विकासन्युज

यातायात मजदुरका समस्या सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी

काठमाडाैं । यातायात क्षेत्रका मजदुरहरुले आफ्ना समस्या सम्बोधन नभए आन्दाेलन गर्ने चेतावनी दिएका छन् । उनीहरुले टाउकोमा कफन बाँधेर सडकमा उत्रिने चेतावनी दिएका हुन् । बुधबार विकास तथा प्रविधिसमितिमा भएको छलफलमा उनीहरुले साे कुरा राखेका हुन् । लकडाउन भएको १ सय ७ दिन बितिसक्दा पनि यातायात मजदुरहरुका समस्या सरकारले नसुनेको भन्दै उनीहरुले यस्तो चेतावनी दिएका हुन् । संकटको समयमा यातायात मजदुरहरुका लागि सरकारले समेत कुनै राहतका कार्यक्रममा नल्याउँदा दर्दनाक अवस्थामा रहेको उनीहरुकाे भनाई छ । अखिल नेपाल मजदुर संघका वरिष्ठ उपाध्यक्ष दीपक केसीले आवश्यक प्रोटोकल बनाएर यातायात सञ्चालन गर्नुपर्ने बताए ।  उनले मजदुरहरुको सुरक्षा ग्यारेण्टी गर्नुपर्ने, विमा गर्नुपर्ने, स्वास्थ्य सामग्रीको व्यवस्था हुनुपर्ने र बैंकहरुको किस्ता र व्याजदरमा सहजिकरण गर्नुपर्ने बताए । यस्तै, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले नीजि क्षेत्रका १० खर्ब लगानी रहेको यातायात क्षेत्रमा ११ लाख मजदुरहरु कार्यरत रहेको बताउँदै १ सय ७ दिनसम्म लकडाउन हुँदा घरमा चुलो नै बल्न नसकेको बताए ।

यस्तो छ बिग मर्जरका लागि बैंकहरुले खोजेको बम्पर प्याकेज

काठमाडौं । मर्जरको औपचारिक तयारीमा जुट्न लागेका नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंक मौद्रिक नीति कुरिरहेका छन् । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत मर्जर र एक्विजिसनको बम्पर प्याकेज आउने अपेक्षा दुबै बैंकको छ । मर्जर र एक्विजिसनको लागि नेपाल राष्ट्र बैंकले रेड कार्पेट ओछ्याएर स्वागत गरिरहेको छ । आवश्यक सहजीकरण पनि गरिरहेको छ । मर्जर र एक्विजिसनमा जाने बैंक वित्तीय संस्थाका सेयरधनीले निश्चित अवधिसम्म कर छुट पाउने सुविधा पनि पाइएकै छ । यति मात्रै होइन, नेपाल राष्ट्र बैंकले निक्षेप र कर्जाको व्याज अन्तर (स्प्रेड) दर यही असार मसान्तभित्रमा ४.४ प्रतिशतभित्र सिमित गर्नुपर्ने वाध्यकारी व्यवस्था गरेको छ । तर, मर्जरमा गएका बैंकहरुले भने अर्काे वर्ष अर्थात २०७८ असार मसान्तभित्रमा मात्रै स्प्रेड दर ४.४ प्रतिशतमा झारे हुने व्यवस्था पनि छ । त्यसो भए बैंकहरुले मर्जर र एक्विजिसनको लागि थप खोजेको बम्पर प्याकेज के हो त ? बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले सार्वजनिक रुपमा राखेका बाहेक अन्य विषय आफूलाई जानकारी नभएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् । ‘संस्थागत रुपमा संघले आफ्ना सुझावहरु राख्ने गरेको छ, उपयुक्त सुझाव राष्ट्र बैंकले ग्रहण पनि गरिरहेको छ, यसबाहेक कुनै बैंकको कुनै खास भए थाहा भएन, संस्थागत सुझावमा मर्जरका लागि यसो नगरि हुदैन भन्ने प्रकारका सुझावहरु आएका छैनन्,’ अनुसन्धान विभागको कार्यकारी निर्देशक समेत रहेका डा. भट्टले भने । नेपाल राष्ट्र बैंककै नियमन विभागका प्रमुख देवकुमार ढकाल पनि बैंकहरुले यस्तो प्रावधानले मर्जरको लागि समस्या पर्यो भनेर खुलेर नभनेको बताउँछन् । नेपाल राष्ट्र बैंकले गरेको अहिलेको व्यवस्थामै थप सहजीकरण होस् भन्ने उनीहरुको चाहना रहेको कार्यकारी निर्देशक ढकालको भनाइ छ । ‘नयाँ नीतिगत व्यवस्था गर्न लागियो भने मौद्रिक नीति आउने बेलामा मात्रै थाहा हुन्छ, केही समय बाँकी भएकोले यस्तो नीतिगत परिवर्तन हुदैछ भनेर अहिले भन्ने कुरा पनि होइन, यस्तो व्यवस्था भयो भने हामी तत्काल मर्जरमा जान सक्छौं वा यस्तो व्यवस्थाले हामीलाई मर्जरमा जान अप्ठेरो भयो भनेर बैंकहरुले प्रष्ट रुपमा नभनेकोले नीतिगत भन्दा पनि उहाँहरु व्यवहारिक पक्ष मिलाउँदै हुनुहुन्छ जस्तो लाग्छ,’ कार्यकारी निर्देशक ढकालले भने । तर, बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले अनौपचारिक रुपमा बैंकलाई व्यवसायिक फाइदा हुने प्रकारको प्याकेजको अपेक्षा गरिएको बताएका छन् । आफूहरुले यस्तो माग सार्वजनिक रुपमा राख्दा फाइदा खोजेको भन्ने आरोप लाग्ला भनेर राष्ट्र बैंकबाटै त्यस्तो व्यवस्था आए राम्रो हुने उनीहरुको चाहना छ । यसका लागि बैंकहरुले सकेसम्म व्याज अन्तर (स्प्रेड) दर खारेजीको माग गरेका छन् । स्प्रेड दर खारेजको व्यवस्था भए आफूहरुको नाफा बढ्ने बैंकर्सको अनुमान छ । त्यसो गर्न नसकिए कम्तिमा २ वर्षको लागि स्प्रेडदर ०.५ प्रतिशत बढी राख्न पाउनु पर्ने उनीहरुको भनाइ छ । ‘सबैभन्दा प्रमुख कुरा त स्प्रेड दरको अहिलेको व्यवस्था नै हटाउनु पर्छ, मर्जरमा जाने बैंकहरुलाई २ वा ५ वर्ष समय तोकेर स्प्रेड दर कायम गर्नुनपर्ने व्यवस्था गर्ने वा त्यसो गर्न सकिदैन भने पनि कम्तिमा ०.५ प्रतिशतदेखि १ प्रतिशतसम्म स्प्रेड बढी राख्न पाउने व्यवस्था मौद्रिक नीतिमा गरियो भने मर्जरको लागि उत्साह थपिन्छ,’ एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने । ०.५ प्रतिशत स्प्रेड कम हुँदा नाफा कति बढ्छ ? बैंकहरुले ०.५ प्रतिशत मात्रै स्प्रेड बढी राख्न पाए भने उनीहरुको नाफा निकै बढ्ने देखिन्छ । बैंकहरुले प्रकाशित गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षको असार मसान्तमा वाणिज्य बैंकहरुले ३ खर्ब ४ अर्ब ४५ करोड रुपैयाँ व्याज आम्दानी गरेका छन् । बैंकहरुले तीन महिनामा औसतमा ८० अर्ब रुपैयाँभन्दा बढी व्याज आम्दानी गर्ने गरेको देखिन्छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकहरुको व्याज आम्दानी २ खर्ब ४५ अर्ब ७५ करोड रुपैयाँ छ । त्यसैकारण चालु आर्थिक वर्षमा पनि बैंकहरुको व्याज आम्दानी ३ खर्ब रुपैयाँभन्दा बढी हुने देखिन्छ । यो तथ्यांक अनुसार बैंकहरुले ०.५ प्रतिशत मात्रै स्प्रेड बढाउन पाए भने उनीहरुको व्याज आम्दानी १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी हुन्छ । त्यसैकारण आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत सकेसम्म स्प्रेडदरको सीमा तोक्ने व्यवस्था नै हटोस् र सो नभएपनि मर्जरमा गएको बैंकलाई कम्तिमा पनि ३ वर्षको लागि स्प्रेडदर ०.५ प्रतिशतले बढी राख्न पाउने व्यवस्था होस भन्ने चाहना बैंकहरुको छ । कसलाई बढी फाइदा ? बैंकहरुले उठाएको स्प्रेडदर घटाउने वा हटाउने सुविधाले बढी फाइदा हुने भनेको आधार दर (बेसरेट) कम भएका पुराना र ठूला बैंकहरुलाई मात्रै हो । अहिले नै बेसरेट बढी भएका बैंकहरुले महंगोमा कर्जा दिएर व्यवसाय गर्न गर्न गाह्रो हुने भएकोले उनीहरुलाई खासै फाइदा भने हुँदैन । सम्बन्धित सामग्री मर्जरका लागि मौद्रिक नीति कुर्दै इन्भेष्टमेन्ट र हिमालयन बैंक

लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर पारित, हकप्रद लिएकाले पनि पाउने

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको प्रस्तावित ८.१२५ प्रतिशत बोनस सेयर पारित भएको छ । कम्पनीको आज(असार २४ गते) सम्पन्न १५औं वार्षिक साधारण सभाले सञ्चालक समितकाे उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँको ८.१२५ प्रतिशतले हुन आउने खुद ८ करोड ५८ लाख रुपैयाँ बराबरको बोनस सेयर पारित गरेको हो । उक्त बोनस आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट बिगतमा कम्पनीले जारी गरेको २० प्रतिशत हकप्रद सेयर लिनेले समेत पाउने कम्पनीले जनाएको छ । साथै, सभाले कर प्रयोजनको लागि ४२ लाख ९० हजार रुपैयाँ बराबर नगद लाभांश प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा अघिल्लो वर्षको तुलनामा बीमाशुल्क ८ प्रतिशतले वृद्धि भई १ अर्ब ३६ करोड रुपैयाँ बीमाशुल्क आर्जन भएको कम्पनीले जानकारी गराएको छ । साथै, सभाले सर्वसाधारण सेयरधनीहरुको समूहबाट गणेश राज रेग्मी र कमल भटृराईलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ । यससँगै उनीहरुले आगामी चार वर्षसम्म आफ्नो कार्यभार सम्हाल्ने छन् ।

अब यी दुई औषधि बिक्री वितरण गर्न नपाइने

काठमाडौं । औषधि व्यवस्था विभागले दुई प्रकारका औषधिको बिक्री वितरणमा रोक लगाएको छ । विभागले बुधबार एक सूचना जारी गर्दै दुई औषधिमा रोक लगाइएको जनाएको हो । विभागकाले मेट्रो ४०० एमजी (मेट्रोनिन्डाजोल ट्याबलेट) र सेटोफेन (प्यारासिटामोल ट्याबलेट ५०० एमजी०)बिक्री वितरणमा रोक लगाइएको हो ।  बजार अनुगमनका क्रममा संकलन गरिएका औषधिहरुको नमुना परीक्षण गर्दा न्यून गुणस्तरको पाइएकाले लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेका दुई प्रकारका औषधि बिक्री वितरणमा रोक लगाइएको विभागले जनाएको छ । औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण पेश गर्न सम्बन्धित उद्योग तथा आधिकारिक बिक्री वितरकलाई विभागले जानकारी गराएकाे छ ।

