३ लाख बढीले भरे एनआरएन इन्फ्राइन्स्टक्चरकाे आईपीओ
काठमाडौं । एनआरएन इन्फ्राइन्स्टक्चर एण्ड डेभलपमेन्टको साधारण सेयर(आईपीओ)मा ३ लाख एक हजार ४ सय आवेदकले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार मंगलबार बिहान १० बजेसम्ममा उक्त आवेदकले एक कराेड १० लाख ७० हजार ५ सय ६० कित्ता सेयरकाे लागि आवेदन दिएका हुन् । जुन कम्पनीले माग गरेकाे भन्दा साढे ३ गुणा बढी हाे । संस्थाले कूल ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको एक सय अंकित दरका ३३ लाख ९८ हजार ४६ कित्ता सेयर बिक्रीमा राखेको हो । जसमध्ये ६७ हजार ९ सय ६१ कित्ता अर्थात २ प्रतिशत सेयर कर्मचारीहरुको लागि सुरक्षित गरिएको र १ लाख ६९ हजार ९ सय २ कित्ता अर्थात ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको छ । र, बाँकी रहने ३१ लाख ६० हजार १ सय ८३ कित्ता साधारण सेयरको सार्वजनिक निष्काशन गरेकाे हाे । इच्छुक सर्वसाधारणले साउन २१ गते बैंकिङ समयसम्ममा न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्मकाे लागि आवेदन दिन पाउने छन् । अन्य समूह अन्तर्गतको रहेको यस कम्पनीको आईपीओ अन्य क्षेत्रमा नितान्त पहिलो प्राथमिक निष्काशन रहेको कम्पनीले जनाएको छ । साधारण सेयरको सार्वजनिक निष्काशन गर्नका लागि केयर रेटिङ्गस् नेपालले ‘केयर-एनपी आईपीओ ग्रेड ४’ प्रमाणपत्र प्रदान गरेको छ । जसले कम्पनीको आधारहरु औषत भन्दा तल रहको बुझाउँछ । सम्बन्धित समाचारः एनआरएन इन्फ्राइन्स्टक्चरको आईपीओमा ३ गुणा बढी आवेदन, कतिले भरे ?
चितवनमा बैठक तथा भेला नगर्न स्थानीय प्रशासनको आग्रह
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै जिल्लाभित्र कुनै पनि भेला तथा बैठक सञ्चालन नगर्न निर्देशन दिएको छ । जिल्लाका केही सहकारीले साधारणसभा, विद्यालयले अभिभावक भेला तथा अन्य सङ्घसंस्थाले भेला तथा बैठक सञ्चालन गरेको जानकारी आएको भन्दै प्रशासनले यस्तो निर्देशन दिएको हो । भेला तथा बैठक सञ्चालन गर्दा कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च हुने भएकाले त्यस्ता प्रकारको कुनै पनि गतिविधि नगर्न/नगराउन प्रशासनले अनुरोध गरेको छ । प्रशासनको निर्देशन अवज्ञा गरी यस्ता कार्यलाई सञ्चालन गरेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० अनुसार कारवाही गरिने जनाएको छ । सूचनामा जिल्लाका सातवटै स्थानीय तह, शिक्षा विकास तथा समन्वय एकाइ, गैरसरकारी संस्था महासङ्घ चितवन र जिल्ला सहकारी सङ्घलाई आवश्यक समन्वय र सहजीकरण गर्न आग्रह पनि गरिएको छ ।
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सेनेन्द्र राज उप्रेती नियुक्त
काठमाडौ । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सेनेन्द्र राज उप्रेती नियुक्त भएका छन् । उनलाई साेमबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो । उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वसचिव समेत हुन् । उनकाे कार्यकाल ४ वर्षकाे हुन्छ ।
जनकपुरधाम उपमहानगरपालिकामा निषेधाज्ञा
जनकपुरधाम । गएराति १२ बजेदेखि एक साताका लागि जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार केरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा जारी गरिएको हो । पूर्वमा कपिलेश्वर बसपार्क, पश्चिममा कुर्था र बसबिट्टी जाने बाटो ( दूधमति पुल) उत्तरमा क्षीरेश्वर नगरपालिकाको जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने औरही खोलाको पुल र दक्षिणमा बनौली मोड, बसहिया सडकमा पर्ने सोनामति मन्दिर एवं प्रदेशसभा जाने मोडको जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । सो अवधिभर (साउन २५ राति १२ बजेसम्म) अतिआवश्यक सेवाबाहेक सम्पूर्ण पसल र उद्योग सेवा बन्द गरिएको छ ।
सिटिजन्स बैंकको ११० औं शाखा मुगुको गमगढीमा
काठमाडौं । सिटिजन्स बैंकले शाखा विस्तार गर्ने क्रममा मंगलबारबाट गमगढी शाखा संचालनमा ल्याएको छ । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले मुगु जिल्लाको गमगढी शाखा संचालनमा ल्याएको हो । नेपालीहरु माझ आफ्नो उपस्थितिलाई दरो बनाउन तथा आम नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहुँच प्रदान गर्ने उद्देश्यका साथ बैंकले उक्त शाखा विस्तार गरेको बैंकले जनाएकाे छ । उक्त शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य अाफुहरुले राखेको बैंकले जनाएकाे छ ।
