विकासन्युज

कटेजमा ताल्चा, बैंकमा ऋण : तनावमा पर्यटन व्यवसायी

झापा । कन्काई नगरपालिकाका डिपी आचार्य अहिले तनावमा छन् । इलामको सूर्योदय नगरपालिकास्थित अन्तुमा सञ्चालन गरेको कटेज बन्दाबन्दीको समयमा बन्द गर्नु परेपछि उनी तनावमा परेका हुन् । दुई वर्षअघि आचार्यले साहु र बैंकको ऋण लिएर भाडामा लिई अन्तुमा कटेज खोल्नुभएको थियो तर अहिले त्यो कटेज बन्दाबन्दी शुरु भएदेखि नै बन्द छ । कटेज बन्द भए पनि कटेजको लिज भाडा, बैंकको ऋण र साहुको पुरानो रकमले यतिबेला आचार्यको मन पोल्छ । “दुई वर्षअघि मात्र लिजमा लिएको, कमाइ पनि राम्रै थियो”, आचार्य भने, “अब अहिले त के गर्ने न कसो गर्ने भइयो । लकडाउनको समयमा पनि भाडा त लागेको छ । कसरी तिर्ने ?” १५ लाख रूपैयाँ लगानी गरेर आचार्यसहित दुई जनाले कटेल सञ्चालन गरेका थिए । “लकडाउनले गर्दा कटेज त खोल्नै पाएको छैन । साहुले केही महिनाको भाडा छुट दिए भनेचाहिँ चलाउन सकिन्छ”, आचार्यले भने । बीस जना क्षमता भएको कटेज चलाउनुभएका आचार्यले यो सिजनमा विगतका वर्षमा मासिक खर्च कटाएर ९० हजार रूपैयाँसम्म बचाउथे। अहिले कटेज नै बन्द भएपछि दैनिकी चलाउनसमेत सकस पर्दै गएको उनी बताउँछन् । भ्रमण वर्षको समयमा उल्लेख्य फाइदा लिने सोच बनाउँदै गर्दा कोरोनाको समस्याले आजित बनाएको आचार्यको भनाइ छ । दैनिक ४ सय हाराहारीमा पर्यटक भित्रिने अन्तुमा पर्यटन व्यवसाय नै ठप्प हुँदा नसोचेको घाटा व्यहोर्नुपरेको घरवास (होमस्टे) सञ्चालक धनबहादुर आले बताए । आलेका अनुसार सिजनकै समयमा बन्द गर्नुपर्दा व्यवसायीले ऋणको चर्को ब्याजदर सामना गर्नुपर्दैछ भने पर्यटकीय क्षेत्र पहिलेकै स्तरमा पुर्याउनसमेत समस्या पर्ने भएको छ । मुलुककै प्रमुख पर्यटकीय क्षेत्र श्रीअन्तु सुनसान बनेपछि व्यवसायीले खुलाउन पहल गर्दै आएका छन् । महामारीमा होमस्टे र कटेज खोल्दा पर्यटक आए पनि जोखिम बढाउने भएकाले व्यवसायी अन्योलमा परेका हुन् । कटेज खोल्दा महामारी फैलिएमा आफैंले जिम्मा लिनुपर्ने भएकाले पनि खोल्न नसकिएको अन्तु पर्यटन व्यवसायी सङ्घका सचिव रुद्र घिमिरे बताए । रुँगालोका भरमा घरवास घरवासमा चहलपहल शून्य भएपछि यतिबेला अन्तुका घरवासमा रुँगालो मात्र राख्न थालिएको छ । होटलका कर्मचारीसमेत घर पठाएपछि घरवास सुनसान हुने गरेको सचिव घिमिरे बताए । “कोही इलामका त कोही भारतकै पनि कर्मचारी राखिएको थियो तर अहिले सबै घर गइसके”, घिमिरेले भने, “सधैँ बाक्लो चहलपहल भइरहने यो क्षेत्रमा अहिले सुनसान छ ।” उनले घरवास सञ्चालन गर्न पहल भए पनि महामारी फैलिएमा अझै समस्या आउने भएकाले खोल्न नसकिएको बताए । धेरैजसो पर्यटक गर्मी छल्नका लागि अन्तु आउने गर्दथे तर गर्मीकै सिजनमा बन्द भइदिँदा व्यवसायीलाई धेरै नोक्सान भएको घिमिरेको भनाइ छ ।  रासस

