विकासन्युज

हतारमा कोभिड-१९ को खोप ल्याउने योजनाविरुद्ध वैज्ञानिकहरूको चेतावनी

काठमाडाैं । भारतमा कोभिड-१९ विरुद्ध निर्माण भइरहेको खोप सर्वसाधारणमा प्रयोग गर्नेगरी ल्याउन निर्धारित समयसीमा अपत्यारिलो भएको भन्दै वैज्ञानिकहरूको एउटा समूहले त्यसो गर्न सम्भव नहुने बताएका छन् । भारतीय विज्ञान प्रतिष्ठानले ‘हतारमा पूर्ण वैज्ञानिक प्रक्रिया तथा मापदण्डमा सम्झौता हुने खालको उपाय’ विरुद्ध चेतावनी दिएको छ । भारतीय चिकित्सा अनुसन्धान परिषद् ‘आईसीएमआर’ ले अगस्ट १५ तारिखका दिन कोभिड-१९ विरुद्धको खोप मानिसहरूमा प्रयोगमा ल्याउने आफूले परिकल्पना गरेको जनाएको थियो । अगस्ट १५ तारिखमा भारतको स्वतन्त्रता दिवस पर्छ । तर पछि आईसीएमआरले आफूले “समयसीमा” निर्धारण नगरेको बताएको छ । विवाद कसरी सुरु भयो ? मानवमा कोभ्याक्सीन नामक खोपको परीक्षणका लागि १२ वटा संस्थालाई चयन गरिएको भन्दै आईसीएमआरका प्रमुख बलराम भार्गवले लेखेको पत्र सार्वजनिक भएपछि विवाद सुरु भएको हो । सामाजिक सञ्जालमा उक्त पत्रबारे व्यापक चर्चा भएको थियो । अगस्ट १५ तारिखका दिन प्रयोगमा ल्याउन सुरु गर्न सकियोस् भन्दै अनुमोदनसम्बन्धी सबै प्रक्रियाहरू द्रुत गतिमा पूरा गरी मानवमाथिको परीक्षणलाई तीव्र बनाउन पत्रमा भनिएको थियो । निर्देशनको अवज्ञा गरेको खण्डमा त्यसलाई “गम्भीर रूप”मा लिइने भनिएको थियो । त्यसमा झन् द्विविधा थप्दै भारतको विज्ञान तथा प्रविधि मन्त्रालयले यसअघिको वक्तव्यबाट एउटा वाक्य हटायो । त्यो वाक्यमा भनिएको थियोः विकासको क्रममा रहेका कोभ्याक्सीनसहित कुनै पनि खोप सन् २०२१ अघि सर्वसाधारण मानसिमा प्रयोगमा जाने देखिँदैन । त्यो कुराले व्यापक विरोध र आलोचना निम्त्यायो । धेरैले अगस्ट १५ तारिखको समयसीमा देखावटी भएको र त्यसले भारतप्रतिको विश्वसनीयतामा गम्भीर असर पुर्‍याउने बताए । भारतीय विज्ञान प्रतिष्ठानका प्रमुखले आईसीएमआरले खोप परीक्षणका लागि घोषणा गरेको समयलाई “नसुनिएको” स्थानीय सञ्चारमाध्यमलाई बताए । स्पष्टीकरण यद्यपि त्यसयता आईसीएमआरले आफ्ना भनाइबारे स्पष्ट पार्दै अगस्ट १५ तारिख समयसीमा नभएको जनाएको छ । भारतीय पत्रिका मिन्टले आईसीएमआरका एक अधिकारीलाई उद्धृत गर्दै प्रारम्भिक कुरालाई गलत रूपमा बुझिएको जनाएको छ । एउटा खोपको विकासमा सामान्यतया यदि दशकाैं होइन भने वर्षौं लाग्न सक्छ । यद्यपि अनुसन्धानकर्ताहरूले त्यति काम केही महिनाभित्रै गरिसक्ने प्रयास गर्दैछन् । अधिकांश विज्ञहरूलाई लाग्छ कोभिड-१९ विरुद्धको खोप सन् २०२१ को मध्यसम्ममा उपलब्ध हुन सक्छ। नयाँ कोरोना भाइरस पहिलो पटक देखिएको समयदेखि १२-१८ महिनाको अन्तराल हुन्छ । यदि त्यसो भयो भने त्यो ठूलो वैज्ञानिक उपलब्धि हुनसक्छ । तर त्यसले काम गर्छ भन्ने कुराको निश्चित छैन । (स्राेत बीबीसी नेपाली)