लकडाउन बिचौलियाको चाड बन्यो, ३ महिनामा अस्वभाविक नाफा, मारमा उपभोक्ता

काठमाडौं । विश्वमहामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन्न लकडाउनमा बिचौलियाहरुको ठूलो समूह देखिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले लकडाउनको समयमा विभिन्न खाद्यवस्तुका उत्पादनदेखि उपभोक्तासम्म ठूलो विचौलियाको समूह सक्रिय देखिएको बताएको छ । कोरोना भाइरसको कारण घरभित्रै रहेका मानिसहरुलाई आवश्य पर्ने खाद्य वस्तुदेखि अन्य सामग्रीहरुमा पनि महँगो मूल्य पार्न बाध्य गराउने बिचौलियाहरुको समूह सक्रिय देखिएको हो । विभागका प्रवक्ता रवीन्द्र आचार्यका अनुसार उपभोक्तमाले धेरै उपभोग गर्ने तेल, पानी, औषधि, स्टिल र सिमेन्टमा धेरै बिचौलिया देखिएका छन् । आचार्यले लकडाउनकै समयमा पनि विभागले विभिन्न उद्योग तथा पसलहरुमा अनुगमन गर्दा बिचौलियाहरु भेटिएको बताएका हुन् । उनीहरुले यो ३ महिनाको समयावधिमा उपभोक्ताहरुलाई वस्तुमा महँगो पारेर मारमा पारेका छन् । धेरै सस्तो पर्ने वस्तुको मूल्य पनि महँगो तिर्न उपभोक्ताहरु बाध्य भएका हुन् । सबैलाई कोरोना भाइरसको डर त्रास रहेको बेला बिचौलियाहरुलाई भने वस्तुमा कसरी मूल्य बढाउने भन्ने तर्फ ध्यान गएको अनुगमनबाट बुझिएको उनको भनाई छ । सरकारले लकडाउनको घोषणा गरेपनि बिचौलयाहरुले खाद्य वस्तु उत्पादनदेखि उपभोक्तासम्म सामान पुर्याउनका लागि विभिन्न उपाय निकालेर चर्को मूल्य असुलेको उनले बताए । उनीहरुले यो ३ महिनाको समयावधिमा अस्वभाविक रुपमा नाफा कमाएका छन् । जसको प्रत्यक्ष मारमा उपभोक्ताहरु परेका छन् । आचार्यका अनुसार विभागले लकडाउनको समयमा अनुगमनलाई धेरै तीव्रता दिएकोले उपभोक्ता ठगिनबाट बचेको दावी गरे । ‘लकडाउनमा बिचौलियहरुले धेरै कमाउने धन्दा गरे, हामी त्यसको अनुगमनमा तीव्रता दिएर लाग्यौं, यसले उपभोक्ताले महाँगो मूल्यमा वस्तु किन्नबाट पनि बँचे,’ उनले भने । बिचौलियाका ९ तह विभागका अनुसार लकडाउनको समयमा बिचौलियाहरुले विभिन्न सामानमा महँगो मूल्य हाल्न उपभोक्तालाई बाँधय पारेका छन् । खाद्यवस्तु उत्पादनदेखि उपभोक्तासम्म पुग्ग्दा ९ तहका बिचौलिया भेटिएको विभागले बताएको छ । आचार्यका अनुसार खाने तेलमा ४ देखि ६ तह देखिएको छ भने पानी उद्योगमा पनि ३ देखि ५ तहका बिचौलिया भेटिएका छन् । ‘हामीले ९ वटा तेल उद्योगमा अध्ययन गर्दा उत्पादनस्थल, डिलररडिस्ट्रिब्युटर्स, होलसेल, सेमी होलसेल, खुद्रा र उपभोक्तासहित अधिकतम ४ देखि ६ तह देखिए, पानी उद्योगमा पनि ३ देखि ५ तहका बिचौलिया भेटिए,’ उनले भने । यस्तै, लकडाउनको समयमा औषधि उद्योगमा पनि बिचौलिया भेटिएका छन् । आचार्यका अनुसार औषधिमा उत्पादक, डिस्ट्रिब्युटर्स, होलसेल, रिटेलर र उपभोक्ता गरी पनि ५ तहका बिचौलियाहरु भेटिएका हुन् । विभागले विभिन्न समयमा गरेको अनगुगमनमा स्टील उद्योग र सिमेन्टमा पनि बिचौलिएका भेटिएका हुन् । विभागका अनुसार सिमेन्टमा ६ तह र स्टिल उद्योगमा ४ तह र सर्जजिकल सामग्रीमा ९ तहसम्मका बिचौलिया देखिएका छन् । यसरी अस्वभाविक रुपमा विचौलिया देखिएपछि विभागले वस्तुको मूल्य निर्धारण गर्ने बताएको छ । यसका लागि मापदण्डको मस्यौदा तयार गरिएको विभागले बताएको छ । जसले बिचौलियाको फन्दामा परेर महँगो मूल्य तिर्नु पर्ने उपभोक्ताको समस्या समाधान भएर जाने बताइएको छ । लकडाउनको समयमा सरकारले वस्तुको मूल्य नबढाए पनि उपभोक्ताहरुले भने महँगोमा खरिद गर्न बाध्य भएका छन् । सरकारले अनुगमनलाई तीव्रता दिइरहेको भएपनि त्यसको प्रभावकारिता भने न्युन छ ।

