विकासन्युज

कोरोना बीमामा ८ लाख रुपैयाँसम्म क्षतिपूर्ति दिने कम्पनीको प्रस्ताव बीमा समितिले रोक्यो

काठमाडौं । कोरोना बीमामा ८ लाख रुपैयाँसम्म क्षतिपूर्ति दिने गरी एक बीमा कम्पनीले गरेको तयारी बीमा समितिले रोकेको छ । कम्पनीले ८ लाख, ५ लाख, ३ लाख, १ लाख र ५० हजार रुपैयाँ बिमांकको बीमा गर्ने तयारी थालेको थियो । बीमा समितिले बैशाख पहिलाे सातादेखि कोरोना बीमा सुरु गरेको थियो । सो बीमाको बिमांक रकम १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ हुने तय भएको थियो । समितिले ल्याएको कोरोना बीमाको बिमांक बढाउनु पर्छ भन्ने आवाज उठिरहेको अवस्थामा एक कम्पनीले ८ लाख रुपैयाँसम्म बिमांक हुने गरी आफ्नै प्रकारको बीमा योजनाको तयारी गरेको थियो । कम्पनीले गरेको तयारी अनुसार कोरोना बीमामा दाबी भुक्तानी दिन नसकिने अवस्था भएकोले रोकिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । कोरोना बीमाको पुनर्बीमा भएको छैन । यसबाट प्राप्त भएको बीमा शुल्क रकमको एउटा कोष बनाइएको छ भने सो कोषको रकमबाट नपुगेको अवस्थामा नेपाल पुनर्बीमा कम्पनी, सबै निर्जीवन बीमा कम्पनी, सरकार र बीमा समितिले तोकिए अनुसार दाबी भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ । ‘बीमा शुल्कबाट प्राप्त रकमको एउटा कोष बनाइएको छ, दाबी भुक्तानीको लागि नपुग रकम निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी, बीमा समिति र नेपाल सरकारले तिर्ने भनिएको छ, अन्तराष्ट्रिय बीमा कम्पनीहरुले पुनर्बीमा नगरेको र स्रोत व्यवस्थापन गरेर दाबी भुक्तानी गर्नुपर्ने बीमामा यसरी आफूखुसी बिमांक रकम राखेर बीमा गर्न पाइदैन, त्यसैले रोकेका हौं,’ कार्यकारी निर्देशक पौडेलले भने । सो बीमा कम्पनीले भने घातक रोग बीमालाई पनि कोरोना बीमामा समायोजन गरेर मृत्यूपछि मात्रै दाबी भुक्तानी हुने गरी बिमांक तोकेको थियो । समितिले भने १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ मात्रै बिमांक हुने व्यवस्था मिलाएको छ ।

इन्टरनेट सस्तो र गुणस्तरिय हुनुपर्नेमा सरोकारवालाको चासो, करछुट गर्न आइस्पानको माग

