विकासन्युज

एनसेलले ल्यायो ‘ननस्टप युट्युब’ अफर

काठमाडौं / एनसेलका सबै फोरजी ग्राहकले अब लोकप्रिय भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबबाट भरपुर फाइदा लिन सक्छन् । भिडियो सामाग्रीहरु हेर्दा धेरै डेटा खपत हुने र शुल्क पनि बढि लाग्ने चिन्ताबाट मुक्त हुँदै ग्राहकले युट्युबको प्रयोग गर्न सक्छन् । एनसेलको प्राइभेट लिमिटेडले आफ्नो नयाँ ‘प्लस’ थिमअन्तर्गत आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब’ अफर ल्याएको छ । एनसेलको ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको कम्पनीले जनाएकाे छ । ‘प्लस’ थिम अन्तर्गतको ननस्टप युट्युब अफरमा ग्राहकले निश्चिन्त रुपमा मात्र रु १०० (कर सहित मात्र रु १२७.६९) मा एक साताभरि ४८०पी मा युट्युब भिडियो सामाग्रीहरुकोे मजा लिन सक्नेछन् । साथै यो अफरमा ग्राहकले ४ जिबी फोरजी अल टाइम अल नेटवर्क डेटाको पनि फाइदा लिन सक्नेछन् । फोरजी नेटवर्कमा ननस्टप युट्युब र ४ जिबी अल टाइम अल नेटवर्क डेटा सुचारु भएको दिनबाट ७ दिनको लागि मान्य रहनेछ । साथै यो प्याक सुचारु गर्ने ग्राहकले फेसबुक र टिकटकको लागि सुलभ दरमा छुट्टा छुट्टै आकर्षक प्याक पनि लिन सक्ने कम्पनीले जनाएकाे छ । ग्राहकले ननस्टप युट्युब प्याक सुचारु गरे पछि हरेक दिन ५०० एमबीको दरले ७ दिन सम्म मात्र रु २० (कर सहित मात्र २५.५३) मा ३५०० एमबि थप डेटाको लिन सक्नेछन् । उक्त डेटा ग्राहकले फेसबुक चलाउनको लागि प्रयोग गर्न सक्नेछन् । त्यति नै शुल्कमा टिकटक चलाउन रुचाउने ग्राहकले पनि हरेक दिन ५०० एमबिको दरले ७ दिन सम्म ३५०० एमबि थप डेटाको मजा लिन सक्नेछन् । आफ्नो आवश्यकता अनुसार ग्राहकले फेसबुक र टिकटकका लागि दुवै डेटा पनि लिन सक्नेछन् । एनसेलका फोरजी ग्राहकले एस्ट्रिक्स१७१२३ एस्ट्रिक्स१ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार यो प्याक सजिलै सुचारु गर्न सक्नेछन् । सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता अनुरुप एनसेलले आफ्ना फोरजी ग्राहकलाई लक्षित गर्दै यो आकर्षक योजना ल्याएको हो । सन् २०१७ मा फोरजी सेवा संचालनमा ल्याए पछि कम्पनीले देशको विभिन्न भागमा तदारुकताका साथ यो सेवाको विस्तार गरेको छ । भिडियो कन्टेन्टको बढ्दो मागले गर्दा देशमा डेटा सेवाको बढ्दो उपभोग भइरहेको अवस्थामा ननस्टप युट्युब अफरको साथमा सुलभ दरमा आफ्ना ग्राहकलाई युट्युबमा पहुँच दिन पाएकोमा निकै हर्षित रहेको एनसेलले जनाएको छ । फोरजी अल टाइम अल नेटवर्क डेटासँग बण्डलिङ्ग तथा लोकप्रिय सामाजिक सञ्जाल फेसबुक र टिकटकको लागि निकै सुलभ दरमा थप डेटा सहितको यस अफरले ग्राहकलाई थप लाभ प्रदान गर्ने विश्वास एनसेलले लिएको छ । यस अफर अन्तर्गतको ननस्टप युट्युबको फाइदा लिन ग्राहकसंग एनसेल फोरजी सिम कार्ड, फोरजी चल्ने मोवाइल र एनसेलको फोरजी नेटवर्क कभरेज भित्र हुनु पर्दछ । आफ्नो थ्रिजी सिम कार्ड फोरजी सिममा अपगे्रड गरी नसकेका ग्राहकले नजिकैको एनसेल सेन्टरमा गएर आफ्नो सिम निःशुल्क अपग्रेड गर्न सक्नेछन् । साथै सिम अपगे्रड गर्नुहुने ग्राहकले थप १ जिबी डे प्याक डेटा निःशुल्क प्राप्त गर्नेछन् ।

