आज थप ६ सय ३८ जनामा काेराेना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ६ सय ३८ जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २३ हजार ९ सय ४८ जना पुगेकाे छ । हाल क्वारेन्टिनमा ११ हजार ५८ जना रहेका छन् भने आजसम्म ४ लाख ६३ हजार ६ सय ९८ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आजसम्म कोरोना मुक्त हुनेको संख्या १६ हजार ६ सय ६४ पुगेको छ भने थप ४ जनाकाे मृत्यु पुष्टि भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।
थापाथलीकाे प्रसूति अस्पतालमा पनि काेराेना परीक्षण सुरु
काठमाडौं । थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा काेराेना भाईरस (कोभिड-१९) को परीक्षण सुरु भएको छ । काठमाडौं महानगरपालिकाले पीसीआर मेसिन उपलब्ध गराएपछि अस्पतालमा कोभिड-१९ परीक्षण सुरु भएको हो । अस्पतालको ६१ औं वार्षिकोत्सवको अवसरमा मंगलबार पीसीआर प्रयोगशालको औपचारिक उ्घाटन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पीसीआर प्रयोगशालाको उद्घाटन गरे । महानगरपालिकाले पीसीआर मेसिन उपलब्ध गराएपछि अस्पतालले पीसीआर ल्याब निर्माण गरेको हो । महानगरले पीसीआर मेसिन सहित भिटिएम १ हजार ५ सय थान, आरडीटी १ हजार ५ सय थान र पीपीई ५ सय थान उपलब्ध गराएको छ । अस्पतालकी निर्देशक संगीता कौशल मिश्राले महानगरपालिकाले पीसीआर मेसिन सहयोग गरेपछि परीक्षण सुरु गरिएको बताईन् । उनले संक्रमणको महामारीको अवसथामा अस्पताल भित्रै पीसीआर परीक्षण प्रयोगशाला स्थापना हुँदा विरामीको उपचारमा थप सहयोग पुग्ने बताईन् । अस्पतालले कोभिड-१९ संक्रमणको आशंका लागेका विरामीलाई कुपण्डोल स्थित छुट्टै भवनमा आइसोलेसनमा राखेर उपचार गर्दै आएको र पीसीआर परीक्षणको ल्याब सुरु भएपछि उपचारका लागि थप सहज हुने विश्वास मिश्राले व्यक्त गरिन् ।
भारतमा कोभिड–१९ समाप्त नहुन्जेल नेपालमा जोखिम रहन्छ: स्वास्थ्यमन्त्री ढकाल
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले भारतमा कोभिड–१९ समाप्त नभएसम्म नेपालमा पनि जोखिम रहिरहने बताएका छन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१ औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले भारतसँग खुला सिमाना भएका कारणले त्यहाँ कोभिड–१९ समाप्त नभएसम्म नेपालमा पनि जोखिम बढिरहने जानकारी दिए । उनले बन्दाबन्दी (लकडाउन) खुलेसँगै मानिसले स्वास्थ्यका न्यूनतम मापदण्ड लागू नगर्दा कोभिड–१९ को सङ्क्रमण बढेको बताए । उनले सरकारले प्रभावकारी कदम चालेको कारणले अन्य देशभन्दा नेपालमा सङ्क्रमितको सङ्ख्या तथा मृत्युदर पनि कम रहेको उल्लेख गरे । “मन्त्रालयले प्रक्षेपण गरेअनुसार यही साउन २५ गतेसम्म खराब अवस्थामा ९१ र अगामी भदौ २ गतेसम्म मध्यम अवस्थामा ३९ हजार पुग्ने अनुमान गरिएको थियो”, उनले भने, “तर सरकारको कोभिड–१९ नियन्त्रण तथा रोकथाममा खेलेको भूमिका र स्वास्थ्यकर्मीको प्रयासका बाबजुद हामीले त्यो अनुुमान गरेको सङ्ख्याभन्दा कम नै सङ्क्रमित रहेका