विकासन्युज

एनएमबि बैंक बन्यो मादमे खोला जलविद्युतको मुख्य लगानीकर्ता, बैंकको मात्रै ३ अर्ब बढी लगानी

काठमाडाैं । एनएमबि बैंकले २४ मेघावाटको मादमे खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । कास्की जिल्लाको मादी गाउँपालिकामा निर्माण भईरहेको जलविद्युत परियोजनामा एनएमबि बैंक अगुवा बैंक रहेको छ । त्यस्तै, सह-वित्तीयकरणमा सहभागी अन्य बैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारी सञ्चय कोष, एनआईसी एशिया बैंक र प्रभु बैंक रहेका छन् । २४ मेघावाट क्षमता भएको मादमे खोला जलविद्युत आयोजनाको कुल लागत ४ अर्ब ४८ कराेड रूपैयाँ रहेको छ । जसमध्ये बैंकहरुको लगानी कुल ३ अर्ब ३२ कराेड रूपैयाँको हुनेछ । यो आयोजनासँगै एनएमबि बैंकले कुल ४२ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।

अब चेक तथा एटीएम बिनै सांग्रिला डेभलपमेन्ट बैंकबाट एक लाखसम्म झिक्न सकिने

काठमाडौं । अब चेक तथा एटीएम बिना सांग्रिला डेभलपमेन्ट बैंकबाट एक लाख रुपैयाँसम्म झिक्न सकिने भएको छ । बैंकले ग्राहकको सेवा र सुबिधालाई मध्यनजर गर्दै क्युआर कोड स्क्यान गरी सो मात्राको नगद निकाल्न मिल्ने योजना ल्याएको हो । यससँगै उनीहरुले आफुले चाहेको रकम आफ्नो आवश्यकता अनुुुसार क्युआर कोड स्क्यान गरी भुक्तानी लिन सक्नेछन् । हाल सांग्रिला डेभलपमेन्ट बैंकको बालुवाटार शाखा कार्यालयबाट उक्त सेवा लिन सकिनेछ । चेक र एटीएमको विकल्पको रुपमा आएको यो सुबिधा उपयोगी हुने विश्वास बैंकले लिएको छ ।  

लगानी बोर्डकाे सीईओमा सुशील भट्ट नियुक्त, काे हुन् उनी ?

काठमाडाैं । योजना आयोगका सदस्य सुशील भट्ट लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका छन् । आज बसेकाे मन्त्रिपरिषदको बैठकले उनलाई सीईओमा नियुक्त गरेकाे हाे । बोर्डको सीईओका लागि अर्थमन्त्री डा‍. युवराज खतिवडाको संयोजकत्वमा बनेको समितिले मन्त्रिपरिषद्समक्ष तीन जनाको नाम सिफारिस गरेको थियो। तीन जनामा डा. सरोज कोइराला, रामकृष्ण खतिवडा र सुशील भट्ट थिए। सीईओका लागि खुलाइएको आवेदनमा १२ जना इच्छुक देखिएका थिए। डा. सरोज कोइराला, रामकृष्ण खतिवडा, सुशील भट्ट, सुशील ज्ञवाली, कृष्णप्रसाद आचार्य, दीपकराज जोशी, सुमन शर्मा, चण्डिका भट्ट, शेरजंग कार्की, रमेश चन्द्र पौडेल, लक्ष्मीविलास कोइराला र आशिष गजुरेलले सीईओका लागि दरखास्त दिएका थिए। १२ जनामध्ये ३ जनाको नाम समितिले मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो। बोर्डका तत्कालीन सीईओ महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नर बनेपछि रिक्त रहेको पदमा भट्ट नियुक्त भएका हुन्। उनी सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लाका हुन् । राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका भट्टले इन्जिनियरिङ, व्यवस्थापन तथा योजनाको क्षेत्रमा शिक्षा तथा अनुभव बटुलेका छन् । उनीसँग बैंकिङ र जलविद्युत क्षेत्रको समेत अनुभव छ । याेजना आयोगमा रहँदा उनले याेजना बैंककाे अवधारणा ल्याएर कार्यान्वयनमा लगिरहेका थिए । उनी नेपाल व्यवस्थापन संघकाे निवर्तमान अध्यक्ष पनि हुन् । तत्कालिन प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंककाे गभर्नर भएपछि उक्त पद खाली थियाे । प्रधानमन्त्री अध्यक्ष र अर्थमन्त्री उपाध्यक्ष रहने लगानी बाेर्डले ६ अर्बभन्दा पुँजी हुने परियाेजना तथा कम्पनीलाइ लाइसेन्स दिने, यस्ता परियाेजनाहरूकाे विकास गर्ने, प्रवर्द्धन गर्ने काम गर्छ ।    

