विकासन्युज

मेलम्चीको पानी काठमाडौंमा आएपनि उपभोक्ताको घरमा तत्काल नपुग्ने, कसले बिगार्यो १६ करोडको पाइपलाइन ?

काठमाडौं । अबको दुई महिनामा मेलम्चीको पानी काठमाडौं उपत्यकामा आउने भएको छ । सो पानी सुन्दरीजलमा जम्मा गरेर काठमाडौं उपत्यकाका उपभोक्ताको घरघरमा पुर्याउने योजना मेलम्ची खानेपानी आयोजना विकास समितिको छ । आयोजनाले अस्थायी ड्याममार्फत डाइभर्सन गरी सुरुङमा पानी पठाएको छ । आयोजनाले सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि सुन्दरीजलसम्म पानी ल्याउने भएपनि त्यहाँबाट उपभोक्ताको घरघरमा पानी पुर्याउने जिम्मा भने काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनलयले पाएको छ । सुन्दरीजलबाट उपभोक्ताको घरसम्म पुग्ने संरचनामा समस्या आएको कारण उपभोक्ताले तत्काल पानी उपभोग गर्न नपाउने निर्देशनालयले जनाएको छ । आफूले विगतमा विच्छ्याइएका पाइपमा विभिन्न पक्ष/निकाय/व्यक्तिले अनधिकृत रुपमा क्षति पुर्याएकोले उपभोक्ताको घरसम्म पानी पुग्न समस्या हुने निर्देशनलयको भनाइ छ । ‘जनताको घरघरसम्म पानी पुर्याउन यो निर्देशनालय तदारुक्ताका साथ काम गरिरहेको भए तापनि पूर्वाधार वा पानी वितरणसँग सम्बन्धित प्रणालीलाई बेलाबेलामा विभिन्न पक्ष/निकाय/व्यक्तिद्वारा बारम्बार अनाधिकृत रुपमा क्षति पुर्याउने कार्य भइरहेको छ, जसको परिमाण यो संजालले कार्य गर्न नसक्ने अवस्थामा पुग्न सक्छ,’ निर्देशनालयले प्रकाशित गरेको सार्वजनिक सुचनामा भनिएको छ । निर्देशनालयले काठमाडौं उपत्यकामा १२ सय किलोमिटर पाइप विच्छ्याइसकेको छ । यसमध्ये ३५ किलोमिटर पाइप क्षतिग्रस्त भएको बताइएको छ । यसरी पाइपमा क्षति पुर्याएको आरोप भने सडक विभागलाई लगाइएको छ । ‘मेलम्चीको प्रशोधित खानेपानी उपत्यकामा आपूर्ति गर्ने तयारी अन्तिम चरणमा पुगेको अवस्थामा तेस्रो पक्षद्वारा सडक निर्माण÷पुनस्र्थापना तथा ढलका पाइप विछ्याउने क्रममा निर्देशनालयले विछ्याएका ३५ सय ९२ मिटर पाइपलाइन गत वर्षभित्र नै क्षतिग्रस्त भएको छ,’ निर्देशनालयले भनेको छ । यसरी क्षति भएको पाइपलाइनको लागत १६ करोड ४ लाख ५० हजार रुपैयाँ रहेको उल्लेख गरिएको छ भने यो वर्ष कति पाइपलाइनमा क्षति भयो भन्ने खुलाइएको छैन । निर्धारित समयमा नै मेलम्चीको पानी सुन्दरीजलमा उपलब्ध भएपनि क्षतिग्रस्त पाइपलाइनको समयमै मर्मत हुन नसक्दा पानी आपूर्ति गर्न अवरोध हुने निर्दशनालयको भनाइ छ । विछ्याइएका पाइपहरु विभिन्न पक्षले जानाजान वा अन्जानमा अझै पनि क्षति पुर्याइरहेको आरोप निर्देशनालयको छ ।