इक्यानले गभर्नरलाई बुझायो ७ बुँदे सुझाव, कर्जामा सहुलियत मुख्य माग

काठमाडाैं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आगामी मौद्रिक नीतिमा शैक्षिक परामर्श क्षेत्रलाई सम्बोधन गर्न माग गरेको छ । मंगलबार इक्यानका अध्यक्ष प्रकाश पाण्डेले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेट गरी विभिन्न ७ बुँदे सुझाव दिएका हुन् । कोरोना भाइरसको महामारीका कारण शैक्षिक परामर्श क्षेत्र अति प्रभावित भएको भन्दै व्यवसाय बचाई राख्नका निम्ति मौद्रिक नीतिमा समेट्नुपर्ने सुझाव बुझाएको हो । गत फागुन महिनादेखि नेपाल सरकार शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) जारी हुन बन्द भइसकेको अवस्थामा कुनै पनि कन्सलटेन्सी सञ्चालन हुन नसकेको उल्लेख गर्दै इक्यानले कोभिड–१९ का कारण सबैभन्दा बढी प्रभावित क्षेत्रमा शैक्षिक परामर्श, पर्यटन र वैदेशिक रोजगार रहेको उल्लेख गरेको छ । लकडाउन पूर्णरुपमा खुलिसकेको अवस्थामा पनि व्यवसाय सामान्य हुनका लागि लामो समय लाग्ने भएकाले मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने इक्यानको भनाइ छ । शैक्षिक परामर्श क्षेत्र विशेष गरी अन्तर्राष्ट्रिय सीमा खुल्ने विषयसँग सम्बन्धित भएकाले अन्य पेशाको तुलनामा सामान्य हुन अन्तर्राष्ट्रिय यातायात सहजरुपमा सूचारु हुनुपर्ने भएकाले लामो समय लाग्ने सुझावमा भनिएको छ। ‘हाम्रो अर्थतन्त्र रेमिट्यान्स आधारित छ । रेमिट्यान्समा वैदेशिक रोजगारपछि शैक्षिक परामर्श सेवामार्फत अध्ययनका लागि गएका विद्यार्थीमार्फत् हुने आम्दानी नै धेरै छ । विद्यार्थीहरुले अध्ययन सकेपछि दक्ष जनशक्ति बनेर काम गरी कमाएर पठाएको रकमको योगदान पनि हाम्रो रेमिट्यान्समा ठूलो छ र यो विदेशी मुद्रा आम्दानीको पनि ठूलो स्रोत हो । भोलिका दिनमा विदेशमा काम गर्न जानेको संख्यामा कमी आउने, उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको संख्यामा कमी आउने हुँदा विदेशी मुद्रा (रेमिट्यान्स) को आयमा प्रत्यक्ष असर पर्ने निश्चित प्रायः देखिन्छ,’ सुझावमा उल्लेख छ । ‘पढ्न जानेहरुको हकमा त्यसको असर २/३ वर्षपछि देखिन थाल्छ भने श्रमका लागि जानेहरुको हकमा आगामी आवदेखि नै देखिन शुरु गर्छ । तसर्थ यस्ता क्षेत्रहरुलाई आवश्यकता अनुसार बलियो बनाउन प्रयास गरिएन भने रेमिट्यान्सको पाटोलाई जोगाउन नसक्ने निश्चित हुन्छ जसको असर स्वदेशी अर्थतन्त्रमा गम्भिर रुपमा पर्दछ र हामी देशभित्र पनि कमजोर हुन्छौं,’ इक्यान अध्यक्ष पाण्डेले भने । त्यसैले मौद्रिक नीतिमा यस क्षेत्रका लागि कम्तीमा एक वर्षको भाडा र कर्मचारीको तलब बराबरको रकम सहुलितय ब्याजदरमा कर्जा उपलब्ध गराउन सकियो भने मात्र पनि यस क्षेत्रलाई बचाउन सहज हुने इक्यानको भनाइ छ । मौद्रिक नीतिका लागि यस्ता छन् इक्यानका सुझाव: १) उद्योगी व्यवसायीले तिर्नुपर्ने २०७६ चैत महिनादेखि २०७७ असार महिनासम्मको बैंकको किस्ता र ब्याजलाई आवश्यकता अनुसार पुँजीकरण गर्ने व्यवस्था होस् । २) साना तथा मझौला उद्योग व्यवसायलाई झन्झटरहित ढंगले नयाँ सहुलियत कर्जा वा पुनरकर्जा सुविधा उपलब्ध हुने व्यवस्था होस् । ३) कोरोना अवधिको पारिश्रमिक र घरभाडा भुक्तानीका लागि बेग्लै कोष स्थापना गर्ने र ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउने, सो कोष स्थापना भएर कार्यान्वयन नहुञ्जेल बैंक तथा वित्तीय संस्थाबाटै पछि कोषको रकमबाट मिलान हुने गरी अल्पकालीन व्यवस्थापन हुने व्यवस्था होस् । ४) शैक्षिक परामर्श क्षेत्रलाई सम्बोधन गर्दा दिइने नयाँ सहुलियत कर्जा अन्तर्राष्ट्रिय सीमा/यातायात खुलेको वा सहज भएको अवस्थालाई ध्यानमा राखेर, सोको ६ महिनापछि बाट ब्याज बुझाउने, त्यसबेलासम्म ब्याज र साँवा नबुझाए पनि हुने, त्यसपछिको ६ महिना ब्याजमात्र बुझाउने र त्यसपछि ३ बर्षमा ब्याज र साँवा बुझाउन पाउने गरिको व्यवस्था गरियोस् । ५) विगतमा नाफामा भएका उद्योग व्यवसायहरु समेत हाल धराशायी हुने भएकाले त्यस्ता उद्योग व्यवसायहरुलाई कोभिड–१९ प्रभावित नयाँ सहुलियत कर्जा वा पुनर्कर्जाका लागि योग्य मानियोस् । ६) पुनर्कर्जाको वितरण कार्यविधि सरल र सहज हुनुपर्छ । हाल स्वीकृत ऋणको २५ प्रतिशत थप ऋणसम्म बिनाधितो कर्जा उपलब्ध गराउने व्यवस्था होस् । ७) आफ्नो सम्पत्ति धितो राखेर लगानीका लागि लिने व्यक्तिगत कर्जाको सीमा १ करोड रुपैयाँ पुर्याइयोस् ।