कनेक्ट आईपीएसबाट सञ्चय कोषको सापटी तिर्न तोकियो सीमा, कतिसम्म पाइन्छ ?

काठमाडौं । कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ताले लिएका सबै कर्जा तथा सापटीको साँवा तथा ब्याज कनेक्ट आईपीएस मार्फत जम्मा गर्न सक्ने व्यवस्थाको शुरुवात गरेको छ । कोषको केन्द्रीय कार्यालय पुल्चोकमा आज(साउन १९ गते) आयोजित कार्यक्रममा कोषका प्रशासक तुलसी प्रसाद गौतमले उक्त कार्यक्रमको शुरुवात गरेका हुन् । सञ्चयकर्ताहरुले आफ्नो खाता रहेको जुनसुकै बैकहरुबाट कनेक्ट आईपीएस मार्फत विशेष सापटी तथा अन्य कर्जाको साँवा तथा ब्याज रकम जम्मा गर्न सक्नेछन् ।  कोषले अनलाईन प्रणाली मार्फत सापटी लिन र तिर्न सक्ने व्यवस्था गरेसँगै कोषका सञ्चयकर्ताले प्रविधि मार्फत कारोबार गर्न सक्ने अवस्था सृजना भएको छ । कोषले शुरु गरेको अनलाईन सापटी फिर्ता भुक्तानी प्रणालीमा सञ्चयकर्ताले बैंकमा उपस्थित भएर वा आफु रहेकै स्थानबाट कारोबार गर्न सक्ने व्यवस्था मिलाइएको छ । यसका लागि सञ्चयकर्ताले आफ्नो बैंक खातामा कनेक्ट आईपीएस सुविधा लिएको हुनुपर्ने र कोषको केवाईसी गरेको हुनुपर्नेछ । हाललाई ५ हजार रुपैयादेखि १० लाख रुपैयाँसम्म सापटी तिर्न सक्ने गरी कारोबारको सीमा कायम गरिएको छ । यसले विश्वमा फैलिरहेको कोभिड-१९ को संक्रमणको महामारीको विषंम परिस्थितिमा समेत कोषको सेवा प्रवाह सहज हुने विश्वास लिइएको छ ।

नेपाल बैंकले ल्यायो सहुलियत कर्जा योजना, कुनकाे व्याजदर कति ?

काठमाडाैं । नेपालको पहिलो बैंक नेपाल बैंकले बजारको माग र चाहना बमोजिम नेपालको बैंकिङ्ग बजारमा नयाँ कर्जा योजनाहरु ल्याएकाे छ । यस याेजना अन्तर्गत बैंकले घर कर्जा, नयाँ लघु उद्यम तथा सम्वृद्ध व्यवसाय कर्जा र घडेरी कर्जा सस्ताे व्याजदरमा दिने भएकाे हाे । बैंकले सबैभन्दा कम ब्याजदर हुनेगरी पाँच वर्ष अवधिकालागी ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा प्रदान गर्ने भएको छ । घर निर्माण, घर खरिद तथा तला थप गर्न यस प्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैंकमा रहेको घरकर्जा समेत स्वाप गर्ने सुविधा रहेको छ । लघु उद्यम कर्जा तथा सम्वृद्ध व्यवसाय कर्जाको वार्षिक ब्याजदर ८.९९ प्रतिशत रहेको र सो ब्याजदर पनि उक्त प्रकृतिका कर्जाहरुमा बैंकिङ्ग क्षेत्रकै न्युन ब्याजदर हो । यस प्रकारका कर्जाहरु प्राप्त गर्नका लागी सम्बन्धित निकायमा दर्ता भई नियमित रुपमा सञ्चालन भएका वा नयाँ सञ्चालन हुने क्रममा रहेका उद्योग वा व्यापार/व्यवसाय सञ्चालन तथा विस्तारको निमित्त २५ लाख रूपैयाँदेखि ९९ लाख रूपैयाँसम्मको लागी लघु उद्यम कर्जा र १ करोड रूपैयाँदेखि ३ करोड रूपैयाँसम्मको चालु तथा स्थिर पूँजी व्यवस्थापनका लागी सम्वृद्ध व्यवसाय कर्जा उपलब्ध गराउन सकिने छ । दुबै प्रकारका कर्जाहरु अन्तर्गत व्यवसायलाई आवश्यक पर्ने संरचना निर्माण, यन्त्र वा उपकरण, फर्निचर तथा फिक्स्चर्स खरिद गर्न स्थिर पूँजीकर्जा र चालु सम्पत्ती व्यवस्थापनको लागि चालु पूँजीकर्जा प्रदान गर्न सकिनेछ । लघु उद्यम कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेको ७ कार्य दिन भित्र निर्णय गरी प्रदान गर्न सकिने व्यवस्था रहेको छ । घडेरी खरिद गरी घर निर्माण गर्ने उपभोक्तालाई लक्षित गरी बैंकले घडेरी कर्जा पनि ल्याएको छ, जसकाे वार्षिक ब्याजदर ९.९९ प्रतिशत रहेको छ । घडेरी जग्गा खरिद गर्न र अन्य बैंक तथा वित्तिय संस्थाबाट लगानी भएको सोही प्रकारको कर्जा स्वाप गरी ग्राहकको आवसिय आवश्यकता पूरागर्न यो कर्जाको सुरुवात गरिएको हो । यस कर्जा अन्तर्गत खरिद गरिने घडेरी जग्गा कम्तिमा साढे दुई आना वा साढे चार धुरदेखि बढीमा एक रोपनी वा डेढ कट्ठासम्म क्षेत्रफल भएको हुनुपर्नेछ । यो कर्जाको अवधि ५ वर्षदेखि २० वर्षसम्म कायम गरिएको छ । नेपालकै फ्ल्यागशिप बैंकको रुपमा रहेको यस बैंकले १८६ वटा शाखाहरु, १२५ वटा एटिएम तथा २९ वटा एक्स्टेन्सन काउण्टर मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ र चालु आ.व. भित्र सबै जिल्लाहरुमा शाखा सञ्जाल पुर्याई कुल शाखा संख्या २१४ पुर्याउने लक्ष्यका साथ कार्यहरु अगाडी बढाईरहेको छ ।

एनआरएन इन्फ्राइन्स्टक्चरको आईपीओमा ३ गुणा बढी आवेदन, कतिले भरे ?

काठमाडौं । एनआरएन इन्फ्राइन्स्टक्चर एण्ड डेभलपमेन्टको साधारण सेयर(आईपीओ)मा ३.२७ गुणा बढी आवेदन परेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार साेमबार साँझ ५ बजेसम्ममा २ लाख ७४ हजार ५ सय ४१ जना आवेदकले एक कराेड ३ लाख ४८ हजार ६ सय ५० कित्ता सेयरको लागि आवेदन दिएका छन् । संस्थाले कूल ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको एक सय अंकित दरका ३३ लाख ९८ हजार ४६ कित्ता सेयर बिक्रीमा राखेको हो । जसमध्ये ६७ हजार ९ सय ६१ कित्ता अर्थात २ प्रतिशत सेयर कर्मचारीहरुको लागि सुरक्षित गरिएको र १ लाख ६९ हजार ९ सय २ कित्ता अर्थात ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको छ । र, बाँकी रहने ३१ लाख ६० हजार १ सय ८३ कित्ता साधारण सेयरको सार्वजनिक निष्काशन गरेकाे हाे । इच्छुक सर्वसाधारणले साउन २१ गते बैंकिङ समयसम्ममा न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्मकाे लागि आवेदन दिन पाउने छन् । अन्य समूह अन्तर्गतको रहेको यस कम्पनीको आईपीओ अन्य क्षेत्रमा नितान्त पहिलो प्राथमिक निष्काशन रहेको कम्पनीले जनाएको छ । साधारण सेयरको सार्वजनिक निष्काशन गर्नका लागि केयर रेटिङ्गस् नेपालले ‘केयर-एनपी आईपीओ ग्रेड ४’ प्रमाणपत्र प्रदान गरेको छ । जसले कम्पनीको आधारहरु औषत भन्दा तल रहको बुझाउँछ । सम्बन्धित समाचारः अपडेटः एनआरएन इन्फ्राइन्स्टक्चरको आईपीओमा कति पर्यो आवेदन ?  

