कथाः बैंकर श्रीमती
ओ…हो… आजकल कम्ती गाह्रो छ बैंकको जागीर खानलाई ? त्यसमाथि पनि म परेँ महिला कर्मचारी । घर व्यवहार हेर्नै पर्यो, केटाकेटीको स्याहार सुसार गर्नै पर्यो, उनीहरुलाई होमवर्क गर्न सघाउनै पर्यो, स्कुल पुर्याउनै पर्यो, त्यसैगरी खाना पकाऊ, बुढाको लुगामा आइरन लगाऊ… । कहिलेकाहीँ त लाग्छ म एक असल बैंकर त हुन सकेँ होला तर परिवारलाई प्रशस्त समय दिन नसक्दा सायद म असल आमा चाहिँ हुन सकिन कि ? असल श्रीमती पनि पो हुन सकिन कि ? धन्न बुझ्ने र समझदार श्रीमान् अनि सासुससुरा परेका छन् र सजिलो भएको छ । सबैले मेरो जस्तो राम्रो र समझदार परिवार कहाँ पाएका हुन्छन् र ! आज दिउँसो लञ्च टाइममा शशीले उसको परिवार वारे मलाई सुनाउँदै थिइन् । उसलाई त घरमा कसैले पनि सघाउँदैनन् रे, अफिसबाट ढिलो गरी घर फर्कियो भने ‘कसैले नखाको जागिर’ भन्दै हकार्छन् रे, घरको काम सबै उसैले गर्नु पर्छ रे । यस्तो तालले त अब सकिँदैन… बरु जागिर नै छोड्छु भन्दैथिइन् । “जागिर भनेको पैसा मात्र होइन शशी… आत्मसम्मान पनि हो । जागिरे हुँदा त तिमिलाई घरका सदस्यले हेप्छन् भने गृहिणी मात्र भएर घर बस्दा झन् कति हेप्छन् होला ?” भन्दै मैले सम्झाएपछि बल्ल उसले चित्त बुझाई । हुन त शशीलाई सजिलै सम्झाइदिएँ मैले तर आफ्नै मनलाई सम्झाउन चाहिँ धेरै गाह्रो महसुस गर्दैछु । हुनत मेरा घरका सदस्यहरु उसका घरका जस्ता चाहिँ छैनन् । मेरा सासुससुरा अनि श्रीमान अलि बुझ्झकि र सहयोगी भएर केहि सजिलो चाहिँ पक्कै छ । नेपाली समाज आजसम्म पनि त्यत्ति उदार भइसकेको छैन । भान्साको कामकाज अझै पनि महिलाले नै पुर्ण रुपमा जिम्मा लिनुपर्ने अवस्था छ, छोराछोरीको लालनपालन महिलाले नै गर्नुपर्ने पुरुषवादि सोच हावी छ । सासु बुहारीका किस्साको अवस्था उस्तै छ । आजका बुहारी सोच्दछन् कि उसकी सासु खराब छिन् तर केहि वर्ष पछि त्यही बुहारी सासु बन्नेछिन् र आफ्नी बुहारीसँग सम्बन्ध राम्रो बनाउन सक्दिनन् । त्योवेला उसकी बुहारीका पनि गुनासा बेग्लै हुन्छन् । वास्तवमा, आज हामी आफ्ना सासुप्रति खराब धारणा बनाउँछौं तर भोलि कसैको सासु बन्छौं र उही गल्ती आफु पनि दोहोर्याउँछौं । अहिले अषाढ पन्ध्र गते पनि कटिसक्यो, हामी बैंकरको लागि यो नजिकिएको क्लोजिङमा समयको एक–एक महत्व छ । त्यसमा पनि म लोन फाँटको कर्मचारी भएदेखि झनै व्यस्त भएको छु । आज पनि साँवा र व्याजको लागि ऋणीहरुलाई कम्ति फोन गरिएन । ऋणीहरुलाई पनि बहाना भएको छ यो कोरोनाको । पसल खोलेकै छन्, भित्र भित्र व्यापार व्यवसाय पनि गरेकै छन्, थोरबहुत नाफा पनि गरेकै छन् । व्यापार हिजो पनि गरेका हुन्, भोलि पनि गर्नेछन् । कहिलेकाहिँ त लाग्छ जनताको पैसालाई ऋणको रुपमा खाएपछि खुरुक्क तिर्नु नि… कत्ति फोन गरेर सम्झाउनु पर्ने होला । शशीले “टेलरको हिसाव मिल्यो… नगद थन्क्याऊँ ?” भनेर वेलुकी ६ बजेतिर सोध्दै गर्दा ल्याण्डलाइनमा फोन वज्छ । फोन एकजना प्रतिष्ठित ऋणीको हुन्छ । उताबाट आवाज आउँछ, “म्याडम, मेरो स्टाफ ऋणको किस्ता र व्याज लिएर आधा घन्टामा आउँदैछन् है… एकछिन बैंक बन्द नगर्नू होला ।” म “हुन्छ” भन्दै फोन राख्छु र शशीलाई उक्त कुरा सुनाउँछु । शशी भित्ताको घडि हेर्दै मलिन अनुहार बनाउँछिन् । मलाई थाहा छ उसको पिडा, आज पनि ऊ ढिलो गरी घर पुग्नेछिन् र घरमा गालि