काठमाडौं । पछिल्लो समय नेपालमा पनि इन्टरनेट प्रविधिको प्रयोग बढिरहेको छ । इन्टरनेट प्रयोगकर्ता बढेसँगै डिजिटल सर्भिसेस, ई-कमर्श, अनलाइन शिक्षा, डिजिटल स्वास्थ्य र डिजिटल कृषिको आवश्यकता र माग पनि बढिरहेको छ । दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको गत वैशाख २०७७ सम्मको तथ्यांक हेर्ने हो भने नेपालमा ७२ प्रतिशतले इन्टरनेट प्रयोग गरिरहेका छन् । लगभग ५४ प्रतिशत मानिसले मोबाइल डेटाकै प्रयोग गरेर इन्टरनेट चलाइरहेका छन् । तर अहिले पनि ग्रामीण र विकट क्षेत्रहरूमा इन्टरनेटको पहुँच पुग्न सकेको छैन । यसैबीच असार २० गते आयोजित डिजिटल संवाद कार्यक्रममा बोल्दै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ग्रामीण क्षेत्रमा इन्टरनेटको विस्तार मुख्य प्राथमिकतामा रहेको बताए । ग्रामीण दूरसञ्चार कोष मार्फत विभिन्न परियोजना अन्तर्गत कामहरू भइरहेको र ४१ जिल्लाका सम्पूर्ण वडाहरूमा इन्टरनेट विस्तार गरिएको उनको भनाइ छ । फाइबर विस्तारको काममा सडक विभाग र विद्युत् प्राधिकरणसँग समन्वय हुन नसक्दा काममा ढिलाइ भएको र पछिल्लो समय कोरोना, लकडाउन र केही परियोजनामा अदालती प्रक्रिया जस्ता कारणले मध्यपहाडी लोकमार्ग र अन्य क्षेत्रमा केही ढिला हुन गएको अध्यक्ष खनालले स्वीकारे । संवादमा बोल्दै पूर्वमन्त्री गणेश शाहले अब इन्टरनेट आधारभूत आवश्यकता जस्तो भइसकेको हुँदा इन्टरनेट सस्तो र भरपर्दो हुनुपर्ने औंल्याए । डिजिटल नेपाल बनाउने सरकारले तयारी गरे पनि इन्टरनेको पहुँच विस्तार नभएसम्म धेरै काम अघि नबढ्ने हुँदा ग्रामीण क्षेत्रमा डिजिटल कनेक्टिभिटीको पहुँच विस्तारमा जोड दिनुपर्ने शाहले बताए । आइसिटी विज्ञ मनोहर भट्टराईले डिजिटल रूपान्तरणको लागि इन्टरनेट पहिलो शर्त भएको बताए । एआई, आइओटी, बिगडेटा जस्ता नयाँ प्रविधिहरू पनि आइरहेको हुँदा डिजिटल डिभाइड बढ्नेतर्फ सचेत हुँदै ‘मिनिङफुल’ ब्रोडब्याण्ड कनेक्टिभिटीमा जोड दिनुपर्ने उनको भनाइ थियो । डिजिटल संवाद कार्यक्रममा बोल्दै नेपाल टेलिकमका अध्यक्ष डिल्ली अधिकारीले पछिल्लो समय ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँच विस्तारमा उल्लेख्य प्रगति भइरहेको र टेलिकमले विभिन्न योजनाहरू बनाएर काम गरिरहेको बताए । विभिन्न ३५ सय टावरहरू मार्फत फोरजी विस्तार भइरहेको हुँदा यसले डिजिटल रूपान्तरणमा फड्को मार्ने अधिकारीले बताए । पछिल्लो समय नेपाल टेलिकमले दूरसञ्चार कोष अन्तर्गतको परियोजनामा पनि प्राथमिकताको साथ काम गरिरहेको हुँदा अब इन्टरनेटको प्रोडक्टिभिटी र उपयोगितामा पनि जोड दिनुपर्ने उनको भनाइ थियो । यसैगरी दूरसञ्चार प्राधिकरण अन्तर्गत इन्फ्रास्ट्रक्चर डिभिजनका निर्देशक डा. सुरेन्द्र हाडाले अब स्थानीय सरकारसँग समन्वय गर्दै काम गर्नुपर्ने आवश्यकता महशुस भएको बताए । ७०१ स्थानीय तहमा इन्टरनेट विस्तार भइसके पनि अझै उच्च गतिको मिनिङफुल इन्टरनेट विस्तारमा धेरै काम गर्नुपर्ने हाडाको भनाइ थियो । कार्यक्रममा नेपाल टेलिकमका इन्जिनियर अमृत नेपालले टेलिकमले विस्तार गरिरहेको इन्टरनेट र विभिन्न प्रविधिहरूको बारेमा जानकारी गराए । कार्यक्रममा आइस्पानका अध्यक्ष भोजराज भट्टले सरकारले ग्रामीण क्षेत्रमा पहुँच विस्तार गर्न सेवा प्रदायकलाई विभिन्न किसिमले प्रोत्साहन गर्नुपर्ने बताए । उनले इन्टरनेटमा कर बढी भएको, ग्रामीण क्षेत्रमा इन्टरनेट विस्तारको लागि छुट्टै फ्रिक्वेन्सी ब्याण्ड उपलब्ध गराउनुपर्र्नेमा जोड दिए । भायानेट कम्युनिकेसनका निर्देशक सेवा पाठकले ग्रामीण क्षेत्रमा इन्टरनेट विस्तारको लागि लाइसेन्स ब्याण्ड र इन्फ्रास्ट्रक्चर सेयरिङमा जानुपर्ने बताइन् । उनले इकोसिस्टम विकास