विकासन्युज

आइएमई पे र जनरल इन्स्याेरेन्स कम्पनीबीच सम्झौता

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवर्द्धित आइएमई पे र जनरल इन्स्याेरेन्स कम्पनीबीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पेका सेवाग्राहीले जनरल इन्स्योरेन्स कम्पनीको प्रिमियम पुनः भुक्तानीका लागि आइएमई पेका एजेन्ट पार्टनरबाट सेवा लिन सक्नेछन् । झन्डै २५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली-२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो ।

नुवाकोटमा निषेधाज्ञा क्षेत्र बढाइयो, सेना समेत परिचालन

नुवाकाेट । नुवाकोटमा स्थानीयस्तरमा कोरोना रोगको सङ्क्रमण थप फैलिएसँगै आजदेखि निषेधाज्ञाको क्षेत्र बढाइएको छ । निषेधाज्ञा कार्यान्वयन गराउन नेपाली सेनासमेत परिचालन गर्ने निर्णय गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले यसअघि कायम रहेको क्षेत्रभन्दा बाहिरको दुप्चेश्वर गाउँपालिकामा समुदायमा कोरोना रोगको सङ्क्रमण फैलिएको पुष्टि भएसँगै आजदेखि आठ दिनका लागि थप क्षेत्रमा निषेधाज्ञा लगाएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिए । उनका अनुसार आजदेखि निषेधाज्ञा लागू भएको क्षेत्रमा दुप्चेश्वर गाउँपालिकाको सबै स्थान, तादी गाउँपालिका–२, ३, ४ र ५, पञ्चकन्या गाउँपालिका–४ र ५, शिवपुरी गाउँपालिका–१, २, ३, ४ र ५ एवम् तारकेश्वर गाउँपालिका–२, ४, ५ र ६ मा आठ दिनका लागि निषेधाज्ञा लगाइएको हो । नुवाकोटमा दुप्चेश्वर गाउँपालिकामा सोमबार वडाध्यक्ष, बैंकका सुरक्षाकर्मीसहित चारजनामा कोरोना रोगको सङ्क्रमण देखिएसँगै यसअघि लगाइएको निषेधाज्ञाको क्षेत्र बढाउन जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले निर्णय गरेअनुसार आजदेखि प्रशासन कार्यालयले निषेधाज्ञा लगाइएको हो । हालसम्म नुवाकोटमा कोरोना सङ्क्रमितको सङ्ख्या ६१ पुगेको छ । जिल्लाको विदुर नपा–८ र दुप्चेश्वर गापा–६ मा समुदायमा कोरोनाको सङ्क्रमण फैलिएसँगै निषेधाज्ञा लगाउन थालिएको हो । नुवाकोटमा यही २५ गतेदेखि विदुर नगरपालिकासहित लिखु र सूर्यगढी गाउँपालिकाको सबै क्षेत्र र बेलकोटगढी नपा, ककनी, शिवपुरी र पञ्चकन्या गापाको केही वडामा १० दिनका लागि निषेधाज्ञा कायम गरिएको थियो । आजदेखि थप भएको निषेधाज्ञाको पालना कडाइका रुपमा कार्यान्वयन गराउन नेपाली सेनासमेत परिचालन गर्ने निर्णय भएको छ । सङ्कट व्यवस्थापन केन्द्रको सोमबार साँझ बसेको बैठकले निषेधाज्ञा प्रभावकारी बनाउन नेपाली सेनालाई परिचालन गर्न सिफारिस गरेअनुसार जिल्ला सुरक्षा समितिको बैठकले सेना परिचालन गर्ने निर्णय गरेको प्रजिअ ढकालले जानकारी दिए ।

