विकासन्युज

ओली-प्रचण्ड वार्ता सुरु, हाेला त सहमति ?

काठमाडाैं । प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता सुरु भएको छ। बुधबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच वार्ता सुरु भएको बताइएकाे छ । पार्टीभित्र देखिएको विवाद उत्कर्षमा पुगेपछि समाधानका लागि दुई अध्यक्ष विगत केही दिनदेखि निरन्तर वार्तामा छन्। आजको वार्ता पनि त्यसैको निरन्तरता भएको बताइएको छ। दुई अध्यक्ष तीन दिनदेखि वान अन वन वार्तामा छन् । प्रचण्डले प्रधानमन्त्रीले दुवै पद छाड्नुपर्ने अडानमा छन् । प्रधानमन्त्री राजीनामा बाहेकका विषयमा सहमति खोज्न तयार रहेको बताउँदै आएका छन् ।

महामारीमा चियापसलकाे भ‍ेटघाट बन्द गराैं- स्वास्थ्य मन्त्रालय

काठमाडाैं ।  महामारीकाे समयमा चियापसलकाे भेटघाट बन्द गर्न स्वास्थ्य तथा जनस‌ंख्या मन्बालयले आग्रह गरेकेा छ । बुधबार भएकाे मन्त्रालयकाे नियमित ब्रिफिङमा प्रवक्ता डा‍‍‌. जागेश्वर गौतमले महामारीकाे समयमा चियापसलकाे भेटघाट बन्द गर्न आग्रह गरेकेा हुन् । कसलाई काेराेना लागेकाे थाहा नहुने भन्दै गाैतमले यस्ताे समयमा साथीभाईहरुभन्दा पनि घरपरिवारसँग चियाकाे चुस्की लिँदा सबैकाे लागि उचित हुने बताए । उनी भन्छन्, ‘चियापसलमा साथीसँग भेटेर चिया खानु मज्जा हुन्छ । यस महामारीकाे बेलामा चियापसलकाे भेटघाटलाई निरुत्साहित गर्दै घरपरिवारसँगै दुखसुख साट्दै चियाकाे घट्की लगाउनुकाे मज्जा बेग्लै हुन्छ र हामी सुरक्षित पनि रहन सक्छाैं ।’ उनले पसल, बाटाेमा लकडाउन खकुलेभएसँगै देखिएकाे भिडभाडहरु सामान्य देखिए पनि सामान्य नभएकाे बताए । आफ्नाे साथीभाईलाई काेराेना छैन भन्ने भ्रम हटाउन पनि उनले आग्रह गरेका छन् ।

नबिल बैंक र हुवावेबीच रणनैतिक सहकार्य गर्ने सम्झौता

काठमाडाैं । नबिल बैंक र चिनियाँ प्रविधि कम्पनी हुवावेबीच रणनैतिक सहकार्य गर्ने सम्झौता भएको छ। बुधवार नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र हुवावे टेक्नोलजिज नेपालका प्रमुख कार्यकारी अधिकृत डेंग शुइगेनले रणनैतिक सहयोग समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। हस्ताक्षर कार्यक्रममा वित्त सेवा व्यापार शाखा, हुवावे इन्टरप्राइज बीजीका अध्यक्ष चाओ चोंग र अन्य प्रतिनिधिहरूले उक्त कार्यक्रममा साक्षीको रूपमा भाग लिएको बैंकले जनाएको छ। नबिल बैंकका लागि क्लाउड डिजिटाइजेसन सेवाबारे दुई संस्थाबीच सम्झौता भएको हो। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हुवावेजस्तो विश्वविख्यात सूचना प्रविधि सेवा प्रदायक कम्पनीसँग रणनैतिक साझेदारी गर्न पाएकोमा उत्साह व्यक्त गरे। उनले यो साझेदारी बैंक र ग्राहक वर्गमा भ्यालु अभिवृद्धि गर्नका लागि रणनैतिक रूपमा महत्वपूर्ण रहेको बताए। सम्झौतामा हस्ताक्षर गर्दै दुवै कम्पनीले फलदायी साझेदारी सिर्जना गर्ने र एक अर्का बीच आपसी–लाभदायी रणनैतिक सहयोग सम्बन्ध निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्। हुवावेले नबिल बैंकलाई डिजिटल रूपान्तरणको लागि विभिन्न पक्षका लागि सहयोग पुर्‍याउनेछ। यसबाट नयाँ डिजिटल बैंकिङ्ग, इन्टेलिजेन्ट सुरक्षा प्रणाली, इन्टेलिजेन्ट बैंकिङ्ग प्रवाह, इन्टेलिजेन्ट आन्तरिक व्यवस्थापन आदि हुनेछन्। बैंकले नेपालको आधुनिक टेक्नोलोजी बैंकमा नेतृत्व गरी अहम भूमिका खेल्न सक्षम हुने र एक ईकोसिस्टम निर्माण गर्ने छ जसले ‘एभरीवेर इज बैंक, बैंकिङ्ग एट एनिवेर’ पूरा गर्ने बताइएको छ। हुवावेले अत्याधुनिक प्रविधिको प्रयोग गरेर सर्वोच्च ग्राहक अनुभवको लागि स्मार्ट र भरपर्दो समाधान प्रदान गर्नेछ।

