेयर निष्काशन गरेकाे पहिलाे दिन नै मागभन्दा ५ गुणा बढी आवेदन परेकाे उक्त सेयरमा साेमबार(दाेश्राे दिन)सम्ममा साढे ९ गुणा बढी आवेदन परेकाे छ। संस्थाले असार  २१ गतेदेखि ६ लाख ६१ हजार ५ सय २० कित्ता साधारण सेयर निष्काशन गरेकाे छ । संस्थाले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ७ लाख ७ हजार ८ सय कित्ता अर्थात ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आईपीओ बिक्रीमा राखेको छ । जसमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८ सय ९० कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरेको छ । त्यस्तै, सर्वसाधारणलाई छुट्याएको सेयर मध्येको ५ प्रतिशत अर्थात ३५ हजार ३ सय ९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहेकाे ६ लाख ६१ हजार ५ सय २० कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरेकाे हाे। यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । उनीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट तथा मेरो सेयरमार्फत पनि आवेदन दिन सक्नेछन् । यो आईपीओको निष्कासन बन्द छिटोमा असार २४ गते र ढिलामा साउन ४ गतेसम्म हुनेछ ।

अकूत सम्पत्ति कमाएको अभियोगमा सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इञ्जिनीयर यादवविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसनधान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इञ्जिनीयर चन्द्रनारायण यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भनी आयोगमा परेको उजुरीमाथि छानबिन गर्दा यादवले वैध भन्दा अवैध आय बढिरहेको पाइएको हो । आयोगका अनुसार यादव २०३६ मङ्सिर २ गते सुनसरी मोरङ सिँचाइ विकास समितिमा ओभरसियर पदमा नियुक्ति भएको र २०७४ फागुन १६ गते अवकाश भएको उल्लेख छ । आयोगका अनुसार २०७४ फागुनसम्म दुगर्म तथा स्थानीय भत्ता, कृषि आय, कर्जालगायत रु एक करोड दुई लाख ७४ हजार ७३९ बराबरको रहेको छ । यादवले श्रीमती राधाकुमारी, छोरी आँचलको नाममा समेत लगानी गरेको पाइएको छ । आयोगको अनुसन्धानमा यादवको रु एक करोड ८५ लाख ११ हजार ७२८ बराबरको आय अवैध रहेको पाइएको छ । आयोगले आरोपी यादवको बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । यस्तै ललितपुरको कोन्ज्योसोम गाँउपालिका–५ को सडक निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा उपभोक्ता समितिका अध्यक्ष मानबहादुर श्रेष्ठ, सचिव रमेश मोक्तान र कोषाध्यक्ष सानुमैया श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले उनीहरु विरुद्ध रु १५ लाख ५७ हजार ९८२ बराबरको भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

प्राधिकरणले किन बनायो २ वटा मात्रै सिम प्रयोग गर्न पाइने नियम ?