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विभिन्न व्यवसायिक संस्थाका सेवामा छुटै छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकले उल्लेखित कम्पनीहरुबाट सेवा सुविधा लिँदा १५ प्रतिशतसम्मको छुट पाउने व्यवस्था गरिएको छ । मुक्तिनाथ बैंकले विभिन्न प्रतिष्ठित व्यवसायिक संस्थाहरुसंग सहकार्य गरेको छ, जसअन्तर्गत, नेप्मेड्स अनलाइन फार्मेसी, इजी केयर अनलाइन फार्मेसी, अल्मा आरटेज(वाच कम्पनी), बाजेको सेकुवा रहेका छन् । बैंकले ब्यालेन्स सर्टिफिकेट, चेक बुक, गुड फर पेमेन्ट चेक जारी शुल्क र अन्तरशाखा बैंकिङ्ग कारोबार सेवा निःशुल्क गरेकोे छ । साथै, बैंकको ग्राहकले भिसा नेटवर्क अन्तर्गत जुन सुकै बैंकको एटीएमबाट विना शुल्क रकम झिक्न सकिने बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए ।

यी हुन् गोंगबुमा पुरुषको हत्या गर्ने महिला

काठमाडौं । राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोंगबु नवज्योति मार्गमा रोल्पाका कृष्ण बहादुर बोहोरा हत्या गर्ने महिलालाई प्रहरीले पक्राउ गरेर पनि सार्वजनिक गरिसकेको छ । उनलाई आज प्रहरीले सार्वजनिक गरेको हो । उनलाई हिजो मात्रै प्रहरीले पक्राउ गरी काठमाौं ल्याएको थियो । ती महिलाको नाम कल्पना मुडभरी (पौडेल) हो । उनको घर रोल्पा भएको बुझिएको छ । उनी मृतक बोहराको हत्या गरी चितवन गएकी थिइन् । उनलाई प्रहरीले हिजो मात्रै चितवनबाट नै पक्राउ गरी काठमाडाैं ल्याएको हो । उनी कलाकार समेत रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कल्पनाले केही टेलिश्रृंखलामा अभिनय गरेकी छिन् । ती महिला र मृतकबीच आर्थिक कारोबारको विवाद रहेको बताइएको छ भने यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार मृतक बिगत ८ महिनादेखि होटलमा बस्दै आएका थिए भने कल्पनाबीच फेसबुकमार्फत चिनाजानी भएर निकटता बढेको थियो । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा चितवनबाटै १० कक्षामा अध्ययनरत अर्का एकजनालाई पनि पक्राउ गरेको बताएपनि उनको पहिचान खुलाएको छैन ।

काठमाडौंका स्थानीय तह अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने मनस्थितिमा, केन्द्रले असहयोग गरेको गुनासो