कोभिड–१९ विरुद्धको लडाँईमा युनिलिभर नेपाल सक्रिय

काठमाडौं । युनिलिभर नेपालले काेभिड–१९ महामारी विरुद्धको लडाईको क्रममा एक प्रेरणादायी कार्यमा जोडिन पुगेको छ । हालको महामारीले निम्त्याएको संकटको अवस्थामा कम्पनीले स्वतन्त्र रुपमा निम्न कार्यहरु गरेको छ । सो कार्यको क्रममा कम्पनीको तर्फबाट प्रदान गरिएको राहत प्याकेज ३ कराेड ७८ लाख बराबररहेको छ । मेडिकल पूर्वाधारहरुलाई सुदृढ बनाउनका निमित्त सहकार्य गरिएकोः गम्भीर प्रकृतिका विरामीहरुको उपचारमा प्रयोग गर्नका लागि युनिलिभरद्वारा ५ वटा भेन्टिलेटर उपकरणहरु स्वास्थ्य जनसंख्या तथा वातावरण मन्त्रालयलाई उपलब्ध गराइएको छ । साथै कम्पनीले मन्त्रालयलाई २ हजार ८ सय ८० जनाको लागि कोभिड–१९ परीक्षण गर्न आवश्यक पर्ने स्वाब संकलन, नमूना भण्डारण र पिसिआर ट्युबहरुसहितको न्यूक्लेइक एसिड डायग्नोस्टिक पनि उपलब्ध गराएको छ । युनिलिभर नेपालले १ करोड ५७लाख रुपैयाँ बराबरको मेडिकल उपकरणहरु उपलब्ध गराउने प्रतिबद्धता पनिव्यक्त गरेको छ । यी उपकरणहरु कम्पनीको कार्य क्षेत्रभित्र परेका हेटौडाअस्पताल, मकवानपुर, भरतपुर अस्पताल, चितवन, नारायणी अस्पताल, वीरगञ्ज र वीर अस्पताल काठमाडौं गरी ४ मुख्य अस्पतालहरुलाई दिइने छ । कम्पनीको कारखाना टिमको तर्फबाट पनि हेटौंडाका विभिन्ननिकायहरुलाई एन ९५ मास्क, सर्जिकलमास्क, निर्मलीकरण गरिएको पञ्जा र चिकित्सा चश्माहरुलगायतका पिपिइ सेट हस्तान्तरण गरिएका छन् । सुस्वास्थ्य र स्वच्छताको लागि उत्पादनहरु वितरण गरिएका छन्ः कोभिड–१९ को महामारी लाई फैलिनबाट जोगिनका लागि हात धुनु सबैभन्दा प्रभावकारी उपायमध्ये रहेको भनि हामी सबैलाई थाहा छ । कम्पनीले नेपाल सरकारका निकायहरु जस्तैः स्वास्थ्य, जनसंख्या तथा वातावरण मन्त्रालय, उद्योग विभाग, नेपाल प्रहरी, नेपाली सेना, वडा कार्यालयहरु र अन्य कार्यालयहरुलाई १ लाख ५४  हजारभन्दा बढी थान, लक्स, डोभ, लाइफब्वाय साबुन र लाइफब्वाय ह्याण्डवासहरु वितरण गरिसकेको छ । सर्वसाधारणहरुलाई अत्यावश्यक पर्ने सामग्रीहरु सहितको राहतप्याकेज प्रदानः युनिलिभरद्वारा करिब ४ हजार २ सय परिवारहरुलाई रासनसहितको राहतप्याकेज प्रदान गरिएको छ । स्थानीय वडा कार्यालयहरुको समन्वयमा वितरण गरिएको करिब ६८ लाख रुपैयाँ बराबरको यी राहत प्याकेजहरु हेटौंडामा २ हजार २ सय, वीरगञ्जमा १ हजार र चितवनमा १ हजार परिवारलाई वितरण गरिएको थियो । कम्पनीको कारखाना टिमले पनि हेटाैंडामा रहेको मानव सेवा आश्रममा आश्रय लिइरहेका १ सय ५० जना बालबालिका र ज्येष्ठ नागरिकहरुकालागि एक महिना बराबरको राहत उपलब्ध गराएको छ । सरकारद्वारा उद्योगलाई राहत स्वरुपप्रदान गरिएको सहायता रकम फिर्ता गरिएकोः युनिलिभर नेपालले एस्.एस्.एफद्वारा उद्योगहरुलाई २०२० को अप्रिल, मे र जुन महिनाको लागी प्रदान गरिएकोवित्तीय सहयोग वापतको रकमफिर्ता गर्ने निर्णय गरेको छ । उक्त फिर्ता गरिएकोरकम सो कोषद्वारा हालको समयमा सहायताको जरुरत परेका साना व्यवसायको कल्याणको लागी उपयोग गरिन सकिनेछ । जनचेतना अभिवृद्धिमा हाम्रो सक्रियताः युनिलिभरले हातधुने कार्यलाई धेरै भन्दा धेरै प्रोत्साहन गर्न महानायक राजेश हमालसँग समन्वय गरी सामाजिक सञ्जालहरुमा व्यापक रुपमा हातधुने सम्बन्धी जनचेतना अभियान संचालन गरेको छ । यसका अतिरिक्त युनिलिभरले सर्वसाधारणलाई सामाजिक दूरी कायम गर्न अभिप्रेरित गर्न समेत उद्देश्य मूलक सञ्चार अभियानहरु संचालन गरेको छ । यसैगरी युनिलिभर नेपालले अनिश्चित भविष्य, अदृश्य चुनौतीहरु र कठिनाइहरुका कारण आफ्नो घर फर्किरहेका दाजुभाइ दिदीबहिनीहरुलाई खुल्ला एवं स्वच्छ ह्रृदयले मानवीय भावनाका साथ स्वागत गर्न युनिसेफसँग मिलेर नमस्ते अभियान समेत चलाएको छ । यसरी घर फर्किरहेका व्यक्तिहरू निजको घर, आफन्त एवं देशवासीको सहयोग महत्वपूर्ण रहेको हुन्छ ।

यी मापदण्ड पुरा गरेमात्र बैंकले ब्रोकर लाइसेन्स पाउने

काठमाडौं । अर्थ समितिको उपसमितिले बैंकलाई ब्रोकर लाइसेन्स दिन सिफारिस गरेको छ । सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा गठित उक्त अध्ययन उपसमितिले सो व्यवस्था मिलाउन अर्थसमितिलाई सुझाव दिएको हो । उक्त समितिले बोर्डले तोकेको मापदण्ड पुरा गर्ने वाणिज्य बैंकहरुलाई सहायक कम्पनी मार्फत सेयर खरिद बिक्री गर्न पाउने गरी ब्रोकर लाईसेन्स दिन सिफारिस गरेको हो । समितिले यी विभिन्न मापदण्ड पुरा गरेमात्र उक्त बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन उपयुक्त हुने प्रतिवेदनमा उल्लेख छ । यस्ता छन् मापदण्डः १) सहायक कम्पनी र मुख्य कम्पनी बीचको अन्तरसम्बन्ध र सेयर खरिद बिक्री कारोबारको सीमा के हुने ? २) भित्री कारोबारलाई नियन्त्रण वा निरुत्साहित गर्न कानुनी व्यवस्था पर्याप्त भए नभएको ? ३) त्यस्तो कारोबार पहिचान गर्न नेपाल धितोपत्र बोर्ड तथा नेप्सेमा अन्तर्राष्ट्रिय स्तरको स्वचालित बजार सुपरिवेक्षण प्रणालीको व्यवस्था भए नभएको ? ४) वास्तविक समय अनुगमन गर्न आवश्यक संयन्त्र भए नभएको ? ५) धितोपत्र बजारमा वास्तविक क्षेत्रको हिस्सा कति प्रतिशत हुनुपर्ने ? ६) वाणिज्य बैंकका शाखाहरुले नै सहायक कम्पनीको काम गर्ने वा सहायक कम्पनीका अलक शाखाहरु देशव्यापी रुपमा सञ्चालित हुने ? ७) ओपन इन्ट्रि एक्जिट पोलिसी अनुरुप लाइसेन्स दिँदा के हुन्छ ? ८) फुल्ली अटोमेसनमा जाँदा ब्रोकरको संख्या घटाउनु वा बढाउनु के गर्नुपर्ने हो ? ९) सेल(बिक्री) साईड र खरिद(वाई) साईड इन्फरमेसनको आधारमा दुबै तर्फका काम एउटै दलाल व्यवसायीले गर्ने वा नगर्ने र गर्ने भएमा त्यसको लागि फाइर वालको व्यवस्था कसरी गर्ने ? १०) वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिँदा नियामक निकाय नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्ड दुबै हुने देखिएकाले कसरी व्यवस्थीत गर्ने ? ११) हालका धितोपत्र व्यवसायीले तोकिएको परीक्षा दिई उत्तिर्ण भएको आधारमा ब्रोकर लाइसेन्स पाउने व्यवस्था रहेकोमा बैंकका सहायक कम्पनीलाई यो व्यवस्था कसरी लागू गर्ने ? ब्राेकर लाइसेन्स लिन इच्छुकले यी मापदण्ड तथा सवालहरुको सम्बोधन गर्नुपर्ने छ । र, लगानीकर्ताको लगानी सुरक्षित हुने र पुँजी बजारको अवस्थामा वृद्धि र विस्तार हुने वातावरण सिर्जना भए पश्चात अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेप्से लगायतका निकायहरुले आवश्यक तयारी गरी वाणिज्य बैंकका सहायक कम्पनीहरुलाई धितोपत्र दलाल व्यवसायी अनुमति पत्र दिन उचित हुने झाँक्रीको उपसमितिको सुझाव छ । साथै, समितिले धितोपत्र दलाल व्यवसायलाई थप प्रतिस्पर्धी बनाउन धितोपत्र दलाल सम्बन्धी विद्यमान इजाजत र संचालन नीतिमा पुनरावलोकन गर्न सुझाव दिएकाे छ । त्यस्तै, सेयर खरिद बिक्री गर्न पाउने गरी खोलिएका वाणिज्य बैंकहरुका सहायक कम्पनी तथा धितोपत्र दलाल व्यवसायीले अर्को धितोपत्र दलाल व्यवसायीलाई प्राप्ती गर्ने र गाभिने नीतिगत व्यवस्था गर्न सिफारिस गरेको छ ।