धितोपत्र बोर्डका कर्मचारीले सेयर कारोबार गर्न नपाउने

काठमाडौं । नेपाल धितोपत्र बोर्डका कर्मचारीले सेयर कारोबार गर्न नपाउने भएका छन् । सांसद राम कुमारी झाँक्रीको नेतृत्वमा गठित उपसमितिले मंगलबार अर्थसमितिमा प्रतिवेदन बुझाउँदै उक्त व्यवस्था मिलाउन सुझाव दिएको हो । उक्त प्रतिवेदनमा बोर्डका पदाधिकारी र कर्मचारीले आफुसँग यसभन्दा अगाडि रहेका आईपीओ सेयरहरु बिक्री गर्ने बाहेक सेयर कारोबार गर्न नपाउने कुरा उल्लेख छ । यस व्यवस्था लागू भएमा बोर्डका कर्मचारीहरूले प्राथमिक तथा दाेश्राे बजार दुबैमा सेयर काराेबार गर्न पाउने छैनन् ।

बैंकलाई ब्रोकर लाइसेन्स दिन अर्थ समितिको निर्देशन

काठमाडौं । बैंकलाई ब्रोकर लाइसेन्स दिन अर्थ समितिले निर्देशन दिएको छ । नेपाल सरकारद्वारा गठित अर्थ समितिको उपसमितिले बोर्डले तोकिएको मापदण्ड पुरा गर्ने वाणिज्य बैंकहरुलाई सहायक कम्पनी मार्फत सेयर खरिद बिक्री गर्न पाउने गरी ब्रोकर लाईसेन्स दिन सिफारिस गरेको हो । पुँजी बजार तथा मुद्रा बजार सम्बन्धी अध्ययन अर्थ समितिले गठन गरेको उपसमितिकी अध्यक्ष रामकुमारी झाँक्रीले मंगलबार अर्थसमितिमा प्रतिवेदन बुझाउँदै बैंकलाई ब्रोकर लाइसेन्स दिन सिफारिस गरेकी हुन् । साथै, समितिले धितोपत्र दलाल व्यवसायलाई थप प्रतिस्पर्धी बनाउन धितोपत्र दलाल सम्बन्धी विद्यमान इजाजत र संचालन नीतिमा पुनरावलोकन गर्न सुझाव दिएकाे छ । त्यस्तै, सेयर खरिद बिक्री गर्न पाउने गरी खोलिएका वाणिज्य बैंकहरुका सहायक कम्पनी तथा धितोपत्र दलाल व्यवसायीले अर्को धितोपत्र दलाल व्यवसायीलाई प्राप्ती गर्ने र गाभिने नीतिगत व्यवस्था गर्न सिफारिस गरेको छ । अर्थ समितिले सांसद राम कुमारी झाँक्रीको नेतृत्वमा रामबाबु यावद, प्रमिला राई, हेमकुमार राई र मेटमणि चौधरी सदस्य रहेको उपसमिति गठन गरेको थियो । बैंकलाई ब्रोकर लाइसेन्स दिने या नदिने भन्ने सम्बन्धमा गठित उक्त समितिले अध्ययन गरी उक्त प्रतिवेदन तयार गरेको हो । नेप्सेले वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायी अनुमतिपत्रका लागि सिफारिश कार्यविधि तयार गरेको थियो । साथै, यस सम्बन्धमा गत साउन १७ मा वाणिज्य बैंकका सहायक कम्पनीले धितोपत्र खरिद बिक्री गर्ने अनुमतिपत्रका लागि निवेदन दिने बारे नेप्सले सूचना जारी गरिसकेकाे थियाे ।  