के तपाईंको एनआईसी एशिया बैंकको कर्जामा ९.९९ प्रतिशतभन्दा बढी ब्याजदर छ ?

काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको कर्जाको विद्यमान ब्याजदरलाई कम गरी ९.९९ प्रतिशत कायम गर्ने योजना सकिन अब मात्र ८ दिन बाँकी रहेको छ । यस बैंकबाट कर्जा लिएका ग्राहकले असार मसान्तसम्मको सबै साँवा तथा ब्याजको बक्यौता रकम २०७७ असार मसान्तसम्ममा चुक्ता भुक्तान गरेमा साउन १ गतेदेखि लागू हुने गरी उक्त योजना ल्याएको थियो । यस बैंकबाट मासिक तथा त्रयमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका सम्पूर्ण ग्राहकले २०७७ असार मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सबै किस्ता तथा ब्याज रकम २०७७ असार समान्तभित्रै भुक्तानी गरेमा साउन १ पश्चात ब्याजदर ९.९९ प्रतिशतमा कायम गरिने व्यवस्था रहेको छ । नेपाल राष्ट्र बैंकद्वारा २०७६ चैत १६ गते निर्दिष्ट गरिए अनुसार २०७६ चैत्र मसान्तभित्र भुक्तानी गर्नुपर्ने मासिक वा त्रैमासिक किस्ताबन्दी कर्जाहरूमा ऋणीहरूले चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रयमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट प्रदान गरी सम्बन्धित ग्राहकको बैंक खातामा जम्मा समेत गरिएको छ । बैंकले आफ्नै प्रयासबाट ऋणीहरूले वैशाख तथा जेष्ठ महिनासम्ममा तिर्नुपर्ने सम्पूर्ण किस्ता वा ब्याज रकम क्रमशः वैशाख तथा जेष्ठ मसान्तभित्र पूर्ण रुपमा चुक्ता भुक्तान गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको थियो । उक्त योजना अनुरुप हुन आउने १० प्रतिशत ब्याज छुटको रकम सम्बन्धित ग्राहकको खातामा जम्मा समेत गरिएको बैंकले जनाएको छ । बैंकले ल्याएको आषाढ महिनाको योजनाको म्याद मात्र ८ दिन बाँकी रहेको हुँदा २०७७ आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता तथा ब्याज रकम २०७७ असार समान्तभित्रै चुक्ता भुक्तानी गरी समयमै मौकाको फाईदा उठाउन बैंकले आग्रह गरेको छ ।

