विकासन्युज

शनिवार थप २ सय ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ४ सय ९१

काठमाडौं । शनिबार थप २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप २ सय ३२ जना कोरोना संक्रमित भेटिएको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १५ हजार ४ सय ९१  पुगेकाे छ । काेराेना संक्रमणबाट थप एक जनाकाे मृत्यु भएकाे छ । हालसम्म मृत्यु हुनेकाे संख्या ३४ पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

लकडाउनले आर्थिक चपेटामा सैलुन व्यवसायी

सुुर्खेत । लकडाउन खुकुलो हुँदै गए पनि सरकारले अझै केही समय सैलुन (नाइ) व्यवसाय सञ्चालनमा रोक लगाएपछि व्यवसायी मर्कामा परेका छन् । कोरोना भाइरस सङ्क्रमण फैलिन सक्ने भन्दै सरकारले होटल, रेष्टुरेन्ट, सैलुन, ब्युटीपार्लरलगायतका केही व्यवसाय सञ्चालनमा रोक लगाएको छ । यसले गर्दा तराई मधेशबाट यहाँ आएर भाडामा बस्दै आएका सैलुन व्यवसायी ठूलो आर्थिक चपेटामा परेका छन् । दाह्री, कपाल काटेर गुजारा चलाउँदै आएका व्यवसायीले चार महिनादेखि व्यवसाय ठप्प हुँदा आफूहरु मर्कामा परेको बताएका छन् । अन्य व्यवसायजस्तै सुरक्षाका विधिहरु अपनाएर सैलुन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने उनीहरुको माग छ । नेपाल नाई सङ्घले आफ्नो व्यवसाय क्षेत्रको समस्याबारे शुक्रबार प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाइसकेको छ । प्रशासनले व्यवसाय सञ्चालनमा सहजीकरण गरिदिनुपर्ने नाई सङ्घको माग छ । नाई व्यवसायी विनोद ठाकुरले लामो लकडाउनले बिहान–बेलुकाको छाक टार्न समस्या भएको गुनासो गरे । “हाम्रो व्यवसाय चार महिनादेखि पूर्णरूपले बन्द छ, पसलको भाडा, घरभाडा तिर्न र बिहान–बेलुका के खाने भन्ने समस्या भइसक्यो”, उनले भने, “सबै व्यवसायी परिवारसहित तराई–मधेसबाट आएर यहाँ घर भाडा लिएरै बसेका छौँ, लकडाउनमा अन्य व्यवसाय खुले पनि सैलुन व्यवसाय सरकारले बन्द गर्दा हामी ठूलो मर्कामा पर्यौं।” अर्का व्यवसायी सुवीर अन्सारीले आफूहरुको एक मात्र पेशा बन्द हुँदा जीविकोपार्जनमा कठिनाइ भएको बताए । “पसल र घरको भाडा तिर्नै समस्या भइसक्यो, घरबेटीले बारम्बार भाडा माग्न थाले, अब सापटी माग्न ठाउँसमेत रहेन”, अन्सारीले भने । नेपाल नाई सङ्घ सुर्खेतका अनुसार सुर्खेत उपत्यकामा झण्डै ५० सैलुनहरुका २ सय युवाहरुको रोजगारी गुमेको छ । रासस

फ्रान्सलाई खुला सोच र दृढ नेतृत्वको खाँचो रहेको निवर्तमान प्रधानमन्त्रीको भनाइ

पेरिस । फ्रान्सको प्रधानमन्त्री पदबाट शुक्रबार राजीनामा दिएका एडुअर्ड फिलीपले मुलुकलाई खुल्ला सोच र दृढ निश्चयी नेतृत्वको खाँचो रहेको बताएका छन् । नवनियुक्त प्रधानमन्त्री जाँ कास्टेक्सलाई पद हस्तान्तरणका लागि आयोजित कार्यक्रममा निवर्तमान प्रधानमन्त्री फिलीपले भने । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले निजामति कर्मचारीको उच्च अधिकारीका रूपमा काम गरिसकेका कास्टेक्सलाई शुक्रबार नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । निवर्तमान प्रधानमन्त्री फिलीपले सन् २०१७ देखि गत शुक्रबारसम्म देशको प्रधानमन्त्रीको भूमिका निर्वाह गरे । उनले शुक्रबार राजनीनामा दिए । पदहस्तान्तरण कार्यक्रममा फिलीपले भने, “प्रिय जाँ कास्टेक्स, मेरो उत्तराधिकारीको रुपमा तपाईलाई पाउँदा मलाई धेरै खुशी लागेको छ, बधाई तथा शुभकामना छ ।” उनले अगाडि थपे, “हाम्रो देशलाई खुल्ला सोच र दृढ निश्चयी व्यक्ति चाहिन्छ । तपाईले फ्रान्सको आवश्यकतालाई पूरा गर्नुहुनेछ भन्नेमा मलाई कुनै द्वुविधा छैन ।” निवर्तमान प्रधानमन्त्री फिलीपले नयाँ प्रधानमन्त्री कास्टेक्सले प्रधानमन्त्रीका रुपमा सही निर्णयहरु गर्ने विश्वास पनि व्यक्त गरे । नगर निर्वाचनमा वातावरण पक्षधर समूहको बहुमतसँगै सरकारमा नयाँ समूहको आवागमन हुने देखेर उनले राजीनामा दिए । फिलीपसँगै उनको सम्पूर्ण समूहले सरकारबाट शुक्रबार नै राजिनामा दिइसकेको छ । नयाँ चरणमा स्वतन्त्रता, पुनः निर्माण, पुनः मिलन तथा नयाँ उपायहरूको लक्ष्यलाई प्रशासनको नयाँ नेतृत्वमार्फत अघि बढाउने राष्ट्रपति म्याक्रोँले हालै एक पत्रिकालाई दिएको अन्तर्वार्तामा उल्लेख गरिएको थियो । रासस/एएनआई