दोब्बर भाडा असुल्दै जीप व्यवसायी, १४ किमी सडकमा ८ सय भाडा

डाेल्पा । डोल्पामा जीप व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन् । जिल्लामा आन्तरिकरुपमा सञ्चालन हुँदै आएका जीप व्यवसायीले सदरमुकाम दुनै आवतजावत गर्ने सर्वसाधारणबाट लकडाउनको मौका छोपी आफू खुशी भाडा असुल्न थालेका हुन् । त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानीदेखि सदरमुकाम दुनैसम्म जम्मा १४ किमी मात्रै छ तर जीप भाडा भने सर्वसाधारणको ढाड सेक्ने छ । लकडाउनको मौका छोपी जीप व्यवसायीले चर्को भाडा असुल्न थालेपछि आर्थिक वर्षको मसान्तमा विकास योजनाको भुक्तानी लिनेदेखि जिल्ला अस्पतालमा उपचारका लागि आउने सर्वसाधारण ठूलो मर्कामा परेका छन् । कोरोना भाइरसका कारण देशको अर्थतन्त्र धरापमा परेर सबै ठाउँमा आर्थिक सङ्कट भएको अवस्थामा दुनै–सुपानी, सुपानी–दुनै, दुनै–जुफाल र जुफाल–दुनै सडकखण्डमा जीप व्यवसायीले नागरिकको ढाड सेक्ने गरी भाडा असुलेको यात्रुको गुनासो छ । सिंहदरबार गाउँगाउँमा भने पनि धेरैजसो कामका लागि सदरमुकामनै धाउनुपर्ने अवस्था नहटेको सर्वसाधारण बताउँछन् । “दुनै आउन जान गरेर भाडा मात्रै १ हजार ६ सय तिर्नुपर्ने बाध्यता छ, अरु खाना खाजासहित जोडेर ३ हजार खर्च हुन्छ”, त्रिपुरासुन्दरी–१ का भरुन सार्कीले गुनासो गरे । तराईका जिल्लामा १ सय ५० किलोमिटरसम्म यात्रा गर्न मिल्ने पैसा डोल्पामा आजभोलि १४ किमीमा तिर्नुपर्ने बाध्यता रहेको सार्कीले बताए । यता जिल्ला प्रशासन कार्यालय डोल्पाले जीपमा पनि सामाजिक दूरी कायम गर्दै तीनजनासम्म नागरिक बोक्न पाउने व्यवस्था गरेको छ तर यातायात व्यवसायीले प्रशासनको नियमलाई उल्लङ्घन गर्दै छ जनासम्म यात्रु ओसार्दै आएका छन् । सामान्य अवस्थामा जस्तै छ जनासम्म यात्रु बोके पनि लकडाउनको कारण देखाउँदै भाडा भने प्रतिव्यक्ति ८ सय लिने गरेको दुनै आउँदै गरेका यात्रु रमेश परियारले गुनासो गरे । लकडाउन हुनुभन्दा अगाडिसम्म छ जना मान्छे बोक्न पाउने र भाडादर प्रतिव्यक्ति ३ सय ५० कायम गरिए पनि आजभोलि आफूखुशी भाडा उठाउने गरेको उनले बताए । “डोल्पाका जीप व्यवसायीलाई नियम कानून केही नलाग्ने रहेछ, ट्राफिकले नियमन गर्न खोज्दा पनि उल्टै जाइलाग्ने गरेको देखेँ”, उनले भने । मनपरी भाडा असुल्ने जीप व्यवसायीलाई स्थानीय प्रशासनले नियमन नगर्दा यस्तो समस्या आएको उनको भनाइ छ । ट्राफिक हैरान डोल्पाका जीप चालकको गलत व्यवहारले सबै हैरान भएका छन् । उनीहरुले नियम विपरीत आफूखुशी जीप सञ्चालन गर्ने र कारवाही गर्न खोज्दा उल्टै जाइलाग्न थालेपछि ट्राफिक प्रहरीलाई नियमन गर्न हम्मेहम्मे भएको हो । “डोल्पामा काम गर्न धेरै गाह्रो छ, नियमानुसार डोल्पामा गाडी चलाउनै मिल्दैन, फेरि यहाँ रातो प्लेटले पनि धमाधम मान्छे ओसारी रहेका छन्”, ड्युटीमा खटिएका एक ट्राफिकले गुनासो गरे, “व्यावहारिकरूपमा गाडी चल्न दिइएको छ, तर पनि सुरक्षित भएर सरोकारवालाले कायम गरेको भाडा उठाउनु भनेर सम्झाउँदा पनि उल्टै चालक जाइलाग्ने गर्दछन् ।” गलत गर्ने चालक र गाडीलाई कारवाही गर्न खोज्दा जनप्रतिनिधिलाई फोन गर्न लगाएर दबाब दिने गरेकोे उहाँको भनाइ छ । यता प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले महँगो गाडी भाडा लिएको विषयमा छलफल गर्ने बताए । कर्मचारीले गर्दा भाडा महँगियो डोल्पामा कर्मचारीका कारण गाडी भाडादर महँगिदै गएको सर्वसाधारणले बताएका छन् । कर्मचारीले रिजर्भ गर्दा गाडीवालाले भनेअनुसारको मूल्य पाउने भएकाले सर्वसाधारण मर्कामा परेको बताइएको छ । सर्वसाधारणले निश्चित भाडामात्रै तिर्न तयार हुने भएकाले गाडीवाला सर्वसाधारणभन्दा कर्मचारी बोक्न तयार हुने नागरिकको गुनासो छ । एउटै कर्मचारीले  चारदेखि–पाँच हजार रूपैयाँसम्म तिरेर रिर्जभ गर्दै आएको यस सडकखण्डमा सञ्चालित जीप व्यवसायी बताउँछन् । प्रशासन र स्थानीय सरकार मौन सर्वसाधारण महँगो भाडाको चरम मारमा परिरहँदासमेत स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयले कुनै चासो देखाएका छैनन् । नियमन गर्ने जिम्मेवारी प्राप्त स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय डोल्पाले चासो नदिएपछि यातायात व्यवसायीले पनि मनपरी जीप भाडा असुल्न थालेका हुन् । चर्को भाडादरको मारमा सर्वसाधारण पर्दासमेत सडकले जोडिएका त्रिपुरासुन्दरी नगरपालिका, ठूलीभेरी नगरपालिका र स्थानीय प्रशासनले भाडादर नियन्त्रणका लागि भरपर्दो कदम नचालेको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले बताए । भाडादरका विषयमा पटकपटक निर्णय गर्ने गरे पनि लामो समय कार्यान्वयन हुन नसकेको उनकाे भनाइ छ ।   रासस