अध्यक्ष भएकाे छ महिनामा हटाउने याेजना बनेपछि म चुनावमा सक्रिय भएकाे हुँ-शेखर गोल्छा

शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष -नेपाल उद्योग वाणिज्य महासंघ विधानत नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बनिसक्नुपर्ने तर कोभिड–१९ को कारण वरिष्ठ उपाध्यक्ष मै सीमित भएका शेखर गोल्छा यतिबेला निजी क्षेत्रको केन्द्रविन्दुमा छन् । अध्यक्षको कुर्सीमा नबसेपनि पछिल्लो तीन महिनामा उनी कार्यवाहक अध्यक्षको भूमिकामा सक्रिय छन् । निजी क्षेत्रका डेलिगेशनहरुमा होस् वा महासंघको नियमित काममा होस्, गोल्छाको सक्रियता बढेको छ । त्यतिमात्र होइन, अब हुने चुनावी प्रक्रियापछि अध्यक्ष पक्का भएपनि निर्वाचनमा शसक्त रुपमा होमिएका छन्, आफ्नो टिमलाई जिताउन युद्धस्तरमा लागेका छन् । देशकै पुरानो औद्योगिक घरानाका सदस्य भएकोले, सफल व्यवसायिक पृष्ठभूमि, प्रष्ट वक्ता र ड्यासिङ पर्सनालिटी भएकोले पनि महासंघमा गोल्छाको नेतृत्व प्रभावकारी बन्ने अनुमान धेरैको छ । निर्वाचनपछि अध्यक्ष हुने पक्का हुँदा हुँदै उनी किन निर्वाचनमा पक्ष विपक्षमा उत्र्तीय ? महासंघमा अध्यक्ष भएपछि उनको योजना के छ ? विकासन्युजका रामकृष्ण पौडेल र सन्तोष रोकायाले गरेको विकास वहस । महासंघको विधान अनुसार अध्यक्षको कार्यकाल तीन वर्षको हो । तीन वर्षपछि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था पनि छ । गत चैत २८र २९ गते हुने भनिएको महासंघको साधारणसभा र निर्वाचन स्थगित भएपछि तपाई स्वतः अध्यक्ष हुनुपर्ने होइन ? चैत मसान्तमा साधारणसभा गरी नयाँ नेतृत्व आउनु पर्ने कुरा हाम्रो विधानमा स्पष्ट लेखिएको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण हाम्रो साधारणसभा पनि स्थगित भयो । सरकारले ठूलो भेला नगर्न भनेपछि हामीले सरकारको निर्णयलाई सम्मान गरेर साधारणसभा पनि रोक्यौं । महासंघको विधानमा विशेष अवस्थामा ३ महिनासम्म साधारणसभा सार्न सकिने पनि लेखिएको छ । सोही विधान अनुसार कार्यसमिति बसेर साउन २६ र २७ गते साधारणसभा हुने गरी मिति तय गरेका छौं । फेरी पनि त्यहि प्रश्न । चैतको साधारणसभा रोकिएसँगै तपाईले आफ्नो पदबहाली किन गर्नु भएन ? मैले महासंघमा धेरै संघर्ष गरेर यहाँसम्म आएको छु । म कहिले नेतृत्वमा आउँछु भनेर आतुर पनि छु । तर हाम्रो विधानमा साधारणसभा भइसकेपछि मात्र अध्यक्ष र नयाँ कार्यसमितिले कार्यभार सम्हाल्ने भनिएको छ । एउटा नैतिक रुपमा त्यो उचित होकि होइन भन्ने कुरा पनि आँउछ । अहिलेका वर्तमान अध्यक्षज्यूले लामो समयदेखि निजी क्षेत्रको सेवा गर्नु भएको छ । यो उहाँकै साधारणसभा हो । उहाँले जाँदा पनि आफूले गरेका काम सबै साथीहरुसँग आदान–प्रदान गरौं । ज्ञान आदान प्रदान गरौं भन्ने छ । यो महत्वपूर्ण कुरा हो । यसमा म बाधक हुन चाहन्नँ । साउन २६ र २७ गते महासंघको साधारणसभा हुन्छ कि हुँदैन भन्ने कुरा अझै अनिश्चित नै छ । फेरी पनि साधारणसभा भएन भने तपाई कहिले अध्यक्ष बन्ने भन्ने कुरा अनिश्चित भयो होइन ? महासंघको चुनाव कुनै राजनीतिक शक्ति लगाएर हुन सक्दैन । यो सही समयमा हरेक कानुन र प्रक्रिया पुरा गरेर हुन्छ । सरकारले साउन ७ गतेसम्म मात्र लकडाउन हुन्छ भनेको छ । त्यही अनुसार हामीले मिति तोकेका हौं । अझै पनि यसमा केही बाधा हुन्छ भने हामी साधारणसभा सार्न तयार छौं । महासंघको चुनावमा सर्वसाधरण, मिडिया, सरकारको चासो छ । हामीले हरेक कानुनलाई सम्मानका साथ स्वीकार गरेर जानुपर्छ । चुनावलाई दवावका साथ गराउने पक्षमा म छैन । अहिले सरकारको जुन नीति नियम छ महासंघको चुनाव अहिले पनि गर्न सकिने अवस्था छ जस्तो मलाई लाग्छ । केही गरेर कोरोना अझै फैलियो भने त्यसको लागि पनि हामीले मानसिक रुपमा तयार रहनुपर्छ । मानसिक रुपमा तयार भनेको के हो ? हामी सरकारको कुनै पनि कानुन नीति