मर्जरका लागि मौद्रिक नीति कुर्दै इन्भेष्टमेन्ट र हिमालयन बैंक

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक मर्जरको प्रयासले तिब्रता पाएको छ । इन्भेष्टमेन्ट बैंकले मर्जरका लागि निकै अघिदेखि प्रस्ताव गरेको भएपनि हिमालयन बैंकले बेलायती लगानीकर्ता सीडीसी भित्र्याउन पहल गर्दा केही ढिला भएको थियो । पछिल्लो समय बैंकिङ क्षेत्रमा नकारात्मक असर पारेकोले मर्जरको विकल्प नभएको नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले जानकारी दिए । नेपाल राष्ट्र बैंकले मर्जरको पहल के कस्तो भइरहेको छ भनेर पत्राचार नै गर्न लागेपछि ठूला बैंकहरु पनि मर्जरको आन्तरिक गृहकार्यमा लागेका हुन् । ‘राष्ट्र बैंकले पनि बैंकको संख्या घटाउन मर्जरमा जानुस् भनिरहेको छ, कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिको सामना गर्न पनि मर्जर आवश्यक देखिएको छ, राम्रो बैंक खोजेर मर्जरमा जाने हाम्रो प्रयास छ,’ अध्यक्ष पाँडेले भने । अध्यक्ष पाँडेले आगामी आर्थिक वर्षको मौद्रिक नीतिपछि मर्जरको लागि थप गृहकार्य हुने जानकारी दिए । आगामी आर्थिक वर्षको मौद्रिक नीति साउन पहिलो साता आउँदैछ । सीडीसीले हिमालयन बैंकमा रहेको पाकिस्तानको हविब बैंकको संस्थापक सेयर किन्न खोजेको थियो । तर, यही प्रसंग चलिरहेको बेलामा कोरोना भाइरस (कोभिड १९) संक्रमण विस्तार भएपछि सीडीसीले सेयर किन्ने चासो नदेखाएको हिमालयन बैंक स्रोतले जानकारी दिएको छ । हिमालयन बैंक हविब बैंकको सेयर सीडीसीले किनेपछि आवश्यक परेमा अन्य बैंकसँग मर्जरमा जाने तयारीमा थियो । नेपाल राष्ट्र बैंकले मर्जरमा गएर बैंकको संख्या घटाउन सहयोग गर्न भनेको, सीडीसी आउन केही ढिला हुने देखिएको र कोरोना भाइरस (कोभिड १९) का कारण अर्थतन्त्रमा मन्दी आएर बैंकले आफू सुरक्षित हुने थप प्रबन्ध गर्नुपर्ने भएकोले राम्रो बैंकसँग मर्जरमा जाने समझदारी बनेको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले जानकारी दिए । उनले मर्जरका लागि सबैभन्दा पहिलो रोजाइमा नेपाल इन्भेष्टमेन्ट बैंक नै परेको पनि बताए । ‘हिमालयन बैंकसँग चुक्ता पुँजी धेरै नभएपनि सम्पत्ति धेरै छ, लामो समयदेखि संचालनमा रहेको, बैंकिङ नम्समा चलेको र राम्रो गुडविल भएको बैंक भएकोले जो पायो त्यही बैंकसँग मर्जरमा जाने भन्ने कुरा पनि भएन, राम्रो बैंक खोजेर मर्जरमा जानुपर्छ भन्नेमा संचालक समिति पनि सहमत भएको छ, राम्रो बैंकसँग मर्जरमा जाने भन्दा नेपाल इन्भेष्टमेन्ट बैंक परिहाल्छ,’ प्रमुख कार्यकारी अधिकृत राणाले भने । सीडीसी भित्रने सम्भावना कम देखेपछि हिमालयन बैंक पनि अर्काे उपयुक्त बैंक खोजेर मर्जरमा जान हतारिएको छ । मर्जरका लागि इन्भेष्टमेन्ट बैंक नै उपयुक्त हो भन्नेमा हिमालयन बैंक पनि सहमत छ । केही दिन अघि मात्रै नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकका संचालकहरुबीच अनौपचारिक बैठक भएको थियो । स्रोतका अनुसार सो बैठकमा मर्जरका लागि हिमालयन र इन्भेष्टमेन्ट बैंक नै एक अर्कालाई उपयुक्त भएको भन्दै थप प्रक्रिया अघि बढाउने समझदारी भएको छ । सो बैठकमा कन्सल्ट्याण्ट नियुक्त गरेर मर्जरको प्राविधिक काम अघि बढाउने अनौपचारिक समझदारी बनेको छ । दुबै बैंकको वर्किङ कल्चर राम्रो भएको र केही प्रमोटर पनि साझा भएकोले यी दुई बैंकबीच मर्जरमा लान प्रयास भएको छ । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर गर्ने विषयमा आवश्यक गृहकार्य गर्ने भनेर हिमालयन बैंक संचालक समितिले औपचारिक निर्णय भने गरेको छैन । हिजो (असार २२ गते) बसेको बैंक संचालक समिति बैठकले प्रमुख कार्यकारी अधिकृतमा अर्काे एक कार्यकालको लागि राणालाई नै निरन्तरता दिने निर्णय गरेको थियो । सो बैठकले मर्जरका विषयमा थप निर्णय गर्न नभ्याएकोले मौद्रिक नीतिपछि बैठक बसेर आवश्यक निर्णय गर्ने भनिएको छ । हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत राणाको कार्यकाल थप भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेको कार्यकाल पनि असार मसान्तमा सकिदैछ ।