खानेछिन् । हुन त म पनि ढिलै घर पुग्ने पक्का भयो तर मैले गाली चाहिँ खानु पर्दैन । सबै काम सिध्याएर साँझ ७ वजे म र शशी सँगै बागवजारको अफिसबाट निस्कन्छौं । मेरो श्रीमान् मलाई लिन बाइकमा पर्खिरहेका हुन्छन् । सशी भने कपन जाने माइक्रो चढ्न भन्दै लुरुलुरु न्यूरोडतर्फ लाग्छिन् । मलाई नमिठो लाग्छ… म सोच्छु शशीले माइक्रो पाउँछिन् कि पाउँदिनन् होला यति राति ! कपन उत्रेर पनि घर पुग्नका लागि उसले २० मिनेट जति हिँड्नु पर्छ रे । कति बजे खाना पकाएर परिवारलाई खुवाउँदी हुन् कुन्नी ! शशीका वारे नानाथरी सोच्दै गर्दा मेरा श्रीमान चाहिँ मलाई भनिरहेका हुन्छन्, “थाहा छ तिमीलाई ? आज आमाले तिमीलाई मिठो लाग्ने तरकारी पकाउनु भएको छ नि ।” म बदलामा मुसुक्क हाँस्छु । बुहारीको बाटो नहेर्ने बरु आफैं भान्सा सम्हाल्ने मेरी सासूको सम्झना आउँछ… केटाकेटीलाई कथा र चुट्किला सुनाएर हेरचाह गर्ने ससुराको सम्झना आउँछ… अनि जति ढिलो भएपनि हौसला दिने, मलाई बुझ्ने र सधैं बाइक लिएर अफिसको गेटमा झर्को नमानि मलाई पर्खिरहने श्रीमानको याद आउँछ… । वास्तवमा मेरो परिवार प्रति मलाई गर्व लाग्छ । सबै बैंकर महिला कर्मचारीहरुको मेरो जस्तै सहयोगी परिवार भए कति राम्रो हुन्थ्यो होला… कति सजिलो हुन्थ्यो होला… । कोटेश्वरको खुला बाटोमा बाइक हाँक्दै गरेका श्रीमान प्रतिको माया अचानक बढेर आउँछ र अगाडि सर्दै टाँसिएर अँगालो हाल्छु… छातीमा तातो महसुस हुन्छ… श्रीमानले जिस्किँदै भन्छन्, “के भयो आज मेरो प्यारो बैंकर श्रीमतीलाई ?” म उसको कानमा साउति मार्दै भन्छु, “मलाई हरेक कुरामा सहयोग गर्ने प्यारो पतिलाई थ्यांक यू एण्ड लभ यु ।” मैले यति भनिनसक्दै श्रीमानले बाइकको एक्सिलिरेटर बटारिसकेका हुन्छन् र म पनि उसलाई बेस्सरी समाउँछु । [email protected]
सहकारीमार्फत बेरोजारी समस्याको सम्बोधन हुन्छः मन्त्री अर्याल
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले कोभिड १९को महामारी र जलवायु परिवर्तनबाट सिर्जित परिस्थितिविरुद्ध अनुकुलन क्षमता सुदृढ गराउनका लागि सहकारी क्षेत्रले भूमिका खेल्नुपर्ने बताएकी छन् । उनले कोभिड १९को महामारीका कारण बढ्दो बेरोजगारी समस्यालाई सम्बोधन गर्ने क्षेत्र सहकारी भएको बताइन् । राष्ट्रिय सहकारी महासंघले ९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गदै मन्त्री अर्यालले भनिन्,‘यो विषयम परिस्थितिमा सहकारीले सिर्जना गर्न सक्ने रोजगारीको अवसरका विषयमा सरकारलाई डाटा दिनुस् । सरकारले सहकारीलाई सबै क्षेत्रमा प्रवेश गर्न आवश्यक पर्ने कानुनमा संशोधन गर्न तयार छ।’ उनले उत्पादन र स्वरोजगार सिर्जना गर्न सक्ने क्षेत्रमा सहकारी प्राथमिकतामा रहेको बताइन् । उनले सहकारी स्वनियमानमा अगाडि बढ्नुपर्ने बताउँदै अर्थतन्त्रमा देखिएका गम्भिर चुनौतीको सामना गर्न , नेपालको अर्थतन्त्रलाई मजबुद बनाउन, घर घरमा समृद्ध ल्याउनका सहकारीको पैसा उत्पादन क्षेत्रमा परिचालन गर्ने, स्थानीय स्रोत साधानलाई सहकारीमार्फत भावी पुस्तालाई समेत जोगाउन गरी संचालन गर्नुपर्ने बताइन्न् । उनले सो अवसररमा भुमि व्यवस्थामा सरकारले महत्वपूर्ण कार्य गरिरहेको बताइन्न । ‘भूमिमा समाजवादको शुरुवात भएको छ । मानिसको जमिनको स्वामित्वको सुरक्षा गर्ने काम भएको छ ।’ दिगो विकास लक्ष्य प्राप्तिका लागि पनि हरेक क्षेत्रमा सहकारीको उपस्थितिको खाँचो रहेको बताइन् । ‘अब एक क्षेत्रमा मात्र सिमित भएर हुँदैन । जनस्तरससम्म पुग्ने, प्रत्येक परिवारका सदस्यम्म पुग्ने सहकारी सबै क्षेत्रमा जानुपर्छ । त्यसका लागि कानुनी अड्चन फुकाइन्छ’ उनले भनिन् । जुलाई महिनाको पहिलो शनिवार विश्वभरि नै अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ । यस पटक जलवायु कार्यका लागि सहकारी भन्ने थिमका साथ यो दिवस मनाइएको हो । सो कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव केदार न्यौपानले दिवसको थिम जलवायु कार्यका लागि सहकारी भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले नेपालले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन बनाएर अगाडी बढेकाले सहकारी क्षेत्रले जलवायु परिवर्तनबाट सिर्जित चुनौती उत्थानीलता र अनुकुलन व्षमता बृद्धि गर्नका लागि सदस्यहरुलाई तयार पार्नुपर्ने बताए । बहु जोखिमयुक्त मुलुकमध्ये नेपाल २० औं स्थानमा जलवायु परिवर्तनको जोखिमका दृष्टिले नेपाल चौथो मुलुक रहेकाले यसका लागि सबैभन्दा ठूलो संजाल भएको सहकारीले महत्वपूर्ण तयारी गर्नुपर्ने बताए । कार्यक्रममा युएनडीपी नेपालका सहायक आवासीय प्रतिनिधि विजय सिंह देशको लक्ष्यमा सहकारीले ठूलो योगदान दिन सक्छ । सो कार्यक्रममा महासंघका अध्यक्ष मिनराज कँडेलले महासंघले सहकारी अभियानका लागि दिगो विकास लक्ष्यका गाइडलाइन तयार गरिएको बताए । कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष दक्ष पौडेलले नयाँ प्रविधिको अवलम्बनमा जोड दिए । महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले कार्यक्रमको औचित्य र थिममाथि प्रकाश पारेकी थिइन् । कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष केशव बडाल, पूर्व अध्यक्ष दिपकप्रकाश बाँस्कोटा, उपाध्यक्ष रमेश पोखरेलले सम्बोधन गरेका थिए । उत्कृष्ट सहकारी पुरस्कार वितरण ९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, २६ औं संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय सहकारी दिवस तथा २७ औं राष्ट्रिय सहकारी महासंघ दिवसको अवसरमा सहकारी संघ/संस्था राष्ट्रिय सहकारी पुरस्कारबाट पुरस्कृत भएका छन् । केन्द्रीय सहकारी संघहरुमध्येबाट नेपाल बचत तथा ऋण केन्द्रीय संघ, नेफ्स्कून पुरस्कृत भयो । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले उत्कृष्ट ‘सहकारी पुरस्कार’ संघका अध्यक्ष परितोष पौडेललाई प्रदान गरिने । पुरस्कार राशी नगद २० हजार रूपैयाँ रहेको थियाे । त्यसैगरी जिल्लास्तरीय स.घहरुमध्येबाट जिल्ला सहकारी स.घ लि. बाँके पुरस्कृत भएको छ । प्रदेशगत आधारबाट उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७६ बाट विभिन्न ५ प्रदेशका सहकारी संस्थालाईलाई सम्मान गरिएको छ । जसमा प्रदेश २ बाट साना किसान कृषि सहकराी संस्था, रौतहट, बागम्ती प्रदेशबाट चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्था, काठमाडौं, गण्डकी प्रदेशबाट पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था, कास्की, प्रदेश ५बाट जनउत्थान साकोस, रुपन्देही र कर्णाली प्रदेशबाट हरियो हिरा कृषि तथा जडीबुटी विकास सहकारी संस्था, सुर्खेत पुरस्कृत भए । संस्थाको वित्तीय अनुशासन, नियमिततालगायतका कार्य हेरेर पुरस्कार प्रदान गरिएको महासंघको पुरस्कार छनोट समितीका संयोजक तथा संचालक खेम पाठकले बताए । सो अवसरमा सदस्य संघहरुलाई प्राविधिक सहयोग गर्ने उद्देश्यले महासंघले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहयोगमा १० वटा संघलाई कम्प्युटर तथा प्रिन्टर प्रदान गरेको छ । जसमा मोरङको जिल्ला कृषि सहकारी संघ, जिल्ला सहकारी स.