नेकपाको बैठक पुनः बुधबारसम्मका लागि स्थगित

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुनः स्थगन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको नेकपाको पाँचौँ बैठक यही असार २४ गते (बुधबार)सम्मका लागि स्थगन गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । यसअघि यही असार २० गतेलाई बोलाइएको बैठक आजसम्म स्थगन गरिएकामा पुनः बुधबारसम्म स्थगन गरिएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएको समस्या समाधानका लागि थप छलफल आवश्यक भएकाले बैठक स्थगन गरिएको प्रचार विभाग उपप्रमुख थापाले बताए । नेकपाको स्थायी कमिटी बैठक पार्टी एकता, सरकारको कामको समीक्षा, मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) संविधान संशोधनलगायतका विषयमा छलफल गर्नका लागि यही असार १० गतेदेखि जारी रहेको छ । पार्टीभित्र देखिएको विवाद समाधान गरी बैठक बस्ने तयारी गरिएको छ । अध्यक्षद्वय पार्टीभित्र देखिएको विवाद समाधान गर्न निरन्तर छलफल गरे पनि सहमतिमा पुग्न सक्नुभएको छैन । हिजो आइतबार पनि दुई अध्यक्षबीच बालुवाटारमा छलफल भएको थियो । आज पनि दुई अध्यक्षबीच पार्टीभित्र देखिएका विवाद समाधानका लागि छलफल हुने प्रचार विभाग उपप्रमुख थापाले जानकारी दिए ।

