प्रधानमन्त्री ओलीले भने: सरकारको कामले मात्रै कोरोना नियन्त्रण हुँदैन
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रयासले मात्रै कोरोना नियन्त्रण गर्न नसकिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी विज्ञ र विभिन्न राजनीतिक दलका नेताहरूसँगको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले संकटलाई विरोध गर्ने अवसरका रूपमा नलिन पनि आग्रह गरेका हुन् । कोरोना संक्रमणको जोखिम बढिरहेको सन्दर्भमा अब लिनुपर्ने रणनीतिबारे विज्ञहरुसँग छलफल गर्न मंगलबार आयोजित बैठकमा प्रधानमन्त्रीले संकटलाई विरोध गर्ने अवसरका रुप लिन नहुने धारणा राखेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा प्रधानमन्त्रीले भने ‘यता पल्टाएर पनि विरोध,उता पल्टाएर पनि विरोध । कहिले लकडाउन किन भनेर विरोध । कहिले लकडाउन खोलेको भनेर विरोध । महामारी सबैको चुनौती हो, कसैले पनि यसलाई विरोधको अवसर ठान्नु हुन्न ।’ सोही बैठकमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले लकडाउन गर्ने, नगर्ने कुरा समुादयमा संक्रमणको स्तर हेरेर निर्धारण हुनुपर्ने बताए । उनले हरेकलाई सामाजिक दूरी कायम गर्न र मास्क अनिवार्य लगाउन कडाइ गर्नुपर्ने भन्दै मुख छोपेर हिँड्न बानी पार्नुपर्ने बताए । प्रधानमन्त्री निवास बालुवाटारमा स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग सरकारले सुझाव लिने क्रममा अब प्रतिदिन १८ हजार जनासम्मको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्न सक्ने गरी ल्याबको स्थापना गरिएको जानकारी दिइएको छ ।
अब काेराेना परीक्षण गराउँदा सप्तरीमा परिचयपत्र अनिवार्य
सप्तरी । कतिपयले झुटो विवरण लेखाई पिसिआर गराउने गरेका कारण पुष्टि भएका सङ्क्रमित पत्ता लगाउन समस्या भएपछि सप्तरी जिल्लामा परिचय खुल्ने आधिकारीक प्रमाणपत्र अनिवार्य गरिएको छ । कोरोना परीक्षणका लागि स्थानीय तहले सङ्कलन गरेर दिएका विवरण झुटो र फरक पर्न थालेपछि नागरिकता वा परिचय खुल्ने आधिकारिक प्रमाणपत्र अनिवार्य गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले भने–“कन्ट्याक्ट ट्रेसिङ्ग र ट्र्याकिङ्गका आधारमा स्थानीय तहले सङ्कलन गरी दिएको विवरणमा कतिपयको नाम, उमेर झुटो लेखाएको पाएपछि परिचयपत्र खोज्न थालिएको हो ।” सर्वसाधारण युवादेखि कर्मचारी समेतले झुटो विवरण लेखाएको पाइएको कार्यालयले जनाएको छ । यादवले थपे, “सम्भवतः आफूबाहेक अरु कसैले पनि जानकारी नपाओस् भनेर करिब चार÷पाँचजनाले अर्कै नाम र ठेगाना लेखाएर स्वाब सङ्कलन गराएकामा पोजेटिभ रिपोर्ट आएपछि उनीहरुको खोजी गर्न समस्या भएकाले नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र अनिवार्य गर्न लागिएको हो ।” जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सप्तरीको