काठमाडौँ । काठमाडौं उपत्यकाभित्रका नगरपालिकाहरुको संस्था उपत्यका नगरपालिका फोरम अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने मनस्थितिमा छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण अत्याधिक बढेपछि स्वास्थ्य सुरक्षा अपनाउन केही दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्नुपर्ने निष्कर्षमा फोरम पुगेको हो । काठमाडौं उपत्यकामा कोभिड–१९ संक्रमण बढ्दै गएकोले नियन्त्रणका लागि अत्यावश्यक बाहेकका सबै प्रकारका सेवा बन्द गर्नुपर्ने अवस्था रहेको धारणा सबै नगरप्रमुखले राखेका काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । समुदायस्तरमा संक्रमण फैलिएर ठूलो संख्यामा स्वास्थ्यकर्मी, अस्पताल तथा भेन्टिलेर आवश्यक भएमा अहिले त्यस्तो पूर्वाधार नभएकोले सावधानी अपनाउनुको विकल्प नभएको शाक्यको भनाइ छ । ‘काठमाडौं उपत्यकाभित्र संक्रमितको संख्या दिनदिनै बढिरहेको छ, समुदायस्तरमा संक्रमण विस्तार भयो र ठूलो संख्यामा स्वास्थ्यकर्मी, आइसोलेसन बेड तथा भेन्टिलेटर आवश्यक पर्यो भने तत्काल व्यवस्था गर्न सकिने अवस्था छैन, त्यसैले सावधानी नै अहिलेको एकमात्र विकल्प हो, केही दिनको लागि ठूला विजनेस कम्प्लेक्स, होटल, सार्वजनिक यातायात, कपडा पसल, शैलुन, जीमखाना, स्वीमिङ जस्ता धेरै क्षेत्र बन्द गर्दा खासै फरक पर्दैन, नगरपालिका फोरमले पनि यही प्रकारको निर्णय गरेको छ,’ मेयर शाक्यले विकासन्युजसँग भने । फोरमले हिजो (२६ साउन) काठमाडौं उपत्यकाभित्रका काठमाडौं, ललितपूर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, चारवटै सुरक्षा निकाय (आर्मी, जनपद प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग) का उपत्यका प्रमुख र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का सचिवसँग संयुक्त छलफल गरेको थियो । फोरमले उपत्यका प्रवेश गर्ने प्रस्थान विन्दुमै अत्यन्त कडाई गर्न संघीय सरकारसँग माग गरेको छ । उपत्यका नगरपालिका फोरमले आइतबार पनि कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजक समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग रक्षा मन्त्रालयमा छलफल गरी यही सुझाव दिएको थियो । सोमबार नै बसेको सीसीएमसीको बैठकले पनि यहि विषयमै केन्द्रित रहेर छलफल गरेको थियो । ‘उपत्यका मुलुकको राजधानी समेत भएकोले अत्यन्त घनावस्ती युक्त क्षेत्र रहेको हुँदा कोरोना संक्रमण समुदाय स्तरमा पुग्ने खतरा रहेको अवस्थामा यहाँ त्यस्ता प्रस्थान विन्दूबाट अबैध रुपमा/अनाधिकृत रुपमा समेत मानिसहरु प्रवेश गर्ने र गराउनेलाई कार्यलाई पुर्णतः नियन्त्रण गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ, तेस्रो मुलुकबाट आउनसक्ने ठूलो संख्याको यात्रुलाई ध्यानमा राखी क्वारेन्टाइन व्यवस्थापन र सञ्चालन नियमावली अनुसार रहने गरी एकीकृत क्वारेन्टाइन संघीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापनमा सहयोग गर्नेगरी तयारी गर्नु उपयुक्त हुने भएकाले संघीय सरकारसँग माग गरेका छौं,’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी बैठकले उपत्यकामा समुदाय स्तरमा कोभिड—१९ को संक्रमण जानसक्ने खतरालाई ध्यानमा राखी सरकारको समर्थन वा विरोधमा ¥याली, भेला, अनसन, जुलुुसलगायतका गतिविधि गर्न कडाईका साथ निषेध गरिनुपर्ने तथा भिडहुने साँस्कृतिक गतिविधि जात्रा पर्व सञ्चालनमा पनि रोक लगाउन पनि अनुरोध गरेको छ । ‘संक्रमण सर्न सक्ने सम्भावनालाई न्यूनिकरण गर्न मास्क उपयुक्त र अनिवार्य भएको तथ्यलाई ध्यानमा राखी मास्क नलगाई आवत जावत गर्न तथा मास्कलाई उपयुक्त रुपमा प्रयोग नगर्नेहरुलाई कारवाही गर्न पनि फोरमले माग गरेको छ । ‘आर्थिक गतिविधिलाई चलायमान गर्नका लागि खुकुलो बनाइएको र बाक्लो आवतजावत रहन गएका