राजस्व चुहावटको आरोपमा मालिकभन्दा मुन्सीलाई बढी धरौटी माग
पशुपतिनगर । राजस्व चुहावटसम्बन्धी आरोपमा उच्च अदालत इलाम इजलासले झापाको मेचीनगर–१४ मा रहेको साकम्बरी प्रोडक्टको मालिकभन्दा मुन्सीलाई बढी धरौटी माग गरेको छ । नाज गुट्खा, प्लेन पराग, पान प्लस र डमरु पराग नाममा गुट्खा उत्पादन गरिरहेको उद्योगमा ७३ करोड रुपैयाँभन्दा बढी राजस्व चुहावट गरेपछि मालिक रामकृष्ण शर्मा नाम भएका रमेश शर्माका नामबाट चर्चित उद्योगीलाई ५ लाख रुपैयाँ धरौटी र उद्योगका सुपरभाइजर विष्णुप्रसाद खरेललाई ४५ लाख रुपैयाँ धरौटी माग भएको हो । उच्च अदालतको इलाम इजलासमा भएको थुनछेकको बहसमा न्यायाधीशद्वय विष्णुप्रसाद कोइराला र शिवनारायण यादवको इजलासले सो आदेश दिएको हो । अन्तःशुल्क छली गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले ३६ करोड ५५ लाख ६३ हजार ३ सय ३७ रुपैयाँ ४६ पैसा बिगो र त्यति नै जरिवानाको माग दाबी गर्दै मुद्दा दर्ता गरेको थियो । साकम्बरी प्रोडक्ट, माधव इन्टरप्राइजेज र एसएस इन्टरप्राइजेज नामका तीन वटा फर्म राजश्व चुहावटमा संलग्न रहेको राजश्व अनुसन्धान विभागले ठहर गर्दै छ जनाविरुद्ध मुद्दा चलाएको थियो । तीमध्ये रमेश शर्मा र विष्णुप्रसाद खरेल अदालतमा उपस्थित भएका छन् । साकम्बरीका मुकेश शर्मा, एसएस इन्टरप्राइजेजका सुपरभाइजर सदन सिंह, सिताराम शर्मा र मे १ ज १६०० नम्बरको सवारीधनी आषिश शर्मा भने अदालतमा उपस्थित भएका छैनन् । “सूचनाका आधारमा छापा मारेका हौं”, विभागका महानिर्देशक दीर्घराज मैनालीले भने, “रातभर उत्पादन गरेर बिहानै बजारमा बिक्री गरेको सूचना पाएकाले अनुसन्धान थालेका थियौँ ।” गत वर्षको जेठमा विभागले उद्योग बन्द गराएको थियो । विना स्टिकर र रि–स्टिकर प्रयोग गरेर नाज गुट्खा, प्लेन पराग, पान प्लस र डमरु पराग बजारमा विक्री भइरहेको थियो । उद्योगका सञ्चालक रमेश शर्माले राजनीतिक पहुँच प्रयोग गरेर राजश्व छली गरिरहेकाले विभाग आफैं सक्रिय भएको बताइएको थियो । इलाम र झापासहित देशभरका बजारमा राजश्व छली गरेका गुट्खाको बिक्री अत्यधिक छ भने राजश्व छली गरेका भारतीय उत्पादन पनि छ्यापछ्यापती पाइन्छ । रासस
छुट्टाछुट्टै घटनामा तीनको मृत्यु
काठमाडाैं । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ शेरामा मङ्गलबार निसान गाडी दुर्घटना हुँदा गाडीका सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बनेपाका अनुसार भक्तपुरको सूर्यविनायकबाट गाईवस्तुको मल लोड गरी काभ्रेपलाञ्चोकको नाला शेरातर्फ आउँदै गरेको बा१क ९२३६ नंको निसान गाडी ब्रेक फेल भई सडकमै पल्टिँदा भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका–७ बस्ने १८ वर्षीय सुजन वाग्लेको मृत्यु भएको हो । गाडी पल्टेर घाइते भएका वाग्लेको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । दमक– विद्युत् चुहिएर मङ्गलबार झापाको दमकमा एक युवाको मृत्यु भएको छ । दमक नगरपालिका–२ स्थित निर्माणाधीन आफ्नै घरमा पानी लगाउने क्रममा ट्युबेलमा जोडेको मोटरबाट विद्युत् चुहिँदा कमल–१ स्थित ढ्याङ्ग्री निवासी ४० वर्षीय मित्र डाँगीको घटनास्थलमै मृत्यु भएको कमल–१ का वडाध्यक्ष केदार कटुवालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए। चिप्लेढुङ्गा– कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ मा मङ्गलबार ट्र्याक्टर दुर्घटना