बैठकमा यस विषयबारे छलफल भएको र नाम, ठेगानासहितको विवरण सङ्कलन गर्ने स्थानीय तहलाई यसबारे जानकारी गराइएको यादवले बताए । झुटो विवरण लेखाउने सबै व्यक्ति हाल सम्पर्कमा आइसकेको पनि उनले जानकारी दिए । पिसिआर परीक्षणमा पोजेटिभ पुष्टि भएका व्यक्तिको नाम, ठेगाना नै फरक परेपछि खोजी गर्न समय लागेको यादवले बताए । सङ्क्रमितको सम्पर्कका व्यक्तिमा छिटो पुगेर अवस्था पत्ता लगाउन विश्वास गरेर कसैको परिचयपत्र नमाग्ने गरिएकामा केही व्यक्तिका कारण उनीहरुको खोजीमा धेरै समय खर्चिनु परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत आनन्द ठाकुरले बताए । सङ्कटका बेला प्राप्त साधन, स्रोतको अधिकतम उपयोग गर्नुपर्ने बेलामा सही विवरण नदिएर पिसिआर जचाउन आउनेका कारण स्रोत र साधनको दुरुपयोग भएको उनको भनाइ छ । राजविराज नगरपालिका–६ र तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाका सङ्क्रमितको सम्पर्कका रहेका व्यक्तिमा गरिएको परीक्षणपछि सप्तरी जिल्लामा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार सप्तरीका ५१ जना सङ्क्रमित पुष्टि गरेको छ । यसमध्ये तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाका २५ जना र राजविराज नगरपालिकाको विभिन्न वडाका २० जना रहेका छन् । त्यसपछि नयाँ थप भएका सातजना सङ्क्रमित सबै राजविराज नगरपालिकाका हुन् । थप भएका सात जनाको आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गर्ने तयारी गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या ५३१ पुगेको छ । कोरोना भाइरसको सङ्क्रमण विस्तार हुन नदिन यही साउन ८ गतेदेखि राजविराज नगरपालिका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको थियो । रोगको सङ्क्रमण बढ्न थालेपछि आज बिहान ५ बजेदेखि आगामी सोमबार साँझ ५ बजेसम्मका लागि सप्तरी जिल्लाभरि नै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले बताएका छन् । जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम निषेधाज्ञा जारी गरिएको निषेधित क्षेत्रमा अत्यावश्यक कामबाहेकका सम्पूर्ण आवतजावत, सवारीसाधन, पसल बन्द रहने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।
चैतदेखि भदौसम्मको लाइसेन्स नविकरणमा जरिवाना नलाग्ने
काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण गर्दा भदौ मसान्तसम्म जरिवाना शुल्क नलाग्ने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले चैत ११ गतेपछि म्याद सकिएका लाइसेन्स नवीकरण गर्दा जरिवाना शुल्क नलाग्ने बताए । मन्त्री परिषदले नवीकरण गर्ने म्याद लकडाउन अवधिभित्र परेमा भदौ मसान्तसम्म जरिवाना छुट गर्ने निर्णय गरेको हो ।
मौरीजस्तै जाँगरिला डिलबहादुर: जसले कमाउँछन् वार्षिक १२ लाख