चिया, अलैँची र अदुवाको निर्यातमा गिरावट

इलाम । ‘कृषि प्रधान’ देश भनेर गौरव गरिरहे पनि नेपालबाट हुने कृषिजन्य पदार्थको निर्यातमा भने बर्सेनि व्यापक गिरावट आउने गरेको तथ्याङ्कले देखाएको छ । नेपालबाट भारत हुँदै तेस्रो मुलुक जाने अलैँची, अदुवा, चियालगायतका कृषिजन्य पदार्थको निर्यात कम हुँदा त्यसबाट हुने आम्दानीमा पनि कमी आएको देखिएको छ । व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका अनुसार आन्तरिक तथा बाह्य समस्याका कारण नेपालको निर्यात क्षमतामा कमी आएको हो । गत आर्थिक वर्षको साउनदेखि जेठ मसान्तभित्र १३ करोड ६ लाख १ हजार ६ सय ७२ किलो निर्यात भएको चिया यस वर्ष सोही समयमा ८ करोड ३ लाख २५ हजार ७ सय ८७ किलो मात्र निर्यात भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार चालु आर्थिक वर्ष ०७६/७७ (साउन–जेठ) भन्दा आर्थिक वर्ष २०७६/७७ (साउन–जेठ) मा चिया निर्यातमा उल्लेखनीय कमी आएको हो । चियाको निर्यातमा कमी आएसँगै यसबाट भित्रिने आम्दानीमा समेत ह्रास आएको देखिएको छ । प्रवद्र्धन केन्द्रका अनुसार गएको आर्थिक वर्ष (साउन–जेठ)मा २ अर्ब ८९ करोड ३५ हजार बराबरको चियाबाट आम्दानी भित्रिएकोमा यस आर्थिक वर्ष (साउन–जेठ)मा २ अर्ब ६ करोड ५३ लाख ६८ हजार बराबर मात्र आम्दानी नेपाल भित्रिएको छ । यस्तै नेपालबाट भारत हुँदै तेस्रो मुलुक पुग्ने अर्को कृषिजन्य पदार्थ अलैँचीको समेत परिमाण र आम्दानी दुवैमा यस वर्ष गिरावट आएको केन्द्रको तथ्याङ्कले देखाएको छ । गएको आर्थिक वर्ष ०७५/७६ को जेठ मसान्तसम्ममा ४८ लाख ८० हजार ९ सय ८५ किलोको अलैँची विदेश निर्यात भएकोमा यस आर्थिक वर्षको जेठसम्ममा ४३ लाख नौ हजार ५०९ किलो मात्र निर्यात भएको पाइएको छ । गएको वर्षको जेठ मसान्तसम्ममा रु ४ अर्ब ३५ लाख ८७ हजार बराबरको अलैँचीबाट आय भएकोमा यस वर्षको जेठ मसान्तसम्ममा ३ अर्ब ४६ करोड १० लाख ४२ हजार बराबरको मात्र आम्दानी भएको देखिएको छ । यसैगरी नेपालबाट निर्यात हुने अदुवामा पनि यस वर्ष ठूलो परिमाणमा गिरावट आएको पाइएको छ । गएको आव २०७५/७६ (साउन–जेठ)मा १ करोड २८ लाख ८४ हजार ८४ किलो अदुवा निर्यात भएकोमा यस वर्षको सोही अवधिमा ७६ लाख ८४ हजार ७१६ किलोमा मात्र निर्यात भएको तथ्याङ्कले जनाएको छ । गएको वर्षको जेठ मसान्तसम्ममा ४२ करोड २१ लाख ६७ हजार २ सय बराबरको आय भए पनि यस आवको सोही अवधिमा ३६ करोड ५० लाख ८७ हजार रूपैयाँ बराबरको मात्र अदुवाबाट आम्दानी भएको प्रवद्र्धन केन्द्रले जनाएको छ । वैदेशिक व्यापारमा कूल प्रतिशतको तीन दशमलव नौ प्रतिशत हिस्सा ओगट्ने अलैँचीको यस वर्ष १३ दशमलव छ प्रतिशतले आम्दानीमा गिरावट आएको छ भने दुई दशमलव तीन प्रतिशत हिस्सा ओगट्ने चियाको आम्दानीमा २८ दशमलव पाँच प्रतिशत र शून्य दशमलव चार प्रतिशत हिस्सा रहेको अदुवाको १३ दशमलव चार प्रतिशत गिरावट आएको वैदेशिक व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रले जनाएको छ ।   रासस