भएर सडकबाट तल खस्दा चालकको मृत्यु भएको छ । कास्की माछापुच्छ्रे बाटुलेथरमा ग१त २२८३ नंको ट्र्याक्टर खेत जोतेर फर्कने क्रममा अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच मिटर तल खस्दा चालक सोही ठाउँ निवासी ४५ वर्षीय रामचन्द्र अधिकारीको ट्र्याक्टरले च्यापेर घाइते भएको र उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरीका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार ट्र्याक्टरमा च्यापिएका अधिकारीको उपचारका लागि मणिपाल अस्पताल पठाएको र उपचारका क्रममा अधिकारीको मृत्यु भएको हो । प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ । रासस
डब्ल्यूएचओले भन्यो, ‘हावाबाट कोरोना भाइरस सर्ने प्रमाण भटियो’
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अन्त्यमा मंगलबार कोरोना भाइरसको संक्रमण हावाबाट फैलने प्रमाणलाई स्विकारेको छ । यसअघि वैज्ञानिकको एक समूहले डब्ल्यूएचओलाई खुल्ला पत्र लेखेर आफ्नो मापदण्डमा परिवर्तन गर्न अपिल गरेको थियो । डब्ल्यूएचओले कोभिड–१९ महामारीसँग सम्बन्धित टेक्निल लीड डाक्टर मारिया वा केरखोवले एक पत्रकार सम्मेलनमा भने, ‘हामी हावामार्फत् कोरोना भाइरस फैलने आशंकामाथि छलफल गरिरहेका छौं ।’ यसबारे विश्व स्वास्थ्य संगठनकी बेनेदेत्ता आल्लेग्रांजीले कोरोना भाइरस हावाबाट पनि फैलने प्रमाण त भेटिएको छ तर अहिले नै यो किटान गरेर भन्न सकिएको छैन । उनले भने, ‘सार्वजनिक स्थानमा, विशेषगरी भीडभाडयुक्त, कम हावा भएको र बन्द कोठामा हावामार्फत् भाइरस फैलने आशंकालाई अस्विकार गर्न सकिँदैन । यद्यपि, यी प्रमाण संकलन गर्न र बुझ्न आवश्यक छ । हामी यो काम जारी राख्नेछौं ।’ यसअघि विश्व स्वास्थ्य संगठनले सार्स (कोभिड -१९) भाइरस मुख्य रुपमा संक्रमित व्यक्तिको नाक र मुखबाट निस्कने सुक्ष्म छ्टिटाको माध्यमले फैलने गर्ने बताउँदै आएको थियो । डब्ल्यूएचओले मानिसहरुले कम्तीमा ३.३ फुटको दुरी हुँदा कोरोना भाइरस संक्रमणको रोकथाम सम्भव भएको बताउँदै आएको थियो तर अब यदि हावामार्फत् भाइरस फैलने कुरा प्रमाणित भएको खण्डमा ३.३ फुटको दुरी र सामाजिक दुरीको नियममा परिवर्तन गर्न आवश्यक छ । उनले भने, ‘कोरोना भाइरसको संक्रमण रोक्नका लागि ठूलो स्तरमा रोकथामको आवश्यकता छ । यसमा सामाजिक दुरी मात्रै नभई मास्कको प्रयोग र अन्य नियम पनि समावेश छन् ।’ क्लिनिकल इन्फेक्सियस डिजिज जर्नलमा सोमबार प्रकाशित खुल्ला पत्रमा ३२ देशका २ सय ३९ वैज्ञानिकले यो हावामा पनि रहन सक्ने ‘फ्लोटिङ भाइरस’ हो भनेर प्रमाण दिएका थिए । (बीबीसी)
ब्राजिलको राष्ट्रपतिमा देखियाे काेराेना संक्रमण
काठमाडौं । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएकाे छ । उच्च ज्वरोलगायतका कोरोना संक्रमणका लक्षण देखिएपछि उनको स्वास्थ्य परीक्षणमा काेराेना देखिएकाे हाे । राष्ट्रपति बोलसोनारोले कोरोना महामारीलाई सुरुदेखि नै लकडाउन तथा मास्ककाे प्रयाेगकाेआलोचना गरिरहेका थिए । कोरोना संक्रमण फैलिन नदिन गरिनुपर्ने सावधानीका उपाय नअपनाउँदा अहिले ब्राजिल सबैभन्दा बढी प्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार ब्राजिलमा १६ लाख ६८ हजारभन्दा धेरै व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाटै ब्राजिलमा ६६ हजार ७ सय ४१ जनाको मृत्यु भइसकेको छ ।
आफन्तले मृत्यु भनिएका बिरामी निको भएर फर्किए