गर्न स्थानीय स्तरमा उद्यमशीलताको विकास बढाउनुपर्नेमा जोड दिइन् । एभरेष्ट लिंकका सिटिओ चेछन लामाले ग्रामीण क्षेत्रमा इन्टरनेट विस्तार सहज नभएको र यसका लागि स्थानीय बासिन्दालाई बढी अपनत्व हुनेगरी सेवा विस्तार गर्नुपर्नेमा जोड दिए । देशभरमा सयौं स्थानीय निकायका आइटी अफिसर र अन्य सरोकारवालामाझ बोल्दै भेरी नगरपालिकाका मेयर सिपी घर्तीले इन्टरनेटको समस्या र अभावले स्थानीय स्तरमा बजेटमा दिइएको स्मार्टपालिका बनाउने नाराहरू पूरा गर्न नसकिएको बताए । सेवा प्रदायकहरूले गुणस्तरीय सेवामा जोड दिनुपर्ने र स्थानीय निकायसँग समन्वय गरेर काम गनुपर्ने मेयर घर्तीको भनाइ थियो । आइसिटी फोरडीका कार्यकारी निर्देशक पवन शाक्यले पिपिपि मोडसँगै स्थानीय व्यक्तिहरूलाई सक्रिय बनाउँदै ग्रामीण क्षेत्रमा इन्टरनेट विस्तार गर्न सके भरपर्दो हुने बताए । इन्टरनेट विस्तार गर्न नसकिने स्थानमा इन्ट्रानेट र ओपन सोर्स प्लाटफर्महरूबाट पनि सेवा दिन सकिने शाक्यले सुझाव दिए । यसैगरी वयलपाटा अस्पतालका सिनियर इएचआर रमेश महरले विभिन्न समस्या हुँदाहुँदै पनि इन्टरनेट हब बनाउने काम गरिरहेको अनुभव सुनाए । कार्यक्रममा हुम्ला, धनकुटा रुकुमका स्थानीय पालिकाका आइटी अफिसहरूले इन्टरनेटको बारेमा अनुभव सुनाएका थिए । इन्टरनेटको कर घटाऔं र इन्फ्रास्ट्रक्चर सेयरिङमा जाऔंः आइस्पान सरकारले इन्टरनेटमा लगाएको कर महँगो भएको आइस्पानको गुनासो छ । आगामी आर्थिक वर्षमा सेवा प्रदायकलाई मर्मतसम्भारमा ५० प्रतिशत कर छुट गरे पनि यो पर्याप्त नभएको आइस्पानका अध्यक्ष भोजराज भट्टले डिजिटल संवादमा बताए । नेपालमा विभिन्न किसिमका करहरू लगाएर इन्टरनेट महँगो बनाएको र ग्रामीण क्षेत्रमा विस्तार गर्न सेवाप्रदायकलाई प्रोत्साहन नगरिएको उनले गुनासो गरे । यसैगरी इन्फ्रास्ट्रक्चर सेयरिङ, ग्रामीण क्षेत्रमा फ्रिक्वेन्सी ब्याण्ड उपलब्ध गराउनुपर्ने र आरटिडिएफको सही परिचालन गरिनुपर्ने विषयमा इन्टरनेट सेवा प्रदायकले जोड दिएको उनले बताए । ग्रामीण दूरसञ्चार कोषको रकम दुरुपयोग भएको छैनः प्राधिकरण सरकारले ग्रामीण दूरसञ्चार कोषको रकम राजस्वमा तानेको र रकमको सदुपयोग नभएको गुनासो आइरहेको बेला प्राधिकरणले बाहिर भनिएजस्तो दुरुपयोग नभएको प्रष्ट पारेको छ । डिजिटल संवादमा बोल्दै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले कोष अन्तर्गत थुप्रै योजनाहरू अघि बढिरहेको र आधा बढी जिल्लाहरूमा सबै स्थानीय तहसम्म इन्टरनेट विस्तार गरिसकेको जानकारी दिए । विभिन्न चरणमा प्रदेश, क्षेत्र र पूर्वपश्चिम मध्यपहाडी लोकमार्गमा फाइबर विस्तार गर्दै २ वर्षसम्म स्थानीय निकाय, विद्यालय र स्वास्थ्य केन्द्रहरूमा निःशुल्क इन्टरनेट प्रदान गर्ने काम सफलतापूर्वक अघि बढिरहेको खनालले जानकारी दिए । यद्यपि कतिपय स्थानमा सडक विभाग र विद्युत् प्राधिकरणको कारण काम अड्किएको, सुदूरपश्चिममा चाँडै नयाँ टेण्डरबाट शुरू हुन लागेको र कोरोनाको कारण भएको लकडाउनले इन्फ्रास्ट्रक्चर विस्तारमा ढिलाइ भएको अध्यक्ष खनालले स्वीकार गरे । ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गत सञ्चालित परियोजनामार्फत ४१ जिल्लाका वडा वडामा इन्टरनेट सेवा पुगेको प्राधिकरणले बताएको छ । ग्रामीण दूरसञ्चार प्राधिकरणका निर्देशक डा। सुरेन्द्र हाडाले डिजिटल संवाद भइरहेको काम र प्रगति पेश गर्दै ४१ जिल्लाका सबै स्थानीय तहमा इन्टरनेट विस्तार भइरहेको बताए । प्राधिकरणले कोषको रकम खर्चेर विभिन्न १८ वटा प्याकेजमा देशभर इन्टरनेट सेवा विस्तार गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ, जसअन्तर्गत ११ परियोजनाको काम सम्पन्न भएको प्राधिकरणले बताएको छ ।