काठमाडौं । नेपाल दूर–संचार प्राधिकरणले अबदेखि एक जनाले २ वटाभन्दा बढी सिम कार्ड प्रयोग गर्न नमिल्ने व्यवस्था गरेको छ । अन्य सेवा प्रदायकको २ वटा मात्रै सिम प्रयोग गर्न पाइने भएपनि नेपाल टेलिकमको हकमा भने ग्राहकले सिडीएमएको समेत थप एउटा सिम गरी ३ वटा प्रयोग गर्न सक्ने छन् । यस्तो प्रबन्ध सेवा प्रदायकहरुले आफ्ना ग्राहकहरुलाई सिम कार्ड बेच्दा मिलाउनु पर्नेछ । नियामक निकाय नेपाल दूरसंचार प्राधिकरण (एनटीए) ले सबै सेवा प्रदायकहरुलाई सो विषयमा निर्देशन समेत जारी गरेको छ । अहिलेसम्म बजारमा एकै जनाले विभिन्न सेवा प्रदायकका थुप्रै सिम कार्डहरु प्रयोग गर्दै आएका छन् । ग्राहकले आफ्नो आवश्यकता अनुसार धेरै सिम कार्डहरु किन्ने गरेका हुन् । किन रोक्यो प्राधिकरणले ? एनटीएका अनुसार एक जना व्यक्तिको नाममा धेरै वटा सिम कार्ड निकाल्दा दुरुपयोग बढ्ने सम्भावना हुन्छ । आफ्नो नामको सिम कार्ड आफैले प्रयोग गर्दा फोनको दुरुपयोग हुने सम्भावना कम हुन्छ । एनटीएका प्रवक्ता मिन प्रसाद अर्यालका अनुसार नेपालमा मात्र नभई अन्य देशमापनि सिम कार्डमा लिमिट तोकिएको छ । ‘हाम्रो देशमा मात्र होइन, अरु देशले पनि सिम कार्ड प्रयोग गर्दा लिमिट तोक्ने गरिएको छ, यसले सबै पक्षलाई राम्रो हुन्छ, मुख्य कुरा त सिम कार्डको दूरुपयोग रोकिन्छ’, प्रवक्ता अर्यालले भने । अहिले मोवाइल फोनको प्रयोग बढ्दो क्रममा छ । डिजिटल फाइनान्सिङमा ग्राहकको आकर्षण बढ्दो छ । सरकारले प्रयोग गरेको नागरिक एपहरुमा समेत सिम कार्डको प्रयोग हुन्छ । एकजनाले नै धेरै वटा सिम कार्ड निकाल्दा गोपनीयता कायम हुन नसक्ने प्राधिकरणको भनाइ छ । त्यसरी अर्काको नामको सिम चलाउदा उक्त सिम कार्डहरुमा लेखिएका सेक्यूरिटी कोडहरु सुरक्षित नहुने एनटीए बताउँछ । सिम कार्डको गलत प्रयोग हुनबाट रोक्न तथा अपराधिक क्रियाकलापमा मोबाइलको प्रयोग हुन नदिन सिम कार्ड लिमिटेसन गर्नु पर्ने एनटीएको दाबी छ । आफ्नो घर परिवारको लागि सिम निकाल्दा समेत परिवार बाहिरको मान्छेहरुले प्रयोग गर्ने गरेको भेटिएको एनटीएले जानकारी दिएको छ । तर, त्यसरी सिम कार्डको प्रयोग गर्दा सिम कार्ड चलाएको व्यक्तिले गल्ती गरेपनि जसको नाममा सिम छ सोही व्यक्ति दोषी हुने भएकोले पनि सिमकार्डमा कडाइ गरिएको प्राधिकरणले जानकारी दियो ।

सल्यान अस्पतालकाे सेवा आजदेखि पुनःसञ्चालन

सल्यान । सल्यान अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि बन्द केही सेवा आजदेखि पुनःसञ्चालन भएको छ । यही असार ९ गते अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि असार ११ गतेदेखि आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको थियो । करीब डेढ हप्तादेखि अवरुद्ध काम आजदेखि पुनः सञ्चालन गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा अर्जुनकुमार बुढाले जानकारी दिए । असार २१ गते कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीसहित जिल्ला अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएकाले सम्पूर्ण सेवा बन्द भएकामा आजदेखि नियमित रुपमा पुनःसञ्चालन भएको अस्पतालले जनाएको छ । रासस