गलकोट । माहुरीको गुलियो मह र त्यही महजस्तै मिठो नाम डिलबहादुर । नाममात्रै होइन, काम पनि उस्तै प्रेरणादायक । जिल्लाको बागलुङ नगरपालिका–१२ अमलाचौरका डिलबहादुर खत्री र मौरी एकअर्काका पर्यायवाची हुन् । जिल्लामै सफल मौरीपालक कृषकका रूपमा स्थापित हुनुभएका डिलबहादुरको दुःख र सङ्र्घष भने सामान्य छैन । अझै आफ्नो धरातल बिर्सन्न र भन्छन्, “अहिले सङ्घर्षरत छु, साँच्चिकै सफलता प्राप्त गर्न त अझै बाँकी छ ।” कुनै समय कृषि पेशा तरकारी र कुखुरापालन गर्दा विफल भएर निराश नभएको पनि होइन तर त्यसबाट गम्भीर पाठ सिक्नुभएका डिलबहादुर अहिले मौरीपालनबाट उत्साहित छन् । उमेरले ५७ वर्षका डिलबहादुरले विसं २०४५ मा रुखमा रहेका मौरी लिएर परम्परागत घारमा मौरीपालनको शुरुआत गरेका थिए । एक घारबाट मौरीपालन गर्न शुरु गरेका खत्रीले अहिले मौरीपालन व्यवसायबाट वार्षिक रु १२ लाख बढी आम्दानी गर्दै आएको बताउँछन् । “कृषिमा धेरै दुःख गरियो, भैँसी पालेँ, खेतीपाती गरेँ, कुखुरा फार्म खोलेँ”, क्षत्रीले भने, “सबैबाट असफलता मात्रै हात लाग्यो, कुखुरा फार्म डुब्यो, मौरीले मात्रै मलाई चिनेजस्तो छ, यसबाट सफलता मिल्यो, सन्तुष्टि मिल्यो ।” मौरीपालन गर्नुअघि पाँच वर्ष कुखुरा फार्म खोलेर कुखुरापालन गर्दै आउनुभएका खत्रीले पाँच वर्षमा आम्दानीभन्दा बढी ऋणको भार बेहोर्नुप¥यो । मौरीपालनलाई व्यावसायिक बनाउँदै लैजाने सोचका कारण विसं २०६५ मा बलेवा मौरीपालन उद्योग दर्ता गरी मौरीपालन व्यवसाय अगाडि बढाए । उनको उद्योगमा मह मात्रै होइन, मह उत्पादनका लागि आवश्यक आधुनिक घार र मौरीसहितको घार उत्पादन तथा बिक्री हुँदै आइरहेको छ । हालसम्म मौरीपालनमा ८० लाख लगानी गर्दै आएका खत्रीसहित दुई छोरा र छ कामदार खटाएर दैनिक मौरीको घारसमेत निर्माण गर्दै आएको बताए । “दुई छोरा जीवन र जनकले फार्ममा घार उत्पादनमा सघाउँदै आएका छन् । जेठो विदेश र कान्छो छोरा अध्ययनमै छ”, उनले भने, “कृषि कर्ममा भएको असफलताबाट हिम्मत हारिन, अहिले मौरीपालनबाट सफलता मिलेको छ ।” वर्षमा पाँच हजार केजी मह उत्पादन गर्दै आएको फार्मबाट वार्षिक ८०० मौरीका घारसमेत बिक्री हुँदै आएको छ । खत्रीका अनुसार गत वर्ष मात्रै ७०० मौरीका घार थोकमा रु दुई हजार ८०० र खुद्रा रु तीन हजार ५०० सम्ममा बिक्री गरेको उनको भनाइ छ । मौरीपालन उद्योगमा उत्पादन गरेको प्राङ्गारिक मह प्रतिकेजी रु एक हजारमा बिक्री गर्दै आउनुभएका खत्रीको उद्योगमा ३०० मौरीका घार बिक्रीका लागि तयारी अवस्थामा छन् । स्थानीय काठको प्रयोग गर्दै बनाइएको मौरीको घर पाँचदेखि १० वर्ष टिकाउ हुने खत्रीको दाबी छ । उनले मौरीसहितको घारलाई भने रु नौ हजारमा बिक्री गर्दै आएका छन् । उत्पादन भएको मह बिक्रीका लागि बजार जानुपर्ने अवस्था नरहेकाले उपभोक्ता घरमै मह खरिद गर्न पुग्ने गरेका