राष्ट्र बैंकका गभर्नरलाई ५ प्रतिशत ब्याजदर घटाउन निकासी पैठारी संघको सुझाव

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघको एक प्रतिनिधिमण्डलले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नरलाई भेटी आगामी मौद्रिक नीतिमार्फत गर्नुपर्ने सुधार सम्बन्धमा विभिन्न सुझाव दिएको छ । संघका अध्यक्ष सुनिलकुमार वंशलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले विषम परिस्थितिमा रहेको व्यवसाय बचाउन कम्तीमा तीन वर्ष बैंक कर्जाको ब्याजदर ५ प्रतिशत घटाउनुपर्ने, संकटको अवस्थामा पुगेका उद्योग, व्यवसायका लागि पर्याप्त तरलता उपलब्ध गराउन सिसिडी रेसियो ८५ प्रतिशत कायम गर्नुपर्ने, बैंकहरुलाई मुद्दती खातामा अधिकतम ७ प्रतिशत र बचत खातामा अधिकतम ५ प्रतिशत ब्याजमा निक्षेप संकलन गर्न प्रत्साहित गर्ने नीति लिनुपर्नेमा जोड दिएको छ । त्यसैगरी, राष्ट्र बैंकमा रहेका विभिन्न सरकारी कोषको केही अंश पुँजी निर्माणका लागि वाणिज्य बैंकहरुमा ल्याउने, बजेटमार्फत सरकारले खडा गरेको एक खर्ब रुपैयाँको पुनर्कर्जा कोषबाट घाटामा जाने उद्योग तथा व्यवसायलाई सो कर्जा प्रवाह गर्ने प्रक्रिया सरल गरी सबैको पहुँचमा पु¥याउन र विद्यमान अवस्थामा डेब्टर्स र ऋण इक्विटी अनुपात आगामी दुई वर्षको लागि छुट दिने व्यवस्था मिलाउन संघले आग्रह गरेको छ । घाटामा रहेका उद्योग, व्यवसायको हकमा सूक्ष्म निगरानीमा राख्ने समय पाँच वर्ष गर्नुपर्ने भन्दै संघले कोभिड १९ का कारण धेरै उद्योग, व्यवसाय घाटामा जाने निश्चित भएको र यसको प्रभाव दीर्घकालसम्म पर्ने भएकोले हालको प्रावधान रहिरहे प्रायः सबै उद्योग, व्यवसायलाई प्रोभिजनिङ गर्नुपर्ने अवस्था आउने भन्दै सो समय बढाउनु पर्नेमा जोड दिएको छ । बैंकहरुलाई ऋण पुनसंरचनाको लागि स्वीकृत वा सिफारिस गर्ने तथा आगामी पाँच वर्षका लागि ब्याजलाई पुँजीकरण गर्ने व्यवस्था गर्नुपर्छ भन्दै संघले नेपालमा आयात हुने औद्योगिक उपकरण तथा मेसिनरीमा विदेशी उत्पादनकर्ताले उपलब्ध गराउने ऋणकाे समय ताेक्न नहुने बताएको छ । यस्तो व्यवस्थाले देशमा नगदको व्यवस्थापन गर्न सहज हुने संघको भनाइ छ । उद्योग, व्यवसायमा लगानी प्रोत्साहन गर्ने सरकारी नीति अनुरुप विदेशी लगानी स्वीकृतिलाई अझ बढी सहज र सरल बनाउन उद्योग विभागबाट विदेशी लगानी स्वीकृति गर्ने समितिमा नेपाल राष्ट्र बैंकको प्रतिनिधि रहने व्यवस्था रहेकोले उद्योग विभागबाट भएको स्वीकृतिको जानकारी नेपाल राष्ट्र बैंकलाई दिए पश्चात नेपाल राष्ट्र बैंकबाट पुनः स्वीकृति लिनु नपर्ने व्यवस्था हुनुपर्ने संघको माग छ । बैंकको आधार दरलाई न्यूनतम दर मानी आएकोमा यसलाई सन्दर्भ दरको रुपमा मात्र लिनुपर्ने तथा बैंक र ग्राहकको सहमतिमा आधार दरभन्दा कम दरमा समेत कर्जा प्रवाह गर्न पाउने प्रस्ट निर्देशन राष्ट्र बैंकबाट आउनुपर्ने संघको सुझाव छ । हेजिङको प्रक्रिया सरल बनाई नेपाल राष्ट्र बैकले वार्षिक दुई प्रतिशतको प्रिमियम लिएर विदेशी मुद्रामा हेजिङ गर्ने व्यवस्था गर्न माग गरेको संघले टिटीबाट ५० हजार डलरसम्मको सामान आयात गर्न पाउनुपर्ने र आंशिक सिपमेन्टलाई मान्यता दिनुपर्ने माग राखेको छ । बैंकहरुले कर्जा नवीकरण गर्दा उच्च शुल्क लिने गरेको भन्दै संघले कम्तीमा दुई वर्षसम्म न्यूनतम मात्र शुल्क लिने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकलाई आग्रह गरेको छ । संघको प्रतिनिधिमण्डलमा अध्यक्ष वंशलका अतिरिक्त उपाध्यक्ष विनोदकुमार सेठिया र शिवकुमार अग्रवाल, महासचिव मदन मित्तल, सचिव खगेन्द्र सिटौला र बैंकिङ समिति सभापति सुशील गुप्ता सहभागी थिए ।