६० रूपैयाँको औषधि २ हजार ४ सयमा बिक्री !

काठमाडाैं । सिन्धुपाल्चोकका केही औषधि पसलले लकडाउनको फाइदा उठाउँदै वढी मूल्य लिई औषधि विक्री गरेको भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र बाह्रबिसे नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा बाह्रबिसे नगरपालिकाका बजार क्षेत्रका औषधि पसलमा शुक्रबार गरिएको अनुगमनका क्रममा वास्तविक मूल्य भन्दा वढी मूल्य लिएको भेटिएको नगर प्रमुख निमफुञ्जो शेर्पाले बताए । उनका अनुसार सेतीदेवी मेडिकल राम्चेले वढी मूल्यमा औषधि बिक्री गरेको पाइएको हो । “मेडिकलले अनियमितता गरिरहेको छ भन्ने सूचनाका आधारमा हामीले नै औषधि किन्न पठाउँदा त्यस्तो प्रमाण पायौँ”, उनले भने । उनका अनुसार सरकारले निःशुल्क एबोसनको औषधि वितरण गरे पनि बढीमा ६० रूपैयाँ पर्ने औषधिलाई सो मेडिकलले २ हजार ४ सय रूपैयाँ लिएको हो । त्यस्तै सोही मेडिकलले औषधि बिक्रीवितरण गर्दा बिल नदिएको पाइएको छ । यसैगरी कुँवेर मेडिकल राम्चे–९ को मेडिकल दर्ता गरे पनि सम्बन्धित व्यक्तिले सञ्चालन नगरी अर्कैले सञ्चालन गरेको पाइएको, सदीक्षा फार्मेसीको बिरामी जाँच्ने आधिकारिक व्यक्ति नभएको पाइएको नगर स्वास्थ्य शाखाको ठहर छ । प्रायः सबै मेडिकलहलमा चिकित्सकको सिफारिसबिना अवैधानिकरूपमा औषधि बिक्री गरेको पाइएको शाखाले जनाएको छ । प्रतिवेदन तयार गरी जिल्ला प्रशासन तथा जनस्वास्वास्थ्य कार्यालयमा जानकारी गराउने तथा ती सबै पाँच मेडिकललाई लिखित स्पष्टीकरण तथा कारवाहीका लागि नगर स्वास्थ्य शाखाबाट पत्रचार गर्ने निर्णय भएको नगरप्रमुख शेर्पाले जानकारी दिए । रासस

सलहबाट मकै बालीमा पाँच करोड क्षति

अर्घाखाँची । जिल्लामा दश हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै बाली सलहले नष्ट गरेको छ । छ दिनयतादेखि सलहले खेतबारी नछाडेपछि स्थानीयवासी हैरान भएका छन् । जिल्लाका केही भागमा सलह नियन्त्रणमा आए पनि शीतगङ्गा नगरपालिकामा नियन्त्रणमा आउन सकेको छैन । वडा नम्बर ७ का जलुके, जुवाकोटलगायत क्षेत्रमा नौ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै पूर्ण रुपमा नष्ट भएको वडाध्यक्ष मोहन पन्थीले जानकारी दिए । जिल्लाका सबै क्षेत्रमा गरी १० हजार रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै पूूर्णरुपमा र केही भागमा आंशिक क्षति पुग्दा करीब रु पाँच करोड नोक्सान भएको जनाइएको छ । । शीतगङ्गा– १० सिद्धाराको दुम्सीलगायत क्षेत्रमा पनि सलहले मकै बाली पूूर्णरुपमा नष्ट गरेको वडाध्यक्ष हिम्मत पोख्रेलले बताए । सन्धिखर्क र भूमिकास्थान नगरपालिका तथा छत्रदेव, मालारानी र पाणिनि गाउँपालिका सबैतिर सलहले क्षति पुर्याएको कृषि ज्ञान केन्द्रका कृषि प्राविधिक निमबहादुर आचार्यले जानकारी दिए । रासस