काठमाडाैं उपत्यकामा थपिए २३ जना कोरोना संक्रमित

काठमाडाैं । बुधबार काठमाडौं उपत्यकामा एकैदिन २३ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा २३ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडाैंकाे १६ जना, ललितपुरकाे ७ जना रहेकाे गाैतमले बताए । बुधबार नेपालमा २ सय ५५ जना काेराेना संक्रमित थपिएका छन् भने २ सय ५३ जना संक्रमित निकाे भएर घर फर्किएका छन् । नेपालमा काेराेना संक्रमितकाे स‌ंख्या १६ हजार ४ सय २३ पुगेकाे छ भने कुल निकाे भएर घर फर्किनेकाे संख्या ७७ सय ५२ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३५ जनाको मृत्यु भइसकेकाे छ ।

नेपालमा थप २ सय ५५ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा २ सय ५५ जनामा कोराेना भाइरस देखिएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १६ हजार ४ सय २३ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ७७ सय ५२ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३५ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म २ लाख ६६ हजार ४ सय ५७ काे पिसिआर विधि र ३ लाख १२ हजार ४ सय २ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ । सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन । हाल देशभर २५ हजार ४० जना क्वारेन्टिनमा रहेका छन् भने ८ हजार ६ सय ३६ जना आईसाेलेसनमा रहेका छन् ।

सरकारले घोषणा गरेको राहत कार्यक्रम कार्यान्वयन नगरेको भन्दै व्यवसायीले गरे आन्दोलनको घोषणा

काठमाडाैं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले आन्दोलनको घोषणा गरेका छन् । महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै सरकारले बैंकिङ साँवा तथा ब्याज भुक्तानीको समय सीमा थप गरी कर्जाको ब्याजमा २ प्रतिशतको छुटसहित घरभाडा छुटको घोषणा गरेपनि कार्यान्वयन नभएको भन्दै साेकाे कार्वान्वयनका लागि आन्दाेलनकाे घाेषणा गरेका हुन् । कोभिड–१९ (कोरोनाभाइरस) का कारण व्यापार व्यवसाय गुमाएका र आर्थिक संकटमा परेका व्यवसायीहरुलाई सरकारले सहयोग नगरेको भन्दै व्यवसायीहरुले आन्दोलन गर्ने जनाएका छन् । महासंघले ६ सूत्रीय माग राखेको छ । व्यवसायीहरुले लकडाउन अवधिको बैंकिको व्याजदरमा शतप्रतिशत छुट पाउनु पर्ने, किस्ता तथा ब्याज तिर्ने भाका कम्तिमा एक वर्ष पछाडि सारिनुपर्ने, पुनर्कर्जा कोषमा साना उद्योग, व्यवसायीहरुको पहुँच सुनिश्चित गरिनुपर्ने, कर्जाको ब्याजदर बढीमा ८ प्रतिशत कायम गरिनु पर्ने, स्प्रेड रेट घटाएर ३.५ प्रतिशत कायम गरिनु पर्ने र लकडाउन अवधिभरको व्यवसायीक घरभाडा पुरै छुट गरिनु र्ने माग अघि सारेको छ । सरकार विरुद्धको आन्दोलन घोषणा गरेको महासंघले पहिलो चरणमा भोलि बिहिबार ९ बजे माइतिघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने जनाएको छ ।