क्रिकेट खेलाडी सन्दीप डेढ करोडमा सिपीएलमा अनुबन्धित

काठमाडाैं । नेपालका क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपीएल) सिजन २०२० को खेलाडी ड्राफ्टमा १ करोड ५६ लाख रूपैयाँमा अनुबन्धित भएका छन् । उन्नाइस वर्षीय लामिछानेलाई यस यामको सिपीएलका लागि जमैका तलावाजले गएराति एक लाख ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । जमैका तलावाजले उनलाई दोस्रो राउन्डमा छनोट गरेको हो । ड्राफ्टका लागि २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए । सन्दीपले सिपीएलका लागि आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोकेका थिए । सन्दीपसँगै अफगानिस्तानका अलराउन्डर मोहम्मद नाबी र अस्ट्रेलियाका बेन डंक पनि सिपीएलका लागि एक लाख ३० हजार अमेरिकी डलरमा अनुबन्धित भएका छन् । सन्दीप सिपीएलका लागि तेस्रोपटक अनुबन्धित भएका हुन् । यसअघि उनी सिपीएलको पहिलो संस्करण सन् २०१८ मा सेन्ट किट्स एण्ड नाभिस प्याट्रियट्सका लागि पाँच हजार तथा दोस्रो संस्करण सन् २०१९ मा बार्बाडोस ट्राइडेन्सका लागि ७० हजार अमेरिकी डलरमा अनुबन्धित भएका थिए । यस वर्षको सिपीएल ट्रिनिडाड एण्ड टोबागोमा आगामी अगस्ट १८ देखि सेप्टेम्बर १० तारिखसम्म आयोजना गरिने भएको छ । कोरोना भाइरसका कारण उक्त समयमा प्रतियोगिता हुने नहुनेबारे भने अन्योल नै छ ।  रासस