महामारीलाई वेवास्था नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

जेनेभा । विश्व स्वास्थ्य संगठनले विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्ने क्रममा नै रहेको बताउँदै प्रभावित सबै मुलुकहरूलाई कोरोना भाइरसको सङ्क्रमण फैलिने क्रमलाई नियन्त्रणमा लिन यथोचित उपायहरूको अवलम्वनका लागि आग्रह गरेको छ । विश्वका सबै देशका नागरिकले कोभिड–१९ सङ्क्रमण दरमा कमी नआएको यथार्थलाई मध्यनजर गर्दै सचेत बन्नुपर्ने आजको आवश्यकता रहेको छ, संगठनका आपतकालीन सेवा निर्देशक मिखायल र्यानले सञ्चारकर्मीसँगको भेटमा स्थानीय समय अनुसार शुक्रबार राति बताए । उनले भने, ‘अहिलेसम्म विश्वभर एक करोड ११ लाखभन्दा बढी व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको र पाँच लाख २९ हजारभन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी सङ्क्रमित अमेरिकी क्षेत्रमा रहेको र त्यसमा पनि संयुक्त राज्य अमेरिकामा कोभिड–१९ सङ्क्रमण र यसका कारण मृत्यु हुनेको सङ्ख्या विश्वका अन्य कुनै एक मुलुकभन्दा बढी रहेको छ ।’ विश्वमा कैयौं राष्ट्रहरूले तथ्याङ्कले के भनिरहेको छ भन्ने कुरामा वेवास्था गरिरहेको बताउँदै विश्व स्वास्थ्य संगठनका अधिकारीले भने, “महामारीलाई नियन्त्रणमा लिन कहिल्यै पनि धेरै ढिलो गर्नु हुँदैन ।” उनले भने, “अर्थतन्त्रलाई चुस्त दुरूस्त राख्नुपर्ने बाध्यता कुनै पनि राष्ट्रहरूलाई छ । यो सबैले बुझ्न सक्ने कुरा हो तर स्वास्थ्य सङ्कटलाई पनि वेवास्था गर्नु हुँदैन । यो समस्या जादुमयी तरिकाले हट्नेछैन ।”  रासस/सिन्ह्वा

अफगानिस्तानका राष्ट्रपतिका सल्लाहकारको कोभिड–१९ संक्रमणबाट मृत्यु

काबुल । अफगानिस्तानका राष्ट्रपतिका आर्थिक विकास, व्यापार तथा गरिबी नियन्त्रणमामिला विशेष सल्लाहकार मोहम्मद यूसुफ गाजनफारको कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको राष्ट्रपतीय कार्यालयद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । गजानफारको शुक्रबार टर्कीको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनलाई हालै कोरोना भाइरस संक्रमण भएको र स्वदेशमा उपचार सम्भव नदेखिएपछि टर्की लगिएको थियो । अफगानिस्तानमा गत फेब्रुअरीमा पहिलो पटक कोभिड–१९ संक्रमण पुष्टि भएको र शनिबारसम्ममा ३२ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । अफगानिस्तानमा कोभिड–१९ सङ्क्रमणका कारण ८ सय १९ व्यक्तिको मृत्यु भएकाे छ ।  रासस/सिन्ह्वा

एमसीसीबारे अर्थमन्त्री भन्छन्: कि सम्झौता नै गर्नु पर्थेन, अब पालना गर्नुपर्छ

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सम्झौता पालना हुनु पर्ने धारणा राखेका छन् । उनले रासससँग कुराकानी गर्दै नेपालले एमसीसी पालना गर्नुपर्ने धारणा राखेका हुन् । उनले कुराकानीमा भनेका छन्, ‘सरकार यसमा स्पष्ट छ , हामीले सम्झौता ग¥यौ, यसमा अझै राम्रो गर्न सकिन्थ्यो होला, यसमा बहस गरिरहेका छौँ । सरकारको निरन्तरताका हिसाबले पनि सम्झौता गरेपछि पालना गर्नुपर्छ ।’ अन्तरर्राष्ट्रिय सन्धि सम्झौता गरिसकेपछि त्यसलाई हामीले ठूलै कारण नभई खारेज गर्न नहुने उनले धारणा राखेका छन् । ‘सम्झौतामा भएका कतिपय कुरामा कुरा बुझिएको छैन, चित्त बुझ्दो भएन भने पत्रको आदानप्रदान (लेटर अफ एक्सचेञ्ज) बाट गर्ने कुरा त विगतदेखि नै हुँदै आएको छ, उनले भने, ‘यो कुरा त्यसरी गर्न सकिन्छ ।’ यस परियोजनामा सरकारको स्वामित्व कति हो भन्नेबारेमा सरकरा स्पष्ट नै भएको बताउँदै उनले मुख्य कुरा विश्वास भएको धारणा राखेका छन् । उनले एमसीसीको विषयलाई लिएर सरकारलाई सहयोग गर्ने वा असहयोग गर्ने विषयमा संयोग मिलेको हुन सक्ने धारणा राखेका छन् ।