प्रधानमन्त्रीसँग गौतम नजिकिँदा रक्षामन्त्री र अर्थमन्त्रीको पद धरापमा

काठमाडौं । सत्तारुढ नेकपाभित्रको शक्ति संघर्षले नयाँ मोड लिएको छ । सचिवालय र स्थायी समितिमा अल्पमतमा परेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अहिले सचिवालयमा बहुमतमा पुगेका छन् । पार्टी उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्रीलाई साथ दिने संकेत गरेसँगै प्रधानमन्त्री ओली सचिवालयमा बहुमतमा पुगेका हुन् । उपाध्यक्ष गौतमले आफूलाई अनुकुल हुने प्रस्ताव सार्वजनिक गरेकै दिन प्रधानमन्त्री ओली खाना खानेगरी श्रीमतीसहित गौतम निवास भैसेपाटी पुगेका थिए । प्रधानमन्त्री ओलीले गौतम निवासमा खिचाएको सामुहिक तस्वीर पनि सार्वजनिक भएको थियो । नेकपाको ९ सदस्यीय सचिवालयमा प्रधानमन्त्री ओलीको पक्षमा गृहमन्त्री रामबहादुर थापा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल मात्रै थिए । पार्टी उपाध्यक्ष गौतम पनि ओली पक्षमा आएपछि उनको पक्षमा बहुमत जुटेको हो । सचिवालयमा अझै पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ओलीको विपक्षमा रहेका बताइएको छ । सचिवालयमा अल्पमतमा परेका प्रधानमन्त्री ओली स्थायी समितिमा पनि अल्पमतमा रहेका अर्काे पक्षको दाबी छ । यद्यपि मत विभाजन भने भएको छैन । तर, ओलीका पक्षमा रहेका स्थायी समिति सदस्यको संख्या कम भएपछि स्थायी समिति बैठक लामो समयदेखि स्थगित हुँदै आएको छ । आफू अल्पमतमा पर्ने र बहुमतले आफ्नो विरुद्ध निर्णय गर्न सक्ने डरले प्रधानमन्त्री ओलीले स्थायी समिति बैठक स्थगित गरेको आरोप उनीमाथि लागेको छ । उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीलाई साथ दिने संकेत गरेपछि नेकपाभित्रको समिकरण बदलिएको छ । पछिल्ला केही दिनयता प्रधानमन्त्री ओलीमा ‘कन्फिडेन्ट’ बढेको उनका गतिविधिले पुष्टी गरेका छन् । प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पदबाट राजीनामा दिनुपर्छ भन्ने वरिष्ठ नेता माधबकुमार नेपाल र झलनाथ खनाल तथा पार्टीका नेताहरुलाई भारत परस्त भएको सार्वजनिक अभियोग लगाएको भन्दै दुबै पदबाट राजीनामा गर्नुपर्छ भन्ने कार्यकारी अध्यक्ष दाहाल पछिल्ला दिनहरुमा केही रक्षात्मक देखिएका उनीहरुका गतिविधिले पुष्टी गर्छ । तर, प्रधानमन्त्री ओलीसँग उपाध्यक्ष गौतमको निकटताले भने अहिलेको मन्त्रिपरिषदका २ जना सदस्यको पद धरापमा परेको विश्लेषण हुन थालेको छ । गौतमलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभामा मनोनित गर्न सिफारिस गर्ने निर्णय