जापानमा बाढीका कारण मृत्यु हुनेको संख्या ५० पुग्यो, दर्जनौं अझै बेपत्ता

टोकियो । जापानको दक्षिणी नगरहरुमा भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण ५० जनाभन्दा बढीको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति अझै बेपत्ता भएका छन् । सेना सहितका उद्धारकर्ताहरुले मंगलबार बिहानैदेखि उद्धार र बेपत्ता मानिसको खोजीलाई तिब्र बनाएका छन् । जापानको दक्षिणी क्षेत्र क्युसुमा गत शुक्रबारदेखिको भिषण वर्षाका कारण बाढीले व्यापक जनधनको क्षति गरेको अधिकारीहरुले बताएका छन् । मौसम पूर्वानुमान विभागका अनुसार क्युसुलाई केन्द्रविन्दु बनाएर अझै ठूलो वर्षा हुने देखिएको छ । जापानको पश्चिमी आधाजसो भागलाई प्रभावित तुल्याएको वर्षा पूर्वी क्षेत्रतर्फ अघि बढेको देखिएको छ । फुकुओकामा जापानी सेनाले मानिसलाई निकै जोखिमका साथ घरघरबाट उद्धार गरिरहेका दृश्यहरु स्थानीय टेलिभिजनले प्रशारण गरिरहेका छन् । फुकुओकामा एक अधवैंसे महिला आफ्ना परिवारजनको उद्धारका लागि गए पनि बाढीको पानी उनको घाँटीसम्म पुगेको थियो । विपद व्यवस्थापन विभागले कुमामोतोको नदी किनारा क्षेत्रबाट मात्र ४९ जनाको शव निकालिएको जनाएको छ । अर्की एक वृद्धा भने घरभित्रै मृत अवस्थामा भेटिएकी थिइन् । जापानको तेस्रो ठूलो द्वीपको रुपमा रहेको क्युसुबाट करिब ३० लाख मानिसलाई अन्यत्र सुरक्षित स्थलमा जान सरकारले आदेश दिएको छ । हाल उद्धार कार्यमा दशौं हजार सेना, प्रहरी र अरु उद्धार कार्यकर्ता अहोरात्र खटिएका छन् । खासगरी कुमा नदीको आसपासमा बाढी र पहिरोले सबैभन्दा बढी क्षति गरेको छ । उद्धारकार्यमा निरन्तरको वर्षासँगैको बाढीले अबरोध गरिरहेको स्थानीय अधिकारीहरुले बताएका छन् ।   रासस–एपी

इन्डोनेसियामा ६.३ म्याग्नीच्यूडको भूकम्प

जकार्ता । भूकम्पीय उच्च जोखिममा रहेको इन्डोनेसियाको सेमाराङमा ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ । इन्डोनेसियाली अधिकारीहरुले उक्त स्थानमा कुनै क्षति भए नभएको बारेमा विवरणहरु संकलन गर्ने कार्य शुरु भएको बताएका छन् । सोमबार नै ताजिकिस्तानमा पनि ४ म्याग्नीच्यूडको भूकम्प गएको त्यहाँ राष्ट्रिय भूगर्भ केन्द्रले जनाएको छ । साथै, अफगानिस्तानको राजधानी काबुलबाट करिब ३० किलोमिटर दक्षिणपश्चिम क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार नै ४.७ म्याग्नीच्यूडको भूकम्प गएको छ । रासस–एएनआई

गंगालाल अस्पतालमा उपचाररत ७ जनामा कोरोना पुष्टि

काठमाडौं । बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचाररत ७ जना बिरामीमा कोरोना पुष्टि भएकाे छ । मंगलबार उपचारकाे क्रममा रहेका ७ जनामा काेराेना देखिएसँगै अस्पताल अति महत्वपूर्ण बाहेक सबै सेवा बन्द गरेकाे अस्पताल स्राेतले जनाएकाे छ । अस्पतालले आकस्मिक बाहेकका सबै सेवा हाललाई स्थगित गरेको छ । थप सतर्कताका आकस्मिक बाहेकका सेवा बन्द गर्नु परेको अस्पताल प्रशासनले निकालेको सूचना उल्लेख छ । साेमबारमात्र काठमाडाैं उपत्यकामा ५४ जना काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

