विकासन्युज

एक्जीम कोड नविकरणको म्याद असोज मसान्तसम्म थप्न नाडाको माग

काठमाडौं । नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालले एक्जीम कोड नविकरणको म्याद असोज मसान्तसम्म थप्न माग गरेको छ । मंगलबार नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले भन्सार विभागका महानिर्देशक सुमन दाहालसँग उक्त माग राखेका हुन् । हाल उक्त एक्जीम कोड नविकरण गर्ने म्याद यहि २०७७ असार मसान्तसम्म मात्र रहेको छ । नेपालमा ३० हजार व्यावसायीक कम्पनीहरु एक्जीम कोडमा दर्ता रहेको छ । हालसम्म पनि बन्दाबन्दी कायम रहेको, सडकमा जोड विजोडको सवारी साधन सञ्चालनमा रहेको, सर्वोच्च अदालतले जिरो आवरको घोषणा गरेको स्थितिमा सो नविकरण गर्ने कम्पनीहरु एक हजार ५ सयको संख्यामा मात्र रहेको सन्दर्भमा सवै कम्पनीहरुले निर्धारित समयवधि भित्र नविकरण गर्न नसक्ने अवस्था रहेकोले उक्त म्याद थप गर्न नाडाले अनुरोध गरेको हो । यससँगै यस्तो विषम परिस्थितिमा यसबाट व्यवसायीहरुलाई धेरै सहज हुने नाडाको अपेक्षा रहेको छ । उक्त छलफलमा दुलाल लगायत नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा रोजगार दाता समितिका उप सभापति भरतराज आचार्य, नाडाका एशोसिएशन सचिव सुरेन्द्र प्रधान तथा नेपाल उद्योग वाणिज्य महासंघका अधिकृत लोकराज जोशी समेतको उपस्थ्तिि रहेको थियो ।

‘एनएमबि ग्रिन फिक्सड डिपोजिट’ याेजना शुरू, शतप्रतिशत कर्जा पाइने

काठमाडाैं । मूल्य र मान्यतामा आधारित बैंकिङ्गमा अग्रसर हुँदै एनएमबि बैंकले ‘एनएमबि ग्रिन फिक्सड डिपोजिट’ शुरु गरेको छ । जहाँ ग्राहकहरुले आफ्नो प्रत्येक नयाँ एनएमबि ग्रिन फिक्सड डिपोजिटसँगै आफ्नो नाममा बिरुवा रोपाउन पाउनेछन् । वातावरणीय संरक्षणलाई सघाउ पुर्याउने कार्यलाई प्रवर्द्धन गर्न बैंकको नयाँ फिक्सड डिपोजिट आकर्षक सुविधाहरुको साथ प्रस्तुत गरेको छ जसमा उच्च ब्याजदर, लचिलो समयावधि, फिक्सड डिपोजिट रकमको १०० प्रतिशत कर्जा प्रदान गरिने छ । एनएमबि ग्रिन फिक्सड डिपोजिट व्यवसाय र बैंकको वातावरणीय दायित्वप्रति सन्तुलन कायम गर्ने प्रयास रहेको बताइएको छ ।

सरिता गिरीकाे सांसद पद चैट, पार्टीले गर्याे कारबाही

काठमाडाैं । समाजवादी पार्टी नेपालले सांसद सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ। मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरिएको बताइएकाे छ । लिम्पियाधुरासहितको नेपालको अद्यावधिक नक्सा संविधानमा राख्ने संविधान संशोधन प्रस्तावमाथि उनले असहमति राखेकी थिइन्।

नेपालका यी चार जिल्ला बने कोरोनामुक्त

काठमाडौं । नेपालका चार जिल्ला कारोनामुक्त भएका छन् । कोरोनामुक्त हुने जिल्लाहरुमा प्रदेश १ काे तेह्रथुम, भोजपुर र सोलुखुम्बु र कर्णाली प्रदेशको हुम्ला जिल्ला कोरोनामुक्त भएकाे स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले बताए । यसभन्दा अगाडि ती जिल्लामा कोरोनाका बिरामी भेटिएपनि अहिले बिरामीहरु निको भएर घर फर्किसकेपछि ती जिल्लाहरु कोरोनामुक्त भएका हुन् ।

काठमाडौं उपत्यकामा थप २८ जनामा कोरोना देखियाे

काठमाडौं । काठमाडौंमा १४ सहित उपत्यकामा पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै पाटन अस्पतालको प्रयोगशालामा भक्तपुर ४ जना, काठमाडौं १२ जना, ललितपुरका १० जनामा कोरोना संक्रमण भएको छ। यस्तै त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको छ।