आरडीटी परीक्षणलाई स्थगित गर्ने स्वास्थ्य मन्त्रालयकाे निर्णय

काठमाडौं । सरकारले आरडिटी परीक्षण स्थगित गर्ने निर्णय गरेकाे छ । मन्त्रालयले मंगलबार एक विज्ञप्ती जारी गर्दै आरडिटी परीक्षण स्थगित गर्ने निर्णय गरेको हो । ‘इनफ इज इनफ’ अभियानसँग स्वास्थ्य मन्त्रालयले १२ बुँदे सहमति गर्दै आरडिटी परीक्षण स्थगित गर्न निर्णय गरेकाे हाे । एक महिना अघि कोरोना भाइरसको महामारीसँग जुध्न सरकारले पर्याप्त कदम नचालेको भन्दै बालुवाटारमा प्रदर्शन गर्दै ‘इनफ इज इनफ’ अभियान सुरू भएको थियो। सर्वसाधारण तथा विज्ञहरु लामो समयदेखि आरडिटी परीक्षण बन्द बन्द गर्नु पर्छ भन्ने आवाज उठाउँदै आएक थिए । यी हुन् सम्झाैता भएका १२ बुँदा:  १. विदेशबाट आएका व्यक्तिहरुलाई पाँच दिन क्वारेन्टीनमा राखेपछि मात्रै परिक्षण गरेर निजहरुको ईच्छा अनुसार होम क्वारेन्टाईन वा होटल क्वारेन्टाईन वा सार्वजनिक क्वारेन्टाईनमा बस्ने वा राख्ने व्यवस्था गर्ने । होम क्वारेन्टिनको निर्देशिका यसै हप्ता तयार गर्ने । २. जोखिममा रहेकाहरूलाई (लक्षण भएका वा नभएका) राज्यको नीति अनुसार पीसीआर परिक्षणको व्यवस्था गर्न हालको निर्देशिकालाई यसै हप्ता भित्र परिमार्जन गर्ने। ३. कोभिड १९ को पहिचानका लागि आरडीटी प्रयोग स्थगित गर्ने। ४. क्वारेन्टीन र होल्डींग सेन्टरमा समयका आधारमा छुट्याएर राख्ने व्यवस्था गर्ने। ५. क्वारेन्टीनमा भएकाहरुलाइ अनिवार्य पिसिआर विधिद्वारा परीक्षण गर्दा नेगेटिभ नतिजा आएमा मात्र समाजमा पुनस्र्थापना गर्ने गराउने व्यवस्था कार्यविधिरनिर्देशिकामा यसै हप्ता भित्र समावेश गर्ने गराउने । ६. सम्मानित सर्वोच्च अदालतको फैसलारआदेश बमोजिम परिक्षण तथा क्वारेन्टिन लगाएतका विषयमा हाल जारि निर्देशिका एवं प्रोटोकललाई परिमार्जन गर्ने। ७. अग्रस्थानमा खटिने स्वास्थ्यकर्मीको सुरक्षा तथा सुविधाको सन्दर्भमा कोरोना महामारीको व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मीको हाल भएको व्यवस्थालाई प्रष्ट पार्दै अंगभंग, घाईते लगाएत हुनसक्ने जोखिमका बारेमा ठोस व्यवस्था गर्ने। स्वास्थ्यकर्मीहरुलाई लगाईने लांक्षणा र गरिने भेदभावलाई अन्त्य गर्ने। ८. कोभिड १९ को आशंका भएका वा कोभिड १९ संक्रमित सबैको संविधान प्रदत्त अधिकारहरुको (मानवधिकार, हिंसा, दुव्र्यवहार वा दवेषभावलगायत हरेक किसिमको विभेदबाट सुरक्षा, उपचार र सार्वजनिक सेवाहरूमा न्यायसंगत पहुँच, गाेपनियताकाे अधिकार लक्षित आवासकाे अधिकार) कार्यान्वयनमा जाेड दिने । ९. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित नभएका मागहरुका सम्बन्धमा सम्बन्धित निकायहरुमा सम्बोधनका लागि लेखि पठाउने । कोभिड १९ को खर्च सम्बन्धि विवरण सार्वजनिकीकरणका लागि अर्थ मन्त्रालय, श्रमिकहरुका सन्दर्भमा श्रम मन्त्रालयलाई र अन्य विषयमा गृह मन्त्रालयलाई एक हप्ता भित्र लेखि पठाउने। १०. बढ्दो गम्भीर प्रकृतिका बिरामीहरूको सङ्ख्यालाई ध्यानमा राखि गहन चिकित्सा कक्ष (आईसीयू) लगायत अस्पताल तथा स्वास्थ्योपचार क्षमतालाई आवाश्यकतानुसार नियमित पूनरावलोकन गर्दै दुरुस्त तयार अवस्थामा राख्ने । ११. कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेका निर्देशिका तथा कार्यविधिहरुको कार्यान्वयन तथा प्रचार प्रसार गर्ने गराउने काममा सबै पक्षले सहयोग गर्ने। कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारलाई समुदाय र नागरिकले सहयोग र हातेमालो गर्ने। १२. सम्झौतामा दस्तखत गरेकै मितिबाट अनसन तोडेको सार्वजनिक गर्ने ।  