नियमलाई मिच्न चाहन्नौं । तर त्यसबेला अरु कुनै उपाय हुन्छ भने हामी त्यसको बारेमा पनि सोच्नेछौं । सामाजिक दूरी कायम गरेर हुन्छ कि अन्य कुनै तरिकाले चुनाव गर्न सकिन्छ । त्यसको बारेमा पनि हामी सोच्नेछौं । यदि गर्न सकिएन भने अझै निर्वाचन सार्न पनि हामी तयार हुन्छौं । डिजिटल भोटिङ एउटा विधि हुनसक्थ्यो । तर तपाईहरुले त्यो विधि किन रोज्नु भएन ? यसमा दुई कारण छन् । अहिलेका अध्यक्षज्युले साधारणसभा गरेर अर्थात एक उत्सव नै गरेर बाहिरिने सोचमा हुनुहुन्छ । उहाँको त्यो सोचलाई हामीले सम्मान गर्नै पर्छ । चुनावमा अनलाइन भोटिङ गर्न सकिन्छ कि सकिदैन भन्ने कुरामा पनि छलफल पनि गरिनै रहेका छौं । पछि त्यो विकल्प पनि आउँन सक्छ । डिजिटल भोटिङमा जान प्रोक्सी प्रणाली वाधक हो ? मैले त कुनै समस्या देखेको छैन । यसमा विधानको कुरा पनि आउँछ । सबै सदस्यहरुको मनसाय पनि बुझ्नु पर्छ । यो सोच हामीले राख्न जरुरी पनि छ । समस्या अन्य धेरै पनि छन् । सबै जिल्लाका साथीहरुले यो विधिलाई स्वीकार गर्नु पर्यो । उम्मेदारहरुले पनि स्वीकार गर्नु पर्यो । यदि यही विधिमा सहमति हो भने गर्न सकिन्छ । अब तपाई महासंघको सर्बसहमत अध्यक्ष । तर, तपाईलाई नै सबैभन्दा बढी चुनाव लागेको देखियो । निर्वाचनको एउटा समूहलाई जिताउन र अर्को समूहलाई हराउन तपाई आफैै किन सक्रिय हुनुभयो ? पक्कै हो अब म महासंघको अध्यक्ष । किनकी विधानले मलाई त्यो अधिकार दिएको छ । अहिलेको निर्वाचमा मैले कुनै साइड लिइराख्नु पर्ने जरुरी पनि थिएन । मैले आफूलाई सन्तुलित नै राख्नु पर्दथ्यो । तर केही साथीहरुले सार्वजनिक रुपमै म माथि अविश्वासको प्रस्ताव ल्याएर फाल्दिन्छु भन्ने जस्ता अभिव्यक्ति दिएका छन् । उहाँहरुले मलाई काम गर्न दिइन्न भन्ने जस्ता अभिव्यक्ति पनि दिएका छन् । यस्तो विविध समस्याहरु आए । म महासंघमा काम गर्न आएको छु । त्यसैले मेरो आइडियालाई सम्मान गरेर एकसाथ अगाडि सहयोग गर्ने टिम तयार गर्नुछ । त्यसका लागि मेरो समर्थकहरुलाई जिताउन निर्वाचनमा म सक्रिय हुनुपरेको हो । यो निर्वाचनमा म पक्ष विपक्षमा लाग्ने सोचमा थिइन । तर, मलाई अर्को पक्षले काम गर्न दिँदैन । अविश्वासको प्रस्ताव ल्याएर फाल्दिन्छु भन्न थाले । मेरो हैसियत माथि प्रश्न गर्न थाले । त्यसपछि म पनि चुनावमा होमिएर लागेको हुँ । आफूले समर्थन गरेको टीमबाट कार्यसमितिमा बहुमत आएन भने पछि आफूलाई नै काम गर्न समस्या हुन्छ, अहिलेको विधि थप जोखिमपूर्ण छ भन्ने तपाईलाई लाग्दैन ? जोखिम त अवश्य छ । तर मैले कुनै साइड नलिँदा त्योभन्दा ठूलो जोखिम छ । एउटा पक्षले ममाथि जुन व्यक्तिगत कमेन्ट गरेर असफल बनाउन चुनौती दिएर हिडिरहनु भएको छ भने त्यो पनि मेरो लागि ठूलो चुनौती हो । दुईटा जोखिम मध्ये कम जोखिमपूर्ण बाटोमा म अगाडि बढेको छु । अहिलेका तपाईका सहकर्मीहरु जो आगामी चुनावमा वरिष्ठका अध्यक्षका लागि लड्दै हुनुहुन्छ । तपाईले किशोर प्रधानलाई किन छनोट गर्नुभयो ? उहाँको स्ट्रेन्थ के हो ? चन्द्र ढकालमा के कमजोरी देख्नुभयो ? दुवै जना सक्षम हुनुहुन्छ । दुवै जनाले महासंघमा धेरै योगदान गरेर यहाँसम्म आइपुग्नु भएको हो । किशोरजीको कुरा गर्ने हो भने उहाँले २५ वर्षभन्दा बढी निजी क्षेत्रको सेवा गनर््ु भएको छ । त्यस्तै चन्द्रजी पनि नेपालमा सफल व्यवसायी भनेर चिनिनु हुन्छ । मेरो उहाँहरु दुवै जनासँग बिमति छैन । मेरो एउटा कुरा मात्र के हो भने जसलाई साथ दिँदा मलाई सहयोग हुन्छ त्यसैलाई समर्थन गर्ने हो । सहमतिको सम्भावना कति छ ? हामी अझै पनि लागि नै रहेका छौं । महासंघको नेतृत्व सर्वसम्मत हुन सक्यो भने यो भन्दा ठूलो संस्थाको लागि केही हुन सक्दैन । मेरो प्रयास जारी नै छ । कसैले मिल्न चाहन्छन् भने म बाधक हुँदिन । तपाईको प्रस्ताव के हो ? कसरी मिल्न सकिन्छ ? जिम्मेवारी अगाडि पछाडि गरेर