नेकपा सचिवालयले गत फागुनमा नै गरेको थियो । यद्यपि प्रधानमन्त्री ओलीले गौतमको नाम सिफारिस भने गरेका छैनन् । राष्ट्रपतिले राष्ट्रियसभामा मनोनित गर्ने एक जना सदस्यको पद खाली छ । सो पदमा अर्थमन्त्री डा. युवराज खतिवडालाई यसअघि नियुक्ति गरिएको भएपनि गत फागुन तेस्रो साता नै उनको कार्यकाल पुरा भएको थियो । नेकपा सचिवालयले गौतमलाई राष्ट्रियसभामा लाने निर्णय गरेपनि प्रधानमन्त्री ओलीले सो निर्णय कार्यान्वयन नगरी डा. खतिवडाको सांसद पद नरहे पनि पुन अर्थमन्त्रीमा नियुक्त गरेका थिए । नेपालको संविधानले गैरसांसदलाई पनि ६ महिना मन्त्री बनाउन पाइने सुविधा दिएको छ । प्रधानमन्त्री ओलीले सोही सुविधा प्रयोग गरी डा. खतिवडालाई अर्थमन्त्री बनाएका हुन् । अर्थमन्त्रीको रुपमा समकक्षी, स्वतन्त्र विश्लेषक वा सर्वसाधारणलाई समेत ‘ठिकै काम गरेका छन्’ भन्ने महसुस गराउन डा. खतिवडालाई प्रधानमन्त्रीले चाहेर पनि अब भदौ तेस्रो साताभन्दा बढी समय अर्थमन्त्रीको रुपमा राख्न सक्ने संबैधानिक ठाउँ छैन । उनलाई अर्थमन्त्रीमा निरन्तरता दिन भदौ तेस्रो सातासम्ममा राष्ट्रियसभा सदस्य बनाउनै पर्ने संबैधानिक वाध्यता छ । तर, प्रधानमन्त्री ओली र पार्टी उपाध्यक्ष गौतमको निकटताको कारण के हो भन्ने बारेमा दुबै पक्षले सार्वजनिक रुपमा मुख खोलेका छैनन् । प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने र राष्ट्रियसभा सदस्य भएपछि आफ्नो खास सहयोगीको रुपमा मन्त्रिपरिषदमा सामेल गराउन लागेका स्रोतको दाबी छ । ‘उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने र वरिष्ठ उपप्रधानमन्त्री सहितको शक्तिशाली मन्त्रालय दिने सहमती भएको छ, केही दिनभित्रमा यो सहमती कार्यान्वयन हुन्छ होला,’ गौतम निकट स्रोतले भन्यो । स्रोतको दाबी अनुसार गौतमलाई राष्ट्रियसभा सदस्य बनाएर वरिष्ठ उपप्रधानमन्त्रीको जिम्मेवारी दिइएमा रक्षामन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री डा. खतिवडाको पद धरापमा पर्नेछ । पोखरेल अहिलेको मन्त्रिपरिषदका सबैभन्दा सिनियर मन्त्री हुन् । प्रधानमन्त्री विदेश गएको बेलामा पोखरेललाई नै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने गरिएको छ । गौतमलाई वरिष्ठ उपप्रधानमन्त्री सहित मन्त्रिपरिषदमा सामेल गरिएमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पोखरेलले पाउने छैनन् । यता अर्थमन्त्री डा. खतिवडालाई भदौ तेस्रो सातासम्ममा राष्ट्रियसभा सदस्य नबनाए उनले मन्त्रीको जिम्मेवारीबाट हात धुनुपर्नेछ ।