छन् ।” मन्त्री ढकालले पहिले देखिएका स्थानमा पुनः सङ्क्रमित देखिन थालेको जनाउँदै लक्षण नदेखिएका सङ्क्रमितलाई चिकित्सकको निगरानीमा घरमै रहेको आइसोलेसनमा राखिने जानकारी दिए । “अरू देशमा सङ्क्रमित भएको ठाउँमा फेरि भयाभह रुपमा सङ्क्रमित देखिएका छैनन् तर यहाँ भने पहिले सङ्क्रमित देखिएका ठाउँमा फेरि पनि सङ्क्रमित देखिन थालेका छन्”, उनले भने, “वीरगञ्ज, बाँके, उदयपुर, कैलालीजस्ता ठाउँमा फेरि पनि सङ्क्रमित देखिन थालेका छन् । त्यसैले अझ सतर्कता अपनाउन आवश्यक रहेको छ ।” उनले सरकारले कोभिड–१९ नियन्त्रण गर्न सक्दो प्रयास गरिरहेको भन्दै जथाभावी आलोचना नगर्न आग्रह गरे । “हामीले अहिलेसम्म जे जे उपाय अपनाएर नियन्त्रण र रोकथाम गर्न सकिन्छ । त्यो सबै गरेका छाैँ । अहिलेसम्म हामीले गरेको उपाय भएको छैन भने सुझाव गर्नुहोस”, उनले भने, “हामीलाई त्यो सुझाव राम्रो लाग्यो भने रोकथाममा सहयोग पु¥याउने छ । तर अनावश्यक आलोचना नगर्नुहोस् ।” कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालको सेवालाई अझ प्रभावकारीरुपमा लैजानुपर्ने सुझाव दिए । मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेल र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंह लगायतले अस्पतालले सेवालाई अझ छिटोछरितो बनाउनुपर्ने बताए । अस्पतालका निर्देशक डा सङ्गीता कौशल मिश्राले अस्पतालको सेवा अझ विस्तार गर्न लागेको जानकारी दिए । उनले संविधानले नै स्वास्थ्य सेवालाई निःशुल्क प्राप्त गर्ने हक सुनिश्चित गरेको हुनाले गरिब, असहाय, विपन्नलाई आर्थिक अभावका कारण हुनै पनि बिरामी उपचार गर्नबाट वञ्चित हुन दिनेछैन भने । विसं २०१६ मा स्थापना भएको ४० श्ययाबाट अस्पतालमा अहिले ४१५ श्यया रहेका छन् । अस्पतालमा अहिले प्रसूति रोगसम्बन्धी सबै उपचार, आमा सुरक्षा, नवजात शिशु उपचार कार्यक्रम, परिवार नियोजन तथा सुरक्षित गर्भपतन, निःसन्तान तथा बाँझोपन, क्यान्सर तथा युरो गाइनोकोलोजीका सेवा प्रदान गर्दै आइरहेको छ । गत आर्थिक वर्ष ०७६/७७ मा ११ लाख १९ हजार ६२५ जनाको बहिरङ्ग सेवा, २२ हजार ४६१ गर्भवतीलाई सुत्केरी र १० हजार ९७७ जना शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । रासस
चौधरी फाउण्डेसनद्वारा स्वास्थ्य मन्त्रालयलाई ८ वटा भेन्टिलेटर हस्तान्तरण
काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको चौधरी फाउण्डेसनले कोभिड–१९ का गम्भीर बिरामीहरुका लागि अत्यावश्यक भेन्टिलेटरहरु हस्तान्तरण गरेको छ । फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि चौथो चरणको सहयोग अन्तर्गत आज स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई ८ वटा भेन्टिलेटर हस्तान्तरण गरेका हुन् । अहिले कोभिड–१९ का गम्भीर बिरामीहरुको संख्या वृद्धि भएसँगै अस्पतालहरुमा सघन उपचार कक्ष र भेन्टिलेटरहरुको अभाव भैरहेको छ । चौधरी फाउण्डेसनले हस्तान्तरण गरेका भेन्टिलेटर प्रदेश–१, प्रदेश–२, बाग्मति र प्रदेश ५ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकारहरूसँगको समन्वयमा अस्पतालहरूलाई उपलब्ध गराउनेछ । भेन्टिलेटर हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ का गम्भीर बिरामीहरुको संख्या बढीरहेको अवस्थामा चौधरी फाउण्डेसनले अत्यावश्यक भेन्टिलेटर हस्तान्तरण गरी सहयोग पु¥याएकोमा धन्यवाद व्यक्त गरे । ‘चौधरी फाउण्डेसनले मुलुकलाई अप्ठेरो अवस्थामा सधैं सहयोग पु¥याएको हाम्रो स्मरणमा रहेको छ,’ मन्त्री ढकालले भने, ‘कोभिड–१९ पछि फाउण्डेसनले पीपीइ, पीसीआर रिएजेन्ट र अहिले भेन्टिलेटर सहयोग गरेको छ । महामारीको समयमा पु¥याएको यो सहयोग अतुलनीय छ ।’ फाउण्डेसनका उपाध्यक्ष तथा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले कोभिड–१९ का क्रिटिकल बिरामीहरुलाई उपचारका लागि सहयोग गर्न फाउण्डेसनले भेन्टिलेटर हस्तान्तरण गरिएको बताए । उनले मुलुकमा अप्ठेरो र विपद्को समयमा फाउण्डेसनले सहयोग गर्दै आएको र थप सहयोगका लागि सधैं तत्पर रहेको उल्लेख गरे । ‘यो सहयोगले कोभिड–१९ का बिरामीहरुको उपचारमा मद्दत पु¥याउने आशा लिएका छौं,’ चौधरीले भने ।
सिटी एक्सप्रेसद्वारा ‘हरेक कारोबारमा आकर्षक उपहार’ याेजनाका विजेताहरु घोषणा
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो साउदी स्थित सेवाग्राहीहरुलाई लक्षित गर्दै साउदीकै ईनाज बैंक एल बिलाडसँगको सहकार्यमा सुरु गरेकाे योजनाको विजेता घोषण गरेको छ । यस योजना अन्तर्गत ४५ जना बिजेताहरुले सिसटी म्याक्स सपिङ भाउचर, २४ जनाले ५ ग्राम सुनका सिक्का र अन्त्यमा ६ जना भाग्यशाली बिजेताहरुले हवाई टिकट जित्न सक्ने योजनामा रहेको थियो । सोही योजना अनुरुप साउदीमा कार्यरत बिकास थडराई, गोविन्द नेपाली , पूर्णबहादुर रिमाल, होम राज सापकोटा र किस्मत सार्किले बम्पर उपहार स्वरुप हवाई टिकट जित्न सफल भएका छन् । यस कोभिड-१९ महामारीको कारणले हवाई टिकटको सट्टामा विजेताहरुले २ हजार साउदी रियाल प्राप्त गरेको छन् ।
घर बनाउनेका लागि सुवर्ण अवसरः बैंकको ब्याजदरदेखि निर्माण सामग्रीको मूल्य सस्तियो
काठमाडां । भनिन्छ नि हरेक महामारी अर्थात संकटले अवसर पनि सँगै लिएर आउँछ । अहिले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले पनि जति मानवीय तथा आर्थिक क्षति गरको छ त्यही अनुसारको अवसर पनि अवश्य सिर्जना गरेको छ । याे महामारीले एउटा त्यस्तै अवसर ल्याएकाे छ एउटा चिटिक्क र आफ्नो चाहनाको घर निर्माण गर्नेहरुका लागि । कम लागतमा एउटा सुन्दर र चिटिक्क परेको घर निर्माण गर्ने रहर कुन परिवारलाई हुँदैन र ? हो, त्यस्तै चाहना भएका घर परिवारलाई अहिले चौतर्फी रुपमा अवसरका ढोकाहरु खुल्ला भएका छन् । एउटा अर्काे भनाई पनि छ नि अवसर एक पटक आउँछ जसले त्यो अवसरको सही सदुपयोग गरी लाभ लिन सक्छ उही सफल बन्छ । हो, त्यस्तै एउटा अवसर अहिले घर निर्माण गर्नेहरुका लागि आएको छ । अन्य समयमा सकी नसकी अर्थात धेरै खर्च गर्ने चाहना नहुँदै पनि लाखौं करोडौं रुपैयाँ खर्च गरेर तपाई हामीले घर निर्माण गर्दै