घ तेह्रथुम, सप्तरी र सिन्धुलीको जिल्ला बचत तथा ऋण सहकारी स.घ रहेका छन् । त्यसैगरी काठमाडौंको जिल्ला बहुउद्देश्यीय सहकारी संघ, ललितपुरका जिल्ला बचत तथा ऋण सहकारी संघ, केन्द्रीय दुग्ध सहकारी संघ रहेका छन् । त्यसैगरी उपकरण सहयोग प्राप्त गर्नेमा स्याङजाको जिल्ला बचत तथा ऋण सहकारी संघ, पाल्पाको जिल्ला सहकारी संघ र दार्चुलाको जिल्ला सहकारी संघ रहेका छन् । नमुना कोपसप प्रवद्र्धनका लागि १५ लाख प्रदान नमुना कोपसपको संचालन गरिरहेको शुभलक्ष्मी सहकारी संस्था गौराहदह झापालाई राष्ट्रिय सहकारी महासंघले १५ लाख अनुदान पैदान गरेको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले नमुना कोपसको प्रवद्र्धनका लागि अनुदान वापत सो रकम बराबरको चेक हस्तान्तरण गरीन् । उपभोक्ता सहकारीको प्रवद्र्धन गर्ने र कोपसपमार्फत स्थानीय उत्पादनको बजारीकरण, कोप ब्रान्ड स्थापना गर्न प्रवद्र्धन गर्ने उद्देश्यले सो अनुदान प्रदान गरिएको महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले बताइन् । यस अघि महासंघले भक्तपुरको एक उपभोक्ता सहकारीको प्रवद्र्धनका लागि अनुदान प्रदान गरेको थियो । सहकारी पसल संचालन गर्ने विषयलाई संघीय बजेटले समेत प्राथमिकता दिएको छ ।
गत वर्षमा प्रिमियर इन्स्योरेन्सको मुनाफा साढे २६ करोडभन्दा बढी
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्ष (२०७५/७६) मा खुद मुनाफा २६ करोड ५८ लाख ५ हजार आर्जन गरेको छ । २६ औं वार्षिक साधारण सभामा संचालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठले वार्षिय प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् । ‘आर्थिक वर्ष २०७५/७६ मा कुल बीमा शुल्क १ अर्ब ६४ करोड ६७ लाख ८८ हजार आर्जन गरि खुद मुनाफा २६ करोड ५८ लाख ५ हजार आर्जन गरेको छ भने कम्पनीको चुक्ता पुँजी १ अर्ब ७ करोड ४५ लाख ६० हजार रहेको छ’ अध्यक्ष श्रेष्ठले भने । सर्वसाधारण शेयरधनीका तर्फबाट २ जना संचालक केदार नारायण मानन्धर तथा बलराम श्रेष्ठ पुन निर्विरोध निवाचित भएका छन् । उक्त साधारण सभा केन्द्रिय कार्यालय भवनको सभा कक्षमा समापन भएको थियो ।
सिटिजन्स बैंकको निक्षेप ९१ अर्ब, कर्जा ८० अर्ब, ग्राहक साढे ६ लाख
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जनकपुरमा केन्द्रीय कार्यालय रहेको सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गरेको छ । प्राप्ति पछि असार २० गतेबाट एकीकृत कारोबार शुभारम्भ भएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र साबिकको सहयोगी विकास बैंक लिमिटेडका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु सहभागी भएको एक विशेष समारोह बीच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले संयुक्त कारोबारको शुभारम्भ गरेका हुन् । सहयोगीलाई प्राप्ति गरेपछि सिटिजन्स बैंकको निक्षेप ९१ अर्ब ३५ करोड, कर्जा