छन् । मौरीको घार पहिले जिल्ला कृषि विकास कार्यालयले खरिद गरेर कृषकलाई अनुदानमा वितरण गर्दै आएकामा अहिले स्थानीय तहले खरिद गर्दै आएको उनको भनाइ छ । बलेवा क्षेत्रमा उपयुक्त चरन क्षेत्र भएका कारण एकै घारबाट वर्षमा चारपटक मह निकाल्न सकिने उनको अनुभव छ । “चरन क्षेत्र उपयुक्त भएको स्थानमा असोज, कात्तिक, फागुन र जेठमा मह निकाल्न सकिन्छ” खत्रीले भने “गाउँको हावापानीमा हुर्केका मौरीबाट प्राङ्गारिक मह उत्पादन हुन्छ, यसलाई आयुर्वेदिक औषधिको रूपमा समेत प्रयोग गर्न सकिन्छ ।”
पैसा कमाउने घिन लाग्दो धन्दा, एनजीओको परिबन्धमा आमा पर्दा शिशुलाई मिल्काइयो
काठमाडाैं । साउन १२ गते साँझ ६ बजेतिर कपनस्थित आकाशेधाराको चौरमा एक शिशुलाई काटुनमा राखेर मिल्काएकाे अवस्थामा भेटियो भन्ने समाचार चौतर्फी फैलियो । आम सञ्चार माध्यममा समाचार सार्वजनिक भएसँगै जीवित शिशुलाई त्यसरी मिल्काउने कस्ती आमा होलिन् ? भन्ने प्रश्न मात्र गरेनन्, धेरैले ती शिशुकी आमालाई सरापे पनि । चौरमा केही बालबालिका खेल्न गएको समयमा भेटिए लगत्तै नजिकै रहेको केयर बाल गृहमा ती शिशुलाई हेर्ने र भेट्न जानेको पनि भिड लाग्यो । भिडिओमा बालिकाहरूले ‘हाम्रो घरमा लगम् न दिदी प्लिज। कस्तो क्युट छ । हामीलाई मन पर्याे । हाम्रो बहिनी बनाउने नि प्लिज,’ भनेको सुनिन्थ्यो । ती शब्द सुन्दा दया मात्र होइन ती बालबालिकाहरुले शिशुप्रति देखाएको सामिप्यताले भिडियो हेर्ने सबैका आँखा स्वभाविक रसाएकै हुनुपर्छ । त्यतिखेरै ती शिशुलाई सोही केयर बाल गृहकी संस्थापक पुष्पा अधिकारीले पालन पोषणको जिम्मेवारी लिएपछि उनलाई सहयोग गर्न देश विदेशबाट मनकारी मनहरु तछाडमछाड गरी ओहिरिए । त्यस लगत्तै सो घटनाको बारेमा प्रहरीले पनि अनुसन्धान थाल्यो । प्रहरीको अनुसन्धानबाट अहिले सो घटना फिल्मी स्टाइलमा मञ्चन भएको कुरा बाहिरिएको छ । अहिले यस भित्रको कहानी अलग्गै भएको तथ्यले सामाजिक सञ्जाल तताएको छ । काटुर्नमा भेटिएकी शिशु वैदेशिक रोजगारीबाट हालै सरकारको उद्दार उडानमार्फत नेपाल आएकी एक महिलाले जन्माएकी खुलासा भएकाे छ । यस्तो छ कहानी विश्वभर कोरोना महामारीको त्रास भएपछि नेपाल सरकारले पनि विभिन्न समयमा विदेशमा रहेका आफ्ना नागरिकहरुलाई उद्दार गरेर नेपाल ल्यायो । त्यही उद्दार उडान मार्फत नेपाल आएकी थिइन् ती महिला (शिशुकी आमा) । उनी परिवारलाई खबर नगरी काठमाडौंको कुनै संस्थामा आश्रय लिई बस्दै आएकी थिइन् । काठमाडौंमा बस्दै आएको समयमा ती महिलाले शिशुको जन्म दिइन् । उनलाई त्यही समयमा आर्थिक अभाव भयो । कसरी शिशुको पालन पोषण गर्ने ? कसरी उसलाई खाना दिने भन्ने बारेमा समस्या भयो । लकडाउनकै समयमा ठूलो आर्थिक समस्यामा परेपछि उनले के गर्ने कस्तो गर्ने भन्ने सोच गरिन् । त्यही बीचमा ती महिलाको भेट केयर बाल गृहकी संस्थापक पुष्पा अधिकारीसँग भयो । उनले आफ्ना सम्पूर्ण समस्या अधिकारी समक्ष राखिन् । उनकै मिलोमतोमा साउन १२ गते नाटक मञ्चन गरेर ती शिशुलाई काटुर्नमा राखेको खुलासा भएको छ । घटना उर्जागर भए लगत्तै केयर बालगृहका संस्थापक पुष्पा अधिकारी ती शिशुकी आमालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । बौद्ध प्रहरीका डीएसपी नविन कार्कीले अनुसन्धान जारी नै रहेकोले यसको बारेमा कुनै प्रतिक्रिया दिन मानेनन् । संस्थापक अधिकारीले भने आफुहरुले त्यो नाटक मञ्चन गरेको स्वीकार गरेकी छिन् । ‘शिशुकी आमाको एकदमै पैसाको बाध्यता, बाहिरबाट के कसरी आएको हो त्यो मलाई केही पनि थाहा छैन । यस्ता केसहरु धेरै आइरहन्छन् । मैले कसैलाई पनि स्वीकारेकाे थिइन । तर यो घटनामा एकदमै समस्या भएकोले यस्तो गर्न स्वीकार गरेकी हुँ’,- उनले भनिन् । ‘त्यहाँ अरु मानिसहरु पनि बसिरहेका थिए । उहाँले शिशु मेरो हातमा दिनु भयो, मैले त्यहाँ लगेर राखेको हुँ । म पनि लेडिज भएको कारणले मैले एउटा लेडिजलाई बचाउनको लागि यस्तो गरेकी हुँ । म यता पट्टी साइडमा बसिरहेकी थिएँ,’ उनले भनिन् । घटनाको उद्देश्य बेच्ने र पैसाको बार्गेनिङ नभएको उनको भनाई छ । यद्यपि अहिले काठमाडौंमा बस्दै आएकी ती महिलाको परिचय गोप्य राखिएको छ । प्रहरीका अनुसार ती महिला र शिशु प्रहरीको निगरानीमा छन् । प्रहरीले यस घटनाको बारेमा थप अनुसन्धान गरिरहेको बताएको छ ।
सुन तोलाको लाख पुग्न २ सयमात्र बाँकी, ९९ हजार ८ सयमा काराेवार
काठमाडाैं । सुन ताेलाकाे लाख पुग्न मात्र २ सय रुपैंया बाँकी रहेकाे छ । मंगलबार सुन ताेलाकाे २ सयले मात्र बढेर ताेलाकाे ९९ हजार ८ सय पुगेकाे हाे । आईतबार र साेमबार सुन प्रतितोला ९९ हजार ६ सयमा कारोबार भएको थियाे । यसअघि सुनको उच्च मूल्य साेमबार थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँ, तेजावी सुन प्रतितोला ९९ हजार ३ सय ६५ रुपैयाँ र चाँदी प्रतितोला एक हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
काेराेना नियन्त्रणमा असहयोग गर्ने ७७३ जनालाई कारवाही
चितवन । जिल्लाका विभिन्न स्थानमा सरकारले गरेको कोरोना नियन्त्रण अभियानमा असहयोग गर्ने ७७३ जना कारवाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आइतबार र सोमबार गरी उनीहरुलाई नियन्त्रणमा लिई जरिवाना गरिएको हो । जिल्लाका विभिन्न स्थानमा न्यूनतम सामाजिक भौतिक दूरी कायम नगरी सवारी साधन सञ्चालन गर्ने, सार्वजनिक कार्यमा सामाजिक भौतिक दूरी कायम नगर्ने र मास्क प्रयोग नगरी सार्वजनिक स्थानमा हिँडडुल गरेका उनीहरुलाई कारवाही गरिएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । उनीहरुलाई सङ्क्रमण रोग ऐन, २०२० बमोजिम कारवाही गरिएको उहाँले बताउनुभयो । जनही १ सय देखि ५ सयका दरले जरिवाना गरी उनीहरुलाई छाडिएको छ । कारवाहीबाट ८३ हजार ५०० सङ्कलन भएको थापाले जानकारी दिए ।