व्यापारिक क्षेत्र तथा सपिङ्ग महलहरु, होटल, रेष्टुरेष्ट आदिमा कोभिड—१९ संक्रमणको उच्च जोखिमयुक्त क्षेत्र रहेको हुँदा सो क्षेत्रमा यथासक्य सतर्कता मापदण्डलाई कडाईका साथ पालना गर्नुपर्ने र सोको नियमित अनुगमन गरी कारवाहीको दायरामा ल्याउनु जरुरी छ,’ फोरमको निर्णयमा भनिएको छ । कोरोना भाइरसको संक्रमण रहे–नरहेको पुष्टि गर्ने अन्तिम विकल्प पीसीआर परीक्षण रहेको तथ्य प्रष्ट भन्दै फोरमले तर पीसीआर परीक्षणको आर्थिक भार र सोको उपयोगिता परीक्षण गरिएको सिमित अवधिलाई मात्र रहने गरेका कारण परीक्षणको दायरा र दरलाई मात्र विस्तार गर्नेभन्दा संक्रमण रोकथामको लागि क्वारेन्टाइनको संख्या र गुणस्तरमा विस्तार, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको परिचालन र सेवा विस्तारमा ध्यान दिनु आवश्यक देखिएकोले सो तर्फ प्राथमिकता दिई कार्य गर्न फोरमले माग गरेको छ । उपत्यका संक्रमणको उच्च जोखिमयुक्त रहेको देखिएकोले अनाधिकृत रुपमा उपत्यका प्रवेश गरेका निर्माण कार्यका मजदुर, ठेलागाडा, साइकल, फुटपाथ, तरकारी व्यापार गर्न आएकाहरु बढी देखिएको हुँदा तरकारी व्यापारलाई साँझ विहान मात्र सिमित गरी निर्माण कार्य, फुटपाथ, ठेलागाडा, साईकल मार्फत गरिने व्यापारलाई भाद्र १५ गतेसम्मको लागि निषेध गर्नुपर्ने पनि बैठकले निर्णय गरेको छ । कलकारखाना, उद्योग धन्दाहरु, निर्वाध रुपमा सञ्चालन भइरहँदा तत् तत् स्थानमा कार्यरत मजदुरहरुको दैनिक आवतजावत गर्दा संक्रमण जोखिम बढेकोले उद्योग तथा कलकारखानाहरु भित्र क्वारेन्टाइनको व्यवस्था गराउनुपर्ने तथा स्वास्थ्य मापदण्ड पुरा गरेर मात्रै सञ्चालन गर्न दिने निर्णय फोरमको छ । ‘सार्वजनिक यातायात पूर्ण रुपमा सञ्चालन भएपछि संक्रमण दर तीब्र भएको स्थितिलाई ध्यानमा राखी पुनः जोरविजोर प्रणाली लागु गरिएकोमा संक्रमणलाई नियन्त्रणमा राख्न सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउनुपर्ने तथा अन्यमा जोर विजोर तत्काल लागु गर्न संघीय सरकारसँग माग गर्दछौँ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ । उपत्यकाभित्र समुदायस्तरमा संक्रमणको उच्च जोखिमलाई ध्यानमा राखि स्थानीय तहहरुबाट अत्यावश्यक सेवा बाहेक अन्य सेवा प्रवाहलाई १५ दिनका लागि बन्द गर्ने, सामाजिक सुरक्षा भत्ता प्रायोजनको लागि नवीकरण गर्ने म्याद श्रावण मसान्तसम्म रहेकोमा सो म्यादका कारण वडास्तरमा ज्येष्ठ नागरिकको भिडभाड भई कोभिड—१९ को संक्रमण झन बढ्ने भएकाले उक्त म्याद हाललाई २०७७ असोज मसान्तसम्म कायम गर्न नेपाल सरकारलाई अनुरोध गर्ने जस्ता निर्णय पनि गरेको छ । बैठकपछि सम्वोधन गर्दै उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शुरुमा उपत्यका सिल गर्दा लामो समय यहाँका ४० लाख बढी नागरिकले लकडाउनको पूर्ण पालना गरेको स्मरण गराउँदै अहिले केही व्यक्तिलाई काठमाडौंभित्र छिराउँदा शान्त तलाउमा ढुंगा हानेजस्ता भएको र थप भयावह हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै नाकामा कडाई गर्नुको विकल्प नभएको बताए । सरकारले बन्दाबन्दी खोले पनि लामो दूरीका सवारीसाधन चलाउन नदिएकाले यसलाई एक किसिमको बन्दाबन्दी नै मानेर आवतजावत बन्द गर्नुपर्ने उनको भनाई छ । मेयर शाक्यले उपत्यकामा अहिले पनि समुदायस्तरमा धेरै संक्रमण नदेखिएकाले यसलाई अहिले नै नियन्त्रण गर्नुपर्नेमा जोड दिए । मेयर शाक्यले महानगरपालिकाले भनेको निर्णय नागरिकले नमानेर लुकिछिपी आउने प्रवृत्तिले संक्रमणको अहिलेको स्थिति देखा परेको पनि स्मरण गराए । ‘हामीले भनेको निर्णय मानिदिएको भए काठमाडौं उपत्यकामा कुनै पनि संक्रमण देखिने थिएन,’ उनले भने । फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर शाक्यले पनि उपत्यका प्रवेशमा कडाई गर्नुको विकल्प नरहेको बताए ।