 प्रतितोला ७ सय रुपैयाँले बढ्यो सुन, ९० हजार ९ सयमा कारोबार

काठमाडौं । मंगलबार सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भएको सुन ७ सय बढेर सो मूल्यमा बिक्री भइरहेको छ । त्यस्तै सोमबार प्रतितोला ८९ हजार ७ सय ६० रुपैयाँमा कारोबार भएको तेजावी सुन मंगलबार ९० हजार ४ सय ६० रुपैयाँमा बिक्री भइरहेको छ । साेमबार प्रतितोला ९ सय ४० रुपैयाँमा बिक्री भएको चाँदी तोलामा १० रुपैयाँ बढेर ९ सय ५० रुपैयाँमा बिक्री भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

मन्त्रिपरिषद् बैठक बस्दै, आइजीपी नियुक्तिबारे छलफल हुने ?

काठमाडाैं । मंगलवार दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेको लागि बैठक बोलाइएको हो। आजको बैठकमा नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विषयमा छलफल हुने बताइएकाे छ। हालका प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली ३० वर्षे सेवा अवधिको कारण भोलिदेखि अवकास पाउँदैछन्। महानिरिक्षक पदको लागि एआइजीद्वय शैलेस थापा क्षेत्री र हरीबहादुर पाल प्रतिस्पर्धामा छन्। उनीहरु  मध्ये एक जना महानिरीक्षक हुनेछन्।

