विकासन्युज

काठमाडौं विश्वविद्यालय १५ दिनका लागि बन्द

बनेपा । कोभिड –१९ को सङ्क्रमण बढ्दै गएका अवस्थामा पूर्वसावधानी अपनाउन धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयले आजदेखि १५ दिनका लागि बिदा दिएको छ । विश्वविद्यालयका रजिष्ट्रार प्रा डा सुबोध शर्माले सोमबार सूचना जारी गर्दै कोभिड–१९ को सङ्क्रमण बढ्दै गएका कारण काठमाडौं उपत्यकालगायत काभ्रेपलाञ्चोक जिल्लाका धुलिखेल र बनेपा नगरपालिका क्षेत्रमा पनि सङ्क्रमण बढ्ने सम्भावना दृष्टिगत गरी पूर्वसावधानीस्वरुप आजदेखि काठमाडौं विश्वविद्यालय मातहतका स्कूल (अत्यावश्यक र स्कूल अफ मेडिकल साइन्सेजबाहेक) सेवा १५ दिनसम्मका लागि स्थगन गरिएको जनाएका छन् । विश्वविद्यालय स्थगन भए पनि अनलाइन विधिबाट हाल जारी पठनपाठन भने सञ्चालन हुने जनाइएको छ ।

आज सुनकाे मूल्य घट्याे, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । मंगलबार सुनको मूल्यमा ८ सयले गिरावट आएकाे छ । मंगलबार सुनको मूल्य तोलामा ८ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रति तोला १ लाख १ हजार ६ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रति तोला १ लाख १ हजार १ सयमा कारोबार भइरहेको छ । त्यस्तै मंगलबार चाँदीको मुल्य भने बढेको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर १ हजार ४ सय ३५ मा कारोबार भइरहेको छ । सोमबार चाँदीको मुल्य १ हजार ३ सय ९५ रुपैयाँमा काराेबार भएकाे थियो ।

लिवर्टी ईनजीले भदौ ३ गतेदेखि आईपीओ जारी गर्दै, कति दिन पाइन्छ आवेदन ?

काठमाडौं । लिवर्टी ईनर्जी कम्पनीले आगामी भदौ ३ गतेदेखि साधारण सेयर(आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि ३५ करोड ६४ लाख रुपैयाँबराबरको सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको ३५ लाख ६४ हजार ९३० कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पुँजीको २५ प्रतिशत अर्थात ३७ लाख ५० हजार कित्तामध्ये स्थानीय बासिन्दाका लागि निष्काशन गरी बाँकी रहेको १३ लाख १५ हजार ९ सय ३० कित्ता समेत गरी सर्वासाधारणमा निष्कासन गर्न लागेको हो । जसमा सामूहिक लगानी कोष तथा कम्पनीका कर्मचारीहरुलाई छुट्याएको सेयर समेत सामावेश भएको कम्पनीले जनाएकाे छ । कम्पनीले गत साउन २१ गतेसम्म स्थानीयलाई आईपीओ बिक्री गरी गत साउन २४ गते बाँडफाँड समेत गरी सकेको छ । स्थानीयलाई बाँडफाँट गरेपश्चात कम्पनीले सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । कम्पनीले निष्काशन गर्न लागेकाे उक्त सेयरमा इच्छुकले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका सेयरको लागि आवेदन दिन सक्नेछन् । उक्त सेयर निष्काशन बन्द छिटोमा भदौ ७ गते हुनेछ भने ढिलोमा भदौ १७ गते(बैंकिङ समयसम्म) हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ । कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग प्राप्त गरेको छ । यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको बुझाउँछ ।

२ महिनापछि खुल्यो स्याङ्जाकाे गल्याङ नगर अस्पताल

काठमाडाैं । गल्याङ नगरपालिका–३ स्थित गल्याङ नगर अस्पताल दुई महिनापछि सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । नगर अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना सङ्क्रमण देखिएपछि समुदायमा समेत सङ्क्रमण फैलिन सक्ने जनाई बन्द गरिएको नगर अस्पताल पुनः सञ्चालनमा आएको अस्पतालका प्रमुख थानपति न्यौपानेले जानकारी दिए । बन्द अस्पतालका आकस्मिक तथा बहिरङ्गसहितका सबै सेवा सञ्चालनमा ल्याइएको छ । अस्पतालका प्रमुख न्यौपानेले भने, “कोरोनाको सङ्क्रमण देखिएका बिरामीको उपचारका लागि आइसोलेसन कक्ष र अन्य बिरामी प्रवेश गर्ने प्रवेशद्वार छुट्टाछुट्टै निर्माण गरेर अस्पतालको सेवा पुनःसञ्चालन गरेका छौँ ।” अब अस्पतालमा उपचार गर्न आउँदा कुनै पनि डर मान्नुपर्ने अवस्था नरहेको अस्पतालले जनाएको छ । सामान्य उपचार गर्न पनि टाढा धाउनुपर्ने बाध्यतालाई ध्यानमा राखेर अस्पतालको नियमित सेवा शुरु गरिएको प्रमुख न्यौपानेले बताए । गल्याङ नगर अस्पतालको आइसोलेसनमा हालसम्म ५८ जना कोरोना रोगलाई जितेर घर फर्केको तथा अहिले १० सङ्क्रमितको उपचार भइरहेको छ ।

९७ हजार ३४४ जनाले पाएनन् एनआरएन इन्फ्राइस्टक्चरको सेयर, बाँकीले कति पाए ?