कर्मचारी सञ्चय कोषको ऋण अब अनलाईनबाटै तिर्न सकिने, सिधै तीन बैंकमा जम्मा हुने

काठमाडौं । कर्मचारी सञ्चय कोषबाट लिएको कर्जा अब अनलाईनबाटै भुक्तानी गर्न सकिने भएको छ । कोषले आफुले प्रदान गर्ने गरेको सरल चक्र कर्जा, शैक्षिक सापटी, घर सापटी, घर मर्मत सापटी तथा विशेष सापटी लगायतका कर्जाको भुक्तानी अनलाईन माध्यम ‘कनेक्ट आईपीएस ई पेमेन्ट’ प्रणाली मार्फत गर्ने व्यवस्था मिलाएकाे हाे । यसरी गरिएको कर्जा भुक्तानीको संकलन सोझै हिमालयन बैंक, माछापुच्छ्रे बैंक तथा एनआईसी एशिया बैंकमा रहेको कोषको तोकिएको खातामा हुनेछ । यस डिजिटल माध्यमबाट कर्जा भुक्तानीको व्यवस्थासँगै सञ्चय कोषका विभिन्न कर्जाहरुको भुक्तानी अनलाईन माध्यम मार्फत कनेक्ट आईपीएसबाट सोझै यस प्रणालीमा आबद्ध ५५ वटा बैंक वित्तिय संस्थाहरुका खाताबाट गर्न सकिने छ । यससँगै अबदेखि ग्राहकले कर्जा भुक्तानीका निम्ती कोषको कार्यालय वा बैंक काउन्टरसम्म पुग्नुपर्ने बाध्यता पनि रहने छैन । यसका निम्ति ऋणीले कनेक्ट आईपीएस ई पेमेन्ट प्रणालीमा आफूलाई आबद्ध गराई सदस्य बैंकमा रहेको खातालाई लिन्क तथा भेरिफाई गराई सजिलै भुक्तानी गर्न सक्नेछन् । ऋणीले www.connectips.com मा गई कर्मचारी सञ्चय कोष भुक्तानीलाई छनोट गरी मागिएको आवश्यक विवरण भरी सोझै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् । ऋणीले भुक्तानी गर्नुपर्ने कर्जा छनोट गरी मोबाईल/युसीआईएन नम्बर तथा ऋणीको नाम लगायताका मागिएका आवश्यक विवरण भरी भुक्तानी गर्ने रकम दाखिला गरी सोझै बैंक खाताबाट भुक्तानी गर्न सक्दछन् भने कोषको हिमालयन बैंक, माछापुच्छ्रे बैंक तथा एनआईसी एसिया बैंकमा रहेका तोकिएको खातामा सो रकम सोझै जम्मा हुनेछ । यससँगै कोषको आफ्नो प्रणालीमा पनि भुक्तानी सफल भएको जानकारी प्राप्त गर्न सकिनेछ । कर्मचारी सञ्चय कोष तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच गत वर्ष श्रावणमा नेशनल पेमेन्ट्स इन्टरफेस(एनपीआई) को प्रयोग गरी बैंक खातामा आधारित डिजिटल भुक्तानी कारोबारहरु गर्ने सम्झौता भएको थियो । सो सम्झौता अनुरुप गत वर्ष श्रावणदेखि नै कोषले प्रदान गर्ने धितो कर्जा लगयातका भुक्तानी सोझै लाभग्राहीको बैंक खातामा जम्मा गर्दै आएको छ जसमा असार मसान्त २०७७ सम्म एनपीआई मार्फत ५ अर्ब ३६ करोड रुपैयाँ बराबरको ३२ हजार भन्दा बढी भुक्तानीहरु भैसकेका छन् । यससँगै अनलाईनबाट कर्जा भुक्तानीको सुरुवात कोषको डिजिटाइजेसन तर्फको अर्को कोषेढुङ्गाको रुपमा लिइएको छ भने यसका साथै कोषले विभिन्न संस्थाहरुबाट कोषमा हुने कर्मचारीहरुको योगदानमा आधारित मासिक भुक्तानी लगायतका संकलन पनि निकट भविष्यमा अनलाईन मार्फत गर्ने योजना रहेको जनाएको छ । सम्बन्धित समाचारः कर्मचारी सञ्चय कोषका ऋणीले माछापुच्छ्रे बैंकबाट ऋण तिर्न सक्ने कर्मचारी सञ्चय कोषका ऋणीले अब घरबाटै किस्ता तिर्न सक्ने कर्मचारी संचय कोषका ऋणीले हिमालयन बैंकबाट ऋण तिर्न सक्ने