लगानी ७९ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । चुक्ता पुँजी ९ अर्ब ८ करोड रुपैयाँ भएको छ । बैंकको शाखा १०९ वटा, एटीएम ९८ वटा र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरु भएको तथा करिव साढे ६ लाख ग्राहक भएको बैंकले जनाएको छ । उक्त कार्यक्रममा बोल्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीले यस प्राप्ति पश्चात बैंकको आन्तरिक वित्तीय, मानवश्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुने कुरा व्यक्त गरे । मर्जर र प्राप्तिबाट संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीतिलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । २०६४ बैशाख ७ गतेदेखि २० आंै वाणिज्य बैंकको रुपमा बैकिङ्ग कारोबार शुरु गरेको सिटिजन्स बैंकले यसअघि पिपल्स फाइनान्स, नेपाल हाउसिङ्ग एण्ड मर्चेण्ट फाइनान्स, प्रिमियर फाइनान्सलाई प्राप्ति गरिसकेको छ । त्यसै गरी साबिकको सहयोगी विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष श्री उदय कान्त झा “जीवन” ले सहयोगी विकाश बैंक लिमिटेडका ग्राहक, कर्मचारी र लगानीकर्ताहरुको हित र भविष्य सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडमा अझ झन् सुरक्षित र उज्वल हुने बताए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डेले प्राप्ति पश्चात बैंकको प्रतिस्पर्धात्मक क्षमताको अभिबृद्धि हुने बताए । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले मर्जर पश्चात कर्मचारीहरुको उचित ब्यवस्थापन र दक्षता अभिवृद्धि गरी बैंकको व्यवसाय वृद्धिका लागि ठोस कार्यक्रमहरु अबलम्बन गर्ने बताए । बंैकको बढ्दो ब्यवसाय, शाखा÷सञ्जाल तथा अन्य स्रोतहरुबाट सृजित हुन सक्ने जोखिमहरु अध्ययन गरि पहिचान गर्ने तथा त्यस्ता जोखिमको उचित व्यवस्थापन गरी संभावित हानीलाई न्यून गर्नको लागि स्थापित जोखिम व्यवस्थापन संयन्त्रलाई थप प्रभावकारी बनाउँदै जाने योजना रहेको उनको भनाई छ ।
बझाङ पहिरो: ६ जनाको शव भेटियाे, एक बेपत्ता (अपडेट)
बझाङ । बझाङमा शुक्रबार राति पहिरो जाँदा केदारस्यूँ गाउँपालिका–८ मल्लेसी गाउँमा १८ घर पहिरोले बगाउँदा छ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । शनिबार बिहान स्थानीयवासी र सुरक्षाकर्मीहरुले पहिरोमा पुरिएका छ जनाको शव निकालेको छ । आफ्नै घरभित्र पुरिएको अवस्थामा ४४ वर्षीया रामती जेठारा र उनकी १५ वर्षीया छोरी शान्ति जेठारा, ११ वर्षीय छोरा प्रयागराज जेठारा र सात वर्षीेया छोरी अस्मिता जेठाराको शव निकालेको घटनास्थलबाट प्रहरी सहायक निरीक्षक रायभानसिंह ऐरीले बताए । उनका अनुसार ८० वर्षीय दले जेठारा, १२ वर्षीय सन्तु जेठाराको शव पनि लिकालेको छ भने पहिरोमा पुरिएका २० वर्षीया गिरिजा जेठाराको खोजी भइरहेको छ । “राति अविरल वर्षासहित गाउँ माथिबाट अलिअलि पहिरो आउँदा जानकारी भएपछि हल्लाखल्ला गरेर राति सबै घरबाट बाहिर निस्कियौं”, घटनाका स्थानीयवासी सुरेश जेठाराले भने, भाग्न नसकेर पहिरोमा पुरिए । गाउँको माथिपट्टि रहेको रातोपड सामुदायिक वनबाट पहिरो आएपछि १८ घर पूर्णरुपमा क्षति भएका छन् । उनका अनुसार पहिरोमा परी २२ भैँसी, ६५ बाख्रा र २४ गाई–गोरुसमेत बगाएको छ । पहिरोले गाउँको बीच भाग हुँदै १८ घर बगाएपछि मल्लेसी गाउँ शोकमा डुबेको