अमेरिकाले अनलाइन कक्षा मात्रै हुने विदेशी विद्यार्थीको भिसा रद्द गर्ने

काठमाडाैं । अमेरिकामा अध्ययन गरिरहेका विदेशी विद्यार्थीहरूको कक्षा पूर्ण रूपमा अनलाइन हुने भए उनीहरूको भिसा आगामी सेप्टेम्बरदेखि रद्द गरिने बताइएको छ । अमेरिकी अध्यागमन एवम् भन्सार एजेन्सी आईसीईले यो नियम नमान्ने व्यक्तिहरूलाई देशनिकाला पनि गर्न सकिने बताएको छ । कोरोना भाइरस महामारीका कारण थुप्रै अमेरिकी विश्वविद्यालयले कक्षाहरू अनलाइन सञ्चालन गर्न थालेका छन् । यो नियमबाट कति विद्यार्थीलाई असर पर्छ भन्ने स्पष्ट छैन । नेपाली विद्यार्थी कति ? अमेरिकामा सन् २०१९ मा १३ हजारभन्दा बढी नेपाली विद्यार्थी रहेको र त्यहाँ रहेका कुल विदेशी विद्यार्थीहरूको सङ्ख्याको आधारमा नेपाल बाह्रौँ स्थानमा छ । प्रत्येक वर्ष ठूलो सङ्ख्यामा विदेशी विद्यार्थीहरू अध्ययनका लागि अमेरिका जाने र पूरा शुल्क तिर्ने हुँदा ती विश्वविद्यालयको महत्त्वपूर्ण आर्थिक स्रोत हुन् । हार्भर्डले नयाँ शैक्षिक सत्रमा सबै कक्षाहरू अनलाइन गर्ने बताएको छ । आईसीईको स्ट्यूडन्ट एन्ड एक्स्चेन्ज भिजिटर प्रोग्र्यामले यो वर्ष सेप्टेम्बरसम्म सबै कक्षा अनलाइन भए पनि विदेशी विद्यार्थीहरूलाई आवासीय अनुमति कायम राखेको छ । को प्रभावित हुन्छन् ? सोमवारको घोषणामा भने सेप्टेम्बरदेखि अनलाइन कक्षामात्रै लिने विद्यार्थीहरूलाई अध्यागमन नियमानुसार देशबाट हटाइने प्रक्रिया सहितको कारबाही गरिने बताइएको छ । यो नियम एफवन भनिने अध्ययन भिसा र एमवन भनिने व्यावसायिक तालिमका विद्यार्थी भिसा भएकाहरूलाई लागु हुनेछ । अमेरिकी वाणिज्य मन्त्रालयका अनुसार सन् २०१८ मा विदेशी विद्यार्थीहरूले अमेरिकी अर्थतन्त्रमा ४५ अर्ब डलर योगदान गरेका थिए । आईसीईको उक्त निर्णयको धेरैतिरबाट आलोचना भएको छ । (बीबीसीबाट)

जलवीरे सडकमार्ग पहिरोको कारण अवरुद्ध

मेलम्ची । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा पर्ने बलेफी जलवीरे सडकमार्ग पहिरोको कारण अवरुद्ध भएको छ । अरनिको राजमार्गअन्तर्गत पर्ने यो सडक पहिरोको कारण आज बिहानदेखि अवरुद्ध भएको हो । जलवीरे, ढाडे चनौटे, गुम्बा, पाङताङ, डल्लेपोख भेगका मानिसहरुले प्रयोग गर्ने सडक हो । उक्त सडक अवरुद्ध हुँदा बीच बाटोमा अलपत्र पर्नुपरेको सवारी चालक खेम प्रसाईँले बताएका छन् । गए रातिको भीषण वर्षाका कारण पहिरो गएको स्थानीयवासी बताउँछन् । पहिरोमा लेदो बगेर बाटो अवरुद्ध भएको हो ।  रासस

प्रलोभनमा नपर्न सर्वसाधारणसँग अनुरोध

काठमाडाैं । महानगरीय अपराध महाशाखाले विभिन्न सामाजिक सञ्जालमार्फत मोबाइल, घडी तथा अन्य महङ्गो सामान सस्तोमा बिक्रीमा छ भनी विज्ञापन गरेर पैसा खातामा जम्मा गर्न लगाउने गिरोह सक्रिय भएकाले प्रलोभनमा नपर्न अनुरोध गरेको छ । महाशाखाले सोमबार एक सूचना जारी गरी यस्ता गिरोहले ग्राहकलाई विभिन्न बैंक खाता उपलब्ध गराएर पैसा जम्मा गर्न लगाउने तथा आइएमई गर्न भन्ने र पैसा जम्मा भएपछि अर्डरअनुसारको सामान डेलीभरी नगरी ठगी गर्ने गरेको भन्दै सर्वसाधारणलाई सचेत गराएको हो । यस्ता केही व्यक्तिलाई अहिले पक्राउ गरी अनुसन्धान थालेको जानकारी दिँदै महाशाखाले बजार मूल्यभन्दा कम मूल्यमा सामान पाइने लोभमा नक्कली विज्ञापनको लोभमा नफस्न भनेको छ । महाशाखाका अनुसार यसरी लोभमा फँस्दा जग्गाजमीनसमेत धितो राखेर प्रलोभनमा परी पैसा दिएको पाइएको छ ।  रासस