कामना सेवा र रेमिट टु नेपालबीच रेमिट्यान्स सम्झौता
काठमाडाैं । कामना सेवा विकास बैंक र रेमिट टु नेपालबीच एक अर्काको प्रतिनिधिको रुपमा रही विप्रेषण सम्बन्धि कारोबार गर्ने गरी सम्झौता भएको छ । बैंकका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ प्रमुख सुवास भट्टराई तथा रेमिट टु नेपालका तर्फबाट माहाप्रबन्धक सन्तोष भेटुवालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । काठमाडौंकाे ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै एबीबीएस्, एसएम्एस बैंकिङ्ग, मोबाइल , सी एएस्बीए, अनलाइनमार्फत खाता खोल्नलगायतका सेवाहरु प्रदान गरिरहेको छ । यसबाट ग्राहकहरुले अझै सहज रुपमा विप्रेषण सुविधा लिन सक्ने बैंकको अपेक्षा रहेको छ । “प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ भने रेमिट टु नेपालले स्वदेश तथा विभिन्न देशहरुममा रेमिट्यान्स कारोबार गर्दै आइरहेको छ ।
नेप्सको अनलाइन प्रणाली भरपर्दो बनाउन यस्तो छ झाँक्री समितिको सुझाव
काठमाडौं । पूँजी बजार तथा मुद्रा बजारबारे अध्ययन गर्न अर्थसमितिले गठन गरेको उपसमितिको अध्ययन प्रतिवेदनले नेप्सको अनलाइन प्रणाली विश्वाशिलो तथा भरपर्दो बनाउन सिफारिस गरेको छ । सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा गठित अध्ययन समितिले हाल पूर्णरुपमा स्वचालित तथा भरपर्दो नभएको दोश्रो बजार कारोबार तथा राफसाफ प्रणाली थप भरपर्दो बनाउन विभिन्न सुझावहरु अर्थसमितमा पेश गरेकाे हो । समितिले नेप्सेका संरचनात्मक सुधार र प्राविधिक, भौतिक, व्यवस्थापकीय, वित्तीय र मानव श्रोतको क्षमता विकास गर्दै नेप्सेलाई अन्तर्राष्ट्रियस्तरको स्टक एक्स्चेञ्जको रुपमा विकास गर्न यथाशीघ्र नेपाल स्टक एक्स्चेञ्जमा पुँजी र प्रविधि सहितको विदेशी ख्याती प्राप्त रणनीतिक साझेदार भित्र्याई स्वामित्व पुर्नसंरचना गर्न सुझाव दिएको छ । नेप्सेले विभिन्न प्यारामिटर्सहरु बनाई अटो सरमिल्यान्स सिष्टमको माध्यमबाट कारोबारको निगरानी गर्ने, सिष्टममा भएका डाटा सुरक्षित गर्ने र डाटा डिलिट भएमा डिलिट भएको पनि सिष्टममा देखिने गराउनु पर्ने छ । त्यस्तै, इन्भेष्टिगेसनलाई प्रभावकारी बनाउन जनशक्ति, कानून, पूर्वाधार, प्रविधि र प्रणालीको विकास गर्नुपर्ने उपसमितिको अध्ययन प्रतिवेदनमा उल्लेख छ । रेगुलेटरी ज्युरिसडिक्सन भित्र आफ्नो क्षमता अभिवृद्धि गर्ने र यसको लागि नेप्सेमा अटो सर्भिलेन्स सिष्टम जडान गरी लागू गर्नुपर्ने छ । नेप्से इन्डेक्सलाई कारोबार, पुँजी, क्षेत्र लगायतका आधारमा परिमार्जन गर्नुपर्ने देखिन्छ । त्यसैगरी, भौतिक पूर्वाधार विकासका संरचना, जनशक्ति र प्राविधिक क्षमताका लागि स्रोत साधनको पर्याप्त व्यवस्थापन गरी सुपरभिजन तथा नियमन प्रणालीको सुदृढीकरण तथा क्षमता विस्तार गर्न उपसमितिले सुझाव दिएको छ ।
सिराहामा मास्क नलगाउने ६४ पक्राउ