चितवन । उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन् । स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले कलेज तोडफोड गरेका थिए । भरतपुर महानगरपालिका–२२ का १८ वर्षीय आशिष विक निको भएपछि मङ्गलबार अस्पतालबाट घर फर्किएका थिए । एपेन्डिसाइटिसको शल्यक्रिया गरेका विकलाई समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । सोही समयमा निजको मृत्यु भयो भन्ने हल्ला भएसँगै उनका आफन्तले अस्पतालमा तोडफोड गरेका थिए । तोडफोडबाट अस्पतालको सघन उपचारकक्षको झ्यालका सिसा फुटेका थिए । तोडफोड गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उपचारपछि डिस्चार्ज हुने क्रममा विकले आफूले नयाँ जीवन पाएको बताए । “मेरो मृत्यु भयो भन्ने हल्ला चलाइएछ तर अहिले डिस्चार्ज भएर घर फर्कँदै छु”, उनले भने । अस्पतालको अथक प्रयासपछि आफ्नो छोरोले नयाँ जीवन पाएको भन्दै उनका बुबा केदारले अस्पतालप्रति धन्यवाद ज्ञापन गरे । अस्पताल तोडफोडका विषयमा परिवार संलग्न नभएको उनले बताए । उनले भने, “तोडफोडमा मेरो संलग्नता थिएन ।” आफूले नबोलाए पनि मृत्यु भएको भनिएपछि इस्टमित्र र गाउँलेले अस्पताल तोडफोड गरेको उनले भने । एपेन्डिसाइटिसको उपचारका लागि जेठ २७ गते चितवन मेडिकल कलेज उपचारका लागि ल्याइएको थियो । उनले जेठ २९ गते मृत्यु भएको भनी अस्पतालमा तोडफोड गरिएको थियो । बिरामीलाई घर पठाउँदै अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले एपेन्डिसाइटिस बिग्रिएर आन्द्राले काम गर्न छोडेकामा उपचारपछि निको भएर घर जान लागेको बताए । रगत नरोकिने (डिआइसी) भन्ने रोगको उपचार गरिएको थियो । रगतमा सङ्क्रमणसमेत भएकाले बचाउन निकै कठिन भएको उनले बताए । यो रोगको सङ्क्रमण भएका बिरामी विश्वमा नै २० प्रतिशत मात्र बच्ने सम्भावना हुने गरेको उनले जानकारी दिए । अस्पतालले उपचारमा कहिल्यै लापरवाही नगर्ने भन्दै उनले अनावश्यक मानिसहरु भीड भएर तोडफोड र गालीगलौजमा उत्रँदा काम गर्नेहरुको मनोबल उच्च बनाउन कठिन हुने बताए । रासस
ऋण चुक्ताका लागि मानसिक दबाब नदिन आग्रह
चिप्लेढुङ्गा । कोभिड–१९ को महामारीसँगै नेपालमा जारी बन्दाबन्दीका कारण पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा पश्चिमाञ्चल होटल सङ्घ पोखराले कर्जाको साँवा र ब्याज भुक्तानीका लागि ताकेता नगर्न बैंक तथा वित्तीय संस्थाहरुसँग आग्रह गरेको छ । पर्यटन तथा होटल क्षेत्रलाई असार मसान्तको कारण देखाउँदै बैंक तथा वित्तीय क्षेत्रबाट साँवा तथा ब्याज भुक्तानीका निम्ति गरिएको ताकेताप्रति सङ्घले ध्यानाकर्षण भएको भन्दै त्यस्तो आग्रह गरेको हो । होटल सङ्घका अध्यक्ष विकल तुलाचनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हाल कुनै पनि व्यवसायीले कर्जा भुक्तान गर्ने स्थिति नरहेको प्रति जानकार हुँदाहुदै कर्जा भुक्तानको लागि बैंक तथा वित्तीय क्षेत्रबाट ताकेता तथा मानसिक दबाब दिँदा असहज परिस्थिति उत्पन्न हुने र त्यस असहज परिस्थितिको भागीदार बैंक तथा वित्तीय क्षेत्र हुने पनि जानकारी गराउँदछौं।” सङ्घले सरकारद्वारा हाल होटल व्यवसायलाई बन्द नै घोषणा गरी सो अनुसार व्यवसाय पूर्णरूपमा बन्दाबन्दी भएको अवस्थामा बैंकको कर्जाको साँवा तथा ब्याज भुक्तान गर्न असमर्थ रहेको उल्लेख गरेको छ । यसैगरी सङ्घले पुनर्कर्जाको कार्यविधि जारी गर्न नेपाल राष्ट्र