माइक्रोबाइलोजी पढेर अनुमतिपत्र नपाएपछि बेरोजगार

काठमाडौ‌ं ।  नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले मेडिकल माइक्रोवाइलोजीको अनुमतिपत्र नखुलाउँदा सयौं विद्यार्थी समस्यामा परेका छन् ।परिषद्ले २०६८ सालदेखि अनुमतिपत्र नखुलाउँदा सयौँं विद्यार्थी मुलुकमा नै बेरोजगार भएपछि विदेशिनु परेको छ । स्नातकोत्तर तह उर्तीण गरेका विद्यार्थीलाई माइक्रोवाइलोजी अनुमतिपत्र दिएपछि मात्र प्रयोगशालामा काम गर्ने गर्दछन् । तर परिषद्ले अहिलेसम्म अनुमतिपत्र नखुलाउँदा प्रयोशगालामा काम गर्ने दक्षजनशक्तिले काम पाएका छैनन् । परिषद्ले एक पटक मात्र अस्थायी अनुमतिपत्र खुलाए पनि त्यसपछि खुलाएको छैन । त्यो अस्थायी अनुमतिपत्र पनि नवीकरण भएको छैन । त्यतिबेला ११६ जनालाई अस्थायी अनुमतिपत्र दिएको थियो । विद्यार्थीले अनुमतिपत्र खुलाउनका लागि पटक–पटक परिषद्सँग आग्रह गरे पनि खुलाउन माग गर्दै पीडित विद्यार्थीले माइक्रोवाइलोजी सङ्घर्ष समिति गठन गरेका छन् । समितिका सञ्जीव घितालले अध्ययन गरे पनि अनुमतिपत्र नभएपछि आफ्नै देशमा सेवा गर्न नपाएको गुनासो गरे । ‘‘अनुमतिपत्र खुलाउन माग गर्नका लागि हामीले पटक–पटक परिषद्सँग आग्रह ग¥यौ,’’ उनले भने, ‘‘तर अहिलेसम्म खुलाएका छैनन् । हामीले काम गर्ने अवसर पाएका छैनाैँ । पढेको खेर गइरहेको छ ।’’ उनले २०७१ सालमा माइक्रोवाइलोजीमा स्नातकोत्तर तह उत्र्तीण गरेका हुन् । उनीजस्तै करिब दुई हजार ५ सय विद्यार्थीले अनुमतिपत्र नपाएर बेरोजगार भएका छन् । उनले आफूहरुले कोरोना सम्बन्धी अध्ययन गरेपनि मुलुकमा महामारी आउँदा पनि अनुमतिपत्र नभएपछि कोभिड–१९ को पिसिआर परीक्षण गर्ने काम नपाएको गुनासो गरे । त्रिभुवन विश्वविद्यालय केन्द्रीय माइक्रोवाइलोजी विभागका प्रमुख डा मेघराज वञ्जाराले परिषद्कै मापदण्डअनुसार आफूहले विद्यार्थीलाई पढाए पनि अनुमतिपत्र नपाउँदा सेवा गर्ने अवसर नपाएको बताए । उनले अनुमति पत्र नपाउँदा कोभिड–१९ को बेला प्रयोगशालमा यहाँ पढेका जनशक्तिले काम नपाएको गुनासो गरे । ‘‘हामीले ती जनशक्तिलाई कोरोना सम्बन्धी अध्ययनसमेत गराएका छाैँ’’,उनले भने,‘‘मुलुकमा यस्तो महामारीको बेला पनि उनीहरुले सेवा गर्न पाएका छैनन् । यो विडम्बना हो ।’’उनले नेपालमा सेवा गर्न नपाएपछि आफुहरुले उत्पादन गरेका जनशक्ति अमेरिका, बेलायत जस्ता ठाउँका प्रयोगशालामा काम गरिरहेको जानकारी दिए । उनका अनुसार अनुमतिपत्र नपाउँदा दुई हजार जनशक्ति विदेश पलायन भएका छन् । नेपालमा वर्षेनि १५० जना प्रयोगशालामा काम गर्ने माइक्रोवाइलोजी पढेका जनशक्ति उत्पादन हुँदै आएका छन् । विभागले परिषद्लाई माइक्रोवाइलोजीको कक्षा कोठाको अनुगमनका लागि ८० हजार बुझाए पनि अहिलेसम्म अनुगमन नगरेको विभागका प्रमुख डा वञ्जाराले बताए । उनले अनुमतिपत्रको समस्याका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र त्रिविका पदाधिकारीलाईसमेत जानकारी गराइसकेको बताए । परिषद्का रजिष्ट्रार पुष्पराज खनालले परिषद्मा शैक्षिक संस्था दर्ता नभएकोले अनुमतिपत्र नदिएको प्रष्ट पारे । ‘‘परिषद्को ऐनले परिषद्मा दर्ता भएका संस्थाका जनशक्तिलाई मात्र अनुमतिपत्र दिने भनेको छ’’ उनले भने, ‘‘हामीले त्यही अनुसार अनुमतिपत्र दिने हाैँ । उनीहरु परिषद्मा दर्ता नभएकाले अनुमतिपत्र नपाएका हुन ।’’उहाँले सम्बन्धित सरोकारवाला पक्षसहित उच्चस्तरीय सयन्त्र बसेर अनुमति पत्रबारे निकास निकाल्नुपर्ने बताए ।

प्रदेश अस्पताल सुुर्खेतमा थपियो पिसिआर

सुुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा कोभिड १९– को स्वाव परीक्षणका लागि नयाँ पिसिआर मेसिन थपिएको छ । प्रदेश अस्पतालले पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा जडान गरेको उक्त मेसिनबाट कोरोना परीक्षण शुरु भएको छ । यहाँ सञ्चालित मेसिन बिग्रिदा डेढसातादेखि कोरोना परीक्षण हुन सकेको थिएन । सुर्खेतमा परीक्षण बन्द भएपछि यहाँबाट दैलेख, जुम्ला र नेपालगञ्ज परीक्षणका लागि पठाउनुुपरेको थियो । अस्पतालका निर्देशक डाक्टर डम्मर खड्काले नयाँ मेसिन जडान गरेर परीक्षण शुुरु गरिएको जानकारी दिए । उनका अनुसार नयाँ मेसिनले एक पटकमा ९६ वटा नमूना स्वाव परीक्षण गर्नसक्छ । प्रदेश सरकारको रु २४ लाख ९० हजार सहयोगमा उक्त मेसिन खरिद गरिएको हो । हाल कर्णालीमा सुर्खेतसहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख जिल्ला अस्पतालबाट कोरोना परीक्षण हुँदै आएको छ । त्यस्तै, रुकुम पश्चिमको चौरजहारी सामुदायिक अस्पतालमा पिसिआर मेसिन जडान गरिएको छ ।