सिराहा । मास्क नलगाई हिँड्ने ६४ जनालाई मङ्गलबार एकै दिन सिरहा प्रहरीले पक्राउ गरी कारवाही गरेको छ । लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले अत्यावश्यक काममा सवारी साधन वा पैदल हिँड्दा अनिवार्यरूपमा मास्क लगाउन र सामाजिक दूरीलाई पालन गरी कार्य गर्न आग्रह गरे पनि सर्वसाधारणले बेवास्ता गरेकाले पक्राउ गरी सङ्क्रमण रोग ऐन, २०२० अनुसार कारवाही शुरु गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए । पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय सिरहा पठाइएको उनले भने । रासस
प्रतितोला ६ सय रुपैयाँले बढ्यो सुन, ९१ हजार ५ सयमा कारोबार
काठमाडौं । मंगलबार सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन ६ सय बढेर सो मूल्यमा बिक्री भइरहेको छ । त्यस्तै मंगलबार प्रतितोला ९० हजार ४ सय ६० रुपैयाँमा कारोबार भएको तेजावी सुन बुधबार ९१ हजार ६० रुपैयाँमा बिक्री भइरहेको छ । मंगलबार प्रतितोला ९ सय ५० रुपैयाँमा बिक्री भएको चाँदी तोलामा ५ रुपैयाँ बढेर ९ सय ५५ रुपैयाँमा बिक्री भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
विनाशकारी पहिरो: अझै ओभाएका छैनन् विकासका आँखा
काठमाडाैं । घरपरिवारको सुन्दर भविष्यको सपना बोकेर साउदी अरब फर्किएको मात्र आठ महिना पुगेको थियो । धन कमाउने, राम्रो शिक्षादीक्षा दिने, सुखसयलसँग बस्ने सपना बोकेर साउदी अरबमा पसिना बगाइरहेका विकास विक दिनभर ड्युटीमै रमाइरहेका थिए । साँझ निवास फर्केर घरपरिवारसँग बोल्नका लागि १४ वर्षीय छोरा जेनिशलाई फोन गरेर भिडियोकलमा आउन आग्रह गरे । साँझ ७ बजेको थियो, श्रीमती कमला खेत रोपेर घर आइसकेकी थिइनन् । छोरा जेनिशले आफ्नो मोबाइलमा ब्यालेन्स सकिएकाले ममी आएपछि भिडियोकल गर्छु भनेका थिए । छोराले भिडियोकल गरेपछि परिवारसँग दुःखसुखका कुरा गर्ने पर्खाइमा रहेका विकासको पर्खाइ जीवनभर नफर्किने गरी अस्ताएको छ । जीवनमा एकाएक बज्रपात शुरु भएको छ । लामो समय छोराको फोन नआएपछि राति ८ बजेतिर पुनः उनले फोन गरे तर फोन लागेन । सोच्नुभयो, ठूलो पानी परेर होला, स्वीचअफ गरेर सुते होलान् । घरमा छोराछोरी र श्रीमती, आफू खाडीमा । थिए थुपै्र रहर, सपना अनि गरिएका कल्पनाहरु । जब रातको ११ बज्यो सामाजिक सञ्जालमा देखे पर्वतको दुर्लुङमा दुई घर पुरिए, नौ जना बेपत्ता भन्ने । तुलबहादुर र कमलाको घर पुरिएको भन्ने समाचार पढ्दा पनि उनलाई विश्वास लागेन आफ्नी श्रीमती होलिन् भन्ने । किनकि गाउँमा अन्य कमला नाम गरेका महिला अरु पनि थिए । यतिञ्जेल उनले खाना खाइवरी सुत्ने तयारी गर्दै थिए । त्यत्तिकैमा उनका साथीहरु कोठामा आइपुगे र गाउँमा खासै केही नभएको, अन्य ठाउँमा पहिरो गएको भन्दै उनलाई तनावमुक्त बनाउने प्रयास गरे । विकासलाई कल्पना नै थिएन पहिरो जान्छ भन्ने किनकी उक्त ठाउँ दुर्लुङकै फराकिलो र बलियो ठाउँमध्येको हो । त्यहाँ कहिल्यै पहिरो जाँदैन भनेर आठ वर्षअघि जग्गा किनेर घर बनाएका थियो विकासले । मनमा धेरै डर, थोरै आशङ्का पैदा हुँदाहुँदै उहाँको मनले मानिरहेको थिएन किनकि उनका साथीहरुले उनलाई मोबाइल हेर्न रोकेका थिए । सत्य घटना कतिबेर लुक्थ्यो र १ विस्तारै आफ्ना साथीहरुको फोन वार्तालापमा उनले थाहा पाए कि श्रीमती, छोरा, छोरी पुरिइसकेको । उनी एकाएक बेहोस भए । त्यसपछि उनका साथीभाइ र कार्यरत कम्पनीको पहलमा सात दिनमा घर आइपुगेर क्वारेन्टाइनमा बसे । क्वारेन्टाइनको बसाइ पूरा गरेपछि गएको शनिबार कोरोना परीक्षणको रिपोर्टसमेत आयो अनि बाहिर निस्किन थाले । क्वारेन्टाइनबाट निस्कनेबित्तिकै उनी आफ्नो पुरिएको घर हेर्न जाए तर सकेनन् हेर्न, पुनः बहोस भएर पल्टिए । अहिले पनि पटक–पटक श्रीमती, छोरा र छोरी सम्झेर भक्कानिएर रुने गर्छन् । विकास गत भदौमा एक महिना घर बसेर साउदी फर्किएका थिए भने गएको जेठ १५ गते नै घर आउने तयारीमा थिए तर लकडाउनका कारण रोकिए । उनले भने, “लकडाउन नभएको भए पनि श्रीमती छोराछोरीको मुख देख्न पाउने रहेछु, तर के गर्नु दैवले सबै चकनाचुर पारिदियो ।” बाह्र वर्ष लामो समय खाडीमा बिताएका ३२ वर्षीय विकास गाउँमै फर्केर केही गर्ने सोचमा रहेकाे थियाे । उनले भने, “अहिले केही सोच्नै सकेको छैन, छोराछोरी र श्रीमती मरेजस्तै लाग्दैन ।” आफू विदेशमा भए पनि दैनिक एक/डेढ घण्टा छोराछोरीसित कुराकानी गर्ने गरेको बताए । पटक–पटक भक्कानिएका विकासले भने, “आखिर जीवन केही पनि रहेनछ ।” त्यस्तै पहिरोमा आमाबाबु र आफैंले जन्माएका छोरा र छोरी गुमाएका मृतक तुलबहादुर थापाका छोरा अमरबहादुर पनि रोएको रोइरह्छन् । “न पालनपोषण गर्ने आमाबाबु रहे न जन्माएका छोराछोरी नै, जीवनमा यस्तो बज्रपात कसैलाई नपरोस्”, उनले भने । आफू र श्रीमती घरभन्दा २०० मिटर टाढा रहेको पसलमा रहेकाले बाँच्न सफल भएको बताए । बस्ती माथिबाट आएको पहिरोले पुरिएर ५३ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी, नातिनी आठ वर्षीया बिबिशा र नाति १४ वर्षीय सम्राट, तुलबहादुरकी विवाहित छोरी ३४ वर्षीय दीपा थापा र दीपाका छोरा १७ वर्षीय विवेकको मृत्यु भएको थियो । त्यसैगरी विकास विककी श्रीमती ३२ वर्षीया कमला विक तथा उनकी छोरी आठ वर्षीया प्रमिशा र १४ वर्षीय छोरा जेनिशको ज्यान गएको थियो । रासस
बुधबार सारिएकाे नेकपा स्थायी कमिटी बैठक पुनः स्थगित
काठमाडौं । बुधबार लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक पुनः दुई दिनपछि सरेको छ । बैठक यही असार २६ गते बिहान ११ बजेका लागि राखिएको नेकपाका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । आन्तरिक विवाद मिलाउन शीर्ष नेताहरुको छलफल चलिरहेकाले बैठक पुनः सरेको हो । पार्टी र सरकारको समन्वयका विषयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ¬‘प्रचण्ड’ बीच पछिल्ला दिनमा दैनिकजसो छलफल भइरहेको छ । पार्टी एकता जोगाउन दोस्रो तहका नेता र अन्य कार्यकर्ताले दवाव पनि दिँदै आएका छन् । पैँतालीस सदस्यीय स्थायी कमिटीको बैठक यही असार १० गतेदेखि शुरु भएको थियो । रासस