काठमाडौं । एनआरएन इन्फ्राइस्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओ मंगलबार(साउन २७ गते) बिहान बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार ९७ हजार ३ सय ४४ जनाले कम्पनीको सेयर पाएनन् भने बाँकीले गोलाप्रथाबाट १० कित्ताको दरले सेयर हात पारेका छन् । उक्त आईपीओमा कूल ४ लाख १८ हजार ९ सय १८ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये ९ सय ६० जनाको आवेदन रद्द भएको थियो भने बाँकी ४ लाख १७ हजार ९ सय ५८ जनाको आवेदन सदर भएको थियो । सदर भएको आवेदनमध्ये ३ लाख २० हजार ६ सय १४ जना आवेदकले गोलाप्रथाबाट १० कित्ताको दरले सेयर पाएका हुन् भने बाँकी ९७ हजार ३ सय ४४ जना आवेदकको हात खाली भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । संस्थाले कूल ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको एक सय अंकित दरका ३३ लाख ९८ हजार ४६ कित्ता सेयर बिक्रीमा राखेको थियाे । जसमध्ये ६७ हजार ९ सय ६१ कित्ता अर्थात २ प्रतिशत सेयर कर्मचारीहरुको लागि सुरक्षित गरिएको र १ लाख ६९ हजार ९ सय २ कित्ता अर्थात ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको छ । र, बाँकी रहने ३१ लाख ६० हजार १ सय ८३ कित्ता साधारण सेयरको सार्वजनिक निष्काशन गरेकाे हाे । कर्मचारीका लागि सुरक्षित गरिएको ६७ हजार ९ सय ६१ कित्ता सेयरमा २ जनाले मात्र २२ हजार ४ कित्ता सेयरकाे लागि आवेदन दिएका थिए । बाँकी रहेकाे ४५ हजार ९ सय ५७ कित्ता सेयर बिक्री भएन । उक्त बिक्री नभएकाे सेयर समेत थप गरी सर्वसाधारणमा बाँडफाँड गरिएको हो । यससँगै सर्बसाधारणलाई छुट्याईएको सेयर संख्या ३२ लाख ६ हजार १ सय ४० कायम भएको छ । र, गोलाप्रथाबाट ३ लाख २० हजार ६ सय १४ जनाले १०/१० कित्ताका दरले सेयर पाएका क्यापिटलले जनाएको छ ।

धनुषामा कोरोनाबाट थप एकको मृत्यु भएको पुष्टि

धनुषा । धनुषामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । विदेह नगरपालिका–८ निवासी ६० वर्षीय पुरुष बद्री मण्डलको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोभिड–१९ विशेष अस्पतालमा करिब १८ दिनदेखि आइसीयूमा उपचाररत मण्डलको गए राति कोभिड निमोनियाका कारण मृत्यु भएको कोभिड–१९ अस्पतालका संयोजक डा जामुनप्रसाद सिंहले बताए । डा सिंहका अनुसार मृतक मण्डल क्षयरोगले पनि सिकिस्त थिए । प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार मृतकको ‘ट्राभल हिस्ट्री’ छैन । प्रमुख जिल्ला अधिकारी भट्टराईले भने, “मृतक मण्डलको ट्राभल हिस्ट्री छैन, धनुषामा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिसकेको हुनसक्छ ।” मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरिरहेको प्रजिअ भट्टराईले बताए । मृतकको शव अहिले प्रादेशिक अस्पतालमै राखिएको छ । यसअघि आइतबार मृत्यु भएका एक पुरुषमा सोमबार कोरोना पुष्टि भएको थियो । योसँगै धनुषामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । रासस

बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चको स्थापना

लण्डन । बेलायतका उद्यमी, व्यवसायी र लगानीकर्ताहरुको यही अगस्त ५ र १० (साउन २१ र २६ गते) तारिख लण्डनमा बसेको बैठकले युके–नेपाल व्यापार तथा लगानी मञ्च गठन गरेको छ । संयुक्त अधिराज्यको हाउस अफ लड्र्सका सांसद तथा अल पार्टी पार्लियामेन्ट्री ग्रुप फर नेपालका उपाध्यक्ष लर्ड शेखको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको सोमबार लण्डनस्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । मञ्चको उपाध्यक्षहरुमा लर्ड करण विलिमोरिया, भिस्काउण्ट वेभर्ली, महन्तबहादुर श्रेष्ठ, भगवानजी चौहान र रवीन्द्रजङ्ग लामिछाने रहेका छन् । महासचिवमा आतम सन्धु र कोषाध्यक्षमा विकास नेपाल रहेका छन् । मञ्चको संरक्षकमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी छन् । सोमबार आयोजित उद्घाटन कार्यक्रममा राजदूत डा सुवेदीले आर्थिक विकासका लागि नेपाल सरकारले लगानीमैत्री नीति कार्यान्वयन गरिरहेको भन्दै युके–नेपाल व्यापार तथा लगानी मञ्च बेलायत र नेपालबीच व्यापार, व्यवसाय र लगानीको प्रवद्र्धनमा कोसेढुङ्गा सावित हुने विश्वाससमेत व्यक्त गरे । समारोहमा मञ्चका नवनिर्वाचित अध्यक्ष तथा बेलायती सांसद लर्ड शेखले मञ्चका माध्यमबाट नेपालमा बेलायती लगानी भित्र्याउने र बेलायतमा नेपालको व्यापार अभिवृद्धि गर्ने दिशामा सकारात्मक योगदान गरी नेपालको आर्थिक विकासमा सहयोग पु¥याउन प्रतिबद्ध रहने बताए । उनले लण्डन अन्तर्राष्ट्रिय व्यापार र लगानीको प्रमुख केन्द्र रहेको भन्दै नवगठित मञ्चद्वारा नेपालका व्यवसायीको सम्पर्क र सम्बन्ध बेलायतीसहित अन्तर्राष्ट्रिय व्यापारी र उद्यमीसँग गराउँदै नेपाल सरकारको व्यापार, वाणिज्य तथा लगानीसम्बन्धी नीति तथा कार्यक्रम बेलायतका व्यवसायी र लगानीकर्तासम्म पु¥याउने काममा मञ्च प्रयत्नशील रहने बताए । युके–नेपाल व्यापार तथा लगानी मञ्चले आगामी सेप्टेम्बर महिनाको तेस्रो साता नेपालको व्यापार र लगानीमा केन्द्रित रही एक विशेष कार्यक्रम आयोजना गर्ने सोच रहेको उल्लेख गरेको छ ।

बैतडीमा महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा

बैतडी ।  बैतडीमा महिला स्वास्थ्यकर्मीलाई कुटपिट गरी फरार रहेका दुई जनालाई प्रहरीले सोमबार अपराह्न नियन्त्रणमा लिएको छ । जिल्लाको पुर्चौडी नगरपालिका–३ का २४ वर्षीय मोहन कुँवर र २१ वर्षीय वीरेन्द्र कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ती दुवै जनामाथि पुर्चौडीकै न्वादेउ स्वास्थ्यचौकी अन्तर्गतको नकाली नगर स्वास्थ्य केन्द्रमा कार्यरत २५ वर्षीया अनमी जानकी भट्ट र ३१ वर्षीया कार्यालय सहयोगी बिमला कुँवरमाथि कुटपिट गरेको आरोप छ । ती दुवै जनालाई उनीहरुकै घरबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए । उनले भने, “नियन्त्रणमा लिएका दुवैमाथि अनुसन्धान हुन्छ, आवश्यक देखिए मुद्दा चलाउँछौँ ।” आइतबार स्वास्थ्य केन्द्रमै बिरामीको उपचार गरिरहेका बेला आफूमाथि ती युवकले कुटपिट गरेको भन्दै जानकीले प्रहरीमा उजुरी दिएकी थिईन् । स्थानीय एक वृद्धा बिरामीलाई स्लाइन चढाइरहेका बेला ती युवकहरुले कुटपिट गरेको उनले बताईन् । उनले भने, “वृद्धा आमा कान नसुन्ने भएकाले उहाँसँग ठूलो स्वरले बोल्दा स्वास्थ्यकर्मीले सेवा दिने तरिका यही हो भनेर गालीगलौज गर्दै कुटपिट गरे ।” ती युवाको कुटपिटबाट जानकीको हातको औला भाँचिएको, मुख, छाती र टाउकोमा चोट रहेको छ । अनमी जानकीसँगै कार्यालय सहयोगी विमलामाथि हातपात गर्नुका साथै ती दुवै जनाले कार्यालयमा रहेका कागजात पनि च्यातेको बताइएको छ । यसैबीच स्वास्थ्यकर्मीमाथि ड्युटीमै रहेका बेला स्वास्थ्य संस्थामै कुटपिट र दुव्र्यवहार भएकाले आफूहरु असुरक्षित रहेको न्वादेउ स्वास्थ्य चौकीका इञ्चार्ज गणेश धानुकले बताए । उनले भने, “स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने जोसुकैलाई पनि कानूनी कारवाही हुनुपर्छ, स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण बन्नुपर्छ ।”