अर्थात जिम्मेवारी बाँडेर कुनै न कुनै तरिकाले मिल्न सकिन्छ । मिल्न सकिने सम्भावना म अझै पनि देख्छु । मैले चुनाव लड्ने होइन । जो चुनाव लड्छ उहाँहरुले आफै मिलेर अगाडि बढून भन्ने मेरो चाहना हो । यो विषम परिस्थितिमा काम गर्न धेरै जटिल छ । यसमा सबैले मिलेर सहमतिको आधार निर्माण गर्यो भने म बाधक हुँदिन । महासंघका सदस्यहरु यो परिस्थितिमा बैंकको ऋण कसरी तिर्ने ? कसरी कर्मचारीलाई तलब दिने भन्ने तनावमा छन् । तर यस्तो अवस्थामा तपाईहरु सेवाको लागि होइन, चुनावका लागि, भोटका लागि फोन गर्नुहुन्छ । बैठक भेला गर्नुहुन्छ । तपाईहरुलाई  हामीले राइट टाइममा राइट स्टेप चालेका छैनौं भन्ने लाग्दैन ? पक्कै पनि । यो विषम परिस्थिति रहेको छ । महासंघले काम नगरेको पनि होइन । तपाई गत दुई दिन महिना हेर्नुहुन्छ भने कोरोना भाइरसले उत्पन्न समस्या समाधानका लागि हामीले शसक्त तरिकाले आवाज उठाएका छौं । धेरै समस्या समाधान पनि भएका छन् । केही समस्याहरु मौद्रिक नीतिमा पनि समाधान भएर आउँछन् । हामीले बजेटमा पनि धेरै कुराहरु समेटेर सुझाव पेश गरेका थियौं । केही सुझाव समेटिएका पनि छन् । केही अझै समाधान हुने प्रक्रियामा छन् । हामी चुनाव सँगसँगै निजी क्षेत्रका समस्या समाधानमा पनि खटिनै रहेका छौं । केही महिनादेखि तपाई अध्यक्षभन्दा बढी फ्रन्ट लाइनमा देखिनु भएको छ । यो अवधिमा तपाईले देखिने र प्रभावकारी काम के के गर्नुभयो ? कोभिड १९का कारण निजी क्षेत्रमा तरलता अभाव मुख्य समस्याका रुपमा देखापरेको थियो । यसमा व्याजदर, पुनकर्जा, कर्जा पुर्नसंरचना र थप ऋणको कुरा थियो । यी चारै कुरामा हामीले उपलब्धि हाँसिल गर्यौं । राष्ट्र बैंकले २ प्रतिशत व्याज घटाउन निर्देशन पनि दिएको छ । समयमा कर्जा तिर्नेलाई कुल व्याजमा १० प्रतिशत छुट दिएको छ । पुर्नकर्जा राष्ट्र बैंकले अझै बढी हुन सक्ने भनिरहेको छ । रिस्ट्रचरिङको पनि हामीले मौद्रिक नीतिमार्फत केही समाधान हुने हामीले आश्वासन पाएका छौं । अर्को थप ऋणको पनि हामीले माग गरेका थियौं । त्यसको मौद्रिक नीतिमै समाधान हुन्छ भन्ने हामीले अपेक्षा गरेका छौं । उर्जामा पनि समस्या थियो । त्यसको पनि बजेटमा नै घोषणा भएको छ । हाम्रै प्रयासमा डेडिकेटेड लाइन ट्रंकलाइनको समस्यामा पनि समाधान भएको छ । केही स्टीमुलस प्याकेज पनि आएको छ । त्यसले केही समस्या समाधान पनि हुन्छ । यो तीन/चार महिनामा धेरै काम भइरहेको छ । हामीले अख्तियारको संशोधन प्रस्ताव रोक्न पनि सफल भयौं । हामीले चुनावका लागि मात्र लागिरहेका छैनौं । काम धेरै भइरहेको छ । हुन सक्छ चुनावका कारण हामीले गरेका हाम्रा कामहरु प्रचार गर्न पनि चुक्यौं । श्रम सम्बन्धि उच्च स्तरीय कार्यदल पनि बनेको छ त्यसको बारेमा के हुँदैछ ? हामीले सुरुदेखि नै लकडाउनकमा घर बसेका श्रमिकहरुलाई ५० प्रतिशत र काममा रहेकालाई सत प्रतिशत तलब दिने भनेका थियौं । जव सरकारले सबैलाई शतप्रतिशत दिनु पर्छ भन्यो । काम गर्न कोही पनि आएनन् । यसले एकदमै महत्वपूर्ण उद्योगहरुमा पनि श्रमिकहरु नहुँदा समस्या उत्पन्न भयो । लकडाउनको कारण धेरै उद्योग व्यवसायहरु समस्यामा परेकोले धेरै कर्मचारी कटौती गर्नुपर्ने अवस्था पनि आएको छ । सबैको श्रमिकको ग्यारेन्टी पनि हामी गर्न सक्दैनौं । व्यवसाय चल्दैन भने श्रमिक राखिराख्न आवश्यक पनि हुँदैन । कति कर्मचारी कटौती गर्ने भन्ने कुराको अध्ययन पनि भइरहेको छ । श्रम मन्त्रालयको तथ्याङ्क हेर्ने हो भने झण्डै ५ लाख श्रमिक कटौती वा विस्थापित हुन्छन् भन्ने अनुमान गरेको छ । यसको बारेमा के गर्ने भन्ने बारे छलफल पनि भइरहेको छ । चैत महिनाको तलब पुरै भुक्तानी गरेर अन्य महिनाको घरमा बसेकालाई ५० र काम गरिरहेकालाई शतप्रतिशत भुक्तानी गर्नुपर्छ भनेर हामी भनिनै रहेका छौं । आशा गरौं यसको चाँडै समाधान हुन्छ । अहिले धेरै