आएका छौं । तर, अहिले भने चाैतर्फी रुपमा त्यो बाध्यता टरेको छ । अहिले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले घर बनाउनेहरुका लागि आकर्षक घर कर्जा स्कीमदेखि घरलाई आवश्यक पर्ने निर्माण सामग्री उत्पादकहरुले पनि निर्माण सामग्रीको मूल्यमा छुट दिइरहेका छन् । यदि तपाईँ घर बनाउने सोचमा हुनुहुन्छ भने तपाईको लागि यो यस्ताे समय सायद बिरलै आउँछ । घर कर्जामा १० देखि १५ प्रतिशतसम्म ब्यादर तिर्नु परेको बाध्यता टरेर त्यो ब्याजदर अहिले ७/८ प्रतिशतमा झरेको छ । जसले तपाईँ हामीलाई घर बनाउन एकदमै मद्दत पुग्छ । त्यस्तै तपाईँ हामीले घर बनाउनकै लागि धेरै खर्च गर्नु पर्ने निर्माण सामग्रीमा पनि हो । तिनै निर्माण सामग्रीको मूल्य पनि अहिले सस्तो हुँदै गएको छ । अहिले बजारमा निर्माण सामाग्रीहरु समेन्ट, छड, गिट्टी र बालुवाको मूल्य पहिलेको भन्दा घटेको छ । यी विभिन्न विषयमा हामीलाई छुट मिलेपछि हामीलाई पहिले घर बनाउनुभन्दा १० प्रतिशतसम्म कम लागत लाग्ने जानकारहरु बताउँछन् । कोरोना भाइरसको महामारीमा बैंक तथा वित्तीय संस्थाहरुमा तरलता थुप्रिएपछि बैंकहरुले सस्तो ब्याजदरमा अर्थात एकल अंकमा कर्जा लागनी गरिरहेका छन् । त्यस्तै अहिले पूर्वाधार निर्माणको अफसिजन सुरु भइसकेकोले पनि निर्माण सामग्री उत्पादकहरुले पनि निर्माण साम्रगीको मूल्य घटाएका हुन् । यसको दोहोरो फाइदा घर निर्माण गर्नेहरु अर्थात उपभोक्ताहरुलाई भएको छ । विभिन्न बैंकहरुले अहिले घर कर्जामा विभिन्न स्कीमहरु ल्याएर कर्जा दिइरहेका छन् । कोरोना सन्त्रासकै बीच घरजग्गा जाेड्न चाहनेहरुलाई कुन बैंकले कति ब्याजदरमा कर्जा दिइरहेको छन् अर्थात कस्ता स्कीम ल्याएका छन् भन्ने पढ्न यहाँ क्लिक गर्नुस् । यस्तै, हार्डवेयर व्यवसायीका अनुसार अहिले काठमाडौं उपत्यकामा सिमेन्टको मूल्य प्रतिबोरा ५० रुपैयाँसम्म घटेको छ । यसअघि ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा ८ सय ३० रुपैयाँ र पीपीसी सिमेन्ट मूल्य प्रतिबोरा ७ सय रुपैयाँ थियो । अहिले तिनीहरुको मूल्य घटेर ओपीसी सिमेन्ट बोराको ७ सय ८० रुपैयाँ र पीपीसी सिमेन्ट ६ सय ७० रुपैयाँसम्म बिक्री भइरहेको छ । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाले अहिले सिमेन्टको मूल्य घटेको जानकारी दिए । ‘कोरोना भाइरसको कारण उपभोक्तालाई धेरै समस्या छ, त्यसको कारण स्वरुप र अफसिजन भएकोले पनि माग कम भएकोले मूलय पनि सस्तो भएको हो,’ उनले भने । उनका अनुसार अहिले उधारो सिमेन्ट बिक्री नगर्ने बरु न्यूनतम मूल्यमा बिक्री गर्ने उद्धेश्यका लागि मूल्य घटाएको हो । डिलरलाई दिइने कमिसन पनि घटाएको उनको भनाई छ । उनले वार्षिक स्कीम, मासिक स्कीम, बोनस जुनसुकै स्कीमको सीमा प्रति बोरा २० रुपैयाँ नाघ्न नपाइने निर्णय समेत गरेको बताए । अहिले सिमेन्टको मात्र होइन सम्पूर्ण निर्माण सामग्रीहरुको मूल्य सस्तिएको छ घर निर्माणका लागि आवश्यक पर्ने डन्डी, बालुवा र गिट्टीको मूल्य पनि घटेको बताइएको छ । अहिले