लकडाउनको बेलामा आयो ११ अर्ब ७२ करोडको चामल, कारण खोज्न अनुसन्धान थाल्यो भन्सारले
काठमाडौं । लकडाउनको बेलामा नेपालमा चामल आयात अनपेक्षित रुपमा बढेको छ । सामान्य अवस्थाको भन्दा पनि निकै बढी चामल आयात भएपछि भन्सार विभागले अनुसन्धान थालेको हो । विभागका अनुसार लकडाउनको अवधि (चैतदेखि असारसम्म) मा ११ अर्ब ७३ करोड रुपैयाँ बराबरको चामल आयात भएको छ । आर्थिक वर्ष २०७५/७६ मा चैतदेखि असारसम्ममा ९ अर्ब २१ करोड रुपैयाँको चामल आयात भएको थियो । लकडाउनको समयमा काठमाडौं उपत्यका जस्ता शहरी क्षेत्रका धेरै सर्वसाधारण गाउँगाउँ गएका थिए । गाउँ पुगेका सर्वसाधारणले चामलको साटो मकै, कोदो, फापर जस्ता अन्य अन्नको परिकार पनि बनाएर खाएको तथा आफ्नै गाउँको उत्पादन पनि उभोग गरेकोले आयात घट्नुपर्ने अनुमान सरकारी अधिकारीको छ । लकडाउनको अवधिमा चामलको आयात अस्वाभाविक देखिएकोले अध्ययन आवश्यक देखिएको भन्सार विभागका सुचना अधिकारी शिशिर घिमिरेले जानकारी दिए । सामान्य अवस्थाको भन्दा २ अर्ब रुपैयाँभन्दा बढीका चामल आयात भएकोले विभाग कारण खोज्न लागेको हो । ‘चालम आयातको तथ्यांक आफैमा शंकास्पद देखियो, लकडाउनको बेलामा किन यति धेरै चामल आयो भनेर अध्ययन आवश्यक देखिएको छ,’ सुचना अधिकारी घिमिरेले भने । भारतीय चामल नेपालमा डम्पिङ गरिएको हुन सक्ने शंका गर्दै विभागले अध्ययन थालेको हो । तर, उपभोक्ताले नै संचय बढाएकोले चामलको आयात बढी भएको हुन सक्ने व्यवसायीको भनाइ छ । ‘लकडाउन कति समयसम्म जान्छ, दैनिक उपभोग्य वस्तु पाइन्छ कि पाइदैन भन्ने अन्योल सर्वसाधारणमा थियो, त्यसैले सबैले १÷२ बोरा चामल बढी राख्दा पनि आयात धेरै भएको हुन सक्छ,’ एक व्यवसायीले भने । भन्सार विभाग भने औपचारिक च्यानलबाट मात्रै चामल आयात भएको धेरै देखिएको हुन सक्ने अनुमानमा पनि छ । ‘सामान्य अवस्थामा अनौपचारिक माध्यमबाट पनि चामल आयात हुन्थ्यो होला, लकडाउनको बेलामा नेपार र भारत दुबै देशका बजार बन्द भए, सर्वसाधारणले सीमा वारपार गर्न समस्या भयो, त्यसैले औपचारिक माध्यमबाट मात्रै आयात हुँदा बढी देखिएको पनि हुन सक्छ, यदि यस्तो हो भने हाम्रो अनौपचारिक व्यापारको आकार कत्रो रहेछ भन्ने जानकारी पनि पाउन सकिने अवस्था रहेकोले अध्ययनमा जुटेका छौं,’ विभागका एक अधिकारीले भने । आर्थिक वर्ष २०७५/७६ मा ३२ अर्ब ६० करोड रुपैयाँ बराबरको चामल आयात भएको थियो भने गत आर्थिक वर्षमा ३२ अर्ब ७२ करोड रुपैयाँ बराबरको चामल आयात भएको छ । वार्षिक रुपमा १२ करोड रुपैयाँको मात्रै आयात बढी देखिएको छ । सामान्य अवस्थामा चामलको आयात घटेपनि लकडाउन सुरु भएपछि बढेको तथ्यांक किन देखियो भनेर विभागले चासो देखाएको हो ।