साधना लघुवित्तको आईपीओमा १३ गुणा बढी आवेदन, हालसम्म कतिले भरे ?

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको साधारण सेयर(आईपीओ)मा १३ गुणा बढी आवेदन परेको छ । सेयर निष्काशन गरेको तेश्रो दिनमै संस्थाको सेयरमा मागभन्दा १३.४० गुणा बढी आवेदन परेको हो । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार संस्थाले सेयर जारी गरेको तेश्रो दिन आज(असार २३ गते)सम्म ८८ करोड ६४ लाख ८३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सो अवधिसम्म ३ लाख ६३ हजार ३ सय ५२ जनाले ८८ लाख ६४ हजार ८ सय ३० कित्ता सेयर माग गरेका छन् । संस्थाले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ७ लाख ७ हजार ८ सय कित्ता अर्थात ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आईपीओ बिक्रीमा राखेको छ । जसमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८ सय ९० कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरेको छ । त्यस्तै, सर्वसाधारणलाई छुट्याएको सेयर मध्येको ५ प्रतिशत अर्थात ३५ हजार ३ सय ९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहेकाे ६ लाख ६१ हजार ५ सय २० कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरेकाे हाे । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । उनीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट तथा मेरो सेयरमार्फत पनि आवेदन दिन सक्नेछन् । यो आईपीओको निष्कासन बन्द छिटोमा असार २४ गते र ढिलामा साउन ४ गतेसम्म हुनेछ ।

मन्त्रिपरिषद् बैठक सुरू, के हाेला निर्णय ?

काठमाडौं। मन्त्रिपरिषद्को बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेकाे हाे । दिउँसो ४ बजे सुरू हुने भनिएको बैठक डेढ घण्टा ढिलो गरी शुरू भएको बताइएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको आजको बैठकले नेपाल प्रहरीको २८औं प्रहरी महानिरीक्षक नियुक्त गर्ने बताइएको छ। नियमित बैठक भएकाले सरकारले केही नीतिगत निर्णय पनि गर्ने बुझिएको छ।

मिर्मिरे लघुवित्तले एफपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट नियुक्त

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ३७ हजार २ सय ६० कित्ता थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गर्ने भएको छ । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग नियुक्त भएको छ । सो सम्बन्धि सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेण्टका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र मिर्मिरे लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता मिर्मिरे लघुवित्तको बनेपा–८ स्थित रजिष्टर्ड कार्यालयमा असार २३ गते आयोजित एक कार्यक्रमबीच भएको हो ।

ग्लोबल आइएमई बैंकले सुदुरपश्चिम प्रदेश सरकारलाई दियो २० लाख रुपैयाँ

काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना रोेकथाम तथा नियन्त्रणका लागि सुदुरपश्चिम प्रदेश सरकारलाई नगद २० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मुकुन्द प्रसाद भट्टले सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा मुख्यमन्त्री भट्टले कोराना रोकथामका लागी निजी क्षेत्रबाट सबैभन्दा ठूलो सहयोग प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिएका छन् । कोभिड-१९ ले विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने बैंकको विश्वास रहेको छ । स्थापनाकालदेखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको बैंकले आगामी दिनहरुमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जानेछ । उक्त कार्यक्रममा सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट, भुमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्री विनिता चौधरी लगायत अन्य प्रदेश सांसदको उल्लेखीय उपस्थिति थियो ।