थप २ सय ४ जनामा काेराेना देखियाे

काठमाडाैं । पछिल्लो २४ घण्टा यता थप २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा २ सय ४ जनामा कोराेना भाइरस देखिएको बताए । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३५ जनाको मृत्यु भइसकेकाे छ ।

कोरोना संक्रमित पत्रकारले अस्पतालको चौथो तलाबाट हाम फाले

काठमाडाैं । भारतमा एक जना काेराेना संक्रमित पत्रकारले अस्पतालकाे चाैथाे तलाबाट हाम फालेकाे जनाइएकाे छ । दिल्लीमा अखिल भारतीय आयुर्विज्ञान संस्थानमा कोरोना भाइरसको उपचार गराइरहेका एक ३७ वर्षीय पत्रकारले सोमबार दिउँसो अस्पतालको चौथो तलाबाट हाम फालेर आत्महत्या गरेकाे भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । उनी  एक हिन्दी पत्रिकाका लागि काम गर्थे । अस्पतालबाट हाम फालेपछि उनलाई तत्काल आइसीयूमा राखिएपनि उनको ज्यान बचाउन नसकिएको बताइएकाे छ ।

महामारीमा अवसरः स्टार्टअप बिजनेसमा सरकारको प्राथमिकता कति ?

काठमाडौं । भनिन्छ नि हरेक महामारी अर्थात संकटले अवसर पनि सँगै लिएर आउँछ । अहिले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले पनि जति मानविय तथा आर्थिक क्षति गरको छ त्यही अनुसारको केही अवसर पनि सिर्जना गरेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन्न लकडाउनमा मानिसहरु घरभित्रै हुँदा उनीहरुलाई चाहिने अत्यावश्यक सामग्री उपलब्धतादेखि अन्य कामहरु पनि डिजिटल प्रविधि वा कुनै सहज तरिकाले गर्ने तौर तरिकामा मानिसले परिवर्तन ल्याउन थालेका छन् । यो लकडाउनको समयमा धेरै व्यवसायीहरुले नयाँ किसिमको व्यापार सुरु गरे भने कसैले अब कुन व्यापार व्यवसाय चल्छ अर्थात फष्टाउँछ भन्ने परिकल्पना समेत गरिसकेका छन् । लकडाउनको समयमा घरभित्रै रहेका मानिसहरुलाई घरमै सामान डेलिभरी गर्ने वातावरण पनि यो लकडाउनमा धेरै फष्टायो । यो लकडाउनले मानिसहरुलाई डिजिटल प्रविधिमा रम्न मात्र सिकाएन अनलाइष्न सपिङ गर्न पनि बाध्य बनायो । धेरै व्यापारीहरुले यो समयमा अतिआवश्यक सामान जस्तै माक्स, स्यानिटायजर जस्ता सामानहरु पनि होम डेलिभरी गरे । यसले पनि मानिसमा अनलाइन सपिङ गर्ने बानी बसालेको छ । कोरोनाका कारण उत्पन्न लकडाउनका कारण एउटा साधारण व्यक्तिदेखि सरकारसम्म पनि सोच्ने शक्तिमा फरकपन ल्याएको छ । एक व्यक्तिले लकडाउन भएकै कारण डिजिटल प्रविधिको काम र त्यसको प्रभावकारिता बुझेको छ भने सरकारले पनि अब पृथक किसिमको व्यापार व्यवसाय गर्नु र गराउनु पर्छ भन्ने बुझिसकेको छ । यसले पनि सरकारले आगामी आर्थिक वर्षको बजेटमा पनि स्टार्ट अफ विजनेसलाई पनि धेरै प्राथमिकता दिएको छ । केही पृथक किसिमको व्यापार व्यवसाय गर्न चाहनेलाई सरकारले छुट्टै किसिमको सहयोग गर्ने पनि उल्लेख गरिसकेको छ । बजेटमा नवप्रवर्तनकारी युवा तथा अन्य उद्यमी र वैदेशिक रोजगारबाट फर्केका अनुभवी सीपयुक्त उद्यमशील युवालाई उद्यम व्यवसाय शुरु गर्न शुरुवाती पुँजी उपलब्ध गराउने नीति तथा कार्यक्रमको घोषणा छ । अर्थमन्त्री डा युवराज खतिवडाले सो बजेटमार्फत नवप्रवर्तनकारी कार्यमा लगानी प्रोत्साहन गर्न चाहने उद्यमीलाई २ प्रतिशत ब्याजदरमा नवप्रवर्तन शुरुवाती पुँजी उपलब्ध गराउने घोषणा गरिसकेका छन् भने सो प्रयोजनका लागि ५० करोड बजेटसमेत छुट्याएको घोषणा