वन फँडानीबारे संसदीय टोलीद्वारा छानबिन शुरु

कञ्चनपुर । सङ्घीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वैज्ञानिक वन व्यवस्थापनको नाममा भएको वन फँडानीबारे छानबिन शुरु गरेको छ । वैज्ञानिक वन व्यवस्थापनबारे बुझ्न कञ्चनपुर पुगेको समितिका सदस्य शान्ता चौधरी, सत्यनारायण शर्मा खनाल र राजबहादुर बुढथापाको टोलीले सोमबारबाट छानबिनको काम शुरु गरेको हो । समितिले वैज्ञानिक वन व्यवस्थापन लागि सामुदायिक वन उपभोक्ता समितिले गरेका क्रियाकलापबारे सरोकारवालासँग छलफल गरेको थियो । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमको व्यापक विरोध भएपछि यसको अवस्था बुझ्न कञ्चनपुर आएको समितिका सदस्य चौधरीले बताए । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएका तराईका जिल्लामा रहेका सामुदायिक वनको अध्ययन तथा अनुगमन गरी प्रतिवेदन तयार गरिने उनको भनाइ थियो । “तराईका सामुदायिक वनमा अनुगन गर्छौं”, उनले भने, “सबै वनको अनुगमन गरेपछि प्रतिवेदन तयार गरेर सरकारलाई बुझाउँछौं ।” वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएका सामुदायिक वनका पदाधिकारीले आर्थिक अनियमितता गर्ने, बूढा रूख राख्ने र साना रूख काट्ने, रुख कटानमा जोड दिने तर वन संरक्षणमा जोड नदिनेलगायतका गुनासा उपभोक्ताको रहेको उनले बताए । “वनका प्राविधिकहरुले समेत उपभोक्ताबाट भत्ता, खाना खर्च माग्ने गरेको गुनासो आएको छ”, उनले भने, “यी कुरा यथार्थ हुन् या होइनन् भन्ने बुझ्नका लागि हाम्रो टोली यहाँ आएको हो ।” रासस