गोंगबु हत्याकाण्डको रहस्य पर्दाफासः यसरी बुनिएको रहेछ योजना

काठमाडौं । गांगबु हत्याकाण्डको रहस्य खुलेको छ । आज प्रहरीले रोल्पाका कृष्णबहादुर बोहोराको हत्या गर्ने कल्पना मुडभरी र उनकी छोरीलाई सार्वजनिक गर्दै घटनाको रहस्य बताएको हो । प्रहरी अनुसन्धानको क्रममा अभियुक्तले दहीमा ५ वटा निद्राको औषधि मिसाई खान दिएको र सो खाएपछि मृतक सुतेको मौकामा फलामको ह्याम्मरले मृतकको अण्डकोषमा प्रहार गरेको खुलेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार बोहोरा लठ्ठिएपछि कल्पनाले पहिला अण्डकोषमा हम्मरले प्रहार गरेकी थिइन्। त्यसपछि सलले घाँटी कसेकी थिइन्।  त्यसपछि कृष्णबहादुरलाई सलको प्रयोग गरी घाँटीमा थिचेपछि मृत्यु भएको प्रहरीको भनाइ छ । कृष्णको लास गत आइतबार गोंगबु नजिकै सुटकेसभित्र राखिएको अवस्थामा फेला परेको थियो । मृतकको शव आइतबार बिहान नवज्योति मार्गमा सुटकेशमा पेला परेको थियो भने टाउको र खुट्टा ३०० मिटर पूर्व उत्तर रहेको स्वर्गद्वारी मार्गको खाली जमिनमा फेला परेको थियो । राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा भएको विभत्स हत्याकाण्डका आरोपी मुडभरी र मृतक बोहोराबीच करिब ३-४ वर्षदेखि फेसबुकमार्फत चिनाजानी भई सम्पर्क हुँदै आएको अनुसन्धानबाट खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा हत्याको मुख्य कारण आर्थिक लेनदेन र यौन हिंसा रहेको बताएको छ । अभियुक्त कल्पनाले पनि हत्याको स्वीकार गरिसकेको प्रहरीले बताएको छ । बोहोरा र उनीबीच अन्तरंग सम्बन्ध रहेको, बोहोराले आफ्नो नाङ्गो फोटो फेसबुकमा हाल्न थालेपछि हत्या गरेको बयान उनले दिएको प्रहरीले जनाएको छ । आजको पत्रकार सम्मेलनमा प्रहरीले कल्पनाले बोहराको हत्यापछि शवको टाउको छिनाई झोलामा राखी आफै फाल्न गएको खुलाएको छ । शवको व्यवस्थापन गरेपछि अभियुक्त साउन २५ गते बेलुका एम्बुलेन्समार्फत चितवन पुगेको अनुसन्धानबाट खुल्न आएको छ भने अनुसन्धानकै क्रममा उनी र उनकी छोरीको शव व्यवस्थापनमा संलग्नता रहेको खुलेपछि दुबैलाई चितवनबाट सोमबार राती नै काठमाडाैं ल्याइ आज सार्वजनिक गरेको हो । घटनास्थलबाट प्रहरीले दशीको रुपमा घारिलो हतियार, हिर्काउन प्रयोग भएको ह्याम्मर, रगत लतपतिएको पन्जा, घाँटी कस्न प्रयोग भएको कालो सल, सुटकेशको ह्याण्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा, स्लिपिङ ट्याबलेटका खोल र मोबाइल सेट बरामद गरेको छ । कल्पना कलाकार समेत रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कल्पनाले केही टेलिश्रृंखलामा अभिनय गरेकी छिन् ।

ओटीसी बजारमा नेपाल बैंकसहित एक सय २३ कम्पनी दर्ता, कुन कुन ?