आठ दिनपछि अवरुद्ध नारायणगढ–सिमलढाप सडक सञ्चालन
मुग्लिन । अविरल वर्षासँगै खोलामा आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको सडक आठ दिनको प्रयासपछि सञ्चालनमा आएको छ । चितवनको नारायणगढ–सिमलढाप सडकअन्तर्गत इच्छाकामना–७ स्थित हरिपुरखोलाको मोटरेबल पुल बगाएपछि साउन १२ गते रातिदेखि सडक अवरुद्ध बनेको थियो । सडक अवरुद्ध भएपछि उक्त खोलामा डाइभर्सन निर्माण गरी सोमबारदेखि सडक सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिए । तत्काल काम शुरु गरे पनि आवश्यक सामान बेलैमा उपलब्ध नहुँदा र बाढी निरन्तर आइरहँदा सडक सञ्चालन गर्न ढिलाइ भएको उनको भनाइ छ । अध्यक्ष गुरुङले भने, “बाढीले पुल बगाउनेबित्तिकै हामीले सडक निर्माण शुरु गरेका हौँ, एक/दुई दिनमा सक्ने लक्ष्यका साथ काम गरेका थियाैँ तर आवश्यक सामग्री समयमा उपलब्ध भएन, बाढी पनि पनि निरन्तर आइरह्यो, आठ दिनमा सडक सञ्चालन गर्न सफल भएका छौँ ।” नागरिकको दुःखलाई आत्मसाथ गर्दै तत्कालका लागि अस्थायी बाटो निर्माण गरिएको र छिट्टै उक्त स्थानमा नयाँ पक्की मोटरेबल पुल निर्माण गर्ने पनि अध्यक्ष गुरुङले प्रतिबद्धता व्यक्त गरे । बाढीले पुल बगाउँदा इच्छाकामना–७ स्थित सिमलढाप, गर्दास, खेतबारी, स्याङ्दीलगायतका स्थानका करिब एक हजार ५०० घरधुरीका नागरिकलाई सदरमुकाम भरतपुर र गाउँपालिकाको कार्यालय कुरिनटार आवतजावतका लागि समस्या भएको थियो । पुल बगाएकै कारण बिरामी हँुदासमेत अस्पताल जानसक्ने अवस्था नभएको वडा नं ७ का वडाध्यक्ष बमबहादुर रानाले बताृए । उनले भने, “गाउँपालिका कार्यालयदेखि सदरमुकाम भरतपुर र अस्पताल जानका लागि स्थानीयवासीलाई समस्या परेको थियो, तत्कालका लागि अस्थायीरूपमै भए पनि चाँडोभन्दा चाँडो नागरिकको समस्या समाधान गरेका छौँ ।” अब नयाँ पक्की पुल निर्माणका लागि चाँडै पहल गरिने पनि उनले बताए । यस्तै उक्त स्थानमा अस्थायी बाटो निर्माणका लागि करिब १३ लाख खर्च भएको गाउँपालिकाका प्राविधिक भरत गुरुङले जानकारी दिए । नवनिर्मित उक्त बाटोबाट छ चक्केसम्मका गाडी वारपार गर्न सकिने गरी निर्माण गरिएको उनले बताए । अस्थायी बाटो निर्माण भएसँगै इच्छाकामना–७ का नागरिकलाई आवतजावतमा सहज भएको छ । उक्त सडक भएर दैनिक ३०० भन्दा बढी मोटरसाइकल र १०० भन्दा बढी साना–ठूला सवारी साधन चल्ने गर्छन् ।
मेची अस्पतालमा कोभिड–१९ को उपचार शुरु
झापा । मेची अस्पताल भद्रपुरमा कोभिड–१९ को नमूना परीक्षणसँगै सङ्क्रमितको उपचार शुरु गरिएको छ । प्रदेश नं १ सरकारको सहयोगमा अस्पतालमा २५ श्ययाको आइसोलेसन र पिसीआर प्रयोगशाला स्थापना भइसकेको छ । प्रदेशले दुईवटा भेन्टिलेटरसमेत उपलब्ध गराएको छ । अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले सोमबारदेखि सङ्क्रमितको उपचार र पिसीआर प्रयोगशालाको नमूना परीक्षण भइरहेको बताए । अस्पताल विकास समितिलाई प्रदेश सरकारले दुवै काम थाल्न निर्देशन दिएको थियो । प्रयोगशालामा भइरहेको कोभिड–१९ को परीक्षणका नमूनालाई हाल विराटनगरस्थित प्रदेश प्रयोगशालामा पुनः परीक्षण गरिने र बुधबारदेखि नियमित परीक्षण थालिने अस्पतालका अध्यक्ष पोर्तेलले बताए । अस्पतालको आइसोलेसनमा यसअघि कोभिड–१९ का सङ्क्रमितलाई राख्ने गरिएको थिएन तर प्रदेश सरकारले आवश्यक सहयोग र सुविधा दिने भएपछि सङ्क्रमितको उपचारसमेत गर्न थालिएको हो । सोमबार विर्तामोड र अर्जुनधारा नगरपालिकाका पाँच सङ्क्रमितलाई मेची अस्पतालकै आइसोलेसनमा भर्ना गरेर उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईँले जानकारी दिए । प्रदेशसभा सदस्य वसन्त बानियाँले मेची अस्पतालमा कोभिड सङ्क्रमितको उपचार हुनु र पिसीआर प्रयोगशलासमेत सञ्चालनमा आउनु झापा मात्र नभएर इलाम, पाँचथर र ताप्लेजुङवासीका लागि समेत खुशीको विषय भएको बताए । रासस
सप्तरीमा आजदेखि निषेधाज्ञा जारी
काठमाडाैं । समुदाय स्तरमा कोरोनाको सङ्क्रमण बढेको पाइएपछि सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले आजबाट निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले आजबाट लागु हुने गरी साउन २६ गतेसम्म का लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे हाे । सप्तरीको सदरमुकाम रहेको राजविराज नगरपालिका क्षेत्रमा यसअघिबाटै निषेधाज्ञा जारी थियो । सप्तरी जिल्लाभरिमा हालसम्म ५ सय ३१ जनामा कोरोना सङ्क्रमण देखिएकाे छ ।