डन्डीको मूल्य प्रतिकिलो ७० रुपैयाँमा कारोबार भइरहेको बताइएको छ । यसअभि डण्डिको मूल्य ७७ देखि ८० रुपैयाँसम्म पर्थ्यो । यस्तै बालुवा र गिट्टीको मूल्य पनि सस्तो भएको छ । बालुवा र गिट्टीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । अहिले प्रति क्यू फिट बालुवाको मूल्य ९० रुपैयाँ पर्छ भने पहिले यसको मूल्य १०५ रुपैयाँ रहेको थियो । यस्तै गिट्टी पनि पहिले एक सय र अहिले ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
रोल्पामा नाइट भिजन हेलिप्याड निर्माण, अब बिरामीको उद्धार जतिखेर पनि गर्न सकिने
सांकेतिक तस्विर रोल्पा । यहाँ नाइट भिजन हेलिप्याड निर्माण गरिएको छ । आपत्कालीन उद्धारमा सहज होस् भन्ने उद्देश्यले हेलिप्याड निर्माण गरिएको बताइएको छ । रोल्पा नगरपलिकाले सदरमुकाम लिबाङ बजारदेखि करीब ५०० मिटर दूरीमा रहेको सो हेलिप्याड मनोरम दृश्यसहित निर्माण गरेको हो । रोल्पा अस्पताल नजीकै रहेकाले बिरामी, विपद् र सुत्केरी महिलाको आपत्कालीन उद्धारमा सहजता होस् भन्ने उद्देश्यले उक्त हेलिप्याड निर्माण गरिएको नगरप्रमुख पूर्ण केसीले जानकारी दिए । “अब जतिखेर पनि बिरामीको उद्धार गर्न सकिने भयो”, केसीले भने । अघिल्लो वर्ष १५ लाख बजेट खर्चेर बनाइएको हेलिप्याड बर्सातसँगै भत्किएपछि यस वर्ष पनि सोही हेलिप्याड निर्माणका लागि बजेट छुट्याएको थियो । “अघिल्लो वर्ष बनाएको हेलिप्याड भत्किएपछि यस वर्ष पिलर तथा सरिया बिछ्याएर ढलानसहित हेलिप्याड निर्माण गरिएको छ”, प्रमुख केसीले भने । सो हेलिप्याडका लागि यस वर्ष रु २० लाख थपिएको हो । “यस वर्ष थपिएको बजेटले हेलिप्याड निर्माणका साथै वरपरका संरचना पनि निर्माण भएको छ”, केसीले थपे । बर्षातको मौसमसँगै रोल्पाका अधिकांश सडकमा आउने पहिराले छ महिनासम्म सडक अवरुद्ध हुँदा बिरामी, सुत्केरी तथा विपद्मा परेकाले अकालमा ज्यान गुमाउने गरेका छन् । हेलिप्याड निर्माणपछि यस्तो समस्या भोग्दै आएका रोल्पालीलाई ठूलो राहत मिल्ने अधिकारकर्मी श्रीकुमारी रोकाले बताए । जिल्लाका सुनछहरी गाउँपालिकाको पोवाङ, रुन्टीगढी गाउँपालिकाको होलेरी, परिवर्तन गाउँपालिकाको धामाचौर र गङ्गादेव गाउँपालिकाको सुखाओडारमा हेलिप्याड निर्माण गरिएको छ । प्रदेश सरकारको सहयोगमा पहिलो चरणमा जिल्लाका पाँच स्थानीय तहमा निर्माण गरिएको सो हेलिप्याडमध्ये चार स्थानको जिम्मा नेपाली सेनाले लिएको थियो । रोल्पा नगरपालिकाको लिवाङमा निर्माण गरिएको हेलिप्याड भने नगरपालिका आफैँले निर्माण गरेको हो ।
बिपी प्रतिष्ठान धरानमा भाेलिदेखि ओपिडी सेवा बन्द
काठमाडाैं । धरानस्थित बिपी काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अनिश्चितकालका लागि ओपिडि सेवा बन्द गरेको छ । काेराेना संक्रमण फैलिएकाे भन्दै प्रतिष्ठानले अनिश्चितकालका लागि ओपिडि सेवा बन्द गरेको हाे । मंगलबार एक विज्ञप्ती जारी गर्दै प्रतिष्ठानले साउन २८ गतेदेखि अर्काे सुचना जारी नभएसम्मकाे लागि ओपिडि सेवा बन्द गरेको जनाएकाे हाे ।