गरेका थिए । यसले पनि सरकारले स्टार्टअप बिजनेसलाई प्राथमिकता दिएको बुझ्न सकिन्छ । नेपालमा मात्र २ स भन्दा बढी स्टार्टअप विजनेश संचालनमा रहेको बताइन्छ । नयाँ उद्योग खोल्नेलाई ५० लाख अनुदान सरकारले नयाँ उद्योग सञ्चालन गर्नका लागि दिने भनेको ५० लाख रुपैयाँ अनुदान पनि दिने भएको छ । त्यसका लागि लागि ६ सय ९९ सय जनाले आवेदन पनि दिइसकेका छन् । सरकारले नवीनतम ज्ञान, सीप र क्षमता भएका उद्यम व्यवसाय संचालन गर्न चाहने व्यक्तिलाई अनुदान दिने बताएको छ । गत वर्षको फागुनमा अर्थ मन्त्रालयले स्टार्टअपलाई सुरूआती पुँजीको रूपमा अनुदान उपलब्ध गराउन अनुदान कार्यविधि सार्वजनिक गरेको थियो । त्यही कार्यविधि अनुसार आयोगको सदस्य संयोजक रहने गरी ५ सदस्यीय निर्देशक समिति गठन गर्ने व्यवस्था गरिएको थियो । सो समितिले अनुदान आह्वानको सूचना प्रकाशन गर्ने व्यवस्था थियो । सोही अनुसार नै नयाँ उद्योग गर्नेलाई सरकारले ५० लाख रुपैयाँ अनुदान दिने भएको हो । योजना आयोगका कार्यक्रम निर्देशक शिवरञ्जन पौडेलले नवीन आविष्कार र उद्यम गर्नेलाई सरकारले ५० लाख रूपैयाँसम्म अनुदान दिने बताए । नयाँ व्यवसायमा सरकारले दिए जति नै रकम व्यक्ति वा संस्थाले पनि लगानी गर्नु पर्ने उनको भनाई छ । प्रदेश सरकारले छुट्याए ४९ कराेड २५ लाख रुपैयाँ  संघीय सरकारले मात्र होइन प्रदेश सरकारहरुले पनि आगामी आर्थिक वर्षको बजेट मार्फत नयाँ उद्यम गर्न चाहनेहरुका लागि फरक फरक किसिमको कार्यक्रमहरु घोषणा गरेका छन् । सातै प्रदेश सरकारले स्टार्टअप विजनेसका लागि रकम छुट्याएका छन् । सातै प्रदेश सरकारले विभिन्न कार्यक्रमको घोषणा गरी रकम विनियोजन गरेका छन् । आगामी आर्थिक वर्षको बजेट मार्फत उनीहरुले नयाँ उद्यमीहरुलाई व्यापार व्यवसायमा भित्र्याउनका लागि विभिन्न कार्यक्रमको घोषणा गरी रकम छुट्याएका हुन् । सातै प्रदेश सरकारले कुल ४९ करोड २५ लाखभन्दा बढी रकम स्टार्टअप विजनेसका लागि छुट्याएका छन् । प्रदेश १ सरकारले नयाँ उद्यमीहरुलाई व्यवसायमा आकर्षित गराउनका लागि ‘प्रदेश प्रमुख नवप्रवर्तन कृषि कार्यक्रम’ घोषणा गरेको छ । जसका लागि प्रदेश १ सरकारले १२ करोड रुपैयाँ छुट्याएको छ । यस्तै प्रदेश नं.२ सरकारले पनि नवप्रवर्तनका लागि १२ करोड रुपैयाँ छुट्याएको छ भने बागमती प्रदेशले ५ करोड रुपैयाँको युवा वैज्ञानिक कोष खडा गर्ने भएको छ । गण्डकी प्रदेश सरकारले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग खोल्न बिउपुँजी र प्रविधि हस्तान्तरणको कार्यक्रम ल्याएको छ । यसले नयाँ उद्यमी बन्न चाहने युवालाई प्रोत्साहन मिल्ने गरी २ करोड ५ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेश ५ सरकारले पनि १५ करोड रुपैयाँको सिर्जनशील साझेदारी कोष स्थापनाको घोषणा प्रदेश सरकारले गरेको छ । स्थानीय तहबाट नवप्रवर्तनको अभियान शुरु गर्ने योजना प्रदेश ५ को छ । यस्तै, कर्णाली प्रदेश सरकारले पनि मौलिक सीप र नवीन प्रविधिको प्रयोग गर्दै स्वराेजगार गर्न सहुलियतपूर्ण कर्जा तथा ब्याजमा अनुदान दिने घोषणा बजेटमार्फत गरिसकेको छ । सुदूरपश्चिम सरकारले पनि नयाँ उद्यम अर्थात स्टार्टअप विजनेसलाई प्राथमिकतामा राखेको छ । त्यसका लागि प्रदेश सरकारले बजेटमा ३ करोड २० लाख रुपैयाँ विनियोजना गरेको छ ।