पहिलोपटक महिनावारी हुँदा लुक्नुपर्ने बाध्यता

काठमाडौं । सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा पहिलोपटक महिनावारी अर्थात् रजस्वला भएमा किशोरीले सात दिनसम्म लुकेर बस्नुपर्ने बाध्यता कायमै छ । पहिलोपटक अविवाहित किशोरी महिनावारी भएको समयमा अलग्गै सुत्नुपर्ने र सात दिनसम्म महिनावारी बस्ने छाउपडी गोठमा बस्नुपर्ने बाध्यता रहेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाकी स्थानीय तुलसी शाहीले बताए । महिनावारी अर्थात् रजस्वला भएको शुरुको दिनदेखि सात दिनसम्म अलग बस्नुलाई सुदूरपश्चिम प्रदेशमा छाउ बार्ने भन्ने गरिन्छ । यहाँका प्रायः नौवटै जिल्लामा महिनावारी भएका महिलालाई छुवाछूतका रूपमा हेरिँदै आएको छ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाका अधिकांश महिला छाउपडी प्रथाका कारण बर्सेनि मृत्युको शिकार हुन बाध्य छन् । अविवाहित किशोरीहरु पहिलोपटक महिनावारी भएपछि खासै कसैलाई अनुहार नदेखाउने, अलग्गै लुकेर बस्ने र सात दिनपछि घरका मान्छेले नयाँ लुगाकपडा दिएपछि मात्रै अनुहार देखाउने चलन रहेको दिपायल पिपल्लाकी अर्की स्थानीय सविता बलायरले बताए । “अविवाहित किशोरी महिनावारी भए कसैलाई अनुहार देखाउनुहुन्न, देखाए सबै काम बिग्रिन्छ भन्ने अन्धविश्वासका कारण यहाँका महिला पहिलोपटक लुकेर बस्ने चलन कायमै छ”, उनले भने । यतिमात्र होइन महिनावारी भएको बेला दूध, दही, घ्यू खानाले गाई, भैँसी बिग्रिने अर्थात् क्षति हानी–नोक्सानी हुने भन्दै महिलालाई उक्त चिज खान नदिने, सार्वजनिक पिउने पानीको धारामा नुहाउन नदिने, महिनावारी भएका महिलाले छोएको पकाएको नखाने आदि चलन रहेको स्थानीयवासी महिला बताउँछन् । महिनावारी भएकी महिलाले अथवा किशोरीले छ देखि सात दिनसम्म अरु मानिस, बोटबिरुवा, गाईगोरु, पानीका मूल छोए सुक्ने अन्धविश्वास पनि कायमै रहेकाले उनीहरु त्यो समयमा खासै घरबाहिर ननिस्कने केआइसिंह गाउँपालिका–६ का स्थानीय तथा शिक्षक जगत्बहादुर बलायरले बताए । सुदूरपश्चिम प्रदेशमा महिनावारी भएका बेला घरदेखि टाढा गोठमा एक्लै सुत्नुपर्दा उनीहरू बर्सेनि सर्पदंश, जङ्गली जनावर तथा बलात्कारको शिकार हुँदै आएको विभिन्न तथ्याङ्कले देखाएको छ । आमा महिनावारी भएको बेला महिलाले चार/पाँच वर्षमुनिका बालबालिका आफूसँगै राख्नुपर्ने र त्यो समयमा बालबालिकालाई दूध, दही, घ्यूजस्ता पोषिलो खाना खान नपाउने नियम रहेकाले यहाँका बालबालिका निमोनिया र कुपोषणको उच्च जोखिममा रहने गरेको पाइएको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले बताए । उनले भने, “पोषणयुक्त खानाको कमी र छाउपडी सुत्ने ठाउँमा हुने चिसोले बच्चामा निमोनिया देखिन्छ, बच्चाको स्वास्थ्य नाजुक हुने भएकाले पोषिलो खानेकुरा नपाउँदा उनीहरुलाई समस्या हुने गर्दछ ।” छाउपडी प्रथाका लागि सुदूरपश्चिममा लामो समयदेखि विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले काम गरिरहेको भए पनि यहाँका ग्रामीण क्षेत्रमा यो प्रथा खासै हट्न नसकेको स्थानीयवासी बताउँछन् । सरकारले छाउपडी प्रथा अन्त्यका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमसहित छाउगोठ भत्काउने अभियान चलाउनुका साथै कानूनसमेत बनाए पनि त्यसको खासै कार्यान्वयन नहुँदा यहाँका महिलालाई निकै समस्या हुँदै आएको छ । सरकारले यहाँका विभिन्न जिल्लामा बनेका छाउपडी गोठ भत्काउने अभियान सञ्चालन गरे पनि कोरोना भाइरसको त्रास फैलिएपछि उक्त अभियान बन्द अवस्थामा छ । विभिन्न रूढिवादी परम्परा तथा अन्धविश्वासले यहाँको छाउपडी प्रथा अन्त्य हुन नसकेका कारण उनीहरु बर्सेनि अकालमै ज्यान गुमाउन बाध्य छन् । सामाजिक कुप्रथाका रूपमा रहेको छाउपडी प्रथा अन्त्य नहुँदा बर्सेनि दर्जनौँ महिलाको अकालमै छाउगोठमा ज्यान जाने गरेको छ । छाउपडी कुप्रथा बढी अँगाल्ने यहाँका पहाडी जिल्लामा पछिल्लो तीन वर्षको अवधिमा कम्तीमा पनि दुई दर्जनभन्दा बढी महिला तथा किशोरीले छाउपडी गोठमै विभिन्न कारणले ज्यान गुमाइसकेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपालयका वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । यतिमात्र नभई सार्वजनिक बाटोघाटो नजिक मन्दिर, देवालय हुँदा पनि महिनावारी भएका महिलाले बाटो काटेर अलग्गै हिँड्नुपर्ने बाध्यता ग्रामीण बस्तीमा अझै कामयमै छ । महिनावारी भएका छात्रा वर्षौँदेखि विद्यालयसमेत जाने गरेका छैनन् ।   रासस

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडाैं । विदुर नगरपालिका–५ गङ्गटेमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । बट्टार बजारबाट देवीघाटतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालक विदुर नगरपालिका–३ खड्गभञ्याङका २१ वर्षीयका ठाकुर अधिकारीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख विकल भट्टराईले जानकारी दिए । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको उपचारको क्रममा चक्रदेव पोलिक्लिनिक विदुरमा मृत्यु भएको हो । दुर्घटनामा विदुर नगरपालिका–५ देवीघाटका २८ वर्षीय सुरेन्द्र चित्रकार घाइते भएका छन् । उनको अहिले सोही पोलिक्निकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ । उनीहरु चढेको बा९८प ५५१६ नंको मोटरसाइकल गङ्गटेमा अनियन्त्रित हुँदा राति ८ः३५ बजेको समयमा सडकबाट करिब १० मिटर तल पुगेको प्रहरीले जनाएको छ ।  रासस