छ । यसरी एक्कासि पहिरोले गाउँ बगाएपछि मल्लेस गाउँका १८ परिवारको उठिबास भएको छ । स्थानीयवासी नरेश बोहराले भने, “शरीरमा लगाएका लुगा कपडाबाहेक सबै पहिरोले लग्यो । घरभित्रको खाद्यान्न, लत्ताकपडा, धन सम्पत्ति र गाई–गोरुसमेत सबै बगे । झण्डै २० रोपनी जग्गामा लगाएको धानबालीसमेत पुरेको छ ।” जुइली गाड र सुङरी गाडको बीचमा रहेको उक्त गाउँ जानलाई आवतजावत गर्नसमेत समस्या छ । दुवै गाडमा अत्यधिक मात्रामा पानी भएपछि अरू गाउँसमेत जान समस्या छ । यो गाउँमा ९० परिवारको बसोबास छ । यस घटनामा क्षति भएका पीडित परिवारहरुलाई राहत दिनका लागी गृह मन्त्रालयसँग समन्वय भइरहेको प्रतिनिधिसभा सदस्य आशा विकले बताए । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले नेपाली सेनाको हेलिकप्टरबाट राहत सामग्री लिने कुरा भएको छ । अहिले शवमात्र निकाल्ने काम भइरहेकाले क्षतिको विवरण लिन बाँकी रहेको जनाए । रासस
नागरिक लगानी कोष बोनस र हकप्रद सेयर प्रस्ताव पास
काठमाडौं । नागरिक लगानी कोषको २५ औं साधारण सभा कोषको नवनिर्मित भवनमा शनिबार सम्पन्न भएको छ । साधारण सभाले २२ प्रतिसत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । सभाले बोनस शेयर पछि कायम हुने चुक्ता पुँजीमा १ बराबर ८२ दशमलव ८४ प्रतिशत हकप्रद शेयर दिने प्रस्तावलाई पनि पास गरेको छ । सभालाई सम्वोधन गर्दे कोष संचालक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराईले कोषको आर्थिक वर्ष २०७५/७६ को करपछिको खुद नाफा ४६ करोड २३ लाख रुपैयाँ रहेको र उक्त रकमबाट नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४० र ४१ मा भएको व्यवस्था अनुसार ९ करोड २४ लाख ५७ हजार साधारण जगेडामा राखी बाँकी रकम मध्येबाट आ.व. २०७५/७६ मा २२ प्रतिशत बोनस शेयर र १.१६ प्रतिशत नगद लाभांश छुट्टयाइएको बताए । सो अवसरमा शेयरधनी संगको छलफलमा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको कार्यलाई प्रभावकारी बनाउन ब्यवस्थापन पक्ष सक्रिय रहेकोमा जोड दिए । कोरोना (कोभिड–१९) लाई ध्यानमा राख्दै कोषले न्युन शेयरधनीको उपस्थितिमा सभा आयोजना गरेको थियो । सो अवसरमा सेयरधनीरुले कोषले नयाँ भवन बनाएकोमा खुशी ब्यक्त गरेका छन् ।
राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको भेट
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ भेट गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा सवा घण्टा लामो भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री र राष्ट्रपतिबीचको यो नियमित भेटघाट हो । रासस
काेराेनाबाट थप एक जनाकाे मृत्यु, मृतककाे संख्या ३४ पुग्याे
काठमाडाैं । शनिबार बिहान गोरखामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएकाे छ । गोरखा अस्पतालको आइसोलेसनमा उपचारका क्रममा ४४ वर्षीय पुरुषको मृत्यु भएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । विदेशबाट फर्किएका ती पुरूषमा कोरोना पोजेटिभ पुष्टि भएपछि उपचारका लागि गएराति गाेरखा अस्पताल भर्ना गरिएको थियो । पालुङटार नगरपालिका वडा नम्वर ७ का पुरुषको कतारबाट आएका गत असार १६ गते नेपाल फर्किएका थिए । याेससँगै काेराेना संक्रमणबाट देशभर ३४ जनाकाे मृत्यु भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।