काठमाडौं । ओभर द काउन्टर(ओटीसी) बजारमा कूल एक सय २३ कम्पनी दर्ता(सूचीकृत) भएका छन् । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)का अनुसार हाल उक्त बजारमा वाणिज्य बैंक, विकास बैंक, हाइड्रो लगायतका विभिन्न क्षेत्रको गरी सो मात्राको कम्पनी दर्ता भएका हुन् । उक्त बजारमा नेप्सेबाट सूचीकरण खारेज भएका र सूचीकरण हुन नसकेका कम्पनीको सेयर कारोबार गराइन्छ । दोश्रो बजारको बैंकल्पिक मानिने यो बजार नेप्सेबाट नै सञ्चालित हुने छ । ओटीसी बजारमा सूचीकृत कम्पनीहरुको नामावलीः [pdf id=231822]

बेरुतमा शक्तिशाली विस्फोटपछि लेबनानका प्रधानमन्त्रीद्धारा राजीनामा

काठमाडाैं । गत हप्ता लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली विस्फोटपछि नैतिकताको आधारमा भन्दै लेबनानका प्रधानमन्त्रीले राजीजनामा दिएका छन् । सो विस्फोटमा परी २०० जनाभन्दा बढीको ज्यान गएको थियो । त्यस विस्फोटनका कारण लेबनानका नागरिकहरुले व्यापक रुपमा आक्रोश व्यक्त गरिरहेका थिए । नागरिकले प्रधानमन्त्रीका विरुद्धमा प्रदर्शन पनि गरेका थिए । यसैक्रममा प्रधानमन्त्री हसन दीयाबले सोमबार आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । प्रधानमन्त्री दियाबले लेबनानको राष्ट्रिय टेलिभिजनमार्फत सोमवार साँझ देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीको पद त्याग गरेको घोषणा गरेका थिए । लेबनानका नागरिकले सरकारमाथि भ्रष्टाचारको आरोप लगाएका थिए । उनीहरुले सो विस्फोट हुनुमा पनि सरकारको भ्रष्टाचारजन्य क्रियाकलाप जोडिएको बताएका थिए । त्यसैगरी यहाँका नागरिकले वर्तमान प्रधानमन्त्री र सरकारमाथि र असक्षमताको आरोप पनि लगाएका छन् । लेबनानमा आक्रोशमा रहेका मानिसहरूले सोमबार पनि लगातार तेस्रो दिन प्रदर्शन गरेका थिए । राजधानी बेरुतमा भएको प्रदर्शनमा प्रहरीसँग पनि झडप भएको थियो । बेरुतस्थित बन्दरगाहमा असुरक्षित अवस्थामा राखिएको भनिएको एमोनियम नाइट्रेटका विस्फोट हुँदा त्यहाँका २०० भन्दा बढी मानिसको ज्यान गएको थियो भने अरु हजारौँ जना घाइते भएका थिए । उनले सो टिभीमा दिएकाे सम्बोधनमा आफूले भ्रष्टाचार नगरेको भन्दै बचाउ पनि गरेका थिए । तर देशमा भ्रष्टाचार भएका कारणले नै त्यो विस्फोट हुन पुगेको बताएका थिए । उनले लेबननमा भ्रष्टाचार देशभन्दा पनि ठूलो रहेको भन्दै त्यही भ्रष्टाचारमध्येको एक घटना बेरुतमा भएको विस्फोट हो भने । रासस