अल्फा बिटाले अनलाइनबाटै शुरू गर्याे ब्रिजकोर्स कक्षा

काठमाडाैं । अल्फा बिटाले कक्षा १० सकेर बसेका विद्यार्थीहरुलाई यस वर्षको ब्रिजकोर्स कक्षा अनलाईन माध्यमबाट शुरु गरेको छ । उनीहरूलाई यो लकडाउनको समय सदुपयोग गराउने तथा सैन्ट जेभियर्स, बुढानिलकण्ठ, यस्. ओ. यस्. जस्ता कलेजहरुको इन्ट्रान्स इक्जामको तयारी गराउनका निम्ती उक्त कक्षा शुरु गरेको हाे । ‘लामो समयको फुर्सदलाई ब्रिजकोर्समा लगाउन सकेमा टप कलेजहरुको इन्ट्रान्स एक्जाममा अब्बल नतिजा ल्याउन सक्ने, आगामी शैक्षिक कार्यक्रमलाई सहज हुने र करिअरका लागि समेत सहयोगी हुने अल्फा बिटाका प्रेसिडेन्ट तथा सीईओ द्विराज शर्मा भन्छन् । त्यसै खेर जाने समयको सही सदुपयोग गर्न ब्रिजकोर्स  शुरू गरिएकाे उनी बताउँछन् । एसइई दिएका विद्यार्थीका लागि कक्षा १० र ११ को कोर्ष र समयको ग्यापलाई जोड्ने उपयुक्त समय हो । नेपालमा पहिलोपटक ब्रिजकोर्स सुरु गरेको अल्फा बिटाले यस वर्ष पनि विद्यार्थीका लागि साइन्स र म्यानेजमेन्टका ब्रिजकोर्सका कक्षा सञ्चालन गरेको छ । अल्फा बिटाले उपलब्ध गराउने ब्रिजकोर्समा कोर्सको ग्याप पूरा गर्ने मात्र होइन, विद्यार्थीको रुचि र क्षमता बुझेर कक्षा-११ मा कस्ता विषय पढ्न उपयुक्त हुन्छ भन्ने सुझाब समेत दिने गरेको छ । एकाएक विश्व समुदायमा फैलिएको कोभिड-१९ का कारण सन्सारभरि अहिले अनलाईन शिक्षा को माग बढिरहेको परिस्थिती मा अल्फा बिटा ले पनी आफ्ना सम्पूर्ण कक्षाहरु आईएलटीएस, पीटीई ए, जीआरई, स्याट तथा ब्रिज कोर्स पूर्ण रूपमा अनलाईन माध्यमद्वारा सन्चालन गरिरहेको छ । विद्यार्थीहरुले ईसेवा जस्ता अनलाईन पेमेन्ट गेटवेबाट भर्ना शुल्क तिरेर सजिलैसँग आफ्नो रोजाईका कक्षाहरु शुरु गर्न सक्नेछन् । अहिले अल्फा बिटामा अनलाईन एसटी जेभियर इन्ट्रान्स प्रिपेरेसन कोर्श गरिरहेका ईपीएस स्कुल मिनभवनका विद्यार्थी नुग मानन्धर भन्छन्- ‘अनलाईन कक्षा भन्दा सुरुमा कस्तो हुन्छ होला भनेर अलि चिन्तित थिए तर डे वान देखी नै क्लासरुममै मै बसेर पढेको अनुभब भयो । त्यस्तै, दमक मै बसेर अल्फा बिटाको अनलाईन ब्रिजकोर्स पढ्दै गरेका सुर्यदय ईग्लिश स्कुल झापाका आदित्य आचार्य भन्छन्- ‘अल्फा बिटाले हामी उपत्यका बाहिरका विद्यार्थीलाई त कूरियर गरेर किताब पनि पठाइदिने रहेछ, थाहा पाउना साथ ईसेवाको माध्यमबाट भर्ना गरेर कक्षा शुरु गरिहाँले ।’

क्वारेन्टिनमा रहेकाको अनिवार्य पिसिआर, हाेम क्वारेन्टिनकाे निर्देशिका १ हप्तामा तयार हुने

काठमाडौं । सरकारले क्वारेन्टिनमा रहेकाको अनिवार्य पिसिआर गर्न भएकाे छ । ‘इनफ इज इनफ’ अभियानसँग स्वास्थ्य मन्त्रालयले १२ बुँदे सहमति गर्दै क्वारेन्टिनमा रहेकाको अनिवार्य पिसिआर गर्न भएकाे हाे । यसअघि स्वास्थ्य मन्त्रलायले क्वारेन्टिनमा रहेकाहरुलाई लक्षण देखिएकाे अवस्थामा मात्र परीक्षण गर्ने निर्णय गरेकाे थियाे । यस्तै विदेशबाट आएका व्यक्तिहरुलाई पाँच दिन क्वारेन्टीनमा राखेपछि मात्रै परिक्षण गरेर निजहरुको ईच्छा अनुसार होम क्वारेन्टाईन वा होटल क्वारेन्टाईन वा सार्वजनिक क्वारेन्टाईनमा बस्ने वा राख्ने व्यवस्था गर्ने बुँदामा उल्लेख छ । साथसाथै होम क्वारेन्टिनको निर्देशिका यसै हप्ता तयार गर्ने पनि बुँदामा उल्लेख गरिएकाे छ ।