श्रमिकहरु चैतको पनि तलब पाएनौं भनेर आवाज उठाइरहेका छन् । यो विषयमा तपाईहरुले उचित व्यवस्थापन तथा समाधान गर्न नसकेको हो ? धेरै साथीहरुले पहिला उद्योगीले पैसा धेरै कमाएका छन् तलब भुक्तानी गर्नु पर्छ भन्ने धारणा पनि राखेका छन् । कोभिड १९ भन्दा पहिले पनि धेरै उद्योग व्यवसायहरुमा समस्या थियो । जति जे गरे पनि व्यवसाय चल्न सक्ने अवस्था छैन भनेपछि उसले कर्मचारी राखेर पनि केही हुन सक्दैन । तैपनि त्यो समस्या पहिलेको हो । अहिले त्यो समस्या विस्तारै हटेर गइसकेको छ । औपचारिक क्षेत्रले विस्तारै आफ्नो लाइन लिन थालेको छ । स्कूल कलेजका शिक्षक कर्मचारीले चैतदेखि तलव पाएनौ भनेर सडकमा आएका छन् । होटलहरुले पनि तलव दिएका छैनन् । यातायत क्षेत्रको हालत झन् खराव छ ? कसरी औपचारिक क्षेत्र विस्तारै लाइनमा आए भन्न मिल्छ ? होटल, शिक्षा, यातायातका क्षेत्रमा अलगै संघसंस्थाहरु छन् । व्यवसायका प्रकृति अनुसार नै उनीहरुका छाता संगठनहरु छन् । उनीहरु पनि छलफल मै छन् । तपाईले भनेको क्षेत्रमा हाम्रो भूमिका छैन । उद्योग वाणिज्य महासंघलाई सबै व्यवसायको छाता संगठन भनिरहँदा यसरी समस्या पर्दा त्यो हाम्रो कार्यक्षेत्रभन्दा बाहिरको कुरा भन्न मिल्छ ? हामी महासंघलाई सबै व्यवसायहरुको छाता संगठन मान्छौं । तर कुनै–कुनै क्षेत्रहरुको समस्याहरुका लागि उनीहरुका आफ्नै छाता संगठन छन् । उनीहरुले कुनै निर्णय गर्छन भनेपछि हामीले त्यसमा कुनै बाधा व्यवधान र हस्तक्षेप गर्दैनौं । तपाई महासंघको अध्यक्ष भइसकेपछि निजी क्षेत्रलाई कसरी रुपान्तरण गर्नु हुन्छ । महासंघलाई कसरी ड्राइभ गर्नुहुन्छ ? मैले मुख्य गरेर चार/पाँच वटा योजना बनाएको छु । अहिले निजी क्षेत्रमा लाग्ने व्यवसायीहरुलाई प्रोडक्टीभ क्षेत्रमा लगानी बढाउन कसरी प्रोत्साहित गर्ने भन्ने मेरो एजेण्डा छ । यसको बारेमा मैले विस्तृत अध्ययन गरेको छु । यसको लागि योजनाहरु पनि बनाउँदैछु । अर्को संगठन भित्रको कुरा पनि छ । महासंघको विधान नयाँ हुनु पर्छ भन्ने कुरा छ । यसबारे सबै नगरजिल्लाका साथीहरु पनि भनिनै रहेका छन् । सबैले चाहेको जस्तो विधान बनाउनु पर्छ । त्यो समयमै आउनु पर्छ भन्ने हो । हामी नेपाल उद्योग वाणिज्य महासंघलाई अझै व्यवसायिक बनाउन चाहन्छौं । त्यसमा मेरो जुन विषशेज्ञता छ यसमा म प्रतिवद्ध भएर लाग्नेछु । त्यसपछि निजी क्षेत्रका जुन नीतिगत समस्याहरु छन् त्यसमा मैले पुरा योजना बनाएको छु । कुन–कुन ऐन कानुन बाधा अड्चन गर्ने खालका छन्, त्यसमा के सुधार गर्नुपर्छ, कसरी गर्नुपर्छ । त्यसको लागि रोडम्याप पनि बनाएको छु । यसको पुरै डिटेल सही समयमा सबै साथीहरुलाई सेयर पनि गर्छु । अहिले पनि सरकारले धेरै क्षेत्रमा लाइसेन्स बन्द गरेको छ । सरकारले मूल्यमा रेगुलेट गर्छ र नाफामा कन्ट्रोल गरिरहेको छ । बस्तु तथा सेवाको गुणस्तरमा सरकारी नियमन छैन । यो अर्थतन्त्र विकासको र निजी क्षेत्रको विकासका लागि ठूलो वाधा हो । यस्ता वाधा हटाउन तपाईको भूमिका कस्तो हुन्छ ? पक्कै पनि हामीले न्यूनतम रेगुलेट होस् भनिरहेका छौं । प्रतिस्पर्धाले नै त्यसको मूल्य तोकोस् भन्ने हाम्रो सोच र माग पनि हो । सरकारले त्यो प्रतिस्पर्धा सही तरिकाले भइरहेको छ भन्ने प्लेटफर्म तयार गरोस् भन्ने हो । त्यसको गुणस्तरदेखि त्यसको मूल्य खुल्ला बजार अर्थतन्त्रले सेट गर्छ । जहाँ रेगुलेसन हुन्छ त्यहाँ अर्को समस्या र विकृति आउँछ । हाम्रो उत्पादित वस्तुको रेगुलेट र मूल्य तोक्ने काम उपभोक्ताले नै गर्नुपर्छ भन्ने हाम्रो भनाई हो । अनुगमन गर्ने सरकारको अधिकारको कुरा हो । जव त्यसमा बनावटी अनुगमन गरिन्छ त्यहाँ झन लगानीको वातावरण बिग्रदै जान्छ । सरकारले अनुगमन गर्नुपर्छ तर त्यसमा आचारसंहिता हुनुपर्छ । अनुगमन जब न्यायिक निश्कर्षमा पुग्दैन कुनै पनि हालतमा उसको मानमर्दन गर्न पाइँदैन ।