नेपालमा व्यावसायिक एमआरओ सेवा सञ्चालनको तयारी

काठमाडाैं । हवाई क्षेत्रको आकर्षक बिजनेसका रुपमा लिइने वायुयानको परीक्षण तथा वायुयानका पार्टपुर्जा मर्मत सम्भार (एमआरओ) नेपालमा व्यावसायिक रुपमा सञ्चालनका लागि पहल थालिएको छ । वायुयान मर्मत सम्भारका निम्ति विदेशिने करोडौँ पूँजीको स्वदेशमै उपयोग गरी उड्डयन क्षेत्रलाई प्रोत्साहन गर्नेगरी सरकारले एमआरओ संस्था स्थापनाका लागि पहल थालेको हो । सार्वजनिक निजी साझेदारी (पब्लिक प्राइभेट पार्टनरसिप) मोडलमा एमआरओ संस्था सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरोकारवालासँग छलफल गरेको छ । पर्यटनमन्त्री योगेशकुमार भट्टराईसहित मन्त्रालयका उच्च अधिकारी तथा वायुयान सञ्चालक एवं विज्ञहरुसँग आज मन्त्रालयमा भएको छलफलमा एमआरओसम्बन्धी संस्था स्थापनाको अवधारणा, मोडालिटी, लगानी आदिबारे राय सुझाव लिइयो । त्यसका निम्ति मन्त्रालयले एक कमिटी गठन गरी एमआरओ स्थापनाको प्रक्रिया अघि बढाइने जनाइएको छ । वायुयान मर्मतका लागि दक्ष जनशक्ति नेपालमै रहेको र पूर्वाधार पनि धमाधम बनिरहेकाले यो सम्भावनाको व्यवसाय भएको विज्ञहरु बताउँछन् । उड्डयनको क्षेत्रमा राम्रो आर्थिक आम्दानी हुने क्षेत्रमा एमआरओ पर्छ । नेपाली वायु सेवा कम्पनीले यही कामका लागि विदेशमा वार्षिक करोडौँ खर्चनुपरेको छ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले मात्रै वार्षिक चार लाख अमेरिकी डलरभन्दा बढी एमआरओका लागि खर्च गर्ने गरेको छ । निजी क्षेत्रका वायुसेवा कम्पनीले वार्षिक १५ देखि २० लाख डलर खर्च गर्ने गरेको बताइन्छ । त्यसोत छ वर्षअघि अर्थात विसं २०७० मा पर्यटन मन्त्रालयले एमआरओसम्बन्धी संस्था स्थापनाका लागि एक अध्ययन कमिटी गठन गरेको थियो । पर्यटन मन्त्रालयका सहसचिव सरेश आचार्यको संयोजकत्वमा गठित उक्त समितिले आफ्नो प्रतिवेदन मन्त्रालयलाई बुझाएको भए पनि प्रतिवेदन दराजमै थन्किएको थियो । पर्यटनमन्त्री भट्टराईले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि यो कार्यलाई अघि बढाउन चाँसो देखाए । सोहीअनुरुप नेपालमा एमआरओ संस्था स्थापना र यसमा गरिने लगानी तथा व्यावसायिक लाभका बारेमा विज्ञहरुसँग परामर्श गरिएको हो । पर्यटनमन्त्री भट्टराईले नेपालमा एमआरओसम्बन्धी संस्था सञ्चालनका लागि व्यावसायिक र पूर्वाधारका हिसाबले उपयुक्त रहेको भन्दै यसका लागि चुनौती र सम्भावना दुवै रहेकाले सकारात्मक सुझाव आएको बताए । संस्था शुरुआतीको चरणमा नेपालकै जनशक्ति र क्रमशः विदेशी दक्ष जनशक्ति भित्र्याएर भए पनि स्तरीय एमआरओ सञ्चालन गर्न सकिने उनको भनाइ छ । मन्त्री भट्टराईले उड्डयन क्षेत्रमा पैसा कमाउने आकर्षक क्षेत्र एमआरओ भएकाले नेपाली पूँजी देशमै उपयोग गरी रोजगारी सिर्जनाका साथै उड्डयन क्षेत्रमा आत्मविश्वास बढाउन पनि यो संस्थाको सान्दर्भिकता हुने उल्लेख गरे । नेपालमा पनि जहाजको सङ्ख्या बढिरहेका तथा पूर्वाधार पनि बनिरहेको सन्दर्भमा एमआरओको बहुपक्षीय उपयोग बढाइनुपर्ने उनको भनाइ छ । “उड्डयन क्षेत्रमा ठूलो लगानी गरिरहेका छौँ, पूर्वाधार पनि थपिँदै गएको छ, त्यसैले एमआरओ सञ्चालनका लागि सार्वजनिक निजी साझेदारीमा विदेशीले पनि लगानी गर्नसक्ने गरी संस्थागत संरचना बनाएर जान सकिन्छ”, उनले भने । गैर सैनिक हवाई उडान ऐन २०१५ मो एमआरओ संस्थाका लागि सरकारले इजाजत दिनसक्ने व्यवस्था रहेको छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरण ऐन २०५३ मा पनि एमआरओ संस्थालाई पर्यटन मन्त्रालयबाट इजाजत प्राप्त भएपश्चात प्राधिकरणले सञ्चालन अनुमति दिनसक्ने भनिएको छ । पर्यटन मन्त्रालयको हवाई महाशाखाका एटीसी अधिकृत मुकेश डङ्गोलका अनुसार अहिले नेपालमा बुद्ध एयर र शिरिस मेन्टिनेन्स कम्पनीले एमआरओ सञ्चालन गरेका छन् । तर यी कम्पनीले सीमित प्रकृतिका जहाजलाई मात्रै सेवा दिन्छन् । बुद्ध एयरले एटीआर जहाजलाई मात्रै यस्तो सेवा उपलब्ध गराइरहेको छ । नेपालमा सञ्चालित वायुसेवा कम्पनी आठ देखि १० प्रकारका छन् । विश्वमा एयरबस ३३० र बोइङ ७३७ जहाजको को सर्वाधिक आकर्षण रहेकाले अहिले यी जहाजको सेवालाई मध्यनजर गरी एमआरओ सेवा सञ्चालन गरिरहेको बताइन्छ । छिमेकी मुलुक भारतले पनि एमआरओ सेवा शुरु गरिसकेको छ, भने श्रीलङ्काले पनि यो सेवा सञ्चालन गरिरहेको छ । दक्षिणपूर्वी एशियाली मुलुकमा सिङ्गापुर एमआरओका लागि हबका रुपमा मानिन्छ । नेपालको सन्दर्भमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई एमआरओ हबका रुपमा विकास गर्ने मन्त्रालयको योजना छ । पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सार्वजनिक निजी साझेदारी संस्थाका रुपमा एमआरओ सेवा सञ्चालन गर्न सकिने बताए । सरोकारवालासँग छलफल गरी चाँडै यसको संस्थागत संरचना, मोडालिटी, लगानी आदिबारे निचोडमा पुगिने उनको भनाइ छ । सरकारको कम र निजी क्षेत्रको बढी लगानी हुने गरी नयाँ अभ्यासका रुपमा एमआरओ संस्था सञ्चालनको योजना रहेको मन्त्रालयले जनाएको छ । पर्यटन मन्त्रालयका सह–सचिव सुरेश आचार्यले वायुयान मर्मतका नामका ठूलो धनराशी विदेशीएको सन्दर्भमा नेपालले आफैँ एमआरओ सञ्चालन गर्नसकेको खण्डमा स्वदेशी एयरलाइन्सलाई राहत पुग्ने बताए । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले नेपालमा एमआरओको व्यावसायिक सम्भावना रहेको र हेलिकोप्टर तथा एटीआर जहाजलाई लक्षित गरेर सेवा सञ्चालनको सम्भावना रहेको उनले उल्लेख गरे । हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले एमआरओ संस्था स्थापना गर्ने सैद्धान्तिक हिसाबले ठीक भए पनि व्यवहारिक कठिनाइ हुनसक्ने बताए । निगमका इञ्जिनियरिङ विभागका केबी थापाले वायुयान मर्मतका लागि धेरै खर्चिलो भएको र बिजनेसको हिसाबले यो क्षेत्र आकर्षक रहेको भन्दै राम्ररी अध्ययन गरेर मात्रै संस्था स्थापना गरिनुपर्ने सुझाए । बुद्धएयरका वरिष्ठ इञ्जिनियर उपेन्द्रलाल श्रेष्ठले विदेशी एयरलाइन्सलाई आकर्षण गर्न तथा दक्ष जनशक्ति विकास गर्नसके एमआरओ सेवा सञ्चालनमा कुनै कठिनाइ नहुने बताए । श्री एयरलाइन्सका अध्यक्ष सुधीर मित्तलले नेपालको सन्दर्भमा एमआरओ सेवा अत्यावश्यक भएकाले यसलाई स्वायत्त निकायका रुपमा विकास गरिनुपर्नेमा जोड दिए । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेले एमआरओको व्यावसायिक सम्भावना, आवश्यकताबारे प्रस्तुतीकरण गरेका थिए । अध्यक्ष घिमिरेले जहाजको बाहिरपट्टिको भाग, इञ्जिन तथा जहाजका अन्य पार्टसको मर्मतका लागि विदेशमा करोडौँ खर्च हुने गरेको सन्दर्भमा नेपालमै यो सेवा सञ्चालन भएको खण्डमा एयरलाइन्स सञ्चालकलाई राहत मिल्ने बताए । अहिले जहाजको मुख्य पार्टपुर्जाको मर्मतका लागि बाहिर खर्चगर्नुपर्ने बाध्यता छ । भारतमा सरकारी तवरबाट एमआरओ स्थापना गरिएको छ । त्यहाँको गुजरातमा भर्खरै स्थापना भएको छ । अध्यक्ष घिमिरेले निकट भविष्यम सञ्चालन हुने भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलाई एमआरओ हबका रुपमा विकास गर्न सकिने बताए । रासस