पहिरोले आठ परिवार विस्थापित
काठमाडौं । तीन दिनदेखिको लगातारको वर्षाका कारण पहिरो आउँदा जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–२ सिर्मा गाउँका आठ परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार आइतबारदेखि आएको भारी वर्षाका कारण उक्त गाउँको बस्ती माथिबाट पहिरो आएपछि आठ परिवारका ४० सदस्य घरबार छोडेर विस्थापित भएका हुन् । पहिरोका कारण विस्थापित परिवारका सदस्य पाल टाँगेर बस्न बाध्य छन् । गाउँ माथिबाट पहिरो आएपछि पहिरोमा च्यापिने डरले उनीहरू घरबार नै छाडेर विस्थापित भएको स्थानीयवासी तेज डुम्रेलले जानकारी दिए । “गाउँ माथिबाट पहिरो आएपछि आठ परिवारका ४० जना विस्थापित भएका छन्, उनीहरुलाई सुरक्षित बासस्थानका लागि समस्या भएको छ”, उनले बताए । बाढी पहिरोबाट विस्थापित परिवारलाई स्थानीय सरकारले समयमै व्यवस्थापन गर्नुपर्ने पहिरो पीडितमध्येका एक नरबहादुर ओलीले बताए । उनले भने, “अविरल वर्षासँगैको पहिरोले घरनै पुर्ने डरले हामीहरु चौपाया, खाद्यान्न सरसामान छाडेर आफन्तको घरमा सरेका छौं, अब हाम्रो व्यवस्थापन गर्न ढिलो गर्नु भएन ।” गाउँमाथिको पूरै जमीन फाटेका कारण सिर्मा गाउँका अन्य ६० भन्दा बढी घरपरिवार पहिरोको उच्च जोखिममा रहेको उनले जानकारी दिए । बर्सेनि बाढी पहिरोका कारण सायल गाउँपालिकामा स्थानीयले अकालमै ज्यान गुमाउने गरेका छन् । रासस
डब्ल्यूएचओसँग औपचारिक रूपमा अमेरिकाले तोड्यो सम्बन्ध
काठमाडौं । अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट आफूलाई अलग गरेको जानकारी संयुक्त राष्ट्रलाई औपचारिक रुपमा जानकारी गराएको छ । अमेरिकाले यसबारे संयुक्त राष्ट्रले ६ जुलाईमा नै जानकारी दिएको भनेको छ । यद्यपि, यो प्रक्रिया पूरा हुन कम्तीमा एक वर्षको समय लाग्न सक्ने बताएको छ । गत मे महिनामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले डब्ल्यूएचओसँग नाता तोडेको घोषणा गरेका थिए । ट्रम्पले विश्व स्वास्थ्य संगठनमाथि कोरोना महामारीलाई प्रभावकारी तरिकाले नियन्त्रण गर्न नसकेको र चीनको इशारामा चलेको आरोप लगाएका थिए । ट्रम्पको आरोप र सम्बन्ध तोड्ने धम्कीको जवाफमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर टेड्रस एडनहोनम गेब्रियेससले यो समयमा डब्ल्यूएचओको मद्दत सबैभन्दा धेरै आवश्यक भएको बताएका थिए । उनले ट्रम्पलाई रकम नरोक्न अपिलसमेत गरेका थिए । यी सबै अपिलपश्चात् पनि ट्रम्पले आफ्नो निर्णय परिवर्तन गरेनन् । उनले डब्ल्यूएचओलाई दिँदै आएको रकम अन्य कुनै स्थानमा दिने जानकारी दिए । विपक्षी डेमोक्रेट सांसदले ट्रम्पको यो निर्णयको आलोचना गरेका छन् र डब्ल्यूएचओबाट अलग हुनु अमेरिकी नागरिकको हितमा नभएको बताएका थिए । (बीबीसीबाट)