व्यापारिक मार्गमा चार आकाशेपुल

काठमाडौं । व्यापारिक मार्गमा हुने ढुवानी तथा सवारी चापको समस्यालाई ध्यानमा राखी वीरगञ्ज–पथलैया व्यापारिक मार्ग विस्तार आयोजनाले चार वटा आकाशेपुल निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ मा निर्माण शुरु गरिने ती चार आकाशेपुलमा करिब रु २० करोड खर्च हुने अनुमान गरिएको आयोजना प्रमुख सञ्जयकुमार मिश्रले बताए । आकाशेपुल निर्माणको अध्ययन प्रतिवेदनअनुसार पथलैया, परवानीपुर, गण्डकदेखि अलौँको एकीकृत जाँच चौकी (आइसिपी) सम्म करिब २८ किलोमिटर लम्बाइको व्यापारिक मार्गमा पहिलो चरणअन्तर्गत सिमरा विमानस्थलमा एउटा, जितपुर बजार क्षेत्रमा दुई वटा र परवानीपुरमा एउटा गरी चार वटा आकाशेपुल निर्माण गरिने प्रमुख मिश्रले बताए । आकाशेपुलको विस्तृत प्रतिवेदन तयार गरी सडक विभागमा पठाइसकिएको र सो प्रतिवेदन स्वीकृति भएर आउने बित्तिकै ठेक्का प्रक्रियामा जाने बताउँदै प्रमुख मिश्रले भने, “सो सडकखण्डमा थप १० वटा आकाशेपुल निर्माण गरिने प्रस्ताव गरिएको छ ।” उनका अनुसार प्रस्तावित आकाशेपुल परवानीपुर, सुक्खा बन्दरगाह क्षेत्र, पावर हाउस चोक तथा घण्टाघरलगायतको ठाउँमा निर्माण गरिने योजना छ । कोरोना सङ्क्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण आकाशेपुल निर्माणको प्रक्रियामा ढिलाइ भएको भए पनि आउँदो वर्षको असोजसम्ममा पुलको ठेक्का लगाउने योजना रहेको जनाइएको छ ।  रासस

३२ देशका वैज्ञानिकहरू भन्छन्- कोरोना भाइरस हावाबाट सर्न सक्छ

काठमाडौं । विश्वभरका सयाैं वैज्ञानिकहरूले काेराेना भाइरस हावाको सानो कणहरूबाट सर्ने दाबी गरेका छन् । हावाबाट काेराेना सर्ने  प्रमाण भेट्टाए र उनीहरूले विश्व स्वास्थ्य संगठनसँग यस रोगसँग सम्बन्धित मार्गनिर्देशनहरू परिमार्जन गर्न माग गरेका हुन् । कोभिड–१९ बाट संक्रमित व्यक्तिले खोक्दा वा हाँच्छ्यिु गर्दा उसको नाक र मुखबाट निस्कन पानीका थोपाका कणहरुबाट सर्ने विश्व स्वास्थ्य संगठनले भनेकाे छ । ३२ देशका २३९ जना वैज्ञानिहरुले डब्लूएचओलाई पत्र लेख्दै हावाको स–साना कणमा रहेका कोरोना भाइरसले पनि मानिसलाई संक्रमित बनाउने तथ्य फेला पारेको जानकारी दिएका हुन् । न्युयोर्क टाइम्समा प्रकाशित रिपोर्टका अनुसार आफ्नो अनुसन्धानलाई अगामी हप्ता प्रकाशित गर्ने तयारी गरेकाे जनाएका छन् । वैज्ञानिकहरूले दाबी गरे कि ठूला थोप्ला वा साना थोपा जस्ता ठूला क्षेत्रहरूमा छींकिए पछि मानिसमा संक्रमित हुन सक्ने जनाएका छन् । यद्यपि डब्ल्यूएचओले न्युयोर्क टाइम्सलाई दिएको विज्ञप्तिमा भने कि अनुसन्धानकर्ताहरूले दिएको प्रमाण पर्याप्त छैन । डब्ल्यूएचओका डा. बेनेडेटा एलेंगरानजीले न्यु योर्क टाइम्सलाई भनेका छन्, ‘विशेष गरी गत दुई महिनामा हामीले धेरै पटक भनेका छौं कि हामीले यो विचार गर्‍यौं कि यो रोग हावामा फैलिन्छ तर यो प्रमाणित गर्ने कुनै ठोस प्रमाण छैन । वा कुनै स्पष्ट प्रमाण छैन ।’ समाचार एजेन्सी रॉयटर्सका अनुसार डब्ल्यूएचओले यससम्बन्धमा उनीहरूका प्रश्नहरूको जवाफ लिएनन् जब सम्म यो समाचार लेख्दैनन् ।  (न्युयोर्क टाइम्सकाबाट)