मानिसले जनावरलाई यसरी नै मरे भने कोरोनाजस्तै अन्य रोग फैलिनेछ : संयुक्त राष्ट्र

काठमाडौं । संयुुक्त राष्ट्रको पर्यावरणसँग जोडिएको संस्थाले मानिसहरुले जंगली जनावरलाई यसरी नै मार्न र उत्पीडन गर्न जारी राखेको खण्डमा कोरोना भाइरसजस्तो संक्रामक रोगको थप सामना गर्नुपर्ने चेतावनी दिएको छ । संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम र अन्तर्राष्ट्रिय पशुधन अनुसन्धान संस्थानको एक रिपोर्ट अनुसार वातावरणलाई निरन्तर क्षति पुर्‍याउने, प्राकृतिक स्रोतको वन्य शोषण, मौसम परिवर्तन र वन्य जीवहरूको उत्पीडन कोरोना भाइरस जस्ता खतरनाक संक्रमणको लागि जिम्मेवार रहेको जनाएको छ । यूएन इन्भारोन्मेन्ट प्रोग्राम एण्ड इन्टरनेशनल लाइभस्टक रिचर्स इन्स्टिच्युटको एक रिपोर्ट अनुसार कोरोनाभाइरसजस्तो खतरनाक संक्रमणका लागि पर्यावरणलाई लगातार पुग्ने क्षती, प्राकृतिक स्रोत–साधनको दोहन, जलवायु परिवर्तन र जंगली जीवको उत्पीडनजस्ता कारण जिम्मेवार छन् । संयुक्त राष्ट्रका विशेषज्ञका अनुसार पछिल्ला केही वर्षमा जनावर र पंक्षीमार्फत् मानिसमा फैलने रोग लगातार बढिरहेको छ । विज्ञानको भाषामा यस्ता रोगलाई ‘जूनोटिक डिजिज’ भनिन्छ । पर्यावरा र स्वास्थ्य विशेषज्ञले यदि मानिसले पर्यावरण र जंगली जनावरलाई बचाएनन् भने उनीहरुले यस्तै रोगको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।संयुक्त राष्ट्रको रिपोर्ट अनुसार प्रोटिनको बढ्दो मागका लागि जनावरलाई मारिँदै छ र यसको नतिजा अन्त्यमा मानिसले नै भोग्नु परिरहेको छ । विशेषज्ञका अनुसार जनवरबाट फैलने विभिन्न प्रकारको रोगका कारण संसारभरी हरेक वर्ष करिब २० लाखको मृत्यु भइरहेको छ । पछिल्ला केही वर्षमा मानिसमा जनावरबाट हुने रोग अर्थात् ‘जूनोटिक डिजिज’ मा वृद्धि भएको छ । इबोला, बर्ड फ्लू र सार्सजस्ता रोग यो श्रेणीमा आउँछन् । सुरुमा यो रोग जनावर र पंक्षीमा नै पाइन्छ र उनीहरुमार्फत् नै मानिसलाई आफ्नो शिकार बनाउने गर्छ । रिपोर्टमा बताइए अनुसार जुनोटिक रोग बढ्ने एउटा ठूलो कारण मानिस आफैं र उसको निर्णय हो । मासुको उत्पादन बढ्दो यूएन इन्भारोन्मेन्ट प्रोग्रामकी कार्यकारी निर्देशक इंगर एन्डर्सनले पछिल्लो सय वर्षमा मानिसले नयाँ भाइरसका कारण हुने कम्तीमा ६ प्रकारको खतरनाक संक्रमण झेलिसकेको छ । उनले भनिन्, ‘मध्यम र निम्न आय वर्ग भएको देशमा हरेक वर्ष कम्तीमा २० लाख व्यक्तिको चौपायाबाट हुने टिबी र रेबिजजस्ता जुनोटिक रोगका कारण हुनेगर्छ । यतिमात्रै होइन, यी रोगबाट अत्यधिक आर्थिक क्षती पनि हुनेगर्छ ।’ इंगर एन्डर्सनले भने, ‘पछिल्लो ५० वर्षमा मासुको उत्पादन २६० प्रतिशत बढेको छ । यस्ता थुप्रै समुदाय छन् जुन पाल्तु र जंगली जीव–जन्तुमा निर्भर हुन्छन् । हामीले खेती बढाएका छौं र प्राकृतिक स्रोत–साधनको दोहन पनि अत्यधिक गरिरहेका छौं । हामीले जंगली जनावर बस्ने स्थान पनि नष्ट गरेका छौं, उनीहरुलाई मारिरहेका छौं ।’ उनका अनुसार बाँध, सिँचाईका साधन, कारखाना र खेतीका कारण पनि मानिसमा हुने संक्रामक रोगका लागि २५ प्रतिशतसम्म जिम्मेवार छन् । विशेषज्ञले रिपोर्टमा पर्यावरणलाई कम क्षती पुर्याउने गरी खेतीलाई प्रोत्साहित गर्ने र जैविक विविधतालाई बचाइराख्ने तरिकाबारे पनि विस्तारपूर्वक बताइएको छ । एन्डर्सन भन्छिन्, ‘विज्ञानले स्पष्ट रुपमा भनेको छ कि यदि हामी इकोसिस्टमसँग खेलवाड गर्छौं, जंगल र जीव जन्तुलाई क्षती पुर्याइरहेका छौं भने अबको समयमा जनावरबाट मानिसमा फैलने रोग पनि बढ्नेछ ।’ उनले भविष्यमा कोरोनाभाइरस संक्रमण जस्तो खतरनाक रोगलाई रोक्नका लागि मानिसले पर्यावरण र जीव–जन्तुको रक्षाको विषयमा थप सर्तक हुनुपर्नेछ ।   स्रोतः बीबीसी