बैंकले ढिलाइ गरेको प्रति पनि आपत्ति प्रकट गरेको छ । वर्तमान परिस्थितिमा नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको कार्यविधि र मौद्रिक नीति असार महिनाभित्र नै जारी गर्नु पर्नेमा साउन महिनामा जारी गर्न गरेको तयारीप्रति सङ्घले असन्तुष्टि व्यक्त गरेको हो । सरकारद्वारा घोषणा गरिएको लकडाउनका कारण पर्यटन तथा होटल क्षेत्र विगत साढे तीन महिनादेखि बन्दाबन्दी भई व्यावसायिक कारोबार शून्य रहेको र यसबाट पर्यटन तथा होटल व्यवसाय प्रत्यक्ष प्रभावित भएको सङ्घले जनाएको छ । संयुक्त राष्ट्र सङ्घअन्तरगत विश्व पर्यटन संस्थाबाट समेत विश्वका सम्पूर्ण राष्ट्रहरुलाई पर्यटन तथा होटल व्यवसाय सबैभन्दा पहिले प्रभावित हुने र पुरानो लयमा आउन केही वर्ष लाग्ने उद्योग भएको स्मरण गराइएको छ । रासस
आईजीपीमा शैलेश थापा नियुक्त
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयको सिफारिसमा थापालाई आईजीपी नियुक्त गरेको हो । बुधबारबाट आईजीपी ठाकुरप्रसाद ज्ञवालीले अवकाश लिँदै छन् । २८औं आईजीपीको ‘दौड’मा प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० हरिबहादुर पाललाई पछि पार्दै थापा आईजीपी बनेका हुन् । यस पटकको आईजीपी नियुक्तिमा विगतमा जस्तो कुनै विवाद र हानथाप थिएन । क्षेत्री र पाल दुवै जना २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । क्षेत्रीले डीआईजी हुँदा प्रहरी केन्द्रीय प्रवक्ता, महानगरीय प्रहरी कार्यालय रानीपोखरीको नेतृत्व गरेका थिए । क्षेत्रीले सशस्त्र द्वन्द्वका बेला जिल्ला प्रहरी सल्यानको प्रमुख भएर काम गरेका थिए । त्यसपछि क्रमशः सिन्धुपाल्चोक, कास्की, धादिङ र झापामा प्रहरी प्रमुख भएर काम गरेका थिए ।
पछिल्लो २४ घण्टा यता २ लाख बढीमा कोरोना पुष्टि, संक्रमितको संख्या १ करोड १९ नाघ्यो
काठमाडौं । विश्वभर कोरोना भाइरसबाट १ करोड १९ लाख ४१ हजार ६ सयभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । नेपाली समयअनुसार बुधबार विहान साढे ६ बजेसम्म संसारभरीका ५ लाख ४५ हजार ६ सय ५१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोनाको उपचार पछि ६८ लाख ४४ हजारभन्दा बढी मानिस निको भएका छन् । पछिल्लो २४ घण्टा यता विश्वमा २ लाख ७ हजार ५ सयभन्दा बढी कोरोना पुष्टि भएको छ, भने ५ हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिकामा ३० लाख ९६ हजार २ सयभन्दा बढी कोरोना संक्रमित छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३३ हजार ९ सयभन्दा बढी रहेका छन् । उपचारपछि १३ लाख ५४ हजारभन्दा बढी निको भइ घर फर्किएका छन् । कोरोनाले भयाहक स्थित पैँदा गरेको ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६६ हजार ८ सयभन्दा बढी रहेका छन् । ब्राजिलमा १६ लाख ७४ हजार ६ सयभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । उच्च कोरोना संक्रमणको तेस्रो स्थानमा आइपुगेको छिमेकी देश भारतमा ७ लाख ४३ हजार ४ सय ८१ जना संक्रमित पुगेका छन् । २० हजार ६ सय ५३ जनाको मृत्यु भइसकेको छ भने ४ लाख ५७ हजार उपचार पछि निको भएका छन् । त्यस्तै नेपालमा हालसम्म १६ हजार १ सय ६८ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट ३५ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ७ हजार ४ सय ९९ जना कोरोना संक्रमित उपचार पछि निको भइ घर फर्किएका छन् । (वल्डोमिटर)