स्पेनको उत्तर-पश्चिमी क्षेत्रमा पुन: लकडाउनमा कडाई

काठमाडौं । कोरोना भाइरसकाे संक्रमण बढ्न थालेपछि स्पेनले आफ्नो उत्तर-पश्चिमी क्षेत्र गलिसियामा पुनः लकडाउन घाेषणा गरेकाे छ ।  लकडाउनले त्यहाँका ७० हजार मानिस प्रभावित हुने बिबिसीले जनाएको छ । आइतबारदेखि शुक्रबारसम्म यी क्षेत्रमा कामको सिलसिलामा रहेका मानिसलाई मात्र आवतजावतको अनुमति दिइने भएको छ । एक दिन अघि स्पेनकाे क्याटोलोनिया क्षेत्रमा यसै किसिमको प्रतिबन्धको लगाइएको थियो । काेराेना संक्रमण बढेको भएपनि राष्ट्रिय स्तरमा भने कोरोना नियन्त्रण कार्यमा लागिरहेको छ । स्पेनमा हालसम्म २८ हजार ३ सय ८५ जनाको मृत्यु भइसकेको छ, भने २ लाख ९७ हजारभन्दा बढी काेराेना संक्रमित रहेका छन् ।  (बीबीसीकाे सहयाेग)

तल्लो क्षेत्रमा माछा नमार्नू, पौडी नखेल्नू : मेलम्ची खानेपानी आयोजना

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले पानीको मुहानभन्दा तल्लो तटीय क्षेत्रका स्थानीयलाई खोलामा नजान उर्दी जारी गरेको छ । आयोजनाको केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै आइतबारदेखि मेलम्ची खोलाको पानी पथान्तरण गरी सुरुङ परीक्षण शुरु गरिएकाले तल्लो क्षेत्रमा जुनसुकै बेला पानीको बहाव घटबढ हुनसक्ने भन्दै उर्दी जारी गरेको हो । परीक्षणका क्रममा नदीमा पानीको बहाव घटबढ हुनसक्ने भन्दै आयोजनाले नदीमा पौडी नखेल्न, माछा नमार्न र वस्तुभाउ लिएर जाँदा विशेष सावधानी अपनाउन स्थानीयलाई आग्रह गरेको छ । आयोजनाले सुरुङको प्रवेश मार्ग रहेका अम्बाथान, ग्याल्थुम र सिन्धुबाट समेत कुनै पनि समयमा पानी छाड्न सकिने भएकाले त्यस क्षेत्रका खोलानालामा जाँदा विशेष सावधानी अपनाउन भनिएको छ । साथै आफ्नो घर वरपरको क्षेत्रमा नयाँ मूलबाट पानी निस्किएको देखिएमा तुरुन्तै आयोजनालाई खबर पनि भनिएको छ । रासस