नगरपालिकाद्वारा दुई महिनाको भाडा छुट

तनहुँ । तनहुँको व्यास नगरपालिकाले भाडामा लगाइएका पसल कवलको दुई महिनाको भाडा छुट दिने भएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीले व्यवसायीहरू मर्कामा परेकाले नगरपालिकाअन्तर्गत पसल कवल भाडामा बस्नेहरुलाई चैत र वैशाख गरी दुई महिनाको भाडा छुट दिने निर्णय नगरपालिकाले गरेको हो । बन्दाबन्दीका कारण पसल बन्द हुँदा व्यवसायी मर्कामा परेको र व्यवसायीले भाडा छुट दिन अनुरोध गरेकाले दुई महिनाको भाडा छुट दिने प्रस्ताव नगरसभामा पेश गर्ने निर्णय सोमबारको कार्यपालिकाको बैठकले गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । नगरपालिकाले कार्यालयको नयाँ भवन र दमौली बजारमा सटर भाडामा लगाएको छ । नगरपालिकाको यो निर्णयबाट व्यवसायीहरूले मासिक १३ लाख रूपैयाँका दरले दुई महिनाको रु २६ लाख भाडा छुट पाउनेछन् । नगरपालिकाले नगरक्षेत्रभित्र घरभाडामा लगाउने घरधनीलाई पनि भाडाछुट दिन अनुरोध गरेको छ । कार्यपालिका बैठकले नगरभित्रका विकास आयोजना एवं प्राकृतिक स्रोत उपयोगका लागि वातावरणीय अध्ययन गर्न आवश्यक वातावरणीय परीक्षण एवं व्यवस्थापन ऐन, २०७७ नगरसभामा पेश गर्ने निर्णय गरेको छ । यही असार २५ गते ३३ औं नगरसभा बस्दैछ । नगरपालिकाको बुद्धसिंह मार्गबाट निर्माण सामग्री ढुवानी गर्ने टिपर राति पनि हिँड्ने र शहरी क्षेत्रमा असुरक्षाको अवस्था सिर्जना भएको गुनासो आएकाले ती सवारीसाधनलाई साँझ ६ बजेदेखि ९ बजेसम्म मात्र बजार क्षेत्रका सडक बाहेक राजमार्गमा प्रवेश गर्न दिने निर्णय भएको नगरपालिकाले जनाएको छ । रासस